यरूशलेम—“महाराजाको शहर”
“कसम खाँदै नखाओ। . . . नता यरूशलेमको, किनकि त्यो महाराजाको शहर हो।”—मत्ती ५:३४, ३५.
१, २. यरूशलेमसम्बन्धी कुन कुराले कसै कसैलाई अलमल्लमा पार्नसक्छ?
यरूशलेम—नाउँ सुन्दा मात्र पनि विभिन्न धर्मावलम्बीहरूको मनमा गहिरा भावनाहरू पलाउँछन्। वास्तवमा अक्सर यो शहरबारे समाचारहरू सुन्न पाइने भएकोले यस पुरातन शहरलाई बेवास्ता गर्नसक्दैनौं। दुःखको कुरा, धेरैजसो यस्ता रिपोर्टले यरूशलेमलाई अशान्त ठाउँको रूपमा चित्रित गरेको छ।
२ यसले गर्दा बाइबलका केही पाठकहरू अलमल्लमा पर्नसक्छन्। उहिले उहिले यरूशलेमको छोटकरी नाउँ शालेम थियो, जसको अर्थ हो, “शान्ति।” (उत्पत्ति १४:१८; भजन ७६:२; हिब्रू ७:१, २) ‘त्यसोभए हालैका दशकहरूमा यस्तो नाउँ भएको शहरमा किन यत्तिका अशान्ति छ?’ भन्ने प्रश्न तपाईंको मनमा उब्जिनसक्छ।
३. यरूशलेमबारे भरपर्दो जानकारी हामी कहाँ पाउनसक्छौं?
३ यस प्रश्नको जवाफका लागि हामीले इतिहासको पाना पल्टाउनु र पुरातन समयको यरूशलेमबारे थाह पाउनु आवश्यक छ। तर कसै कसैलाई यस्तो लाग्नसक्छ, ‘पुरानो इतिहासबारे खोजीनिती गर्न हामीसित समय कहाँ छ र?’ तथापि, यरूशलेमको प्रारम्भिक इतिहासबारे सही ज्ञान हासिल गर्नु हामी सबैका लागि फाइदाजनक छ। किन, बाइबल यसो भन्छ: “किनकि जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्।” (रोमी १५:४) यरूशलेमबारे बाइबलको ज्ञानले हामीलाई सान्त्वना दिनसक्छ—हो, त्यस शहरमा मात्र होइन तर पृथ्वीभरि शान्तिको आशा दिनसक्छ।
‘यहोवाको सिंहासन’ भएको ठाउँ
४, ५. यहोवाको उद्देश्य पूरा गर्ने सन्दर्भमा यरूशमेललाई प्रमुख भूमिका निर्वाह गराउन दाऊदले कसरी मदत गरे?
४ सा.यु.पू. ११ औं शताब्दीमा यरूशलेम सुरक्षित तथा शान्त राष्ट्रको राजधानीको रूपमा विश्वविख्यात थियो। यहोवा परमेश्वरले ठिटो दाऊदलाई त्यस पुरातन राष्ट्र, इस्राएलको राजा अभिषेक गर्नुभयो। यरूशलेममा राज्यसत्ता पाएपछि दाऊद र तिनको शाही घराना ‘यहोवाको सिंहासनमा’ वा ‘यहोवाको राज्यधिकार लिएर सिंहासनमा बस्न’ पायो।—१ इतिहास २८:५; २९:२३.
