प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ८/१५ pp. १०-१५
  • यहोवा हाम्रो भरोसा हुनुपर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रो भरोसा हुनुपर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ज्ञान र मित्रतामा आधारित भरोसा
  • यहोवाको छनौटप्रति भरोसा प्रदर्शित गर्ने
  • यहोवाको छनौट ठीक छ कि छैन, अड्‌कल काट्‌न नखोज्नुहोस्‌
  • यहोवाको धार्मिकतामाथि भरोसा प्रदर्शित गर्ने
  • परमेश्‍वरको धार्मिकतामाथि हाम्रो भरोसा बलियो बनाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • भरोसा पुनर्स्थापित हुनसक्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “हामी दृष्टिले होइन तर विश्‍वासले हिंड़छौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ८/१५ pp. १०-१५

यहोवा हाम्रो भरोसा हुनुपर्छ

“यहोवा नै तेरो भरोसा हुनुहुन्छ।”—हितोपदेश ३:२६, NW.

१. थुप्रैले परमेश्‍वरमाथि भरोसा गर्छौं भन्‍ने दाबी गरे तापनि तिनीहरूले सधैं भरोसा गर्दैनन्‌ भनी कुन कुराले देखाउँछ?

संयुक्‍त राज्य अमेरिकाको पैसामा “हामी परमेश्‍वरमाथि भरोसा राख्छौं” भन्‍ने अभिव्यक्‍ति लेखिएको छ। तर के उक्‍त मुलुकमा वा अन्य ठाउँहरूमा त्यो पैसा चलाउनेहरू सबैले परमेश्‍वरमाथि भरोसा राख्छन्‌ त? कि तिनीहरू पैसामाथि बढी भरोसा राख्छन्‌? उक्‍त मुलुकमा होस्‌ वा अन्य मुलुकमा, पैसामाथिको भरोसा र प्रेमको सर्वशक्‍तिमान्‌ परमेश्‍वरमाथिको भरोसा मिलान गर्न सकिंदैन। किनकि उहाँ कहिल्यै आफ्नो शक्‍ति दुरुपयोग गर्नुहुन्‍न अनि उहाँमा लोभ छँदैछैन। भनौं भने, उहाँ लोभलाई सरासर भर्त्सना गर्नुहुन्छ।—एफिसी ५:५.

२. धनको शक्‍तिप्रति साँचो मसीहीहरू कस्तो मनोवृत्ति राख्छन्‌?

२ साँचो मसीहीहरू “धोका दिने शक्‍ति” भएको धनमा होइन तर यहोवामाथि भरोसा राख्छन्‌। (मत्ती १३:२२, NW) तिनीहरूलाई पैसाको शक्‍तिद्वारा थोरै मात्र आनन्द र सुरक्षा पाउन सकिन्छ भनेर थाह छ। सर्वशक्‍तिमान्‌ परमेश्‍वरको शक्‍ति चाहिं त्यस्तो होइन। (सपन्याह १:१८) अतः यो सल्लाह पालन गर्नु कत्ति बुद्धिमानी छ: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि उहाँ आफैले भन्‍नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ’ ”!—हिब्रू १३:५.

३. पावलले व्यवस्था ३१:६ उद्धृत गर्दा त्यसको प्रसंगले कसरी थप ज्योति दिन्छ?

३ प्रेरित पावलले उक्‍त शब्दहरू हिब्रू मसीहीहरूलाई लेख्दा मोशाले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि इस्राएलीहरूलाई दिएका निर्देशन उद्धरण गरे: “बलियो र साहसी होओ! न डराओ! तिनीहरूसित त्रसित नहोओ! किनभने परमप्रभु परमेश्‍वरनै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई धोका दिनुहुनेछैन, निराश तुल्याउनुहुनेछैन उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन।” (व्यवस्था ३१:६) प्रसंगअनुसार मोशाले तिनीहरूलाई भौतिक आवश्‍यकताहरू पूर्तिका लागि मात्र यहोवामाथि भरोसा गरेर पुग्दैन भन्‍ने प्रोत्साहन दिंदैथे। किन यसो भन्‍न सकिन्छ?

४. यहोवाले उहाँ भरोसायोग्य हुनुहुन्छ भनेर इस्राएलीहरूलाई कसरी साबित गराउनुभयो?

४ इस्राएलीहरू ४० वर्षसम्म उजाडस्थानमा भौंतारिंदा परमेश्‍वरले तिनीहरूको जीवनका एक एक आवश्‍यकताहरू पूरा गरिदिनुभयो। (व्यवस्था २:७; २९:५) उहाँले नेतृत्वको पनि प्रबन्ध मिलाउनुभयो। दिउँसो बादलले र राति चाहिं आगोले नेतृत्व दियो जसले इस्राएलीहरूलाई “दूध र मह बहने” देशतर्फ डोऱ्‍यायो। (प्रस्थान ३:८; ४०:३६-३८) प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने बेलामा यहोवाले यहोशूलाई मोशाका उत्तराधिकारी छान्‍नुभयो। त्यस देशका बासिन्दाहरूले अवरोध खडा गर्नसक्ने सम्भावना थियो। तर यहोवा आफ्ना जनहरूसँगसँगै दशकौंसम्म हिंड्‌नुभएको हुनाले डराउनुपर्ने त कारणै थिएन। यहोवा भरोसायोग्य परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्ने इस्राएलीहरूसित वैध कारणहरू थिए!

५. आजका मसीहीहरूको परिस्थिति कसरी प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघिका इस्राएलीहरूको जस्तै छ?

५ आज मसीहीहरू वर्तमान दुष्ट संसारको उजाडस्थानमा यात्रा गरेर परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारतर्फ लम्किरहेका छन्‌। कोही कोहीले त यो यात्रा थालेको ४० वर्षभन्दा बढी भइसक्यो। अहिले तिनीहरू परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारको सिमानामा उभिएका छन्‌। यद्यपि, प्राचीन समयको दूध र मह बहने देशभन्दा अझै गौरवमय प्रतिज्ञाकृत देशमा प्रवेश गर्नुबाट कसै कसैलाई तर्काउने अभिप्रायले अहिले पनि शत्रुहरू बाटोमा ढुकिरहेका छन्‌। अतः आज मसीहीहरूका लागि पावलले मोशाका शब्दहरू दोहऱ्‍याउनु कत्ति उपयुक्‍त छ: “म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ”! पूर्ण विश्‍वासका साथ यहोवामाथि भरोसा राखेर बलियो र साहसी हुनेहरू सबैले निश्‍चय इनाम पाउनेछन्‌।

ज्ञान र मित्रतामा आधारित भरोसा

६, ७. (क) अब्राहामले आफ्नो जाँच हुँदा कुन कुराले गर्दा यहोवामाथि भरोसा गर्नसके? (ख) इसहाकलाई बलिदान चढाउनुपर्ने ठाउँसम्म यात्रा गर्दा अब्राहामलाई कस्तो लाग्यो होला?

६ एकचोटि इस्राएलीहरूका पुर्खा अब्राहामलाई तिनको छोरा इसहाक होमबलि चढाउने आज्ञा दिइएको थियो। (उत्पत्ति २२:२) कुन कुराले यो मायालु बुबाले यहोवामाथि त्यस्तो अटल भरोसा राखे जसले गर्दा तिनले उक्‍त आज्ञा खुरुक्क पालन गरिहाले? हिब्रू ११:१७-१९ यस्तो जवाफ दिन्छ: “विश्‍वासैबाट अब्राहामले परीक्षा हुँदा इसहाकलाई चढाए। औ जसले खुशीसाथ प्रतिज्ञाहरू ग्रहण गरेका थिए, तिनले आफ्नो भएको एउटै मात्र छोरालाई चढाउनलागेका थिए। यिनैमा यसो भनिएको थियो, ‘इसहाकमानै तेरो वंश कहलिनेछ।’ मरेकोबाट पनि परमेश्‍वरले बिउँताउनसक्नुहुन्छ भन्‍ने विचार गरेर यसैले दृष्टान्तको रूपमा तिनलाई फिर्ता पाए।”

७ स्मरण रहोस्‌, बलिदान चढाउने ठाउँमा पुग्न अब्राहाम र इसहाकलाई तीन दिन लाग्यो। (उत्पत्ति २२:४) अब्राहामले आफूलाई कस्तो काम अह्राइएको होला भनी पुनर्विचार गर्ने प्रशस्तै समय पाएका थिए। के हामी तिनको मनमा खेलेका कुराहरू, तिनका भावनाहरू कल्पना गर्नसक्छौं? इसहाकको जन्मले अप्रत्याशित आनन्द ल्याएको थियो। ईश्‍वरीय आशिष्‌को यो प्रमाणले गर्दा परमेश्‍वरसित अब्राहाम र पहिले बाँझी भएकी तिनकी पत्नी साराको सम्बन्ध अझ सुमधुर भयो। निस्सन्देह, त्यसपछि तिनीहरूले इसहाक र तिनका सन्ततिहरूको भविष्य कस्तो होला भन्‍ने प्रत्याशाहरू सजाएर जीवन बिताए। के अब तिनीहरूका प्रत्याशाहरू एकाएक माटोमा मिल्ने भए किनकि परमेश्‍वरको आज्ञाअनुसार त त्यसै होला जस्तो देखिन्छ?

८. परमेश्‍वरले इसहाकको पुनरुत्थान गर्न सक्नुहुन्छ भनेर मात्र अब्राहामले उहाँमाथि भरोसा राखेका होइनन्‌ भनी कसरी भन्‍न सकिन्छ?

८ तैपनि, घनिष्ठ मित्रहरूबीच जस्तो भरोसा हुन्छ, अब्राहामसँग पनि व्यक्‍तिगत ज्ञानमा आधारित त्यस्तै भरोसा थियो। ‘परमेश्‍वरका मित्रको’ हैसियतमा “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।” (याकूब २:२३) परमेश्‍वरले इसहाकको पुनरुत्थान गर्न सक्नुहुन्छ भनेर मात्र अब्राहामले यहोवालाई भरोसा गरेका थिएनन्‌। अब्राहामलाई सबै नालीबेली थाह नभए तापनि यहोवाले अह्राउनुभएको काम उचित छ भनेर तिनी विश्‍वस्त थिए। यहोवाले यस्तो माग गर्नुहुँदा उहाँको धार्मिकतामाथि प्रश्‍न गर्ने तिनीसँग कारणै थिएन। पछि, यहोवाको दूतले इसहाकको बलिदान चढाउन रोक्दा अब्राहामको भरोसा झन्‌ बलियो भयो।—उत्पत्ति २२:९-१४.

९, १०. (क) अब्राहामले पहिला कुन समयमा पनि यहोवामाथि भरोसा प्रदर्शित गरेका थिए? (ख) हामी अब्राहामबाट कस्तो महत्त्वपूर्ण पाठ सिक्नसक्छौं?

९ अब्राहामले करिब २५ वर्षअघि पनि यहोवाको धार्मिकतामाथि यस्तै भरोसा देखाएका थिए। सदोम र गमोरा सर्वनाश गर्ने चेताउनी पाएपछि अब्राहाम स्वाभाविकतः आफ्ना भतिजो लूतलगायत त्यहाँका धार्मिक मानिसहरूको हितबारे चिन्तित भए। अब्राहामले यसो भन्दै परमेश्‍वरलाई बिन्ती गरे: “दुष्टको साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्‌। धर्मीको दशा पनि दुष्टको जस्तै हुनु ता तपाईंबाट पर रहोस्‌। सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नुहुन्‍न र?”—उत्पत्ति १८:२५.

१० यहोवा कहिल्यै कुनै अधर्म काम गर्नुहुन्‍न भनी कुलपिता अब्राहाम विश्‍वस्त थिए। पछि भजनरचयिताले यसरी गाए: “परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ।” (भजन १४५:१७) हामी सबैले आफैलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ: ‘के म यहोवाले मलाई भोग्न दिनुभएको कुरा उहाँको धार्मिकतामाथि शंका नगरी स्वीकार्छु? उहाँले भोग्न दिनुभएको कुराले अन्ततः मेरो साथै अरूको समेत फाइदा हुन्छ भनी के म विश्‍वस्त छु?’ यी प्रश्‍नहरूका सकारात्मक जवाफ दिनसक्यौं भने हामीले अब्राहामबाट एउटा महत्त्वपूर्ण पाठ सिकेका हुनेछौं।

यहोवाको छनौटप्रति भरोसा प्रदर्शित गर्ने

११, १२. (क) परमेश्‍वरका सेवकहरूलाई कस्तो किसिमको भरोसा आवश्‍यक पर्दै आएको छ? (ख) हाम्रोलागि कहिलेकाहीं कुन कुरा समस्या बन्‍नसक्छ?

११ यहोवालाई आफ्नो भरोसा ठान्‍नेले आफ्ना उद्देश्‍यहरू पूरा गर्न उहाँले छान्‍नुभएका पुरुषहरूमाथि पनि भरोसा राख्नुपर्छ। इस्राएलीहरूका लागि यसको मतलब मोशा अनि पछि तिनका उत्तराधिकारी यहोशूमाथि भरोसा राख्नुपर्थ्यो। प्रारम्भिक मसीहीहरूका लागि यसको अर्थ, प्रेरितहरू र यरूशलेमको मण्डलीका धर्मगुरुहरूमाथि भरोसा राख्नुपर्थ्यो। आज हाम्रोलागि यसको अर्थ हो, “ठीक समयमा” आध्यात्मिक भोजन दिन नियुक्‍त गरिएका “विश्‍वासी र बुद्धिमान दास” साथै तीमध्येबाटै बनिएका परिचालक निकायमाथि भरोसा राख्नुपर्छ।—मत्ती २४:४५.

१२ वास्तवमा, मण्डलीमा अगुवाइ लिनेहरूमाथि भरोसा गर्दा हाम्रै फाइदा हुन्छ। हामीलाई यसो भनिएको छ: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्‌, यो तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभदायक हुँदैन।”—हिब्रू १३:१७.

यहोवाको छनौट ठीक छ कि छैन, अड्‌कल काट्‌न नखोज्नुहोस्‌

१३. अगुवाइ लिन नियुक्‍त भएकाहरूमाथि भरोसा राख्ने हामीसँग कस्ता कारणहरू छन्‌?

१३ बाइबलले हामीलाई यहोवाका जनहरूबीच अगुवाइ लिनेहरूमाथि भरोसा राख्दा सन्तुलित हुन मदत दिन्छ। हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘के मोशाले कहिल्यै गल्ती गरेनन्‌ र? के येशूले चाहनुभएअनुसारै प्रेरितहरूले सधैं ख्रीष्टको जस्तो मनोवृत्ति देखाए?’ यसको जवाफ दिइरहनु पर्दैन। यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन वफादार र समर्पित असिद्ध पुरुषहरू छान्‍नुभएको छ। त्यसैगरि, अहिलेका प्राचीनहरू पनि असिद्ध छन्‌। तैपनि, हामीले तिनीहरूलाई ‘पवित्र आत्माले परमेश्‍वरका मण्डलीमा चराउनलाई धर्माधिकारी तुल्याइएकाहरू’ भनी चिन्‍नुपर्छ। तिनीहरू हाम्रो समर्थन र आदरका योग्य छन्‌।—प्रेरित २०:२८.

१४. यहोवाले नेताको रूपमा हारून वा मरियमलाई नछानी मोशालाई छान्‍नुभएकोमा उल्लेखनीय कुरा के छ?

