परमेश्वरको वचनमाथिको हाम्रो विश्वास बलियो बनाउने
पुस्तकहरूमध्ये धेरैभन्दा धेरै मानिसहरूले पढेको पुस्तक बाइबल हो। तर यसको सन्देशमाथि विश्वास गर्नेहरू कति छन्? बाइबल आफैले बताउँछ, “सबैमा विश्वास छैन।” (२ थिस्सलोनिकी ३:२) कुरा प्रस्ट छ, हामी विश्वाससहित जन्मेका हुँदैनौं। विश्वास खेती गर्नुपर्छ। केही हदसम्म विश्वास गर्नेहरूले समेत आफ्नो विश्वासलाई हल्कासित लिनु हुँदैन। विश्वास खस्कनसक्छ, मर्नसक्छ। अतः “विश्वास[मा] . . . पक्का” हुन प्रयास गरिरहनु नितान्त आवश्यक छ।—तीतस २:२.
त्यसैकारण, यहोवाका साक्षीहरूको परिचालक निकायले १९९७/९८ को श्रृंखलाबद्ध जिल्ला अधिवेशनको लागि “परमेश्वरको वचनमा विश्वास” शीर्षक छान्नुका असल कारणहरू छन्। लाखौं साक्षी तथा अन्य व्यक्तिहरूले एकसाथ भेला भएर परमेश्वरको वचनमा आ-आफ्नो विश्वास बलियो बनाउने अवसर पाए।
परमेश्वरको वचन सत्य हो —हाम्रो विश्वासको आधार
यो अधिवेशनको पहिलो दिनको मूल विषय थियो। उपस्थित सबैको सरहाना गर्दै पहिलो दिनको कार्यक्रम सुरु भयो। त्यस अधिवेशनमा उपस्थित हुनु बाइबलप्रति देखाइएको आदरको प्रमाण थियो। यद्यपि, हाम्रो विश्वासको गुणस्तरबारे यस्ता विचारणीय प्रश्नहरू पेश गरिए: ‘परमेश्वरको वचनलाई अख्तियारको रूपमा प्रयोग गर्दै के हामी आफ्नो विश्वासको पक्षमा बोल्न सक्षम छौं? बाइबल, मण्डलीका सभाहरू र बाइबल आधारित प्रकाशनहरूलाई हल्कासँग नलिएर के हामी आध्यात्मिक भोजनको मूल्यांकन गर्छौं? के हामी प्रेम, सही ज्ञान र विवेकमा बढ्दैछौं?’ “आफैलाई राम्ररी केलाउन तथा आफूसित कत्तिको विश्वास छ र त्यो गुणस्तरीय छ कि छैन, सो जाँच्न यो ‘परमेश्वरको वचनमा विश्वास’ जिल्ला अधिवेशन तयार पारिएको हो” भन्ने टिप्पणी गर्दै वक्ताले उपस्थित सबैलाई ध्यान दिएर सुन्न प्रोत्साहित गरे।
मुख्य भाषणको विषय थियो: “हामी दृष्टिले होइन तर विश्वासले हिंड़छौं।” (२ कोरिन्थी ५:७) वक्ताले भने, “यहोवाका साक्षी बन्नेहरूले अन्धाधुन्ध विश्वास गरेका होइनन्।” यो वाक्य कति सही छ! साँचो विश्वास अन्धो हुँदैन। यो वास्तविकतामा आधारित हुन्छ। हिब्रू ११:१ भन्छ: “विश्वासचाहिं आशा राखेका कुराको निश्चयता, र नदेखेका कुराको प्रमाण हो।” “साँच्चै विश्वासबाट हिंड्ने व्यक्तिहरूको विश्वासको ठोस आधार हुन्छ,” वक्ताले औंल्याए। हामी दृष्टिले होइन तर विश्वासले हिंड्ने भएको कारण यहोवाले आफ्नो उद्देश्यका सबै पक्ष कहिले कसरी पूरा गर्नुहुन्छ त्यसको एक एक जानकारी हामीसित हुनु जरुरी छैन। उहाँबारे जे जति जानेका छौं, त्यसले उहाँ आफ्ना प्रतिज्ञाहरू मायालु तथा धार्मिकताकासाथ पूरा गर्न सक्नुहुन्छ भनेर हामीलाई पूर्णतया विश्वस्त बनाउँछ।
“मसीही जवानहरू—मण्डलीको अभिन्न अंग” भाषणले जवानहरूलाई तिनीहरू यहोवाका नजरमा कत्तिको मूल्यवान् छन् भनी स्मरण गरायो। सम्पूर्ण बाइबल पढ्ने र समर्पण तथा बप्तिस्माका लागि चाहिने आवश्यकताहरू पूरा गर्नेजस्ता लक्ष्यहरू बनाएर आध्यात्मिकतामा बढ्दै जाने प्रोत्साहन तिनीहरूलाई दिइयो। अतिरिक्त शिक्षा लिने नलिने, आमाबाबुसित छलफल गरेर गरिने व्यक्तिगत निर्णयको कुरा हो। यद्यपि, अतिरिक्त शिक्षा प्राप्त गर्ने विचार गरिंदैछ भने त्यसको उद्देश्य परमेश्वरलाई अझ प्रभावकारी ढंगमा सेवा गर्न सुसज्जित हुने हुनुपर्छ। हाम्रो विश्वाससित सम्बन्धित “बढ्ता महत्त्वपूर्ण कुराहरू पक्का” गऱ्यौं भने सांसारिक शिक्षाले फाइदा पुऱ्याउनसक्छ।—फिलिपी १:९, १०; NW.
त्यसपछि, “कसका स्तरहरू पालन गर्नुहुन्छ” शीर्षकको तीन भाषणहरूको गोष्ठी सुन्यौं। परमेश्वरको वचनमाथिको विश्वासले हामीलाई बाइबलका स्तरहरू पालन गर्न उत्प्रेरित गर्छ। मसीहीहरू यहोवाका व्यवस्था तथा सिद्धान्तहरू पालन गर्छन्। उदाहरणका लागि, धर्मशास्त्रले हामीलाई फोहर बोली नबोल्नु अनि निन्दोचर्चो नगर्नु भन्ने सल्लाह दिन्छ। (एफिसी ४:३१, ३२) वक्ताले सोधे: “चिढिएको बेला वा झोंक चलेको बेला के तपाईं आफ्नो पतिपत्नी अथवा छोराछोरीसित झर्कोफर्को गर्दै दुर्वचन बोल्नुहुन्छ?” त्यसो गर्नु अमसीही क्रियाकलाप हुनेछ। हाम्रो व्यक्तिगत रंगरूपबारे पनि परमेश्वरका स्तरहरू छन्। मसीहीहरू “साधा पहिरनमा लज्जालु र सरल भई” सिंगारिनुपर्छ। (१ तिमोथी २:९, १०) “सरल भई” भन्ने शब्दले आत्मसम्मान, राम्रो नाउँ, सोमती र संयमी भन्ने भाव झल्काउँछ। अरूप्रतिको प्रेमले हामी उत्प्रेरित हुन्छौं र बाइबल सिद्धान्त तथा जे उचित छ, त्यसद्वारा निर्देशित हुन्छौं।
यसपछिको बाँकि दुई गोष्ठी भाषणहरूमा हिब्रू ३:७-१५ र ४:१-१६ को प्रत्येक पदमाथि विचार गरिएको थियो। बाइबलका यी अंशहरूले हामीलाई “पापको छलले कठोर” हुनसक्ने खतरादेखि सतर्क रहने चेताउनी दिन्छन्। (हिब्रू ३:१३) हामी पापको विरोध गर्न कसरी सफल हुनसक्छौं? यहोवा आफ्नो वचन मार्फत हामीलाई मदत गर्नुहुन्छ। हो, वास्तवमा “परमेश्वरको वचन जीवित र प्रबल,. . . र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।”—हिब्रू ४:१२.
