यहोवाका साक्षीहरूले अन्तरराष्ट्रिय अधिवेशनहरू आयोजन गर्नेछन्
यहोवाका साक्षीहरूको परिचालक निकायले सन् १९९८ मा अन्तरराष्ट्रिय अधिवेशनहरू सम्पन्न गर्ने योजना बनाइरहेको छ। यो कुरा पेन्सल्भेनियाको द वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको वार्षिक सभामा घोषणा गरिंदा त्यहाँ उत्साह र उमंगको वातावरण छायो। त्यो वार्षिक सभा अक्टोबर ५, १९९६ शनिबारको दिन जर्सी सिटी एसेम्बली हलमा भएको थियो।
सन् १९९८ को मध्यतिर उत्तर अमेरिकामा साबिकका जिल्ला अधिवेशनहरू सँगसँगै थुप्रै अन्तरराष्ट्रिय अधिवेशनहरू सम्पन्न हुनेछन्। यी जमघटहरूमा पृथ्वीको कुनाकुनाबाट लाखौं साक्षीहरू एकजुट हुनेछन् भन्ने आशा राखिएको छ। जतिसक्दो थुप्रै मुलुकहरू यसमा सहभागी हुन सकून् भन्ने हेतुले ती मुलुकका प्रतिनिधिहरू उत्तर अमेरिकाको शहरहरूमा सम्पन्न हुने कुन चाहिं अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित हुनुपर्ने हो त्यसको जानकारी वाच टावर सोसाइटीको १०० भन्दा बढी शाखा कार्यालयहरूलाई दिइनेछ।
स्पष्टतया, उत्तर अमेरिकाको यात्रा गर्न चाहने जो सुकैले चिताएजस्तो त्यो इच्छा पूरा गर्न सक्नेछैन। तथापि, हजारौं आफ्नो देश नजीकको अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित हुन सक्लान्। यी अन्तरराष्ट्रिय अधिवेशनहरू युरोपका दुइ वा तीन देशहरूमा हुनेछन् र अरू चाहिं अफ्रिका, एसिया, ल्याटिन अमेरिका, दक्षिण प्रशान्त र क्यारिबियनमा पनि सम्पन्न हुनेछन् र यसको लागि धुमधामसँग तयारी गरिंदैछ।
कुन शहरमा आयोजित अधिवेशनमा मण्डलीलाई निम्त्याइएको हो, त्यसबारे मण्डलीहरूलाई आ-आफ्नो क्षेत्रका शाखा कार्यालयहरूले समयमै बताउनेछन्। अधिवेशनको मिति र प्रतिनिधिहरू छनौट गर्ने प्रबन्धहरूबारे जानकारी दिइनेछ। प्रतिनिधि छनौटको लागि आवेदन भर्न चाहनेहरूले यी विशेष अवसरमा सहभागी हुन अहिलेदेखि नै पैसा बचत गर्न थाले हुन्छ।
विश्वभरिका यहोवाका साक्षीहरूले सन् १९९८ मा सम्पन्न हुने यी अन्तरराष्ट्रिय जमघटहरूमा पाइने कुराहरूको बाटो हेर्नसक्छन्। सबै देशहरूमा सम्पन्न हुने जिल्ला अधिवेशनहरूका लागि पनि यस्तै प्रबन्धहरू गरिनेछन्।