प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १/१ pp. ३०-३१
  • एलियाले साँचो परमेश्‍वरलाई उच्च पार्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एलियाले साँचो परमेश्‍वरलाई उच्च पार्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दुई विरोधीहरूको भेट
  • यहोवा उच्च पारिनुहुन्छ
  • हाम्रोनिम्ति पाठ
  • तिनले साँचो उपासनाको लागि अडान लिए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • के तपाईं एलियाजस्तै वफादार हुनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • कर्मेल डाँडामा परीक्षा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १/१ pp. ३०-३१

तिनीहरूले यहोवाको इच्छा गरे

एलियाले साँचो परमेश्‍वरलाई उच्च पार्छन्‌

तिनी इस्राएलमा खेदिनुसम्म खेदिएका थिए। राजाले फेला पारेको भए निश्‍चय नै मृत्यु दण्ड दिनेथियो। यति बिघ्न खेदोमा पर्ने व्यक्‍ति को थिए? यहोवाका अगमवक्‍ता एलिया।

राजा आहाब र उसकी मूर्तिपूजक पत्नी ईजेबेलले गर्दा इस्राएलमा बाल उपासना फस्टाइरहेको थियो। फलतः यहोवाले त्यस देशमा खडेरी ल्याउनुभएको थियो र खडेरी परेको चार वर्ष भइसकेको थियो। रिसले चूर भएकी ईजेबेल यहोवाका अगमवक्‍ताहरूको हत्या गर्न सुरिई तर आहाब विशेषगरि एलियालाई मार्न चाहन्थे। झन्डै तीन वर्षअघि एलियाले आहाबलाई यसो भनेका थिए: “मेरो वचनविना आगामी वर्षहरूमा शीत र पानी केही पर्दैन।” (१ राजा १७:१) फलस्वरूप खडेरी परी नै रह्‍यो।

यस्तो जोखिमपूर्ण परिस्थितिमा यहोवाले एलियालाई यसो भन्‍नुभयो: “गएर आहाबकहाँ देखा पर्‌, र म देशमा वृष्टि पठाउनेछु।“ हत्केलामा ज्यान राखेर गम्भीर खतरा मोलेर एलियाले यहोवाको आज्ञा पालन गरे।—१ राजा १८:१, २.

दुई विरोधीहरूको भेट

आहाबले एलियालाई देख्नेबित्तिकै सोधे: “इस्राएललाई कष्ट दिने तिमीनै हौ?” निडरतापूर्वक एलियाले यस्तो जवाफ दिए: “इस्राएललाई कष्ट दिने ता म होइनँ, तर तपाईं र तपाईंका पिताका घरानाले परमप्रभुका आज्ञा त्यागी बाल देवताको पछि लागेर पो हो।” त्यसपछि एलियाले “बालका चार सय पचास अगमवक्‍ता, अशेरा देवीका चार सय अगमवक्‍ता[लगायत]” सबै इस्राएललाई कर्मेल डाँडामा भेला गर्न लगाउँछन्‌। तब एलियाले ती मानिसहरूको समुदायलाई भने: “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? [“कहिलेसम्म कहिले यता, कहिले उता उफ्रिरहन्छौ?,” NW]a यदि परमप्रभुनै परमेश्‍वर हुनुहुन्छ भने उहाँलाई पछ्याऊ। तर यदि बाल परमेश्‍वर हो भने त्यसलाई पछ्याऊ।”—१ राजा १८:१७-२१.

ती मानिसहरू चुइँक्क बोलेनन्‌। यहोवालाई ऐकान्तिक भक्‍ति चढाउन आफू चुकेको कुरा सायद तिनीहरूले महसुस गरे होलान्‌। (प्रस्थान २०:४, ५) या त तिनीहरूको अन्तष्करण यति बोधो भएको होला कि यहोवा र बाल दुवैसित वफादार हुनु गलत हो भन्‍ने कुरा तिनीहरूले बुझ्नै सकेनन्‌। कुरा जे भए पनि, एलियाले त्यसपछि दुईवटा साँढे ल्याउन लगाए—एउटा बालका अगमवक्‍ताहरूका लागि र अर्को आफ्नै लागि। आगो नलगाइकन दुईटै साँढे बलिदान चढाउन तयार गरियो। एलियाले भने: “तिमीहरू आफ्नो देवताको नाउँ पुकार, र म परमप्रभुको नाउँ पुकार्नेछु, औ आगोद्वारा जवाफ दिनुहुनेनै परमेश्‍वर हुनुहुन्छ।”—१ राजा १८:२३, २४.

यहोवा उच्च पारिनुहुन्छ

बालका अगमवक्‍ताहरू “आफूहरूले खड़ा गरेको वेदीको वरिपरि खूब उफ्रँदै नाच्नलागे।” बिहानभरि तिनीहरू यसो भन्दै कराए: “हे बाल, हे बाल, हाम्रो बिन्ती सुन्‍नुहोस्‌।” तर बालले केही जवाफ दिएन। (१ राजा १८:२६) तब एलियाले तिनीहरूको ठट्टा गरे: “त्यो ता देवता हो, अझ जोरसित कराऊ।” (१ राजा १८:२७) आफ्ना देवताहरूको मनमा दया पलाओस्‌ भनेर मूर्तिपूजकहरूले अक्सर गर्ने चलनअनुसार बालका अगमवक्‍ताहरूले आफैलाई तरवार र भालाले घोप्न थाले।b—१ राजा १८:२८.

साँझ हुनहुन लाग्दासम्म बाल उपासकहरू “बर्बराउँदै रहे।” यस पदको उक्‍त वाक्यांशले उन्मत्त ढंगमा वा आत्मसंयमहीन भएर कुनै काम गरिरहनु भन्‍ने बुझाउँछ। अन्ततः साँझ परेपछि एलियाले सबै मानिसहरूलाई भने: “यहाँ मकहाँ आऊ।” एलियाले यहोवाको वेदी मरम्मत गरेको, त्यसको वरिपरि खाडल खनेको, साँढे काटेर टुक्रा टुक्रा पारेको र त्यसलाई जलाउन दाउरामाथि राखेको तिनीहरूले ध्यान दिएर हेरिरहे। त्यसपछि, पानीले (पक्कै पनि भूमध्य सागरबाट ल्याएको) साँढे, वेदी र दाउरालाई निथ्रुक्क भिजाइयो अनि पानी खाडल भरिएर पनि पोखियो। तब एलियाले यहोवालाई प्रार्थना गरे: “इस्राएलमा तपाईं परमेश्‍वर हुनुहुन्छ, औ म चाहिं तपाईंको सेवक हुँ। यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको हुँ भनी थाह होस्‌। औ परमप्रभु, मलाई जवाफ दिनुहोस्‌, मलाई जवाफ दिनुहोस्‌, र यी मानिसहरूले जानून्‌ कि तपाईं परमप्रभुनै परमेश्‍वर हुनुहुन्छ, औ तिनीहरूका मन फर्काउने पनि तपाईंनै हुनुहुन्छ।”—१ राजा १८:२९-३७.

अचानक अकासबाट आगो वर्ष्यो अनि “होमबलि, दाउरा, ढुंगा र माटो भस्म पाऱ्‍यो, र खाड़लको पानी सुकाइदियो।” यो घटना हेरिरहेका मानिसहरू हत्त न पत्त भुइँमा घोप्टो परेर कराए: “परमप्रभुनै परमेश्‍वर हुनुहुँदो रहेछ, परमप्रभुनै परमेश्‍वर हुनुहुँदो रहेछ।” तब एलियाले अह्राएबमोजिम बालका अगमवक्‍ताहरूलाई पक्रेर कीशोन खोल्चामा लगेर मारियो।—१ राजा १८:३८-४०.

हाम्रोनिम्ति पाठ

एलियाले त असाधारण साहस देखाएझैं लाग्छ। यद्यपि, “एलिया पनि ता हामी जस्तै दुःख सुख भोगी मानिस थिए” भनी बाइबल लेखक याकूब हामीलाई आश्‍वासन दिन्छन्‌। (याकूब ५:१७) तिनी पनि डर तथा चिन्तामुक्‍त त थिएनन्‌ नि। उदाहरणका लागि, ईजेबेलले बालका उपासकहरू मारिएको बदला लिने शपथ खाएपछि एलिया भागे। अनि यहोवालाई प्रार्थना गरेर भने: “बस भयो! हे परमप्रभु, अब मेरो प्राण लिनुहोस्‌।”—१ राजा १९:४.

यहोवाले एलियाको प्राण लिनुभएन। बरु, उहाँले दयापूर्वक मदत गर्नुभयो। (१ राजा १९:५-८) सम्भवतः अहिले पनि मानिसहरूको विरोधको कारण असाध्यै चिन्ताजनक परिस्थितिमा गुज्रनुपर्दा यहोवाले त्यसरी नै सहयोग गर्नुहुनेछ भनेर परमेश्‍वरका सेवकहरू आश्‍वस्त हुनसक्छन्‌। वास्तवमा, प्रार्थनाद्वारा यहोवालाई मदत माग्यो भने उहाँले ‘असामान्य शक्‍ति’ दिन सक्नुहुन्छ। फलतः तिनीहरू ‘सबैतिरबाट मिचिए’ तापनि ‘चूर्ण पारिने छैन।’ तसर्थ, तिनीहरूले पनि एलियाले जस्तै सहने मदत पाउनेछन्‌।—२ कोरिन्थी ४:७, ८.

[फुटनोटहरू]

a केही शास्त्रविद्‌हरूको भनाइअनुसार एलियाले बाल उपासकहरूको धार्मिक नाचलाई संकेत गरेको हुनसक्छ। बाल अगमवक्‍ताहरूको नाचको वर्णन गर्न त्यही ‘उफ्रनु’ शब्द १ राजा १८:२६ मा पनि चलाइएको छ।

b कसै कसैको भनाइअनुसार आफैलाई अंगभंग पार्नु मानव बलिदानसित सम्बन्धित प्रथा थियो। शारीरिक पीडा वा रगत बगाउनाले देवताको अनुमोदन प्राप्त हुन्छ भनेर उक्‍त दुवै प्रथाले संकेत गर्थ्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने