प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ८/१ pp. ४-६
  • बल्ल—सबैका लागि न्याय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बल्ल—सबैका लागि न्याय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले भरोसा गर्नसक्ने प्रतिज्ञा
  • अन्यायलाई हटाउन सकिन्छ
  • धार्मिकताको बीउ रोप्ने
  • के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?
    थप लेखहरू
  • यहोवा—साँचो न्याय र धार्मिकताका स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”
    यहोवासित नजिक हुनुहोस्‌
  • यहोवाको अनुकरण गर्नुहोस्‌—न्याय र धार्मिकता व्यवहारमा उतार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ८/१ pp. ४-६

बल्ल—सबैका लागि न्याय

“पीडितहरूको चीत्कार, चिन्तितहरूको पुकार, कसैले आफ्नो कुरा सुन्‍ने आशै मारिसकेकाहरूको आवाजलाई . . . हामी नयाँ नयाँ तरिका अपनाएर सुन्‍ने प्रयास गर्नेछौं। . . . वास्तवमा गर्नुपर्ने के हो भने कानुनमा लिखित रूपमा भएको कुरालाई व्यवहारमा उतार्न चाहन्छौं: हरेक व्यक्‍ति जन्मँदा परमेश्‍वरसमक्ष समान मर्यादा हुन्छ र मानिससमक्ष पनि समान मर्यादाको हुनुपर्छ।”—सं.रा. राष्ट्रपति रिचर्ड मिल्हाउस निक्सन, उद्‌घाटन भाषण, जनवरी २०, १९६९.

राजा, राष्ट्रपति तथा प्रधानमन्त्री आफ्नो पद सँभाल्दा न्यायबारे कुरा गरिहाल्छन्‌। संयुक्‍त राज्यको भूतपूर्व राष्ट्रपति रिचर्ड निक्सनले पनि त्यही कुरा गरे। तर तिनको भावशून्य इतिहास केलाउँदा ती वाक्‌पटु शब्दहरूको कुनै मोल रहँदैन। ‘लिखित कानुनलाई व्यवहारमा उतार्ने’ वाचा गरे तापनि निक्सन नियम विपरीत कार्य गरेकोमा दोषी ठहरिए र आफ्नो ओहदा परित्याग गर्न बाध्य भए। त्यसको तीन दशकपछि ‘पीडित, चिन्तित तथा आशा मारिसकेकाहरूको पुकार’ अझै पनि गुञ्जिरहेको छ।

असल मनसाय भएका थुप्रै नेताहरूले अनुभव गरेअनुसार ती आवाजहरू सुन्‍नु र तिनीहरूको दुःखहरू सुल्झाउन खोज्नु चानचुने काम होइन। ‘सबैका लागि न्याय’ एउटा भ्रामक लक्ष्य बन्‍न पुगेको छ। तैपनि थुप्रै शताब्दीअघि न्यायसम्बन्धी गरिएको अनुपम प्रतिज्ञामा ध्यान दिनु मनासिब देखिन्छ।

आफैले रोजेको “दास” पठाउनेछु भनी यहोवाले अगमवक्‍ता यशैयाद्वारा आफ्ना जनहरूलाई आश्‍वासन दिनुभयो। यहोवाले तिनीहरूलाई भन्‍नुभयो, “तिनमा मैले मेरो आत्मा हालेको छु। तिनले जाति जातिहरूका बीचमा न्याय ल्याउनेछन्‌।” (यशैया ४२:१-३) कुनै पनि मानव शासकले सारा राष्ट्रहरूको लागि चिरस्थायी न्याय दिने त्यस्तो जोडदार घोषणा गर्न आँटसमेत गर्नसक्दैन। के यो प्रतिज्ञामा भरोसा राख्न सकिन्छ? के त्यस्तो असामान्य उपलब्धि कहिल्यै हासिल गर्न सकिएला?

हामीले भरोसा गर्नसक्ने प्रतिज्ञा

प्रतिज्ञा गर्ने व्यक्‍ति भरोसायोग्य छ भने मात्र उसको प्रतिज्ञामा भरोसा गर्न सकिन्छ। यो प्रतिज्ञा गर्ने व्यक्‍ति अरू कोही नभएर सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ जो आफ्नो “दास[ले]” विश्‍वभरि न्याय स्थापना गर्नेछ भनी घोषणा गर्नुहुन्छ। राजनीतिज्ञहरूले जस्तो यहोवा प्रतिज्ञाहरूलाई हल्कासित लिनुहुन्‍न। “परमेश्‍वरलाई झूट बोल्न असम्भव छ” भनी बाइबल हामीलाई आश्‍वासन दिन्छ। (हिब्रू ६:१८) “जो युक्‍ति मैले गरेको छु, त्यो निश्‍चय पूरा हुनेछ” भनी परमेश्‍वर जोडतोडका साथ घोषणा गर्नुहुन्छ।—यशैया १४:२४.

त्यो प्रतिज्ञामाथिको हाम्रो भरोसालाई परमेश्‍वरका चुनिएका “दास” येशू ख्रीष्टको जीवनीले पनि अझ मजबूत बनाउँछ। न्याय स्थापना गर्ने व्यक्‍तिले न्यायलाई प्रेम गर्नैपर्छ र न्यायपूर्ण ढंगमा जीवन बिताउनैपर्छ। ‘धार्मिकतालाई प्रेम र अधर्मलाई घृणा गर्ने’ मानिसको हैसियतमा येशू निष्कलंक रहनुभयो। (हिब्रू १:९) उहाँले भन्‍नुभएका कुराहरू, जीवन बिताउनुभएको तरिका र मृत्युले समेत उहाँ न्यायी व्यक्‍ति हुनुहुन्थ्यो भनेर प्रमाणित गऱ्‍यो। येशूको पुर्पक्ष तथा मृत्युदण्ड सम्भवतः प्रत्यक्ष देखेका रोमी सिपाही उहाँको मृत्यु हुँदा यसो भन्‍न उत्प्रेरित भए: “निश्‍चय यिनी धार्मिक मानिस रहेछन्‌।”—लूका २३:४७.

धार्मिक जीवन बिताउनुको साथसाथै येशूले त्यतिबेला व्याप्त अन्यायको पनि प्रतिरोध गर्नुभयो। उहाँले सत्ता पल्टाएर वा विद्रोह गरेर होइन तर सुन्‍न चाहने सबैलाई साँचो न्यायबारे सिकाउनुभएर अन्यायको प्रतिरोध गर्नुभयो। उहाँले डाँडामा दिनुभएको उपदेशले साँचो न्याय र धार्मिकता कसरी व्यवहारमा उतार्नुपर्छ भनेर जोडदार ढंगमा प्रस्तुत गर्छ।—मत्ती अध्याय ५-७.

येशूले प्रचार गर्नुभएअनुसारै व्यवहार गर्नुभयो। उहाँले समाजद्वारा बहिष्कृत कोरीहरू अर्थात्‌ यहूदी समाजका “अछूतहरूलाई” घृणा गर्नुभएन। बरु, तिनीहरूसित कुरा गर्नुभयो, छुनुभयो र निकोसमेत पार्नुभयो। (मर्कूस १:४०-४२) आफूले भेट्‌नुभएका गरिब तथा दबिएका सबै मानिसहरू उहाँका लागि अनमोल थिए। (मत्ती ९:३६) उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।”—मत्ती ११:२८.

सबैभन्दा महत्त्वपूर्ण कुरा, वरपर व्याप्त अन्यायदेखि येशू भ्रष्ट वा रुष्ट हुनुभएन। उहाँले कहिल्यै पनि खराबको बदला खराब फर्काउनुभएन। (१ पत्रुस २:२२, २३) असह्‍य पीडा भोग्नुहुँदा समेत आफूलाई झुन्ड्याउने सिपाहीहरूको खातिर स्वर्गमा हुनुहुने पितालाई यसो भनेर प्रार्थना गर्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्‌, किनकि तिनीहरूले के गरिरहेछन्‌ ती जान्दैनन्‌।” (लूका २३:३४) येशूले “जाति जातिलाई न्यायको घोषणा” गर्नुभयो। (मत्ती १२:१८, नेपाली, नयाँ संशोधित संस्करण) अन्यायरहित संसार स्थापना गर्ने परमेश्‍वरको इच्छाबारे उहाँको पुत्रको जीवन्त उदाहरणभन्दा जोडदार उदाहरण अरू के हुनसक्ला र?

अन्यायलाई हटाउन सकिन्छ

अन्याय हटाउन सकिन्छ भनेर वर्तमान संसारमा पनि प्रमाण पाइन्छ। व्यक्‍तिगत तथा सांगठनिक तवरमा यहोवाका साक्षीहरू पूर्वाग्रह, पक्षपात, जातिवाद तथा हिंसालाई नियन्त्रणमा राख्ने प्रयास गर्छन्‌। तल उल्लिखित एउटा उदाहरण हेर्नुहोस्‌।

पेद्रोलेa आफू बसोबास गर्ने स्पेनको बास्क क्षेत्रमा न्याय ल्याउने एक मात्र तरिका विद्रोह गरेर सत्ता पल्टाउनु हो भन्ठानेका थिए। त्यही लक्ष्य प्राप्तिको लागि तिनी आतंकवादी संगठनको सदस्य भए र फ्रान्समा सैन्य तालिम पनि लिए। तालिम पूरा भएपछि तिनलाई एउटा आतंकवादी इकाई गठन गरेर प्रहरी ब्यारेक खत्तम पार्ने आदेश दिइयो। तिनको टोलीले बमगोला तयार गरिरहेकै बेलामा प्रहरीले तिनलाई गिरफ्तार गरे। तिनले झ्यालखानामा १८ महिना बिताए तर थुनाभित्र पनि तिनले भोक हडताल तथा एक चोटि आफैले नाडीमा घाउ पारेर राजनैतिक गतिविधि कायमै राखे।

पेद्रोलाई आफू न्याय प्राप्तिको लागि संघर्ष गरिरहेको जस्तो लाग्थ्यो। पछि तिनले यहोवा र उहाँका उद्देश्‍यहरूबारे थाह पाए। पेद्रो झ्यालखानामा छँदा तिनकी पत्नीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌ र पेद्रो थुनाबाट मुक्‍त भएपछि पत्नीले सभामा जाने निमन्त्रणा दिइन्‌। त्यो सभा अत्यन्तै रमाइलो लागेको हुँदा पेद्रो बाइबल अध्ययन गर्न अग्रसर भए अनि यी अध्ययनहरूले गर्दा तिनको सोचाइ तथा जीवनशैलीमा आमूल परिवर्तनहरू भए। अन्ततः १९८९ मा पेद्रो र तिनकी पत्नीले बप्तिस्मा लिए।

पेद्रो भन्छन्‌, “आतंककारी जीवन बिताएका ती वर्षहरूमा मैले एक जनालाई पनि नमारेकोमा यहोवाप्रति कृतज्ञ छु। अहिले म परमेश्‍वरको आत्माको तरवार, बाइबल चलाउँछु र मानिसहरूलाई साँचो शान्ति र न्यायको सन्देश अर्थात्‌ परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँछु।” अहिले यहोवाका साक्षीहरूको प्राचीनको हैसियतमा सेवारत पेद्रो आफूले खत्तम पार्न खोजेको ब्यारेकमा केही समयअघि गएका थिए। यस पटक भने तिनी त्यहाँ बस्ने मानिसहरूलाई शान्तिको सन्देश प्रचार गर्न गएका थिए।

यहोवाका साक्षीहरू यस्ता परिवर्तनहरू गर्छन्‌ किनभने तिनीहरू धार्मिक संसारको तिर्सना गर्छन्‌। (२ पत्रुस ३:१३) यस्तो धार्मिक संसारको लागि परमेश्‍वरको प्रतिज्ञामा पूर्ण भरोसा राखे तापनि अन्यायरहित जीवन बिताउनु आफ्नो दायित्व हो भनेर तिनीहरूले बुझेका छन्‌। परमेश्‍वर हामीबाट के चाहनुहुन्छ भन्‍ने सन्दर्भमा बाइबलले हामीलाई अन्योलमा छोडेको छैन।

धार्मिकताको बीउ रोप्ने

हो, अन्यायको सिकार हुँदा हामीलाई यसरी चिच्याऊँ जस्तो लाग्ला: “न्याय गर्ने परमेश्‍वर कहाँ हुनुहुन्छ?” मलाकीको समयका यहूदीहरूले त्यस्तो चीत्कार गरेका थिए। (मलाकी २:१७) के परमेश्‍वरले तिनीहरूको गुनासोलाई गम्भीरतापूर्वक लिनुभयो? उल्टो उहाँ “थकित” हुनुभयो किनभने तिनीहरूले उमेर ढल्किसकेका आफ्नी पत्नीहरूसित छलकपट गरेर मामुली कुराहरूमा पारपाचुके गरिरहेका थिए। यहोवाले यस्तो अवस्थाप्रति चिन्ता व्यक्‍त गर्नुभयो किनभने ‘तिनीहरूले जवानीपनको स्वास्नीलाई धोका दिए, यद्यपि ती तिनीहरूका जीवन-साथी र करारमा बाँधिएका स्वास्नी थिए।’—मलाकी २:१४.

हामी आफै अन्याय गर्छौं भने अन्यायको गुनासो गर्न मिल्छ र? अर्कोतर्फ, आफ्नो हृदयबाट पूर्वाग्रह तथा जातिवाद हटाएर, सबैप्रति निष्पक्ष तथा मायालु भएर अनि खराबीको बदला खराबी नगरेर येशूको अनुकरण गर्ने प्रयास गऱ्‍यौं भने हामी साँच्चै न्यायलाई प्रेम गर्छौं भनी देखाउँछौं।

न्यायको कटनी गर्ने हो भने बाइबलले हामीलाई ‘धर्मको निम्ति बिउ रोप्न’ आग्रह गर्छ। (होशे १०:१२) मामिला जस्तोसुकै सानो किन नहोस्‌, अन्यायमाथि विजयी हुनु महत्त्वपूर्ण कुरा हो। मार्टिन लुथर किङ, जुनियरले बर्मिङहाम जेलबाट पत्र-मा (अंग्रेजी) लेखेझैं “अन्याय जहाँसुकै किन नहोस्‌, न्यायको लागि खतरा हो।” “धार्मिकता” खोज्ने व्यक्‍तिहरूलाई परमेश्‍वरले आफ्नो भावी नयाँ संसारको हकदार हुन रोज्नुहुन्छ।—सपन्याह २:३.

मानिसहरूको अस्थिर प्रतिज्ञामा हामी न्यायको आशा सजाउन सक्दैनौं तर हाम्रो मायालु सृष्टिकर्ताको वचनमा भरोसा राख्न सक्छौं। त्यसैकारण, येशूले आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गरिरह भन्‍नुभयो। (मत्ती ६:९, १०) त्यस राज्यको नियुक्‍त राजा येशूले “दरिद्रहरूको पुकारा सुनेर . . . छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई . . . छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई . . . टिठाउनेछ, र दरिद्रहरूको प्राण . . . बचाउनेछ।”—भजन ७२:१२, १३.

स्पष्टतः अन्याय सधैं रहिरहने होइन। पृथ्वीमाथि ख्रीष्टको शासनले सदाको लागि अन्याय हटाउनेछ भनेर आफ्नो अगमवक्‍ता यर्मिया मार्फत परमेश्‍वर यस्तो आश्‍वासन दिनुहुन्छ: “हेर्‌, ती दिन आउँदैछन्‌, जब . . . मेरो प्रतिज्ञा म पूरा गर्नेछु। ती दिन, त्यस समयमा म दाऊदको वंशमा धार्मिकताको एउटा टुसा उत्पन्‍न गराउनेछु, र तिनले देशमा न्याय र धर्मको काम गर्नेछन्‌।”—यर्मिया ३३:१४, १५.

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने