प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ५/१५ पृ. २२-२५
  • निराश हुँदा कसरी आशा भेट्टाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निराश हुँदा कसरी आशा भेट्टाउने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विभिन्‍न परीक्षाहरू भोग्नु परे पनि आशा
  • परीक्षाहरूबाट पनि केही लाभ हुन्छ र?
  • यहोवामाथि भरोसा गर्नुहोस्‌
  • “यहोवामा आशा राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • परीक्षाको बावजूद विश्‍वासलाई पक्रिराख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अय्यूब—धीरज र निष्ठाको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • परीक्षाहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ५/१५ पृ. २२-२५

निराश हुँदा कसरी आशा भेट्टाउने

कल्पना गर्नुहोस्‌, तपाईंले निम्न समस्याहरू भोगिरहनुभएको छ: तपाईंको सरसम्पत्ति सबै स्वाहा भएर तपाईं दरिद्र अवस्थामा पुग्नुभएको छ। तपाईंको जीवनमा आनन्दको स्रोत अर्थात्‌ तपाईंका बच्चाहरू नै यस संसारमा रहेनन्‌। तपाईंको पति या पत्नीले ढाडस दिइरहेको छैन। तपाईं साह्रै अस्वस्थ हुनुभएको छ। भोग्नु परेको कठिनाइहरूको कुनै टुंगो नै छैन।

त्यस्तो परिस्थितिबाट गुज्रिरहनुभएको छ भने के तपाईं अझै बाँच्न चाहनुहुन्छ? वा तपाईं निराश हुनुहुन्छ?

माथि वर्णन गरिएको दयनीय अवस्था अय्यूब नाउँ गरेका व्यक्‍तिको जीवनकथा हो। तिनी बाइबल समयका मानिस हुन्‌। (अय्यूब, अध्याय १, २) अत्यन्तै उदास हुँदा अय्यूबले यसरी विलाप गरे: “मेरो जीवनदेखि म विरक्‍त भएँ।” तिनलाई मरे नै बेस हुन्छ जस्तो लागेको थियो। (अय्यूब १०:१; १४:१३) तथापि, त्यति बिघ्न दुःख भोग्नु परे तापनि अय्यूबले परमेश्‍वरप्रति आफ्नो निष्ठामा आँच आउन दिएनन्‌। अतः यहोवाले “अय्यूबको जीवनको आखिरी समयमा शुरूको समयभन्दा बढ़ी आशिष दिनुभयो” र “तिनी पूरा बूढ़ेसकालमा दीर्घायु भएर मरे।”—अय्यूब ४२:१२, १७.

अतः, अय्यूबको सहनशक्‍ति अहिले हाम्रो समयसम्म पनि प्रख्यात छ। परीक्षाहरूले गर्दा तिनको व्यक्‍तित्व झनै खारियो। फलस्वरूप अरू व्यक्‍तिहरू पनि असल कार्य गर्न जुरमुरिए। (याकूब ५:१०, ११) सबैभन्दा महत्त्वपूर्ण त, अय्यूबको निष्खोट निष्ठाले यहोवाको हृदयलाई आनन्दित तुल्यायो। (हितोपदेश २७:११) अतः, ती अत्यन्तै अन्धकारमय दिनहरू अन्ततः ईश्‍वरत्व, विश्‍वास र निष्ठाको विजयमा परिणत भयो जसले गर्दा अय्यूब तथा तिनको उदाहरणबाट प्रेरित भएका सबैले आशिष्‌ पाए।

विभिन्‍न परीक्षाहरू भोग्नु परे पनि आशा

अय्यूबका जस्तै दुःखहरू तपाईंले पनि भोग्नुपर्ला। प्रिय जनको मृत्युको कारण तपाईं भावनात्मक रूपमा व्याकुल हुनुभएको होला। गम्भीर रोगको कारण बाँच्न पनि कठिन भइरहेको होला। हृदय विदारक पारपाचुकेको कारण तपाईंको जीवन नै अस्तव्यस्त भइरहेको हुनसक्छ। आर्थिक कठिनाइको कारण तपाईं माग्नेसरह हुनुभएको होला। साँचो उपासकका विरोधीहरूको सतावटको तारो बन्‍नुभएको होला। परीक्षाहरूको सामना गर्न संघर्ष गर्दागर्दै तपाईंलाई आफ्नो भविष्य आशाविहीनजस्तो लाग्ला।—१ पत्रुस १:६.

निराश हुनुको साटो आफैलाई प्रश्‍न गर्नुहोस्‌: ‘म किन दुःख भोग्दैछु?’ तपाईं दुःख भोग्दै हुनुहुन्छ किनभने तपाईं “दुष्ट” अर्थात्‌ शैतान तथा दियाबलको “अधीनमा परेको” संसारमा बस्दै हुनुहुन्छ। (१ यूहन्‍ना ५:१९) फलस्वरूप सबैले दुःख भोगिरहेका छन्‌। परमेश्‍वरको राज्य सन्देश सुनाउँदा हामी दियाबलले उस्काएको घृणाबाट कुनै न कुनै तरिकामा प्रभावित हुन्छौं, चाहे त्यो अरूबाट आउने कटु वचन होस्‌ या “डरलाग्दो समयमा” अभक्‍त आचरणको कारण सामान्य भइसकेका निन्दनीय कार्यहरूद्वारा नै किन नहोस्‌।—२ तिमोथी ३:१-५.

तपाईंको जीवनमा केही दुःखदायी घटना भएको छ भने तपाईं “समय र अवसर[को] . . . अधीन[मा]” पर्नुभएको हुनसक्छ। (उपदेशक ९:११) अर्कोतर्फ कहिलेकाहीं हाम्रो आफ्नै वंशानुगत पापको कारण गडबडीहरू हुनजान्छन्‌। (रोमी ५:१२) तपाईंले कुनै गम्भीर गल्ती गर्नुभएको छ तर पश्‍चात्ताप गरेर आध्यात्मिक मदत मागिसक्नुभएको छ भने परमेश्‍वरबाट त्यागिएको महसुस नगर्नुहोस्‌। (भजन १०३:१०-१४; याकूब ५:१३-१५) उहाँले जस्तो अरू कसले पो तपाईंको हेरचाह गर्ला र? (१ पत्रुस ५:६, ७) “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ,” भनी तपाईं निर्धक्क हुन सक्नुहुन्छ। (भजन ३४:१८) तपाईंले भोगिरहनुभएको परीक्षा जस्तोसुकै दुःखदायी वा कष्टदायी किन नहोस्‌, यहोवाले त्यसको सामना गर्ने बुद्धि दिनुहुन्छ। (याकूब १:५-८) यहोवाले सबै घाउ निको पार्न सक्नुहुन्छ भनी कहिल्यै नबिर्सनुहोस्‌। उहाँको अनुग्रह पाएपछि कुनै पनि कुराले जीवनको वरदान पाउनदेखि रोक्नसक्ने छैन।—रोमी ८:३८, ३९.

परीक्षाहरूबाट पनि केही लाभ हुन्छ र?

यस्तो एउटा पुरानो उखान छ, “पानी पर्छ, घुमले टर्छ।” यसको तात्पर्य के हो भने, परिस्थिति जतिसुकै नाजुक भए तापनि तपाईंले जहिले पनि आशाको किरण भेटाउन सक्नुहुन्छ। परमेश्‍वरको वचनमा लेखिएको सबै कुराको उद्देश्‍य नै “हामीलाई आशा होस्‌” भनेर हो। (रोमी १५:४) हाम्रो परिस्थिति जतिसुकै गम्भीर भए तापनि बाइबलको प्रतिज्ञा तथा सिद्धान्तहरूले हामीलाई नवीन आशा र आनन्द प्रदान गर्नसक्छ।

धर्मशास्त्रले देखाएअनुसार परमेश्‍वरलाई प्रेम गर्नेहरूले पाउने अनन्त आशिष्‌हरूको तुलनामा समस्याहरू त “छिनभरको हलुका कष्ट” मात्र हुन्‌। (२ कोरिन्थी ४:१६-१८) परीक्षाले गर्दा हामीले खेती गर्ने ईश्‍वरीय गुनहरू ख्याति र धनसम्पत्तिभन्दा धेरै मूल्यवान्‌ हुन्छन्‌ भनी बाइबलले देखाउँछ। (१ यूहन्‍ना २:१५-१७) अतः, दुःख भोग्दा पनि फाइदै हुनसक्छ। (हिब्रू ५:८) वास्तवमा, परीक्षाको बेला सिकेका कुराहरूबाट विचारै नगरिएका आशिष्‌हरू पाउनसक्छौं।

कष्टदायी परीक्षाको कारण तपाईं अझै नरम मिजासको हुन सक्नुहुन्छ। विगतमा तपाईंको कुनै व्यक्‍तिगत कमजोरीले गर्दा अरू मानिसहरूलाई तपाईंदेखि झर्को लाग्ने र आफ्नो आध्यात्मिक प्रगति गर्नसमेत बाधा पुगेको तपाईं स्वीकार्नुहोला। शायद आफूमा बढ्‌तै आत्मविश्‍वास भएको होला। कुनै दुःख आइपर्दा अचानक आफू कति कमजोर रहेछु र अरूको कति आवश्‍यकता पर्दो रहेछ भनेर बुझ्नुहोला। तपाईंले भोग्नुभएको परीक्षाबाट यस्तो पाठ सिक्नुभएको छ र आवश्‍यक परिवर्तन गर्नुभएको छ भने तपाईंलाई फाइदै फाइदा भएको छ।

तपाईंको रीसको कारण विगतमा अरूलाई तपाईंसित व्यवहार गर्न गाह्रो भइरहेको थियो भने नि? रीसले गर्दा तपाईंको स्वास्थ्यमा पनि नकारात्मक असर पारेको होला। (हितोपदेश १४:२९, ३०) तर अहिले परिस्थिति धेरै सुध्रिसकेको हुनसक्छ किनभने आत्मसंयमको अभ्यास गर्न तपाईं परमेश्‍वरको आत्मामा भर पर्नुभएको छ।—गलाती ५:२२, २३.

