जब पाप हुनेछैन
“के हामी जन्मँदै पापी हुन्छौं?” बाइबल अध्ययन गरेको धेरै समय नबित्दै अमेरिकामा अध्ययनरत स्नातकोत्तर विद्यार्थीलाई उक्त प्रश्नले अलमल्ल पाऱ्यो। हिन्दूधर्ममा हुर्केको हुँदा तिनलाई वंशाणुगत पापबारे केही पनि थाह थिएन। तर तिनले तर्क गर्न थाले, पाप वंशाणुगत हो भने त्यसलाई नकारेर केही फाइदा हुँदैन। त्यस्तो प्रश्नको जवाफ कसरी पत्ता लगाउन सकिन्छ?
पाप वंशाणुगत हो भने, त्यसको सुरुआत हुनुपर्छ। कतै प्रथम मानवलाई सृष्टि गर्दा नै दुष्ट बनाइएको थियो कि? यसैको परिणामस्वरूप उसले आफ्ना छोराछोरीहरूलाई दुर्गुणहरू सारेको पो हो कि? वा ती त्रुटिहरू पछि विकास भएका हुन्? वास्तवमा पापको सुरुआत कहिले भयो? एउटा अर्को कुरा पनि विचार गर्नुपर्छ, पाप बाह्य, दुष्ट कुरा वा सिद्धान्त मात्र हो भने के हामी यसबाट कहिल्यै मुक्त हुन सकौंला?
हिन्दू विश्वासअनुसार सृष्टिसँगसँगै दुःखकष्ट तथा दुष्टताको पनि सुरुआत भयो। एक हिन्दू विद्वान्को भनाइअनुसार, “दुःखकष्ट [वा दुष्टता] कहिले कहाँ त कहिले कहाँ दुखिरहने तर कहिल्यै निर्मूल गर्न नसकिने हाडजोर्नीको पुरानो रोगजस्तै हो।” अहिलेसम्मको लिपिबद्ध इतिहास केलाउने हो भने, दुष्टता मानव संसारको अभिन्न भाग भएको छ। यदि मानव इतिहास अगावै दुष्टताको अस्तित्व थियो भने यसको सुरुआतसम्बन्धी भरपर्दो जवाफ मानिसभन्दा उच्च स्रोतबाट आउनुपर्छ। परमेश्वरले मात्रै ती जवाफहरू दिनसक्नुहुन्छ।—भजन ३६:९.
मानिसलाई निष्पाप सृष्टि गरिएको थियो
मानिसको सृष्टिबारे वेदमा दिइएको विवरण प्रतीकात्मक हो भनी हिन्दू दार्शनिक निखिलानन्द स्वीकार्छन्। त्यस्तैगरि, प्रायजसो पूर्वीय धर्महरूले सृष्टिबारे मिथ्या विवरणहरू मात्र दिन्छन्। यद्यपि, प्रथम मानवको सृष्टिबारे बाइबलले दिने विवरणलाई विश्वास गर्न तार्किक तथा वैज्ञानिक कारणहरू छन्।a बाइबलको प्रथम अध्यायमै यसो भनिएको छ: “परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।”—उत्पत्ति १:२७.
“परमेश्वरकै स्वरूपमा” बनाइनुको अर्थ के हो? सरल भाषामा भन्ने हो भने, मानिसलाई परमेश्वरजस्तै बनाइएको थियो अर्थात् उसमा न्याय, बुद्धि, प्रेमजस्ता ईश्वरीय गुणहरू थियो जसले गर्दा ऊ जनावरहरूभन्दा भिन्न भयो। (कलस्सी ३:९, १० तुलना गर्नुहोस्।) यी गुणहरूले गर्दा ऊ असल वा खराब रोज्नसक्ने स्वतन्त्र प्राणी भयो। प्रथम मानव सृष्टि गरिंदा उसमा कुनै पाप थिएन, उसको जीवनमा दुष्टता वा दुःखकष्ट थिएन।
यहोवा परमेश्वरले पहिलो मानव, आदमलाई यस्तो आज्ञा दिनुभयो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।” (उत्पत्ति २:१६, १७) यो आज्ञा पालन गरेका भए आदम र उनकी पत्नी, हव्वाले सृष्टिकर्ताको प्रशंसा र आदर गर्नुका साथै पापरहित हुनसक्थे। तर अर्कोतर्फ, अनाज्ञाकारी भएको खण्डमा परमेश्वरको सिद्ध स्तरमा पुग्न नसकेको प्रमाणित हुनेथियो र तिनीहरू असिद्ध, पापी हुनेथिए।
आदम र हव्वा ईश्वरका हुबहु रूप थिएनन्। तथापि, तिनीहरूसित केही हदसम्म ईश्वरीय गुणहरूका साथै ठीक बेठीक छुट्याउनसक्ने क्षमता थियो। तिनीहरू परमेश्वरको सृष्टि भएको हुँदा निष्पाप अर्थात् सिद्ध थिए। (उत्पत्ति १:३१; व्यवस्था ३२:४) तिनीहरूको सृष्टि हुँदा शदियौंदेखि परमेश्वर र ब्रह्माण्डबीच कायम रहेको मेलमिलाप भंग भएन। त्यसोभए पाप कसरी सुरु भयो?
