तिनीहरूले यहोवाको इच्छा गरे
माफी दिन इच्छुक पिता
यसलाई आजसम्म लेखिएका सबैभन्दा उत्तम लघुकथा भनिएको छ र त्यसो भन्नु युक्तिसंगत छ। हराएको छोरोप्रति बुबाको मायाबारे येशूले दिनुभएको दृष्टान्तले पश्चात्तापी पापीहरूप्रति यहोवाले देखाउनुभएको दयाको सफा चित्र प्रस्तुत गर्छ।
हराएको थियो, पाइयो
एउटा मानिसको दुइभाइ छोरा थिए। कान्छोले तिनलाई भने: ‘तपाईंको शेषपछि पनि पाउने नै हो, तर मलाई अहिल्यै मेरो अंश चाहियो।’ बुबाले उसको इच्छाअनुसार उसले पाउनुपर्ने अर्थात् व्यवस्थाअनुसार दुइभाइ छोरामा कान्छोले पाउने शायद एक तिहाइ भाग छुटाएर दिइहाल्यो। (व्यवस्था २१:१७) त्यसपछि, त्यो युवकले हत्त न पत्त आफ्नो अंश बटुल्यो र टाढाको देशमा गइहाल्यो अनि त्यहाँ त्यो सम्पत्ति मोजमज्जा तथा रन्डीबाजीमा उडायो।—लूका १५:११-१३.
त्यसपछि ठूलो अनिकाल पऱ्यो। आच्छु आच्छु परेर त्यो जवान केटोले सुँगुर चराउन थाल्यो। सुँगुर चराउनु यहूदीहरूका लागि अति नीच काम थियो। (लेवी ११:७, ८) खानै नपाइएको हुँदा उसले सुँगुरलाई दिइने कोसाहरूसमेत खान खोज्यो! आखिरीमा उसको होस फर्क्यो। उसले सोच्यो, ‘मेरो बुबाका चाकरहरू मैलेभन्दा राम्रा र मीठा खानेकुरा खान पाउँछन्! म घर फर्कन्छु र आफ्नो पाप स्वीकार्छु अनि मलाई पनि ज्यालादारीमा काम दिनुहोस् भनी बुबासित बिन्ती गर्छु।’a—लूका १५:१४-१९.
लर्खराउँदै त्यो केटो घर फर्क्यो। पक्कै पनि ऊ चिन्नै नसकिने भइसकेको थियो। तैपनि, उसको बुबाले ऊ “टाढ़ै छँदा . . . देखे” र चिने। तिनलाई दया लाग्यो र दौडेर छोरालाई अँगालो हाले र “चुम्मन” गरे।—लूका १५:२०.
यो आत्मीय स्वागतले गर्दा त्यो केटोलाई आफ्नो भारी बिसाउन सजिलो भयो। उसले भन्यो, “हे पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु, म फेरि तपाईंको छोरो भनिने योग्यको छैनँ। [“मलाई तपाईंकहाँ ज्यालादारी काममा राख्नुहोस्,” NW]” बुबाले आफ्ना दासहरूलाई डाके। तिनले आदेश दिए, “चाँड़ो!” “सबैभन्दा असल लुगा ल्याएर यसलाई लगाइदेओ। औ त्यसको हातमा औंठी, र खुट्टामा जुत्ता लगाइदेओ। औ पालिराखेको चाहिं बाछा ल्याएर मार, र हामी खाएर आनन्द मनाऔं, किनकि यो मेरो छोरो मरेको थियो, र फेरि बिउँत्यो, हराएको थियो, र पाइयो।”—लूका १५:२१-२४.
नाचगानसहितको एउटा भव्य भोज आयोजित गरियो। खेतबाट घर फर्किरहेको जेठो छोरोले पनि यो नाचगानको आवाज सुन्यो। भाइ घर फर्किएकोले उसकै निम्ति यो भोज गरिएको हो, भन्ने थाह पाएपछि ऊ रीसायो। ‘मैले यत्तिका वर्ष तपाईंको सेवा गरें, तपाईंको आज्ञा कहिल्यै उल्लंघन गरिनँ, तैपनि तपाईंले मलाई आफ्ना मित्रहरूसित रमाइलो गर्न कहिल्यै बाख्राको पाठो दिनुभएन।’ ‘तर तपाईंको सम्पत्ति उड़ाउने तपाईंको त्यो छोरो आउँदाचाहिं तपाईंले त्यसको लागि भोज लगाउनुभयो,’ उसले गुनासो पोख्यो। ‘छोरा,’ मायालु ढंगमा बुबाले सम्झाए, ‘तँता सधैंभरि मसित छस्, अनि जे मेरो हो, त्यो सब तेरै हो। तर तेरो भाइ मरेको थियो, फेरि बिउँत्यो, त्यसैले आनन्द मनाउनु र खुशी हुनैपर्ने हो। त्यो हराएको थियो, पाइयो।’—लूका १५:२५-३२.