एक समय शायद अरूले गल्ती गर्दा तपाईं दया देखाउनसक्नु हुन्‍न थियो होला। तर तपाईं स्वयं दयाको आवश्‍यकता पर्ने त्यस्तो कुनै परिस्थितिमा पर्नुभयो भने सम्भवतः अरूप्रति दया देखाउन तपाईं बढी प्रवृत्त हुनुहुनेछ। तपाईंप्रति देखाइएको हृदयग्राही सहानुभूति, चासो र दयाको कारण तपाईं पनि गलत काम गरेपछि पश्‍चात्ताप गर्नेहरूलाई त्यस्तै दयामाया देखाउन प्रेरित हुनुहुनेछ। तपाईंले भोग्नुपरेको समस्याको कारण यस्ता कमजोरीहरू सुधार्न मदत मिलेको छ भने तपाईंले त्यस अनुभवबाट पक्कै लाभ उठाउनुभएको छ। “दयाले इन्साफमाथि दिग्विजय गर्दछ” भनी तपाईंले सिक्नुभएको छ।—याकूब २:१३; मत्ती ५:७.

मसीही मण्डलीबाट पाएको अनुशासनको कारण तपाईंले मूल्यवान्‌ सुअवसर तथा अरूको आदर गुमाउनु परेको छ भने नि? निराश नहुनुहोस्‌। यस्तो अनुशासनले मण्डलीलाई स्वच्छ राख्न मदत गर्छ तर यसको उद्देश्‍य गल्ती गर्नेलाई आध्यात्मिक तवरमा पुनर्स्थापित गर्नु पनि हो। हो, “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात्‌ धार्मिकताको फल दिइन्छ।” (हिब्रू १२:११) अनुशासनले ठूलो धक्का पुऱ्‍याउनसक्ने भए तापनि नम्र पश्‍चात्तापीलाई आशाविहीन चाहिं राख्दैन। गम्भीर गल्ती गरेको हुँदा पुरातन इस्राएलका राजा दाऊदलाई कठोर अनुशासन दिइयो तर तिनले पश्‍चात्ताप गरे अनि अन्ततः विशिष्ट विश्‍वास भएको व्यक्‍ति भनी प्रशंसाको पात्र भए।—२ शमूएल १२:७-१२; भजन ३२:५; हिब्रू ११:३२-३४.

तपाईंको दृष्टिकोणमा पनि परीक्षाले ठूलो प्रभाव पार्नसक्छ। विगतमा तपाईंको ध्यान यस संसारमा नाउँ र प्रतिष्ठा कमाउने भौतिकवादी लक्ष्य तथा उपलब्धिहरूमा केन्द्रित थियो होला। शायद आर्थिक समस्या वा धनसम्पत्ति गुमेको हुँदा तपाईंले बढी महत्त्वपूर्ण कुरामा ध्यानकेन्द्रित गर्न मदत पाउनुभएको छ होला। (फिलिप्पी १:१०, NW तुलना गर्नुहोस्‌।) अब तपाईंले पवित्र सेवामा आध्यात्मिक मूल्य तथा लक्ष्यले मात्र साँचो आनन्द र अनन्त सन्तुष्टि ल्याउँछ भनी बुझ्नुभयो होला।

यहोवामाथि भरोसा गर्नुहोस्‌

यहोवालाई पवित्र सेवा चढाउँदा मसीही विश्‍वासका विरोधीहरूबाट सतावट र कष्ट भोग्नु पर्ने हुनसक्छ। परीक्षाहरूको कारण आफू एकदम दबिएको महसुस गर्नुहोला तर त्यसबाट लाभ हुनसक्छ। यो परीक्षाले तपाईंलाई अझ बलियो बनाउनसक्छ। यसबाहेक, तपाईं परीक्षाको दौडान दृढ रहनुभएको देखेर सतावट भोगिरहेका अरू पनि प्रोत्साहित तथा सुदृढ हुनसक्छन्‌। तपाईंको असल आचरणका प्रत्यक्षदर्शीहरू परमेश्‍वरको महिमा गर्न उत्प्रेरित हुनसक्छन्‌। तपाईंलाई सतावट दिनेहरूसमेत लज्जित भएर तपाईंको असल कार्य स्वीकार्लान्‌।—१ पत्रुस २:१२; ३:१६.

सतावट भोगिरहेको बेला निराश नहुन यहोवामाथि भरोसा गर्नुपर्छ। परीक्षाहरूबाट पक्कै उद्धार पाइनेछ भनी परमेश्‍वरको वचनले देखाउँछ तर यति मात्र हो, आफूले चाहेकै समयमा त्यो नआउला। त्यतिञ्जेल “भलाइ गर्न” नथाक्नुहोस्‌। (२ थिस्सलोनिकी ३:१३) परीक्षाहरूको सामना गर्नुका साथै धैर्यधारण गर्न उत्तम तरिका खोजिरहनुहोस्‌। परिस्थिति असाध्यै नाजुक देखिए तापनि ‘आफ्नो भारी परमप्रभुमा राख्नुहोस्‌ र उहाँले तपाईंलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।’ (भजन ५५:२२) आफ्ना समस्याहरूले गर्दा आफैलाई दयामाया देखाइरहनुको साटो यहोवालाई चिन्‍नुभएकोमा, उहाँको जन हुन पाएकोमा र अनन्त जीवनको आशा पाएकोमा कत्ति आशिषित्‌ हुनुभएको छ, विचार गर्नुहोस्‌।—यूहन्‍ना ३:१६, ३६.

अत्यावश्‍यक कुराहरूमा ध्यानकेन्द्रित गर्नुहोस्‌। सहने बल माग्दै दिनहुँ यहोवालाई प्रार्थना गर्नुहोस्‌। (फिलिप्पी ४:६, ७, १३) तपाईंलाई दुःख दिनेहरूमाथि बदला लिने विचार मनमा पटक्कै नराख्नुहोस्‌। परिस्थिति यहोवाको हातमा छोडिदिनुहोस्‌। (रोमी १२:१९) आफ्नो व्यक्‍तित्वलाई उध्याउन र मसीही गुनहरू खेती गर्न प्रयास गर्नुहोस्‌। (२ पत्रुस १:५-८) तपाईंको आध्यात्मिक आवश्‍यकता पूरा गर्न मायालु हेरचाह गर्ने प्राचीनहरूलगायत तपाईंलाई मदत गर्ने अरू सबैको मूल्यांकन गर्नुहोस्‌। (हिब्रू १३:७, १७) परमेश्‍वरप्रति विश्‍वासी रहनुहोस्‌ र मृत्युले समेत तपाईंबाट खोस्न नसक्ने पुरस्कारमाथि ध्यानकेन्द्रित गर्नुहोस्‌।—यूहन्‍ना ५:२८, २९; १७:३.

तपाईं अहिले असाध्यै दुःखी हुनुहुन्छ वा कठोर परीक्षा भोगिरहनुभएको छ भने “सारा भरोसा परमेश्‍वरमा” राख्नुहोस्‌ अनि तपाईंको वेदना र कठिनाइहरूमा खुशीयालीले छाउनेछ। (हितोपदेश ३:५, ६; यूहन्‍ना १६:२०) अय्यूबलाई जस्तै तपाईंलाई पनि परमेश्‍वरले आशिष्‌ दिन थाल्नुभएपछि तपाईंको जीवन वेदनाले होइन खुशीयालीले भरिनेछ। तपाईंले पाउने इनामको तुलनामा वर्तमान दुःखकष्ट त केही पनि होइन। (रोमी ८:१८ तुलना गर्नुहोस्‌।) तपाईंले विश्‍वासपूर्वक धैर्यधारण गर्नुभयो भने अरू पनि प्रोत्साहित हुनेछन्‌ र ‘नयाँ व्यक्‍तित्व धारण’ गर्न मसीही गुनहरू खेती गर्न मदत पाउनेछन्‌। (एफिसी ४:२३, २४; कलस्सी ३:१०, १२-१४) अतः, प्रेरित पत्रुसको बुद्धिमत्तापूर्ण सल्लाहबाट ढाडस लिनुहोस्‌: “यसो हो भनेता परमेश्‍वरको इच्छाबमोजिम दुःख भोग्नेहरूले पनि भलाइ गरेर आफ्ना आफ्ना प्राण विश्‍वासयोग्य सृष्टिकर्त्ताकहाँ सुम्पून्‌।”—१ पत्रुस ४:१९.

[पृष्ठ २३-मा भएको चित्र]

अय्यूबजस्तो हुनुहोस्‌। कहिल्यै हरेस नखानुहोस्‌

[पृष्ठ २४-मा भएको चित्र]

सम्पूर्ण हृदयले यहोवामाथि भरोसा गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने