सही प्रकारका सन्देशवाहकहरूलाई चिन्ने
“म . . . जसले आफ्नो दासको वचनलाई पक्का गराउँछु, र आफ्ना दूतहरूका युक्तिलाई पूरा गर्छु।”—यशैया ४४:२५, २६.
१. यहोवाले साँचो सन्देशवाहकहरूलाई कसरी चिनाउनुहुन्छ र झूटाहरूको पर्दाफास कसरी गर्नुहुन्छ?
यहोवा परमेश्वर, आफ्ना साँचो सन्देशवाहकहरू चिनाउनुहुने महान् व्यक्ति हुनुहुन्छ। उहाँले आफ्ना साँचो सन्देशवाहकहरूले सुनाउने वाणी सत्य साबित गराउनुभएर तिनीहरूलाई चिनाउनुहुन्छ। यहोवा झूटा सन्देशवाहकहरूको पर्दाफास गर्ने महान् व्यक्तित्व पनि हुनुहुन्छ। उहाँले तिनीहरूको पर्दाफास कसरी गर्नुहुन्छ? उहाँले तिनीहरूका चिह्न र अगमवाणीहरू निष्फल बनाइ दिनुहुन्छ। यसप्रकार तिनीहरू आफ्नै तर्फबाट अगमवाणी गर्ने अगमवक्ताहरू हुन् र तिनीहरू आफ्नै मूर्ख, पतित अनि शारीरिक सोचाइबाट प्रेरित भई अगमवाणी बोल्छन् भनेर उहाँले देखाउनुहुन्छ!
२. इस्राएलीहरूको समयमा सन्देशवाहकहरूबीच कस्तो विरोधाभास कुरा भयो?
२ यशैया र इजकिएल दुवैले यहोवा परमेश्वरको सन्देशवाहक हुँ भनी दाबी गरे। तर के तिनीहरू साँचो सन्देशवाहकहरू थिए त? आउनुहोस्, हामी हेरौं। यशैयाले यरूशलेममा सा.यु.पू. ७७८ देखि झन्डै सा.यु.पू. ७३२ सम्म अगमवाणी गरे। इजकिएललाई चाहिं सा.यु.पू. ६१७ मा बाबेलमा कैदी बनाएर लगिएको थियो। तिनले आफ्ना निर्वासित यहूदी भाइहरूका लागि अगमवाणी गरे। यी अगमवक्ताहरूले यरूशलेमको विनाशबारे निर्भयतापूर्वक घोषणा गरे। तर अरू अगमवक्ताहरूले चाहिं परमेश्वरले यसो हुन दिनुहुन्न भने। त्यसोभए, साँचो सन्देशवाहकहरू को प्रमाणित भए त?
यहोवा झूटा अगमवक्ताहरूको पर्दाफास गर्नुहुन्छ
३, ४. (क) बाबेलमा भएका इस्राएलीहरूलाई कुन दुइ विपरीत सन्देशहरू सुनाइयो अनि यहोवाले कसरी झूटा सन्देशवाहकहरूलाई चिनाउनुभयो? (ख) झूटा सन्देशवाहकहरूलाई के हुनेछ भनी यहोवाले भन्नुभयो?
३ इजकिएल बाबेलमै हुँदा यरूशलेमको मन्दिरभित्र भइरहेका घटनाहरूबारे दर्शन दिइयो। यहोवाको भवनको पूर्वपट्टि ढोकामा २५ जना पुरुषहरू थिए। त्यसमा दुइ राजकुमार, याजन्याह र पलत्याह थिए। यहोवाले यी दुइलाई कुन दृष्टिले हेर्नुहुन्थ्यो? इजकिएल ११:२, ३ ले यसरी जवाफ दिन्छ: “हे मानिस, यी तिनै मानिसहरू हुन् जसले यस शहरमा कुकर्म रच्तछन्, र दुष्ट सल्लाह दिन्छन्। औ तिनीहरू भन्छन्, ‘घरहरू बनाउने समय आइपुगेको छैन।’ ” अर्को शब्दमा भन्ने हो भने, यी हठी शान्ति सन्देशवाहकहरूले वास्तवमा यसो भन्दैथिए, ‘यरूशलेमलाई कुनै खतरा नै छैन। हामी चाँडै नयाँ घरहरू बनाउन लागेका छौं!’ तर इजकिएललाई यी फटाहा सन्देशवाहकहरू विरुद्ध भविष्यवाणी गर्न परमेश्वरले भन्नुभयो। वास्तवमा, तिनीहरूमध्ये एकलाई के भयो, त्यसबारे अध्याय ११ को पद १३ ले यसो भन्छ: “जब मैले अगमवाणी भनिरहेको थिएँ तब बनायाहको छोरो पलत्याह मरे।” सम्भवतः पलत्याह सबैभन्दा प्रतिष्ठित तथा प्रभावकारी राजकुमार हुनुका साथै मूर्तिपूजकहरूको अगुवा भएकोले त्यसो भएको हुनसक्छ। तिनको आकस्मिक मृत्युले तिनी झूटा अगमवक्ता थिए भनी साबित भयो!
