अन्तस्करण—बोझ या वरदान?
‘मेरो अन्तस्करणले मलाई चसचस घोचिरहेको छ!’ समय समयमा प्रायः हामीमध्ये सबैजसोलाई नै अन्तस्करणले पिरोल्छ। त्यस्ता भावनाहरू सामान्य अप्ठ्यारोपनदेखि लिएर असह्य पीडासम्म हुनसक्छ। खलबलिएको अन्तस्करणले निराश तुल्याउन वा असाध्यै असफल भएजस्तो समेत महसुस गराउनसक्छ।
यस परिप्रेक्ष्यबाट हेर्दा अन्तस्करण बोझै जस्तो देखिन्छ, होइन र? हो, कसै कसैलाई त्यस्तै लाग्ला। इतिहास पल्टाएर हेर्ने हो भने पनि, प्रायजसो सबैले अन्तस्करण मानिसमा अन्तरनिहित वा जन्मजात हुने कुरा हो भन्ठान्थे। थुप्रैलाई चाहिं यो परमेश्वर स्वयंले दिनुभएको नैतिक निर्देशक जस्तो लाग्यो। तसर्थ, अन्तस्करणलाई “मानिसमा ईश्वरको बास,” “हाम्रो वास्तविक स्वभाव” र “ईश्वरको आवाज” समेत भनिएको छ।
तथापि, हालैका वर्षहरूमा अन्तस्करण वस्तुतः पछि प्राप्त गरिएको क्षमता हो भन्ने विचारधारा लोकप्रिय भएको छ। भनौं भने, आमाबाबु र सामाजिक प्रभावको उपज हो पनि भन्ने गरिन्छ। उदाहरणका लागि, केही मनोवैज्ञानिकहरू यस्तो तर्क गर्छन्, बच्चा सजाय पाउने डरले गलत व्यवहार गर्नदेखि अलग बस्छ। हामी जसलाई अन्तस्करण भनी विश्वास गर्छौं, त्यो त आमाबाबुको व्यक्तिगत मूल्य, मान्यता र विश्वासहरू स्वीकार्नु मात्र हो भन्छन्। अरू कसैले चाहिं मूल्य, मान्यता तथा स्तरहरू सिकाउन साधारणतया समाजले खेल्ने भूमिकालाई औंल्याउँछन्। कसैको विचारमा अन्तस्करणले पिरोल्नु भनेको हामी आफूले गर्न चाहने कुरा र दमनकारी समाजले हामीबाट माग गर्ने कुराबीचको द्वन्द्वबाहेक अरू केही होइन!
अन्तस्करणबारे जस्तोसुकै सिद्धान्तहरू भए तापनि मानिसहरू प्रायजसो आमाबाबु, परिवार तथा सम्पूर्ण समाजले विरोध गर्दागर्दै पनि आफ्नो अन्तस्करणले डोऱ्याएअनुसारै गर्न अडिग भएको पाउँछौं। कोही त अन्तस्करणको खातिर आफ्नो ज्यानसमेत दिन तयार भएका छन्! विश्वका संस्कृतिहरू एकदमै भिन्नाभिन्नै भए तापनि हत्या, चोरी, व्यभिचार, झूटो बोल्ने र हाडनाताकरणीजस्ता कार्यलाई सबैजसोले गलतै ठान्छन्। अतः अन्तस्करण मानिसमा अन्तरनिहित वा जन्मजात हुने क्षमता हो भन्ने तर्कलाई के यसले समर्थन गर्दैन र?
बाइबलको दृष्टिमा अन्तस्करण
यस विषयको वास्तविक ज्ञाता यहोवा परमेश्वर नै हुनुहुन्छ। आखिरमा “उहाँलेनै [परमेश्वर] हामीलाई बनाउनुभएको हो।” (भजन १००:३) उहाँलाई हाम्रो बनोट राम्रोसित थाह छ। मानिस परमेश्वरकै “प्रतिरूपमा” बनाइएको हो भनी परमेश्वरको वचन, बाइबलले बताउँछ। (उत्पत्ति १:२६) मानिसलाई सही र गलत छुट्याउनसक्ने क्षमतासहित सृष्टि गरिएको थियो। सुरुदेखि नै अन्तस्करण मानव स्वभावको अभिन्न भाग थियो।—उत्पत्ति २:१६, १७ तुलना गर्नुहोस्।
रोमीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले यसबारे पुष्टि दिन्छन्। तिनले यसो लेखे: “[परमेश्वरको] व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन् भने, तिनीहरूका व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था छन्, यसैमा तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँछन्, औ तिनीहरूका आफ्नै अन्तस्करणले गवाही दिन्छ, र विचारहरूले आपसमा दोषारोपण अथवा समर्थन गर्नेगर्छन्।” (रोमी २:१४, १५) यो पनि याद गर्नुहोस्, यहूदीहरूलाई दिइएको ईश्वरीय व्यवस्थाअनुसार ती मानिसहरू हुर्केको नभए तापनि थुप्रैले परमेश्वरका व्यवस्थाका केही सिद्धान्तहरू सामाजिक दबाबले होइन तर “स्वभावैले” पछ्याए!
त्यसोभए, अन्तस्करण बोझ हुनुको साटो एउटा ईश्वरीय वरदान वा सम्पत्ति हो। हो, यसले हामीलाई पिरोल्न पनि सक्छ। तर अन्तस्करणले भनेअनुसारै गरेका छौं भने गहिरो सन्तुष्टि तथा मनोशान्ति पनि दिनसक्छ। यसले हामीलाई डोऱ्याउन, सुरक्षा दिन तथा उत्प्रेरित पनि गर्नसक्छ। अनुवादकको बाइबल (अंग्रेजी) यस्तो टिप्पणी गर्छ: “आफूबाट जे गरिन्छ र जे गर्नुपर्ने हो जस्तो लाग्छ, ती दुवैबीच मिलाप गर्न सके मात्र मानसिक तथा भावनात्मक स्वास्थ्य कायम गर्न सकिन्छ।” त्यस्तो मिलाप कसरी गर्नसक्छौं? के हाम्रो अन्तस्करणलाई ढाल्न र प्रशिक्षण दिन सम्भव छ? यी प्रश्नहरू अर्को लेखमा छलफल गरिनेछन्।