५ यहूदा कुलका ईश्वरभीरु इस्राएली, दाऊदले यरूशलेमको मूर्तिपूजक यबूसीहरूमाथि विजय प्राप्त गरे। त्यतिखेर उक्त शहर सियोन डाँडामा मात्र अवस्थित थियो तर यो नाउँ यरूशलेमको पर्यायवाची हुन गयो। समयमा दाऊदले, इस्राएलसित यहोवाको करारको सन्दूक यरूशलेममा सारेका थिए र त्यहाँ त्यो पालमा राखिएको थियो। वर्षौंअघि, परमेश्वरले आफ्नो भविष्यवक्ता मोशासित त्यस पवित्र सन्दूकमाथि बादलहरूबीचबाट बोल्नुभएको थियो। (प्रस्थान २५:१, २१, २२; लेवी १६:२; १ इतिहास १५:१-३) त्यो सन्दूकले परमेश्वरको उपस्थितिलाई चिह्नित गर्थ्यो किनकि यहोवा नै इस्राएलको वास्तविक राजा हुनुहुन्थ्यो। तसर्थ, दुई अर्थमा, यहोवा परमेश्वरले यरूशलेम शहरबाट शासन गर्नुहुन्थ्यो भन्न सकिन्थ्यो।
६. दाऊद र यरूशलेमबारे यहोवाले के प्रतिज्ञा गर्नुभयो?
६ सियोन वा यरूशलेमले प्रतिनिधित्व गर्ने तिनको राजघरानाको अन्त कहिल्यै हुनेछैन भनी यहोवाले दाऊदसित प्रतिज्ञा गर्नुभयो। यसको अर्थ दाऊदका सन्तानले परमेश्वरको अभिषिक्त जन अर्थात् मसीह वा ख्रीष्टको हैसियतले सदासर्वदा शासन गर्ने अधिकार पाउने थियो।a (भजन १३२:११-१४; लूका १:३१-३३) ‘यहोवाको सिंहासनका’ यस स्थायी उत्तराधिकारीले यरूशलेममा मात्र नभई सम्पूर्ण राष्ट्रहरूमाथि शासन गर्नेछन् भनेर पनि बाइबल बताउँछ।—भजन २:६-८; दानियल ७:१३, १४.
७. राजा दाऊदले कसरी शुद्ध उपासना अझ फैलाए?
७ परमेश्वरले अभिषेक गर्नुभएको राजा दाऊदलाई सत्ताबाट हटाउन गरिएको कोसिस व्यर्थ साबित भयो। बरु, शत्रु राष्ट्रहरू परास्त भए र प्रतिज्ञा गरिएको देशको सिमाना परमेश्वरले तोक्नुभएको क्षेत्रसम्म फैलँदै गयो। दाऊदले यस मौकाको फाइदा उठाउँदै साँचो उपासना अझ फैलाए। दाऊदका थुप्रै भजनहरूमा यहोवालाई सियोनको वास्तविक राजाको रूपमा प्रशंसा गरिएको छ।—२ शमूएल ८:१-१५; भजन ९:१, ११; २४:१, ३, ७-१०; ६५:१, २; ६८:१, २४, २९; ११०:१, २; १२२:१-४.
८, ९. राजा सुलेमानको शासनकालमा यरूशलेममा साँचो उपासना कसरी फैलियो?
८ दाऊदका छोरा सुलेमानको शासनकालमा यहोवाको उपासना अझ विस्तृत पारियो। सुलेमानले मोरीयाह डाँडालाई (हाल डोम अफ द रक भएको ठाउँ) गाभ्दै यरूशलेमको सिमाना उत्तरतिर बिस्तार गरे। यो अग्लो ठाउँमा तिनले यहोवाको प्रशंसामा एउटा भव्य मन्दिर बनाउने विशेषाधिकार पाए। अनि यस मन्दिरको महा पवित्र स्थानमा करारको सन्दूक राखियो।—१ राजा ६:१-३८.
९ यरूशलेममा केन्द्रित यहोवाको उपासनालाई सम्पूर्ण हृदयले समर्थन गर्दा इस्राएल राष्ट्रमा चारैतिर शान्ति छायो। यस अवस्थालाई धर्मशास्त्रमा यस्तो मनोहर वर्णन गरिएको छ: “यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैं असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र सुखसित रहन्थे। . . . किनभने . . . [सुलेमानले] चारैतिर मेल-मिलाप राखेका थिए। तिनको राजत्वकालभरिनै यहूदा र इस्राएलमा शान्ति थियो, . . . हरेक मानिसले आफ्नो आफ्नै दाखबारी र नेभाराका बोटमनि सुखपूर्वक दिन बिताउँथे।”—१ राजा ४:२०, २१, २४, २५.
१०, ११. सुलेमानले शासन गर्दा यरूशलेमबारे बाइबलले बताएको विवरणको ठोस प्रमाण पुरातत्त्वले कसरी पेश गऱ्यो?
१० सुलेमानको शासनकाल समृद्धशाली थियो भन्ने यो विवरणलाई पुरातात्त्विक उत्खननले पनि समर्थन गर्छ। दी आर्कियोलोजी अफ द ल्याण्ड अफ इस्राएल, नामक आफ्नो पुस्तकमा प्राध्यापक योहान आहारोनीले बताए: “राजढुकुटीमा चारैतिरबाट ओइरिएका धनसम्पत्ति र फल्दोफुल्दो व्यापारले हर क्षेत्रमा निकै द्रुत उन्नति तथा उत्थान भयो। . . . विलासी सामग्रीहरूमा मात्र होइन तर विशेषगरि माटोबाट बनाइने सामानहरूमा पनि यो उन्नति तथा सम्पन्नतामा प्रस्टै देखियो। . . . माटोका भाँडाहरूको गुणस्तर तथा त्यसलाई पोल्ने काममा बृहत् विकास भएको थियो।”
११ त्यसैगरि जेरी एम. लान्डे लेख्छन्: “विगत २०० वर्षमा भन्दा सुलेमानको शासनकालका तीन दशकहरूमा इस्राएलीहरू भौतिक तवरमा निकै समृद्ध भए। विशाल निर्माणकार्य, अग्ला अग्ला पर्खालहरू भएका ठूलठूला शहरहरू, च्याउजस्तै उम्रिएका धनाढ्यहरूका भव्य घरहरू, कुमालेको भाँडो विकसित सीप सुलेमानले शासन गरेका स्थानहरूमा उत्खनन गर्दा भेट्टिएका छन्। टाढा टाढा इलाकामा बनाइएका हस्तकलाहरू पनि भेटिएका छन्, जसले अन्तरराष्ट्रिय वाणिज्य तथा व्यापार विस्तृत तवरमा हुन्थ्यो भनेर संकेत गर्छन्।—दाऊदको घराना (अंग्रेजी)।
शान्तिदेखि उजाडसम्म
१२, १३. साँचो उपासना यरूशलेममा कसरी फस्टाइरहन सकेन?
१२ यहोवाको उपासना गर्ने थलो भएको यरूशलेम शहरको शान्ति र समृद्धिको निम्ति प्रार्थना गर्नु उपयुक्त थियो। दाऊदले लेखे: “यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर। तँलाई माया गर्नेहरूको उन्नति होस्। तेरा पर्खालभित्र शान्ति होस्। र तेरा महलहरूभित्र उन्नति होस्। मेरा भाइहरू र मित्रहरूका निम्ति ‘तँभित्र शान्ति होस्’ भनेर अब म भन्नेछु।” (भजन १२२:६-८) शान्तिको शहर यरूशलेममा सुलेमानले भव्य मन्दिर निर्माण गर्ने विशेषाधिकार पाएको भए तापनि पछि तिनले मूर्तिपूजक थुप्रै स्त्रीहरूसित विवाह गरे। बुढेसकालमा उनीहरूले तिनलाई त्यतिखेरका झूटा देवताहरूको उपासना गर्न बहकाए। यो धर्मत्यागी कार्यले सम्पूर्ण राष्ट्रलाई विकृत पाऱ्यो। शहर र त्यहाँका बासिन्दाहरूको साँचो शान्ति हरण भयो।—१ राजा ११:१-८; १४:२१-२४.
१३ सुलेमानको छोरा रहबामको शासनकालको सुरुमा दस कुलले विद्रोह गरेर इस्राएलमा उत्तरी राज्य स्थापित गरे। मूर्तिपूजा गरेको कारण परमेश्वरले तिनीहरूलाई अश्शूरीहरूको हातमा सुम्पिदिनुभयो। (१ राजा १२:१६-३०) यहूदाको दक्षिणी दुई राज्य भने यरूशलेममै सीमित रह्यो। तर समयको क्रममा तिनीहरू पनि शुद्ध उपासनाबाट तर्के र परमेश्वरले त्यस पथभ्रष्ट शहरलाई सा.यु.पू. ६०७ मा बेबिलोनीहरूको हातबाट नाश गराउनुभयो। निर्वासित यहूदीहरूले ७० वर्षसम्म बेबिलोनमा कैदीको रूपमा निरुत्साहित जीवन बिताउनुपऱ्यो। त्यसपछि यहोवाको कृपा पाएर तिनीहरूले यरूशलेम फर्कने र साँचो उपासना पुनर्स्थापित गर्ने अनुमति पाए।—२ इतिहास ३६:१५-२१.
१४, १५. बेबिलोनमा निर्वासित भएपछि यरूशलेमले कसरी फेरि प्रमुख भूमिका निर्वाह गर्नसक्यो तर कस्ता परिवर्तनहरू भए?
१४ सत्तरी वर्षसम्म उजाड रहेकोले ती भत्किएका भवनहरूमा जताततै झारपातहरू हलक्क उम्रिए होलान्। यरूशलेमको पर्खाल भत्किसकेको थियो, कुनै समय ढोकाहरू तथा खाँबोहरू भएका ठाउँहरू अब ह्वाङगै थिए। तैपनि, फर्केका यहूदीहरू निरुत्साहित भएनन्। पहिले मन्दिर रहेको ठाउँनेर तिनीहरूले वेदी खडा गरे र यहोवालाई दिनदिनै बलिदान चढाउन थाले।
१५ यो राम्रो सुरुआत थियो तर भर्खरै पुनर्स्थापित भएको यो यरूशलेम, राजा दाऊदको सन्तानले राजगद्दी सँभाल्ने राज्यको राजधानी भने फेरि कहिल्यै हुने थिएन। बरु, ती यहूदीहरू बेबिलोनी विजयीहरूले नियुक्त गरेका राज्यपालको अधीनमा रहे र तिनीहरूले आफ्ना फारसी मालिकहरूलाई कर तिर्नुपर्थ्यो। (नहेम्याह ९:३४-३७) “कुल्चीमिल्ची” गरिएको भए तापनि यरूशलेम पृथ्वीभरि अझै पनि यहोवा परमेश्वरको विशेष अनुमोदन प्राप्त शहर थियो। (लूका २१:२४) शुद्ध उपासनाको केन्द्रबिन्दु भएको हुँदा यसले राजा दाऊदको सन्तान मार्फत सारा पृथ्वीभरि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने अधिकार परमेश्वरसित छ भनेर पनि चित्रण गर्थ्यो।
झूटो धर्म मान्ने छिमेकीहरूको विरोध
१६. बेबिलोनबाट फर्केका यहूदीहरूले यरूशलेम पुनर्निर्माण गर्ने काम किन बन्द गरे?
१६ यरूशलेमको निर्वासनबाट फर्केका यहूदीहरूले केही समयभित्रै नयाँ मन्दिरको जग बसाले। तर वरपरका झूटो धर्म मान्नेहरूले फारसी राजा आर्टजारसेजलाई यहूदीहरूले विद्रोह गर्नेछन् भनी गलत कुरा गरे। फलस्वरूप, आर्टजारसेजले यरूशलेमको निर्माणमा रोक्का गरिदिए। त्यतिखेर तपाईं पनि त्यस शहरमा हुनुभएको भए यरूशलेमको भविष्य कस्तो हुने होला भनेर तपाईं पक्कै पनि अन्योलमा पर्नुहुन्थ्यो। परिणाम के भयो भने, यहूदीहरूले मन्दिर निर्माण गर्न छाडे र धनसम्पत्ति थुपार्ने काममा व्यस्त हुन थाले।—एज्रा ४:११-२४; हाग्गै १:२-६.
१७, १८. यहोवाले कुन माध्यमद्वारा यरूशलेम पुनर्निर्माण गरिसिध्याउनुभयो?
१७ तिनीहरू फर्केको लगभग १७ वर्षपछि परमेश्वरले आफ्ना जनहरूको विचार सच्याउन हाग्गै र जकरिया अगमवक्ताहरूलाई खडा गर्नुभयो। पश्चाताप गरेर यहूदीहरूले फेरि मन्दिर बनाउन थाले। त्यतिञ्जेल दारा फारसका राजा भइसकेका थिए। कोरस राजाले यरूशलेमको मन्दिर पुनर्निर्माण गर्न दिएको आदेशलाई तिनले पुष्टि गरे। दाराले यहूदीहरूका छिमेकीहरूलाई ‘यरूशलेमबाट अलग रहनू’ र शाही कोषबाटै निर्माण खर्च बेहोर्नू भन्ने आदेशसहितको पत्र पठाए।—एज्रा ६:१-१३.
१८ यहूदीहरूले बेबिलोनबाट फर्केको २२ औं वर्षमा मन्दिर निर्माण पूरा गरे। अतः यो ऐतिहासिक निर्माण असाध्यै रमाइलोगरि मनाउनुपर्ने कारण तपाईं बुझ्न सक्नुहुन्छ। यद्यपि, अझै पनि निकै हदसम्म यरूशलेम र त्यसका पर्खालहरू अझै पनि जीर्ण अवस्थामै थिए। “राज्यपाल नहेम्याह र पूजाहारी शास्त्री एज्राका पालामा” उक्त शहरलाई चाहिंदो मात्रामा ध्यान दिइयो। (नहेम्याह १२:२६, २७) प्राप्त प्रमाणअनुसार सा.यु.पू. पाँचौं शताब्दीको अन्तसम्ममा यरूशलेम पुरातन संसारको प्रमुख शहरको रूपमा पुनर्निर्माण गर्ने काम पूरा भयो।
मसीह देखा पर्छन्!
१९. मसीहले यरूशलेमको अनुपम प्रतिष्ठालाई कसरी स्वीकार्नुभयो?
१९ यद्यपि, अब केही शताब्दीलाई उछिन्दै विश्वका लागि महत्त्वपूर्ण घटना, येशू ख्रीष्टको जन्मलाई हेरौं। यहोवा परमेश्वरको स्वर्गदूतले येशूकी कुमारी आमालाई यसो भनेका थिए: “परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। . . . उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३२, ३३) वर्षौंपछि येशूले प्रसिद्ध डाँडाको उपदेश दिनुभयो। त्यतिखेर उहाँले विभिन्न विषयहरूमा प्रोत्साहन तथा सल्लाह दिनुभयो। उदाहरणका लागि, उहाँले आफ्ना श्रोताहरूलाई परमेश्वरसित गरेको भाकल पूरा गर्नू र झट्टै कसम खाइ नहाल्न होस पुऱ्याउनू भनी आग्रह गर्नुभयो। येशूले भन्नुभयो: “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘तँ आफैले झूटो कसम नखा, तर परमप्रभुको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर्।’ तर म तिमीहरूलाई भन्दछु, कसम खाँदै नखाओ। नता स्वर्गको नाउँमा किनकि त्यो परमेश्वरको सिंहासन हो। नता पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो। नता यरूशलेमको, किनकि त्यो महाराजाको शहर हो।” (मत्ती ५:३३-३५) यरूशलेमले शताब्दीयौंअघि पाएको अनुपम प्रतिष्ठालाई येशूले यसरी स्वीकार्नु उल्लेखनीय छ। हो, त्यो यहोवा परमेश्वर, अर्थात्, “महाराजाको शहर हो।”
२०, २१. यरूशलेमका बासिन्दाहरूको मनोवृत्तिमा कस्तो नाटकीय परिवर्तन भयो?
२० आफ्नो पार्थिव जीवनको अन्ततिर येशूले यरूशलेमवासीसामु आफैलाई विधिवत् अभिषिक्त राजाको रूपमा प्रस्तुत गर्नुभयो। त्यस रोमाञ्चक घडीमा थुप्रै रमाउँदै चिच्याए: “होसन्ना! धन्य तिनी, जो परमप्रभुको नाउँमा आउनुहुन्छ।”—मर्कूस ११:१-१०; यूहन्ना १२:१२-१५.
२१ तथापि, हप्तादिनभरिमै यो जमात यरूशलेमका धार्मिक नेताहरूको फुस्लाइमा परेर येशूको विरुद्धमा खडा भए। यरूशलेम शहर र सम्पूर्ण राष्ट्रले परमेश्वरको अनुमोदन गुमाउनेछ भनेर उहाँले चेताउनी दिनुभयो। (मत्ती २१:२३, ३३-४५; २२:१-७) उदाहरणका लागि, येशूले यस्तो घोषणा गर्नुभयो: “ए यरूशलेम, ए यरूशलेम तँ जो अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुंगाले हान्ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामनि बटुल्छ, त्यसरीनै कत्तिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्। हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड़ छोड़िनेछ।” (मत्ती २३:३७, ३८) सा.यु. ३३ को निस्तार चाडको बेला येशूका विरोधीहरूले यरूशलेमबाहिर निर्ममतापूर्वक उहाँको हत्या गराए। यद्यपि, यहोवाले आफ्नो अभिषिक्त जनको पुनरुत्थान गर्नुभयो स्वर्गीय सियोनमा अमर आत्मिक जीवन दिएर उहाँलाई महिमित पार्नुभयो। अनि यो प्रबन्धबाट हामी सबैले फाइदा उठाउनसक्छौं।—प्रेरित २:३२-३६.
२२. येशूको मृत्युपछि यरूशलेमसम्बन्धी थुप्रै विषयहरू कुन ढंगमा लागू भए?
२२ त्यसबेलादेखि यता, सियोन वा यरूशलेमसम्बन्धी पूरा नभएका अधिकांश भविष्यवाणीहरू अब उप्रान्त स्वर्गीय प्रबन्धहरू वा येशूका अभिषिक्त अनुयायीहरूमा लागू हुन्छन् भनेर बुझ्न सकिन्छ। (भजन २:६-८; ११०:१-४; यशैया २:२-४; ६५:१७, १८; जकरिया १२:३; १४:१२, १६, १७) येशूको मृत्युपछि “यरूशलेम” वा “सियोन” सम्बन्धी लेखिएका थुप्रै विषयहरूको लाक्षणिक अर्थ भएको र ती साँच्चैको शहर वा ठाउँमा प्रयोग नहुने प्रस्टै देखिएको छ। (गलाती ४:२६; हिब्रू १२:२२; १ पत्रुस २:६; प्रकाश ३:१२; १४:१; २१:२, १०) यरूशलेम “महाराजाको शहर” रहिरहेन भन्ने ठूलो तथा अन्तिम प्रमाण सा.यु. ७० मा देखियो। दानियल तथा येशू ख्रीष्टले भविष्यवाणी गर्नुभएझैं त्यतिखेर रोमी सेनाले यरूशलेमलाई उजाड पारे। (दानियल ९:२६; लूका १९:४१-४४) पार्थिव यरूशलेमले कुनै समय यहोवा परमेश्वरको जुन विशेष अनुमोदन प्राप्त गरेको थियो त्यो फेरि पाउनेछ भनेर नता बाइबल लेखकहरूले बताए न येशू आफैले नै केही भन्नुभयो।—गलाती ४:२५; हिब्रू १३:१४.
चिरकालीन शान्तिको पूर्व झलक
२३. यरूशलेमबारे अझै पनि किन चासो लिनुपर्छ?
२३ यरूशलेमको प्रारम्भिक इतिहासलाई पुनरावलोकन गरेपछि राजा सुलेमानको शासनावधीमा उक्त शहर आफ्नो नाउँअनुरूपको अर्थात् “दुइतर्फी शान्तिको ठाउँ [अथवा, जग]” थियो भनी कसैले नकार्न सक्दैन। यद्यपि, पार्थिव प्रमोदवनमा परिणत गरिएको पृथ्वीमा परमेश्वर प्रेमीहरूले अब चाँडै आनन्द उठाउन लागेको शान्ति र समृद्धिको त्यो एक पूर्व झलक थियो।—लूका २३:४३.
२४. सुलेमानको शासनकालमा व्याप्त अवस्थाहरूबाट हामी के सिक्नसक्छौं?
२४ राजा सुलेमानको शासनकालको अवस्था भजन ७२ ले प्रतिबिम्बित गर्छ। तर यो मीठो गीत मसीह, येशू ख्रीष्टको स्वर्गीय शासनअन्तर्गत मानिसजातिले पाउने आशिष्हरूका भविष्यसूचक शब्दहरू हुन्। येशू ख्रीष्टबारे भजनरचयिताले यस्तो गीत गाए: “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ। . . . दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ। पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ।”—भजन ७२:७, ८, १२-१४, १६.
२५. यरूशलेमबारे अझ थुप्रै कुराहरू जान्न किन इच्छुक हुनुपर्छ?
२५ यरूशलेम तथा पृथ्वीका अन्य भूभागहरूमा बसोबास गर्ने परमेश्वर प्रेमीहरूले यी शब्दहरूबाट साह्रै सान्त्वना एवम् आशा पाउँछन्! परमेश्वरको मसीही राज्य शासनअन्तर्गत पृथ्वीभरि छाउने शान्तिको आनन्द उठाउनेहरूमध्ये तपाईं पनि हुन सक्नुहुन्छ। यरूशलेमको इतिहासबारे जानकारी लिंदा त्यसले मानिसजातिको निम्ति परमेश्वरको उद्देश्य बुझ्न मदत गर्नसक्छ। यसपछिका लेखहरू यहूदीहरू बेबिलोनको निर्वासनबाट फर्केपछि सातौं र आठौं दशकहरूमा भएका घटनाहरूमा केन्द्रित हुनेछन्। महान् राजा यहोवा परमेश्वरले ग्रहणयोग्य उपासना गर्न चाहने जति सबैलाई यसले सान्त्वना दिन्छ।
[फुटनोट]
a (हिब्रूबाट लिइएको) “मसीह” तथा (युनानीबाट लिइएको) “ख्रीष्ट” दुवै पदहरूको अर्थ “अभिषिक्त जन” हो।
के तपाईंले सम्झनुभएको छ?
◻ यरूशलेम कसरी ‘यहोवाको सिंहासनको’ ठाउँ हुनगयो?
◻ साँचो उपासनालाई बढाउन सुलेमानले कस्तो अर्थपूर्ण भूमिका निर्वाह गरे?
◻ यरूशलेम यहोवाको उपासनाको केन्द्र हुन छोड्यो भनेर हामी कसरी भन्नसक्छौं?
◻ यरूशलेमबारे अझ धेरै कुराहरू जान्न हामी किन उत्सुक छौं?
[पृष्ठ १०-मा भएको चित्र]
दाऊदको शहर दक्षिणी ढिस्कोमा थियो तर सुलेमानले शहरलाई उत्तरतिर बिस्तार गरे र मन्दिर निर्माण गरे
[स्रोत]
Pictorial Archive (Near Eastern History) Est.
[पृष्ठ ८-मा भएको चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.