प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ११/१ pp. १३-१८
  • संसारमा छौं तर यस संसारका होइनौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारमा छौं तर यस संसारका होइनौं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वशक्‍तिको विकास
  • परमेश्‍वरको आउँदै गरेको राज्य सरकार
  • “पशुको” “छाप” लगाउनदेखि टाढै रहनु
  • “पशु” तथा “सिजर”
  • कर्तव्यनिष्ठ नागरिकहरू
  • आखिरी दिनमा तटस्थ मसीहीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • परमेश्‍वर र सिजर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • शैतानको संसारकालागि वा परमेश्‍वरको नया व्यवस्थाकालागि?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ११/१ pp. १३-१८

संसारमा छौं तर यस संसारका होइनौं

“तिमीहरू यस संसारका होइनौ, . . . यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।”—यूहन्‍ना १५:१९.

१. संसारसित साँचो मसीहीहरूको कस्तो सम्बन्ध छ, तैपनि संसारले तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्छ?

आफ्ना चेलाहरूसित बिताउनुभएको अन्तिम रात येशूले यसो भन्‍नुभयो: “तिमीहरू यस संसारका होइनौ।” उहाँले कुन चाहिं संसारबारे भन्‍न खोजिरहनुभएको थियो? के उहाँले यसअघि “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌,” भन्‍नु भएको होइन र? (यूहन्‍ना ३:१६) निस्सन्देह, येशूका चेलाहरू यस संसारका थिए। किनकि अनन्त जीवनको लागि येशूमा विश्‍वास गर्ने प्रथम व्यक्‍ति तिनीहरू नै थिए। त्यसोभए, येशूले अहिले आएर आफ्ना चेलाहरू संसारबाट अलग छन्‌ भनी किन भन्‍नुभयो? अनि उहाँले यसो पनि किन भन्‍नुभयो: “तर तिमीहरू यस संसारका होइनौ, . . . यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ”?—यूहन्‍ना १५:१९.

२, ३. (क) मसीहीहरू कुन “संसारको” भाग होइनन्‌? (ख) मसीहीहरू भागी नभएको ‘संसारबारे’ बाइबल के बताउँछ?

२ कारण के हो भने, बाइबलमा “संसार” (युनानी, कोसमोस) शब्दको प्रयोग विभिन्‍न तरिकाहरूमा गरिएको छ। यसअघिको लेखमा व्याख्या गरिएझैं बाइबलमा प्रयोग गरिएको “संसार” शब्दले कहिलेकाहीं आम मानिसजाति बुझाउँछ। अनि परमेश्‍वरले प्रेम गर्नुभएको संसार यही हो र यसैको लागि येशू मर्नुभयो। तथापि, मसीहीधर्मको अक्सफोर्ड इतिहास (अंग्रेजी) बताउँछ: “परमेश्‍वरबाट बिराना भएका र उहाँप्रति बैमनस्य भाव राख्ने जुनसुकै कुरालाई बुझाउन पनि मसीहीहरू ‘संसार’ शब्द प्रयोग गर्छन्‌।” यो कत्तिको सत्य छ? क्याथोलिक सम्पादक, रोलन्ड मिनराटले आफ्नो पुस्तक ले क्रेत्याङ ए ल मोंग्द-मा (मसीहीहरू तथा संसार) यसरी व्याख्या गरे: “संसार शब्दलाई नकारात्मक अर्थमा लिंदा यसले परमेश्‍वरसित दुश्‍मनी राख्ने सरकारहरूको दुनियाँ भन्‍ने बुझिन्छ जहाँ ख्रीष्टले जित्नुभएको राज्यको विरोध गर्न शैतानको आधिपत्यमा तिनीहरू शत्रु साम्राज्य खडा गर्छन्‌।” यो “संसार” परमेश्‍वरबाट बिराना भएका मानवजातिको झुण्ड हो। साँचो मसीहीहरू यस संसारका होइनन्‌ र यो संसारले तिनीहरूलाई घृणा गर्छ।

३ प्रथम शताब्दीको अन्ततिर यूहन्‍नाले निम्न कुराहरू लेख्दा तिनले यही संसारबारे सोचिरहेका थिए: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।” (१ यूहन्‍ना २:१५, १६) तिनले अझै लेखे: “हामी जान्दछौं, कि हामी परमेश्‍वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) अनि स्वयं येशूले पनि शैतानलाई “यस संसारको मालिक,” भन्‍नुभयो।—यूहन्‍ना १२:३१; १६:११.

विश्‍वशक्‍तिको विकास

४. विश्‍वशक्‍तिहरू कसरी अस्तित्वमा आए?

४ परमेश्‍वरबाट बिराना भएको विद्यमान मानिसजातिको संसार नूहको जलप्रलयपछि तिनका प्रायजसो सन्तानले यहोवाको उपासना गर्न छोडेपछि विकास हुनथाल्यो। ती प्रारम्भिक दिनहरूमा शहर निर्माता तथा ‘यहोवाको दृष्टिमा शक्‍तिशाली शिकारी,’ निम्रोद प्रमुख थिए। (उत्पत्ति १०:८-१२) त्यस समयतिर यस संसारका धेरैजसो ठाउँहरूमा सानातिना राज्यहरू हुन्थे र यी राज्यका रजौटाहरू आपसमा मिलेर एक अर्कोसित लडाइँ गर्थे। (उत्पत्ति १४:१-९) अन्य राज्यहरूलाई जितेर यस्ता केही राज्यहरू प्रान्तीय राज्यमा परिणत हुन्थे। र यस्तै प्रान्तीय राज्यहरू अन्ततः विश्‍वशक्‍ति हुन पुगे।

५, ६. (क) बाइबल इतिहासका सात विश्‍वशक्‍तिहरू कुन कुन हुन्‌? (ख) यी विश्‍वशक्‍तिहरूलाई कसरी चित्रित गरिएका छन्‌ र यिनीहरूले कहाँबाट शक्‍ति पाउँछन्‌?

५ विश्‍वशक्‍ति हासिल गर्न सफल हुने शासकहरूले निम्रोदकै अनुकरण गर्दै यहोवाको उपासना गरेनन्‌ भन्‍ने तथ्य तिनीहरूको क्रूर तथा हिंसात्मक कार्यहरूबाट देख्न सकिन्छ। यी विश्‍वशक्‍तिहरू धर्मशास्त्रमा जंगली जनावरद्वारा चित्रण गरिएका छन्‌ र यीमध्ये छवटा राज्यहरूले यहोवाका मानिसहरूलाई निकै असर गरेको हुँदा शताब्दीयौंको दौडान बाइबलले यस्ता विश्‍वशक्‍तिहरूको परिचय दिएको छ। ती हुन्‌: मिस्र, अश्‍शूर, बेबिलोन, मादी-फारसी, युनान र रोम। भविष्यवाणीअनुसार रोमपछि सातौं विश्‍वशक्‍ति उदय हुनेथियो। (दानियल ७:३-७; ८:३-७, २०, २१; प्रकाश १७:९, १०) यो बेलाइती साम्राज्य र त्यसको मित्रपक्ष संयुक्‍त राज्य अमेरिका मिलेर बनेको एंग्लो-अमेरिकी विश्‍वशक्‍ति प्रमाणित भयो। यद्यपि, पछि संयुक्‍त राज्य अमेरिका बेलाइतलाई उछिनेर सबैभन्दा शक्‍तिशाली भयो। रोमी साम्राज्यको नामोनिसान मेटिएपछि बेलाइती साम्राज्य देखापर्न थाल्यो।a

६ क्रमिक रूपमा देखा परेका यी सात विश्‍वशक्‍तिहरूलाई प्रकाशको पुस्तकले अशान्त मानवजातिबीचबाट निस्केको जंगली जनावरका सात शिरद्वारा चित्रित गर्छ। (यशैया १७:१२, १३; ५७:२०, २१; प्रकाश १३:१) यो जनावरलाई अख्तियार कसले दियो? बाइबलले यसरी जवाफ दिन्छ: “अजींगरजस्तै पशुले त्यसलाई आफ्नो शक्‍ति, आफ्नो सिंहासन र ठूलो अख्तियार दियो।” (प्रकाश १३:२) यो अजींगर अरू कोही नभई शैतान अर्थात्‌ दियाबल हो।—लूका ४:५, ६; प्रकाश १२:९.

