प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ६/१५ पृ. ३-५
  • पृथ्वी पक्कै नाश हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वी पक्कै नाश हुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “डूम्सडे” को जीवन्त वर्णन
  • मानिसले गरेको मनमानीलाई ठीक पार्ने
  • गर्न सकिन्छ
  • “बूढा बा, थेम्स” अतुलनीय बेलाइती सम्पदा
    ब्यूँझनुहोस्‌!—२००६
  • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ
    ब्यूँझनुहोस्‌!—२०२३
  • के आकाशीय पिण्डहरूको कारण हाम्रो पृथ्वीको विनाश हुनेछ?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ६/१५ पृ. ३-५

पृथ्वी पक्कै नाश हुन्छ?

बीसौं शताब्दी अस्ताएर २१ औं शताब्दी उदाउनै लागेको हुँदा पहिले पहिले विनाशबारे गरिएका भविष्यवाणीहरूलाई त्यति वा पटक्कै ध्यान नदिनेहरू समेत अचेल कतै संसार तहसनहस हुने त होइन भन्‍ने आशंकाले घेरिन थालेका छन्‌।

खबरकागज तथा पत्रपत्रिकाहरूमा यसै विषयमा छापिएका लेखहरू वा सायद सिंगै पुस्तक तपाईंले पढिसक्नुभएको होला। अब २१ औं शताब्दीको सुरुमै के हुने हो, त्यो हेर्न त पर्खनैपर्छ। कसै कसैले सन्‌ २००० को अन्त एकै वर्षको कुरा त हो नि (अथवा २००० देखि २००१ बीचको एक मिनेट) र त्यसबीच त्यस्तो के नै भइहाल्ला र भनेका छन्‌। तथापि, धेरैलाई त्यो भन्दा पनि ठूलो चिन्ता पृथ्वीको चिरकालीन भविष्यको लागेको छ।

तुरुन्तै वा भविष्यमा पृथ्वी पूर्णतया सर्वनाश हुनेछ भन्‍ने भविष्यवाणीले अचेल निकै ध्यानाकर्षण गर्न थालेको छ। केही निराशाजनक अगमवाणीहरू विचार गर्नुहोस्‌।

पहिलो पटक १९९६ मा मुद्रित आफ्नो किताब विश्‍वको अन्त—मानव विनाशको ज्ञान तथा नीति-मा (अंग्रेजी) लेखक तथा दार्शनिक जन लेस्लीले पृथ्वीमा मानिसको जीवन कसरी अन्त हुनसक्छ, त्यसका तीन सम्भावनाहरू पेश गरेका छन्‌। पहिलोबारे तिनी सोध्छन्‌: “आणविक विश्‍वयुद्धले मानव जातिलाई नै नामेट पार्ने हो कि?” त्यसपछि तिनी अझ भन्छन्‌: “अझ योभन्दा पनि विकिरणको असरहरू, जस्तै, क्यान्सर, रोगप्रतिरोध क्षमतामा आएको ह्रासले गर्दा व्याप्त हुने सरुवा रोग तथा अनगिन्ती जन्मजात विकारहरूले गर्दा मानव अस्तित्वै नरहने बढी सम्भावना छ। यसबाहेक, वातावरणलाई नभई नहुने सूक्ष्मजीवहरू लोप हुनसक्छन्‌।” तेस्रो सम्भावना, श्री. लेस्ली पृथ्वीसित पुछ्रेतारा वा धूमकेतु जुध्नसक्छ भन्छन्‌: “पुछ्रेतारा र धूमकेतुहरू पृथ्वी नजिकै परिक्रमा गर्ने भएकाले एक न एक दिन कसो नजुध्लान्‌। एकदेखि दस किलोमिटर व्यास भएका त्यस्ता दुई हजारजति पुछ्रेतारा तथा धूमकेतुहरू पृथ्वी नजिकै परिक्रमा गर्छन्‌। यीभन्दा ठूलठूला पुच्छ्रेतारा तथा धूमकेतुहरू नभएका होइनन्‌, छन्‌ तर थोरै (यिनको संख्या किटान गर्नु पूर्णतया अड्‌कलबाजी हुनेछ) र अनगिन्ती स-साना पनि छन्‌।”

