“परमेश्वरको मन्दिर” र युनानी मूर्तिहरूबीच सम्झौता?
ग्रीष्म ऋतुको टन्टलापुर घामले गर्दा बाटोका ढुंगाहरू टल्किरहेका छन्। तथापि, यस प्रचण्ड गर्मीमा पनि ग्रीक रूढीवादी तीर्थयात्रीहरूको जोस र तीव्र संकल्प मरेजस्तो देखिंदैन। तिनीहरू पहाडको टुप्पामा भएको पूजाथानतिर जाँदैछन्।
तपाईं के देख्नुहुन्छ भने, ग्रीसको एक कुनाबाट आएकी एक वृद्धा थाकेर लखतरान भए तापनि हिंडिरहेकी छिन्। त्यसको अलिक माथि एक व्यक्ति चटारिंदै खचाखच भीडलाई चिर्दै अघि बढ्न खोजिरहेका छन् र असिनपसिन भइरहेका छन्। पीडित र निराश देखिने एउटी सानी केटी रक्ताम्मे घुँडाको सहारामा घस्रिरहेकी छिन्। तिनीहरूको लक्ष्य? समयमै पुगेर प्रार्थना गर्नु र त्यहाँ गुणगान गाइएको “सन्तको” मूर्तिलाई सम्भव भएमा छुनु र चुम्नु।
संसारभरि “सन्तहरूको” नाउँमा समर्पण गरिएका ठाउँहरू हुँदो यस्तै दृश्यहरू बारम्बार देख्न पाइन्छन्। स्पष्टतया, यसो गरेर यी सबै तीर्थयात्रीहरू परमेश्वरलाई भक्ति र विश्वास व्यक्त गर्न उहाँसामु पुग्ने मार्ग पछ्याइरहेका छौं भनी विश्वस्त छन्। हाम्रो परम्परावादी मसीही विश्वास पुस्तक (अंग्रेजी) बताउँछ: “हामी [“सन्तहरूको”] स्मरण गर्छौं अनि तिनीहरूको पवित्र व्यक्तित्वलाई महिमा र आदर दिन्छौं। . . . . तिनीहरूलाई हाम्रोनिम्ति परमेश्वरसित प्रार्थना गर्ने अनुरोध गर्छौं र हामीलाई चाहिने थुप्रै कुराहरूका लागि तिनीहरू मार्फत परमेश्वरतर्फ बिन्ती र सहयोग चाहन्छौं। . . . हामी आफ्ना आध्यात्मिक र शारीरिक आवश्यकताको लागि चमत्कारी कार्य गर्ने सन्तहरूसित मदत माग्छौं।” साथै, रोमन क्याथोलिक चर्चको सिद्धान्तअनुसार “सन्तहरू”-लाई परमेश्वरसित सम्पर्क गरिदिने मध्यस्थकर्ताको रूपमा पुकार्नुपर्छ अनि “सन्तहरूको” अवशेष र प्रतिमा दुवैको आदर गर्नुपर्छ।
साँचो मसीहीले सबैभन्दा पहिला ध्यान दिनुपर्ने कुरा हो, परमेश्वरलाई “आत्मा र सत्यतामा” पुज्नुपर्छ। (यूहन्ना ४:२४) त्यसकारण “सन्तहरूको” आदर गर्नुपर्छ भन्ने कुरालाई कसरी मसीहीजगत्ले धार्मिक प्रचलनको रूपमा चिनायो, त्यसबारे केही तथ्यहरू विचार गरौं। परमेश्वरले स्वीकार्नुहुने तरिकामा उहाँलाई पुकार्न इच्छा गर्ने कुनै पनि व्यक्तिको लागि यस्तो जाँचबुझ एकदमै जानकारीमूलक हुनुपर्ने हो।
“सन्तहरू[को]” सुरुआत कसरी भयो
मसीही युनानी धर्मशास्त्रमा ख्रीष्टको रगतद्वारा स्वच्छ पारिएका र ख्रीष्टका सहउत्तराधिकारीको रूपमा परमेश्वरको सेवाको निम्ति छुट्याइएका सबै प्रारम्भिक मसीहीहरूलाई “पवित्र जन” वा “सन्तहरू” भनिएको छ। (प्रेरित ९:३२; २ कोरिन्थी १:१; १३:१३)a मण्डलीमा भएका पुरुष तथा स्त्री, प्रतिष्ठित तथा नम्र सबै नै पृथ्वीमा बाँचुञ्जेल “पवित्र जन” कहलाइन्थे। मृत्यु हुनअघिसम्म पनि तिनीहरू आध्यात्मिक अर्थमा सन्तहरू भनेर चिनिन्थे।
यद्यपि, सा.यु. दोस्रो शताब्दीपश्चात् धर्मत्यागी मसीही धर्म सुरु हुन थालेपछि मसीहीधर्मलाई गैरमसीहीहरूले मन पराउन र सजिलै स्वीकार्न सकिने धर्म बनाउन खोजियो। यी गैरमसीहीहरूले थुप्रै देवताहरूको उपासना गर्थे। र त्यस नयाँ धर्ममा भने एउटै मात्र ईश्वरको उपासना गरिन्थ्यो। तसर्थ, “सन्तहरूको” माध्यमद्वारा यी धर्महरूबीच सम्झौता हुनु सम्भव हुनेथियो जुन सन्तहरूले पुरातन देवताहरू, अर्धदेवताहरू र काल्पनिक वीरहरूको ठाउँ ओगट्नेथिए। यसबारे टिप्पणी गर्दै एक्लीजीयास्टीकी ईस्टोरीया (चर्चसम्बन्धी इतिहास) बताउँछ: “मसीहीधर्म स्वीकार्ने गैरमसीहीहरूले पहिला आफूले उपासना गरेका वीरहरूको साटो पादरीहरूलाई स्वीकार्न र ती काल्पनिक वीरहरूलाई झैं ती पादरीहरूलाई आदर गर्न गाह्रो थिएन। . . . तथापि, सन्तहरूलाई गरिने यस्तो आदरले घरिघरि पक्का मूर्तिपूजाको रूप लियो।”
“सन्तहरू” मसीहीजगत्भित्र कसरी भित्रिए भनेर अर्को पुस्तकले यसरी बताउँछ: “ग्रीक अर्थोडक्स चर्चमा सन्तहरूलाई गरिने आदरमा गैरमसीही धर्मको खास प्रभाव परेको हामी पाउँछौं। मानिसहरूले मसीहीधर्म अपनाउनुअघि ओलम्पियाली देवताहरूलाई दिने श्रेय अहिले सन्तहरूलाई दिन थालियो। त्यो नयाँ धर्मले प्रारम्भदेखि नै सूर्यदेवता (फोबस अपोल्लोको) ठाउँमा भविष्यवक्ता एलिशालाई राखेको पाउँछौं। यस देवताको पुरातन मन्दिर वा तीर्थस्थलको भग्नावशेषमाथि वा त्यसको छेउमा चर्च बनाइए। विशेषगरि सबै पहाड र पर्वतको टाकुरा हुँदो पुरातन युनानीहरूले ज्योतिदाता फोबिस अपोल्लोको आदर गर्न त्यस्ता चर्चहरू खडा गरे। . . . तिनीहरूले पवित्र मरियमसितै पवित्र मानिने देवी एथेनालाई चिनाए। त्यसर्थ, एथेनाको प्रतिमा नष्ट गर्दा ती धर्मपरिवर्तन गरेका मानिसहरूलाई अलिकति पनि नरमाइलो लागेन।”—नियोटेरोन एङ्जीक्लोपाडीकोन लेक्सीकोन (न्यु इन्साइक्लोपेडिक डिक्शनरी), खण्ड १, पृष्ठ २७०-१.
उदाहरणका लागि, सा.यु. चौथो शताब्दीको अन्ततिर एथेन्समा भइरहेका कुराहरूलाई नियाल्नुहोस्। त्यस शहरका अधिकांश मानिसहरू अझै पनि गैरमसीही थिए। तिनीहरूको सबैभन्दा पवित्र धर्मविधिहरूमध्ये इल्युसिनियन गोप्य समारोह एउटा थियो। एथेन्सदेखि उत्तरपश्चिम २३ किलोमिटर पर इल्युसिसको शहरमा फेब्रुअरी महिनामा सम्पन्न हुने यो समारोह दुइ प्रकारको थियो।b यी समारोहहरूमा उपस्थित हुने गैरमसीही एथेन्सवासीहरूले पवित्र मार्ग (हिएरा होडोस) अपनाउनुपर्थ्यो। उपासना गर्ने अर्को ठाउँको प्रबन्ध गर्ने प्रयासमा त्यस शहरका नेताहरू साह्रै सिपालु प्रमाणित भए। गैरमसीहीहरूलाई आकर्षित गर्न र तिनीहरूलाई ती समारोहहरूमा उपस्थित हुन नदिन एथेन्सदेखि लगभग दश किलोमिटर टाढा पर्ने त्यसै मार्गमा डाफ्नी विहार बनाए। पुरातन मन्दिर भएकै ठाउँमा विहारको चर्च बनाइयो। त्यो मन्दिर युनानी देवता डाफ्नीओस वा पीथीओस अपोल्लोलाई समर्पण गरिएको थियो।
गैरमसीही देवताहरूको ठाउँमा “सन्तहरूको” आदर गरिएको प्रमाण ग्रीसस्थित किथेरा द्वीपमा पाउन सकिन्छ। द्वीपका चुचुराहरूमध्ये एउटामा दुइटा स-साना बिजान्टाइन पूजाथान छन्। जसमध्ये एउटा “सन्त जर्ज” र अर्को चाहिं पवित्र मरियमलाई समर्पण गरिएका छन्। उत्खननद्वारा के प्रष्ट भएको छ भने, लगभग ३,५०० वर्षअघि यस ठाउँमा उपासनाथलो अर्थात् मिनोआन शिखर तीर्थस्थल थियो। सा.यु. छैटौं वा सातौं शताब्दीको दौडान “मसीहीहरूले” त्यसै तीर्थस्थलमा “सन्त” जर्जको नाउँमा पूजाथान बनाए। यो चालबाजी अति सांकेतिक थियो। मिनोन धर्मको त्यस विकसित केन्द्रले एजियन समुद्री मार्गहरूमाथि प्रभुत्व जमाउँथ्यो। पवित्र मरियम र “सन्त” जर्जको निगाह पाउन त्यहाँ दुइटा चर्च निर्माण गरिए। पछि त्यसै दिन “समुद्री मानिसहरूको संरक्षकको” रूपमा “सन्त” निकोलसको गुणगान गरिन्थ्यो। यस अन्वेषणबारे एउटा समाचारपत्रको प्रतिवेदन यस्तो थियो: “आज [ग्रीक अर्थोडक्स] चर्चको पादरी पुरातन समयका मिनोन पादरीजस्तै” धार्मिक विधिहरू पूरा गर्न त्यस शिखरमा उक्लनुहुन्छ!”
