के तपाईं परमेश्वरको मित्र हुनुहुन्छ?—तपाईंको प्रार्थनाले के बताउँछ
दुइ जना मानिस कुराकानी गरेको अनायासै तपाईंको कानमा कहिल्यै परेको छ? त्यो कुराकानीबाट तिनीहरू घनिष्ठ छन् कि अपरिचित छन्, भर्खर चिनापर्ची भएका हुन् कि एकदम हेलमेल भएका विश्वासिलो साथी हुन्, तपाईंले अनुमान लगाउन सक्नुभयो होला। त्यसरी नै हाम्रो प्रार्थनाले पनि परमेश्वरसँग हाम्रो सम्बन्धबारे बताउँछ।
बाइबलले परमेश्वर “हामी हरेकबाट टाढ़ा हुनुहुन्न” भनेर विश्वास दिलाउँछ। (प्रेरित १७:२७) हो, उहाँलाई राम्ररी चिन भनी हामी सबैलाई उहाँ आग्रह गर्नुहुन्छ। यहाँसम्म कि, हामी उहाँको मित्र नै बन्नसक्छौं। (भजन ३४:८; याकूब २:२३) हामी उहाँसँग साँचो घनिष्ठताको आनन्द उठाउनसक्छौं! (भजन २५:१४) कुरा स्पष्ट छ, हामी असिद्ध मानिसहरूले हासिल गर्नसक्ने जुनसुकै मूल्यवान् वस्तुभन्दा परमेश्वरसँगको हाम्रो सम्बन्ध अमूल्य छ। अनि यहोवाले पनि हाम्रो मित्रतालाई मूल्यवान् सम्झनुहुन्छ। उहाँले हामीसँगको मित्रतालाई मूल्यवान् सम्झनुको कारण के हो भने, हाम्रोलागि आफ्नो जीवन दिनुहुने उहाँको एकमात्र पुत्रमा हामीले राखेको विश्वासमा यो मित्रता आधारित छ।—कलस्सी १:१९, २०.
त्यसकारण, हाम्रो प्रार्थनाले यहोवाप्रतिको गहिरो प्रेम र मूल्यांकन प्रतिबिम्बित गर्नुपर्छ। तपाईंले श्रद्धापूर्वक प्रार्थना गर्नुभए तापनि कहिलेकाहीं आफ्नो प्रार्थना हृदयस्पर्शी नभएको पाउनुभएको छ? कहिलेकाहीं त्यसो हुनु स्वाभाविक हो। तर कसरी सुधार्ने? यहोवा परमेश्वरसित तपाईंको मित्रतारूपी बिरुवालाई गोडमेल गरेर।
प्रार्थना गर्न समय निकाल्ने
पहिलो कुरा त, मित्रता गाँस्न र बढाउन समय चाहिन्छ। दिनहुँ तपाईं छिमेकी, सहकर्मी, बस चालक, पसलेहरूलाई अभिवादन गर्नुहुन्छ होला अथवा तिनीहरूसँग कुराकानी हुन्छ होला। तापनि, तिनीहरूसँग तपाईंको मित्रता छ भन्न सकिंदैन। खालि सामान्य वार्तालाप गरेर मात्र होइन, धेरै पटक कुराकानी गरेर अनि तपाईंको आन्तरिक भावना र विचारहरू व्यक्त गरेपछि मात्र मित्रता बढ्दै जान्छ।
त्यस्तैगरि, प्रार्थनाले हामीलाई परमेश्वरसित घनिष्ठ हुन मदत गर्छ। खाना खाने बेला छोटकरीमा धन्यवाद चढाएर मात्र पुग्दैन, प्रार्थनाको लागि पर्याप्त समय निकाल्नुपर्छ। यहोवासँग तपाईं जति बढी कुरा गर्नुहुन्छ, त्यति नै बढी आफ्ना भावना, आशय र क्रियाकलापहरू केलाउन सक्नुहुन्छ। यसो गर्दा, जटिल समस्या पर्दा पनि त्यसका समाधानहरू परमेश्वरको पवित्र आत्माले उहाँको वचनमा भएका सिद्धान्तहरू हाम्रो दिमागमा राखिदिनु भएझैं स्वतः देखा पर्नथाल्छन्। (भजन १४३:१०; यूहन्ना १४:२६) यस अलावा, प्रार्थना गर्दै जाँदा यहोवा वास्तविक हुनुहुन्छ भनेर तपाईंलाई अझ विश्वास लाग्नेछ, अनि उहाँले तपाईंको चिन्ता गर्नुहुन्छ भन्ने कुरा अझ राम्ररी बुझ्नुहुन्छ।
खासगरि आफ्नो प्रार्थनाको जवाफ अनुभव गर्नुहुँदा तपाईंलाई त्यस्तो लाग्छ। भनौं भने, उहाँले ‘हामीले मागेको र सम्झेको भन्दा ज्यादै प्रशस्तगरि दिनसक्नुहुन्छ।’ (एफिसी ३:२०) यसको मतलब तपाईंको लागि परमेश्वरले चमत्कारै गरिदिनुहुन्छ भनेको त होइन। यद्यपि, उहाँको लिखित वचन, विश्वासी दास वर्गले तयार गरेका प्रकाशनहरू अथवा प्रिय भाइबहिनीहरूका मुखबाट उहाँले तपाईंलाई आवश्यक सल्लाह वा निर्देशन दिन सक्नुहुन्छ। अथवा उहाँले तपाईंलाई सहन वा प्रलोभन विरुद्ध लड्न चाहिएको सामर्थ्य दिन सक्नुहुन्छ। (मत्ती २४:४५; २ तिमोथी ४:१७) त्यस्ता अनुभवहरूले स्वर्गमा विराजमान मित्रप्रति हाम्रो हृदय मूल्यांकनले भरिन्छ!
त्यसकारण, प्रार्थना गर्न समय निकाल्नै पर्छ। हो, यस तनाउपूर्ण परिस्थितिमा समय निकाल्न सजिलो त छैन। तर तपाईंलाई मनपर्ने व्यक्ति छ भने ऊसँग समय बिताउन प्रायः तपाईं जसरी भए पनि समय निकाल्नुहुन्छ। भजनरचयिताको अभिव्यक्ति विचार गर्नुहोस् त: “जसरी मुड़ुली मृग खोलाको पानीको निम्ति तिर्सना गर्छ, त्यसरीनै, हे परमेश्वर, मेरो आत्माले तपाईंको निम्ति तिर्सना गर्दछ। मेरो आत्मा परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले आएर परमेश्वरको सामने देखा परूँ?” (भजन ४२:१, २) परमेश्वरसित कुरा गर्ने तपाईंसँग पनि त्यस्तै तिर्सना छ? त्यसोभए, त्यसको लागि समय निकाल्नुहोस्!—एफिसी ५:१६ तुलना गर्नुहोस्।
उदाहरणका लागि, प्रार्थना गर्न व्यक्तिगत समय निकाल्न तपाईं बिहान अलि सबेरै उठ्ने कोसिस गर्न सक्नुहुन्छ। (भजन ११९:१४७) कहिलेकाहीं राति निद्रै नलागेको अनुभव गर्नुभएको छ कि? त्यसोभए, भजनरचयिताले झैं त्यस्तो परिस्थितिमा परमेश्वरलाई आफ्नो पिर पोखाउने मौका सम्झनुभए पनि हुन्छ। (भजन ६३:६) अथवा मौका पाउने बित्तिकै दिउँसोपख छोटो छोटो प्रार्थना धेरै पटक गर्नुभए पनि हुन्छ। भजनरचयिताले परमेश्वरलाई यसो भने: “दिनभरि म तपाईंमा पुकारा गरिरहन्छु।”—भजन ८६:३.
हाम्रो प्रार्थनाको गुणस्तर बढाउने
कहिलेकाहीं अलि बढी समयसम्म प्रार्थना गर्नु पनि तपाईंलाई मदतकारी लाग्नेछ। छोटकरीमा प्रार्थना गर्नुहुँदा सामान्य विषयबारे मात्र बिन्ती गर्ने तपाईंको बानी हुनसक्छ। तर, लामो र गहिरो प्रार्थना गर्नुहुँदा भने तपाईं आफ्ना विचार एवं भित्री भावनाहरू नलुकाई पोखाउनुहुन्छ। येशूले एकचोटि पूरै रात प्रार्थना गरेर बिताउनुभएको थियो। (लूका ६:१२) हतार गरेर प्रार्थना छिट्टै टुंग्याउने बानी छोड्नुभयो भने, तपाईंको प्रार्थना पक्कै पनि अझ गहिरो अनि अर्थपूर्ण भएको महसुस गर्नुहुनेछ।
त्यसो भन्दैमा व्यक्त गर्ने कुराहरू थोरै भएको बेला पनि प्रार्थना लम्ब्याइरहनुपर्छ भनेको होइन, न त अर्थ न बर्थसँग दोहोऱ्याइ रहनुपर्छ भनेको नै हो। येशूले यसरी चेताउनी दिनुभयो: “प्रार्थना गर्दा अन्यजातिहरू जस्ता व्यर्थै नबरबराऊ। किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन् यसकारण तिनीहरू जस्ता नहोऊ। किनभने तिमीहरूलाई कुन कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ।”—मत्ती ६:७, ८.
प्रार्थनामा समावेश गर्न चाहनुभएका विषयहरू पहिले नै विचार गर्नुभयो भने तपाईंको प्रार्थना अझ अर्थपूर्ण हुनेछ। तपाईं प्रार्थनामा धेरै कुराहरू समावेश गर्न सक्नुहुन्छ। जस्तै, सेवकाईमा पाएको आनन्द, हाम्रा कमजोरी तथा गल्तीहरू, निराशा, आर्थिक चिन्ता, कार्यालय अथवा स्कूलमा आएका दबाबहरू, परिवारको हित अनि हाम्रो स्थानीय मण्डलीको आध्यात्मिक अवस्था इत्यादि।
प्रार्थना गर्नुहुँदा कहिलेकाहीं तपाईंको मन अन्तै डुल्ने गरेको छ कि? त्यस्तो छ भने, प्रार्थनामै ध्यान दिन अझ बढी प्रयत्न गर्नुहोस्। आखिर यहोवा पनि त ‘हाम्रो पुकारामा ध्यान दिनुहुन्छ।’ (भजन १७:१) के प्रार्थना गर्दा ध्यान भंग नहोस् भनेर हामीले सक्दो प्रयास गर्नु पर्दैन र? हो, ‘आत्माका कुराहरूमा मन लगाउनुहोस्’, अनि मनलाई भौंतारिन नदिनुहोस्।—रोमी ८:५.
प्रार्थनामा यहोवालाई हामीले सम्बोधन गर्ने तरिका पनि महत्त्वपूर्ण कुरा हो। हामीले उहाँलाई मित्रको रूपमा हेरेको चाहनुभए तापनि, हामी ब्रह्माण्डको सर्वोच्च व्यक्तिसँग कुरा गरिरहेका छौं भनेर कहिल्यै बिर्सनु हुँदैन। प्रकाशको अध्याय ४ र ५ मा चित्रण गरिएका आश्चर्य र भयपूर्ण दृश्यबारे पढ्नुहोस् अनि मनन गर्नुहोस्। यूहन्नाले एउटा दर्शनमा हामी प्रार्थनामा नजीक हुनुपर्ने व्यक्तिको वैभवबारे देखे। “सिंहासनमा विराजमान हुनुहुनेको” समीपमा पुग्न पाउनु कस्तो सुवर्ण मौका! प्रार्थना गर्दा हामी छुद्र अथवा अनादरपूर्ण शब्दहरू कहिल्यै चलाउने छैनौं। बरु, सकेसम्म ‘हाम्रो मुखका वचनहरू र हाम्रो हृदयको ध्यान यहोवाको दृष्टिमा ग्रहणयोग्य’ पार्ने कोसिस गर्नुपर्छ।—भजन १९:१४.
हामीले साहित्यिक भाषा प्रयोग गरेर प्रार्थना गऱ्यौं भन्दैमा यहोवा प्रभावित हुनुहुने होइन त। सरल ढंगमै भए तापनि हाम्रो निवेदन श्रद्धापूर्ण र हार्दिक छ भने उहाँ खुशी हुनुहुन्छ।—भजन ६२:८.
चाहिएको बखतमा ढाडस र समझदारी
सहयोग र ढाडस आवश्यक परेको बखतमा समर्थन र सहानुभूतिको लागि हामी प्रायजसो मिल्ने साथीकहाँ जान्छौं। साथीकै कुरा गर्ने हो भने, सजिलैसँग कुरा खोल्न सकिने साथी यहोवाजस्तो अरू को नै होला र? उहाँ “सङ्कष्टमा अति सजिलैसँग पाइने सहायक” हुनुहुन्छ। (भजन ४६:१) उहाँ “सबै सान्त्वनाका परमेश्वर” हुनुभएकोले हामीले भोगिरहेका कुराहरू उहाँले जति राम्ररी अरू कसैले बुझ्न सक्दैन। (२ कोरिन्थी १:३, ४; भजन ५:१; ३१:७) अनि दुःखमा परेकाहरूलाई सहानुभूति देखाउन उहाँ साँच्चै टिठाउनुहुन्छ। (यशैया ६३:९; लूका १:७७, ७८) यहोवा हाम्रो समझदार साथी हुनुहुन्छ भन्ने जानेर हामी उहाँसँग उत्साह र आग्रहपूर्ण बिन्ती गर्न हिचकिचाउँदैनौं। पर्वतसमान भय र फिक्रीहरू पनि व्यक्त गर्न हामी अग्रसर हुन्छौं। यसरी यहोवाले ‘हाम्रो मनलाई सान्त्वना दिनुभएर आनन्दित तुल्याउनुभएको’ हामी प्रत्यक्ष अनुभव गर्छौं।—भजन ९४:१८, १९.
हाम्रा गल्तीहरूले गर्दा कहिलेकाहीं आफूलाई परमेश्वरको नजीक हुन नालायक सम्झन सक्छौं। तर, तपाईंको मिल्ने साथीले तपाईं विरुद्ध केही गल्ती गरेर तपाईंसँग माफी माग्छन् भने तपाईं के गर्नुहुन्छ? के तपाईं तिनलाई ढाडस र आश्वासन दिनुहुन्न र? त्यसो भए, यहोवाले चाहिं त्यसो गर्नुहुन्न कि भनेर किन सोच्ने? आफ्ना मित्रहरूले मानव असिद्धताको कारण गरेका गल्तीहरू उहाँ उदारतासाथ क्षमा गर्नुहुन्छ। (भजन ८६:५; १०३:३, ८-११) यो कुरा थाह पाएपछि, हामी उहाँलाई आफ्ना गल्तीहरू खुलस्तसँग बताउनेछौं; अनि हामी उहाँको प्रेम र दयामा आश्वस्त हुनसक्छौं। (भजन ५१:१७) हाम्रा भूलहरूले हामीलाई निराश पारिरहेको छ भने, १ यूहन्ना ३:१९, २० का शब्दहरूबाट ढाडस पाउनसक्छौं: “यसैमा हामी जान्दछौं, कि हामी सत्यका छौं, र जुन कुरामा हाम्रो हृदयले हामीलाई दोष लाउँछ, त्यस विषयमा हामीले हाम्रो हृदयलाई परमेश्वरको सामने निश्चय गराऔं। किनभने परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र सबै कुरा जान्नुहुन्छ।”
यद्यपि, परमेश्वरको मायालु चासो पाउन हामी दुःखैमा पर्नुपर्छ भन्ने छैन। हाम्रा आध्यात्मिक र भावनात्मक भलाइमा प्रभाव पार्ने जुनसुकै कुरामा पनि यहोवा चासो लिनुहुन्छ। हो, हाम्रा भावना, सोचाइ अनि चासोहरू भासभुसे त हुन् नि, प्रार्थनामा उल्लेख गरिरहनु पर्ला र, भनेर कहिल्यै सोच्नु हुँदैन। (फिलिप्पी ४:६) आफ्नो मिल्ने साथीसँग कुराकानी गर्दा के तपाईं जीवनका महत्त्वपूर्ण कुराहरू मात्र छलफल गर्नुहुन्छ र? सानातिना कुराहरू पनि बताउनुहुन्न र? त्यसरी नै, ‘उहाँले तपाईंको फिक्री गर्नुहुन्छ’ भन्ने कुरा बुझेर तपाईं आफ्नो जीवनका जुनसुकै पक्षबारे पनि यहोवालाई बताउन सक्नुहुन्छ।—१ पत्रुस ५:७.
यो कुरा साँचो हो, तपाईंले आफ्नै बारेमा मात्र कुरा गरेकोगऱ्यै गर्नुभयो भने तपाईंको मित्रता दिगो रहँदैन। त्यसरी नै, हाम्रो प्रार्थना पनि आफ्नै बारेमा मात्रै केन्द्रित हुनु हुँदैन। यहोवा अनि उहाँका कामहरूप्रति हामीले आफ्नो प्रेम एवं चासो देखाउनुपर्छ। (मत्ती ६:९, १०) प्रार्थना भनेको परमेश्वरसँग सहयोग माग्ने मौका मात्र होइन, यो उहाँलाई धन्यवाद चढाउने र उहाँको प्रशंसा गर्ने सुअवसर पनि हो। (भजन ३४:१; ९५:२) नियमित रूपमा व्यक्तिगत अध्ययन गरेर उहाँको ‘ज्ञान लिनाले’ त्यसो गर्न मदत पाइन्छ। किनकि त्यसले हामीलाई यहोवा र उहाँको तौरतरिकासित राम्ररी परिचित हुन मदत गर्नेछ। (यूहन्ना १७:३) खासगरेर भजनका पुस्तक पढेर अरू विश्वासी सेवकहरूले यहोवामा कसरी बिन्ती जाहेर गर्थे भन्ने कुरा थाह पाउन तपाईंलाई मदतकारी लाग्नसक्छ।
यहोवासँगको मित्रता साँच्चै अमूल्य उपहार हो। त्यसकारण, हाम्रो प्रार्थना अझ खुलस्त, हार्दिक अनि व्यक्तिगत बनाएर यो उपहारप्रति मूल्यांकन देखाऔं। त्यसो गऱ्यौं भने, हामीले पनि भजनरचयिताले उद्गार गरेजस्तै आनन्द उठाउन पाउनेछौं: “त्यो मानिस धन्यको हो, जसलाई तपाईंले छान्नुहुन्छ, र तपाईंकहाँ रहनालाई आउने तुल्याउनुहुन्छ।”—भजन ६५:४.
[पृष्ठ २८-मा भएको चित्र]
मौका पाउने बित्तिकै जुनसुकै बेलामा पनि हामी परमेश्वरलाई प्रार्थना गर्नसक्छौं