“डूम्सडे” को जीवन्त वर्णन

अथवा अस्ट्रेलिया, आडेलाइड विश्‍वविद्यालयका प्राध्यापक, वैज्ञानिक पल डेभिसको कुरा विचार गर्नुहोस्‌। वाशिङटन टाइम्स-ले तिनको वर्णन “अन्तरराष्ट्रिय जगत्‌मा विज्ञानसम्बन्धी सर्वोत्कृष्ट लेखक” भनेर गरेका छन्‌। सन्‌ १९९४ मा तिनले अन्तिम तीन मिनेट (अंग्रेजी) प्रस्तुत गरेका थिए र उक्‍त पुस्तकलाई “डूम्सडे पुस्तकहरूको बाजे” भनिएको छ। यस पुस्तकको पहिलो अध्यायको शीर्षक “डूम्सडे” राखिएको छ। यसले पृथ्वी र पुच्छ्रेतारा जुध्यो भने हुनसक्ने काल्पनिक परिणाम प्रस्तुत गरेको छ। आङै सिरिंङ पार्ने एक अंश पढ्‌नुहोस्‌:

“एकै पटक दस हजारवटा भैंचालो गएजस्तै गरी सारा पृथ्वी डगमगाउँछ। विस्फोटले गर्दा उत्पन्‍न, हावाको दबाबले गर्दा पृथ्वीका सतहमा भएका सबैथोक धूलो हुन्छ। पुच्छ्रेतारा ठोक्किएको ठाउँमा गहिरो खाल्डो बन्छ, त्यो खाडल वरपर, पग्लेका चट्टानहरूको माइलौं अग्लो पहाड बन्छ। अनि त्यो पुच्छ्रेताराले ठक्कर दिएको ठाउँमा १५० किलोमिटर चौडा खाडलले पृथ्वीको गर्भसमेत उदांग पर्छ। . . . तहसनहस भएका असंख्य टुक्राटाक्रीको धूलो घामै छेकिनेगरि वायुमण्डलमा फैलन्छ। सूर्यको उज्यालोको ठाउँमा जताततै अरबौं डरलाग्दा उल्काहरू झरिरहेको देखिन्छ र जहाँ जहाँ झर्छ, त्यहाँ यसको प्रचण्ड तापले खरानी पार्छ।”

प्राध्यापक डेभिस यस काल्पनिक विवरणलाई स्वीफ्ट-टटल भनिने पुच्छ्रेतारा पृथ्वीसित जुद्धा हुनसक्ने पूर्वानुमानसित गाँस्छन्‌। निकट भविष्यमै माथि भनेजस्तै नभए तापनि “ढिलो होस्‌ या चाँडो, स्वीफ्ट-टटल वा त्यस्तै अन्य वस्तुले पृथ्वीलाई ठक्कर दिनेछ,” भन्‍ने चेताउनी तिनी उक्‍त विवरणसँगसँगै दिन्छन्‌। आधा किलोमिटर वा सोभन्दा बढी व्यास भएका १०,००० वस्तुहरू पृथ्वीको कक्ष हुँदै परिक्रमा गर्छन्‌ भन्‍ने अनुमानको आधारमा तिनले निष्कर्ष निकालेका थिए।

के तपाईंलाई भविष्यमा यस्तो डरलाग्दो घटना होला जस्तो लाग्छ? अचम्मको कुरा, थुप्रैलाई त्यस्तै हुन्छ जस्तो लाग्छ। तर तिनीहरू यो घटना आफ्नो जीवनकालमा हुनेछैन भन्दै चिन्ता एकातिर पन्छाउछन्‌। तथापि, चाँडै होस्‌ वा हजारौं वर्षपछि, के यो पृथ्वी नाश हुनैपर्ने खाँचो छ र? पृथ्वीवासीहरू वा जनावरहरूलाई संकटमा पार्ने कारक तत्त्व स्वयं पृथ्वी त पक्कै पनि होइन। बरु, यस २० औं शताब्दीमा हामीले भोग्नुपरेका अधिकांश समस्याहरूका साथै पूर्णतया “पृथ्वी . . . नष्ट” हुने सम्भावना उत्पन्‍न हुनुको कारण के हामी मानिसहरू नै होइनौं र?—प्रकाश ११:१८.

मानिसले गरेको मनमानीलाई ठीक पार्ने

यो पृथ्वी मानिसजातिको स्वार्थ र दुरुपयोगले गर्दा नाश होला कि बिग्रेला, तपाईंलाई कस्तो लाग्छ? वन अतिक्रमण, वायुमण्डलको अनियन्त्रित प्रदूषण तथा पानीका मूलहरूको दुरुपयोगले गर्दा पृथ्वी निकै बिग्रिसकेको छ भनेर त भनिरहनु नपर्ला। आजभन्दा लगभग २५ वर्षअघि लेखकद्वय बार्बरा वार्ड तथा रनी ड्युबोले आफ्नो पुस्तक एउटा मात्र पृथ्वी-मा (अंग्रेजी) यसको बडो राम्रो सारांश दिए: “प्रदूषित हुन नदिन हामी होसियार हुनैपर्ने तीन बृहत्‌ क्षेत्र हावा, पानी तथा माटो हुन्‌। जुन जीवनका लागि नभई नहुने तीन प्रमुख तत्त्वहरू पनि हुन्‌।” त्यस उप्रान्त परिस्थिति त्यति सुध्रिएको छ जस्तो पनि त छैन, हैन र?

आफ्नै मूर्खताको कारण मानिसले पृथ्वीलाई नष्ट गर्नसक्ने सम्भावनाको कुरा उठ्‌दा पृथ्वीसित पूर्वावस्थामा आउनसक्ने तथा पूर्णतया नयाँ बन्‍नसक्ने अद्‌भुत क्षमता छ भनी सुन्दा हामीलाई ढुक्क लाग्नसक्छ। पृथ्वीको यस्तो अद्‌भुत क्षमताबारे व्याख्या गर्दै रनी ड्युबो अर्को पुस्तक पर्यावरण पहिलेकै स्थितिमा (अंग्रेजी) यी तीन प्रोत्साहनदायी अवलोकनहरू पेश गर्छन्‌:

“पर्यावरण खस्कँदैछ भन्‍ने जागरण आए तापनि निकै ढिलो भइसकेको छ किनकि पर्यावरणमा पुगिसकेको हानिलाई सुधार्नु असम्भव छ भन्‍ने चिन्ता र डर धेरैलाई लागेको छ। मेरो विचारमा यो निराशावादी दृष्टिकोणको कुनै ठोस आधार छैन किनकि पर्यावरणसित पुनः राम्रो अवस्थामा फर्कनसक्ने ठूलो क्षमता छ।

“पर्यावरणसित बिग्रेको वातावरणलाई पूर्वावस्थामा ल्याउने थुप्रै प्रणालीहरू छन्‌। . . . यी प्रणालीहरूले पर्यावरणलाई बिस्तारै बिस्तारै पहिलेकै अवस्थामा पुऱ्‍याएर आइपरेका आघातहरूको सामना गर्न मदत गर्छन्‌।”

गर्न सकिन्छ

यसको विशिष्ट उदाहरण हालैका वर्षहरूमा बिस्तारै बिस्तारै सफा गरिएको लन्डनको प्रसिद्ध नदी थेम्सलाई लिन सकिन्छ। जेफ्री ह्‍यारिसन तथा पिटर ग्रान्टको परिवर्तित थेम्स (अंग्रेजी) पुस्तकले जनहितका लागि एकजूट भई काम गर्दा के मात्र हुनसक्दैन, त्यो बताएको छ। बेलाइतका ड्यूक अफ एडिन्बर्गले उक्‍त पुस्तकको प्राक्कथनमा यसो लेखे: “हुन त यो किताब पढेपछि कसैकसैलाई वातावरण संरक्षणको समस्या अनुमान गरिएजति गम्भीर रहेनछ भन्‍ने भान पर्ला र पनि यो ठूलो सफलताको कथा छापिनु योग्यको छ। . . . थेम्सको सफलतालाई हेरेर मानिसहरूले सिक्नसक्छन्‌। खुसीको कुरा, पर्यावरणलाई पुनः पूर्वावस्थामा ल्याउन सकिंदो रहेछ र ज-जसले सुधार ल्याउने तरखर गरिरहेका छन्‌ तिनीहरूका योजना पनि सफल हुनसक्छन्‌।”

“बृहत्‌ सफाइ” शीर्षकको अध्यायमा ह्‍यारिसन तथा ग्रान्टले गत ५० वर्षभित्र हासिल गरिएका उपलब्धिहरूबारे जोसका साथ यसरी लेखेका छन्‌: “अत्यन्त प्रदूषित तथा औद्योगिकरण गरिएको नदीलाई संसारमा पहिलो पटक फेरि चराचुरुंगी तथा माछाहरूले भरिभराउ भएको ठाउँ बनाउन सकियो। निराशाजनक स्थितिमा पुगिसकेको नदीलाई यति छिटो सफा पार्न सकियो कि त्यसले जस्तोसुकै निराशवादी वन्यजन्तु संरक्षकलाई समेत प्रोत्साहन दिन्छ।”

त्यसपछि, तिनीहरू थेम्स नदीको सुधारलाई यसरी बयान गर्छन्‌: “वर्षौंदेखि नदीको अवस्था खस्कँदै गइरहेको थियो र सम्भवतः दोस्रो विश्‍वयुद्धताक ठूलठूला ढलहरू ध्वस्त हुँदा चरम-सीमामै पुग्यो। सन्‌ १९४० तथा १९५० का दशकहरूमा त थेम्स नदी हुनसम्म प्रदूषित भइसकेको थियो। नदी खुल्ला ढलसरह थियो; पानी कालो थियो, अक्सिजन छँदै थिएन र गरम मौसममा नदीबाट निस्केको दुर्गन्ध टाढाटाढासम्म फैलन्थ्यो। . . . कुनै समय प्रशस्त माछाहरू पाइने नदी रित्तियो। पानीको सतहमा आएर सास फेर्नसक्ने इल माछाहरू सिवाय त्यहाँ केही थिएन। लन्डनदेखि वूलविचसम्मका किनार हुँदो बस्तीछेउ पाइने चराचुरुंगीहरू घट्‌दा घट्‌दा अन्तमा मुठीभर नीलसर र सेतो हाँस मात्र बाँकी रह्‍यो र ती पनि नदीमा पाइने आहारले नभई किनार हुँदो अन्‍न भण्डारबाट झरेका अन्‍नहरूले गर्दा बाँचेका थिए। . . . एउटै चरा देख्न नपाइने थेम्समा फेरि चराचुरुंगीहरू पाइएला भनेर त्यतिखेर कसले पो सोचेको थियो होला र? दस वर्षभित्र थेम्स नदी थरिथरिका जलचराहरूको आश्रयस्थल हुनुका साथै जाडो छल्न आउने १०,००० जंगली चरा तथा १२,००० पानीचराहरूको आहार खोज्ने ठाउँ भयो।”

हो, यो विश्‍वको एक कुनामा भएको एउटा सानो परिवर्तन मात्र हो। तर जे होस्‌, हामीले यसबाट पाठ सिक्नसक्छौं। मानिसजातिको स्वार्थ र दुरुपयोग र मुर्ख्याइँले गर्दा पृथ्वी नाश होला भनेर डराउनुपर्दैन्‌ भनेर त्यसले देखाउँछ। उचित शिक्षा तथा मानव हितका लागि एकत्रित भई प्रयास गरेको खण्डमा पृथ्वीले आफ्नो पर्यावरण, वातावरण तथा भूमिमा भएको जस्तोसुकै खतिलाई सुधार्नसक्छ। तर बाह्‍य शक्‍तिहरू जस्तै, लक्ष्यविहीन पुच्छ्रेतारा वा घूमकेतुबाट हुनसक्ने सर्वनाशबारे चाहिं के भन्‍न सकिन्छ?

यसपछिको लेखमा यस्ता जटिल प्रश्‍नको सन्तोषप्रद जवाफ पाइन्छ।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

उचित शिक्षा तथा मानवहितका लागि एकत्रित भई प्रयास गरेको खण्डमा पृथ्वीले जस्तोसुकै गम्भीर खतिलाई सुधार्न सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने