परमेश्वरको सन्तानको लागि चाँडै महिमाको स्वतन्त्रता
“सृष्टि व्यर्थताको अधीनमा रह्यो। यसै आशामा, कि परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”—रोमी ८:२०, २१.
१.प्रायश्चितको दिनमा येशूको बलिदान कसरी चित्रित भयो?
यहोवाले आफ्ना एकमात्र प्रिय पुत्रलाई छुडौतीको बलिदानको रूपमा दिनुभएको कारण १,४४,००० जनहरूका निम्ति स्वर्गीय जीवनको बाटो खोलियो भने बाँकी मानिसजातिले यसै पृथ्वीमा अनन्त जीवन पाउने प्रत्याशा पाए। (१ यूहन्ना २:१, २) अगाडिको लेखमा उल्लेख गरेझैं वार्षिक प्रायश्चितको दिनमा इस्राएलका प्रधानपूजाहारीले आफू, आफ्नो घराना र लेवी कुलको निम्ति पापबलिको रूपमा साँढे चढाउँथ्यो र यसले आत्मा-अभिषिक्त मसीहीहरूका निम्ति येशूको छुडौतीलाई चित्रण गर्थ्यो। ख्रीष्टको बलिदानद्वारा साधारणतया सबै मानिसजातिको लाभ भएझैं प्रधानपूजाहारीले सोही दिनमा अन्य सबै इस्राएलीहरूका उद्धारको लागि पापबलिको रूपमा बोका चढाउँथे। जिउँदो बोका वनमा पठाइदिंदा प्रतीकात्मक रूपमा त्यो बोकाले तिनीहरूको त्यस वर्षको सबै अधर्म लैजान्थ्यो।a—लेवी १६:७-१५, २०-२२, २६.
२, ३. रोमी ८:२०, २१ मा लिपिबद्ध पावलको भनाइको अर्थ के हो?
२ “परमेश्वरका” स्वर्गीय “छोराहरू” हुने मानवहरूको आशा औंल्याएपछि प्रेरित पावलले यसो भने: “सृष्टिको उत्कट आशाले परमेश्वरका छोराहरू प्रकट हुनआउने बाटो हेर्दछ। किनभने यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रह्यो। यसै आशामा, कि परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” (रोमी ८:१४, १७, १९-२१) यस भनाइको अर्थ के हो?
३ हाम्रो पुर्खा आदम सिद्ध मानिसको रूपमा सृष्टि हुँदा तिनी पनि “परमेश्वरका छोरा [अथवा सन्तान] थिए।” (लूका ३:३८) पाप गरेको कारण तिनी “विनाशको बन्धन[मा]” परे। फलस्वरूप, सम्पूर्ण मानिसजाति पापी भए। (रोमी ५:१२) वंशानुगत प्राप्त पापको कारण “व्यर्थता” सहित परमेश्वरले मानिसहरूलाई जन्मिन दिनुभयो तर उहाँले “सन्तान” अर्थात् येशू ख्रीष्ट मार्फत आशा प्रदान गर्नुभएको छ। (उत्पत्ति ३:१५; २२:१८; गलाती ३:१६) प्रकाश २१:१-४ ले “शोक, रुवाइ, पीड़ा फेरि केही” नहुने समय पनि आउनेछ भनी औंल्याउँछ। यो प्रतिज्ञा “मानिसजातिको” निम्ति भएको कारण यसले परमेश्वरको राज्य शासन अन्तर्गत नयाँ पार्थिव समाजमा बस्ने मानिसहरूको मन अनि शरीर पुनः स्वस्थ पार्नेछ र “परमेश्वरको” पार्थिव “सन्तानको” रूपमा तिनीहरूले अनन्त जीवन पाउनेछन् भनी हामीलाई आश्वासन दिन्छ। ख्रीष्टको हजार वर्षीय शासनको दौडान आज्ञाकारी मानिसहरूले “विनाशको बन्धनबाट छुटकारा पाउनेछ[न्]।” अन्तिम जाँचमा यहोवाप्रति वफादार प्रमाणित भएपछि तिनीहरू सधैंको लागि वंशानुगत प्राप्त पाप र मृत्युबाट स्वतन्त्र हुनेछन्। (प्रकाश २०:७-१०) अनि पृथ्वीमा भएकाहरूले “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता” पाउनेछन्।
तिनीहरू “आउनुहोस्” भन्दैछन्
४. “जीवनको पानी सित्तैंमा लेओस्” भन्नुको अर्थ के हो?
४ मानिसजातिसमक्ष कस्तो अद्भुत आशा राखिएको छ! निस्सन्देह, पृथ्वीमा अझ बाँकी रहेका आत्मा-अभिषिक्त मसीहीहरूले अरूलाई बताउने काममा जोसका साथ अगुवाइ लिइरहेका छन्! महिमित थुमा अर्थात् येशू ख्रीष्टको “दुलही[को]” भाग हुने यी बाँकी रहेका अभिषिक्त जनहरू यस भविष्यसूचक शब्दको पूर्तिमा मुछिएका छन्: “आत्मा र दुलही भन्नुहुन्छ, ‘आउनुहोस्।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्’ भनोस्। जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।” (प्रकाश २१:२, ९; २२:१, २, १७) येशूको छुडौतीको बलिदानबाट पाइने लाभहरू १,४४,००० अभिषिक्त जनहरूले मात्र पाउने होइन। “आउनुहोस्” भन्ने कार्यमा परमेश्वरको आत्मा दुलही वर्ग मार्फत अझै क्रियाशील छ। धार्मिकताका लागि तिर्खाउने सबैलाई यहोवाका प्रबन्धहरू उपभोग गर्न “आउनुहोस्” भन्ने निम्तो दिइन्छ र यसलाई स्वीकारेर तिनीहरूले यहोवाको छुटकाराको प्रबन्धको फाइदा उठाउनसक्छन्।
५. यहोवाका साक्षीहरू आफ्नो माझमा को भएकोले खुसी छन्?
५ येशू ख्रीष्ट मार्फत परमेश्वरले गर्नुभएको जीवनको प्रबन्धप्रति यहोवाका साक्षीहरू विश्वस्त छन्। (प्रेरित ४:१२) तिनीहरू परमेश्वरको उद्देश्य अनि उहाँको इच्छा जान्न चाहने इमानदार हृदय भएका मानिसहरू आफ्नो माझमा पाउँदा हर्षित छन्। “अन्तको समय[मा]” ‘जीवनको पानी सित्तैंमा लिन’ चाहने जो कोही पनि तिनीहरूको राज्यभवनमा आउनसक्छन्।—दानियल १२:४.
समय बित्दै जाँदा भएका परिवर्तनहरू
६. विभिन्न समयावधिका दौडान परमेश्वरको आत्मा यहोवाका सेवकहरूमाथि कसरी क्रियाशील भएको छ?
६ आफ्ना उद्देश्यहरू पूरा गर्न परमेश्वरको आफ्नो समय तालिका छ र यसले मानिसजातिसित उहाँले गर्नुहुने व्यवहारमा असर गर्छ। (उपदेशक ३:१; प्रेरित १:७) परमेश्वरको आत्मा मसीहीपूर्व समयमा पनि उहाँका सेवकहरूमाथि खनाइएको थियो तर तिनीहरू उहाँका आत्मिक पुत्रको रूपमा अभिषिक्त भएनन्। तथापि, स्वर्गीय उत्तराधिकारी हुन समर्पित पुरुष तथा स्त्रीहरूलाई पवित्र आत्माद्वारा अभिषिक्त गर्ने यहोवाको समय आइसकेको थियो र यो कार्य येशूदेखि सुरु भयो। अनि आज हाम्रो समयमा नि? त्यही आत्मा आज येशूका “अरू भेड़ा[मा]” सक्रिय छ तर यसले तिनीहरूमा स्वर्गीय जीवनको आशा तथा इच्छा जगाउँदैन। (यूहन्ना १०:१६) पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउने ईश्वरप्रदत्त आशासहित तिनीहरू पुरानो संसारबाट परमेश्वरको धार्मिक नयाँ संसारमा परिवर्तन हुने समयबारे साक्षी दिने कार्यमा आनन्दपूर्वक शेष अभिषिक्त जनहरूलाई सहयोग पुऱ्याउँछन्।—२ पत्रुस ३:५-१३.
७. बाइबल स्टुडेन्ट्सहरू कुन कटनीको कार्यबारे चिन्तित थिए तर प्रमोदवनबारे तिनीहरूलाई के थाह थियो?
७ ‘धेरै सन्तानहरूलाई मुक्तिमा पुऱ्याउन’ परमेश्वरले सा.यु. ३३ पेन्तिकोसदेखि पवित्र आत्मा खन्याउन थाल्नुभयो र “परमेश्वरका” आत्मिक “इस्राएल[को]” जम्मा संख्या १,४४,००० पुऱ्याउन सम्भवतः उहाँले समय तोक्नुभयो। (हिब्रू २:१०; गलाती ६:१६; प्रकाश ७:१-८) अभिषिक्त मसीहीहरूले भाग लिएको कटनी कार्यबारे सन् १८७९ को सुरुतिर यस पत्रिकामा प्रायः उल्लेख गरिएको थियो। तर धर्मशास्त्रमा पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशाबारे पनि बताएको छ भनी (अहिले यहोवाका साक्षीहरू भनिने) बाइबल स्टुडेन्ट्सलाई थाह थियो। उदाहरणका लागि, जुलाई १८८३ अंकको प्रहरीधरहरा-ले (अंग्रेजी) यसो भन्यो: “येशूले राज्य स्थापना गरेर दुष्टलाई नाश गर्ने, इत्यादि कार्यहरू गरेपछि यो पृथ्वी प्रमोदवन बन्नेछ, . . . अनि चिहानमा भएका सबै पनि आउनेछन्। अनि यसको व्यवस्थाप्रति आज्ञाकारी भएको खण्डमा प्रमोदवनमा सधैंभरि बाँच्न पाउनेछन्।” समय बित्दै जाँदा अभिषिक्त जनहरूको कटनी कम हुन थाल्यो र पार्थिव आशा राख्ने व्यक्तिहरूलाई यहोवाको संगठनमा बिस्तारै भित्र्याउन थालियो। त्यतिञ्जेल परमेश्वरले आफ्ना अभिषिक्त सेवकहरू अर्थात् फेरि जन्मेका मसीहीहरूलाई उल्लेखनीय अन्तरदृष्टि प्रदान गर्नुभयो।—दानियल १२:३; फिलिप्पी २:१५; प्रकाश १४:१५, १६.
८. सन् १९३० को सुरुतिर पार्थिव आशाबारे ज्ञान कसरी बढ्न थाल्यो?
८ विशेषगरि, सन् १९३१ देखि पार्थिव आशा भएका व्यक्तिहरूले मसीही मण्डलीसित संगत गरिरहेका छन्। इजकिएल अध्याय ९ ले त्यही पार्थिव वर्गलाई संकेत गर्छ भनी बुझ्न यहोवाले सोही वर्ष शेष आत्मा-अभिषिक्त मसीहीहरूलाई ज्योति दिनुभयो र परमेश्वरको नयाँ संसारमा बाँच्नको निम्ति यस वर्गको चिह्न लगाउने कार्य भइरहेको छ। येहूका मित्र यहोनादाबले आधुनिक समयका भेडाखाले व्यक्तिहरूको पूर्वचित्रण गर्छ भनी १९३२ मा निश्चय गरियो। (२ राजा १०:१५-१७) “यहोनादाब[हरूले]” आफूलाई यहोवाप्रति “समर्पित” गर्नुपर्छ भनी सन् १९३४ मा प्रस्ट पारियो। पहिला दोस्रो आत्मिक वर्ग अनि ख्रीष्टको दुलहीको “सहकर्मी” भन्ठानिएको “ठूलो भीड़[लाई]” १९३५ मा पार्थिव आशा भएका अरू भेडा भनी चिनाइयो। (प्रकाश ७:४-१५; २१:२, ९; भजन ४५:१४, १५) अनि विशेषगरि सन् १९३५ देखि अभिषिक्त जनहरूले यसै पार्थिव प्रमोदवनमा अनन्त जीवनको लागि तृष्णा गर्ने व्यक्तिहरू खोज्न अगुवाइ लिइरहेका छन्।
९. केही मसीहीहरूले सन् १९३५ पछि प्रभुको साँझको भोजका प्रतीकहरूमा भाग लिन किन छोडे?