अधिवेशनको पहिलो दिनको अन्तिम भाषण थियो, “सबैका लागि उपयोगी किताब।” यो भाषणले बाइबलको प्रामाणिकता, सत्यता र व्यवहारिक मूल्यमाथि प्रकाश पारेको थियो। वक्ताले ३२-पृष्ठे सबैका लागि उपयोगी किताब विमोचन भएको घोषणा गर्दा हामी असाध्यै रोमाञ्चित भएका थियौं! यो नयाँ प्रकाशन विशेषगरि शिक्षित तर बाइबलबारे त्यति जानकारी नभएकाहरूका लागि तयार पारिएको हो। उक्त भाषण यी शब्दहरूद्वारा टुंग्याइयो: “परमेश्वरको वचन मानिसहरू आफैले जाँच्नु आवश्यक छ। तिनीहरू आफैले जाँचेमा यो अनुपम पुस्तक बाइबल साँच्चै सबैका लागि उपयोगी किताब हो भनेर बुझ्नेछन् भनी हामी विश्वस्त छौं!”
‘विश्वास सिद्ध तुल्याउनुहुने[को]’ अनुकरण गर्नुहोस्
दोस्रो दिनको यस मूल विषयले ‘विश्वास सिद्ध तुल्याउनुहुने’ येशू ख्रीष्टप्रति सबैको ध्यान तान्यो। हामीले ‘उहाँको पाइलामा टेकेर हिंड्नु’ आवश्यक छ। (हिब्रू १२:२; १ पत्रुस २:२१) मसीहीजगत्का धेरैजसोलाई यसो भनिएको हुन्छ: ‘प्रभु येशूलाई विश्वास गर्नुहोस् र तपाईंको उद्धार हुनेछ!’ तर के विश्वास गरेर मात्र पुग्छ र? बाइबलले “विश्वास पनि कामविना मरेको हुन्छ” भनेर बताउँछ। (याकूब २:२६) अतः येशूमाथि विश्वास गर्नुको अलावा हामीले उहाँले गर्नुभएजस्तै कामहरू र त्यसमाथि पनि अझ विशेषगरि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नैपर्छ।
बिहानको कार्यक्रम सुसमाचार प्रचार गर्ने कार्यमाथि केन्द्रित थियो। पावलजस्तै हामी पनि छुटकाराको सुसमाचार घोषणा गर्न उत्सुक हुनुपर्छ। (रोमी १:१४-१६) येशूले जताततै सबै मानिसहरूलाई प्रचार गर्नुभयो। हाम्रो नियमित घर-घरको सेवकाईले राम्रै फलहरू फलाएको भए तापनि आजकाल मानिसहरू घरमा कमै भेटिन्छन्। (प्रेरित २०:२०) धेरैजसो मानिसहरू स्कूलमा, काममा, पसलमा वा बाटोमा हुन्छन्। अतः हामीले सार्वजनिक ठाउँहरूमा र जहाँ जहाँ मानिसहरू भेटिन्छन्, त्यहाँ त्यहाँ प्रचार गर्नु आवश्यक भएको छ।
“सत्यमा गहिरिनुहोस् र दृढ हुनुहोस्” भन्ने भाषणले हामीलाई निकै ठूलो संख्यामा अर्थात् औसतन दिनको १,००० भन्दा बढी नयाँ चेलाहरूले बप्तिस्मा लिंदैछन् भन्ने कुरा स्मरण गरायो! यी नयाँ चेलाहरू सत्यमा गहिरिनु र विश्वासमा दृढ हुनु नितान्त आवश्यक छ। (कलस्सी २:६, ७) वक्ताले व्याख्या गरे, जराले पानी र पोषक तत्त्व सोस्नुका साथै बोटलाई थाम्ने आड वा अंकुसको काम पनि गर्छ। त्यसैगरि अध्ययन गर्ने असल बानी र स्वास्थ्यकर संगतिबाट नयाँ चेलाहरू सच्चाइमा बलियो हुनसक्छन्।
