“योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन”
“परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.
१, २. परमेश्वरप्रतिको हाम्रो दायित्वबारे विचार गर्नु किन उचित हो?
“परमप्रभुले तँबाट के चाहनुहुन्छ?” एक पुरातन अगमवक्ताले त्यो प्रश्न सोधे। अनि तिनले यहोवाले चाहनुहुने कुराहरू किटेर बताए। ती हुन्, न्याय गर्नु, दया गर्नु र परमेश्वरसित नम्र भएर हिंड्नु।—मीका ६:८.
२ मपाईंत्व र स्वतन्त्रताको लहर चलिरहेको यो समयमा थुप्रैले परमेश्वर तिनीहरूबाट केही चाहनुहुन्छ भन्ने कुरा थाह पाउँदा अप्ठ्यारो महसुस गर्छन्। तिनीहरू कसैप्रति कर्तव्यपरायण हुन चाहँदैनन्। तर उपदेशकको पुस्तकमा सुलेमानको निष्कर्षबारे के भन्न सकिन्छ नि? “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.
३. उपदेशकको पुस्तकलाई हामीले किन गम्भीरतापूर्वक विचार गर्नुपर्छ?
३ हाम्रो परिस्थिति र जीवनप्रतिको दृष्टिकोण जस्तोसुकै भए तापनि सुलेमान के कति कारणले गर्दा त्यस निष्कर्षमा पुगे छलफल गऱ्यौं भने हामीले धेरै फाइदा उठाउनसक्छौं। यस प्रेरित पुस्तकका लेखक राजा सुलेमानले हामीले दिनदिनै गर्ने भागदौडका केही पक्षहरूबारे छलफल गरे। केहीले तिनले पत्ता लगाएका कुराहरू पूरै नकारात्मक छ भन्लान्। तथापि, यो ईश्वरप्रेरित पुस्तक हो र यसले हाम्रो क्रियाकलाप तथा प्राथमिकताहरू केलाउन मदत दिनेछ जसको फलस्वरूप हाम्रो जीवन अझ बढी आनन्ददायी हुनेछ।
जीवनका प्रमुख आवश्यकताहरू पूरा गर्ने
४. सुलेमानले उपदेशकको पुस्तकमा कुन कुरा जाँचेका र छलफल गरेका छन्?
४ सुलेमानले “मानिस[को] . . . भार” गहिरिएर जाँचे। “आकाशमनि जे गरिन्छ ती अध्ययन गर्न र अनुसन्धान गर्नलाई बुद्धिसित मेरो मन लगाएँ।” यहाँ सुलेमानले “भार” भनेर मानिसको जागिर वा पेशाबारे मात्रै कुरा गरिरहेका थिएनन् बरु पुरुष तथा स्त्रीहरू तिनीहरूको जीवनभर के कस्ता कामकुरामा व्यस्त हुन्छन् भनेर छलफल गरिरहेका थिए। (उपदेशक १:१३) केही मुख्य चिन्ता अर्थात् सुलेमानले उल्लेख गरेका भारहरूबारे हामी विचार गरौं अनि हाम्रो क्रियाकलाप तथा प्राथमिकताहरूसित तुलना गरौं।
५. मानिसहरूका मुख्य भारहरूमध्ये एउटा के हो?
५ पक्कै पनि थुप्रै मानिसहरूको चिन्ता र क्रियाकलापको मुख्य कारण पैसा हो। केही धनी मानिसहरूले जस्तै पैसा भनेको त के हो र भन्ने दृष्टिकोण सुलेमानले राखेका हुन् भनेर कसैले भन्न सक्दैन। रुपियाँपैसा चाहिन्छ भनी तिनले सहजै स्वीकारे। आधारभूत आवश्यकताहरूबिना वा गरिबीमा जीवन बिताउनुभन्दा जीवन बिताउन पुग्दो रुपियाँपैसा हुनु पक्कै पनि उत्तम हो। (उपदेशक ७:११, १२) तर तपाईंले पनि देख्नु नै भएको होला, गरिब होस् या धनी, पैसाले के किन्नसक्छ भनी थाह भएपछि मानिसहरूको जीवनको प्रमुख उद्देश्य नै रुपियाँपैसा कमाउने हुन्छ।
६. येशूको उखान र सुलेमानको आफ्नै अनुभवबाट हामी रुपियाँपैसाबारे के सिक्नसक्छौं?
६ कहिल्यै सन्तुष्ट नहुने र अझ बढी धन थुपार्न चाहने धनी मानिसबारे येशूको उखानलाई सम्झनुहोस्। परमेश्वरले तिनलाई मूर्ख ठान्नुभयो। किन? किनभने हाम्रो ‘जीवन हामीसँग भएका प्रशस्त चीजहरूले रहँदैन।’ (लूका १२:१५-२१) हामीभन्दा सम्भवतः धेरै अनुभवी सुलेमानका शब्दहरूले येशूका कुराहरूको पुष्टि दिन्छन्। उपदेशक २:४-९ मा दिइएको विवरण पढ्नुहोस्। सुलेमानले केही समय धन कमाउन बिताए। तिनले भव्य घर तथा बगैंचाहरू बनाए। तिनीसित पैसा थियो, त्यसैकारण तिनले राम्री राम्री केटीहरू पाउनसक्थे र पाए पनि। धन र यसले गर्नसक्ने कामकुराहरूबाट के तिनी पूर्णतया सन्तुष्ट भए त? के तिनले साँच्चै केही हासिल गरेजस्तो महसुस गरे त? के तिनले आफ्नो जीवन अर्थपूर्ण भएको महसुस गरे? फरासिलो हुँदै तिनले यस्तो जवाफ दिए: “तब फर्केर मैले गरेका सबै हातका कामलाई विचारें, मेरा सबै परिश्रम र मेहनतलाई—औ के देखें भने सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ ती सबै संसारमा बेफायदाका कुरा रहेछन्।”—उपदेशक २:११; ४:८.
७. (क) पैसाको महत्त्वबारे अनुभवले के प्रमाणित गर्छ? (ख) सुलेमानको निष्कर्ष सत्य हो भनेर देखाउने घटनाहरू के तपाईंले व्यक्तिगत तवरमा बुझ्नुभयो?
७ यो वास्तविकता हो जुन हामी धेरैको जीवनमा देख्नसक्छौं। पैसाले मात्रै सबै समस्याहरूको समाधान गर्न सकिंदैन भनेर स्वीकार्न हामीलाई करै लाग्छ। यसले केही समस्याहरूको समाधान त गर्नसक्छ। जस्तै भोजन र लत्ताकपडा पैसाले सजिलै किन्नसक्छौं। तर कुनै पनि व्यक्तिले एकचोटिमा एक जोर लुगा मात्र लाउनसक्छ र खानपीन पनि सीमित मात्रामा मात्रै गर्नसक्छ। अनि तपाईंले पारपाचुके, मद्य र लागू पदार्थको दुर्व्यसनजस्ता समस्याका साथै आफन्तहरूबीचको कलहले ग्रस्त धनी मानिसहरूको जीवनी पढ्नुभएकै होला। करोडपति जे. पी. गेटीले यसो भने: “सुखी हुन पैसा नै चाहिन्छ भन्ने छैन। बरु दुःखसित भने पैसाको सम्बन्ध छ होला।” सुलेमानले अचाक्ली चाँदी थुपार्नुलाई व्यर्थतामा वर्गीकरण गर्नु उपयुक्त छ। सुलेमानले पत्ता लगाएका कुरासित यस तथ्य तुलना गर्नुहोस्: “थोरै खाओस् कि धेरै खाओस् परिश्रम गर्नेको निद्रा मीठो हुन्छ। तर धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन।”—उपदेशक ५:१०-१२.
८. पैसाको महत्त्वलाई बढी जोड नदिने के कस्ता कारणहरू छन्?
८ धनसम्पत्ति हुँदैमा भविष्यबारे ढुक्क हुने पनि होइन। तपाईंसित धनसम्पत्तिको थुप्रो छ भने, त्यसलाई सुरक्षित राख्न तपाईंलाई झन् धेरै चिन्ता हुन्छ होला। तैपनि तपाईंलाई भोलि के हुन्छ, थाह छैन। तपाईं आफ्नो जीवनसँगसँगै त्यो पनि गुमाउन सक्नुहुन्छ कि के थाह? (उपदेशक ५:१३-१७; ९:११, १२) हाम्रो जीवन पैसा र धनसम्पत्तिमा मात्रै होइन तर त्योभन्दा उच्च तथा महत्त्वपूर्ण कुराहरूमा केन्द्रित छन् भनी बुझ्न गाह्रो नहुनुपर्ने हो।
परिवार, ख्याति र शक्ति
९. सुलेमानले पारिवारिक जीवनबारे कुरा गर्नु पनि किन उपयुक्त थियो?
९ जीवनबारे सुलेमानले पत्ता लगाएका कुराहरूमा पारिवारिक जिम्मेवारीहरू पनि समावेश छन्। बच्चा जन्माउँदा र हुर्काउँदाको आनन्दलगायत पारिवारिक जीवनबारे बाइबलले प्रकाश पार्छ। (उत्पत्ति २:२२-२४; भजन १२७:३-५; हितोपदेश ५:१५, १८-२०; ६:२०; मर्कूस १०:६-९; एफिसी ५:२२-३३) तर के जीवनको अन्तिम उद्देश्य नै त्यही हो त? धेरैको सोचाइ त्यस्तै छ जस्तो देखिन्छ किनभने केही संस्कृतिहरूले विवाह, बच्चा तथा पारिवारिक सम्बन्धहरूलाई अत्यन्तै महत्त्वपूर्ण ठान्छन्। यद्यपि, उपदेशक ६:३ ले एक सय छोराछोरी जन्माउँदैमा पनि त्यसले साँचो सन्तुष्टि दिंदैन भनेर वर्णन गर्छ। कतिपय आमाबाबुले आफ्नो छोराछोरीको जीवन राम्रो र सजिलो होस् भनी गरेका त्यागहरूबारे विचार गर्नुहोस्। आमाबाबुले गरेका त्यागहरू साँच्चै प्रशंसनीय छन् तर सृष्टिकर्ताले हामीलाई सन्तान जन्माउन मात्रै सृष्टि गर्नुभएको पक्कै पनि होइन किनभने यसो त सहजज्ञानको कारण जनावरहरू पनि आफ्नो जातिको जगेर्ना गर्छन्।
१०. परिवारलाई चाहिनेभन्दा बढी ध्यान दिनु किन व्यर्थको हुनसक्छ?
१० सुलेमानले निकै सोचविचार गरेर पारिवारिक जीवनका केही वास्तविक कुराहरू देखाए। उदाहरणका लागि, कुनै मानिसले आफ्नो सम्पूर्ण ध्यान छोराछोरी तथा नातिनातिनीहरूका लागि बन्दोबस्त गर्न केन्द्रित गर्ला। तर के तिनीहरू सबै बुद्धिमान् हुनेछन् त? वा तिनले परिश्रम गरी जम्मा गरेका सबै कुरा तिनीहरूले सखाप गर्नेछन्? तिनीहरूले सखाप गरे भने त्यो कस्तो “व्यर्थको” हुनेछ!—उपदेशक २:१८-२१; १ राजा १२:८; २ इतिहास १२:१-४, ९.
११, १२. (क) कोही कोहीले जीवनमा कस्ता कुराहरूलाई बढी ध्यान दिएका छन्? (ख) प्रतिष्ठा खोज्नु “बतासलाई खेदेको जस्तो मात्र” किन हो?
११ अर्कोतिर भने केहीले नाउँ कमाउन वा अरूमाथि शक्ति जमाउन पारिवारिक जीवनलाई त्यत्तिको महत्त्वपूर्ण ठान्दैनन्। सामान्यतया पुरुषहरूले यो गल्ती गर्ने गर्छन्। के तपाईंले यो आफ्नो सहपाठी, सहकर्मी वा छिमेकीहरूमा देख्नुभएको छ? थुप्रै चाहिं केही भएर देखाउन वा अरूमाथि अधिकार जमाउन भए भरको परिश्रम गर्छन्। तर यो कत्तिको अर्थपूर्ण छ?
१२ विश्व विख्यात हुन नसके तापनि आफ्नो सानो इलाकामा भए पनि प्रख्यात हुन केही मानिसहरू कत्ति मेहनत गर्छन् सोच्नुहोस्। हामीले यो स्कूलमा, हाम्रो छरछिमेकमा र विभिन्न सामाजिक समूहहरूमा देख्छौं। कला, मनोरञ्जन र राजनीतिको क्षेत्रमा प्रख्यात हुन खोज्ने आकांक्षाले ती मानिसहरूलाई जोडदार प्रभाव पारेको हुन्छ। तर के यो साधारणतया सबै व्यर्थको प्रयास होइन र? यो “व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो” भनी सुलेमानले ठीकै भनेका थिए। (उपदेशक ४:४) कुनै एक जना युवा आफ्नो क्लबमा, खेलकुद टोलीमा वा सांगीतिक समूहमा प्रख्यात होला, कुनै पुरुष वा स्त्री आफ्नो कम्पनी वा समाजमा प्रख्यात होला तर तिनीबारे कति जना मानिसहरूलाई थाह हुन्छ? के पृथ्वीको अर्को कुनाको (वा त्यही देशकै) मानिसहरूले त्यस व्यक्तिलाई चिन्छ? वा ती व्यक्ति जति नै प्रख्यात भए तापनि अरू मानिसहरू केही मतलबै नराखी आफ्नै दिनचर्यामा लागिरहन्छन्? अनि कुनै व्यक्तिले आफ्नो जागिर, शहर वा समूहमा पाएको शक्ति वा अधिकारबारे पनि त्यस्तै भन्न सकिन्छ।
१३. (क) उपदेशक ९:४, ५ ले हामीलाई प्रतिष्ठा र शक्तिप्रति उचित दृष्टिकोण राख्न कसरी मदत दिन्छ? (ख) जीवन यति नै हुँदो हो त हामीले कस्ता तथ्यहरूमा ध्यान दिनुपर्छ? (पादटिप्पणी हेर्नुहोस्।)
१३ अन्तमा त्यस्तो प्रतिष्ठा र अधिकारलाई के हुन्छ? पुस्ताहरू बित्दै जाँदा प्रतिष्ठित वा प्रभावशाली मानिसहरू मर्छन् र तिनीहरूको सम्झना रहँदैन। निर्माता, संगीतकार र अन्य कलाकार, समाज सेवकहरू इत्यादि लगायत राजनैतिक र सैन्य नेताहरूबारे पनि त्यस्तै भन्नसक्छौं। सन् १७०० देखि १८०० बीच ती पेशामा लागेका कति जना व्यक्तिविशेषबारे तपाईंलाई थाह छ? सुलेमानले यसबारे जाँच गरेर ठीकै भनेका थिए। तिनले यसो भने: “जिउँदो कुकुर मरेको सिंहभन्दा असल हो। यो कुरा साँचो हो, कि जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। . . . तिनीहरू बिलकुलै बिर्सिजानेछन्।” (उपदेशक ९:४, ५) अनि जीवन यति नै हुँदो हो त प्रतिष्ठा र शक्तिको लागि प्रयास गर्नु साँच्चै व्यर्थको हुनेछ।a
हाम्रो जीवनको प्रमुख कुरा तथा दायित्वहरू
१४. उपदेशकको पुस्तकले हामीलाई व्यक्तिगत रूपमा किन मदत गर्नुपर्ने हो?
१४ मानिसहरूले आफ्नो ध्यानकेन्द्रित गर्ने क्रियाकलाप, लक्ष्य तथा आनन्दहरू सबैबारे त सुलेमानले टिप्पणी गरेनन्। तैपनि तिनले जति लेखे त्यो पर्याप्त छ। उपदेशक पुस्तकको छलफल दुःखदायी वा नकारात्मक हुनुपर्दैन किनभने यहोवा परमेश्वरले जानाजानी हाम्रो लाभको लागि प्रेरित गर्नुभएको पुस्तक हो। अनि हामीले यस पुस्तकबारे व्यवहारिक ढंगमा पुनरावृत्ति गरिसक्यौं। यसले हामीलाई जीवनप्रति सही दृष्टिकोण राख्न र के मा हाम्रो ध्यानकेन्द्रित गर्ने हो, त्यो बुझ्न मदत दिन्छ। (उपदेशक ७:२; २ तिमोथी ३:१६, १७) यहोवाको मदतद्वारा सुलेमान जुन निष्कर्षमा पुग्न सके, त्यो विशेषगरि साँचो छ।
१५, १६. (क) जीवनको आनन्द उठाउने सन्दर्भमा सुलेमानको कस्तो विचारधारा थियो? (ख) जीवनको आनन्द उठाउन सुलेमानले के चाहिन्छ भने?
१५ सुलेमानले बारम्बार दोहोऱ्याएका बुँदाहरूमध्ये एउटा के हो भने, साँचो परमेश्वरका सेवकहरूले उहाँको कार्यमा आनन्द उठाउन सिक्नुपर्छ। “मानिसको निम्ति आफ्नो परिश्रमको सट्टा खानु, पिउनु र मोज-मजा गर्नुभन्दा अरू बढ़ी केही छैन। तापनि मैले यो देखें कि यो पनि परमेश्वरको हातबाटै मिल्दछ।” (उपदेशक २:२४; ३:१२, १३; ५:१८; ८:१५) याद गर्नुहोस्, सुलेमानले मोजमज्जामै चुर्लुम्म डुब्न प्रोत्साहन दिइरहेका थिएनन्, नता ‘खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं’ भन्ने मनोवृत्तिलाई नै बढावा दिइरहेका थिए। (१ कोरिन्थी १५:१४, ३२-३४) तिनले भन्न खोजेको कुरा के हो भने, हामीले जीवनमा खानपीनजस्ता साधारण कुराहरूबाट ‘आनन्द उठाउन’ सक्नुपर्छ। निस्सन्देह, यसले के असल छ त्यो निर्णय गर्ने हाम्रो सृष्टिकर्ताप्रति ध्यानकेन्द्रित गर्छ।—भजन २५:८; उपदेशक ९:१; मर्कूस १०:१७, १८; रोमी १२:२.
१६ सुलेमानले यसो लेखे: “आफ्नो बाटो लाग्, आफ्नो खानेकुरो खा र मोज-मजा गर्, खुशी मनले आफ्नो दाखमद्य पी, किनभने तैंले गरेको कामलाई परमेश्वरले ग्रहण गर्नुभएको छ।” (उपदेशक ९:७-९) हो, अर्थपूर्ण र सन्तोषजनक जीवन बिताउने पुरुष वा स्त्रीहरू यहोवालाई मन पर्ने कार्यहरूमा सक्रिय हुन्छन्। यसले हामीलाई निरन्तर उहाँबारे सोच्न प्रेरित गर्नुपर्ने हो। मानव सोचविचारमा आधारित अधिकांश मानिसहरूको जीवनशैलीभन्दा यो कत्ति फरक दृष्टिकोण हो!
१७, १८. (क) जीवनका वास्तविकताहरूप्रति धेरैजसो मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्? (ख) हामीले कुन परिणामलाई कहिल्यै बिर्सनु हुँदैन?
१७ केही धर्महरूले मृत्युपछिको जीवनबारे सिकाए तापनि थुप्रै मानिसहरू आफूलाई थाह भएको जीवन चाहिं यही एउटा मात्र हो भन्ने गर्छन्। सुलेमानले वर्णन गरेझैं मानिसहरूले गरिरहेको कामकुरा तपाईंले पनि देख्नुभएको होला: “खराब कामको दण्ड तुरुन्तै नपाएकोलेनै मानिसले यति साहससित खराब काम गर्दछ।” (उपदेशक ८:११) दुष्ट कामहरूमा संलग्न नभएका मानिसहरूले पनि तिनीहरू मुख्यतः वर्तमान अवस्थाकै बारेमा मात्र चिन्तित छन् भनी देखाउँछन्। त्यही कारणले गर्दा तिनीहरू रुपियाँपैसा, सम्पत्ति, प्रतिष्ठा, अरूमाथि अधिकार जमाउने, परिवार वा त्यस्तै अरू इच्छाहरूलाई अचाक्ली महत्त्व दिन्छन्। तथापि, सुलेमानले त्यत्तिमै कुरा टुंग्याएनन्। तिनले अझै यसो भने: “पापीले भूल काम गरेर बूढ़ेसकालसम्मै बाँचे तापनि परमेश्वरसँग डराउनेहरूलाई असलै हुनेछ भनी मलाई थाह छ। परमेश्वरप्रतिको तिनीहरूको भयले यो कुरा पक्का गराउँछ, तर दुष्ट मानिसलाई भलो हुनेछैन। त्यो दीर्घायु पनि हुनेछैन। परमेश्वरसँग नडराउने मानिस ता केवल छाया मात्र हो।” (उपदेशक ८:१२, १३) स्पष्टतः, साँचो ‘परमेश्वरसँग डराएमा’ हाम्रो भलो हुनेछ भनी सुलेमान विश्वस्त थिए। तर कसरी? यसको जवाफ हामी तिनले गरेको तुलनामा पाउनसक्छौं। यहोवाले हामीलाई ‘दीर्घायु’ दिन सक्नुहुन्छ।
१८ विशेषगरि जो व्यक्तिहरू अझै जवान छन् तिनीहरूले एउटा पत्यारिलो तथ्यबारे सोच्नुपर्छ। त्यो हो, तिनीहरू परमेश्वरसँग डराएमा तिनीहरूको भलो हुनेछ। तपाईंले देख्नुभएकै होला कि कहिलेकाहीं सबैभन्दा तेज धावक पनि अल्झिएर दौड हार्नसक्छ। शक्तिशाली सेना पनि परास्त हुनसक्छ। चतुर व्यापारी दरिद्र हुनसक्छन्। अनि यस्ता थुप्रै अनिश्चितताहरूले गर्दा जीवनमा के हुन्छ भन्नै सकिंदैन। तर यो तथ्यबारे भने तपाईं पूर्णतया निश्चिन्त हुन सक्नुहुन्छ: जीवनमा आनन्द उठाउने सबैभन्दा बुद्धिमानी र पक्का मार्ग परमेश्वरको नैतिक व्यवस्थाको परिधिभित्र बसेर उहाँको इच्छाअनुरूप गर्नु हो। (उपदेशक ९:११) यसमा बाइबलबाट परमेश्वरको इच्छा के हो सिक्ने, आफ्नो जीवन उहाँलाई समर्पण गर्ने र बप्तिस्माप्राप्त मसीही हुनु पनि समावेश छ।—मत्ती २८:१९, २०.
१९. युवाहरूले कसरी जीवन बिताउनसक्छन् तर बुद्धिमानी मार्ग चाहिं कुन हो?
१९ सृष्टिकर्ताले युवा वा कसैलाई उहाँको निर्देशन पछ्याउन जबरजस्ती गर्नुहुने छैन। तिनीहरू शिक्षादीक्षा हासिल गर्न तल्लीन हुनसक्छन्, शायद जीवनभर मानव शिक्षाहरू हासिल गर्लान्। तर त्यसले अन्तमा थकित मात्र बनाउनेछ। वा युवाहरू आफ्नो असिद्ध हृदयअनुसार चल्नसक्छन् वा आफूलाई जे मन पर्छ त्यही गर्नसक्छन्। यसले पक्कै पनि टन्टाहरू मात्रै ल्याउनेछ र यसरी बिताएको जीवन व्यर्थको हुनेछ। (उपदेशक ११:९–१२:१२; १ यूहन्ना २:१५-१७) त्यसैकारण सुलेमानले युवाहरूलाई एउटा अपील गरेका छन्, एउटा यस्तो अपील जुन सबै उमेरकाहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्छ: “दुःखको समय र वृद्धावस्था आउनअघिनै जब तैंले भन्नेछस्, ‘यिनमा मेरो मन लाग्दैन।’ आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्।’ ”—उपदेशक १२:१.
२०. उपदेशकको पुस्तकमा पाइने सन्देशप्रति कस्तो सन्तुलित दृष्टिकोण राख्नसक्छौं?
२० त्यसोभए हामी कस्तो निष्कर्षमा पुग्नसक्छौं त? सुलेमान जुन निष्कर्षमा पुगे, त्यसबारे के भन्नसक्छौं? तिनले “संसारमा गरेका सबै काम . . . व्यर्थ हुन् र बतासलाई खेदेको जस्तो मात्र हो” भनेर पत्ता लगाए। (उपदेशक १:१४) उपदेशकको पुस्तक आलोचनात्मक पुस्तक होइन नता यो असन्तुष्ट मानिसका शब्दहरू नै हुन्। ती त, परमेश्वरको प्रेरित वचनको भाग हुन् र मनन गर्न योग्यका छन्।
२१, २२. (क) जीवनका कस्ता पक्षहरूबारे सुलेमानले छलफल गरे? (ख) तिनी कस्तो बुद्धिमानी निष्कर्षमा पुगे? (ग) उपदेशकको पुस्तकको विषयवस्तु केलाएपछि तपाईंमा त्यसले कस्तो असर पारेको छ?
२१ सुलेमानले मानिसहरूको मेहनत, संघर्ष र धोकोहरूबारे निरीक्षण गरे। सामान्यतया जीवनमा के कस्ता घटनाहरू हुन्छन् थाह पाए र तीमध्ये कतिपय त दिक्कलाग्दो र खोक्रो मात्र भएको पाए। तिनले मानव असिद्धता र मृत्युको वास्तविकता छलफल गरे। अनि तिनले मरेकाहरूको अवस्था र भावी जीवनबारे परमेश्वरले दिनुभएका प्रत्याशाहरू बिर्सेनन्। यी सबै तथ्यहरू परमेश्वरबाट थप बुद्धि पाएका अर्थात् आजसम्म बाँचेकाहरूमध्ये एक बुद्धिमान् व्यक्तिले पत्ता लगाएका थिए। अनि तिनी जुन निष्कर्षमा पुगे त्यो साँच्चै अर्थपूर्ण जीवन बिताउन चाहने सबैको लाभको लागि पवित्र धर्मशास्त्रमा लेखिएको छ। वास्तवमा यस्तै हुनुपर्ने हो, होइन र?
२२ “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन। किनभने हामीले गरेका हरेक काम, असल होस् वा खराब होस् हरेक गुप्त कुराको न्याय परमेश्वरले गर्नुहुनेछ।”—उपदेशक १२:१३, १४.
[फुटनोट]
a प्रहरीधरहरा-ले (अंग्रेजी) एक चोटि यस्तो अन्तरदृष्टिपूर्ण टिप्पणी गऱ्यो: “व्यर्थ कुराहरूमा हामीले आफ्नो जीवन खेर फाल्नु हुँदैन . . . जीवन यति नै हुँदो हो त जीवनमा महत्त्वपूर्ण कुरा नै के रह्यो र! हाम्रो जीवन एउटा भकुन्डोजस्तै हो जुन हावामा फालिए तापनि तुरुन्तै जमीनमा खसिहाल्छ। यो हराइहाल्ने छायाँ, ओइलाउने फूल, तुरुन्तै मरिहाल्ने घाँसको बालाजस्तै हो। . . . मानिसको आयु हेर्ने हो भने, यो त एउटा सानो नगण्य थोप्लोजस्तो मात्रै हो। समयको दौडानमा यो त एक थोपा पानीजस्तो पनि हुँदैन। थुप्रै मानिसहरूका जीवनको चिन्ता र गतिविधिहरूबारे पुनरावलोकन गर्दा [सुलेमानले] ती सबैलाई व्यर्थको भन्नु निश्चय पनि सही थियो। हामी यति चाँडो मर्छौं कि हामी जन्मिएको कुनै सार हुँदैन। अरबौं मानिसहरू जन्मिरहेका छन्, मरिरहेका छन्। हाम्रो विषयमा एकदमै थोरैले मात्र थाह पाउँछन्। यो नकारात्मक वा खिन्न वा निराशाजनक वा अस्वास्थ्यकर दृष्टिकोण होइन। जीवन यति नै हुँदो हो त यो सत्य, वास्तविक र व्यवहारिक दृष्टिकोण हो।”—अगस्त १, १९५७, पृष्ठ ४७२.
के तपाईंलाई सम्झना छ?
◻ तपाईंको जीवनमा धनसम्पत्तिको भूमिकाबारे बुद्धिमानीपूर्वक कस्तो कुरा पत्ता लगाउन सकिन्छ?
◻ परिवार, नाउँ वा अरूमाथि अधिकार जमाउने कुरालाई किन अनावश्यक महत्त्व दिनु हुँदैन?
◻ आनन्दप्रति कस्तो ईश्वरीय मनोवृत्ति राख्न सुलेमानले प्रोत्साहन दिए?
◻ उपदेशकको पुस्तक छलफल गरेर तपाईंले कसरी लाभ उठाउनुभएको छ?
[पृष्ठ १५-मा भएको चित्र]
रुपियाँपैसा र धनसम्पत्ति हुँदैमा सन्तुष्ट हुने होइन
[पृष्ठ १७-मा भएको चित्र]
परमेश्वरसँग डराएमा भलो हुनेछ भनी युवाहरू विश्वस्त हुनसक्छन्