हाम्रोनिम्ति पाठ
येशूले दिनुभएको दृष्टान्तका पिताले हाम्रा करुणामयी परमेश्वर यहोवाको प्रतिनिधित्व गर्छ। हराएको छोरोजस्तै केही मानिसहरू परमेश्वरको घरानाको सुरक्षित घेराबाहिर जान्छन् तर पछि फर्कन्छन्। त्यस्ताहरूलाई यहोवाले के ठान्नुहुन्छ? साँचो पश्चात्ताप गरेर यहोवाकहाँ फर्कनेहरूलाई “उहाँले सधैं हप्काइरहनुहुन्न। नता उहाँले सधैंभरि रीस लिइराख्नुहुन्छ,” भन्ने थाह पाएर ती पश्चात्तापीहरू ढुक्क हुनसक्छन्। (भजन १०३:९) दृष्टान्तमा बुबाले दौडेर छोरोलाई स्वागत गरेका थिए। त्यसैगरि, यहोवा पश्चात्तापी पापीहरूलाई क्षमा गर्न इच्छुक मात्र होइन उत्सुक पनि हुनुहुन्छ। उहाँ “क्षमा गर्न [“तयार,” NW] हुनुहुन्छ,” र उहाँ “प्रशस्त गरी” क्षमा गर्नुहुन्छ।—भजन ८६:५; यशैया ५५:७; जकरिया १:३.
येशूले दिनुभएको दृष्टान्तमा बुबाको निष्कपट प्रेमले गर्दा छोरो चाहिंलाई फर्कन सजिलो भयो। तर विचार गर्नुहोस्: बुबाले त्यो केटो घर फर्कंदा स्वागत गर्न अस्वीकार गरेका भए वा कहिल्यै घर नफर्कनू भनेर बेस्सरी हपारेका भए के हुन्थ्यो होला? त्यस्तो व्यवहारले त्यो केटो सधैंको लागि बिछोडिन्थ्यो।—२ कोरिन्थी २:६, ७ तुलना गर्नुहोस्।
भनाइको मतलब, छोरो चाहिंले घर छोडेर जाँदा उसलाई फर्कन सजिलो होस् भनेर बुबाले त्यतिखेरै बाटो खोलेका थिए। आज पनि कहिलेकाहीं मसीही प्राचीनहरूले अपश्चात्तापी पापीहरूलाई मण्डलीबाट निकाल्नुपर्ने हुन्छ। (१ कोरिन्थी ५:११, १३) त्यतिखेर तिनीहरूले ती पापीहरू पछि फेरि मण्डलीमा पुनर्स्थापित हुन के कस्ता कामहरू गर्नुपर्छ त्यो बताएर उनीहरूका लागि फर्कने बाटो तयार गर्नसक्छन्। आध्यात्मिक तवरमा हराएका धेरैजसोले पछि प्राचीनहरूको यस्तो हार्दिक बिन्ती सम्झेर पश्चात्ताप गरिकन तुरुन्तै परमेश्वरको परिवारमा फर्कन उत्प्रेरित भएका छन्।—२ तिमोथी ४:२.
छोरो फर्कंदा बुबाले दया पनि देखाएका थिए। त्यस छोरोलाई साँच्चै पछुतो लागेको थियो भनेर बुबाले तुरुन्तै थाह पाइहाले। त्यसैकारण, के गरिस्, कहाँ गइस् भनेर छोरोको एक एक पापकर्म कोट्याउनुको साटो खुशी हुँदै तिनले तुरुन्तै उसलाई स्वागत गरे। मसीहीहरूले पनि यस्तै मनोभाव झल्काउनुपर्छ। हराएको व्यक्ति फर्कंदा तिनीहरू पनि आनन्दित हुनुपर्छ।—लूका १५:१०.
मनपरि गरेर हिंड्ने त्यो छोरो कुनै दिन अवश्य घर फर्कनेछ भनेर ती बुबालाई पहिल्यै थाह थियो भनी तिनको व्यवहारबाट प्रस्टै झल्कन्छ। निस्सन्देह, यो लघुकथा उहाँको घर छोडेर जानेहरू सबै फर्कोस् भनी यहोवा असाध्यै इच्छा गर्नुहुन्छ भनेर देखाउने एउटा छाया मात्र हो। उहाँ “कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा” गर्नुहुन्छ। (२ पत्रुस ३:९) त्यसैकारण, आफ्ना पापी कर्महरूको पश्चात्ताप गर्नेहरूले “प्रभुका उपस्थितबाट आरामको समय” पाउनेछन् भनेर ढुक्क हुनसक्छन्।—प्रेरित ३:१९.
[फुटनोट]
a दासलाई परिवारकै सदस्य ठानिन्थ्यो तर ज्यालादारी काम गर्ने नोकरलाई हरेक दिन ज्याला दिइन्थ्यो र त्यसलाई जुनसुकै बेला कामबाट निकाल्न सकिन्थ्यो। यो जवान केटोले आफ्नो बुबाको घरमा सबैभन्दा कम दर्जाको काम गरेर बस्नु नै उचित ठान्यो।