यो सल्लाह विशेषगरि बप्तिस्मा लिने उम्मेदवारहरूका लागि उपयुक्त थियो। हो, अधिवेशनको दोस्रो दिन नयाँ चेलाहरूको ठूलो झुण्डले येशूको नमुना अनुकरण गर्दै बप्तिस्मा लिए। “परमेश्वरको वचनमा विश्वास गर्नाले बप्तिस्मातर्फ डोऱ्याउँछ” भन्ने भाषणले बप्तिस्मा लिने उम्मेदवारहरूलाई पानीमा पूर्णतया चोपलिनु आफ्नै निम्ति बाँच्ने पहिलेका सम्पूर्ण तौरतरिका मार्नुको सुहाउँदो प्रतीक हो भनेर बुझायो। तिनीहरू पानीबाट बाहिर उचालिनु चाहिं परमेश्वरको इच्छाअनुरूप जीवन बिताउन तिनीहरूलाई फेरि जीवित पारिएको प्रतीक हो।
“विश्वासको निम्ति उत्कटतासाथ कम्मर कस्नुहोस्” भन्ने भाषण बाइबलको यहूदा नामक पुस्तकमा आधारित थियो। अनैतिकता, विद्रोह तथा धर्मत्यागी भावजस्ता हानिकारक प्रभावहरूको प्रतिरोध गर्दै आफ्नो विश्वास जोगाउन हामीलाई यस भाषणमा प्रोत्साहित गरियो। त्यसपछि, “आफ्नो परिवारको लागि प्रबन्ध मिलाउनुहोस्” भन्ने भाषण अन्तर्गत आमाबाबु र त्यसमा पनि विशेषगरि बुबाहरूमाथि विशेष ध्यान केन्द्रित गरियो। परिवारको आध्यात्मिक, भौतिक तथा भावनात्मक आवश्यकता पूरा गर्नु धर्मशास्त्रीय दायित्व हो। (१ तिमोथी ५:८) यसो गर्न समय चाहिन्छ, वार्तालाप गर्नुपर्छ र घनिष्ठता कायम भएको हुनुपर्छ। आफ्ना छोराछोरीलाई सच्चाइमा हुर्काउन आमाबाबुले गरेको प्रयत्न देखेर यहोवा परमेश्वर पक्कै पनि प्रसन्न हुनुहुन्छ।
त्यसपछि, मसीही सभाहरूप्रति मूल्यांकन बढाउने “यहोवाको भवनमा जाँऔं” गोष्ठी भाषणको पालो आयो। मसीही सभाहरूले यस संसारका चिन्ता तथा फिक्रीहरूबाट मुक्त गराएर आराम प्रदान गर्छन्। सभाहरूमा हामी प्रोत्साहन आदानप्रदान गर्नसक्छौं र सँगी विश्वासीहरूप्रति हाम्रो माया प्रकट गर्नसक्छौं। (हिब्रू १०:२४, २५) सभाहरूले हाम्रो शिक्षण कला पनि तिखार्छ र परमेश्वरको उद्देश्यप्रतिको हाम्रो समझलाई अझ बढाउँछ। (हितोपदेश २७:१७) हामी कहिल्यै मण्डलीबाट टाढा नहोऔं र येशूका यी शब्दहरू सधैं सम्झौं: “जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु।”—मत्ती १८:२०.
दोस्रो दिनको अन्तिम भाषण थियो, “तपाईंको विश्वासको जाँच गर्ने समय अहिल्यै हो।” नजाँचिकन विश्वास कत्तिको छ, पत्ता लगाउन सकिन्न नता विश्वासको गुणस्तर नै पत्ता लगाउन सकिन्छ। यस्तो विश्वास नगद भुक्तानी नगरिएको चेकसरह हुन्छ। चेक भुक्तानी नभएसम्म के त्यस चेकमा लेखिएको रकमको कुनै अर्थ रहन्छ र? त्यसैगरि, हाम्रो विश्वासको पनि अर्थ छ र यो साँच्चै गुणस्तरीय छ भनेर प्रमाणित गर्न त्यसको जाँच गरिएको हुनैपर्छ। (१ पत्रुस १:६, ७) वक्ताले भने: “पादरी तथा धर्मत्यागीहरूको लहैलहैमा लागेर कहिलेकाहीं समाचार, पत्रपत्रिकालगायत अख्तियारप्राप्त व्यक्तिहरूले हामीमाथि झूटो आरोप लगाएका छन्, हाम्रो मसीही विश्वास तथा हाम्रो जीवनशैलीबारे भए नभएका कुराहरू प्रचारप्रसारमा ल्याएका छन्। . . . शैतानले अन्धो तुल्याएका यी मानिसहरूसित के हामी डराउँछौं, खिन्न मनको हुन्छौं वा सुसमाचारको कारण लज्जित महसुस गर्छौं? सच्चाइबारे बोलिएका झूटलाई तगारो बनाएर के नियमित तवरमा सभामा उपस्थित हुन वा प्रचारकार्यमा भागलिन छोड्छौं? अथवा यहोवा र उहाँको राज्यबारे सत्य कुरा निरन्तर घोषणा गरिरहन के स्थिर, साहसी र अझ दृढ हुनेछौं?”
विश्वासैबाट जिउने
अधिवेशनको तेस्रो दिनको मूल विषय पावलका यी शब्दहरूमा आधारित थियो: “परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिंदैन भन्ने प्रत्यक्ष छ। किनभने ‘धर्मात्मा ता विश्वासैबाट जिउनेछ।’ ” (गलाती ३:११) “हाम्रो समयको लागि योएलका भविष्यसूचक शब्दहरू” भन्ने गोष्ठी भाषण बिहानको कार्यक्रमका विशेषताहरूमध्ये एक थियो। योएलको पुस्तकले आज हाम्रो समयलाई औंल्याउँछ र अबिलम्ब भावसहित यसो भन्छ: “हाय, त्यो दिन! किनकि परमप्रभुको दिन नजीकै छ। त्यो ता सर्वशक्तिमानको तर्फबाट सत्यानाश जस्तै आउनेछ।” (योएल १:१५) खान थालेपछि नरोकिने सलहहरूजस्तै अभिषिक्त मसीहीहरूले पनि यस अन्तको समयमा जस्तोसुकै बाधा अड्चनको बावजूद निरन्तर परमेश्वरको राज्यको उद्घोषणा गरिरहेका छन्।
योएलको पुस्तक यसो भन्दै आशा पनि दिन्छ: “परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ।” (योएल २:३२) तर यहोवाको नाउँ लिएर मात्र पुग्दैन। हृदयदेखि पश्चात्ताप गर्नु पनि आवश्यक छ र यसका साथै गलत कामहरूबाट पूर्णतया अलग रहनुपर्छ। (योएल २:१२, १३) यहूदाका राजा यहोशापातको समयमा अम्मोनी, मोआबी तथा सेईरको पहाडी देशका मानिसहरूको न्याय गर्नुभएझैं यहोवाले चाँडै जाति जातिको न्याय गर्न लाग्नुभएकोले ढिला-सुस्ती गर्ने समय छैन।—२ इतिहास २०:१-३०; योएल ३:२, १२.
“यहोवाको प्रतीक्षा गरेर विश्वास देखाउनुहोस्” भाषणबाट सबै जना प्रोत्साहित भए। अहिले हामी अन्तको पनि अन्तमा आइपुगिसकेका छौं। अतः यहोवाले पूरा गर्नुभइसकेका थुप्रै प्रतिज्ञाहरू सम्झनसक्छौं र हामी हुन बाँकी कुराहरूमा गहिरो चासो राख्छौं। परमेश्वरले प्रतिज्ञा गर्नुभएका एक एक कुरा पूरा हुनेछन् भन्ने कुरालाई मनमा राख्दै यहोवाका जनहरूले निरन्तर धैर्य धारण गरिरहनैपर्छ।—तीतस २:१३; २ पत्रुस ३:९, १०.
“तपाईंको आँखा निर्मल राख्नुहोस्” नाटकका साथ बिहानको कार्यक्रम समापन भयो। यो व्यवहारिक नाटकबाट हामी सबैले भौतिक कुराहरू प्राप्त गर्ने झुकाउलाई जाँच्ने प्रोत्साहन पायौं। हामी जहाँसुकै बसेका होऔं, आफ्नो जीवन चिन्तामुक्त भएको चाहन्छौं भने परमेश्वरको राज्यमा ध्यान केन्द्रित गरेर आँखा निर्मल राख्ने येशूको सल्लाह हामी सबैले स्वीकार्नैपर्छ।—मत्ती ६:२२.
जनभाषणको शीर्षक झकझकाउने खालको थियो, “विश्वास र तपाईंको भविष्य।” संसारका समस्याहरूको समाधान गर्न मानव सरकारहरू कसरी असफल भए, यो जनभाषणले त्यसको प्रमाण दियो। (यर्मिया १०:२३) मानव इतिहास पहिलेभन्दा विस्तृत तथा विनाशकारी ढंगमा बारम्बार दोहरिरहन्छ। भविष्यबारे यहोवाका साक्षीहरूको कस्तो धारणा छ? विश्वासी मानिसजातिले परमेश्वरको राज्य अन्तर्गत उज्ज्वल भविष्य पाउनेछ भन्ने विश्वास हामीले राखेका छौं। (मत्ती ५:५) उहाँको वचनमाथि विश्वास गर्ने सबैको हितको निम्ति परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ। यसैकारण, बाइबल यस्तो आग्रह गर्छ: “जबसम्म परमप्रभुलाई पाउनसक्छ उहाँलाई खोज। उहाँ नजीक हुनुहुँदानै उहाँलाई पुकार।”—यशैया ५५:६.
हाम्रो दिनलाई ध्यानमा राख्दै येशूले अति महत्त्वपूर्ण प्रश्न गर्नुभयो: “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास पाउनेछ?” (लूका १८:८) अन्तिम भाषणले अधिवेशनका कार्यक्रम सरसरती पुनरावलोकन गऱ्यो। हामी अविश्वासी तथा धर्मविहीन संसारमा बाँचिरहेको भए तापनि परमेश्वरको वचनमाथि विश्वास गर्नेहरू छन् भन्ने प्रमाण अधिवेशनका कार्यक्रमले कसरी दियो सो अन्तिम भाषणले प्रष्ट पाऱ्यो।
तैपनि, हामी आफैलाई सोध्नसक्छौं, ‘के म पनि परमेश्वर र उहाँको वचनमा ढलपल नभई विश्वास गर्नेहरूमध्ये पर्छु?’ “परमेश्वरको वचनमा विश्वास” जिल्ला अधिवेशनले यो प्रश्नको सकारात्मक जवाफ दिन हामीलाई मदत गर्नुपर्ने हो। यहोवाले उहाँमाथि र उहाँको वचन बाइबलमाथि हाम्रो विश्वासलाई दृढ पार्नुभएकोमा हामी कति कृतज्ञ छौं!
[पृष्ठ २४-मा भएका चित्रहरू]
हजारौं प्रतिनिधिहरूका लागि बस्ने ठाउँको प्रबन्ध मिलाउन थुप्रै स्वयंसेवकहरूले रमाई रमाई काम गरे
[पृष्ठ २५-मा भएका चित्रहरू]
विश्वभरि नै यस्ता ठूलठूला रंगशालाहरू प्रयोग गरिए
[पृष्ठ २५-मा भएको चित्र]
परिचालक निकायका सदस्य एल. ए. स्विंगल नयाँ पुस्तिका विमोचन गर्दै
[पृष्ठ २६-मा भएको चित्र]
यहोवाप्रतिको आफ्नो समर्पण जनाउन धेरैले बप्तिस्मा लिए
[पृष्ठि २७-मा भएका चित्रहरू]
अधिवेशनमा उपस्थित हुनेहरूले बडो आनन्द मनाउँदै राज्य गीतहरू गाए। इन्सेट: नाटक, “तपाईंको आँखा निर्मल राख्नुहोस्”