“तपाईंले प्रभाव पार्नुभएको थुप्रै जीवनमध्ये एक”
गत जनवरी १९९६, को कुरा हो, क्यारोल मस्तिष्क ट्युमरको कारण बिरामी भइन्। तिनी ६१/६२ वर्षकी थिइन्। तिनी बिरामी हुनुभन्दा अघिसम्म सबैलाई प्रोत्साहन दिंदै हिंड्ने हँसिली, हट्टाकट्टा खालकी व्यक्ति थिइन्। तर अब चिकित्सकहरू तिनको मस्तिष्कमा ट्युमर बढ्न नदिन यथासक्दो गरिरहेका थिए। यसरी जीवन र मृत्युको दोसाँधमा परिरहेको बेला नै क्यारोलले निम्न चिठी पाइन्:
“प्रिय क्यारोल:
“तपाईं बिरामी हुनुभएको कुरा सुनेर मलाई साह्रै दुःख लागेको छ। तर आनन्दको कुरा, हामीसित बाइबलले बताएको एउटा साँचो आशा छ। त्यो आशा हो, परमेश्वरको राज्य जहाँ हामी सबै यसै पृथ्वीमा प्रमोदवनरूपी अवस्थामा बाँच्न सक्नेछौं। हामी त्यही समयको प्रतीक्षामा छौं।
“तपाईंले थुप्रै मानिसहरूलाई प्रचार गर्नुभएर अनन्त मृत्युबाट बचाउनुभएको छ भनी म तपाईंलाई बताउन चाहन्छु। ती मानिसहरूमध्ये म पनि पर्छु। हाम्रो पहिलो पटक भेट भएको तपाईंलाई सम्झना छ कि छैन, त्यो त म भन्न सक्दिनँ। त्यतिबेला म २० वर्षको थिएँ। मेरो कपाल लामो थियो, मैले लागू पदार्थ बेचिरहेको थिएँ र एक हूल गुन्डाहरूसित बसिरहेको थिएँ। हामी सबै बन्दुक भिरेर हिंड्थ्यौं र आफूबाहेक अरू कसैलाई माया गर्दैन थियौं।
“तपाईं अर्को एक जना साक्षीसित मेरो घरमा आउनुभएको थियो र मलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! दिनुभएको थियो। ती पत्रिकाहरू चाहिंदैन भन्दै मैले तपाईंलाई एक अमेरिकी डलर दिन खोजेको थिएँ। चन्दा उठाउन मात्रै प्रचार गरेको होइन भनी तपाईंले मलाई भन्नुभएको थियो। तपाईंले यसो पनि भन्नुभयो, हामीले मानिसहरूलाई बाइबल पढ्न मदत दिइरहेका छौं। मैले ती पत्रिकाहरू लिएँ कि लिइनँ वा पढें कि पढिनँ, त्यो मलाई याद भएन। तर जे होस्, तपाईंले मेरो जीवनमा सत्यको बीउ रोपिदिनुभयो।
“केही वर्षपछि ग्यारी नामक अर्को साक्षी मेरी आमाको घरमा आउनुभयो र त्यतिबेला म पनि त्यहीं थिएँ। केही वर्षअघि तपाईंसँग भएको भेटबारे मैले तिनलाई बताएँ। ग्यारीले मसित लामो समयसम्म बाइबल अध्ययन गर्नुभयो र बल्ल सन् १९८४ मा मैले बप्तिस्मा लिएँ। अहिले म आफ्नो छोराछोरीलाई परमेश्वरको राज्यको सत्यबारे सिकाउँदैछु।
“तपाईंको वर्षौंको विश्वासी सेवाको दौडान प्रभाव पार्नुभएको थुप्रै जीवनमध्ये म पनि एक हुँ भनी मलाई पक्का छ। तथापि, तपाईंको यो करुणाले गर्दा म अनि मेरो परिवारले महान् परमेश्वर यहोवा र उहाँको पुत्र ख्रीष्टलाई चिन्न पाएका छौं। म तपाईंलाई नयाँ संसारमा भेट्ने आशा गर्दछु जहाँ यहोवाले सबैको आँखाबाट आसुँ पुछि दिनुहुनेछ र फेरि मृत्यु हुनेछैन।—प्रकाश २१:४.
“तपाईंलाई चिन्न पाउनु र तपाईंले प्रचार गर्नुहुँदा हामीलाई भेटाउनुभएकोमा म र मेरो परिवार खुशी छौं। धन्यवाद।
“भ्रातृत्व प्रेमसहित,
पिटर”
छ महिनाजति बिरामी भएपछि मार्च १९९६ मा क्यारोल मरिन्। जोसिलो सुसमाचारकको रूपमा ३५ वर्षसम्म सेवा गर्दा तिनले सत्यका थुप्रै बीउहरू रोपिन्। फल कहिले फल्छ कसैलाई थाह हुँदैन भनी तिनले सिकिन्। कसलाई के थाह, वर्षौंपछि पनि यसरी फल्नसक्छ भनेर।—मत्ती १३:२३.