स्थानीय परम्परा र मसीही सिद्धान्तहरू—के आपसमा बाझिन्छन्?
उत्तरी युरोपका साक्षी स्टिभन अफ्रिकामा मिसनरीको रूपमा खटाइए। बाटोमा हिंड्दै गर्दा स्थानीय भाइले तिनको हात च्याप्प समात्दा तिनी नराम्रोसित झस्किए।
व्यस्त सडकमा अर्को पुरुषको हात समातेर हिंड्ने सोचाइले मात्र पनि स्टिभन खङ्ग्रङ्ग भए। उनको संस्कृतिमा पुरुषगामीहरूले मात्र यसरी हात समात्ने गर्छन्। (रोमी १:२७) तर, त्यस अफ्रिकी भाइलाई यसरी हात समात्नु मित्रताको चिह्न सिवाय अरू केही थिएन। हात नसमात्नु बरु मित्रता गाँस्न नचाहने संकेत पो हुन्थ्यो।
विभिन्न संस्कृतिबीचका यस्ता भिन्नताहरूमा हामीले किन चासो लिनुपऱ्यो? प्रमुख कारण त, यहोवाका जनहरू “सबै देशका जातिहरूलाई चेला बनाओ” भनेर सुम्पिएको ईश्वरीय जिम्मेवारी पूरा गर्न उत्सुक छन्। (मत्ती २८:१९) यो काम पूरा गर्न केही व्यक्तिहरू आवश्यकता बढी भएको ठाउँमा सरेका छन्। तथापि, नयाँ वातावरणमा घुलमिल हुन त्यहाँको भिन्नै खालको संस्कृतिलाई बुझ्नैपर्छ, त्यसमा भिज्नैपर्छ। तब मात्र तिनीहरू त्यहाँका सँगी भाइबहिनीहरूसित मिलेर काम गर्नसक्नेछन् र जनसेवकाईमा अझ प्रभावकारी हुनसक्नेछन्।
यसबाहेक, संसारमा गोलमाल मच्चिरहेकोले थुप्रै मानिसहरू राजनैतिक वा आर्थिक समस्याहरूको कारण अन्य मुलुकहरूमा बसाइँ सरेका छन्। अतः यी नयाँ छिमेकीहरूलाई प्रचार गर्दा हामीले नयाँ परम्पराहरूको सामना गर्नुपर्ने पनि हुनसक्छ। (मत्ती २२:३९) सुरु सुरुमा यी विभिन्न नयाँ परम्पराहरूसित भिज्नुपर्दा हामी रनभुल्लमा पर्नसक्छौं।
सुस्पष्ट विषयहरू
मानव समाजलाई संस्कृतिको सुताले बुनेको छ। तसर्थ, “ज्यादै धर्मी” हुँदै स्थानीय चलन बाइबलका सिद्धान्तहरूसित बाझिन्छन् कि बाझिंदैनन् भनेर स-साना कुराहरूमा पनि किचकिच गरिरहनु कत्ति व्यर्थ छ!—उपदेशक ७:१६.
अर्कोतिर, ईश्वरीय सिद्धान्तहरू सरासर उल्लंघन गर्ने स्थानीय चलनहरूलाई राम्ररी चिन्नु आवश्यक छ। यद्यपि, “सच्याउनालाई” परमेश्वरको वचन उपलब्ध भएकोले सामान्यतया यसो गर्नु गाह्रो हुँदैन। (२ तिमोथी ३:१६) उदाहरणका लागि, केही मुलुकहरूमा बहुविवाह गर्ने चलन छ। तर धर्मशास्त्रीय सिद्धान्तअनुसार साँचो मसीहीहरूबीच एक पुरुषको एउटै जीवित पत्नी मात्र हुनुपर्छ।—उत्पत्ति २:२४; १ तिमोथी ३:२.
त्यसैगरि प्रेतात्मा भगाउने वा आत्मा अमर छ भन्ने विश्वासमा अन्त्येष्टिसम्बन्धी केही खास चलनहरू आधारित हुन्छन्, जुन साँचो मसीहीको निम्ति अस्वीकार्य हुन्छ। दुष्टात्मालाई भगाउन कसै कसैले मृतकको नाउँमा धूप-बत्ती बाल्ने वा प्रार्थना गर्ने गर्छन्। अन्य कतिपय भने मृतकलाई ‘अर्को संसारमा’ जीवन बिताउन मदत गर्ने हेतुले जाग्राम बस्छन् वा दोस्रो अन्त्येष्टिसमेत गर्छन्। तथापि, मृत्युपछि मानिसले “केही पनि जान्दैनन्” र यसकारण उसले कसैलाई हानि वा फाइदा गर्न सक्दैन भनेर बाइबलले सिकाउँछ।—उपदेशक ९:५; भजन १४६:४.
निस्सन्देह, परमेश्वरको वचनसित नबाझिने थुप्रै चलनहरू पनि छन्। अपरिचितलाई घरमा हार्दिक स्वागत गर्ने र आवश्यक परेमा बासै दिने चलन भएका र अतिथि सत्कार कायम राख्ने संस्कृति भएका मानिहरूबीच आफैलाई पाउनु कत्ति स्फूर्तिदायी हुन्छ! यस्तो व्यवहार पाउनुहुँदा के तपाईं पनि त्यस्तै उदाहरण पछ्याउन उत्प्रेरित हुनुहुन्न र? हुनुहुन्छ भने यसले पक्कै पनि तपाईंको मसीही व्यक्तित्वलाई निखार्नेछ।—हिब्रू १३:१, २.
हामीमध्ये कसलाई पर्खाइरहेको मन पर्छ र? केही मुलुकहरूमा समयनिष्ठ हुनु अत्यन्त महत्त्वपूर्ण ठानिने भएकोले पर्खिरहनुपर्ने अवस्था आउँदैन। बाइबल भन्छ, यहोवा सुव्यवस्थित परमेश्वर हुनुहुन्छ। (१ कोरिन्थी १४:३३) त्यसैकारण उहाँले दुष्टतालाई नाश गर्ने “दिन र घड़ी” तोक्नुभएको छ र “त्यसले ढीलो गर्नेछैन” भनेर उहाँ हामीलाई आश्वासन दिनुहुन्छ। (मत्ती २४:३६; हबकूक २:३) व्यवहारिक तवरमा समयनिष्ठ हुने संस्कृतिहरूले हामीलाई पनि व्यवस्थित हुन अनि मानिसहरू तथा तिनीहरूको समयको उचित कदर गर्न मदत गर्छ। यो कुरा धर्मशास्त्रीय सिद्धान्तसित मेल पनि खान्छ।—१ कोरिन्थी १४:४०; फिलिप्पी २:४.
अहानिकारक चलनहरूबारे चाहिं के भन्न सकिन्छ?
केही चलनहरू मसीही जीवनशैलीसित मेल खान्छन् भने अन्य कतिपय सरासर बाझिन्छन्। तर सही वा गलत छुट्याउन नसकिने चलनहरूबारे चाहिं के भन्न सकिन्छ? थुप्रै चलनहरू अहानिकारक हुन्छन् र तीप्रति हाम्रो दृष्टिकोण कस्तो छ, त्यसले हाम्रो आध्यात्मिक सन्तुलन प्रकट गर्छ।
उदाहरणका लागि, अभिवादन गर्ने थुप्रै तरिकाहरू छन्। जस्तै, हात मिलाउनु, प्रणाम गर्नु, म्वाइ खानु वा अंगालोसमेत हाल्नु आदि। त्यसैगरि, खानाखाने तरिकाहरू पनि फरक फरक छन्। केही मुलुकहरूमा सबैले एउटै थालमा वा एउटै भाँडोबाट खान्छन्। कतै कतै डकार्नु राम्रो मानिन्छ अर्थात् खाना मीठो छ भनेर बताउने तरिका भएकोले डकारेको मन पराइन्छ भने कतिपय ठाउँहरूमा भने त्यसो गर्नु अनुपयुक्त हुन्छ र असाध्यै अभद्र ठानिन्छ।
यस्ता चलनहरूमध्ये तपाईंलाई व्यक्तिगत तवरमा कुन चाहिं मन पर्छ र कुन मन पर्दैन, निर्णय गर्नुको साटो त्यसप्रति उचित दृष्टिकोण कसरी राख्ने, विचार गर्नुहोस्। बाइबलका सदावहार सल्लाहले हामीलाई ‘विरोध अथवा फोस्रो घमण्डले होइन तर नम्रतामा अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर,’ व्यवहार गर भन्ने सुझाउ दिन्छ। (फिलिप्पी २:३) त्यसैगरि, एल्यनर बोइकिनले आफ्नो पुस्तक कृपया यसरी गर्नुहोस्—शिष्टाचारसम्बन्धी किताब-मा (अंग्रेजी) यसो भनिन्: “तपाईंलाई चाहिने मुख्य कुरा नै दयालु मन हो।”
यो विनम्र भावले हामीलाई अरूका चलनहरू हेय दृष्टिले खिज्याउनदेखि जोगाउनेछ। हामी हिचकिचाउने छैनौं। अनि अरू मानिसहरू कसरी जीवन बिताउँछन् बुझ्न, उनीहरूको चलनमा भिज्न र ठाडै खान्न भन्नुका साटो टक्राएको खाना चाख्न वा अलि भिन्न देखिनेजत्ति सबै कुराहरूमा शंका उपशंका नगर्न उत्प्रेरित हुनेछौं। खुलस्त कुरा गरेर तथा नौलो तरिकाहरूमा भिज्न इच्छुक भएर हामी आतिथेयको वा विदेशी छिमेकीहरूको प्रशंसा गर्छौं। हाम्रो हृदय तथा मानसपटललाई “ठूला मनका” गराउँदा हामीलाई पनि फाइदा हुन्छ।—२ कोरिन्थी ६:१३.
चलनले आध्यात्मिक प्रगतिलाई नै बाधा दिन्छ भने
गैरशास्त्रीय छैन तर आध्यात्मिक उन्नतिमा बाधा पुऱ्याउने चलनहरूबारे के गर्ने? उदाहरणका लागि, केही मुलुकका मानिसहरू असाध्यै कामचोर हुन्छन्। यसरी जीवनलाई हल्कासित लिंदा तनाउ त कम होला तर यसले गर्दा सेवकाई ‘पूरा’ गर्न हामीलाई निकै गाह्रो हुनसक्छ।—२ तिमोथी ४:५.
“उजेलीपुजेली दिन गुमाई जुनेली रातमा बिस्कुन सुकाई” भनेजस्तै महत्त्वपूर्ण काम पर सार्ने बानी हटाउन हामी मानिसहरूलाई कसरी प्रोत्साहित गर्नसक्छौं? नबिर्सनुहोस्, “तपाईंलाई चाहिने मुख्य कुरा नै दयालु मन हो।” प्रेमले उत्प्रेरित भई हामीले उदाहरण बसाल्नसक्छौं र त्यसपछि भोलि भोलि नभनी आज गर्नुपर्ने काम आजै गर्दा के के फाइदा हुन्छ, मायालु ढंगमा बताउनसक्छौं। (उपदेशक ११:४) तर काम काम भन्दै पारस्परिक समझदारी तथा भरोसा हराउन नदिन पनि हामी सतर्क हुनैपर्छ। कसैले हाम्रो सुझाउ तुरुन्तै प्रयोगमा ल्याउँदैन भने तिनीहरूलाई हप्कीदप्की गर्नु हुँदैन। कार्यकुशलताभन्दा प्रेम अति महत्त्वपूर्ण हुनुपर्छ।—१ पत्रुस ४:८; ५:३.
स्थानीय रुचिलाई ध्यानमा राख्दै
कुनै पनि सुझाउ दिंदा त्यो मनासिब छ छैन विचार गर्न र हामीले आफ्नो व्यक्तिगत रुचि लाद्न खोजेका होइनौं भनेर पक्का गर्नु आवश्यक छ। उदाहरणका लागि, लुगा लगाउने शैलीमा आकास-जमीनको फरक हुन्छ। अधिकांश प्रान्तहरूमा सुसमाचार प्रचार गर्ने पुरुषले टाई लगाउनु उचित छ तर केही उष्ण प्रदेशीय मुलुकहरूमा टाई लगाउनु त अति नै औपचारिक ठानिन्छ। स्थानीय रुचिलाई ध्यानमा राख्दै जनसम्पर्कमा आइरहनुपर्ने व्यवसायिक व्यक्तिहरूले कस्तो पोशाक पहिरन्छन्, त्यो विचार गऱ्यौं भने मदतकारी निर्देशन पाउन सक्नेछौं। लुगाफाटाजस्ता संवेदनशील विषयमा कुरा गर्दा “भद्रता” देखाउनु अत्यावश्यक छ।—१ तिमोथी २:९, १०, नयाँ संशोधित संस्करण।
हामीलाई कुनै चलन मन पर्दैन भने के गर्ने? त्यसबारे राम्ररी विचारै नगरी तुरुन्तै मन नपराउने? त्यसो गर्नु आवश्यक छैन। सुरुमा उल्लेख गरिएझैं अफ्रिकाका केही खास समुदायमा पुरुषहरूले हात समातेर हिंड्ने चलन नौलो कुरा होइन। अरू पुरुषहरूले पनि हात समातेर हिंडिरहेको देख्दा उक्त मिसनरीलाई हलुका महसुस भयो।
प्रेरित पावल आफ्नो व्यापक मिसनरी यात्राको दौडान भिन्नाभिन्नै पृष्ठभूमिका सदस्यहरू मिलेर बनेका मण्डलीहरूमा गए। निस्सन्देह, तिनले विभिन्न चलनहरूको सामना गर्नुपऱ्यो। त्यसकारण, पावलले बाइबल सिद्धान्तलाई पक्रँदै आफूले पालन गर्नसक्ने जति चलनहरूअनुसार चले। तिनले भने, “कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर सबैका निम्ति म सबै कुरा भएँ।”—१ कोरिन्थी ९:२२, २३; प्रेरित १६:३.
नयाँ चलनहरूप्रति हामीले सही प्रतिक्रिया व्यक्त गर्न निम्न केही प्रासंगिक प्रश्नहरूले मदत गर्नसक्छन्। केही खास चलनहरूअनुसार गर्दा वा नगर्दा हामीले प्रत्यक्षदर्शीहरूलाई कस्तो असर पारिरहेका हुन्छौं? हामी तिनीहरूको चलनसित भिज्न खोजेको देखेर के तिनीहरू परमेश्वरको राज्य सन्देशप्रति आकर्षित हुनेछन्? अर्कोतिर, स्थानीय चलनअनुसार गरिहाल्यौं भने पनि के हाम्रो ‘सेवामा कलंक लाग्दैन?’—२ कोरिन्थी ६:३.
“सबैका निम्ति . . . सबै कुरा” हुन चाहन्छौं भने उचित अनुचितबारे गहिरोसित जरो गाडेका विचारधाराहरूलाई हामीले काँटछाँट गर्नुपर्ने हुनसक्छ। के गर्नु “सही” छ र के “गलत,” ती अक्सर हामी बसिरहेको ठाउँमा भर पर्छ। यसकारण, कुनै मुलुकमा पुरुषहरूले हात समात्नु मित्रताको चिह्न हो भने अन्य ठाउँहरूमा यसो गर्दा मानिसहरू परमेश्वरको सुसमाचार सुन्नदेखि पक्कै पनि तर्केर जालान्।
तथापि, त्यस्ता कतिपय चलनहरू पनि छन्, जो विभिन्न प्रान्तहरूमा स्वीकार्य मानिन्छन् र मसीहीहरूले पछ्याउनु उचितै हुनसक्ला। यद्यपि, सतर्क हुनैपर्छ।
सीमा नाघ्नदेखि होसियार हुनुहोस्!
चेलाहरूलाई यस संसारबाट लैजान नसकिए तापनि तिनीहरू ‘यस संसारको हुनुहुँदैन’ भनेर येशू ख्रीष्टले भन्नुभयो। (यूहन्ना १७:१५, १६) यद्यपि, कुनै कुनै कुरा शैतानको संसारको अभिन्न अंग हो वा संस्कृतिको कुरा मात्र हो भनी चिन्न कहिलेकाहीं त्यति सजिलो हुँदैन। उदाहरणका लागि, नाचगान प्रायः हरेक संस्कृतिको एउटा अंग भए तापनि केही मुलुकमा त्यसलाई बढ्तै महत्त्व दिइन्छ।
धर्मशास्त्रको निष्खोट तर्कहरूको आधारमा भन्दा पनि आफ्नै पृष्ठभूमिको आधारमा निर्णय गर्न हामीलाई निकै सजिलो हुनसक्छ। जर्मनीका एक भाइ आलेक्सलाई स्पेन जाने कार्यभार सुम्पियो। तिनको परम्परामा नाचगान त्यति लोकप्रिय नभए तापनि स्पेनमा नाच्नु गाउनु त परम्परा नै हो। स्पेन पुग्ने बित्तिकै एक जना भाइ र एउटी बहिनीले निकै उल्लासित हुँदै फ्लामेङ्को नृत्य गरेको देख्दा तिनको मनमा हलचल मच्चियो। के यो नृत्य खराब अथवा सांसारिक थियो कि? यो परम्परालाई पछ्याएमा के तिनले आफ्नो मसीही स्तरलाई निम्न कोटीको बनाइरहेका हुनेथिए कि? त्यहाँको नाचगान जर्मनीको भन्दा भिन्नै भए तापनि ती स्पेनी भाइबहिनीहरूले आफ्नो मसीही स्तरलाई निम्न कोटीको तुल्याइरहेका थिए भनेर अनुमान गर्ने कुनै कारण छैन भनेर आलेक्सले बुझे। संस्कृतिमा भएको भिन्नताले गर्दा तिनको मनमा हलचल मच्चिएको थियो।
तथापि, परम्परागत स्पेनी नृत्य भनेपछि हुरुक्कै हुने एमिल्यो नृत्यमा भएका खतरालाई राम्ररी बुझ्छन्। तिनी बताउँछन्, “कतिपय नाचहरूमा केटा र केटी टाँसिएरै नाच्नुपर्ने पनि हुन्छ। म अविवाहित हुँ, त्यसैले यस्ता नृत्यहरूले नर्तकनर्तकीमध्ये एक न एक जनालाई असर गर्नसक्छ भनेर मैले बुझेको छु। आफूलाई मन परेको व्यक्तिप्रति माया देखाउन कहिलेकाहीं नृत्यलाई आड बनाउन सकिन्छ। संगीत स्वास्थ्यकर छ, छैन पक्का गर्दा र जीउमा नटाँसिने हो भने सुरक्षित होइन्छ। तथापि, एकसाथ नाच्न अविवाहित भाइबहिनीहरू भेला भएका छन् भने त्यतिखेर ईश्वरीय वातावरण कायम राख्न असाध्यै गाह्रो छ भनेर त स्वीकार्नैपर्छ।”
हामी हाम्रो संस्कृतिलाई सांसारिक बानीव्यहोरामा चुर्लुम्म डुब्ने आड कदापि बनाउन चाहँदैनौं। इस्राएली संस्कृतिमा पनि नाचगान हुन्थ्यो र मिस्रबाट छुट्कारा पाउँदा इस्राएलीहरूले लाल समुद्रमा नाचेर तथा गाएर रमाइलो गरेका थिए। (प्रस्थान १५:१, २०) तथापि, तिनीहरूको नाचगान तिनीहरू वरपरको मूर्तिपूजकको जस्तो नभई भिन्नै थियो।
