परिवारको हेरविचार गर्ने दायित्व वहन गर्नु
“ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यी प्रेरित शब्दहरू मार्फत प्रेरित पावलले परिवारको हेरविचार गर्ने अभिभारा त्यसको उचित स्थान अर्थात् बुबाको काँधमा राखिदिए।
अधिकांश परिवारमा छोराछोरीको हेरविचार गर्ने जिम्मेवारी पूरा गर्न बुबा मात्र एक्लै हुँदैनन्। तिनकी श्रीमती, बच्चाहरूकी आमा फुरुक्क भएर आफ्ना श्रीमान्लाई यो भारी बोक्न मदत गर्छिन्। यसकारण, राजा सुलेमानले घोषणा गरे: “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन् र आफ्नी आमाको अर्ती इन्कार नगर्।”—हितोपदेश १:८.
भौतिक तथा आध्यात्मिक हेरविचार
आफ्ना लालाबालाहरूलाई माया गर्ने आमाबाबु जानाजानी तिनीहरूको बेवास्ता गर्दैनन्। वास्तवमा, मसीहीहरूले छोराछोरीको बेवास्ता गर्नु त आफ्नो विश्वासलाई इन्कार गर्नुसरह हुनेछ र यो पावलले तिमोथीलाई लेखेका यी शब्दहरूको आधारमा भन्नसक्छौं: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा” हुर्काउन भौतिक कुराहरू प्रबन्ध गरेर मात्र पुग्दैन भनेर मसीहीहरूले बुझेका छन्।
प्रतिज्ञा गरिएको देशमा छिर्नुअघि मोआबको बेंसीमा पाल टाँगेर बसेको इस्राएल राष्ट्रलाई मोशाले गरेको आग्रह विचार गर्नुहोस्। त्यहाँ तिनले परमेश्वरको वचन दोहऱ्याइ तेहऱ्याइ बताए र उनीहरूलाई यो निर्देशन दिए: “तिमीहरूले मेरा यी वचन आफ्ना मन र हृदयमा राख।” (व्यवस्था ११:१८) यहोवालाई आफ्नो सारा हृदयले, प्राणले तथा शक्तिले प्रेम गर्नुपर्छ भनेर तिनले उनीहरूलाई पहिल्यै सम्झाएर यसो भनेका थिए: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख।” (व्यवस्था ६:५, ६) इस्राएली आमाबाबुले परमेश्वरको व्यवस्थालाई आफ्नो हृदयमा गढ्न दिनु अत्यावश्यक थियो। किनकि आध्यात्मिक कुराहरूका निम्ति हार्दिक मूल्यांकन गर्ने इस्राएली आमाबाबुले मोशाका यी थप शब्दहरू प्रभावकारी ढंगमा पालन गर्नसक्थे: “ती [परमेश्वरको व्यवस्था] तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।”—व्यवस्था ६:७; ११:१९; तुलना गर्नुहोस् मत्ती १२:३४, ३५.
ध्यान दिनुहोस्, यहाँ बुबालाई ती शब्दहरू छोराछोरीलाई “होशीयारीसाथ सिकाओ” र “तिनको चर्चा गर” भनिएको छ। मेरीयम-वेब्स्टर्स कलिजियट डिक्सनरी “होशीयारीसाथ सिकाओ”-लाई “बारम्बार दोहऱ्याएर वा सल्लाह दिएर सिकाउनु वा मनमा बसाल्नु” भनेर परिभाषित गर्छ। आमाबाबुले छोराछोरीहरूलाई परमेश्वरको व्यवस्थाबारे दिनहुँ अर्थात् बिहान, दिउँसो र राति बताउँदा थुप्रै कुराहरू सिकाइसकेका हुन्थे। आमाबाबुले परमेश्वरको व्यवस्थालाई माया गरेको देख्दा स-साना केटाकेटीहरू पनि यहोवासितको सम्बन्धलाई घनिष्ठ पार्न अघि सर्थे। (व्यवस्था ६:२४, २५) चाखलाग्दो कुरा, मोशाले बुबाहरूलाई “घरमा बस्ता” छोराछोरीलाई सिकाउनू भनी तोकेरै निर्देशन दिए। यस्तो शिक्षा परिवारको हेरविचार गर्ने एउटा जिम्मेवारी थियो। तर आज नि?
“घरमा बस्ता”
“त्यसो गर्नु सजिलो छैन,” चार जना छोराछोरीकी मसीही आमा ज्यानेट बताउँछिन्।a “निरन्तर लागिरहनुपर्ने हुन्छ,” तिनका पति पल स्वीकार्छन्। यहोवाका अन्य थुप्रै साक्षी आमाबाबुजस्तै पल र ज्यानेट हप्तामा एक चोटि भएपनि छोराछोरीसित बाइबल अध्ययन गर्ने प्रयास गर्छन्। “हरेक सोमबार तोकिएको समयमा हामी पारिवारिक बाइबल अध्ययन गर्ने कोसिस गर्छौं,” पल भन्छन् र स्वीकार्छन्: “तर सधैं भनेजस्तो हुँदैन।” मण्डलीका प्राचीन भएकाले तिनलाई कहिलेकाहीं जरुरी कामकुराहरू सँभाल्न दौडिहाल्नुपर्ने हुन्छ। तिनका जेठा र माहिला सन्तान पूर्ण-समय सेवकहरू हुन्। सेवकाईमा मानिसहरू भेट्न तिनीहरूले साँझको समय निकै फलदायी पाएका छन्। यसकारण, पारिवारिक अध्ययन गर्न त्यसैअनुरूप साँझपख तिनीहरूले समय मिलाएका छन्। पल भन्छन्, “कहिलेकाहीं खाना खाने बित्तिकै हामी अध्ययन थालिहाल्छौं।”
पारिवारिक अध्ययन गर्न आमाबाबुले बुद्धिमानीसाथ समय छाँटकाँट गर्नुपरे तापनि तिनीहरू अध्ययन गरिरहने कोसिस गर्छन्। छोरी क्लारा बताउँछिन्, “हाम्रो अध्ययन गर्ने समय सार्नु परेको छ भने, अध्ययन कहिले गर्ने हो, टिपोट लेखेर बुबा सधैं फ्रिजको ढोकामा झुण्ड्याउनुहुन्छ र यसरी हामी सबैले नयाँ समयबारे थाह पाउँछौं।”
नियमित पारिवारिक अध्ययनको निम्ति भेला हुँदा परिवारका साना साना सदस्यहरूले आमाबाबुलाई आफ्ना चिन्ता तथा समस्याहरू बताउने मौका पनि पाउँछन्। बच्चाहरूले अध्ययन गरिने बाइबल पाठ्यपुस्तकमा सोधिएको प्रश्नको मात्र जवाफ दिनुपर्ने अरठ्ठो नियम छैन भने यस्तो अध्ययनका परिणामहरू राम्रा हुन्छन्। “हाम्रो अध्ययनमा खुलेआम छलफल गर्न पाइन्छ,” दुई छोराका बुबा मार्टिन बताउँछन्। “हप्ताको एकचोटि धर्मशास्त्रमा आधारित विषय छलफल गर्न भेला हुँदा परिवारको आध्यात्मिक अवस्था पत्ता लगाउन सकिन्छ,” तिनी टिप्पणी गर्छन्। “छलफलको दौडान धेरै कुरा थाह पाइन्छ। स्कूलमा के भइरहेछ, त्यो थाह पाउनुहुन्छ र यसभन्दा पनि चाखलाग्दो कुरा, तपाईं आफ्ना बच्चाहरूले कस्तो मनोवृत्ति विकास गरिरहेछन्, पत्ता लगाउन सक्नुहुन्छ।” तिनकी पत्नी सान्ड्रा यसमा समर्थन जनाउँछिन् र पारिवारिक अध्ययनबाट धेरै कुरा सिक्न सकेकी महसुस गर्छिन्। “अध्ययन संचालन गर्नुहुँदा उहाँले सोध्नुभएका प्रश्नहरूको छोराहरूले जवाफ दिने तरिकाबाट पनि मैले धेरै कुरा सिकेकी छु।” आफूले जवाफ दिंदा सान्ड्रा छोराहरूलाई मदत पुग्ने किसिमले जवाफ दिन्छिन्। अध्ययनमा सक्रियतासाथ भाग लिने भएकीले तिनलाई अध्ययन असाध्यै रमाइलो लाग्छ। हो, पारिवारिक अध्ययनले आमाबाबुलाई बच्चाहरूको विचार बुझ्ने मौका प्रदान गर्छ।—हितोपदेश १६:२३; २०:५.
समयअनुसार चल्नुहोस् र लागिरहनुहोस्
सायद तपाईंले याद गर्नुभएको होला, पारिवारिक अध्ययन थाल्ने समयमा कुनै बच्चा चनाखो हुनसक्छ र रमाइलो मान्नसक्छ भने अर्को बच्चालाई चाहिं ध्यान दिन र सिक्न लगाउन फकाइरहनुपर्छ। एउटी मसीही आमा यस्तो टिप्पणी गर्छिन्: “परिवार भनेको यस्तै हुन्छ! आमाबाबु भएपछि के के मात्र गर्नुपर्दैन, थाहै छ। त्यसकारण, पारिवारिक अध्ययन संचालन गर्न दृढ रहनुभयो भने यहोवाले मदत गर्नुहुन्छ र राम्रा नतिजाहरू प्राप्त हुन्छन्।”
बच्चाको ध्यान दिने क्षमता उसको उमेरअनुसार फरक हुन्छ। बुझक्की आमाबाबु यो कुरालाई ध्यानमा राख्छन्। एक दम्पतीका ६ देखि २० वर्ष पुगिसकेका पाँच जना छोराछोरी छन्। बुबा माइकल भन्छन्: “जवाफ दिने सबैभन्दा पहिलो मौका कान्छोलाई दिनुहोस्। त्यसपछि, दाइदिदीलाई विस्तृत तवरमा र तयार गरेका थप बुँदाहरू भन्न लगाउनुहोस्।” यसरी बुद्धिमानीसाथ छोराछोरीसित व्यवहार गर्दा आमाबाबुले तिनीहरूलाई अरूको पनि विचार गर्नुपर्ने रहेछ भनेर सिकाइरहेका हुन्छन्। “छोराहरूमध्ये एक जनाले त बुझ्ला,” मार्टिन भन्छन्, “तर अरू छोराहरूलाई यो कुरा बुझाउन अलि समय लाग्छ। बच्चाहरूसित अध्ययन गर्नु मसीही धैर्य देखाउने र आत्माका अन्य फलहरू फलाउने तालिम भएको मैले पाएको छु।”—गलाती ५:२२, २३; फिलिप्पी २:४.
प्रत्येक बच्चाको क्षमता तथा उमेरअनुसार अध्ययन गर्नुहोस्। अहिले किशोरावस्थामा प्रवेश गरिसकेका सिमोन र मार्क केटाकेटी छँदा आमाबाबुसित सबैभन्दा महान पुरुष पुस्तक पढ्दाखेरि निकै रमाउँथे। तिनीहरू सम्झन्छन्, “बुबा हामीलाई विभिन्न भूमिकाहरू अभिनय गरेर देखाउन लगाउनुहुन्थ्यो।” छोराहरूसित छिमेकी सामरीको उखान अभिनय गर्दा आफूले हातखुट्टा टेक्नु परेको तिनीहरूका बुबा सम्झन्छन्। (लूका १०:३०-३५) “यसो गर्दा पढेको विषयवस्तु वास्तविक लाग्थ्यो र निकै रमाइलो हुन्थ्यो।”
धेरैजसो बच्चाहरू पारिवारिक अध्ययन गर्ने तालिकाको विरोध गर्छन्। के यसो भन्दैमा योजना गरिएअनुसार अध्ययन नगर्ने? होइन, पक्कै होइन। “बालकको [बालिकाको] हृदयभित्र मूर्खता गाड़िएको हुन्छ,” भनी हितोपदेश २२:१५ स्वीकार्छ। अध्ययन गर्न खोज्दा विभिन्न कुराले धेरै चोटि अलमलिएको एउटी एक्ली आमालाई लाग्यो। तैपनि, तिनी लागिरहिन्। अहिले बच्चाहरू तिनको निकै आदर गर्छन् र नियमित पारिवारिक अध्ययन संचालन गरेर तिनले देखाएकी माया र चासोको मूल्यांकन गर्छन्।
‘टुहुराटुहुरीहरूलाई’ मदत गर्ने
मसीही प्राचीनहरू “परमेश्वरको बगालको गोठालो” बन्नुपर्छ। (१ पत्रुस ५:२, ३) समयसमयमा आफ्ना मण्डलीका परिवारहरूलाई भेट्न जाँदा तिनीहरूले मसीही जिम्मेवारी वहन गर्ने आमाबाबुहरूको सराहना गर्ने मौका पाउँछन्। आमा वा बुबा मात्र भएको परिवारमा बच्चाहरूलाई सिकाउने जिम्मेवारी कसको काँधमा हुन्छ? छोराछोरीलाई तालिम दिने जिम्मेवारी आमाबाबुको हो भनेर कहिल्यै नबिर्सनुहोस्।
दूरदर्शी प्राचीनहरू आमा वा बुबाको अभाव पूरा गर्न पूर्णतया लागिपर्दा उत्पन्न हुनसक्ने जोखिमपूर्ण परिस्थितिदेखि टाढै रहन्छन्। मसीही बहिनी एक्ली आमा हुन् भने तिनलाई भेट्न दुई जना भाइहरू जानसक्ने भए तापनि उक्त परिवारको पारिवारिक अध्ययनको प्रबन्ध मिलाउँदा सचेत रहन्छन्। प्राचीनले आफ्नो पारिवारिक अध्ययनमा कहिलेकाहीं ती बच्चाहरूलाई (एक्लो आमा वा बुबासमेत) निम्त्याउनु प्रोत्साहनदायी तथा व्यवहारिक हुनसक्छ। तथापि, स्वर्गमा हुनुहुने यहोवा पनि हाम्रा महान् पिता हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्। आफ्ना छोराछोरीसित एक्ली आमाले एक्लै अध्ययन संचालन गर्दा यहोवा तिनलाई डोऱ्याउन तथा मदत गर्न साथै हुनुहुन्छ भनेर हामी विश्वस्त हुन्छौं।
छोरा वा छोरीको आध्यात्मिक झुकाउ छ तर आमाबाबु आफ्नो आध्यात्मिक दायित्व वहन गर्न पटक्कै चासो देखाउँदैनन् वा अलि अलि मात्र देखाउँछन् भने के गर्ने? यहोवाका विश्वासी सेवकहरू हतोत्साही हुनु पर्दैन। भजनरचयिताले यसरी गाए, “असहायचाहिं तपाईंकै [यहोवा परमेश्वर] शरणमा पर्दछ। बाबु नभएकाहरूको सहाय तपाईंनै हुनुहुन्छ।” (भजन १०:१४) आमाबाबुलाई छोराछोरीको हेरविचार गर्न प्रोत्साहन दिन मण्डलीका मायालु प्राचीनहरूले यथाशक्य गर्नेछन्। तिनीहरूले पारिवारिक छलफल गर्ने सुझाउ देलान् र एकसाथ कसरी अध्ययन गर्ने, त्यसबारे केही व्यवहारिक सुझाउहरू दिन अध्ययनमा सामेल पनि होलान्। तर धर्मशास्त्रले आमाबाबुलाई दिएको जिम्मेवारी चाहिं तिनीहरूले पटक्कै वहन गर्नेछैनन्।
आमाबाबु मसीही विश्वासमा नभएका बच्चाहरूलाई भने निकै सहयोग चाहिन्छ। तिनीहरूका आमाबाबु राजी छन् भने तिनीहरूलाई आफ्नो पारिवारिक अध्ययनमा समावेश गर्नु फाइदाजनक हुनसक्छ। अहिले आफ्नै परिवार भइसकेको रबर्ट तीन वर्षकै उमेरदेखि आमाबाबुसित मसीही सभाहरू धाउँथे। तिनका आमाबाबुले मसीही मण्डलीसित संगत गर्न छोडे तापनि ती सभाहरू धाउँदा बटुलेका सम्झना तिनलाई प्रिय लाग्छ। दस वर्षको हुँदा तिनले यहोवाका साक्षी केटो भेटे जसले तिनलाई सभाहरूमा लगे। रबर्ट आध्यात्मिक तवरमा टुहुरो भएकोले तिनको हेरविचार गर्ने दायित्व त्यस साक्षी केटोका आमाबाबुले खुसीसाथ लिए र पछि रबर्टसित अध्ययन पनि गरे। तिनीहरूकै मायालु चासोले गर्दा रबर्टले छिटोछिटो प्रगति गरे र अहिले तिनी मण्डलीमा प्राचीन भएर सेवा गर्न पाएकोमा खुसी छन्।
आमाबाबुले छोराछोरीको आध्यात्मिक प्रगतिको विरोध गरे तापनि ती केटाकेटीहरू एक्लै हुँदैनन्। स्वर्गमा हुनुहुने यहोवा विश्वासी बुबा तिनीहरूसित हुनुहुन्छ। भजन ६८:५ भन्छ, “परमेश्वर आफ्नो परमधाममा टुहुराका बाबु . . . हुनुहुन्छ।” आध्यात्मिक तवरमा टुहुरा भएका छोराछोरीले उहाँलाई प्रार्थनाद्वारा गुहार्नसक्छन् र उहाँले तिनीहरूलाई थाम्नुहुनेछ। (भजन ५५:२२; १४६:९) आमाजस्ती यहोवाको संगठनले खाउँ खाउँ लाग्ने आध्यात्मिक भोजन तयार पार्ने जिम्मेवारी लगनशीलतासाथ पूरा गर्छिन् र उक्त भोजन साहित्यहरू तथा विश्वभरिका ८५,००० भन्दा धेरै मसीही मण्डलीका सभाहरू मार्फत पस्कन्छिन्। यसरी, पिता यहोवा र आमाजस्ती उहाँको संगठनबाट पाइने आध्यात्मिक मदतद्वारा ‘टुहुराटुहुरीहरू’ समेतले बाइबल अध्ययनबाट केही हदसम्म आनन्द उठाउनसक्छन्।
छोराछोरीहरूसित नियमित पारिवारिक बाइबल अध्ययन संचालन गर्ने मसीही आमाबाबुहरू सराहनीय छन्। केटाकेटीलाई यहोवाको मार्गमा तालिम दिन अनवरत प्रयास गर्ने एक्लो आमा वा बुबा विशेष ध्यानको योग्य छन् र तिनीहरूको प्रयास प्रशंसनीय छ। (हितोपदेश २२:६) आध्यात्मिक टुहुराटुहुरीहरूप्रति चासो देखाउने जति सबैलाई स्वर्गमा हुनुहुने पिता यहोवा प्रसन्न हुनुहुन्छ भनेर थाह छ। परिवारको आध्यात्मिक आवश्यकता पूरा गर्नु गहन दायित्व हो। तर ‘हरेस नखानुहोस्, किनकि, थाक्नु भएन भने, तपाईंले ठीक समयमा कटनी गर्नुहुनेछ।’—गलाती ६:९.
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ २०-मा भएको चित्रको स्रोत]
Harper’s
[पृष्ठ २३-मा भएका चित्र]
पारिवारिक अध्ययनद्वारा स-साना केटाकेटीहरूले आमाबाबुलाई आफ्नो मनका कुराहरू भन्ने राम्रो मौका पाउँछन्