महान् कन्स्टेन्टाइन—मसीहीधर्मका योद्धा?
इतिहासमा “महान्” पदबाट विभूषित मुठीभर पुरुषहरूमध्ये रोमी सम्राट कन्स्टेन्टाइन पनि एक हुन्। मसीहीजगत्ले त अझ “सन्त,” “तेह्रौं प्रेरित,” “प्रेरितहरू जत्तिकै पवित्र” र ‘सारा संसारमा ठूलठूला परिवर्तनहरू गर्न परमेश्वरद्वारा छानिएका’ इत्यादि अभिव्यक्तिहरू पनि थपेका छन्। तर अर्कोतिर कसै कसैले चाहिं कन्स्टेन्टाइनलाई “हत्यारा, नीतिनियमहरूको पटक्कै वास्ता नगर्ने, कपटीको रूपमा चिनेका छन् . . . निरंकुश क्रूर शासक, भयावह अपराधहरूका दोषी ठहराइएका छन्।”
अधिकांश मसीही भनौंदाहरूलाई महान् कन्स्टेन्टाइन मसीहीधर्मका सबैभन्दा प्रमुख संरक्षकहरूमध्ये एक हुन् भनी सिकाइएको छ। मसीहीहरूले रोमी सतावटबाट पाएको छुट्कारा र धार्मिक स्वतन्त्रताको श्रेय उनीहरू तिनलाई दिन्छन्। त्यसबाहेक, तिनी मसीहीधर्म उकास्न उत्कट इच्छा गर्ने र येशू ख्रीष्टको पदचिह्नमा हिंड्ने विश्वासी अनुयायीको रूपमा चिरपरिचित थिए भन्ने धारणा पनि व्यापक छ। इस्टर्न अर्थोडक्स चर्च र कोप्टिक चर्चले कन्स्टेन्टाइन र तिनकी आमा हेलनालाई “सन्तहरू” भनी घोषित गरेका छन्। जून ३ वा चर्चको भित्तेपात्रोअनुसार मे २१ का दिन तिनीहरूको नाउँमा चाड मनाउँछन्।
वास्तवमा महान् कन्स्टेन्टाइन को थिए? प्रेरितहरूपछि मसीहीधर्मको उत्थानमा तिनको के भूमिका थियो? इतिहास र विद्वानहरूबाटै यी प्रश्नहरूको जवाफ पाउनु निकै ज्ञानोद्दीपक छ।
ऐतिहासिक कन्स्टेन्टाइन
कन्स्टानटियस क्लोरसका पुत्र कन्स्टेन्टाइनको जन्म सा.यु. २७५ तिर सर्बियाको नेइससमा भएको थियो। सा.यु. २९३ मा तिनका बुबा रोमको पश्चिमी प्रान्तहरूका सम्राट हुँदा तिनी सम्राट गालेरियसको आदेशअनुसार दानुबेमा युद्ध लडिरहेका थिए। मृत्युशैयामा परेका आफ्ना बुबालाई भेट्न तिनी सा.यु. ३०६ मा बेलाइत फर्के। बुबाको मृत्यु हुनेबित्तिकै सेनाले कन्स्टेन्टाइनलाई सम्राट पदवीले सम्मानित गऱ्यो।
त्यतिखेर अन्य पाँच जनाले तिनीहरू आगस्ती अर्थात् भावी रोमी सम्राट हुन् भन्ने दाबी गरे। कन्स्टेन्टाइन एक मात्र रोमी सम्राट बन्नुअघि सा.यु. ३०६ देखि ३२४ सम्म लगातार गृहयुद्ध भइरह्यो। दुइटा युद्ध जितेपछि रोमी इतिहासमा कन्स्टेन्टाइनको स्थान पक्का भयो र तिनी रोमी साम्राज्यका एक मात्र शासक भए।
सा.यु. ३१२ मा रोमबाहिर मिल्भियन ब्रिजमा भएको युद्धमा कन्स्टेन्टाइनले आफ्नो प्रतिद्वन्द्वी म्याक्सेनटियसलाई हराए। त्यस युद्धको दौडान सूर्यमनि ल्याटिन शब्दहरूमा इन होक सीग्नो भिन्केस अर्थात् “यस चिह्नको नाउँमा विजयी होऔं” लेखिएको बल्दो क्रूस देखा परेको थियो भनी मसीही समर्थकहरू दाबी गर्छन्। कन्स्टेन्टाइनले आफ्नो सेनाको ढालमा येशू ख्रीष्टको नाउँका प्रथम दुई अक्षरहरू युनानी भाषामा कोर्नू भन्ने दर्शन सपनामा देखेका थिए भन्ने धारणा पनि रहेको छ। तथापि, यो कथाको सन्दर्भमा भने थुप्रै मतभिन्नताहरू फेला परेका छन्। मसीहीधर्मको इतिहास (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “यस दर्शनको समय, स्थान र विवरणबारे थुप्रै विरोधाभासपूर्ण प्रमाणहरू पाइन्छन्।” रोममा कन्स्टेन्टाइनको स्वागत गर्दा एक गैरमसीही प्रान्तपालले तिनलाई प्रमुख अगस्तस र पोन्तिफेक्स म्याक्सिमस अर्थात् रोमी साम्राज्यका सम्पूर्ण गैरमसीही धर्मका प्रधान पूजाहारी भनेर घोषणा गरे।
सा.यु. ३१३ मा कन्स्टेन्टाइनले पूर्वी प्रान्तका शासक सम्राट लसीनियससित हात मिलाए। मिलानको आधिकारीक घोषणा मार्फत तिनीहरू दुवैले उपासनासम्बन्धी स्वतन्त्रताका साथै सबै धार्मिक समूहहरूलाई समान हक प्रदान गरे। तथापि, थुप्रै इतिहासकारहरू यो उर्दी नियमित सरकारी पत्र मात्र हो, मसीहीधर्मप्रतिको नीतिनियममा आमूल परिवर्तन भएको संकेत दिने कुनै प्रमुख आधिकारीक उर्दी होइन भन्दै त्यसलाई त्यति महत्त्व दिंदैनन्।
यसको दस वर्षभित्र कन्स्टेन्टाइनले आफ्ना अन्तिम प्रतिद्वन्द्वी लसीनियसलाई पनि हराए र रोमी संसारका एक मात्र निर्विरोध सम्राट भए। सा.यु. ३२५ मा, बप्तिस्मा लिनुअगावै तिनी “मसीही” चर्चका प्रथम बृहत् अखिल परिषद्का अध्यक्ष भए। उक्त चर्चले आरियानवादको घोर भर्त्सना गऱ्यो र निसेने क्रीडको नाउँले चिनिने अत्यावश्यक विश्वासहरू भएको विज्ञप्ती तयार पाऱ्यो।
कन्स्टेन्टाइन सा.यु. ३३७ मा सिकिस्त बिरामी परे। जीवनको अन्तिम घडीतिर तिनले बप्तिस्मा लिए, त्यसपछि तिनी मरे। तिनको मृत्युपछि मन्त्रिमण्डलले तिनलाई रोमी देवताहरूमध्ये एक गने।
कन्स्टेन्टाइनको रणनीतिमा धर्मको भूमिका
तेस्रो र चौथो शताब्दीतिर रोमी सम्राटहरूले धर्मप्रति राख्ने सामान्य दृष्टिकोणबारे उल्लेख गर्दै इस्टोरीया टू इलिनिकु इथ्नुस (युनानी राष्ट्रको इतिहास) नामक पुस्तक यसो भन्छ: “धर्मप्रति रोमी सम्राटहरूको त्यति गहिरो झुकाउ नभए तापनि आम मानिसहरूको व्यापक धारणालाई विचार गर्दै तिनीहरूले आफ्नो राजनैतिक योजनाहरू अथवा कम से कम धर्मको नाउँमा आफ्ना उद्देश्य पूरा गर्न ती योजनाहरूलाई धर्मको नाउँ दिनु आवश्यक महसुस गरे।”
निस्सन्देह, कन्स्टेन्टाइन आफ्नो जमानाअनुसार चल्ने व्यक्ति थिए। आफ्नो शासनको प्रारम्भतिर तिनलाई “ईश्वरीय” समर्थन चाहिएको थियो र तिनलाई यस्तो समर्थन प्रभावहीन हुँदै गइरहेका रोमी देवताहरूले दिनसक्दैनन् थिए। रोमी साम्राज्यलगायत त्यसको धर्म र अन्य परिपाटीहरू पनि हराउँदै गइरहेका थिए र त्यसलाई पुनः बलियो पार्न कुनै नयाँ तथा जबरजस्त कुरा चाहिएको थियो। इद्रिया विश्वकोश भन्छ: “कन्स्टेन्टाइनको रुचि विशेषगरि मसीहीधर्मप्रति थियो किनकि यसले तिनी विजयी हुँदा मात्र नभई रोमी साम्राज्यलाई सुव्यवस्थित बनाउन खोज्दा पनि समर्थन गऱ्यो। चारैतिरका मसीही चर्चहरू तिनका राजनैतिक समर्थक भए। . . . तिनी आफू वरपर तत्कालीन धर्मगुरुहरू जम्मा गर्थे . . . अनि उनीहरूले तिनीसँग एकता कायमै राख्नू भनेर आग्रह गर्थे।”
कन्स्टेन्टाइनले त्यतिबेला धर्मत्यागी तथा निकै भ्रष्ट भइसकेको “मसीहीधर्म[लाई]” साम्राज्य विस्तार गर्ने आफ्नो विशाल योजनाको बल तथा संयोजकको रूपमा प्रभावकारीसाथ चलाउन सकिन्छ भनेर थाह पाए। आफ्नो राजनैतिक लक्ष्यलाई अघि बढाउन समर्थनको लागि तिनले धर्मत्यागी मसीहीजगत्को शिक्षाहरू स्वीकार्दै सबै मानिसहरूलाई “क्याथोलिक” अथवा एउटै ब्रह्माण्डीय धर्ममा गाभ्ने निर्णय गरे। गैरमसीही रीति तथा उत्सवहरू “मसीहीकरण” गरिए। अनि “मसीही” धर्मगुरुहरूलाई पदवी, तलब तथा गैरमसीही पूजाहारीहरूलाई जस्तै प्रभावकारी अधिकार दिइयो।
राजनैतिक उद्देश्य पूरा गर्न तिनले धार्मिक सामञ्जस्यता खोजे र विरोधीहरूको आवाजलाई शास्त्रीय आधारमा त होइन तर बहुमतले समर्थन जनाएको आधारमा तुरुन्तै दबाइ हाले। जरो गाडेर रहेको हठधर्मी भिन्नताहरूको कारण “मसीही” चर्च विभाजित भएको थियो। फलतः तिनले आफूलाई “परमेश्वरद्वारा पठाइएको” मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्ने मौका पाए। उत्तर अफ्रिकाका डोनीटीवादीहरू तथा आफ्नो साम्राज्यको पूर्वी भागमा रहने आरियसका अनुयायीहरूसित व्यवहार गर्दा तिनले एकताबद्ध विश्वास कायम गराउन मानिसहरूलाई सजिलै मनाउन सकिंदो रहेनछ भनेर बुझे।a यी नै आरियनवादी विवादलाई शान्त पार्न तिनले चर्चको इतिहासमा पहिलो पटक अखिल परिषद् गठन गरेका हुन्।—“कन्स्टेन्टाइन तथा नाइसी परिषद्” पेटी हेर्नुहोस्।
कन्स्टेन्टाइनबारे इतिहासकार पल जनसन भन्छन्: “कन्स्टेन्टाइनले मसीहीधर्मलाई रहिरहन दिएका कारणहरूमध्ये चर्चका धार्मिक शिक्षासम्बन्धी नीतिनियममाथि तिनी र साम्राज्यले पूर्ण अधिकार जमाउन पाएकोले नै हुनसक्छ।”
के तिनी कहिल्यै मसीही बने?
जनसन उल्लेख गर्छन्: “कन्स्टेन्टाइनले सूर्यको उपासना गर्न कहिल्यै छोडेनन् र आफ्नो मुद्रामा सूर्यको छाप अंकित गरी नै रहे।” क्याथोलिक विश्वकोश-को (अंग्रेजी) टिप्पणी यसप्रकार छ: “कन्स्टेन्टाइनले दुवै धर्मप्रति समान व्यवहार गरे। पोन्तिफेक्स म्याक्सिमसको रूपमा तिनले गैरमसीहीधर्मको ख्याल र हकहितको संरक्षण गरे।” “कन्स्टेन्टाइन कहिल्यै मसीही बनेनन्,” भन्दै इद्रिया विश्वकोश अझै यसो भन्छ: “कन्स्टेन्टाइनको जीवनी लेख्ने सिजेरियाका युसिबियसअनुसार कन्स्टेन्टाइन जीवनको अन्तिम घडीमा मसीही बने। तर तिनको यो बप्तिस्मा विश्वसनीय छैन किनकि तिनले पोन्तिफेक्स म्याक्सिमसको हैसियतमा बप्तिस्मा लिनु एकदिनअघि मात्र जूसलाई बली चढाएका थिए।”
सा.यु. ३३७ मा मृत्यु नहोउञ्जेल कन्स्टेन्टाइनले धार्मिक कामकुराका प्रमुख निर्णायक पोन्तिफेक्स म्याक्सिमसको पदवी बहन गरी नै रहे। जहाँसम्म तिनको बप्तिस्माको प्रश्न छ, के तिनले बप्तिस्मा लिन धर्मशास्त्रको मागबमोजिम परिवर्तन गरेका थिए? (प्रेरित २:३८, ४०, ४१) यहोवा परमेश्वरप्रतिको समर्पणलाई जनाउन के तिनी पानीमा चुर्लुम्म डुबेका थिए?—प्रेरित ८:३६-३९ तुलना गर्नुहोस्।
“सन्त”?
इन्साइक्लोपीडिया ब्रिटानिका उल्लेख गर्छ: “कन्स्टेन्टाइनले के गरे त्यसले होइन तर तिनी कस्ता मानिस थिए, त्यसको आधारमा सन्त कहलाइएका थिए। तिनको चरित्रलाई केलाउने हो भने तिनी पुरातन वा आधुनिक दुवै समयमा [महान्] उपाधि पाउनेहरूमध्ये सबैभन्दा चुत्थो ठहर्नेछन्।” मसीहीधर्मको इतिहास नामक पुस्तक हामीलाई यस्तो जानकारी दिन्छ: “तिनको हिंस्रक र रिसाहा स्वभाव पहिले पनि प्रकाशमा आएका थिए। . . . मानव जीवनप्रति तिनको कुनै श्रद्धा थिएन . . . उमेर ढल्कँदै जाँदा तिनको निजी जीवन झन् भयंकर भयो।”
कन्स्टेन्टाइनको गम्भीर व्यक्तित्व समस्या थियो भनेर प्रमाणित भएको छ। इतिहास छानबिन गर्ने एक व्यक्तिले के बताए भने तिनको छिनछिनमा मुड परिवर्तन हुने स्वभावकै कारण तिनले प्रायजसो अपराधहरू गरेका थिए। (“राजहत्याहरू,” पेटी हेर्नुहोस्।) कन्स्टेन्टाइनसित “मसीही व्यक्तित्व थिएन” भनेर इतिहासकार एच. फिशर आफ्नो पुस्तक युरोपको इतिहास-मा (अंग्रेजी) जोड दिन्छन्। तथ्यहरूले तिनी “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम” जस्ता परमेश्वरका आत्माका फलहरू भएका “नयाँ चोला धारण” गर्ने साँचो मसीही थिएनन् भनी देखाउँछ।—गलाती ५:२२, २३; कलस्सी ३:९, १०.
तिनका प्रयासहरूका परिणाम
गैरमसीही पोन्तिफेक्स म्याक्सिमस भएकोले अर्थात् रोम साम्राज्यको सम्पूर्ण धार्मिक बागडोर सँभाल्ने व्यक्ति भएकोले कन्स्टेन्टाइनले धर्मत्यागी चर्चका पादरीहरूको मन जित्ने कोसिस गरे। रोम राष्ट्रको धर्म सँभाल्ने व्यक्तिको उपाधि दिएर कन्स्टेन्टाइनले उनीहरूलाई शक्ति प्राधान्यता तथा सम्पत्ति दिए। क्याथोलिक विश्वकोश स्वीकार्छ: “भव्य दरबार देखेर केही पादरीहरू यति मन्त्रमुग्ध भए कि तिनीहरूले सम्राटलाई परमेश्वरको दूत, एक पवित्र जनसमेत भनेर प्रशंसा गरे र परमेश्वरको पुत्रले जस्तै तिनले पनि स्वर्गमा शासन गर्नेछन् भनी भविष्यवाणी गरे।”
राजनैतिक सरकारको निगाह पाउन थालेपछि धर्मत्यागी मसीहीजगत् झन् झन् यस संसार अर्थात् सांसारिक रीतिरिवाजको भाग हुनथाल्यो र येशू ख्रीष्टको शिक्षा छोडेर पर पर लाग्न थाल्यो। (यूहन्ना १५:१९; १७:१४, १६; प्रकाश १७:१, २) फलतः त्रिएक, अमर आत्मा, नरकको आगो, पापमोचन स्थान, मृतकहरूको निम्ति प्रार्थना गर्नु, जपमाला, प्रतिमा, मूर्ति तथा त्यस्तै अन्य कुराहरूको झूटा शिक्षा र कामहरूमा मसीहीधर्म छ्यासमिस हुनथाल्यो।—२ कोरिन्थी ६:१४-१८ तुलना गर्नुहोस्।
कन्स्टेन्टाइनबाटै चर्चले पनि अधिकार जमाउने प्रवृत्ति सिक्यो। बाइबलविद् हेन्डेरसन र बक भन्छन्: “सुसमाचारको पुस्तकको सरलता भ्रष्ट पारियो, देखावटी क्रिया तथा उत्सवहरू प्रचलनमा ल्याइयो, मसीहीधर्मका गुरुहरूलाई सांसारिक मानपदवी तथा भत्ता दिन थालियो र ख्रीष्टको राज्यलाई पूर्णतया यस संसारको राज्यमा परिणत गरियो।”
साँचो मसीहीहरू कता पुगे?
ऐतिहासिक तथ्यले कन्स्टेन्टाइनको “महानता” पछाडि लुकेको सच्चाइ प्रकट गर्छ। साँचो मसीही मण्डलीका शिर येशू ख्रीष्टद्वारा स्थापित हुनुको साटो मसीहीजगत् त राजनैतिक उद्देश्य पूरा गर्ने साधन र गैरमसीही सम्राटको छलपूर्ण युक्तिहरूको परिणाम भएको छ। त्यसैकारण, इतिहासकार पल जनसनले यसरी सोध्नु एकदमै सुहाउँदो छ: “सम्राट मसीहीधर्मको वशमा परेका हुन् वा मसीहीधर्मले सम्राटसित वेश्यागमन गरेको हो?”
साँचो मसीहीधर्मअनुरूप जीवन बिताउन चाहने व्यक्तिले आज साँचो मसीही मण्डलीलाई चिन्न तथा त्यससित संगत गर्न मदत पाउनसक्छ। विश्वभरि यहोवाका साक्षीहरू इमानदार हृदय भएका मानिसहरूलाई साँचो धर्म चिन्न र परमेश्वरले ग्रहण गर्नुहुने तरिकामा उहाँको उपासना गर्न चाहिने मदत दिन अति इच्छुक छन्।—यूहन्ना ४:२३, २४.
[पादटिप्पणी]
a डोनीटीवाद सा.यु. चौथो र पाँचौं शताब्दीका “मसीही” पन्थ थिए। पवित्र कामकुराहरू मसीही पूजाहारीको नैतिक चालचलनमा भरपर्छ र गम्भीर पाप गर्ने सदस्यहरूलाई चर्चबाट बहिष्कार गर्नुपर्छ भनेर यस पन्थका पालकहरू दाबी गर्थे। आरियनहरू चाहिं चौथो शताब्दीको “मसीही” अभियान थियो र यसले येशू ख्रीष्टको प्रभुत्वलाई अस्वीकार गर्थ्यो। आरियसले परमेश्वर उत्पन्न हुनुभएको होइन र उहाँको आरम्भ पनि छैन भनेर सिकाउँथे। तर पुत्र उत्पन्न गरिएको हो त्यसैले तिनी पिताजस्तै परमेश्वर हुनसक्दैनन्। पुत्र पिताजस्तै अनन्तदेखि अस्तित्वमा आएका होइनन् किनकि तिनी पिताकै इच्छानुसार सृजिए र अस्तित्वमा आएका थिए।
[पृष्ठ २८-मा भएको पेटी]
कन्स्टेन्टाइन तथा नाइसी परिषद्
बप्तिस्मा अप्राप्त सम्राट कन्स्टेन्टाइनको नाइसी परिषद्मा कस्तो भूमिका थियो? इन्साइक्लोपीडिया ब्रिटानिका उल्लेख गर्छ: “कन्स्टेन्टाइन आफैले परिष्दको अध्यक्षता ग्रहण गरे र सक्रियतासाथ छलफल अघि बढाए . . . सम्राटदेखि प्रभावित भएका उपस्थित दुईबाहेक बाँकि सबै पादरीहरूले आफ्नो इच्छा विपरीत नै त्यस धार्मिक सिद्धान्तमा सही गरे।”
दुई महिनासम्म घमासान धार्मिक विवाद भएपछि यस गैरमसीही राजनीतिज्ञले हस्तक्षेप गरे तथा येशू नै परमेश्वर हुनुहुन्छ भन्नेहरूको पक्षमा निर्णय सुनाए। किन? मसीही शिक्षाको संक्षिप्त इतिहास (अंग्रेजी) बताउँछ, “कन्स्टेन्टाइनले वास्तवमा युनानी धर्मविज्ञानसम्बन्धी सोधिएका कुनै पनि प्रश्नहरू बुझेका थिएनन्।” तिनले यति नै बुझे कि धार्मिक विभाजन तिनको सत्ताको निम्ति खतरा हुनेछ, अतः तिनी आफ्नो साम्राज्य स्थिर पार्न दृढ थिए।
नाइसीमा कन्स्टेन्टाइनको सुपरिवेक्षणमा तयार पारिएको अन्तिम पत्रको सन्दर्भमा इस्डोरीया टू इलिनिकु इथ्नुस (युनानी राष्ट्रको इतिहास) यसो भन्छ: “शास्त्रीय कुराहरूप्रति [कन्स्टेन्टाइनको] भावशून्यता यसले देखाउँछ . . . चर्चलाई कुनै पनि हालतमा पुनः एकताबद्ध पार्ने तिनको हठ र ‘चर्चबाहिरको पादरीको नाताले कुनै पनि धार्मिक मामिलामा अन्तिम निर्णय गर्ने व्यक्ति तिनी आफै हुन् भन्ने दृढ विश्वास यसबाट देखिन्छ।” त्यस परिषद्मा गरिएको निर्णयपछाडि परमेश्वरको आत्माले काम गरिरहेको हुनसक्ला र?—प्रेरित १५:२८, २९ तुलना गर्नुहोस्।
[पृष्ठ २९-मा भएको पेटी]
राजहत्याहरू
यस शीर्षकअन्तर्गत इस्डोरीया टू इलिनिकु इथ्नुस-ले (युनानी राष्ट्रको इतिहास) “कन्स्टेन्टाइनले गरेका घृणास्पद पारिवारिक अपराधहरू” व्याख्या गरेको छ। सत्तामा आउनेबित्तिकै तिनले अप्रत्याशित उपलब्धीहरूको आनन्द कसरी उठाउने त्यो बिर्से र आफूमाथि आइपर्नसक्ने खतराहरूप्रति सजग हुनथाले। शंकालू भएकोले र हुनसक्छ, चापलुसी गरेको मनपराउने भएकोले सबैभन्दा पहिला तिनले लसीनिआनसका भतिजा अर्थात् तिनले पहिल्यै प्राणदण्ड दिइसकेका सह-अगस्तसको पुत्रलाई सम्भाव्य प्रतिद्वन्द्वी ठानेका हुनसक्छन्। उनको हत्या गरिसकेपछि कन्स्टेन्टाइनले आफ्ना जेठा पुत्र क्रिसपुसलाई उसको सौतेनी आमा फाउस्ताको कारण प्राणदण्ड दिए। किनकि तिनले क्रिसपुसको कारण आफ्ना छोराहरू सत्तामा आउन नसक्ने देखेकी थिइन्।
अन्ततः फाउस्तासको यो कार्य तिनको नाटकीय मृत्युको कारण हुन गयो। यस हत्याकाण्डमा छोरो कन्स्टेन्टाइनमाथि अन्तसम्मै प्रभाव जमाउन सफल अगुस्ता हेलना सामेल भएको देखिन्छ। कन्स्टेन्टाइनलाई अक्सर छोप्ने अतार्किक भावनाहरूले तिनले एकपछि अर्को गर्दै आफ्ना मित्र तथा सहयोगीहरूलाई धमाधम प्राणदण्ड दिए। मध्यकालीन इतिहास (अंग्रेजी) पुस्तकको निष्कर्ष यस्तो छ: “हत्याको त कुरै नगरौं, तर पुत्र र पत्नीलाई दिइएको प्राणदण्डबाट तिनलाई मसीहीधर्मको आध्यात्मिकताले एकछेउ पनि प्रभावित गरेको थिएन भन्ने संकेत दिन्छ।”
[पृष्ठ ३०-मा भएको चित्र]
रोममा बनाइएको यो गुम्बज कन्स्टेन्टाइनको महिमा गर्न प्रयोग गरिंदै आएको थियो
[पृष्ठ २६-मा भएको चित्रको स्रोत]
Musée du Louvre, Paris