९ केही मसीहीहरूले १९३५ पछि प्रभुको साँझको भोजमा रोटी र दाखमद्य खान छोडे। किन? किनभने तिनीहरूको आशा स्वर्गमा जाने नभई पृथ्वीमै बस्ने हो भनी बुझे। सन् १९३० मा बप्तिस्मा लिएकी एक स्त्री यसो भन्छिन्: “विशेषगरि जोसिला पूर्ण-समय सेवकहरूले [प्रतीकहरू खानु] उचित भन्ठानिए तापनि मेरो आशा स्वर्गीय हो भनी मलाई कहिल्यै लागेन। अनि सन् १९३५ मा पृथ्वीमै अनन्त जीवन बिताउने आशा भएका ठूलो भीड पनि जम्मा गरिंदैछ भनी प्रस्ट पारियो। हामी ठूलो भीडका भाग हौं भनी बुझ्दा हामीमध्ये थुप्रै रमायौं र प्रतीकहरू खान छोड्यौं।” मसीही प्रकाशनका विषयवस्तुहरूमा समेत परिवर्तन आयो। सन् १९३५ अघिका प्रकाशनहरू विशेषगरि येशूका आत्मा-अभिषिक्त अनुयायीहरूमा केन्द्रित हुन्थ्यो भने त्यसपछिका प्रहरीधरहरा तथा अन्य प्रकाशनहरूमा ‘विश्वासी दासले’ अभिषिक्त तथा पार्थिव आशा भएका तिनीहरूका सँगी मसीहीहरू दुवैलाई सुहाउँदो आध्यात्मिक खाना उपलब्ध गराउन थाले।—मत्ती २४:४५-४७.
१०. अविश्वासी अभिषिक्त जनको प्रतिस्थापन कसरी हुनसक्छ?
१० मानी लिनुहोस्, कुनै अभिषिक्त जन अविश्वासी भयो। के तिनको स्थानमा अरूलाई अभिषिक्त गरिन्छ? पावलले प्रतीकात्मक भद्राक्ष रूखको छलफलमा त्यसबारे पर्याप्त कुरा बताएका छन्। (रोमी ११:११-३२) यदि आत्मा-अभिषिक्त व्यक्तिको प्रतिस्थापन गर्नुपऱ्यो भने सम्भवतः थुप्रै वर्षदेखि पवित्र सेवा चढाउन उदाहरणीय विश्वासको प्रमाण दिने कसैलाई परमेश्वरले स्वर्गीय बोलावट दिनुहुन्छ।—लूका २२:२८, २९ तुलना गर्नुहोस्; १ पत्रुस १:६, ७.
कृतज्ञ हुनुपर्ने थुप्रै कारणहरू
११. हाम्रो आशा जस्तोसुकै भए तापनि याकूब १:१७ ले कस्तो आश्वासन दिन्छ?
११ हामी जहाँसुकै भए पनि यहोवालाई विश्वासी भई सेवा गरेको खण्डमा उहाँले हाम्रो आवश्यकता तथा जायज इच्छाहरू पूरा गर्नुहुनेछ। (भजन १४५:१६; लूका १:६७-७४) हाम्रो आशा स्वर्गीय होस् वा पार्थिव, परमेश्वरप्रति कृतज्ञ हुने हामीसित ठोस कारणहरू छन्। सधैं उहाँलाई प्रेम गर्नेहरूको हित हुने कामकुराहरू परमेश्वर गर्नुहुन्छ। चेला याकूबले “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिता” यहोवा परमेश्वरबाट आउँछ भने। (याकूब १:१७) आउनुहोस्, केही वरदान तथा आशिष्हरू के के हुन्, हामी हेरौं।
१२. यहोवाले प्रत्येक विश्वासी सेवकहरूलाई अद्भुत आशा दिनुभएको छ भनी कसरी भन्नसक्छौं?
१२ यहोवाले आफ्नो प्रत्येक विश्वासी सेवकलाई अद्भुत आशा दिनुभएको छ। उहाँले कसै कसैलाई स्वर्गीय जीवनको निम्ति बोलाउनुभएको छ। आफ्ना मसीहीपूर्व साक्षीहरूलाई यहोवाले यसै पृथ्वीमा अनन्त जीवनमा पुनरुत्थान उज्ज्वल आशा दिनुभएको छ। उदाहरणका लागि, पुनरुत्थानमा अब्राहामको विश्वास थियो र तिनले “जग भएको शहरको प्रतीक्षा” गरे अर्थात् स्वर्गीय राज्य अन्तर्गत पार्थिव जीवनमा तिनको पुनरुत्थान हुनेछ भन्ने आशा थियो। (हिब्रू ११:१०, १७-१९) यस आखिरी दिनमा परमेश्वरले फेरि एकचोटि पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउने आशा लाखौं मानिसहरूलाई प्रदान गरिरहनुभएको छ। (लूका २३:४३; यूहन्ना १७:३) निस्सन्देह, यस महान् आशा पाएको जोसुकैले पनि यहोवाप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुपर्छ।
१३. परमेश्वरको पवित्र आत्मा आफ्ना जनहरूमाथि कसरी क्रियाशील भएको छ?
१३ यहोवाले आफ्ना जनहरूलाई पवित्र आत्मा वरदानस्वरूप दिनुहुन्छ। स्वर्गीय आशा पाएका मसीहीहरू पवित्र आत्माद्वारा अभिषिक्त हुन्छन्। (१ यूहन्ना २:२०; ५:१-४, १८) यद्यपि, पार्थिव आशा भएका परमेश्वरका सेवकहरूले पनि पवित्र आत्माको मदत र डोऱ्याइ पाएका छन्। यिनीहरूमध्ये मोशा पनि थिए जसले यहोवाको आत्मा पाए र त्यस्तैगरि तिनलाई सघाउने ७० पुरुषहरूले पनि परमेश्वरको आत्मा प्राप्त गरे। (गन्ती ११:२४, २५) पवित्र आत्मा पाएर बजलेलले इस्राएलको पवित्रस्थानमा सिपालु कारीगरको रूपमा सेवा गरे। (प्रस्थान ३१:१-११) गिदोन, यिप्तह, शिमशोन, दाऊद, एलिया, एलीशा तथा अन्य व्यक्तिहरूले परमेश्वरको आत्मा पाए। यी पुरातन व्यक्तिहरूले स्वर्गीय महिमा त कहिल्यै पाउने छैनन् तर तिनीहरूले येशूका अरू भेडाले जस्तै पवित्र आत्माद्वारा डोऱ्याइ र निर्देशन पाए। अतः स्वर्गीय बोलावट पाएकाहरूले मात्र परमेश्वरको आत्मा पाउने होइनन्। तथापि, यहोवाको आत्माले निर्देशन दिन्छ, प्रचारकार्य तथा परमेश्वरले दिनुभएको कार्यभार सम्पन्न गर्न मदत दिन्छ, असामान्य शक्ति दिन्छ र प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयमजस्ता आत्माका फलहरू खेती गर्न मदत दिन्छ। (यूहन्ना १६:१३; प्रेरित १:८; २ कोरिन्थी ४:७-१०; गलाती ५:२२, २३) यहोवाको यस्तो उदार वरदानको निम्ति के हामी कृतज्ञ हुनुपर्दैन र?
१४. परमेश्वरका वरदान ज्ञान र बुद्धिबाट हामी कसरी लाभ उठाउनसक्छौं?
१४ ज्ञान र बुद्धि परमेश्वरको वरदान हो जसको लागि हाम्रो आशा स्वर्गीय होस् या पार्थिव, उहाँप्रति कृतज्ञ हुनुपर्छ। यहोवाको सही ज्ञानले हामीलाई “अझ महत्त्वपूर्ण कुराहरू निश्चित” गर्न र “हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न” मदत दिन्छ। (फिलिप्पी १:९-११; कलस्सी १:९, १०) ईश्वरीय बुद्धिले सुरक्षा र निर्देशन प्रदान गर्छ। (हितोपदेश ४:५-७; उपदेशक ७:१२) साँचो ज्ञान तथा बुद्धि परमेश्वरको वचनमा आधारित हुन्छ र बाँकी रहेका थोरै शेष अभिषिक्त जनहरू तिनीहरूको स्वर्गीय आशाबारे भनिएको कुरामा विशेषगरि चासो राख्छन्। तथापि, परमेश्वरको वचनप्रति प्रेम र यसबारे राम्रो ज्ञान हुँदैमा स्वर्गीय बोलावट पाएको भन्न मिल्दैन। मोशा र दानियलजस्ता मानिसहरूले बाइबलका केही अंशहरूसमेत लेखे तर यसै पृथ्वीमा तिनीहरूको पुनरुत्थान हुनेछ। हाम्रो आशा स्वर्गीय होस् वा पार्थिव, हामी सबैले यहोवाद्वारा अनुमोदित “विश्वासी र बुद्धिमान दास[बाट]” प्राप्त आध्यात्मिक आहार पाउँछौं। (मत्ती २४:४५-४७) अतः यसरी प्राप्त गरेको ज्ञानको लागि हामी सबै कत्ति कृतज्ञ छौं!
१५. परमेश्वरका महान् वरदानहरूमध्ये एउटा के हो र यसप्रति हामी कस्तो दृष्टिकोण राख्छौं?
१५ यहोवाका महान् वरदानहरूमध्ये एउटा येशूको छुडौतीको बलिदानको मायालु प्रबन्ध हो। त्यसबाट स्वर्गीय तथा पार्थिव आशा राख्ने सबैले लाभ उठाउनसक्छन्। परमेश्वरले मानिसजातिलाई यति धेरै प्रेम गर्नुभयो कि “उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) अनि प्रेमको कारण येशू “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई” प्रेरित हुनुभयो। (मत्ती २०:२८) प्रेरित यूहन्नाले बताएझैं येशू ख्रीष्ट “हाम्रा [अभिषिक्त जनहरूको] पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यूहन्ना २:१, २) तसर्थ, अनन्त जीवनको लागि मुक्ति पाउने यस मायालु प्रबन्धको निम्ति हामी सबै कृतज्ञ हुनुपर्छ।b
के तपाईं उपस्थित हुनुहुनेछ?
१६. अप्रिल ११, १९९८ का दिन सूर्यास्तपछि कुन महत्त्वपूर्ण घटनाको स्मरणार्थ उत्सव मनाइनेछ र यसमा को को उपस्थित हुनुपर्छ?
१६ परमेश्वरले आफ्नो पुत्र मार्फत प्रबन्ध गर्नुभएको छुडौतीको निम्ति कृतज्ञ छौं भने सन् १९९८, अप्रिल ११ का दिन सूर्यास्तपछि यहोवाका साक्षीहरू राज्यभवन वा अन्य ठाउँहरूमा ख्रीष्टको मृत्युको सम्झनामा भेला हुँदा हामी पनि उपस्थित हुन उत्प्रेरित हुनुपर्छ। येशूले आफ्नो पार्थिव जीवनको अन्तिम दिनमा विश्वासी प्रेरितहरूसित यस स्मरणार्थ उत्सव स्थापित गर्नुहुँदा येशूले यसो भन्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९, २०; मत्ती २६:२६-३०) बाँकी रहेका थोरै शेष अभिषिक्त जनहरूले येशूको सिद्ध मानव शरीरको प्रतिनिधित्व गर्ने अखमिरी रोटी खानेछन् र बलिदानस्वरूप बगाउनुभएको उहाँको रगतको प्रतिनिधित्व गर्ने रातो दाखमद्य पिउनेछन्। आत्मा-अभिषिक्त भाइहरूले मात्र ती प्रतीकहरूमा भाग लिनुपर्छ किनभने तिनीहरू मात्र नयाँ करार र राज्य करारमा बाँधिएका छन् अनि तिनीहरूको आशा निश्चय पनि स्वर्गीय हो भन्ने प्रमाणस्वरूप परमेश्वरको पवित्र आत्मा छ। अरू लाखौं चाहिं श्रद्धालु अवलोकनकर्ताको रूपमा उपस्थित हुनेछन्। अनन्त जीवन सम्भव तुल्याउन यहोवा अनि येशूले देखाउनुभएको प्रेमप्रति तिनीहरू कृतज्ञ छन्।—रोमी ६:२३.
१७. आत्मा-अभिषिक्तको सन्दर्भमा हामीले के कुरा सम्झनुपर्छ?
१७ पहिलाको धार्मिक विश्वास, प्रियजनको मृत्युले गर्दा भक्कानो फुटेर आउने भावनाहरू, अहिले पार्थिव जीवनमा भोग्नुपरेका समस्याहरूले गर्दा वा यहोवाबाट विशेष आशिष् पाएको जस्तो लागेर स्वर्गीय जीवनको आशा भएको गलत भान पर्नसक्छ। ख्रीष्टको छुडौतीको बलिदानप्रति कृतज्ञता देखाउन स्मरणार्थका प्रतीकहरूमा भाग लिनुपर्दैन भनी धर्मशास्त्रले दिएको आज्ञा हामी सबैले सम्झनुपर्छ। यसबाहेक, आत्मा-अभिषिक्त हुनु “नता इच्छा गर्नेको, न काम चलाउनेको, तर कृपा देखाउने परमेश्वरको हो” र उहाँले नै येशूलाई आत्मिक पुत्रको रूपमा अभिषिक्त गर्नुभयो र १,४४,००० लाई मात्रै मुक्तिमा पुऱ्याउनुहुनेछ।—रोमी ९:१६; यशैया ६४:८.
१८. आज यहोवाको सेवा गरिरहेका थुप्रैले कस्तो आशिष्को बाटो हेर्नसक्छन्?
१८ यस आखिरी दिनमा यहोवालाई सेवा गरिरहेका थुप्रै मानिसहरूको ईश्वरप्रदत्त आशा प्रमोदवनमा अनन्त जीवन बिताउनु हो। (२ तिमोथी ३:१-५) चाँडै तिनीहरूले यो अद्भुत प्रमोदवनको आनन्द उठाउनेछन्। अनि राजकुमारहरूले स्वर्गीय शासन अन्तर्गत पृथ्वीका मामिलाहरू सञ्चालन गर्नेछन्। (भजन ४५:१६) परमेश्वरको व्यवस्थाअनुसार चल्नुका साथै यहोवाका तौरतरिकाहरूबारे अझ बढी सिक्दै जाँदा पृथ्वीका बासिन्दाहरू शान्त वातावरणमा बस्न पाउनेछन्। (यशैया ९:६, ७; प्रकाश २०:१२) घर बनाउने र पृथ्वीलाई आबाद गर्नेजस्ता प्रशस्त कामहरू हुनेछन्। (यशैया ६५:१७-२५) अनि मरेकाहरू जीवित भएपछि हुने ती सुखद पारिवारिक पुनर्मिलनबारे कल्पना गर्नुहोस्! (यूहन्ना ५:२८, २९) अन्तिम परीक्षापछि दुष्टताको नामोनिसान हुनेछैन। (प्रकाश २०:७-१०) त्यसपश्चात् सधैंको लागि पृथ्वी सिद्ध मानिसहरूले भरिनेछ अर्थात् ‘परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा विनाशको बन्धनबाट छुटकारा पाउनेछ।’
[फुटनोटहरू]
a धर्मशास्त्रमाथि अन्तरदृष्टि (अंग्रेजी), खण्ड १, पृष्ठ २२५-६ हेर्नुहोस्।
b प्रहरीधरहरा मार्च १, १९९२, पृष्ठ २८-२९ हेर्नुहोस्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ “जीवनको पानी सित्तैंमा लेओस्” भन्नुको अर्थ के हो?
◻ हाम्रो आशा स्वर्गीय होस् वा पार्थिव, परमेश्वरप्रति कृतज्ञ हुने हामीसित के कस्ता कारणहरू छन्?
◻ कुन वार्षिक स्मरणार्थमा हामी सबै उपस्थित हुनुपर्छ?
◻ यहोवाका अधिकांश जनहरूका लागि भविष्यमा के आशा छ?
[पृष्ठ १८-मा भएको चित्र]
लाखौंले ‘जीवनको पानी सित्तैं लिइरहेका छन्।’ के तपाईं पनि तिनीहरूमध्ये एक हुनुहुन्छ?