कानुनी तवरमा सुसमाचारको रक्षा गर्ने
मानिसहरूले शहरहरू निर्माण गर्न थालेका जति भयो, पर्खालहरू बनाउन थालेका पनि त्यति नै भयो। विशेषगरि पहिला पहिला यी किल्लाबन्दीहरू सुरक्षाका लागि निर्माण गरिन्थे। यी पर्खाल भत्काउने वा जगमुनि सुरुङ खन्न खोज्ने शत्रुहरूको विरुद्ध सुरक्षा थियो। शहरका बासिन्दाहरूले सुरक्षा महसुस गर्ने मात्र होइन तर आसपासका शहरहरूमा बसिरहेका मानिसहरूले पनि ती पर्खालहरूको घेराभित्र शरण पाउँथे।—२ शमूएल ११:२०-२४; यशैया २५:१२.
त्यसरी नै, यहोवाका साक्षीहरूले सुरक्षाको कानुनी पर्खाल निर्माण गरेका छन्। यो पर्खाल साक्षीहरूलाई बाँकी समाजबाट अलग्याउन खडा गरिएको होइन किनभने यहोवाका साक्षीहरू अरू मानिसहरूसित घुलमिल भएर समूहमा बस्न चाहनेहरू भनी चिनिन्छन्। बरु, यसले सबै मानिसहरूलाई आधारभूत स्वतन्त्रता दिने कानुनी ग्यारेन्टीलाई अझ सुदृढ बनाउँछ। साथै साक्षीहरूले बिना रोकटोक आफ्नो उपासना अघि बढाउन सकून् भनेर यो पर्खालले तिनीहरूको कानुनी अधिकारको सुरक्षा गर्छ। (मत्ती ५:१४-१६ तुलना गर्नुहोस्।) यो पर्खालले उपासना गर्ने तिनीहरूको तरिका तथा परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने अधिकारलाई सुरक्षा प्रदान गर्छ। यो पर्खाल के हो र यो कसरी निर्माण गरिएको छ?
सुरक्षाको लागि कानुनी पर्खाल बनाउने
प्रायजसो मुलुकहरूमा यहोवाका साक्षीहरूले धार्मिक स्वतन्त्रता पाइरहेका भए तापनि कुनै कुनै देशमा तिनीहरूले निराधार आक्रमण सहनु परेको छ। एकसाथ भेला हुने वा घर घर प्रचार गर्ने उपासनासम्बन्धी स्वतन्त्रतालाई चुनौती दिइँदा तिनीहरूले कानुनी सहयोग लिएका छन्। संसारभरि हेर्ने हो भने साक्षीहरूसित सम्बन्धित कानुनी मुद्दाहरू हजारौंको संख्यामा पुगेको छ।a सबै मुद्दाहरू जितिएका छैनन्। तल्लो अदालतहरूले तिनीहरूको विरुद्धमा न्याय सुनाउँदा तिनीहरूले प्रायजसो उच्च अदालतलाई अपिल गरेका छन्। परिणाम कस्तो भएको छ?
यस २० औं शताब्दीका दशकहरूमा थुप्रै मुलुकहरूमा प्राप्त कानुनी विजयहरूले यहोवाका साक्षीहरूले अपिल गरेका मुद्दाहरूको लागि भरपर्दो पूर्वाधार तयार पारेको छ। पर्खाल निर्माण गर्ने इँटा वा ढुंगाहरूले जस्तै यी सकारात्मक निर्णयहरूले सुरक्षाको कानुनी पर्खाल खडा गरेको छ। यी स्थापित इँटारूपी कानुनी पूर्वाधारहरू मार्फत साक्षीहरू उपासना अघि बढाउन धार्मिक स्वतन्त्रताका लागि लडिरहेका छन्।
उदाहरणका लागि, मर्डोक विरुद्ध कमनवेल्थ अफ पेन्सिल्भेनिया मुद्दालाई लिनुहोस्। मे ३, १९४३ का दिन संयुक्त राज्यको सर्वोच्च अदालतले उक्त मुद्दाको फैसला सुनायो। त्यो मुद्दामा यो प्रश्न उठाइएको थियो: के यहोवाका साक्षीहरूले धार्मिक प्रकाशनहरू बिक्रीवितरण गर्न अनुमतिपत्र लिनुपर्छ? यसो गर्नु आवश्यक छैन भन्ने कुरामा यहोवाका साक्षीहरूले अडान लिए। तिनीहरूको प्रचारकार्य व्यापारिक होइन र कहिल्यै त्यसो भएको पनि छैन। तिनीहरूको उद्देश्य पैसा कमाउने होइन तर सुसमाचार प्रचार गर्ने हो। (मत्ती १०:८; २ कोरिन्थी २:१७) मर्डोक निर्णयअनुसार अदालतले साक्षीहरूको कुरामा सहमति जनायो र धार्मिक साहित्य वितरण गर्न अनुमति पत्रस्वरूप कर तिर्नुपर्ने माग असंवैधानिक ठहर गऱ्यो।b यो निर्णयले भावी मुद्दाहरू फैसला गर्न महत्त्वपूर्ण आधार तयार गऱ्यो अनि त्यहाँदेखि यता अनगिन्ती मुद्दाहरूमा अपिल गर्ने बाटो खुलेको छ। सुरक्षाको कानुनी पर्खाल खडा गर्न मर्डोक निर्णय आधारभूत ईंटा साबित भएको छ।
त्यस्ता मुद्दाहरूले सबै मानिसहरूको धार्मिक स्वतन्त्रतालाई सुरक्षा प्रदान गर्न निकै योगदान पुऱ्याएको छ। संयुक्त राज्यमा नागरिक हकको पक्षमा साक्षीहरूले पुऱ्याएको महत्त्वपूर्ण भूमिकाबारे युनिभर्सिटी अफ सिन्सिनाटी ल रिभ्यु-ले यसो भन्यो: “संवैधानिक कानुन र विशेषगरि बोल्ने अनि धर्मसम्बन्धी अधिकारको विकास गर्न यहोवाका साक्षीहरूले गहन भूमिका खेलेका छन्।”
पर्खाललाई अझ सुदृढ बनाउने
कानुनी मुद्धाहरूमा जति जति सफलता हासिल हुन्छ, त्यो पर्खाल पनि त्यति नै बलियो हुँदै जान्छ। सन् १९९० को दशकमा गरिएका केही निर्णयहरूलाई विचार गर्नुहोस् जसले गर्दा यहोवाका साक्षीहरूलगायत स्वतन्त्रता प्रेमीहरू सबैले सारा संसारभरि लाभ उठाएका छन्।
ग्रीस। मे २५, १९९३ का दिन, मानव अधिकारको लागि युरोपेली अदालतले ग्रीक नागरिकहरूले आफ्ना धार्मिक विश्वासहरू अरूलाई बताउन पाउने अधिकारलाई मान्यता प्रदान गऱ्यो। यो मुद्दा ८४ वर्षीय मिनोस कोकिनाकिसको थियो। यहोवाको साक्षीको हैसियतमा तिनी १९३८ यता ६० चोटिभन्दा बढी गिरफ्तार गरिए, ग्रीक अदालतमा १८ चोटि हाजिर भए र झ्यालखानामा छ वर्षभन्दा बढी समय बिताए। मुख्यतः तिनलाई धर्मपरिवर्तन निषेध गर्ने १९३० दशकको ग्रीक कानुनको आधारमा दोषी ठहराइएको थियो। त्यही कानुनको आधारमा १९३८ देखि १९९२ बीच झन्डै २०,००० चोटि यहोवाका साक्षीहरू गिरफ्तार गरिए। युरोपेली अदालतले कोकिनाकिसको धार्मिक स्वतन्त्रता ग्रीक सरकारले मिचेको ठहर गऱ्यो र तिनलाई क्षतिपूर्तिको हर्जानास्वरूप १४,४०० अमेरिकी डलर तिरियो। त्यतिबेला अदालतले यहोवाका साक्षीहरू सबैलाई “थाह भएको धर्म” हो भन्ने निर्णय सुनायो।—प्रहरीधरहरा (अंग्रेजी) सेप्टेम्बर १, १९९३, पृष्ठ २७-३१ हेर्नुहोस्।
मेक्सिको। जुलाई १६, १९९२ का दिन मेक्सिकोमा धार्मिक स्वतन्त्रताको पक्षमा ठूलो कदम उठाइयो। त्यही दिन, धार्मिक संगठन तथा सार्वजनिक उपासनासम्बन्धी नियम पारित गरियो। यो नियमले गर्दा धार्मिक समूहहरू कानुनी तवरमा दर्ता भएको खण्डमा कानुनी मान्यता पाउन सम्भव हुनेथियो। यसअघि मेक्सिकोका अन्य धर्महरूजस्तै यहोवाका साक्षीहरूको अस्तित्व त थियो तर कानुनी मान्यता भने पाएका थिएनन्। अप्रिल १३, १९९३ का दिन साक्षीहरूले दर्ता गर्ने निवेदन दिए। आनन्दको कुरा, मे ७, १९९३ मा तिनीहरू कानुनन् धार्मिक संगठनको रूपमा ला तोर्रे देल भीखीया, ए. आर र लोस तेस्तिगोस दे हेहोभा एन म्हेखिको, ए. आर. दर्ता भए।—ब्यूँझनुहोस्!, (अंग्रेजी) जुलाई २२, १९९४, पृष्ठ १२-१४ हेर्नुहोस्।
ब्राजिल। नोभेम्बर १९९० मा ब्राजिलको नेशनल इन्स्टिच्युट अफ सोशियल सेक्योरिटीले (आइएन एस एस) वाच टावर सोसाइटीको शाखा कार्यालयलाई पठाएको सूचनामा बेथेलका (यहोवाका साक्षीहरूको शाखा कार्यालयको नाउँ) स्वयंसेवकहरूलाई अब उप्रान्त धार्मिक सेवकहरूको रूपमा लिइनेछैन र तिनीहरूमाथि ब्राजिलको श्रम नियम लागू हुनेछ भनिएको थियो। साक्षीहरूले यो निर्णय विरुद्ध अपिल गरे। जून ७, १९९६ का दिन ब्रासिलियाको महान्यायधिवक्ताको न्यायिक सल्लाहकार समितिले पारित गरेको निर्णयले बेथेलका सेवकहरू सरकारी नभई वैध धार्मिक समूहका सदस्यहरू हुन् भन्ने अडानलाई मान्यता दियो।
जापान। मार्च ८, १९९६ का दिन जापानको सर्वोच्च अदालतले जापानका सबैको लाभ हुने शिक्षा र धार्मिक स्वतन्त्रतासम्बन्धी निर्णय सुनायो। कोबे म्युनिसिपल इन्डस्ट्रियल टेक्निकल कलेजले मार्शल आर्ट प्रशिक्षणमा भाग लिन इन्कार गर्ने कुनिहितोलाई कलेजबाट निकालेर कानुन भंग गऱ्यो भनी अदालतले सर्वसम्मतद्वारा पारित निर्णय सुनायो। जापानी संविधानले ग्यारेन्टी दिने धार्मिक स्वतन्त्रताको आधारमा सर्वोच्च अदालतले यस्तो निर्णय सुनाएको पहिलो चोटि हो। आफ्नो बाइबल-प्रशिक्षित अन्तस्करणअनुसार चल्ने हो भने यशैया २:४ जस्ता बाइबल सिद्धान्तहरूसित मेल नखाने कवाजमा भाग लिनु यस जवान साक्षीलाई ठीक लागेन। उक्त पदमा यसो भनिएको छ: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।” अदालतको यो निर्णयले भावी मुद्दाहरूको लागि पूर्वाधार तयार गऱ्यो।—प्रहरीधरहरा, नोभेम्बर १, १९९६, पृष्ठ १९-२१ हेर्नुहोस्।
फेब्रुअरी ९, १९९८ का दिन टोकियो उच्च अदालतले गरेको अर्को निर्णायक निर्णयले मिसाई ताकिदा नाउँकी साक्षीले ‘रगतबाट अलग बस्नू’ भन्ने बाइबलको आज्ञा भंग नहुने उपचार पाउनुपर्छ भन्ने अडानलाई मान्यता प्रदान गऱ्यो। (प्रेरित १५:२८, २९) यो मुद्दा सर्वोच्च अदालतमा अपिल गरिएको छ र उच्च अदालतको निर्णयलाई मान्यता दिइनेछ या छैन, हेर्न बाँकी नै छ।
फिलिपिन्स। मार्च १, १९९३ मा गरेको निर्णयअनुसार फिलिपिन सर्वोच्च अदालतले यहोवाका साक्षीहरूको पक्षमा सर्वसम्मतद्वारा पारित निर्णय सुनायो। यो मुद्दा झण्डा सलामी गर्न इन्कार गरेका साक्षी विद्यार्थीहरूलाई निष्कासन गरेको सन्दर्भमा थियो।
अदालतले सुनाउने हरेक सकारात्मक निर्णयले कानुनी पर्खाललाई बलियो बनाउन थपिएको ढुंगा वा इँटाले जस्तै काम गर्छ। यसले यहोवाका साक्षीहरूको मात्र होइन तर सबै मानिसहरूको अधिकारको सुरक्षा गर्छ।
पर्खालको संरक्षण गर्ने
यहोवाका साक्षीहरू १५३ वटा मुलुकमा कानुनी तवरमा दर्ता भएका छन् र अरू मान्यताप्राप्त धर्महरूले जस्तै थुप्रै प्रकारका स्वतन्त्रताहरू पाइरहेका छन्। पूर्वी युरोप र पहिलेको सोभियत संघमा दशकौंसम्म सतावट तथा प्रतिबन्ध भोगेपछि यहोवाका साक्षीहरूले अहिले अल्बेनिया, चेक गणतन्त्र, जर्जिया, हंगेरी, काजकस्तान, किरगिस्तान, रोमानिया र स्लोभाकियाजस्ता देशहरूमा कानुनी मान्यता पाएका छन्। तथापि, वर्षौं पहिले तय गरिएका न्यायिक प्रणालीहरू भएका केही पश्चिमी युरोपेली मुलुकहरूलगायत अहिले कुनै कुनै मुलुकहरूमा यहोवाका साक्षीहरूको अधिकारलाई गम्भीर चुनौती दिइएको छ वा त्यस्तो अधिकारबाट वञ्चित छन्। विरोधीहरू साक्षीहरू विरुद्ध ‘नियमद्वारा अधर्म रच्न’ सक्रिय भइरहेका छन्। (भजन ९४:२०) तिनीहरू कस्तो प्रतिक्रिया देखाउँछन्?c
यहोवाका साक्षीहरू सबै सरकारहरूसित मिलेर काम गर्न चाहन्छन् तर तिनीहरू उपासना गर्ने कानुनी स्वतन्त्रता पनि चाहन्छन्। सुसमाचार प्रचार गर्नेलगायत यहोवाका अन्य आज्ञाहरू पालन गर्न निषेध गर्ने जुनसुकै नियम वा अदालती निर्णयहरू कार्यान्वयन नहोस् भन्ने तिनीहरूको दृढ विश्वास छ। (मर्कूस १३:१०) मिलापी सम्झौताहरू गर्न सकिएन भने यहोवाका साक्षीहरू कानुनी क्षेत्रमा उपलब्ध सबै आक्रामक कदमहरू चाल्नेछन्, उपासना गर्न परमेश्वरले दिनुभएको अधिकारलाई कानुनी तवरमा सुरक्षा प्रदान गर्न सम्पूर्ण पुनरावेदन कदमहरू चाल्नेछन्। परमेश्वरको यो प्रतिज्ञामा यहोवाका साक्षीहरू पूर्णतया विश्वस्त छन्: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ।”—यशैया ५४:१७.
[फुटनोटहरू]
a यहोवाका साक्षीहरूको कानुनी इतिहासको विस्तृत विवरणको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू (अंग्रेजी) पुस्तकको अध्याय ३० हेर्नुहोस्।
b मर्डोक निर्णयमा सर्वोच्च अदालतले जोन्स विरुद्ध सिटी अफ ओपेलिका मुद्दामा लिएको अडान फेरबदल गऱ्यो। सन् १९४२ को जोन्स मुद्धामा सर्वोच्च अदालतले तल्लो अदालतको निर्णयलाई नै सदर गरेको थियो। त्यतिबेला तल्लो अदालतले यहोवाका साक्षी, रस्को जोन्सलाई अनुमतिपत्रबिना आलाबामाको ओपेलिका सडकमा साहित्यहरू वितरण गरेकोमा दोषी ठहराएको थियो।
c “तिनीहरूको विश्वासको लागि घृणित” र “हाम्रो विश्वासको पक्षमा खडा हुने” लेखहरू पृष्ठ ८-१८ हेर्नुहोस्।
[पृष्ठ २१-मा भएको पेटी]
यहोवाका साक्षीहरूको अधिकार रक्षा गर्ने
यहोवाका साक्षीहरूले भोग्नुपरेको सतावटले गर्दा तिनीहरू सारा संसारभरि नै न्यायाधीश तथा सरकारी अधिकारीहरूको सामु हाजिर हुनु परेका छन्। (लूका २१:१२, १३) यहोवाका साक्षीहरूले कानुनी तवरमा आफ्नो अधिकार जोगाउन कुनै कसर छोडेका छैनन्। थुप्रै मुलुकहरूमा प्राप्त विजयले यहोवाका साक्षीहरूको कानुनी स्वतन्त्रतालगायत तिनीहरूको अधिकारको रक्षा गर्न मदत पुऱ्याएको छ। ती यसप्रकार छन्:
◻ व्यापारिक सेल्सम्यानहरूमा लाग्ने प्रतिबन्धहरूबिना घर घर प्रचार गर्न पाउने:—मर्डोक विरुद्ध कमनवेल्थ अफ पेन्सिलभेनिया, यु.एस. सर्वोच्च अदालत (१९४३); कोकिनाकिस विरुद्ध ग्रीस, मानव अधिकारको युरोपेली अदालत (इ सी एच आर) (१९९३).
◻ बिना कुनै रोकटोक उपासनाको लागि एकसाथ भेला हुन पाउने—मानोउसाकीस र अरू विरुद्ध ग्रीस, इ एच सी आर (१९९६).
◻ राष्ट्रिय झण्डा वा प्रतीकप्रति आदर देखाउने सन्दर्भमा आफै निर्णय गर्ने—वेस्ट भर्जिनिया शिक्षा निकाय विरुद्ध बार्नेट, सं. रा. सर्वोच्च अदालत (१९४३); फिलिपिन्सको सर्वोच्च अदालत (१९९३); भारतको सर्वोच्च अदालत (१९८६).
आफ्नो मसीही अन्तस्करण भंग हुने सैनिक सेवा इन्कार गर्ने—याओरयाथिस विरुद्ध ग्रीस, इ सी एच आर (१९९७).
◻ आफ्नो अन्तस्करणलाई दखल नपुऱ्याउने उपचार तथा औषधीहरू रोज्ने—मालेट विरुद्ध शुल्मन, ओन्टारियो, क्यानाडा, पुनरावेदन अदालत (१९९०); वाच टावर विरुद्ध इ. एल. ए., सर्वोच्च अदालत, सान हुआन, पोर्टो रिको (१९९५); फस्मायर विरुद्ध निकोलाउ, न्यु -योर्क, सं.रा.अ. पुनरावेदन अदालत (१९९०).
◻ बच्चाको जिम्मा आमा या बुबा कसले लिने भन्ने विवादहरूमा बाइबलआधारित विश्वासअनुसार आफ्ना छोराछोरीलाई हुर्काउने—सेन्ट लरँ विरुद्ध सुसी, क्यानाडाको सर्वोच्च अदालत (१९९७); हफ्मन विरुद्ध अस्ट्रिया, इ सी एच आर (१९९३).
◻ अन्य मान्यताप्राप्त धर्महरूले प्रयोग गर्ने निकायहरूले पाइरहेको कर छुटको प्रबन्ध भएको कानुनी निकाय प्रयोग गर्न पाउने—जनताहरू विरुद्ध हेरिङ, न्यु योर्क, यु.एस.ए., पुनरावेदन अदालत (१९६०).
◻ अरू धर्मका पूर्ण समय सेवा गर्ने धार्मिक कार्यकर्ताहरूले पाउने जस्तै करमुक्त प्रबन्धको उपयोग गर्न पाउने—ब्राजिलको सामाजिक सुरक्षाको राष्ट्रिय संस्था, ब्रासिलिया, (१९९६).
[पृष्ठ २०-मा भएको चित्र]
मिनोस कोकिनाकिस आफ्नी पत्नीसित
[पृष्ठ २०-मा भएको चित्र]
कुनिहितो कोबायशी
[पृष्ठ १९-मा भएको चित्रको स्रोत]
The Complete Encyclopedia of Illustration/J. G. Heck