तिनीहरूले आफ्नो नाउँ कमाउन पाएनन्
बाइबलले बाबेलको कुख्यात धरहरा बनाउनेहरूको नाउँ किटेको छैन। विवरण यसो भन्छ: “तब तिनीहरूले भने, ‘लौ, हामी आफ्ना निम्ति एउटा शहर र टुप्पा स्वर्गैसम्म भएको एउटा धरहरा बनाएर आफ्नो नाउँ राखौं, नत्रता हामीलाई पृथ्वीभरि जताततै छरिनुपर्नेछ।’ ”—उत्पत्ति ११:४.
“तिनीहरू” को थिए? यो घटना जलप्रलय भएको करिब २०० वर्षपछि भएको थियो। त्यतिञ्जेल ८०० वर्ष पुगिसकेका नूह आफ्ना हजारौं सन्ततिहरूसँगै जीवन बिताइरहेका थिए। तिनीहरू सबै एउटै भाषा बोल्थे र जलप्रलयपछि नूह र तिनका छोराहरू बसोबास गरेकै इलाकामा एकसाथ मिलेर बस्थे। (उत्पत्ति ११:१) समयको क्रममा परिवार बढ्दै गएपछि तिनीहरू पूर्वतिर सर्न थाले र “सर्दै जाँदा शिनार देशमा एउटा मैदान भेट्टाए।”—उत्पत्ति ११:२.
नमीठो पराजय
यही उपत्यकामा त्यो समूह परमेश्वर विरुद्ध खडा हुन सुरियो। कसरी? यहोवा परमेश्वरले प्रथम मानव दम्पतीलाई “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ” भनेर आदेश दिनुहुँदा आफ्नो उद्देश्य प्रष्ट्याउनु भएको थियो। (उत्पत्ति १:२८) जलप्रलयपछि यही आदेश नूह र तिनका छोराहरूले पनि पाए। परमेश्वरले तिनीहरूलाई यस्तो निर्देशन दिनुभयो: “संख्यामा तिमीहरूको वृद्धि होस्, र तिमीहरू फल्दै-फुल्दै जाओ। पृथ्वीमा प्रशस्तसँग तिमीहरूका बालकहरू जन्मून्, र संख्यामा तिनीहरूको वृद्धि हुँदैजाओस्।” (उत्पत्ति ९:७) ती मानिसहरूले परमेश्वरको निर्देशन पालन गर्नुको साटो “पृथ्वीभरि जताततै छरिनु” नपरोस् भनेर शहर बनाउन थाले।
ती मानिसहरूले ‘आफ्नो नाउँ राख्न’ धरहरा पनि निर्माण गरे। तर आशा गरेझैं तिनीहरूले त्यो धरहरा निर्माण पूरा गर्न सकेनन्। बाइबलको अभिलेखले देखाएअनुसार तिनीहरूले एकअर्काको बोली बुझ्न नसकून् भन्ने हेतुले यहोवाले तिनीहरूको भाषा खलबल्याइ दिनुभयो। प्रेरित विवरण भन्छ, “तब परमप्रभुले त्यहींबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितर-बितर पारिदिनुभयो, र तिनीहरूले त्यो शहर बनाउन छोड़िदिए।”—उत्पत्ति ११:७, ८.
त्यो धरहरा बनाउनेहरूको नाउँ कतै ‘नरहेको’ वा प्रसिद्ध नभएकोबाटै उक्त अभियान पूर्णतया असफल भएको प्रस्टिन्छ। वास्तवमा, तिनीहरूको नाउँ के थियो कसैलाई थाह भएन र मानव इतिहासबाट ती मेटिए। तर नूहका पनाति निम्रोदबारे चाहिं के भन्न सकिन्छ? परमेश्वर विरुद्ध चालिएको उक्त अभियानका नाइके के निम्रोद नै थिएनन् र? तिनलाई सबैले चिनेका छन्, होइन र?