परमेश्‍वरको आउँदै गरेको राज्य सरकार

७. मसीहीहरूको आशा के मा छ र यसले संसारको सरकारसित तिनीहरूको सम्बन्धलाई कस्तो असर गर्छ?

७ मसीहीहरूले यसरी प्रार्थना गर्न थालेको झन्डै २,००० वर्ष भइसक्यो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) परमेश्‍वरको राज्यले मात्रै पृथ्वीमा साँचो शान्ति ल्याउनसक्छ भनेर यहोवाका साक्षीहरूलाई थाह छ। बाइबलमा दिइएका भविष्यवाणीहरूलाई नियालेर हेर्ने गरेको हुनाले यो प्रार्थना चाँडै पूरा हुनेछ र त्यो राज्यले सम्पूर्ण पृथ्वीको बागडोर सँभाल्नेछ भनी तिनीहरू विश्‍वस्त छन्‌। (दानियल २:४४) यस राज्यप्रतिको वफादारीले गर्दा तिनीहरू सांसारिक सरकारको जुनसुकै गतिविधिमा तटस्थ रहन्छन्‌।

८. भजन २ मा भविष्यवाणी गरिएझैं परमेश्‍वरको राज्य शासनप्रति सरकारहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌?

८ केही राष्ट्रहरू आफूले धार्मिक सिद्धान्तहरू पालन गर्ने गरेको दाबा गर्छन्‌। तर व्यवहारबाट भने यहोवा, सार्वभौमसत्ताधारी हुनुहुन्छ र उहाँले येशूलाई पृथ्वीमाथिको अधिकार सुम्पदै स्वर्गमा राजा नियुक्‍त गर्नुभएको छ भन्‍ने तथ्यलाई इन्कार गर्छन्‌। (दानियल ४:१७; प्रकाश ११:१५) यस सन्दर्भमा भविष्यसूचक भजन यसो भन्छ: “परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनको [येशूको] विरुद्धमा, पृथ्वीका राजाहरू आफै खड़ा हुन्छन्‌, र शासकहरू आपसमा यसो भनेर सल्लाह गर्छन्‌, ‘लौ, हामी तिनीहरूका बन्धन टुक्रा टुक्रा पारेर छिनालौं, र तिनीहरूका डोरीहरू हामीबाट फुकालेर फालिदिऔं।’ ” (भजन २:२, ३) यस संसारका सरकारहरू आफ्नो राष्ट्रिय सार्वभौमिकतालाई सीमित पार्ने कुनै ईश्‍वरीय “बन्धन” वा “डोरीहरू[मा]” बाँधिन चाहँदैनन्‌। अतः यहोवा आफ्नो नियुक्‍त राजा, येशूलाई यसो भन्‍नुहुन्छ: “मसँग माग, र म अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु, र पृथ्वीको पल्लो छेउसम्म तिम्रो अधिकारमा राखिदिनेछु। फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ। र कुमालेको भाँड़ालाई जस्तैगरी तिमीले तिनीहरूलाई चक्नाचूर पार्नेछौ।” (भजन २:८, ९) तथापि, जुन मानव संसारको लागि येशू मर्नुभयो, त्यो पूर्णतया “चक्नाचूर” हुनेछैन।—यूहन्‍ना ३:१७.

“पशुको” “छाप” लगाउनदेखि टाढै रहनु

९, १०. (क) प्रकाशको पुस्तकमा हामीलाई के कुराबारे चेताउनी दिइएको छ? (ख) ‘पशुको छाप लगाउनुले’ कुन कुरा चित्रित गर्छ? (ग) परमेश्‍वरका सेवकहरू कस्ता चिह्नहरू स्वीकार्छन्‌?

९ परमेश्‍वरबाट बिराना भएको मानिसजातिको संसारले आफ्नो अन्त हुनुअघि अचाक्ली मात्रामा के गर्ने माग गर्छन्‌, त्यसबारे प्रेरित यूहन्‍नाले पाएको प्रकाशले यस्तो चेताउनी दिन्छ: “त्यसले साना र ठूला, धनी र गरीब, स्वतन्त्र र बँधुवा, सबैलाई तिनका दाहिने हात, अथवा निधारमा छाप लगाउनलायो, कि त्यस पशुको नाउँ अथवा त्यसको नाउँको संख्याको छाप नभईकन कुनै मानिसले किन्‍न अथवा बेच्न नपाओस्‌।” (प्रकाश १३:१६, १७) यसको अर्थ के हो? दाहिने हातमा छाप लगाउनुको अर्थ सक्रिय रूपमा समर्थन गर्नु हो। निधारमा भएको छापचाहिं के हो त? दी एक्सपोजिटर्स ग्रीक टेस्टामेन्ट यसो भन्छ: “यो अति सांकेतिक वाक्यले सिपाही तथा दासहरूमा प्रस्टै देखिने चिह्न डाम्ने . . . ; वा त्यसभन्दा पनि अझ ईश्‍वरको नाउँको जन्तर बनाएर लाउनुजस्तो धार्मिक रीतिलाई संकेत गर्छ।” थुप्रै मानिसहरू आफ्नो बोलीवचन तथा कामबाट लाक्षणिक अर्थमा यो छाप लगाएर आफूलाई त्यस “पशुको” “बँधुवा” अथवा “सिपाही” भनेर चिनाउँछन्‌। (प्रकाश १३:३, ४) तिनीहरूको भविष्यबारे नयाँ नियमको धर्मविज्ञानसम्बन्धी शब्दकोश (अंग्रेजी) भन्छ: “परमेश्‍वरका शत्रुहरू राजीखुशी त्यस पशुको [छाप] आफ्नो निधारमा र हातमा त्यसको रहस्यमयी संख्या स्वीकार्छन्‌। यसो गर्दा तिनीहरूले आर्थिक तथा व्यापारिक लाभहरू त प्रशस्तै पाउँछन्‌ तर तिनीहरूले परमेश्‍वरको क्रोध खप्नुपर्ने हुन्छ र तिनीहरू परमेश्‍वरको हजार वर्षे राज्यबाट वर्जीत हुन्छन्‌, प्रका. १३:१६; १४:९; २०:४.”

१० यो “छाप” लगाउने दबाबलाई तिरस्कार गर्न झन्‌ झन्‌ धेरै साहस र धीरज चाहिन्छ। (प्रकाश १४:९-१२) परमेश्‍वरका सेवकहरूसित यस्तो बल छ र यसैकारण तिनीहरू घृणित र निन्दित हुन्छन्‌। (यूहन्‍ना १५:१८-२०; १७:१४, १५) त्यस पशुको छाप लाउनुको साटो तिनीहरू यशैयाअनुसार आफ्नो हातमा लाक्षणिक तवरले “परमप्रभुको” भनेर लेख्छन्‌। (यशैया ४४:५) यसबाहेक, यहोवाले न्यायदण्ड ल्याउनुहुँदा तिनीहरू जोगाइन योग्यका छन्‌ भनी चिनाउने लाक्षणिक चिह्न तिनीहरूले आ-आफ्नो निधारमा पाउँछन्‌। किनभने, धर्मत्यागी धर्महरूले गरेको घृणास्पद कामहरू देखेर तिनीहरू “शोक र विलाप” गरिरहेका छन्‌।—इजकिएल ९:१-७.

११. परमेश्‍वरको राज्यले यस पृथ्वीको सम्पूर्ण बागडोर हातमा नलिएसम्म मानव सरकारहरूलाई शासन गर्ने अनुमति कसले दिनुभएको छ?

११ ख्रीष्टले स्वर्गीय राज्यले यस पृथ्वीको सम्पूर्ण बागडोर हातमा नलिएसम्म मात्र परमेश्‍वरले मानव सरकारहरूलाई शासन गर्ने अनुमति दिनुहुन्छ। राजनैतिक सरकारहरूलाई परमेश्‍वरले दिनुभएको यस्तो अनुमतिलाई प्राध्यापक ओस्कार कुल्मानले आफ्नो नयाँ नियममा सांसारिक राज्य (अंग्रेजी) भन्‍ने पुस्तकमा उल्लेख गरेका छन्‌। तिनले लेखे: “राज्यप्रति प्रारम्भिक मसीहीहरूको धारणा एकै नभई फरक फरक जस्तो देखिनुको कारण राजनैतिक सरकारहरू ‘अस्थायी’ हुन्‌ भन्‍ने धारणा नै हो। तथापि, म जोड दिन चाहन्छु, मसीहीहरूको धारणा फरक जस्तो देखिएको मात्र हो। उदाहरणका लागि, रोमी १३:१ मा ‘हरेक मानिस शक्‍तिको अधीनमा रहोस्‌,’ भनिएको छ जबकि प्रकाश १३ मा राष्ट्रलाई खाडलबाट निस्केको पशु भनिएको छ।”

