दारा—न्याय गर्न जान्ने राजा
आफूले थालेको निर्माण योजनाको घमण्ड गर्दै एक प्रशिद्ध राजाले एक चोटि यसो भने: “मैले बेबिलोनको पूर्वपट्टि एकदमै पक्का पर्खाल खडा गरें। मैले एउटा किल्ला बनाएँ . . . अलकत्रा र इँटाहरूले पहाडझैं निश्चल पर्खाल बनाएँ।” हो, बेबिलोनी राजा नबूकदनेसरले धेरै खर्च गरेर निर्माण कार्य गर्नुका साथै आफ्नो साम्राज्यको राजधानी मजबुत बनाउन कडा परिश्रम गरे। तर तिनले कल्पना गरेजस्तो बाबेल अजेय हुन सकेन।
उक्त कुरा सा.यु.पू. ५३९, अक्टोबर ५ मा साबित भयो। त्यस दिन फारसी शासक कोरेस द्वितीयले मादी सेनाहरूसँग मिलेर बाबेललाई परास्त गरे अनि कल्दी शासक बेलसजरलाई मृत्युदण्ड दिए। अब भर्खरै परास्त गरेको शहरको प्रथम शासक को हुने? शहर परास्त हुँदा परमेश्वरको अगमवक्ता दानियल शहरमै थिए। तिनले लेखे: “दाराले त्यो राज्य लिए। दारा राजा त्यस बेला बासट्ठी वर्षका थिए।”—दानियल ५:३०, ३१.
दारा को थिए? तिनी कस्ता शासक साबित भए? तिनले बाबेलको कैदमा ७० वर्षभन्दा बढी समय बिताइसकेका अगमवक्ता दानियलसित कस्तो व्यवहार गरे?
थोरै इतिहास भएको राजा
मादी दाराको विषयमा ऐतिहासिक जानकारी एकदमै थोरै छन्। मादीहरूले प्रायः केही कुराको पनि लिखित लेखोट राखेनन्। यसबाहेक, मध्यपूर्वमा पत्ता लागेका हजारौं कीलाक्षर शिलाहरूबीच समयको ठूलो अन्तर भएकोले त्यसले पूरा इतिहास बताउँदैन। अस्तित्वमा रहेका अन्य प्राचीन सांसारिक लेखोटहरू एकदमै कम छन् अनि ती लेखोटहरू दारासित सम्बन्धित घटनाहरूभन्दा एक शताब्दी अघि या पछिका हुन्।
यद्यपि, प्राप्त प्रमाणअनुसार फारसका शासक कोरेस द्वितीयले मादी देशको राजधानी इकबटनालाई आफ्नो कब्जामा लिएपछि मादीहरूको विश्वास जित्न सफल भए। तत्पश्चात्, कोरेसको नेतृत्वमा मादी र फारसीहरूले संयुक्त रूपमा लडे। तिनीहरूको सम्बन्धबारे लेखक रबर्ट कोलिन्स आफ्नो पुस्तक मादी र फारसीहरू-मा (अंग्रेजी) लेख्छन्: “फारसीहरू जस्तो अवस्थामा थिए मादीहरू पनि त्यस्तै अवस्थामा शान्तिसँग रहन्थे। मादी र फारसी दुवै निजामती सरकारको उच्च ओहदामा अनि फारसी सेनाको सेनापतिको रूपमा नियुक्त हुन्थे। विदेशीहरूले मादी र फारसीहरूको विषयमा कुरा गर्दा को हार्नेहरू हुन् अनि को जित्नेहरू, केही छुट्याउँदैनथे।” अतः मादी देश फारस देशसँग गाभिएर मादी-फारसी साम्राज्य भयो।—दानियल ५:२८; ८:३, ४, २०.
निस्सन्देह, बाबेललाई परास्त गर्नमा मादीहरूले ठूलो भूमिका निर्वाह गरे। धर्मशास्त्रले ‘मादी वंशमा जन्मेका अहासूरसको छोरा दारा’ बाबेलमाथि शासन गर्ने मादी-फारसी साम्राज्यको प्रथम शासक थिए भनी बताउँछ। त्यतिखेर बाबेल पनि मादी-फारसी साम्राज्यमा नै पर्थ्यो। (दानियल ९:१) तिनले ‘मादी फारसीहरूको कानुनअनुसार अदल-बदल हुन नपाउनेगरि’ कानुन बनाउनसक्ने राजकीय अधिकार पाएका थिए। (दानियल ६:८) बाइबलले दाराबारे जे जति बताउँछ त्यसले तिनको व्यक्तित्वको झलक दिनुका साथै तिनीसँग सम्बन्धित सांसारिक जानकारी नहुनुको कारण पनि बताउँछ।
दानियल निगाह पाउँछन्
बाइबल भन्छ, दाराले बाबेलमा अधिकार जमाउनासाथ ‘आफ्नो समस्त राज्यमा एक सय बीस जना प्रान्तीय बड़ा-हाकिम नियुक्त गरे। तिनीहरूमाथि तीन जना मुख्य मंत्री नियुक्त गरे। यी तीन जनामध्ये दानियल एक थिए।’ (दानियल ६:१, २) तथापि, दानियलले उच्च ओहदा पाउँदा अन्य पदाधिकारीहरूलाई साह्रै नमीठो लाग्यो। निस्सन्देह, तिनको इमानदारीले गर्दा भ्रष्टाचार हुन पाएन। फलतः वैमनस्य उत्पन्न भयो। राजाले दानियललाई निगाह गरेर प्रधानमन्त्री बनाउने विचार गरेकोले पनि उच्च पदाधिकारीहरू ईर्ष्याले जलेका हुनुपर्छ।
यस्तो परिस्थितिको अन्त गर्ने आशामा दुई पदाधिकारी र प्रान्तीय बडा हाकिमहरूले कानुनी पासो बनाए। तिनीहरू राजाकहाँ गएर ३० दिनभित्र दारालाई बाहेक “अरू कुनै देवता वा मानिसलाई बिन्ती–प्रार्थना” गर्न नपाउने उर्दीमा हस्ताक्षर गर्न लगाए। तिनीहरूले उक्त उर्दी उल्लंघन गर्नेलाई सिंहको खोरमा हाल्ने प्रस्ताव राखे। यस्तो उर्दी हरेक ओहदाका सरकारी पदाधिकारीहरूलाई राम्रै लाग्नेछ अनि उक्त प्रस्तावले तिनीहरू राजाप्रति वफादारी छन् कि छैनन् भनेर प्रकट गर्नेछन् भन्ने तिनीहरूको तर्क दाराले पत्याए।—दानियल ६:१-३, ६-८.
दाराले उक्त उर्दीमा हस्ताक्षर गरे अनि तुरुन्तै त्यसको नतिजा पनि देखियो। दानियल उक्त उर्दी उल्लंघन गर्ने पहिलो व्यक्ति भए किनकि तिनले परमेश्वर यहोवालाई प्रार्थना गर्न छाडेनन्। (प्रेरित ५:२९ तुलना गर्नुहोस्।) राजाले आफ्नो अपरिवर्तनीय उर्दीबाट बचाउने हर प्रयास गरे तापनि विश्वासी दानियललाई सिंहको खोरमा हालियो। दानियलको परमेश्वरसँग अगमवक्तालाई बचाउनसक्ने शक्ति छ भनेर दाराले आफ्नो विश्वास व्यक्त गरे।—दानियल ६:९-१७.
ननिदाइ रातभर उपवास बसेपछि दारा बिहान हतारपतार सिंहको खोरनेर गए। दानियललाई जीवित र केही पनि हानि नभएको देख्दा तिनी कत्ति खुसी भए! राजाले दानियलमाथि आरोप लगाउनेहरू र तिनीहरूका परिवारलाई सिंहको खोरमा हालिदिए। साथै तिनले आफ्नो “साम्राज्यभरि मानिसहरूले दानियलका परमेश्वरको भय मानून् र उहाँलाईनै श्रद्धा देऊन्” भन्ने ऐन पनि निकाले।—दानियल ६:१८-२७.
स्पष्टतः, दारा दानियलको परमेश्वर र धर्मको सम्मान गर्थे अनि गलत कार्यको न्याय गर्न तत्पर थिए। यद्यपि, दानियलमाथि आरोप लगाउनेहरूलाई दण्ड दिंदा बाँकी पदाधिकारीहरू वैरभाव झनै बढेको हुनुपर्छ। यसबाहेक, साम्राज्यभरि “दानियलका परमेश्वरको भय मानून्” भन्ने दाराको घोषणाले बेबिलोनका शक्तिशाली मूर्तिपूजक पूजाहारीहरूको क्रोध झनै दन्केको हुनुपर्छ। शास्त्रीहरू पक्कै पनि यिनीहरूदेखि प्रभावित भएका थिए। अतः दारासँग सम्बन्धित सांसारिक लेखोटहरू नाश गर्नको निम्ति फेरबदल गर्नु कुनै अनौठो कुरा होइन। तैपनि, दानियलको पुस्तकको संक्षिप्त विवरणले दारा निष्पक्ष र न्याय गर्न जान्ने राजा थिए भनी देखाउँछ।