निम्रोद—बेअदबी विद्रोही
हो, निम्रोद पक्कै पनि उक्त अभियानका नाइके थिए। उत्पत्ति अध्याय १० ले तिनको परिचय “परमप्रभुको दृष्टिमा शक्तिशाली शिकारी” भनेर दिएको छ। (उत्पत्ति १०:९) “यिनीनै प्रथम वीर पुरुष थिए” भनेर पनि धर्मशास्त्रले बताउँछ। (उत्पत्ति १०:८) निम्रोद लडाकू योद्धा थिए र एक हिंस्रक पुरुष पनि। जलप्रलयपछि आफैलाई राजा तुल्याएर प्रथम मानव शासक पनि बने। निम्रोद एक निर्माता पनि थिए। बाइबलले तिनलाई बाबेललगायत अन्य आठवटा शहरहरू बसाल्ने व्यक्तिको रूपमा चिनाएको छ।—उत्पत्ति १०:१०-१२.
यसर्थ, परमेश्वरको विरोधी, बाबेलका राजा र शहरहरूका निर्माता निम्रोद पक्कै पनि बाबेलको धरहरा बनाउने काममा सहभागी भएका थिए। के तिनले आफ्नो नाउँ कमाएनन् त? निम्रोद नाउँको सम्बन्धमा पूर्वीय सभ्यतासम्बन्धी शास्त्रज्ञ इ. एफ. सी. रोजनम्युलर लेख्छन्: “निम्रोद नाउँ [ माराध] बाट राखिएको हो, जसको अर्थ हिब्रूमा ‘तिनले विद्रोह गरेकोले,’ ‘तिनले बिगार गरेकोले’ थियो।” अनि रोजनम्युलर अझै व्याख्या गर्छन्, “पूर्वेलीहरू विशिष्ट व्यक्तिहरू तिनीहरूको मृत्युपछि दिइएको नाउँबाट चिनिन्छन्। कहिलेकाहीं ती व्यक्तिहरूको नाउँ र काम दुरुस्त मिल्दा छक्कै लाग्छ।”
थुप्रै शास्त्रज्ञहरूको विचारमा निम्रोद नाउँ, जन्मँदा दिइएको नाउँ होइन। बरु, तिनीहरूको विचारमा त्यो नाउँ तिनको विद्रोही स्वभाव प्रष्ट देखिन थालेपछि राखिएको हुनुपर्छ। उदाहरणका लागि, सी. एफ. काइल भन्छन्: “[ माराध] बाट लिइएको ‘हामी विद्रोह गर्नेछौं’ अर्थ दिने निम्रोद नाउँले नै केही हद् हिंसात्मक तवरमा परमेश्वरको प्रतिरोध गरिएको थियो भन्ने संकेत दिन्छ। तिनलाई यो नाउँ तिनकै समकालीन मानिसहरूले दिएको हुनुपर्छ भनेर नाउँको विशेषताबाटै जाहेर हुन्छ र यसरी उक्त नाउँले तिनलाई नै चिनाउन थाल्यो।” इतिहासकार जेकब पेरिजोनियसलाई उद्धृत गर्दै पादटिप्पणीमा काइल यसो लेख्छन्: “यो मानिस [निम्रोद] क्रूर शिकारी हुनुका साथै अरूलाई पनि विद्रोह गर्न उस्काउन चौबीसै घण्टाजसो ‘निम्रोद, निम्रोद’ अर्थात् ‘आउ विद्रोह गरौं! आउ विद्रोह गरौं!’ भन्दै अघिपछि साथीभाइ लिएर हिंड्ने हुनुपर्छ भन्ने विश्वास म गर्छु। त्यसैकारण, तिनीपछिका मानिसहरूलगायत मोशाले पनि यही शब्दलाई तिनको सही नाउँ माने।”
कुरा स्पष्ट छ, निम्रोदले राम्रो नाउँ कमाएनन्। जन्मँदा राखिएको तिनको नाउँ कसैलाई पनि थाह छैन। तिनको पछि लाग्नेहरूको नाउँ इतिहासबाट मेटिएझैं तिनको त्यो नाउँ पनि मेटियो। तिनको नाउँ कायमै राख्ने कुनै सन्तानसमेत तिनीबाट हुनसकेन। महिमित र यशस्वी हुन पाउनुको साटो तिनी कुख्यात भए। निम्रोद नाउँले उक्त पुरुष यहोवा परमेश्वरलाई चुनौती दिएर मूर्खता गर्ने एक बेअदबी विद्रोही थिए भनेर सधैंभरि चिनाइरहनेछ।