पापको सुरुआत
सर्वप्रथम आत्मिक संसारमा पापको सुरुआत भयो। पृथ्वी र मानिस सृष्टि गर्नुअघि परमेश्वरले बुद्धिमान् आत्मिक प्राणी अर्थात् स्वर्गदूतहरू बनाउनुभएको थियो। (अय्यूब १:६; २:१; ३८:४-७; कलस्सी १:१५-१७) त्यसमध्ये एक स्वर्गदूतले आफ्नो सौन्दर्य र बुद्धिबारे अचाक्ली घमण्ड गर्न थाल्यो। (इजकिएल २८:१३-१५ तुलना गर्नुहोस्।) परमेश्वरले आदम र हव्वालाई सन्तानहरू जन्माउने निर्देशन दिनुभएको हुँदा केही समयपछि पृथ्वीभरि धार्मिक मानिसहरू हुनेछन् र ती सबैले परमेश्वरको उपासना गर्नेछन् भनी त्यस स्वर्गदूतलाई थाह थियो। (उत्पत्ति १:२७, २८) त्यस आत्मिक प्राणीले आफूलाई पनि त्यस्तै उपासना गरोस् भन्ने इच्छा गऱ्यो। (मत्ती ४:९, १०) यही इच्छामा डुबिरहँदा त्यो कुमार्गमा लाग्यो।—याकूब १:१४, १५.
यस विद्रोही स्वर्गदूतले सर्पलाई चलाएर हव्वालाई के भन्यो भने, असल र खराबको ज्ञानको रूखबाट फल खान निषेध गरेर परमेश्वरले उसलाई केही ज्ञानबाट वञ्चित गर्नुभएको छ। (उत्पत्ति ३:१-५) यो एउटा निन्दनीय झूट थियो, एउटा पापपूर्ण कार्य। यस्तो झूट बोलेर त्यस स्वर्गदूतले आफूलाई पापी बनायो। परिणामस्वरूप, त्यो दियाबल अर्थात् निन्दक, अनि शैतान अर्थात् परमेश्वरको विरोधी कहलिन थाल्यो।—प्रकाश १२:९.
शैतानको यस्तो प्रभावशाली तर्कले हव्वामाथि नकारात्मक असर पाऱ्यो। प्रलोभक शैतानको कुरा पत्याएर उनी भर्मिइन् र निषेधित रूखको फल खाइन्। उनको पति, आदमले पनि त्यो फल खाए र दुवै जना पापी भए। (उत्पत्ति ३:६; १ तिमोथी २:१४) स्पष्ट छ, परमेश्वरको आज्ञा उल्लंघन गर्न रोजेर हाम्रो प्रथम आमाबाबुले सिद्धता गुमाए अनि पापी भए।
आदम र हव्वाका सन्तानहरू नि? बाइबल यसो भन्छ: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” (रोमी ५:१२) वंशाणुको नियम लागू भइसकेको थियो। आफूसित हुँदै नभएको कुरा आदमले आफ्ना सन्तानहरूलाई दिन सक्दैन थिए। (अय्यूब १४:४) सिद्धता गुमाइसकेको हुँदा प्रथम आमाले गर्भधारण गर्दा तिनी पापी भइसकेकी थिइन्। परिणामस्वरूप हामी सबै पापी भयौं, कोही पनि सिद्ध छैनौं। (भजन ५१:५; रोमी ३:२३) फलतः, पापले दुष्टता र दुःखकष्ट जन्माएको छ। त्यति मात्र नभई हामी सबै बूढाबूढी हुन्छौं र मर्छौं “किनकि पापको ज्याला मृत्यु हो।”—रोमी ६:२३.
अन्तस्करणले “दोषारोपण” वा “समर्थन” गर्छ
प्रथम मानव जोडीको आचरणमाथि पापको असर पनि विचार गर्नुहोस्। तिनीहरूले शरीरका केही अंगहरू छोपेर परमेश्वरबाट लुक्न खोजे। (उत्पत्ति ३:७, ८) पापले गर्दा तिनीहरूले दोषी, चिन्तित र लज्जित महसुस गरे। आज मानिसहरूका निम्ति यस्ता भावनाहरू कुनै नौलो कुरा होइन।
खाँचोमा परेको कसैलाई दया नदेखाउँदा वा बोल्न नहुने कुरा प्याच्च बोलेर पछि पछुताउनुपर्दा हामीमध्ये कसले पो उकुसमुकुस महसुस गरेका छैनौं र? (याकूब ४:१७) हामीलाई किन यस्ता भावनाहरूले पिरोलिरहन्छन्? प्रेरित पावल भन्छन्, ‘व्यवस्था हाम्रो हृदयमा लेखिएको छ।’ अन्तस्करण कठोर भएको छैन भने हाम्रो हृदयमा लेखिएको व्यवस्था उल्लंघन गर्दा मनभित्र उकुसमुकुस हुन्छ। अतः अन्तस्करणले हामीलाई “दोषारोपण” वा “समर्थन” गर्छ। (रोमी २:१५; १ तिमोथी ४:२; तीतस १:१५) चाहे हामीले महसुस गरौं या नगरौं, गलत कुरा वा पापप्रति हाम्रो भित्री चेतना त हुन्छ नै!
पावललाई आफ्ना पापी झुकाउहरू राम्ररी थाह थियो। तिनले यसलाई स्वीकार्दै यसो भने, “असल गर्न इच्छा मलाई हुँदाहुँदै पनि खराबी मसित हाजिरै हुँदो रहेछ भन्ने नियम म पत्ता लाउँछु। किनकि म मेरो अन्तस्करणले परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्नै व्यवस्था म देख्तछु।” त्यसकारण पावलले सोधे, “यस मृत्युको शरीरबाट मलाई कसले बचाउला?”—रोमी ७:२१-२४.
पापबाट छुटकारा—कसरी?
एक विद्वान् आफ्नो विचार यसरी व्यक्त गर्छन्, “हिन्दू परम्पराअनुसार मुक्ति भनेको जन्म-मरणको चक्रबाट मुक्ति पाउनु हो।” बुद्धधर्मले त्यसको समाधान निर्वाण हो भन्छ अर्थात् माया मोहले कुनै फरक नपार्ने अवस्था। वंशाणुगत पापको धारणालाई राम्ररी बुझ्न नसकेको हुँदा हिन्दूधर्मले मानिस मरेपछि मात्रै पापबाट मुक्त हुन सकिन्छ भनेर सिकाउँछ।
तर अर्कोतर्फ, बाइबलले बताएअनुसार मुक्ति भनेको पापी अवस्थाबाट पूर्णतया छुटकारा पाउनु हो। पापबाट कसरी छुटकारा पाउन सकिन्छ भनी प्रश्न गरेपछि प्रेरित पावल यस्तो जवाफ दिन्छन्: “येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्वरमा धन्यवाद होस्।” (रोमी ७:२५) हो, परमेश्वरले येशू ख्रीष्टद्वारा छुटकारा दिनुहुन्छ।
मत्तीको सुसमाचारअनुसार “मानिसको पुत्र,” येशू ख्रीष्ट “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई” आउनुभयो। (मत्ती २०:२८) पहिलो तिमोथी २:६ अनुसार येशूले “सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो” भनी पावलले लेखे। “छुटकाराको मोल” भन्ने शब्दले बन्दीलाई छुटाउन तिर्ने मूल्य बुझाउँछ। छुटकाराको लागि समतुल्य मोल तिर्नुपर्ने तथ्यले न्यायको तराजुलाई तलमाथि नगरी सन्तुलित पार्न त्यस मोलको महत्त्वलाई जोड दिन्छ। तर कसरी एक जना मान्छेको मृत्यु “सबैको छुटकाराको मोलको निम्ति” उपयुक्त हुनसक्छ?
आदमले सम्पूर्ण मानवजातिलाई पाप र मृत्युमा बेचे। त्यसमा हामी पनि समावेश छौं। उनले चुकाएको मूल्य अथवा दण्ड आफ्नो सिद्ध मानव जीवन थियो। यसको क्षतिपूर्ति तिर्न अर्को सिद्ध मानव जीवन अर्थात् समतुल्य मोल खाँचो थियो। (प्रस्थान २१:२३; व्यवस्था १९:२१; रोमी ५:१८, १९) कुनै पनि असिद्ध मानवले यो छुटकारा दिन नसक्ने हुँदा परमेश्वरले आफ्नो असीमित बुद्धि चलाउनुभएर यस दयनीय अवस्थाबाट मानिसलाई बचाउने एउटा बाटो खोल्नुभयो। (भजन ४९:६, ७) उहाँले आफ्नो एकलौटो पुत्रको सिद्ध जीवन यस पृथ्वीको कन्या केटीको गर्भमा सारिदिनुभयो। यसले गर्दा उहाँ सिद्ध मानवको रूपमा जन्मन सम्भव भयो।—लूका १:३०-३८; यूहन्ना ३:१६-१८.
मानिसजातिलाई छुटकारा दिन पृथ्वीमा रहुञ्जेल येशूले पूर्ण निष्ठा कायम गर्नुपर्नेथियो। उहाँ यो काममा चुक्नुभएन। त्यसपछि उहाँ मर्नुभयो। उहाँको मृत्यु बलिदानरूपी थियो। यसप्रकार येशूले आफ्नो सिद्ध जीवन बलिदान गर्नुभएर मानिसजातिलाई छुटकारा दिन छुडौतीको मोल तिर्नुभयो।—२ कोरिन्थी ५:१४; १ पत्रुस १:१८, १९.
ख्रीष्टको छुडौतीले हाम्रोनिम्ति के गर्नसक्छ
येशूको छुडौतीको बलिदानले अहिले नै हामीलाई लाभ पुऱ्याउनसक्छ। त्यसमा विश्वास गरेर हामी परमेश्वरसमक्ष असल नाउँ कमाउनसक्छौं र यहोवाको मायालु तथा कोमल हेरचाहको योग्य हुनसक्छौं। (प्रेरित १०:४३; रोमी ३:२१-२४) आफ्ना पापहरूले गर्दा अत्तालिनुको साटो हामी यही छुडौतीको आधारमा कुनै धक नमानी परमेश्वरसित क्षमा माग्नसक्छौं।—यशैया १:१८; एफिसी १:७; १ यूहन्ना २:१, २.
भविष्यमा यही छुडौतीको प्रबन्ध मार्फत पापको कारण पिल्सिएका मानवजातिको पूर्ण निवारण हुनेछ। बाइबलको अन्तिम पुस्तकले परमेश्वरको सिंहासनबाट निस्कने “जीवनको नदी[बारे]” वर्णन गर्छ। त्यो नदीको दायाँबायाँ लटरम्म रूखहरू छन् र त्यसका पातहरूले “जाति जातिका मानिसहरूलाई निको” पार्नसक्छ। (प्रकाश २२:१, २) यहाँ बाइबलले येशूको छुडौतीको बलिदानको आधारमा सृष्टिकर्ताले मानवजातिलाई पाप र मृत्युबाट छुटकारा दिनुहुने प्रबन्धबारे प्रतीकात्मक अर्थमा बताइरहेको हो।
प्रकाशको पुस्तकका भविष्यसूचक दर्शनहरू चाँडै पूरा हुनेछन्। (प्रकाश २२:६, ७) तब सबै धर्मी मानिस सिद्ध हुनेछ र “विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” (रोमी ८:२०, २१) के यसले हामीलाई यहोवा परमेश्वर र हामीलाई छुडौती दिनुहुने उहाँको वफादार पुत्र, येशू ख्रीष्टबारे अझ बढी सिक्न उत्प्रेरित गर्नुपर्ने होइन र?—यूहन्ना १७:३.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित जीवन कसरी सुरु भयो? विकासवादबाट वा सृष्टिबाट? (अंग्रेजी) पुस्तक हेर्नुहोस्।
[पृष्ठ ६-मा भएको चित्र]
आदमले गर्दा मानिसजातिमा पाप र मृत्यु व्याप्त भयो
[पृष्ठ ७-मा भएको चित्र]
येशूको छुडौतीको बलिदानले गर्दा पाप र मृत्युबाट छुटकारा पाइन्छ