१४ हारून मोशाभन्दा तीन वर्ष जेठा थिए तर दुवै जना मरियमभन्दा कान्छा थिए। (प्रस्थान २:३, ४; ७:७) हारून मोशाभन्दा स्पष्ट बोल्नसक्ने भएकाले तिनलाई भाइको प्रवक्‍ता नियुक्‍त गरियो। (प्रस्थान ६:२९–७:२) यद्यपि, यहोवाले इस्राएलीहरूलाई डोऱ्‍याउन सबैभन्दा जेठी मरियम वा स्पष्ट बोल्नसक्ने हारूनलाई छान्‍नुभएन। उहाँले त्यतिखेरका सम्पूर्ण परिस्थिति र आवश्‍यकताहरूलाई ध्यानमा राख्दै मोशालाई छान्‍नुभयो। यो कुरा नबुझेर हारून र मरियम यसो भन्दै गनगनाए: “के परमप्रभु केवल मोशासँग मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीसित पनि कुरा गर्नुभएको छैन र?” हारून र मरियमले मोशालाई “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति” सम्झनुको साटो यहोवाको छनौटप्रति अनादार देखाए। यद्यपि, मरियम मुख्य आलोचक थिइन्‌। अतः उनले सजाय भोग्नुपऱ्‍यो।—गन्ती १२:१-३, ९-१५.

१५, १६. कालेबले यहोवामाथि भरोसा राखेको कुरा कसरी साबित गरे?

१५ प्रतिज्ञा गरिएको देशको भेद लिन पठाइएका १२ जना जासुसहरूमध्ये १० जनाले नकारात्मक खबर ल्याए। तिनीहरूले कनानीहरू त “दैत्याकार रहेछन्‌” भनेर इस्राएलीहरूको मनमा भय उत्पन्‍न गराए। फलस्वरूप, “सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए।” तर सबै जासुसहरूले मोशा र यहोवामाथि भरोसाको कमी देखाएनन्‌। हामी यस्तो पढ्‌छौं: “कालेबले मोशाको सामने ती मानिसहरूलाई शान्त गराएर भने, ‘हामी तुरुन्त त्यहाँ गएर त्यो देश कब्जा गरौं, किनभने त्यो हामी सहजै जित्न सक्छौं।’ ” (गन्ती १३:२, २५-३३; १४:२) कालेबको दृढ अडानलाई तिनीसँगै गएका अर्का जासुस यहोशूले समर्थन गरे। दुवै जनाले यसो भनेर यहोवामाथि भरोसा देखाए: “यदि परमप्रभु हामीसित प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ, र त्यो दूध र मह बहने देश हामीलाई दिनुहुनेछ। केवल . . . त्यस देशका मानिसहरूसित न डराओ, . . . परमप्रभु हामीतर्फ हुनुहुन्छ, तिनीहरूसित नडराओ।” (गन्ती १४:६-९) तिनीहरूले यहोवामाथि राखेको भरोसाको इनाम पाए। त्यतिखेरका वयस्क पुस्ताहरूमध्ये कालेब, यहोशू र केही लेवीहरूले मात्र प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने विशेषाधिकार पाए।

१६ केही वर्षपश्‍चात्‌ कालेबले यसो भने: “म ता पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्‍वरको पछि लागें। . . . त अब हेर्नुहोस्‌, इस्राएलीहरू उजाड़-स्थानमा घुमफिर गर्दा परमप्रभुले मोशालाई यो कुरा भन्‍नुभएको बेलादेखि अहिले पैतालीस वर्ष बितिसक्यो, आफ्नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्नुभएको छ। अब हेर्नुहोस्‌, म आज पचासी वर्षको भएको छु। तैपनि मलाई मोशाले पठाएका दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। . . . मेरो ताकत त्यस बेला जति थियो, अहिले पनि त्यतिनै छ।” (यहोशू १४:६-११) कालेबको सकारात्मक मनोवृत्ति, विश्‍वसनीयता र शारीरिक शक्‍तिलाई विचार गर्नुहोस्‌। यद्यपि, यहोवाले कालेबलाई मोशाका उत्तराधिकारीको रूपमा छान्‍नुभएन। यो विशेषाधिकार त यहोशूलाई दिइयो। यहोवाले यहोशूलाई छान्‍नुका ठोस कारणहरू थिए अनि त्यो उत्तम छनौट थियो भनी हामी विश्‍वस्त हुनसक्छौं।

१७. कस्ता कारणले पत्रुस जिम्मेवारी वहन गर्न अयोग्यजस्ता देखिन्थे?

१७ प्रेरित पत्रुसले आफ्नो मालिकलाई तीनपल्ट इन्कार गरे। साथै, तिनले आवेशमा आएर परिस्थितिलाई आफ्नै हातमा लिए अनि मुख्य पूजाहारीका नोकरको कान च्वाट्टै काटिदिए। (मत्ती २६:४७-५५, ६९-७५; यूहन्‍ना १८:१०, ११) कसै कसैले पत्रुस त डरपोक, असन्तुलित र विशेषाधिकार पाउन लायकका थिएनन्‌ भन्लान्‌। यद्यपि, कसलाई तीन समूहका मानिसहरूको निम्ति स्वर्गीय बोलावटको बाटो खोल्ने विशेषाधिकारसहित राज्यका साँचोहरू दिइयो? पत्रुसलाई।—प्रेरित २:१-४१; ८:१४-१७; १०:१-४८.

१८. यहूदाले बताएअनुसार हामी कस्तो गल्ती गर्नदेखि अलग रहनुपर्छ?

१८ यी उदाहरणहरूले बाहिरी रूपरंग हेरेर न्याय गर्नदेखि हामी होसियार हुनैपर्छ भनेर देखाउँछ। हामी यहोवामाथि भरोसा राख्छौं भने उहाँका छनौटहरूमा शंका गर्नेछैनौं। उहाँको पार्थिव मण्डली असिद्ध मानिसहरूद्वारा बनिएको भए तापनि उहाँले तिनीहरूलाई पराक्रमी ढंगमा प्रयोग गरिरहनुभएको छ। तिनीहरू आफू चुक्दै नचुक्ने दाबी गर्दैनन्‌। येशूका सौतेनी भाइ यहूदाले प्रथम शताब्दीका मसीहीहरूलाई “प्रभुत्वलाई तुच्छ ठान्‍ने, उच्च पदाधिकारीहरूको निन्दा ग[र्नेहरूदेखि]” सावधान गराए। (यहूदा ८-१०) हामी कहिल्यै पनि तिनीहरूजस्तो हुनु हुँदैन।

१९. हामीसँग यहोवाका छनौटहरू ठीक छन्‌ कि छैनन्‌ भनी अड्‌कल काट्‌ने किन कारणै छैन?

१९ स्पष्टतः यहोवाले उहाँको इच्छाअनुसार आफ्ना जनहरूलाई डोऱ्‍याउनसक्ने विशेष योग्यता भएका व्यक्‍तिहरूलाई केही जिम्मेवारीहरू वहन गर्नको निम्ति छान्‍नुहुन्छ। हामी परमेश्‍वरको छनौट ठीक छ कि छैन सो अड्‌कल काटेर होइन तर यहोवाले दिनुभएको स्थानमा नम्रतासाथ सेवा गरेर यो तथ्य स्वीकार्ने कोसिस गर्छौं। यसो गरेर हामीले यहोवामाथि भरोसा राखेका छौं भनी देखाउनेछौं।—एफिसी ४:११-१६; फिलिप्पी २:३.

यहोवाको धार्मिकतामाथि भरोसा प्रदर्शित गर्ने

२०, २१. परमेश्‍वरले मोशासँग व्यवहार गर्नुभएको तरिकाबाट हामी के सिक्नसक्छौं?

२० कहिलेकाहीं हामी आफैमाथि बढी र यहोवामाथि चाहिं अलिअलि मात्र भरोसा राख्छौं भने मोशाबाट पाठ सिकौं। तिनी ४० वर्षको हुँदा इस्राएलीहरूलाई आफ्नै शक्‍तिको आडमा मिश्रको दासत्वबाट छुटकारा दिलाउन कम्मर कसे। निस्सन्देह, तिनले असल मनसायसहित उक्‍त कदम चालेका थिए तर त्यो कदमले न त इस्राएलीहरूलाई तत्कालै छुटकारा दिन सक्यो न तिनको परिस्थिति नै सुगम बन्यो। भनौं भने, तिनी त भाग्न पो बाध्य भए। विदेशी भूमिमा ४० वर्षसम्म कठिन प्रशिक्षण लिएपछि बल्ल तिनले पहिले चाहेको काम गर्न योग्यका भए। अब चाहिं यहोवाको समर्थन पाउने कुरामा तिनी विश्‍वस्त थिए। किनकि तिनले सो काम यहोवाको समय तालिकाअनुसार उहाँकै तौरतरिकामा गर्न लागेका थिए।—प्रस्थान २:११–३:१०.

२१ हामी प्रत्येकले आफैलाई यस्ता प्रश्‍न सोध्न सक्छौं: ‘के कुनै कुनै काम छिटछिटो र आफ्नै तौरतरिकामा गर्ने कोसिस गर्दै म कहिलेकाहीं यहोवा र मण्डलीका नियुक्‍त प्राचीनहरूलाई उछिन्‍ने गर्छु? कुनै कुनै विशेषाधिकारमा आफूलाई बेवास्ता गरिएको भन्ठान्‍नुको साटो आफूले लगातार पाइरहेको प्रशिक्षणलाई साँच्चै स्वीकार्छु?’ मुख्यतया, के हामीले मोशाबाट एउटा महत्त्वपूर्ण पाठ सिकेका छौं त?

२२. मोशाले महान्‌ विशेषाधिकार गुमाउनु परे तापनि यहोवाप्रति कस्तो विचार राखे?

२२ साथै, हामी मोशाबाट अर्को पाठ पनि सिक्नसक्छौं। गन्ती २०:७-१३ ले तिनको एउटा गल्तीबारे बताउँछ जसको तिनले ठूलो मोल चुकाउनुपऱ्‍यो। तिनले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउने विशेषाधिकार गुमाए। तब के यहोवाले अन्यायपूर्ण निर्णय गर्नुभयो भन्‍ने नकारात्मक प्रतिक्रिया तिनले देखाए त? परमेश्‍वरले आफूप्रति साह्रै अनुचित व्यवहार गर्नुभयो भन्ठानेर ठुस्स पर्दै तिनी अरूबाट अलग्गिए? के मोशाले यहोवाको धार्मिकतामाथि भरोसा गर्न छाडे? यसको जवाफ मोशाले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि इस्राएललाई भनेका शब्दहरूमा पाउँछौं। मोशाले यहोवाबारे यसो भने: “उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:४) निश्‍चय नै मोशाले जीवनको अन्तिम घडीसम्मै यहोवामाथि भरोसा राखे। हामी नि? के हामीले व्यक्‍तिगत रूपमा यहोवा र उहाँका धार्मिकतामाथिको भरोसा बलियो बनाउन पाइला चालेका छौं? हामी यो कसरी गर्नसक्छौं? आउनुहोस्‌, हामी हेरौं।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ इस्राएलीहरूसँग यहोवामाथि भरोसा राख्ने कस्ता कारणहरू थिए?

◻ भरोसा राख्ने सन्दर्भमा हामी अब्राहामबाट के सिक्नसक्छौं?

◻ किन यहोवाका छनौटहरू ठीक छन्‌ कि छैनन्‌ भनी अड्‌कल काट्‌नु हुँदैन?

[पृष्ठ १३-मा भएको चित्र]

यहोवामाथि भरोसा राख्नुमा मण्डलीमा अगुवाइ लिनेहरूलाई आदर गर्नु पनि समावेश छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने