प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ११/१५ pp. ५-७
  • अन्यायरहित संसार सपना होइन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्यायरहित संसार सपना होइन!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन मानिस असफल भएको?
  • अन्यायरहित संसार वास्तविक हुन सक्ला —त्यो कसरी हुनसक्छ?
  • अन्यायरहित संसारमा जीवन
  • यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?
    थप लेखहरू
  • अत्याचार बारे के परमेश्‍वरले कहिले केही गर्नु हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “के परमेश्‍वरले अन्याय गर्नुहुन्छ?”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ११/१५ pp. ५-७

अन्यायरहित संसार सपना होइन!

“मानिसको चासोको प्रमुख विषय नै न्याय हो,” अमेरिकी राजनीतिज्ञ डानियल वेब्सटर यस्तो टिप्पणी गर्छन्‌। अनि बाइबल यसो भन्छ: “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ।” (भजन ३७:२८) पहिलो मानव दम्पती परमेश्‍वरकै स्वरूपमा बनाइएको थियो। तिनीहरूसँग न्याय जान्‍ने क्षमतालगायत अन्य ईश्‍वरीय गुणहरू थिए।—उत्पत्ति १:२६, २७.

धर्मशास्त्रले “व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन्‌” भनेर पनि बताउँछ। त्यसैकारण, “तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँछन्‌, औ तिनीहरूका आफ्नै अन्तस्करणले गवाही दिन्छ, र विचारहरूले आपसमा दोषारोपण अथवा समर्थन गर्नेगर्छन्‌।” (रोमी २:१४, १५) हो, मानिसहरूसित अन्तस्करण अर्थात्‌ सही वा गलत छुट्याउनसक्ने अन्तरज्ञान छ। स्पष्टतया, न्याय खोज्नु मानिसको स्वभाव नै हो।

मानिस आनन्दको पछि दौडन्छ। न्याय चाहिन्छ भन्‍ने कुरा यसबाट पनि झल्किन्छ। किनकि भजन १०६:३ घोषणा गर्छ: “तिनीहरू धन्यका हुन्‌, जो न्यायमा चल्दछन्‌, र त्यो जसले हर समय धर्म-कर्म गर्दछ।” तथापि, अन्यायरहित संसार बनाउन मानिस किन असफल भएको त?

किन मानिस असफल भएको?

हामीले हाम्रा प्रथम आमाबाबु आदम र हव्वाबाट वंशानुगत पाएको कलंक नै अन्यायरहित संसार बनाउन नसक्नुको मुख्य कारण हो। बाइबल यसो भन्छ: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) त्यो कलंक पाप हो। आदम र हव्वालाई निर्दोष मानिसको रूपमा सृष्टि गरिएको थियो। तर तिनीहरूले परमेश्‍वर विरुद्ध विद्रोह गरे र पापी भए। (उत्पत्ति २:१६, १७; ३:१-६) फलस्वरूप, तिनीहरूले आफ्ना सन्तानहरूलाई पैतृक सम्पत्तिको रूपमा पापपूर्ण गलत झुकाउहरू दिए।

के लालच तथा पक्षपातजस्ता गुणहरू पापी झुकाउकै प्रतिफल होइनन्‌ र? अनि के यस्ता गुणहरूले अन्यायलाई बढावा दिइरहेका छैनन्‌? भनौं भने, जानाजानी वातावरण बिगार्नु तथा आर्थिक शोषण गर्नुको मूल कारण नै लोभ हो! साम्प्रदायिक कलह र जातीय अन्यायको जड पक्कै पनि पूर्वाग्रह हो। यस्ता गुणहरूले लुट्‌न, ठग्न र अरूलाई नोक्सान पुऱ्‍याउने काम गर्नसमेत मानिसहरूलाई उक्साउँछन्‌।

हाम्रो पापी प्रवृत्तिले गर्दा न्याय र असल कार्य गर्ने उत्तम मनसाय राखेर गरिएका प्रयासहरू पनि विफल हुन्छन्‌। प्रेरित पावल स्वयं यसरी स्वीकार्छन्‌: “असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्‍न, त्यही म गर्नेगर्छु।” आफ्नो संघर्षबारे तिनी अझ यसो भन्छन्‌: “म मेरो अन्तस्करणले परमेश्‍वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्‍नै व्यवस्था म देख्तछु।” (रोमी ७:१९-२३) सम्भवतः हामी पनि यस्तै परिस्थितिमा छौं होला। त्यसैले त पटक पटक अन्यायको भुमरी मडारिन्छ।

मानव शासनप्रणालीले पनि अन्यायलाई बढावा दिएको छ। प्रत्येक मुलुकमा कानुन छ र त्यसलाई कार्यान्वयन गर्ने व्यक्‍तिहरू पनि छन्‌। निस्सन्देह, न्यायाधीश र अदालतहरू पनि छन्‌। केही सैद्धान्तिक मानिसहरूले मानव अधिकारहरू पालन गरेर सबैका निम्ति समान न्याय लागू गर्ने प्रयास नगरेका पनि होइनन्‌। तैपनि, तिनीहरूका धेरैजसो प्रयासहरू विफल भएका छन्‌। किन? तिनीहरूको विफलताका पछाडि थुप्रै कारणहरू छन्‌। त्यसको निचोडबारे यर्मिया १०:२३ यसो भन्छ: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” परमेश्‍वरबाट तर्किएको कारण मानिस आफैले धार्मिक तथा अन्यायरहित संसार स्थापना गर्नै सक्दैन।—हितोपदेश १४:१२; उपदेशक ८:९.

अन्यायरहित संसार बनाउने मानिसको प्रयासलाई विफल तुल्याउने ठूलो अवरोध शैतान अर्थात्‌ दियाबल हो। विद्रोही स्वर्गदूत अर्थात्‌ शैतान “शुरूदेखिनै हत्यारा” तथा “झूट” हो र “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनेर बाइबलले स्पष्ट बताउँछ। (यूहन्‍ना ८:४४; १ यूहन्‍ना ५:१९) प्रेरित पावल शैतानलाई “यस संसारको देव” भनी चिनाउँछन्‌। (२ कोरिन्थी ४:३, ४) धार्मिकतालाई मन नपराउने भएको हुँदा शैतानले दुष्टता फैलाउन सक्दो प्रयास गर्छ। जबसम्म त्यसले संसारलाई आफ्नो अधीनमा राख्छ तबसम्म हरेक प्रकारका अन्याय र अन्यायका दुष्प्रभावहरूले मानिसजातिलाई पिरोलिरहनेछन्‌।

तर के यसको अर्थ मानव समाजबाट अन्याय हटाउनै सकिंदैन भनेको हो? अन्यायरहित संसार साकारै हुन नसक्ने सपना मात्र हो त?

अन्यायरहित संसार वास्तविक हुन सक्ला —त्यो कसरी हुनसक्छ?

अन्यायरहित संसारको प्रत्याशालाई वास्तविक बनाउने हो भने, मानिसजातिले अन्यायको जडलाई जरैदेखि उखेल्नसक्ने स्रोतबाट मदत लिनुपर्छ। तर कसले पो पाप उखेल्न र शैतान तथा त्यसका शासकहरूलाई नामेट गर्नसक्छ र? स्पष्टतया, कुनै पनि मानिस वा मानव माध्यमद्वारा यस्तो महान्‌ कार्य हुनै सक्दैन। यहोवाले मात्र यो कार्य गर्न सक्नुहुन्छ! उहाँको विषयमा बाइबल यसो भन्छ: “उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:४) यहोवा “इन्साफ प्रेम गर्नु[हुने]” भएकोले मानवजातिले अन्यायरहित संसारमा जीवन यापन गरेको उहाँ चाहनुहुन्छ।—भजन ३७:२८.

परमेश्‍वरले प्रबन्ध गर्नुभएको अन्यायरहित संसारबारे प्रेरित पत्रुस लेख्छन्‌: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) यो “नयाँ स्वर्ग” भौतिक स्वर्ग होइन। परमेश्‍वरले हाम्रो भौतिक स्वर्ग कहिल्यै नडग्मगाउनेगरि बनाउनुभएको छ र त्यसले उहाँको महिमा गर्छ। (भजन ८:३; १९:१, २) “नयाँ स्वर्ग” भनेको त पृथ्वीमाथि हुने नयाँ शासन हो। वर्तमान “स्वर्ग” मानव सरकारहरूद्वारा बनिएको छ। अब चाँडै परमेश्‍वरले लड्‌नुहुने आरमागेडोनको युद्धमा यी सरकारहरू हटाएर “नयाँ स्वर्ग” अर्थात्‌ उहाँको स्वर्गीय राज्य वा सरकारको स्थापना हुनेछ। (प्रकाश १६:१४-१६) येशू त्यस राज्यको राजा हुनुहुन्छ। त्यस सरकारले मानव शासन सदाको लागि अन्त गरेर सदा सर्वदै शासन गर्नेछ।—दानियल २:४४.

त्यसोभए, “नयाँ पृथ्वी” चाहिं के हो त? यो कुनै नयाँ ग्रह होइन। किनकि मानिसहरू बसोबास गर्नलाई परमेश्‍वरले पृथ्वी त कहिल्यै नडग्मगाउनेगरि सृष्टि गर्नुभएको छ अनि यो सदा सर्वदै स्थिर रहेको उहाँ चाहनुहुन्छ। (भजन १०४:५) यो “नयाँ पृथ्वी[ले]” मानिसहरूको नयाँ समाजलाई बुझाउँछ। (उत्पत्ति ११:१; भजन ९६:१) विनाश भएर जाने “पृथ्वी” भन्‍नाले यस दुष्ट रीतिरिवाजका भाग हुने मानिसहरू हुन्‌। (२ पत्रुस ३:७) यसलाई प्रतिस्थापना गर्ने “नयाँ पृथ्वी” चाहिं दुष्टतालाई घृणा गर्ने र धार्मिकता तथा न्याय रुचाउने परमेश्‍वरका साँचो उपासकहरू हुन्‌। (भजन ३७:१०, ११) यसरी शैतानको संसार नामेट हुनेछ।

तर शैतानलाई चाहिं के हुनेछ? यसबारे प्रेरित यूहन्‍नाले यस्तो अग्रिमवाणी गरे: “तिनले [येशू ख्रीष्ट] त्यस अजीङ्‌गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्‍तान नहोउञ्जेल त्यसले जाति जातिलाई फेरि नठगोस्‌ भनेर तिनले त्यसलाई अगाध खाँदमा फालिदिए।” (प्रकाश २०:१-३) कालकोठरीमा थुनिएको कैदीले केही गर्न नसकेझैं बन्धनमा परेको शैतानले पनि मानिसजातिलाई केही गर्नसक्ने छैन। अन्यायरहित संसार आउनअघि शैतान यसरी बन्धनमा पर्नु मानिसहरूका निम्ति कस्तो महान्‌ छुटकारा! त्यसपश्‍चात्‌ हजार वर्षको अन्तमा शैतानको नामोनिसान मेटाइनेछ।—प्रकाश २०:७-१०.

तथापि, जन्मजात पाप नि? पापलाई नामेट गर्ने आधार यहोवाले प्रदान गरी सक्नुभएको छ। “मानिसको पुत्र [येशू ख्रीष्ट] . . . धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई” आउनुभयो। (मत्ती २०:२८) “उद्धार” शब्दले बन्दीहरूलाई छुटकारा दिलाउन तिर्नुपर्ने मोल बुझाउँछ। येशूले मानिसजातिको उद्धार गर्न आफ्नो शुद्ध मानव शरीरको मोल तिर्नुभयो।—२ कोरिन्थी ५:१४; १ पत्रुस १:१८, १९.

येशूको छुडौतीको बलिदानद्वारा हामी अहिल्यै पनि लाभ उठाउनसक्छौं। त्यस बलिदानमा विश्‍वास जाहेर गरेर परमेश्‍वरसामु स्वच्छ स्तर कायम गर्नसक्छौं। (प्रेरित १०:४३; १ कोरिन्थी ६:११) परमेश्‍वरको राज्य शासनअन्तर्गत यो छुडौतीले मानिसजातिलाई पूर्णतया पापमुक्‍त तुल्याउनेछ। बाइबलको अन्तिम पुस्तकले परमेश्‍वरको सिंहासनबाट निस्किरहेको प्रतीकात्मक “जीवनको नदी[बारे]” बताउँछ। त्यस नदीको वरिपरि “जाति जातिका मानिसहरूलाई निको” पार्ने फलका रूखहरू छन्‌। (प्रकाश २२:१, २) बाइबलको यस चित्रणले येशूको छुडौतीको बलिदानको आधारमा मानिसजातिलाई पापबाट मुक्‍त गर्ने सृष्टिकर्ताको अद्‌भुत प्रबन्धको प्रतिनिधित्व गर्छ। यो प्रबन्ध पूर्णतया लागू हुँदा आज्ञाकारी मानिसहरू पाप र मृत्युको फन्दाबाट स्वतन्त्र हुनेछन्‌।

अन्यायरहित संसारमा जीवन

परमेश्‍वरको राज्य शासनअन्तर्गत जीवन कस्तो होला, यसो विचार गर्नुहोस्‌ त। अपराध र हिंसा विगतका कुरा हुनेछन्‌। (हितोपदेश २:२१, २२) आर्थिक अन्याय हुनेछैन। (भजन ३७:६; ७२:१२, १३; यशैया ६५:२१-२३) सामाजिक, जनजातीय, जातीय तथा साम्प्रदायिक भेदभावको नामोनिसानै रहनेछैन। (प्रेरित १०:३४, ३५) युद्ध र युद्धका हातहतियारहरू केही हुनेछैनन्‌। (भजन ४६:९) लाखौं मृतजनहरूले अन्यायरहित संसारमा फेरि जीवन पाउनेछन्‌। (प्रेरित २४:१५) सबैले सिद्ध तथा सुस्वास्थ्यको आनन्द उठाउनेछन्‌। (अय्यूब ३३:२५; प्रकाश. २१:३, ४) बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “[येशू ख्रीष्टले] सत्यसित न्याय” गर्नुहुनेछ।—यशैया ४२:३.

त्यतिञ्जेल हामी अन्यायको शिकार हुनसक्छौं। तर हामी चाहिं कहिल्यै अन्यायको बदला अन्याय नगरौं। (मीका ६:८) अन्यायको चोट सहनु परे तापनि आशावादी होऔं। प्रतिज्ञा गरिएको अन्यायरहित संसार चाँडै साकार हुनेछ। (२ तिमोथी ३:१-५; २ पत्रुस ३:११-१३) सर्वशक्‍तिमान्‌ परमेश्‍वरले आफ्नो वचन दिनुभएको छ र त्यो वचन ‘पूरा हुनेछ।’ (यशैया ५५:१०, ११) परमेश्‍वरले हामीबाट चाहनुहुने कुराहरू सिकेर त्यस अन्यायरहित संसारमा जीवन बिताउन तयारी गर्ने समय अहिल्यै हो।—यूहन्‍ना १७:३; २ तिमोथी ३:१६, १७.

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा अन्यायको नामोनिसानै रहनेछैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने