छुटकारा नजीकै भएकोले साहसी हुनुहोस्
“तँलाई बचाउनलाई म तेरो साथमा छु—परमप्रभु भन्नुहुन्छ।”—यर्मिया १:१९.
१, २. मानव परिवारलाई किन छुटकारा चाहिएको छ?
कति सान्त्वनादायी छ, छुटकारा भन्ने शब्द! छुटकारा पाउनु खराब, दुःखलाग्दो परिस्थितिबाट मुक्ति पाउनु हो। राम्रो, आनन्ददायी परिस्थितिमा पुग्नु हो।
२ आज मानव परिवारलाई त्यस्तै छुटकाराको असाध्यै खाँचो परिरहेको छ! जताततै मानिसहरू दबिएका छन्, आर्थिक, सामाजिक, शारीरिक, मानसिक अनि भावनात्मक जस्ता गम्भीर समस्याहरूदेखि वाक्क भएका छन्। धेरैजसो मानिसहरू संसारमा जे जस्तो भइरहेछन्, त्यसदेखि असन्तुष्ट, निराश छन्। तिनीहरू परिवर्तन चाहन्छन्।—यशैया ६०:२; मत्ती ९:३६.
“डरलाग्दो समय”
३, ४. अहिले किन छुटकारा असाध्यै चाहिएको छ?
३ अरू कुनै शताब्दीले भन्दा यस २० औं शताब्दीले धेरै कष्ट भोगेको छ। त्यसकारण अहिले जस्तो छुटकाराको खाँचो पहिले कहिल्यै परेको छैन। आज, एक अरबभन्दा धेरै मानिसहरू घोर गरिबीको चपेटामा परेका छन् र वर्षेनी झन्डै २ करोड ५० लाख मानिसहरू तिनीहरूको झुन्डमा सामेल हुन्छन्। कुपोषणलगायत गरिबीले गर्दा हुने अन्य रोगहरूको कारण वर्षैपिच्छे १ करोड ३० लाख अर्थात् दिनमा ३५,००० भन्दा धेरै बालबालिकाहरू मृत्युको मुखमा पर्छन्! अनि त्यस्ता लाखौं बूढाबूढीहरू छन् जो विभिन्न रोगहरूले गर्दा अकालमै मर्छन्।—लूका २१:११; प्रकाश ६:८.
४ युद्ध तथा गृह कलहले पनि त्यत्तिकै दुःख दिएको छ। सरकारले गर्दा मर्नेहरू (अंग्रेजी) भन्ने किताबअनुसार युद्ध, जातीय अनि धार्मिक कलह र आफ्नै जनताहरूको सामूहिक हत्या गर्ने सरकारहरूले गर्दा “यस शताब्दीमा २० करोड ३० लाखभन्दा धेरै मानिसहरू मरिसकेका छन्।” सोही किताब “मर्नेहरूको वास्तविक संख्या झन्डै ३६ करोड छ” पनि भन्छ। “झट्ट सुन्दा आधुनिक ब्ल्याक प्लेगले हाम्रो मानव नस्ललाई नै खत्तम पारेको हो कि जस्तो लाग्छ। खत्तम त पारेकै हो, तर कीटाणुको महामारीले होइन शक्तिको महामारीले।” यसै सन्दर्भमा लेखक रिचर्ड हारवुडले यसो भने: “बितेका शताब्दीहरूमा लडिएका जंगली पाराका झगडाहरू वर्तमान युद्धको तुलनामा केही पनि होइनन्।”—मत्ती २४:६, ७; प्रकाश ६:४.
५, ६. कुन कुराले गर्दा आज हाम्रो समय असाध्यै खराब छ?
५ बढ्दो काटमार, अनैतिकता र पारिवारिक फूटले हालैका वर्षहरूमा समस्यामाथि समस्या थपेको छ। संयुक्त राज्यमा बितेको ३० वर्षभित्र ४१ प्रतिशतले जनसंख्या बढ्दा अपराध चाहिं ५६० प्रतिशत, अवैध गर्भधारण ४०० प्रतिशत, पारपाचुके ३०० प्रतिशत अनि किशोरीकिशोरीहरूको आत्महत्या दर चाहिं २०० प्रतिशत बढेको कुरा त्यहाँका भूतपूर्व शिक्षा मन्त्री विलियम बेनेटले बताए। प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक जोन डियुल्यो जुनियरले चाहिं त्यस्ता “महा नरभक्षी” जवानहरूको बढ्दो संख्याबारे चेताउनी दिए जो “अरूको हत्या, आक्रमण, बलात्कार गर्छन्, लुट्छन्, घर फोर्छन् र गम्भीर अराजक स्थिति सृजना गर्छन्। तिनीहरू गिरफ्तारीदेखि डराउँदैनन्, न ता कैद वा अन्तस्करणको पीडाकै परवाह गर्छन्।” अहिले संयुक्त राज्यमा १५ देखि १९ वर्षका केटाकेटीहरू मर्नुको दोस्रो ठूलो कारण, हत्या भएको छ। अनि चार वर्षमुनिका बालबालिकाहरू रोगले भन्दा बाल दुर्व्यवहारले धेरै मर्छन्।
६ यस्ता अपराध वा हिंसा एउटै मुलुकमा भइरहेको होइन। थुप्रै देशहरूको त्यस्तै दशा छ। यी सब कुराहरूको दोषी, लाखौं मानिसहरूलाई भ्रष्ट बनाउने अवैध लागूपदार्थको बढ्दो प्रयोग पनि हो। यस सन्दर्भमा अस्ट्रेलियाको सिड्नी मर्निंग हेराल्ड-ले यसो भन्यो: “हातहतियार पछि सबैभन्दा धेरै मुनाफा हुने अर्को व्यापार अन्तरराष्ट्रिय लागूपदार्थको अवैध धन्दा हो।” बढ्दो अपराध र हिंसाको अर्को कारण चाहिं टेलिभिजनमा हरबखत देखाइने हिंसा अनि अनैतिकता हो। प्रायजसो देशका केटाकेटीहरूले १८ वर्ष नपुग्दै टिभीमा लाखौं हिंसाका दृश्यहरू हेरिसकेका हुन्छन्। मानिसहरूलाई भ्रष्ट पार्ने यस्तो प्रभाव विचारणीय छ। किनकि हामी आफ्नो दिमागमा जे हाल्छौं, त्यस्तै बन्छौं।—रोमी १२:२; एफिसी ५:३, ४.
७. वर्तमान खराब परिस्थितिहरूबारे बाइबलले कस्तो भविष्यवाणी गरेको थियो?
७ हाम्रो शताब्दीमा भइरहेका यस्ता डरलाग्दा घटनाहरूबारे बाइबलले बडो अचूक भविष्यवाणी गरेको छ। विश्वव्यापी युद्ध, रोगहरूको महामारी, अनिकाल र बढ्दो अपराधहरू हुनेछन् भनेर त्यसले पहिल्यै बताएको छ। (मत्ती २४:७-१२; लूका २१:१०, ११) अनि बाइबलकै २ तिमोथी ३:१-५ को भविष्यवाणी पढ्दा दैनिक समाचारपत्र पढेझैं लाग्छ। त्यस भविष्यवाणीले हाम्रो युगलाई “आखिरी दिन” भनेर उल्लेख गरेको छ र त्यस युगका मानिसहरू ‘स्वार्थी, धनको लोभी, आमाबाबुलाई नटेर्ने, धोकेबाज, स्वाभाविक स्नेह, आत्म संयम नहुने, घमण्डले फुल्ने, परमेश्वरलाई भन्दा सुख विलासलाई निको मान्ने’ हुनेछन् भनेर खुलस्त पारेको छ। अनि के आज संसारमा यस्तै मानिसहरू छैनन् र? विलियम बेनेटले भनेझैं “मानिसहरूको सभ्यता खस्कंदै गएको . . . प्रशस्तै प्रमाणहरू छन्।” मानिसहरू अझ पहिलो विश्वयुद्धसँगसँगै सभ्यताको पनि अन्त भयो पनि भन्छन्।
८. नूहको समयमा परमेश्वरले किन जलप्रलय गराउनुभयो र हाम्रो समय र त्यो समय कसरी मिल्दोजुल्दो छ?
८ परिस्थिति, जलप्रलयअगाडि “भ्रष्ट . . . र उपद्रवले भरिएको” नूहको जमानाभन्दा खराब छ। नूहको समयमा प्रायः सबै मानिसहरूले आफ्नो खराब चालचलन छाड्न इन्कार गरे। त्यसैकारण, परमेश्वरले यसो भन्नुभयो: “पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर्, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु।” अनि जलप्रलयले त्यतिबेला हिंसाले भरिएको संसारलाई नष्ट गऱ्यो।—उत्पत्ति ६:११, १३; ७:१७-२४.
मानिसको हातबाट छुटकारा पाउन असम्भव
९, १०. मानिसहरूले छुटकारा देलान् भनेर आश गर्नु किन बेकार छ?
९ के मानिसहरूले यी खराब परिस्थितिहरूबाट छुटकारा दिनसक्छन्? परमेश्वरको वचनले यस्तो जवाफ दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्, . . . तिनीहरूबाट केही सहायता हुँदैन।” “आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।” (भजन १४६:३; यर्मिया १०:२३) अनि हजारौं वर्षको इतिहासले यसको पुष्टि दिन्छ। मानिसहरूले आफ्नो औकातले भ्याएजति सबै राजनैतिक, आर्थिक अनि सामाजिक उपाय जुराएर हेरिसके, तर स्थिति सप्रनु त कता कता झन् झन् बिग्रँदैछ। वास्तवमा मानिसहरूसँग कुनै उपाय हुँदो हो त अहिलेसम्म निक्लिसक्नुपर्ने हो। बरु साँच्चै भन्ने हो भने, ‘एक मानिसले अर्को मानिसलाई दुःख दिएको छ।’—उपदेशक ८:९; हितोपदेश २९:२; यर्मिया १७:५, ६.
१० केही वर्षअघि संयुक्त राज्यको भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जेबिग्नेभ ब्राजिन्सकीले यसो भने: “संसारमा भइरहेका घटनाहरूलाई निष्पक्ष भई विचार गर्ने हो भने, निष्कर्षमा यही भन्न सकिन्छ, कि हाल भइरहेको सामाजिक उथलपुथल, राजनैतिक अस्थिरता, आर्थिक संकट अनि अन्तरराष्ट्रिय मनमुटाव झनै व्यापक हुनसक्छ।” तिनले अझै यसो भने: “मानवजातिले विश्वव्यापी अराजकताको सामना गर्नुपर्नेछ।” त्यतिबेला गरिएको विश्वघटनाहरूको नापजोख अहिले झन् सोह्रै आना सत्य भएको छ। बढ्दो हिंसाले भरिएको वर्तमान युगबारे टिप्पणी गर्दै न्यु हाभेन, कनेक्टिकटको पत्रिका रजिस्टर-को सम्पादकीयमा यस्तो लेखिएको थियो: “परिस्थिति हातबाहिर भइसक्यो।” हो, यो संसारको बिग्रँदो परिस्थिति अवश्य नियन्त्रणमा आउनेछैन, किनकि यी “आखिरी दिन[बारे]” गरिएको भविष्यवाणीले यसो पनि भन्छ: “तर खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।”—२ तिमोथी ३:१३.
११. मानिसहरूले जति नै प्रयास गरे पनि बिग्रँदो परिस्थिति किन सुध्रनेछैन?
११ मानिसहरूले कुनै हालतमा पनि परिस्थितिलाई बदल्न सक्दैनन्। किनभने “यस संसारको देव” नै शैतान हो। (२ कोरिन्थी ४:४) हो, “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९; यूहन्ना १४:३० पनि हेर्नुहोस्।) त्यसैकारण हाम्रो समयलाई लिएर बाइबल यसो भन्छ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:१२) आफ्नो शासनाधिकार र संसार दुवै अन्त हुँदैछ भनेर शैतानलाई थाह छ, त्यसैकारण त्यो “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।”—१ पत्रुस ५:८.
छुटकारा नजीक—तर कसको?
१२. कसले चाँडै छुटकारा पाउनेछन्?
१२ पृथ्वीमा चर्कंदै गएका समस्याहरूले आमूल परिवर्तन, हो, ठूलो छुटकारा नजीकै छ भन्ने ठोस प्रमाण दिन्छ। तर छुटकारा पाउने कसले? तिनीहरूले जसले चेताउनीलाई ध्यान दिएर सुन्छन् र उचित फैसला गर्छन्। गर्नुपर्ने फैसला के हो, त्यसबारे १ यूहन्ना २:१७ यसो भन्छ: “संसार [अर्थात् शैतानको रीतिरिवाज] बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—२ पत्रुस ३:१०-१३ पनि हेर्नुहोस्।
१३, १४. जागा रहनुपर्ने महत्त्वमाथि येशूले कसरी जोड दिनुभयो?
१३ वर्तमान भ्रष्ट समाज अब छिट्टै यस्तो विनाशद्वारा खत्तम हुनेछ जो “जगत्को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ,” भनेर येशूले अगमवाणी गर्नुभएको थियो। (मत्ती २४:२१) त्यसैकारण, उहाँले यस्तो चेताउनी पनि दिनुभयो: “तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ। तर आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई हर घड़ी प्रार्थना गर्दै जागा रहो।”—लूका २१:३४-३६.
१४ त्यसरी “होशियार” अनि ‘जागा रहने’ व्यक्तिले परमेश्वरको इच्छा के रहेछ भनेर जान्न खोज्छन् र त्यसैअनुसार गर्छन्। (हितोपदेश २:१-५; रोमी १२:२) यस्ताहरू मात्र अब हुनै लागेको शैतानी रीतिरिवाजको विनाशबाट “उम्कन” सक्नेछन्। अनि छुटकारा पाउनेछु भनेर पूर्णतया ढुक्क हुनसक्छन्।—भजन ३४:१५; हितोपदेश १०:२८-३०.
छुटकारा दिनुहुने मुख्य व्यक्ति
१५, १६. हामीलाई छुटकारा दिनुहुने मुख्य व्यक्ति को हुनुहुन्छ र उहाँले निष्पक्ष न्याय गर्नुहुनेछ भनेर हामी किन ढुक्क हुनसक्छौं?
१५ परमेश्वरका सेवकहरूलाई छुटाउन शैतान र त्यसका पूरै विश्वव्यापी रीतिरिवाजलाई खत्तम पार्नैपर्छ। यो काम मानिसजस्तो चानचुने शक्तिको स्रोतबाट हुनसक्तैन। यहोवा परमेश्वर, सर्वोच्च सार्वभौम, विशाल ब्रह्माण्डको सर्वशक्तिमान् सृष्टिकर्ताको हातबाट मात्र त्यस्तो छुटकारा सम्भव छ। उहाँ नै छुटकारा दिनुहुने मुख्य व्यक्ति हुनुहुन्छ: “म, अवश्य मनै परमप्रभु हुँ। मबाहेक अरू कोही उद्धार गर्नेछैन।”—यशैया ४३:११; हितोपदेश १८:१०.
१६ जति शक्ति, बुद्धि, न्याय अनि प्रेम यहोवासित छ, अरू कसैसित छैन। (भजन १४७:५; हितोपदेश २:६; यशैया ६१:८; १ यूहन्ना ४:८) त्यसैकारण, उहाँले निष्पक्ष न्याय गर्नुहुनेछ भनेर हामी ढुक्क हुनसक्छौं। अब्राहामले एकपटक यसरी सोधेका थिए: “सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नुहुन्न र?” (उत्पत्ति १८:२४-३३) पावलले पनि यस्तो उद्गार गरेका थिए: “के परमेश्वरमा अधर्म छ ता? त्यसो नहोस्।” (रोमी ९:१४) अनि यूहन्नाले चाहिं यसरी लेखे: “हे परमप्रभु परमेश्वर, सर्वशक्तिमान, तपाईंको इन्साफ सच्चा र धार्मिक छन्।”—प्रकाश १६:७.
१७. बितेका समयमा यहोवाका सेवकहरूले कसरी उहाँका प्रतिज्ञाहरूमाथि भरोसा देखाए?
१७ जब यहोवाले छुटकारा दिने वचन दिनुहुन्छ, त्यो अवश्य पूरा हुनेछ। यहोशूले यसो भने: “परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भयो।” (यहोशू २१:४५) त्यही कुरालाई समर्थन गर्दै सुलेमानले यसो भने: “[उहाँका] प्रतिज्ञाहरूमध्येको एउटै प्रतिज्ञा पनि विफल भएको छैन।” (१ राजा ८:५६) अब्राहामको उल्लेख गर्दै प्रेरित पावलले लेखे कि तिनी “परमेश्वरको प्रतिज्ञाको बारेमा अविश्वासले डग्मगाएनन्, . . . औ जे उहाँले प्रतिज्ञा गर्नुभएको छ, त्यो पूरा पनि गर्नसक्नुहुन्छ भन्ने कुरा उनलाई बिलकुल निश्चय भए।” त्यस्तैगरि साराले “प्रतिज्ञा गर्नुहुने . . . [परमेश्वरलाई] विश्वासयोग्यका गनेकी थिइन्।”—रोमी ४:२०, २१; हिब्रू ११:११.
१८. अहिले यहोवाका सेवकहरू छुटकारा पाउनेछु भनेर किन ढुक्क हुनसक्छन्?
१८ यहोवा, मानिसजस्तो पूर्णतया भरोसा गर्न नमिल्ने, आफ्नो वचन पूरा नगर्ने व्यक्ति हुनुहुन्न। “सेनाहरूका परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, जो युक्ति मैले गरेको छु, त्यो निश्चय पूरा हुनेछ, जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ।” (यशैया १४:२४) अतः जब बाइबलले “भक्तहरूलाई परीक्षाबाट बचाउन र अभक्तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न प्रभु जान्नुहुन्छ” भनेर बताउँछ, त्यो पक्कै पूरा हुनेछ भनेर हामी ढुक्क भए हुन्छ। (२ पत्रुस २:९) आफूभन्दा बलिया शत्रुहरूले धम्काउँदासमेत यहोवाका सेवकहरू डराउँदैनन्। किनभने यहोवाले आफ्नो अगमवक्तालाई दिनुभएको यस वचनले हामीप्रति उहाँका भावनाहरू कस्ता छन्, त्यो झल्काउँछ: “तिनीहरूले तँसित युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु—परमप्रभु भन्नुहुन्छ।”—यर्मिया १:१९; भजन ३३:१८, १९; तीतस १:२.
बितेका दिनहरूमा दिनुभएका छुटकारा
१९. यहोवाले लूतलाई कसरी छुटाउनुभयो र वर्तमान समयसित त्यस घटनाको के सम्बन्ध छ?
१९ बितेका समयमा आफ्ना जनहरूलाई छुटाउन यहोवाले कसरी आफ्नो बाहुबल चलाउनुभयो, त्यसलाई सम्झँदा हाम्रो आँट बढ्नसक्छ। उदाहरणका लागि, सदोम र गमोराको दुष्टता देखेर लूत “अति दुःखित भएका” थिए। यहोवाले ती शहरहरूको ‘विरुद्धमा उठेको ठूलो आवाज’ सुन्नुभयो। उहाँले ठीक बेलामै आफ्ना सन्देशवाहकहरू पठाउनुभएर लूत र तिनका परिवारलाई तुरुन्तै शहर छाड्न लगाउनुभयो। नतिजा? यहोवाले “सदोम र गमोराका शहरहरूलाई भस्म” पार्नुभएर “धार्मिक लूतलाई बचाउनुभयो।” (२ पत्रुस २:६-८; उत्पत्ति १८:२०, २१) आज पनि यहोवाले यो संसारको घोर दुष्टता विरुद्धको आवाज सुनिरहनुभएको छ। अहिले उहाँका सन्देशवाहकहरू भएर काम गर्ने व्यक्तिहरूले उहाँले चाहनुभएजति साक्षी दिने महत्त्वपूर्ण काम पूरा गरिसकेपछि यो संसारको कारबाही सुरु गर्नुहुनेछ र लूतलाई छुटाउनुभएझैं आफ्ना सेवकहरूलाई छुटाउनुहुनेछ।—मत्ती २४:१४.
२०. यहोवाले कसरी पुरातन इस्राएललाई मिश्रबाट छुटाउनुभयो, व्याख्या गर्नुहोस्।
२० प्राचीन कालमा यहोवाका लाखौं जनहरू मिश्र देशको कैदमा पर्दा यहोवाले तिनीहरूको विषयमा यसो भन्नुभयो: “तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दुःख मलाई थाह छ। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा [दिनेछु]।” (प्रस्थान ३:७, ८) तथापि, परमेश्वरका जनहरूलाई फर्कन दिएको केही समयभित्रै फिरऊनको मन बदल्यो र आफ्नो विशाल सेना लिएर तिनीहरूलाई खेद्न थाले। अगाडि लाल समुद्र, पछाडि मिश्री सेना। यसो हेर्दा इस्राएलीहरू फसेको जस्तो देखिन्थ्यो। यस्तो बेलामा पनि मोशाले यसो भने: “तिमीहरू नडराओ, परमप्रभुले आज तिमीहरूलाई दिनुहुने उद्धारलाई स्थिर भएर हेर।” (प्रस्थान १४:८-१४) यहोवाले लाल समुद्रलाई दुइ फ्याक पार्नुभयो। इस्राएलीहरू उम्के र फिरऊनका सेना खेद्दै पछि लागे। तर त्यत्तिकैमा यहोवाले आफ्नो शक्ति प्रयोग गर्नुभयो। फलतः “गहिरा पानीले तिनीहरूलाई छोपे। तिनीहरू ढुङ्गाझैं गहिरामा डुबे।” पछि मोशाले यसो भन्दै यहोवाको जयजयकार गरे: “पवित्रतामा अति महान्, प्रतापी कार्यहरूमा भययोग्य र उदेकका कर्म गर्नुहुने तपाईंझैं को छ र?”—प्रस्थान १५:४-१२, १९.
२१. यहोवाका जनहरू कसरी अम्मोनी, मोआबी र एदोमीहरूको हातबाट उम्के?
२१ अम्मोनी, मोआबी र एदोमीहरूले एक पटक यहोवाका जनहरूलाई खत्तम पार्ने धम्की दिंदा यहोवाले यसो भन्नुभयो: “नडराऊ, [शत्रुहरूको] यस ठूलो सैन्य-दलदेखि नआत्तियो। किनभने लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन। . . . यो लड़ाइँ तिमीहरूले लड़नेछैनौ। दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ।” यहोवाले इस्राएलका शत्रुहरूबीच गोलमाल उत्पन्न गर्नुभयो र तिनीहरू आफूआफूमै काटमार गर्न थाले। यसरी यस घटनामा पनि यहोवाले आफ्ना जनहरूलाई छुटाउनुभयो।—२ इतिहास २०:१५-२३.
२२. यहोवाले कुन चमत्कारपूर्ण काम गर्नुभएर इस्राएलीहरूलाई अश्शुरीहरूको हातबाट बचाउनुभयो?
२२ अश्शुरी विश्वशक्ति यरूशलेममाथि जाइलाग्दा राजा सनहेरीबले पर्खालका मानिसहरूलाई यसो भन्दै यहोवाको खिसी गरेका थिए: “[मैले जितेका] यी देशहरूका देवताहरूमध्ये कसले आफ्नो देश मेरो हातबाट बचाउनसकेको छ? के परमप्रभुले यरूशलेमलाई मेरो हातबाट बचाउनसक्नुहुन्छ र?” अनि परमेश्वरका सेवकहरूलाई चाहिं तिनले यसो भने: “हिजकियाहले तिमीहरूलाई यसो भनेर परमप्रभुमाथि भरोसा गर्न पनि नलाओस्, ‘परमप्रभुले निश्चय हामीलाई बचाउनुहुनेछ।’ ” राजा हिजकियाहले छुटकाराका लागि जोडतोडले प्रार्थना गरे ताकि ‘पृथ्वीका सारा राज्यहरूले थाह पाऊन् कि उहाँ मात्र परमप्रभु हुनुहुन्छ।’ प्रार्थनाको जवाफमा यहोवाले १,८५,००० अश्शुरी सेनाहरूलाई खत्तम पारेर आफ्ना सेवकहरूलाई छुटाउनुभयो। पछि सनहेरीब आफ्ना झूटा देवताहरूको पूजा गर्न जाँदा आफ्नै छोराहरूको हातबाट मारिए।—यशैया ३६ र ३७ अध्याय।
२३. आज छुटकारा पाउने विषयमा कस्ता प्रश्नहरूका जवाफ चाहिएको छ?
२३ बितेका समयमा यहोवाले आफ्ना जनहरूलाई छुटाउन गर्नुभएका आश्चर्यलाग्दा कामहरूलाई विचार गर्दा हामी डराउनुपर्ने कुनै कारण देखिंदैन। तर के आज हामीलाई बचाउनुहुनेछ त? अनि उहाँका विश्वासी सेवकहरू त्यस्तो कुन खतरामा पर्न लागेका छन् र उहाँको चमत्कारपूर्ण छुटकारा चाहियो? अहिलेसम्म उहाँले छुटकारा किन नदिनुभएको? अनि येशूका निम्न शब्दहरू कसरी पूरा हुनेछन्: “तर जब यी कुरा हुनेछन् तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ”? (लूका २१:२८) अन्तमा, मरिसकेका सेवकहरूलाई चाहिं उहाँले कसरी छुटाउनुहुनेछ? यी सबै प्रश्नहरूको जवाफ आउँदो लेखले दिनेछ।
पुनरावृतिका लागि प्रश्नहरू
◻ किन छुटकारा असाध्यै चाहिएको छ?
◻ मानिसहरूले छुटकारा देलान् भनेर आश गर्नु किन बेकार छ?
◻ कसले चाँडै छुटकारा पाउनेछन्?
◻ यहोवाले छुटकारा दिनुहुनेछ भनेर हामी किन ढुक्क हुनसक्छौं?
◻ बितेका समयमा यहोवाले छुटकारा दिनुभएका कुन कुन घटनाहरू प्रोत्साहनदायी छन्?
[पृष्ठ १०-मा भएको चित्र]
यहोवामाथि पूरापूर भरोसा राख्नेहरूमध्ये अब्राहाम पनि थिए