४ यहोवाले पलत्याहलाई न्यायदण्ड दिनुभए तापनि अरू झूटा अगमवक्ताहरूले परमेश्वरको नाउँमा झूटो बोल्न बन्द गरेनन्। यी ठगहरूले परमेश्वरको इच्छा विरुद्ध भविष्यवाणीहरू गरेर बौलट्टी मार्ग नै अपनाइरहे। त्यसैले यहोवा परमेश्वरले इजकिएललाई यसो भन्नुभयो: “मूर्ख अगमवक्ताहरूलाई धिक्कार, जो केही दर्शन नदेखेर पनि आफ्नै मनको कुराको पछि लाग्दछ।” पलत्याहजस्तै तिनीहरू पनि ‘मर्नेछन्’ किनभने तिनीहरूले अमिल्दो गरी यरूशलेममा “केही शान्ति नहुँदा पनि त्यसको निम्ति शान्तिको दर्शन देखे।”—इजकिएल १३:३, १५, १६.
५, ६. सबै झूटा सन्देशवाहकहरूको बावजूद यशैया कसरी साँचो अगमवक्ता प्रमाणित भए?
५ यशैयाले यरूशलेमबारे गरेका सबै ईश्वरीय सन्देशहरू सत्य साबित भए। सा.यु.पू. ६०७ को गरम याममा बेबिलोनीहरूले शहरलाई नाश गरे र बाँकी रहेका यहूदीहरूलाई कैदी बनाएर लगे। (२ इतिहास ३६:१५-२१; इजकिएल २२:२८; दानियल ९:२) के यी विपत्तिहरूको कारण झूटा अगमवक्ताहरूले परमेश्वरका जनहरूलाई अर्थ न बर्थका कुराहरू बताउन बन्द गरे त? अहँ, गरेनन्, तिनीहरूले झूटा सन्देशहरू बोलि नै रहे!
६ यस अतिरिक्त बाबेलको निर्वासनमा गएका इस्राएलीहरूले भावी बताउने घमण्डी व्यक्तिहरू, जोखना हेर्नेहरू अनि ज्योतिषीहरूको नकारात्मक पूर्वानुमानहरू पनि सुन्नुपऱ्यो। तथापि, यहोवाले ती झूटा सन्देशवाहकहरूलाई उल्टो कुरा भविष्यवाणी गर्ने महामूर्ख साबित गर्नुभयो। समयमा उहाँले इजकिएल र यशैया नै आफ्ना साँचो सन्देशवाहकहरू हुन् भनी साबित गर्नुभयो। आफूले प्रतिज्ञा गरेअनुसार तिनीहरू मार्फत दिनुभएका सम्पूर्ण प्रेरित वचन यहोवाले पूरा गर्नुभयो: “म, जसले झूटाहरूका चिह्न निष्फल तुल्याउँछु, र जोखना हेर्नेहरूलाई बौलाहा तुल्याउँछु, जसले बुद्धिमान मानिसलाई पछि हटाउँछु, र तिनीहरूका ज्ञानलाई मूर्खता तुल्याउँछु, जसले आफ्नो दासको वचनलाई पक्का गराउँछु, र आफ्ना दूतहरूका युक्तिलाई पूरा गर्छु, जसले यरूशलेमको बारेमा भन्छु, त्यसमा मानिसहरूको आबादी हुनेछ। औ यहूदाका शहरहरूका बारेमा भन्छु, ती बनाइनेछन्, र म त्यसका उजाड़ ठाउँहरूलाई खड़ा गर्नेछु।”—यशैया ४४:२५, २६.
बाबेल र यरूशलेमबारे आश्चर्यलाग्दो सन्देशहरू
७, ८. बाबेलको लागि यशैयाले कस्तो प्रेरित सन्देश दिए र त्यसको अर्थ के थियो?
७ यहूदा र यरूशलेम ७० वर्षसम्म पूर्णतया उजाड र निर्जन हुनेथियो। तैपनि, यहोवाले अगमवाणी गर्नुभएकै समयमा त्यस शहरको पुनर्निर्माण हुनेथियो र त्यहाँ मानिसहरू फेरि बसोबास गर्नेथिए! यो एकदमै छक्कलाग्दो पूर्वानुमान थियो। किन? किनभने बाबेलका राजाहरूले आफ्ना कैदीहरूलाई कहिल्यै स्वदेश फर्कन दिंदैन थियो। (यशैया १४:४, १५-१७) अनि कसले पो तिनीहरूको हातबाट यी कैदीहरूलाई छुटाउनसक्थ्यो र? ठूल-ठूला पर्खाल र नदीले घेरिएको शक्तिशाली बाबेललाई कसले पो धम्की दिनसक्थ्यो र? सर्वशक्तिमान् यहोवाले पक्कै सक्नुहुन्थ्यो! अनि उहाँले गर्छु पनि भन्नुभयो: “[म] . . जसले सागरलाई [अर्थात् शहरलाई चारैतिरबाट घेरेर बचाउने पानीलाई] भन्छु सुकिजा, म तेरा नदीहरूलाई सुकाउनेछु। जसले कोरेसका बारेमा भन्छ, त्यो मेरो गोठाला हो, र मेरो सबै इच्छा त्यसले पूरा गर्छ। यरूशलेमको बारेमा पनि यसो भन्छ, त्यो फेरि बनाइनेछ। औ मन्दिरको बारेमा चाहिं, ‘तेरो जग बसालिनेछ।’ ”—यशैया ४४:२५, २७, २८.
८ यसो सोच्नुहोस् त! मानिसहरूका निम्ति युफ्रेटिस नदी अजेय पर्खाल सरह थियो तर यहोवाको निम्ति तातो फलाममा झरेको एक थोपा पानी! खस्न नपाउँदै त्यो सुकिहाल्नेथियो! हो, बाबेलको पतन हुनेथियो। यद्यपि, फारसी कोरेसको जन्म हुनुभन्दा १५० वर्षअघि यशैयाले तिनी बाबेलमाथि विजयी हुनेछन् भनेर अगमवाणी गरेका थिए। यहूदीहरू बाबेलमा निर्वासित हुने भए तापनि कोरेसले त्यस दुष्ट शहरलाई कब्जा गरेर तिनीहरूलाई मुक्त गर्नेछन् अनि यरूशलेम तथा त्यसको मन्दिर पुनर्निर्माण गर्ने अधिकारसमेत दिनेछन् भनेर यशैयाले घोषणा गरे।
९. बाबेललाई दण्ड दिन यहोवाले आफ्नो प्रतिनिधिको रूपमा कसलाई छान्नुभयो?
९ हामीले यो भविष्यवाणी यशैया ४५:१-३ मा पढ्नसक्छौं: “परमप्रभु यसो भन्नुहुन्छ, ‘त्यसद्वारा जाति जातिहरूलाई पराजित गर्नलाई, . . . ढोकाहरू खोल्नलाई, र मूल-ढोकाहरू बन्द हुन नदिनलाई, मैले अभिषेक गरेको कोरेसको हात मैले समातेको छु। म तेरो अगि अगि जानेछु, र डाँड़ाहरूलाई समतल पार्नेछु। पीतलका ढोकाहरू म टुक्रा टुक्रा पार्नेछु, र फलामका बारहरू धुजा धुजा बनाउनेछु। तैंले यो थाह पाउनलाई कि म परमप्रभु हुँ, जसले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु। मनै इस्राएलका परमेश्वर हुँ, म तँलाई अँध्यारो ठाउँमा भएको धन र गुप्त स्थानमा लुकाएका भण्डार दिनेछु।’ ”
१०. कोरेस कुन तरिकामा “अभिषिक्त” भए र तिनको जन्म हुनुभन्दा सय वर्षअघि नै यहोवाले तिनीसित कसरी कुरा गर्न सक्नुभयो?
१० यहोवा कोरेससित कसरी कुरा गर्नुहुन्छ, ध्यान दिनुहोस्। मानौं, तिनी जन्मेर जीवितै अवस्थामा भएझैं गरी! यहोवाले “हुँदै नभएका कुराहरूलाई भएझैं गरी बोलाउनुहुन्छ” भनेर पावलले भनेका कुरासित यो मेल खान्छ। (रोमी ४:१७) परमेश्वरले कोरेसलाई आफ्नो “अभिषिक्त [जन]” पनि भन्नुभएको छ। तर किन? आखिरमा, कोरेस यहोवाको प्रधानपूजाहारीको हातबाट अभिषेक गरिने पवित्र तेलद्वारा कहिल्यै अभिषिक्त भएका थिएनन्। हो, तिनको यो अभिषेक भविष्यसूचक अभिषेक थियो। त्यसले विशेष नियुक्ति वा कुनै ओहदाको लागि गरिने मनोनयनलाई संकेत गर्छ। अतः, कोरेसको अग्रिम नियुक्तिलाई परमेश्वरले अभिषिक्त भन्न सक्नुहुन्थ्यो।—तुलना गर्नुहोस् १ राजा १९:१५-१७; २ राजा ८:१३.
परमेश्वरले आफ्ना सन्देशवाहकहरूको वाणी पूरा गर्नुहुन्छ
११. बाबेलवासीहरूले आफूलाई किन सुरक्षित महसुस गरे?
११ यद्यपि, कोरेस बाबेल विरुद्ध जाइलाग्दा त्यहाँका बासिन्दाहरूले आफूलाई सुरक्षित ठानेका थिए। तिनीहरूको शहर युफ्रेटिस नदीले बनेको गहिरो अनि चौडा नहरले घेरिएको थियो। यो नदी शहरभित्र भएर बग्थ्यो अनि त्यसको पूर्वी किनारमा घाटहरू बनाइएका थिए र यी घाटहरूलाई शहरबाट छुट्याउन नबूकदनेस्सरको आफ्नै शब्दमा भन्ने हो भने तिनले “उखेल्न नसकिने पहाडजस्तो ठूलो पर्खाल बनाए। र त्यसलाई पहाडजत्तिकै अग्लो बनाए।”a पर्खालमा पित्तलका ठूल-ठूला ढोकाहरू थिए। त्यहाँबाट प्रवेश गर्न नदीको किनारबाट मास्तिर उक्लनुपर्थ्यो। अतः, बाबेलका कैदीहरूले मुक्त हुने आशै नगर्नु कुनै नौलो कुरा होइन!
१२, १३. बाबेल कोरेसको हातमा पर्दा यहोवाले आफ्नो सन्देशवाहक यशैया मार्फत भन्नुभएको वाणी कसरी सत्य साबित भयो?
१२ तर यहोवामा विश्वास भएका यहूदी कैदीहरूले आश मारेका थिएनन्! तिनीहरूसित उज्ज्वल आशा थियो! आफ्ना अगमवक्ताहरू मार्फत परमेश्वरले तिनीहरूको छुटकाराबारे अगमवाणी गर्नुभएको थियो। परमेश्वरले कसरी आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो? कोरेसले सिपाहीहरूलाई युफ्रेटिस नदीलाई बाबेलभन्दा माइलौं उत्तरतिर फर्काउने आदेश दिए। बाबेलको मुख्य प्रतिरक्षक झन्डै सुख्खा नदीझैं भयो। अनि त्यस महत्त्वपूर्ण रात युफ्रेटिस नदीअगाडिका दुइ खापे ढोकाहरू पनि रक्सीले मात्तिएर मोजमज्जा गर्नेहरूले लापरवाहीसाथ खुल्लै छोडे। निस्सन्देह, यहोवाले नता पित्तलका ढोकाहरू भत्काउनुभयो न ढोकामा लगाइएका फलामे बारहरू नै ढाल्नुभयो। उहाँले अदृश्य रूपमा घटनाहरूलाई मोड्नुभएर त्यसलाई खुल्ला रहन दिनुभएकोले ती ढोकाहरू भत्काइएझैं भए। बाबेलका पर्खालहरू बेकार भए। कोरेसका सिपाहीहरू शहरभित्र प्रवेश गर्न पर्खाल चढ्नुपरेन। कोरेस आइपुग्नु अगावै यहोवाले “डाँड़ाहरू” अर्थात् सबै अवरोधहरू हटाउनुभयो। यसप्रकार, यशैया परमेश्वरको साँचो सन्देशवाहक साबित भए।
१३ कोरेसका सिपाहीहरूले शहरलाई पूर्णतया कब्जामा लिएपछि गोप्य, अँध्यारो कोठाहरूमा लुकाइएका धनलगायत बाबेलका सबै धन सम्पत्तिहरू स्वतः कोरेसको हातमा परे। यहोवाले किन कोरेसको निम्ति यी सबै गर्नुभयो? ‘नाउँ काढेर बोलाउनुहुने’ यहोवा नै भविष्यवाणी गर्ने साँचो परमेश्वर र ब्रह्माण्डीय सार्वभौम हुनुहुन्छ भनी तिनलाई चिनाउन। हो, आफ्नो जन इस्राएललाई मुक्त पार्ने उद्देश्य पूरा गर्न परमेश्वरले त्यसो गर्नुभएको हो भनी कोरेसले थाह पाउनेथिए।
१४, १५. यहोवाले गर्दा नै बाबेललाई कोरेसले परास्त गर्न सकेको हो भनी हामी कसरी भन्नसक्छौं?
१४ कोरेसलाई यहोवा के भन्नुहुन्छ, सुन्नुहोस्: “मेरो दास याकूब, मेरो चुनिएको इस्राएलको खातिर मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको हुँ। तैंले मलाई नचिनेको भए तापनि मैले तँलाई कुलनाउँ दिएको छु। म परमप्रभु हुँ, औ मबाहेक अरू कोही छैन। म सिवाय अरू कोही परमेश्वर छैन। तैंले मलाई नचिनेको भए तापनि म तँलाई तयार पार्नेछु, र पूर्वदेखि लिएर पश्चिमसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र म सिवाय अरू कोही छैन। मैले उज्यालो बनाएँ, औ अँध्यारोलाई सृष्टि गरें। [त्यस्तैगरि] [आफ्ना निर्वासित जनहरूका लागि] शान्ति र [बाबेलको लागि] दुष्टता [“विपत्ति” NW] बनाउने मनै हुँ। म परमप्रभु हुँ, जसले यी सारा काम गर्छ।”—यशैया ४५:४-७.
१५ बाबेललाई नाश गर्ने र आफ्ना कैदी जनहरूलाई छुटाउने इच्छा पूरा गर्न यहोवाले कोरेसलाई बलियो बनाउनुभयो। जुन कुरा कोरेसलाई थाहै थिएन। कोरेसलाई यसरी चलाउनुभएर यहोवाले आकाशलाई धार्मिक प्रभाव वा शक्तिहरू वर्षाउने आज्ञा दिनुभयो। पृथ्वीलाई आफ्नो जमीन फाटेर उहाँका निर्वासित जनहरूका खातिर धार्मिक घटना तथा छुटकारा सृजना गर्ने आज्ञा पनि दिनुभयो। समयमा उहाँको लाक्षणिक आकाश र पृथ्वीले यो आज्ञा पालन गऱ्यो। (यशैया ४५:८) यसप्रकार, तिनको मृत्यु भएको सय वर्षभन्दा पछि पनि यशैया यहोवाको साँचो सन्देशवाहक साबित भए!
सियोनको लागि सन्देशवाहकहरूको सुसमाचार!
१६. बाबेलको पराजय हुँदा उजाड यरूशलेम शहरबारे कुन सुसमाचार उद्घोषणा गर्न सकिन्थ्यो?
१६ तर कुरा अझै बाँकी छ। यशैया ५२:७ ले यरूशलेमको लागि सुसमाचार सुनाउँछ। त्यसले यसो भन्छ: “शुभ समाचार ल्याउनेको खुट्टा डाँड़ाहरू हुँदो कति सुन्दर छ, जसले शान्तिको प्रचार गर्दछ, जसले कल्याणको शुभ समाचार ल्याउँछ, जसले मुक्तिको प्रचार गर्दछ, जसले सियोनलाई भन्दछ, ‘तेरा परमेश्वर राज्य गर्नुहुन्छ।’ ” सियोनको निम्ति भावोत्तेजक सन्देश लिएर पर्वतबाट यरूशलेमतर्फ ओर्लिरहेको सन्देशवाहक देख्नु कत्ति रोमाञ्चकारी थियो होला, कल्पना गर्नुहोस् त! तिनीसित समाचार पक्कै थियो। अनि त्यो समाचार के थियो? त्यो सियोनको लागि रोमाञ्चकारी समाचार थियो। हो, शान्तिको परमेश्वरको अनुग्रहको समाचार। यरूशलेम र त्यसको मन्दिर पुनर्निर्माण गरिनेथियो! अनि यस्तो समाचार ल्याउने सन्देशवाहकले उल्लसित हुँदै यसो भने: “तेरा परमेश्वर राज्य गर्नुहुन्छ।”
१७, १८. कोरेसले बाबेललाई परास्त गर्दा स्वयं परमेश्वरको नाउँलाई कसरी असर गऱ्यो?
१७ दाऊद वंशका राजाहरूले यहोवाको प्रतिरूपक सिंहासनमा बसेर शासन गरिरहेका थिए। तर यहोवाले बेबिलोनीहरूलाई आफ्नो प्रतिरूपक सिंहासन पल्टाउने अनुमति दिनुहुँदा उहाँ अब राजा नहुनु भएजस्तो देखिएको हुनसक्छ। त्यतिबेला सियोनको परमेश्वर राजा नभई बेबिलोनीहरूको प्रधानदेव मार्डुक पो राजा हो कि जस्तो देखिएको थियो। तर सियोनको परमेश्वरले बाबेलको पतन गराउनुभएर आफ्नो विश्वव्यापी सार्वभौमिकता फेरि प्रदर्शन गर्नुभयो। उहाँ नै महान् राजा हुनुहुन्थ्यो। अनि यस तथ्यलाई जोड दिन अब “महाराजाको शहर” यरूशलेम र त्यसको मन्दिर पुनर्स्थापित हुन लागेको थियो। (मत्ती ५:३५) अनि त्यस्तो सन्देश ल्याउने सन्देशवाहकको खुट्टा फोहर र घावै घाउले भरिएको भए तापनि सियोन तथा तिनको परमेश्वरका प्रेमीहरूको दृष्टिमा असाध्यै सुन्दर थियो!
१८ भविष्यसूचक अर्थमा भन्ने हो भने, बाबेलको पतनको अर्थ परमेश्वरको राज्य पुनर्स्थापित हुनु र सुसमाचार ल्याउने व्यक्ति त्यस घटनाको उद्घोषक थियो। यसबाहेक, यस पुरातन सन्देशवाहकले महान् सुसमाचार ल्याउने सन्देशवाहकको पूर्वचित्रण गऱ्यो। यस्तो छुटकारा र पुनर्स्थापनाले यहोवा आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ र शान्तिको सन्देश दिने आफ्ना साँचो सन्देशवाहकहरू चिनाउनुहुन्छ भनेर प्रमाणित गऱ्यो।
१९. इस्राएल राष्ट्रबारे यहोवाले इजकिएल मार्फत कस्तो सन्देश दिनुभयो?
१९ इजकिएललाई पनि पुनर्स्थापनाका उज्ज्वल भविष्यवाणीहरू गर्न लगाइएको थियो। तिनले यसरी भविष्यवाणी गरे: “परमप्रभु परमेश्वरको यो वाणी छ, ‘. . . म शहरहरूलाई फेरि आबाद तुल्याउनेछु, र महलहरू फेरि बनाइनेछन्। [अनि] मानिसहरूले यस्तो भन्नेछन्, “यही जमीन जो उजाड़ थियो अब अदनको बगैंचाजस्तै भएछ।” ’ ”—इजकिएल ३६:३३, ३५.
२०. यशैयाले भविष्यसूचक ढंगमा यरूशलेमलाई कस्तो आनन्ददायी समाचार दिए?
२० बाबेलको कैदमा हुँदा परमेश्वरका जनहरू सियोनको लागि शोक गर्दैथिए। (भजन १३७:१) अब तिनीहरूले आनन्द मनाउन सक्थे। यशैयाले यसो भने: “आनन्दले एकसाथ गाऊ, हे यरूशलेमका उजाड़ ठाउँ हो, किनकि परमप्रभुले आफ्नो प्रजालाई सान्त्वना दिनुभएको छ। उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ। सारा जातिको दृष्टिको सामने परमप्रभुले आफ्नो पवित्र बाहुबल प्रकट गर्नुभएको छ, र पृथ्वीको पल्लो छेउका लोकहरूले पनि हाम्रा परमेश्वरको मुक्तिलाई देख्नेछन्।”—यशैया ५२:९, १०.
२१. बाबेलको पराजयपछि यशैया ५२:९, १० का शब्दहरू कसरी पूरा भए?
२१ हो, यहोवाका छानिएका जनहरूसित रमाहट गर्ने ठोस कारण थियो। अब भने ती उजाडस्थानहरूमा यहोवाले चुन्नुभएका जनहरू पुनः आबाद हुने भए, त्यहाँ खेतीपाती हुनेथियो र त्यो अदनको बगैंचाजस्तै हुनेथियो। यहोवाले तिनीहरूका लागि आफ्नो “पवित्र बाहुबल प्रकट गर्नुभएको” थियो। अर्को अर्थमा भन्ने हो भने, घरको सम्झनाले पिरोलिएका जनहरूलाई आफ्नो प्रिय जन्मभूमिमा फर्काउन यहोवाले बाहुलो पल्टाउनुभयो। उहाँले इतिहासमा कसैले थाह नपाउनेगरि, नदेख्नेगरि आफ्ना जनहरूलाई बाबेलबाट छुटकारा दिनुभएको थिएन। बरु, उहाँले आफ्नो ‘बाहुबल प्रकट गर्नुभएर’ ईश्वरीय छुटकारा दिनुभएको सारा राष्ट्रले देखे। उहाँका अगमवक्ता यशैया र इजकिएल यहोवाका साँचो सन्देशवाहकहरू थिए भनेर उहाँले अकाट्य प्रमाण दिनुभयो। सियोनका परमेश्वर सारा पृथ्वीको एक मात्र जीवित तथा साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरामा कसैले शंका गर्न सक्दैन थियो। यशैया ३५:२ मा हामी यस्तो लेखिएको पाउँछौं: “तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्वरको प्रताप देख्नेछन्।” यसलाई यहोवाको ईश्वरत्वको प्रमाण सम्झने धेरैले उहाँको उपासना गर्न थाले।
२२. (क) आज हामी कुन कुराको लागि कृतज्ञ हुनसक्छौं? (ख) यहोवाले झूटा सन्देशवाहकहरूको पर्दाफास गरिदिनुभएकोमा हामी किन विशेषगरि कृतज्ञ हुनुपर्छ?
२२ यहोवाले आफ्ना साँचो सन्देशवाहकहरू चिनाउनुभएकोमा हामी कत्ति कृतज्ञ हुनुपर्छ! उहाँ साँच्चै नै ‘आफ्नो दासको वचनलाई पक्का गराउने, र आफ्नो दूतहरूका युक्तिलाई पूरा गरी दिने’ हुनुहुन्छ। (यशैया ४४:२६) यसप्रकार, यशैया र इजकिएललाई दिनुभएको पुनर्स्थापनाका भविष्यवाणीहरूले उहाँको महान् प्रेम, करुणा र आफ्ना सेवकहरूलाई देखाउनुभएको दयाको महिमा गर्छन्। निस्सन्देह, यसको लागि यहोवा हाम्रो प्रशंसाको योग्य हुनुहुन्छ! अनि उहाँले झूटा सन्देशवाहकहरूको पर्दाफास गरिदिनुभएकोमा हामी आज विशेषगरि कृतज्ञ हुनुपर्छ। किनभने आज विश्व रंगमञ्चमा त्यस्ता झूटा सन्देशवाहकहरू छ्यासछ्यास्ती छन्। तिनीहरूका भव्य सन्देशहरूले यहोवाका प्रतिज्ञाकृत उद्देश्यहरूको अवहेलना गर्छन्। अर्को लेखले त्यस्ता झूटा सन्देशवाहकहरू चिन्ने मदत दिनेछ।
[फुटनोट]
a स्मारकहरू र पुरानो नियम (अंग्रेजी) इरा मोरिस प्राइस्द्वारा लिखित, १९२५.
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ यहोवा आफ्ना साँचो सन्देशवाहकहरूलाई कसरी चिनाउनुहुन्छ?
◻ यशैया मार्फत बाबेलमाथि विजय हासिल गर्न यहोवाले आफ्नो प्रतिनिधिको रूपमा कसलाई छान्नुभयो?
◻ बाबेलको पराजयबारे वर्णन गरिएको यशैयाको भविष्यवाणी कसरी पूरा भयो?
◻ बाबेलको पराजयले यहोवाको नाउँमा कस्तो राम्रो प्रभाव पाऱ्यो?
[पृष्ठ ९-मा भएको चित्र]
इजकिएलको समयमा बाबेलमाथि विजय हासिल गर्नु असम्भव देखिन्थ्यो