राज्य उद्घोषकहरूका रिपोर्ट
यहोवाको ईश्वरतान्त्रिक संगठनमा शरण लिने
धेरै समयअघि अगमवक्ता यशैया यी शब्दहरू घोषणा गर्न उत्प्रेरित भएका थिए: ‘समुद्र किनाराका देशहरूमा तिनीहरूले यहोवाको प्रशंसा गर्नुपर्छ।’ (यशैया २४:१५) ती समुद्र किनाराका टापुहरूलाई यहोवाका साक्षीहरू येशूले “सुसमाचार प्रचार गरेको हुनुपर्छ” भन्नुभएको “संसार[को]” भाग ठान्छन्।—मत्ती २४:१४; मर्कूस १३:१०.
ताहिटी टापुको करिब १,४०० किलोमिटर उत्तरपूर्वी इलाकामा मार्केसस टापु पर्छ। त्यो टापु दक्षिण प्रशान्त महासागरीय क्षेत्रको फ्रान्सेली पोलिनेसिया भन्ने दुर्गम क्षेत्रमा पर्छन्। यो टापु उर्वरा, ज्वालामुखीय माटो भएको, न्यानो अनि आर्द्र हावापानीको छ। यहाँ हरिया वनस्पतिहरू खूब मौलाउँछन्। तथापि, मार्केससका बासिन्दाहरूले अर्कै प्रकारको फल पनि फलाइरहेका छन्। हिभा ओआ भन्ने टापुमा एउटा परिवारले देखाएको सकारात्मक प्रतिक्रियाबारे विचार गर्नुहोस्।
झाँ र उनकी पत्नी, नाडीन आफू बसिरहेको पश्चिमी युरोपको सभ्य भनौंदो समाजदेखि वाक्क थिए। त्यसकारण, त्यस्तो दौडधूपको जीवन छाडेर आफ्नो छोरासहित मार्केसस टापुमा बसाइँ सर्ने निधो गरे। बाँसले बनेको तिनीहरूको घर दुर्गम उपत्यकामा थियो। सबैभन्दा नजीकको छिमेकीकहाँ जानुपऱ्यो भने पनि उबडखाबड पहाडी बाटो हुँदै दुइ घण्टा जति हिंड्नुपर्थ्यो। स्वास्थ्य चौकी, स्कूल अनि किराना भण्डार पुग्न जीपमै तीन घण्टा लाग्थ्यो।
झाँ र नाडीनलाई धर्ममा कुनै चासो थिएन। तर तिनीहरू जीवनको सुरुआतसम्बन्धी छलफल चाहिं गर्ने गर्थे। प्रायजसो तिनीहरू गज्याङमज्याङ भएको विकासवादी सिद्धान्तबारे कल्पना गर्ने गर्थे। तर कुनै पनि सिद्धान्त चित्तबुझ्दो लागेको थिएन।
त्यसरी अनकन्टार ठाउँमा बसेको छ वर्षपछि, दुइ यहोवाका साक्षीहरू तिनीहरूलाई भेट्न आउँदा छक्कै परे। ती साक्षीहरूले नजीकका गाउँलेहरूलाई सोधपुछ गरेर झाँ र नाडीनबारे जानकारी लिएका थिए। तिनीहरूले विकासवादी सिद्धान्तबारे छलफल गर्नु स्वभाविकै हो। साक्षीहरूले आफ्नो संगठनबाट प्रकाशित पुस्तक, जीवन यहाँ कसरी आयो? विकासवादबाट कि सृष्टिबाट? पनि तिनीहरूलाई ल्याइदिएका थिए। जीवनको सुरुआतबारे विस्तृत अध्ययन गरेर प्रस्तुत गरिएको पुस्तक पाएर झाँ र नाडीन खुशी भए।
केही समयपछि बाइबल अध्ययन पनि सुरु भयो। तीन वर्ष जतिमा झाँ र नाडीनले निकै प्रगति गरे। पूरै पृथ्वी चाँडै प्रमोदवनमा परिणत हुनेछ भन्ने कुरामा तिनीहरू सहमत भए। समयको अन्तरालमा, तिनीहरूको परिवार ठूलो भयो। अब, तीन केटाकेटीसहित चार घण्टा हिंडेर सभा धाउनु तिनीहरूलाई एकदमै गाह्रो भयो। तर त्यस्तो अवस्थाले पनि तिनीहरूलाई सभामा जान रोकेन। अन्ततः, झाँ र नाडीनले बप्तिस्मा लिएर यहोवामा आफ्नो समर्पण जाहेर गरे। उनीहरूले बप्तिस्मा लिएको त्यस मुख्य गाउँको सम्मेलनमा ३८ जना मानिसहरू उपस्थित भएका थिए! यो उपस्थिति संख्या त्यो वर्षको शिखर थियो।
राज्यप्रचारकहरूको त्यो सानो समूहलाई सहयोग गर्न त्यो परिवारले आफ्नो पहिलाको दुर्गम ठाउँको घर छोड्ने निधो गरे। हजार जना जति मानिसहरू बसोबास गर्ने गाउँमा तिनीहरू बसाइँ सरे। अहिले झाँ यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा सेवकाई सेवकको रूपमा सेवा गर्छन्। आधुनिक सभ्यताबाट भागेर त्यस टापुमा पुगेको त्यो परिवारले एक मात्र साँचो शरण, यहोवाको ईश्वरतान्त्रिक संगठन पाउनुलाई सुवर्ण मौकाकै रूपमा लिन्छन्।