गैरमसीही युनानी धर्मले धर्मत्यागी मसीहीधर्ममा कुन हदसम्म प्रभाव पारेको थियो, त्यसबारे इतिहाससम्बन्धी अनुसन्धानकर्ता यसरी बताउँछिन्: “गैरमसीहीधर्ममा आधारित मसीहीधर्मका प्रचलित विश्वासहरू प्रायः परिवर्तन हुँदैनन्। यसरी यो धार्मिक परम्परा चिरकालीन हो भनेर प्रमाणित हुन्छ।”
‘जे जानिएको छ त्यो पुज्ने’
येशूले सामरी स्त्रीलाई भन्नुभयो: “हामी जे जान्दछौं, त्यो पुज्दछौं, . . . साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।” (यूहन्ना ४:२२, २३) स्मरण रहोस्, सत्यतामा उपासना गर्नु अत्यावश्यक कुरा हो! तसर्थ, सत्यको सही ज्ञान नलिई र सत्यप्रति गहिरो प्रेम नराखी परमेश्वरलाई स्वीकार्य उपासना चढाउन असम्भव छ। साँचो मसीहीधर्म त परम्परा तथा गैरमसीहीधर्मबाट सापटी लिएका प्रचलनहरूमा होइन तर सत्यतामा आधारित हुनैपर्छ। मानिसहरूले गलत ढंगमा उपासना गर्न खोज्दा परमेश्वरलाई कस्तो लाग्छ भनेर हामीलाई थाहै छ। प्रेरित पावलले पुरातन युनानी शहर, कोरिन्थका मसीहीहरूलाई यसरी लेखे: “ख्रीष्टको शैतानसित के सहमत? . . . मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सम्बन्ध?” (२ कोरिन्थी ६:१५, १६) परमेश्वरको मन्दिरलाई मूर्तिहरूसित मिलान गर्न खोज्नु उहाँको लागि घृणित कुरा हो।
त्यसबाहेक, “सन्तहरूलाई” परमेश्वरसित सम्पर्क गराइदिने मध्यस्थकर्ता मानेर प्रार्थना गर्ने धारणालाई धर्मशास्त्रले स्पष्टसित खारेज गर्छ। पितालाई मात्र सम्बोधन गरेर प्रार्थना गर्नुपर्छ भनेर येशूले नमुना प्रार्थनामा आफ्ना चेलाहरूलाई सिकाउनुभयो: “तिमीहरू चाहिं यस प्रकारले प्रार्थना गर, हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्।” (मत्ती ६:९) येशूले अझ यसो भन्नुभयो: “बाटो, सत्य, र जीवन मै हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्तैन। तिमीहरूले मेरो नाउँमा केही माग्यौ भने, त्यो म गर्नेछु।” प्रेरित पावलले पनि यसो भने: “परमेश्वर एउटै हुनुहुन्छ। परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात् ख्रीष्ट येशू, जो मानिस हुनुहुन्छ।”—यूहन्ना १४:६, १४; १ तिमोथी २:५.
परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभएको साँच्चै चाहन्छौं भने, उहाँको वचनमा बताइएअनुसार उहाँलाई पुकार्नु नितान्त खाँचो छ। यहोवालाई पुकार्ने एकमात्र स्वीकार्य तरिकालाई जोड दिंदै पावलले यसो पनि लेखे: “ख्रीष्ट येशू, जो मर्नुभयो, औ बरू मुर्दाबाट बिउँतनु पनि भयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र जसले हाम्रा निम्ति अन्तरबिन्ती पनि गर्नुहुन्छ।” “उहाँद्वारा परमेश्वरको नजीक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्नसक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति अन्तरबिन्ती गर्नालाई उहाँ सधैंभरि रहनुहुन्छ।”—रोमी ८:३४; हिब्रू ७:२५.
‘आत्मा र सत्यतामा पुज्ने’
धर्मत्यागी मसीहीधर्मसित गैरमसीहीहरूलाई झूटो उपासना त्याग्न लगाउन र येशू ख्रीष्टका साँचो शिक्षाहरू पालन गराउन उत्प्रेरित गराउने न ता आध्यात्मिक शक्ति न परमेश्वरको पवित्र आत्माको सहयोग नै छ। यसले धर्मपरिवर्तन गराउन, शक्ति र लोकप्रियता आर्जन गर्नको लागि गैरमसीही विश्वास तथा प्रचलनहरू अपनायो। यसैकारण यसले परमेश्वर र ख्रीष्टले ग्रहण गर्नुहुने विश्वासी मसीहीहरू जन्माउन सकेन। बरु, परमेश्वरको राज्यको लागि अयोग्य “सामाहरू” अर्थात् ढोंगी विश्वासीहरू जन्माएको छ।—मत्ती १३:२४-३०.
तथापि, यस अन्तको समयमा यहोवाको निर्देशनअन्तर्गत साँचो उपासना पुनर्स्थापित गर्ने महत्त्वपूर्ण अभियान भइरहेको छ। सांस्कृतिक, सामाजिक वा धार्मिक पृष्ठभूमि बेग्लाबेग्लै भए तापनि विश्वभरिका यहोवाका जनहरूले आफ्नो जीवनपद्धति र विश्वासलाई बाइबलको स्तरहरूअनुरूप बनाउने चेष्टा गर्छन्। यदि तपाईं परमेश्वरलाई “आत्मा र सत्यतामा” पुज्ने तरिका सिक्न चाहनुहुन्छ भने, कृपया तपाईं बस्नुहुने ठाउँका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्। परमेश्वरले स्वीकार्नुहुने पवित्र सेवा चढाउन तपाईंलाई मदत दिन पाउँदा तिनीहरू असाध्यै खुशी हुनेछन्। त्यो सेवा तपाईंको तर्कशक्ति र परमेश्वरको वचनको सही ज्ञानमा आधारित छ। पावलले यसरी लेखे: “ए भाइ हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल। औ यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” अनि तिनले कलस्सीका मसीहीहरूलाई यसरी लेखे: “हामीले त्यो सुनेको दिनदेखि सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले तिमीहरू पूर्ण होओ भनेर हामीले पनि तिमीहरूका निम्ति प्रार्थना र बिन्ती गर्न छोड़ेका छैनौं, हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न र हरेक असल काममा फलिफाप हुँदै परमेश्वरको ज्ञानमा बढ़दै गएर।”—रोमी १२:१, २; कलस्सी १:९, १०.
[फुटनोटहरू]
a केही बाइबल अनुवादहरूमा युनानी शब्द हेगियोस-लाई “पवित्र जन,” र कतिपय अनुवादमा “सन्त” भनिएको छ।
b महान् इल्युसिनिया समारोह प्रत्येक वर्ष सेप्टेम्बर महिनामा एथेन्स र इल्युसिसमा मनाइन्थ्यो।
[पृष्ठ २८-मा भएको पेटी/चित्र]
पार्थिनोनको अप्रत्याशित प्रयोग
“मसीही” सम्राट थियोडोसिस द्वितीयले एथेन्स शहरसम्बन्धी आदेश दिनुका साथै (सा.यु. ४३८ मा) गैरमसीही संस्कार र रहस्यहरूलाई हटाए अनि गैरमसीही मन्दिरहरू बन्द गरे। त्यसपछि ती मन्दिरहरूलाई मसीहीधर्मका चर्चहरूमा परिवर्तन गर्न सकिए। यसरी मन्दिरहरूलाई चर्चहरूमा परिवर्तन गर्नको लागि क्रस ठड्याए पुगिहाल्थ्यो!
चर्च बनाइएको प्रथम मन्दिरमध्ये पार्थिनोन एउटा थियो। पार्थिनोनलाई “मसीही” मन्दिर भन्न सुहाउने बनाउन यसको जीर्णोद्धार गरियो। सा.यु. ८६९ देखि यो एथेन्सको मुख्य चर्च बन्यो। प्रारम्भमा यसलाई “पवित्र बुद्धिको” चर्चको रूपमा सम्मानित गरियो। त्यस मन्दिरको खास “मालिक्नी” एथेना, बुद्धिकी देवी थिइन् भन्ने कुराको यो उद्देश्यपूर्ण सम्झौटो हुनसक्थ्यो। पछि यो मन्दिर “हाम्री आमा एथिनियनलाई” समर्पण गरियो। अर्थोडक्सले यस मन्दिरलाई आठ वर्षसम्म प्रयोग गरेपछि एथेन्सस्थित सन्त मरियम क्याथोलिक चर्चमा परिवर्तन गरियो। तुर्की, ओटोम्यानले १५ औं शताब्दीमा पार्थिनोनलाई मस्जिद नबनाएसम्म यस्ता विभिन्न धर्महरूले यसलाई आफ्नो पूजाथान बनाइरहे।
बुद्धिदाता युनानी देवी, एथेना पार्थिनोसको पुरातन डोरिक मन्दिर, पार्थिनोनमा आज हजारौं पर्यटकहरू आउँछन् र तिनीहरू यसलाई केवल युनानी वास्तुकलाको उत्कृष्ट कलाको रूपमा मान्छन्।
[पृष्ठ २६-मा भएको चित्र]
डाफ्नी विहार—पुरातन एथेन्सका गैरमसीहीहरूका लागि उपासनाको अर्को ठाउँ