“पशु” तथा “सिजर”

१२. मानव सरकारहरूप्रति यहोवाका साक्षीहरूको कस्तो सन्तुलित दृष्टिकोण छ?

१२ सबै सरकारी अख्तियारवालाहरू शैतानका कार्यकर्ताहरू हुन्‌ भन्‍नु गलत हुनेछ। तिनीहरूमध्ये धेरैजसो सिद्धान्तअनुसार चल्ने मानिसहरू थिए। जस्तै, पुरातन रोमका बडा हाकिम सर्गियस पौलस, जसलाई बाइबलमा “बुद्धिमान मानिस” भनिएको छ। (प्रेरित १३:७) यहोवा र उहाँका उद्देश्‍यहरूबारे थाह नभए तापनि केही शासकहरूले आफ्नो ईश्‍वर-प्रदत्त विवेकअनुसार साहसी भई अल्पमतको पक्ष लिए। (रोमी २:१४, १५) नबिर्सनुहोस्‌, बाइबलमा “संसार” शब्दको दुइ भिन्‍नाभिन्‍नै अर्थ लाग्छ। एउटा परमेश्‍वरले प्रेम गर्नुभएको संसार जसलाई हामीले पनि प्रेम गर्नुपर्छ र अर्को यहोवाबाट बिराना भएको मानव समाज जसको देव शैतान हो र जसबाट हामी अलग बस्नुपर्छ। (यूहन्‍ना १:९, १०; १७:१४; २ कोरिन्थी ४:४; याकूब ४:४) त्यसैकारण, मानव शासकहरूप्रति यहोवाका सेवकहरूको दृष्टिकोण सन्तुलित हुनुपर्छ। हामी परमेश्‍वरको राज्यको राजदूत वा सेवक भएकोले र हामीले आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गरेको भएर हामी राजनैतिक मामिलामा तटस्थ छौं। (२ कोरिन्थी ५:२०) अर्कोतिर कर्तव्यनिष्ठ भएकोले अन्तस्करणले दिएसम्म हामी अख्तियारवालाहरूको अधीनमा बस्छौं।

१३. (क) मानव सरकारहरूप्रति यहोवाको कस्तो दृष्टिकोण छ? (ख) मसीहीहरू कुन हद्‌सम्म मानव सरकारको अधीनमा बस्छन्‌?

१३ यो सन्तुलित दृष्टिकोणमा यहोवा परमेश्‍वरकै दृष्टिकोण झल्कन्छ। विश्‍वशक्‍ति वा सानोभन्दा सानो राष्ट्रले पनि आफ्नो अख्तियार दुरुपयोग गर्दा, जनतालाई थिचोमिचो गर्दा वा परमेश्‍वरका उपासकहरूलाई सताउँदा तिनीहरू पक्कै पनि भविष्यवाणीमा वर्णन गरिएको खुँखार जंगली जनावर भनिन योग्यको हुन्छन्‌। (दानियल ७:१९-२१; प्रकाश ११:७) तथापि, यदि कुनै सरकारले सुव्यवस्था कायम गरेर परमेश्‍वरको उद्देश्‍य पूरा गरिररहेको छ भने, उहाँ तिनीहरूलाई आफ्नो “सेवक” ठान्‍नुहुन्छ। (रोमी १३:६) यहोवा आफ्ना जनहरूले मानव सरकारको आदर गरेको तथा अधीनमा रहेको चाहनुहुन्छ। तर तिनीहरूको यस्तो अधीनताको सीमा छ। परमेश्‍वरको व्यवस्थाले निषेध गरेको कामकुरा गर्न अह्राउँदा वा परमेश्‍वरले आफ्ना जनहरूबाट चाहनुभएको कुरा निषेध गर्न खोज्दा परमेश्‍वरका जनहरूको अडान प्रेरितहरूले लिएको अडानजस्तै हुन्छ, अर्थात्‌: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२९.

१४. मानव सरकारप्रतिको मसीहीहरूको अधीनतालाई येशूले कसरी व्याख्या गर्नुभयो? पावलले कसरी व्याख्या गरे?

१४ “जे जे सिजरका हुन्‌ सिजरलाई, र जे जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ” भन्‍नुहुँदा येशूले सरकार र परमेश्‍वर दुवैप्रति चेलाहरूको दायित्व छ भन्‍न खोज्नुभएको थियो। (मत्ती २२:२१) प्रेरणा पाएर प्रेरित पावलले यसरी लेखे: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌, . . . तर तिमीले खराब काम गऱ्‍यौ भने डराऊ, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्‌। किनकि तिनी खराब काम गर्नेमाथि क्रोधको निम्ति बदला लिने परमेश्‍वरका सेवक हुन्‌। यसकारण, क्रोधको खातिर मात्र होइन, तर अन्तस्करणको निम्ति पनि तिमीहरूलाई अधीनमा रहनु उचित छ। किनभने यसैकारणले पनि तिमीहरू कर तिर्दछौ।” (रोमी १३:१, ४-६) सा.यु. प्रथम शताब्दीदेखि आजसम्म मसीहीहरूले राष्ट्रका मागहरू पूरा गर्न विचार गर्नुपरेको छ। यी मागहरू पूरा गर्दा कतै आफ्नो उपासनाको सम्झौता त हुँदैन वा ती मागहरू जायज छन्‌ कि छैनन्‌ र ती पूरा गर्न आफ्नो अन्तस्करणले दिन्छ या दिंदैन सबै पक्का गर्न तिनीहरूलाई बुझ्नु आवश्‍यक परेको छ।

कर्तव्यनिष्ठ नागरिकहरू

१५. यहोवाका साक्षीहरू कर्तव्यनिष्ठ भई सिजरको कुरा सिजरलाई कसरी दिन्छन्‌?

१५ “खराब काम गर्नेहरूलाई बदला लिन र असल काम गर्नेहरूलाई प्रशंसा” गर्नुका साथै परमेश्‍वरले स्वीकार गर्नुहुने भूमिका निर्वाह गरुञ्जेल राजनैतिक “उच्च अख्तियारवालाहरू” परमेश्‍वरका “सेवक” हुन्‌। (१ पत्रुस २:१३, १४) कर तिर्ने सन्दर्भमा सिजरको जायज माग यहोवाका सेवकहरू कर्तव्यनिष्ठ भई तिर्छन्‌। यसबाहेक, बाइबल प्रशिक्षित अन्तस्करणले दिउञ्जेल तिनीहरू “शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी . . . हरेक असल काममा तत्पर” रहन्छन्‌। (तीतस ३:१) अनि विपत्ति आइपर्दा अरूलाई मदत गर्नु यस्ता “असल काममा” समावेश छ। विपत्ति आइपर्दा सँगी मानवप्रति यहोवाका साक्षीहरूले देखाएको दयाबारे धेरैले पुष्टि दिएका छन्‌।—गलाती ६:१०.

१६. सरकार र सँगी मानवहरूका लागि यहोवाका साक्षीहरू के कस्ता असल कामहरू कर्तव्यनिष्ठ भई पूरा गर्छन्‌?

१६ यहोवाका साक्षीहरू सँगी मानवहरूलाई माया गर्छन्‌ र धार्मिक “नयाँ स्वर्ग र नयाँ पृथ्वी” ल्याउने परमेश्‍वरको उद्देश्‍यबारे सही ज्ञान हासिल गर्न सँगी मानवलाई मदत गर्नु नै सबैभन्दा फाइदाजनक काम हो भनी तिनीहरू महसुस गर्छन्‌। (२ पत्रुस ३:१३) बाइबलका उच्च नैतिक सिद्धान्तहरू सिकाउने तथा व्यवहारमा उतार्ने, त्यस्ता बाइबल सिद्धान्तहरूलाई पछ्याउने र अरू धेरै व्यक्‍तिहरू पनि अपराधबाट जोगाउने भएकोले तिनीहरू मानव समाजको लागि एक बहुमूल्य सम्पत्ति साबित भएका छन्‌। यहोवाका सेवकहरू कानुनपरायण हुनुका साथै मन्त्री, सरकारी अफिसर, न्यायाधीश, शहरका अख्तियारवालाजस्ता “आदर गर्नु पर्नेलाई” आदर गर्छन्‌। (रोमी १३:७) छोराछोरीहरू पछि आफ्नै खुट्टामा उभिन सकोस्‌ र समाजमाथि बोझ नहोस्‌ भन्‍ने हेतुले साक्षी आमाबाबुहरू तत्परताका साथ छोराछोरीका शिक्षकशिक्षिकाहरूलाई सहयोग गर्छन्‌ र छोराछोरीले राम्ररी पढोस्‌ भनी मदत गर्छन्‌। (१ थिस्सलोनिकी ४:११, १२) साक्षीहरू मण्डलीमा जातीय पूर्वाग्रह राख्न र वर्गीकरण हुन दिंदैनन्‌ र तिनीहरू पारिवारिक बन्धनलाई निकै महत्त्व दिन्छन्‌। (प्रेरित १०:३४, ३५; कलस्सी ३:१८-२१) तसर्थ, तिनीहरू माथि लागेको परिवार भँडुवा वा समाजका लागि काम नलाग्ने भन्‍ने जस्ता गलत आरोपलाई तिनीहरू आफ्नो कामद्वारा झूटो साबित गर्छन्‌। यसरी प्रेरित पावलका यी शब्दहरू सत्य ठहर्छन्‌: “परमेश्‍वरको इच्छा यही छ, कि असल गरेरनै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।”—१ पत्रुस २:१५.

१७. मसीहीहरू “बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ” कसरी चल्छन्‌?

१७ अतः ख्रीष्टका सच्चा अनुयायीहरू “संसारका होइनन्‌।” तैपनि, तिनीहरू मानव समाजको संसारमै छन्‌ र तिनीहरू “बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ” चल्छन्‌। (यूहन्‍ना १७:१६; कलस्सी ४:५) यहोवाले उच्च अख्तियारवालाहरूलाई आफ्नो सेवकको रूपमा चल्न दिनुहुञ्जेल हामी उचित आदर देखाइरहनेछौं। (रोमी १३:१-४) राजनीतिमा तटस्थ रहेर हामी “राजाहरू र उच्च पदाधिकारीहरू[का]” निम्ति, अझ विशेषगरि यिनीहरूले हाम्रो उपासना गर्ने स्वतन्त्रतालाई असर गर्नसक्ने निर्णयहरू गर्दा प्रार्थना गर्छौं। “सबै मानिसहरूले उद्धार पाऊन्‌” भन्‍ने आशासहित “सब प्रकारका भक्‍ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन पाऔं भनेर” हामी निरन्तर त्यसो गर्नेछौं।—१ तिमोथी २:१-४.

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रकाश—त्यसको चर्मोत्कर्ष निकट!, अध्याय ३५ हेर्नुहोस्‌।

पुनरावृत्तिका लागि प्रश्‍नहरू

◻ मसीहीहरू कुन चाहिं “संसारका” भाग हुन्‌ र कुन “संसारका” हुनसक्दैनन्‌?

◻ “पशुको” “छाप” हातमा वा निधारमा हुनुले के चित्रित गर्छ र यहोवाका विश्‍वासी सेवकहरूसित कस्ता चिह्नहरू छन्‌?

◻ मानव सरकारहरूप्रति साँचो मसीहीहरूको कस्तो सन्तुलित दृष्टिकोण छ?

◻ मानव समाजको हितको लागि यहोवाका साक्षीहरूले कुन कुन तरिकामा योगदान पुऱ्‍याएका छन्‌?

[पृष्ठ १६-मा भएको चित्र]

बाइबलले मानव सरकारको परिचय परमेश्‍वरको सेवक तथा जंगली जनावर दुवै रूपमा दिन्छ

[पृष्ठ १७-मा भएको चित्र]

अरू मानिसहरूप्रति मायालु चासो देखाएकोले यहोवाका साक्षीहरू समाजका सम्पत्ति हुन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने