क्रिसमस—सरकारी बिदा वा धार्मिक पर्व?
चीनमा क्रिसमस ओल्ड म्यान भनिन्छ। संयुक्त अधिराज्यमा फादर क्रिसमसको नाउँले चिनिन्छन्। रूसमा ग्रान्डफादर फ्रस्ट र संयुक्त राज्यमा सान्ता क्लजको नाउँले परिचित छन्।
बडेमाको भुँडी र हिउँजस्तो सेतो दाह्री भएको यस हँसमुख बूढोलाई धेरैजसोले क्रिसमसको मूर्तरूप मान्छन्। तर सान्ता क्लज एउटा मिथ्या हो भनेर पनि सर्वसाधारणलाई थाह छ र त्यो मिथ्या, माइरामा (वर्तमानमा तुर्की) चौथो शताब्दीका एक जना पादरीसित सम्बन्धित परम्पराहरूमा आधारित दन्त्यकथा हो।
प्रचलन तथा परम्पराहरूले गर्दा उत्सव मनाइने ढंगमा सदैव निकै प्रभाव परेको हुन्छ र क्रिसमस पनि त्यस्तै हो। सान्ता क्लजको मिथ्या पनि लोककथालाई लोकप्रिय पर्वसित मिलाएका थुप्रै उदाहरणहरूमध्ये एक हो। केही मानिसहरू क्रिसमस प्रचलनहरू बाइबलमा उल्लिखित घटनाहरूमा आधारित छन् भन्छन् तर वास्तवमा ती सबै गैरमसीही परम्पराहरूमा आधारित छन्।
त्यस्तै अर्को उदाहरण क्रिसमस रूख हो। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “रूखको उपासना मूर्तिपूजक युरोपेलीहरूको एउटा सामान्य प्रचलन थियो। तर तिनीहरूले धर्म परिवर्तन गरेर मसीही भइसकेपछि पनि पहिलेदेखि मान्दै आएका स्क्यान्डिनेभियाली प्रचलनहरू हराएनन्। जस्तै, नयाँ वर्षमा सदाबहार बोटहरूले घर, खलो इत्यादि सिंगारेर . . . भूत भगाउने तथा क्रिसमसमा चराहरूका लागि रूख राख्ने।”
होलि वा अन्य प्रकारका सदाबहार बोटहरूको माला गाँस्नु अर्को लोकप्रिय क्रिसमस प्रचलन हो। यो पनि शतप्रतिशत गैरमसीही उपासना हो। पुरातन रोमीहरूले हिउँदको बीचतिर कृषि देव साटर्नको सात-दिने उत्सव अर्थात् साटर्निलियाको बेला मन्दिरहरू सिंगार्न होलिका हाँगाहरू प्रयोग गर्थे। यस गैरमसीही उत्सव विशेषगरि अनियन्त्रित मोजमज्जा र स्वच्छन्दताको लागि परिचित थियो।
हड्चूरको (यहाँ देखाइएको) हाँगामनि म्वाइँ खाने क्रिसमस चलन कसै कसैको लागि रोमान्टिक देखिएला तर यो मध्ययुगतिरको प्रचलन हो। पुरातन बेलाइतका ड्रुइडहरू हड्चूरमा जादूगरी शक्ति हुन्छ भन्ने विश्वास गर्थे। यसर्थ भूतप्रेत, मन्त्र र अन्य प्रकारका खराब कुराहरूबाट जोगिन यसको प्रयोग गरिन्थ्यो। हड्चूरमनि म्वाइँ खाएपछि विवाह हुन्छ भन्ने अन्धविश्वास समयको दौडान विकास हुन थाल्यो। क्रिसमसको समयमा कोही कोही मानिसहरू अझै पनि यसो गर्ने गर्छन्।
यी त भए गैरमसीही परम्पराहरूबाट प्रत्यक्ष सुरु वा प्रभावित भएका आधुनिक क्रिसमसका केही प्रचलनहरू। तर तपाईंको मनमा प्रश्न उठ्ला, यी सबै कसरी भए? ख्रीष्टको जन्मको सम्मानमा मनाइने भनी दाबी गर्ने पर्व कसरी गैरमसीही परम्पराहरूको जालोमा फस्यो? महत्त्वपूर्ण कुरा, परमेश्वरले यसप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
पृष्ठ ३: सान्ता क्लज: Thomas Nast/Dover Publications, Inc., 1978; पृष्ठ ३ को हड्चूर र पृष्ठ ४ को चित्र: Discovering Christmas Customs and Folklore by Margaret Baker, published by Shire Publications, 1994