तर दुःखको कुरा, सिनै पर्वतमा उक्लेका मोशालाई पर्खंदा इस्राएलीहरूले अधीर भएर सुनको बाछो बनाए र खानपिन गरिसकेपछि तिनीहरू “लीला गर्नलाई उठे।” (प्रस्थान ३२:१-६) तिनीहरूको गानाबजानाको आवाज सुन्ने बित्तिकै मोशा र यहोशू व्याकुल भए। (प्रस्थान ३२:१७, १८) इस्राएलीहरूले “सीमा” नाघे र तिनीहरूको नाचगानले वरपरका मूर्तिपूजक संसारलाई प्रतिबिम्बित गर्न थाल्यो।
त्यसैगरि आज, हाम्रो इलाकामा नाचगानलाई सामान्य ठानिन्छ होला र नाच्दा गाउँदा अरूको अन्तस्करणमा चोट पर्दैन होला। तर बत्ती मधुरो पारिन्छ र झिलिक्क र मिलिक्क गर्ने चहकिला बत्तीहरू बालिन्छन् भने वा अर्कै पाराको बाजागाजा बजाइन्छ भने पहिले ठीकै ठानिएको त्यो गानाबजानाले संसारको आत्मा प्रतिबिम्बित गर्नसक्छ। कसै कसैले “यो त हाम्रो संस्कृति हो” भन्ने तर्क गर्लान्। “परमप्रभुको निम्ति एउटा चाड़” भन्दै मूर्तिपूजक मनोरञ्जन तथा उपासनालाई अनुमति दिंदा हारूनले पनि यस्तै बहाना बनाए। यो फितलो बहाना वैध थिएन। यहाँसम्म कि, तिनीहरूको आचरण “बैरीका सामने हाँसोको कारण” बन्यो।—प्रस्थान ३२:५, २५.
संस्कृतिको पनि आफ्नै ठाउँ छ
अनौठा चलनहरू देख्दा हामी सुरुमा झस्कौंला तर ती सबै अस्वीकार्य छन् भन्ठान्नु आवश्यक छैन। आफ्ना “ज्ञानेन्द्रियको अभ्यास[द्वारा]” कुन चलनहरू मसीही सिद्धान्तसित बाझ्छ र कुन बाझ्दैन हामीले पक्का गर्नसक्छौं। (हिब्रू ५:१४) सँगी मानवहरूप्रति हृदयभरिको माया प्रकट गर्दा अहानिकारक चलनहरूको सामना गर्नुपर्दा उचित प्रतिक्रिया व्यक्त गर्नसक्नेछौं।
स्थानीय इलाकामा वा अन्त कतै मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दा चलनहरूको विविधताप्रति सन्तुलित दृष्टिकोण राख्यौं भने हामी “सबैका निम्ति . . . सबै कुरा” हुनसक्नेछौं। संस्कृतिको विविधतालाई स्वीकार्दा निस्सन्देह, त्यसले हाम्रो जीवनलाई अर्थपूर्ण, रोचक तथा आकर्षक बनाउन सहयोग गर्नेछ।
[पृष्ठ २०-मा भएको चित्र]
मसीही अभिवादन विभिन्न तरिकाहरूमा उचित ढंगले व्यक्त गर्न सकिन्छ
[पृष्ठ २३-मा भएको चित्र]
संस्कृतिको विविधताप्रतिको सन्तुलित दृष्टिकोणले जीवन अर्थपूर्ण अनि रोचक बनाउनसक्छ