सम्राट उपासनाबाट साँचो उपासनातर्फ
इसामु सुग्युराको वृत्तान्तमा आधारित
सन् १९४५ मा जापानले दोस्रो विश्वयुद्ध हार्ने कुरा स्पष्ट भए तापनि कामिकाजीले (“ईश्वरीय बतास”) शत्रुहरूलाई परास्त गर्नेछ भन्ने कुरामा हामीलाई पटक्कै शंका थिएन। कामिकाजी भनेको १२७४ र १२८१ मा आक्रमणकारी मंगोल सशस्त्र सैन्य जलपोतलाई जापानी तटबाट दुई चोटि धपाउने आँधीबेह्री हो जसले गर्दा शत्रुहरू त्यहाँबाट फर्कन बाध्य भएका थिए।
त्यसकारण, सम्राट हिरोहितोले अगस्त १५, १९४५ मा जापानले संयुक्त सेनाको सामु आत्मसमर्पण गरेको घोषणा गर्दा तिनीप्रति भक्त लाखौं मानिसहरूको आशा चक्नाचूर भयो। त्यतिबेला म स्कूलमा पढ्दै थिएँ र मेरा आशाहरू पनि चक्नाचूर भए। ‘सम्राट, जीवित परमेश्वर होइन भने को त?’ मेरो मनमा प्रश्न उठ्यो। ‘मैले कसमाथि भरोसा राख्ने?’
वास्तवमा भनौं भने दोस्रो विश्वयुद्धमा जापानको पराजयले गर्दा म र अरू हजारौं जापानीहरूले साँचो परमेश्वर, यहोवाबारे सिक्ने मौका पाए। मेरो जीवनमा के कस्ता परिवर्तनहरू गर्नुपऱ्यो भनी बताउनुअघि मेरो धार्मिक लालनपालनबारे केही बताउन चाहन्छु।
सुरु सुरुको धार्मिक प्रभाव
मेरो जन्म नागोया शहरमा जून १६, १९३२ मा भयो र म चार छोराहरूमध्ये कान्छो थिएँ। बुबा शहरको नापी निरीक्षक हुनुहुन्थ्यो। आमा, टेन्रीक्यो भक्त हुनुहुन्थ्यो। यो शिन्टो धर्मको एउटा पन्थ हो र मेरो सबैभन्दा ठूलो दाइले टेन्रीक्यो शिक्षक बन्ने धार्मिक प्रशिक्षण पाउनुभएको थियो। म आमालाई असाध्यै पछ्याउँथें। उहाँले मलाई उपासना गर्ने ठाउँमा लैजाने गर्नुहुन्थ्यो।
मलाई टाउको निहुराएर प्रार्थना गर्न सिकाइएको थियो। टेन्रीक्यो धर्मले टेन्री ओ नो मिकोतो नाउँको सृष्टिकर्ता र अरू दस वटा स-साना देवदेवीहरूमा विश्वास गर्न सिकाउँथ्यो। यसका सदस्यहरूले विश्वासको आधारमा निको पार्ने गर्थे, अरूको सेवा गर्ने तथा यो धर्मका विश्वासहरू फैलाउने कुरामा जोड दिन्थे।
सानैदेखि म कुतूहल स्वभावको थिएँ। म चन्द्रमा अनि राति अकासमा देखिने अनगिन्ती ताराहरू देखेर दंग पर्थें, अकासभन्दा कति परसम्म अन्तरिक्ष फैलिएको छ होला भनेर सोच्ने गर्थें। हाम्रो घर पछाडिको सानो बारीमा रोपेको भान्टा र काँक्रो कसरी बढ्छन् होला भनेर हेर्न रमाइलो लाग्थ्यो। प्रकृतिलाई यसरी नियाल्दा परमेश्वरमाथिको मेरो विश्वास अझ बलियो भयो।
युद्धका वर्षहरू
सन् १९३९ देखि १९४५ सम्म मेरो माध्यमिक शिक्षा र दोस्रो विश्वयुद्धको समयावधि एकैचोटि पऱ्यो। शिन्टो धर्मको महत्त्वपूर्ण पक्ष, सम्राट उपासना हाम्रो स्कूलको शिक्षामा जोड दिइन्थ्यो। हामीलाई शुशीन सिकाइन्थ्यो र त्यसमा राष्ट्रवादी तथा सैनिक विचारधारा भएको नैतिक शिक्षा दिइन्थ्यो। झण्डोत्तोलन, राष्ट्रिय गान, साम्राज्यवादी शिक्षा पढ्ने, सम्राटको तस्वीरलाई ढोग्ने इत्यादि हाम्रो स्कूल तालिकाअन्तर्गत पर्थ्यो।
हाम्रो साम्राज्यको सेनाको विजयका लागि स्थानीय शिन्टो मन्दिरमा गएर हामी परमेश्वरलाई बिन्ती पनि चढाउँथ्यौं। मेरा साक्खै दुई जना दाइहरू सेनामा थिए। मैले पाएको राष्ट्रवादी-धार्मिक शिक्षाले गर्दा जापानी सेनाको सफलताको खबर सुन्न पाउँदा रमाउँथें।
नागोया, जापानी हवाई उद्योगको केन्द्र थियो। त्यसकारण, सं.रा. हवाई सेनाले आक्रमण गर्ने प्रमुख तारो थियो। दिउँसो B-29 सुपरफोट्रेस बमवर्षकहरू ३०,००० फिट माथि उचाइमा उडेर कारखानाहरू भएका इलाकाहरूमा सयौं टन बम वर्षाउँथे। राति सर्चलाइटले हेर्दा बमवर्षकहरू ४,५०० फिट तलसम्म पनि भेटिएका थिए। लगातार हवाई बमवर्षाले गर्दा आवास इलाकाहरूमा आगोको ज्वाला दन्किन्थ्यो। नागोयामा मात्रै नौ महिनाभित्र ५४ वटा हवाई आक्रमण भयो र त्यसले निकै क्षति पुऱ्याउनुका साथै ७,७०० भन्दा बढी मानिसहरूको ज्यान लियो।
त्यतिञ्जेल सैन्य जहाजहरू मार्फत दसवटा तटवर्तीय शहरमा बमवर्षा सुरु भइसकेको थियो अनि मानिसहरू सं.रा.-को सेना टोकियो शहर नजिकै अवतरण गर्नसक्ने सम्भावनाबारे कुरा गर्दैथे। आइमाई तथा स-साना केटाहरूलाई बाँसको भाला प्रयोग गरेर देशको सुरक्षा गर्ने प्रशिक्षण दिइएको थियो। हाम्रो नारा थियो “इचियोकी सोगोकुसी” र त्यसको अर्थ हो, “आत्मसमर्पण गर्नुभन्दा हामी दस करोड ज्यान दिन तयार छौं।”
अगस्त ७, १९४५ का दिन एउटा अखबारमा यस्तो शीर्षसमाचार छापियो: “हिरोशिमामा नयाँ प्रकारको बम खसालियो।” दुई दिनपछि नागासाकीमा अर्को बम खसालियो। यी परमाणु बमहरू थिए र त्यसले ३,००,००० भन्दा बढी मानिसहरूको ज्यान लिएको कुरा पछि थाह पायौं। त्यसपछि, काठे बन्दूकहरू चलाउने तालिमको अन्तिम दिन अर्थात् अगस्त १५ का दिन हामीले सम्राटको भाषण सुन्यौं र तिनले जापानले आत्मसमर्पण गरेको कुरा घोषणा गरे। हामी विजयी हुने कुरामा हामीलाई एक थोपा पनि शंका थिएन तर अब भने हाम्रो बेहाल भयो!
नयाँ आशा पलाउँछ
अमेरिकी सेनाहरूले कब्जा गर्न थालेपछि संयुक्त राज्यले युद्ध जितेछ भन्ने कुरालाई बिस्तारै स्वीकार्न थाल्यौं। जापानमा प्रजातन्त्रको सुरुआत भयो र साथै उपासनासम्बन्धी स्वतन्त्रताको ग्यारेन्टी दिने नयाँ संविधानको पनि प्रारम्भ भयो। जीवन धान्न असाध्यै गाह्रो थियो, खानाको अभाव थियो अनि १९४६ मा कुपोषणले गर्दा मेरो बुबाको मृत्यु भयो।
त्यसै ताक म पढ्ने गरेको स्कूलमा अंग्रेजी पढाउन थालियो अनि एन एच के रेडियो स्टेसनले अंग्रेजी वार्तालाप कार्यक्रम थाल्यो। पाँच वर्षसम्म हातमा एउटा किताब लिएर मैले यो लोकप्रिय कार्यक्रम दिनहुँ सुनें। यसले गर्दा कुनै दिन अमेरिका जाने सपना देख्न थालें। शिन्टो तथा बौद्ध धर्महरूदेखि चित्त नबुझेको हुँदा पश्चिमी धर्महरूमा परमेश्वरबारे सत्य भेटिएला कि भनेर सोच्न थालें।
सन् १९५१ को सुरुतिर अप्रिल महिनामा मैले ग्रेस ग्रेगरीलाई भेटें। उनी वाच टावर सोसाइटीकी मिसनरी थिइन्। उनी नागोया रेल स्टेसन अगाडि उभेर अंग्रेजी प्रहरीधरहरा र बाइबल विषयबारे एउटा जापानी पुस्तिका वितरण गर्दै थिइन्। त्यस्तो काम गर्ने उनको नम्रता देखेर म प्रभावित भएँ। मैले दुवै प्रकाशन लिएँ र बाइबल अध्ययन गर्ने उनको प्रस्ताव पनि नहिचकिचाई स्वीकारें। केही दिनपछि बाइबल अध्ययन गर्न उनको घरमा आउने वचन दिएँ।
रेलमा बसेर प्रहरीधरहरा पढ्न थालें र पहिलो लेखको पहिलो शब्द “यहोवा”-मा मेरो आँखा टक्क अडियो। मैले त्यो नाउँ पहिले कहिल्यै देखेको थिइनँ। आफूसितै राख्ने गरेको सानो अंग्रेजी-जापानी शब्दकोशमा त्यो शब्द भेटाउने आशा गरेको थिइनँ तर किन नहुनु, त्यसमा पनि थियो! “यहोवा . . . , बाइबलको परमेश्वर।” अब भने मैले मसीहीधर्मको परमेश्वरबारे सिक्न पाउने भएँजस्तो लाग्यो!
मिसनरी गृहमा पहिलो चोटि पुगेकै बेला मैले वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका तत्कालीन अध्यक्ष, नेथन एच. नोरले केही हप्तापछि एउटा बाइबल भाषण दिनुहुनेछ भनेर थाह पाएँ। उहाँ आफ्नो सचिव मिल्टन हेन्शेलसित जापानमा हुनुहुन्थ्यो र नागोया आउँदै हुनुहुन्थ्यो। मसित बाइबलको ज्ञान सीमित भए तापनि मलाई त्यो भाषण असाध्यै रमाइलो लाग्यो र त्यहाँ उपस्थित मिसनरी तथा अन्य व्यक्तिहरूको संगति मन पऱ्यो।
दुई महिना जति ग्रेससित अध्ययन गरिसकेपछि मैले यहोवा, येशू ख्रीष्ट, छुडौती, शैतान अर्थात् दियाबल, आरमागेडोन र पार्थिव प्रमोदवनजस्ता विषयहरूबारे आधारभूत सत्य सिकें। परमेश्वरको राज्यको सुसमाचार मैले खोजिरहेको सन्देश थियो। अध्ययन गर्नुका साथसाथै म मण्डलीका सभाहरू पनि धाउन थालें। यी जमघटहरूको मित्रैलो वातावरण मलाई मन पऱ्यो जहाँ मिसनरीहरू जापानीहरूसित मजाले घुलमिल गर्थे अनि हामीसितै टाटामीमा (सुकुल) बस्थे।
अक्टोबर १९५१ मा जापानको पहिलो क्षेत्रीय सम्मेलन ओसाका शहरको नाकानोशिमा सभागृहमा सम्पन्न भयो। त्यतिबेला जापानभरि ३०० जना साक्षीहरू पनि थिएनन्; यद्यपि त्यो सम्मेलनमा ३०० जना उपस्थित भए र त्यसमध्ये झन्डै ५० जना मिसनरीहरू थिए। त्यो कार्यक्रममा मैले पनि सानो भाग पाएँ। त्यतिबेला मैले देखेको र सुनेको कुराले अत्यन्तै प्रभावित भएर जिन्दगीभर यहोवाको सेवा गर्ने संकल्प गरें। भोलिपल्ट नजिकैको सार्वजनिक स्नानगृहको मनतातो पानीमा बप्तिस्मा लिएँ।
अग्रगामी सेवाको आनन्द
म अग्रगामी बन्न चाहन्थें, यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकलाई त्यही भनिन्छ। तर आफ्नो परिवारलाई टेवा पुऱ्याउनुपर्ने दायित्व पनि महसुस गरें। मेरो इच्छाबारे मालिकलाई बताउने साहस बटुलेपछि उहाँको यो कुरा सुनेर छक्कै परें: “तिमी त्यसो गरेर खुसी हुन्छौ भने म तिमीलाई सहयोग गर्न खुसी हुनेछु।” त्यसउप्रान्त हप्ताको दुई दिन मात्र काम गरेर पनि आमालाई घरखर्चको प्रबन्ध गर्न सकें। आफूलाई पिंजडाबाट फुत्केको चराजस्तो महसुस गरें।
परिस्थिति राम्रो हुँदै गएपछि अगस्त १, १९५४ देखि अग्रगामी गर्न थालें। यो ग्रेसलाई पहिलो चोटि भेटेको ठाउँभन्दा दुई चार मिनेट पर नागोया स्टेसनको पछाडितिरको इलाका थियो। केही महिनापछि मलाई विशेष अग्रगामीको हैसियतमा पश्चिमी टापु क्युशुमा अवस्थित शहर, बेप्पुमा खटाइयो। ट्युस्ट्युमो मिउरे मेरो अग्रगामी साथी थिए।a त्यतिबेला त्यो सारा टापुभरि यहोवाका साक्षीहरूको एउटै मण्डली थिएन तर अहिले सयौं वटा भइसकेका छन् र २२ वटा क्षेत्रमा विभाजन भइसकेको छ!
नयाँ संसारको पूर्वाभास
भाइ नोर अप्रिल १९५६ मा जापान फेरि आउनुहुँदा उहाँले मलाई अंग्रेजी प्रहरीधरहरा-बाट केही अनुच्छेदहरू ठूलो स्वरले पढ्न लगाउनुभयो। त्यसो गर्न लगाइनुको कारण मलाई बताइएन तर केही महिनापछि मैले गिलियड मिसनरी पाठशालाको २९ औं कक्षामा उपस्थित हुने निमन्त्रणा पत्र पाएँ। अतः त्यही सालको नोभेम्बर महिनामा संयुक्त राज्यतिरको रोमाञ्चकारी यात्रा थालें, मेरो बाल्यावस्थाको सपना पूरा भयो। ब्रूक्लिनको ठूलो परिवारमा केही महिना सँगै बसेर त्यहीं काम गर्दा यहोवाको दृश्य संगठनमाथिको मेरो विश्वास अझ दह्रो भयो।
फेब्रुअरी १९५७ मा भाइ नोरले हामी तीन जना विद्यार्थीहरूलाई न्यु योर्कको उत्तरी भाग, साउथ लान्सिंगमा अवस्थित गिलियड स्कूलको हातामा लैजानुभयो। त्यसपछि पाँच महिनासम्म गिलियड स्कूलमा छँदा यहोवाको वचनबाट निर्देशन पाएँ र सँगी विद्यार्थीहरूसित रमणीय वातावरणमा समय बिताएँ। त्यतिबेला मैले पार्थिव प्रमोदवनको पूर्वाभास पाएँ। हामी १०३ जना विद्यार्थीमध्ये मलगायत दस जनालाई जापान खटाइयो।
मेरा कार्यभारहरूको मूल्यांकन गर्दै
म अक्टोबर १९५७ मा जापान फर्कंदा त्यहाँ ८६० जना जति साक्षीहरू थिए। मलाई क्षेत्रीय निरीक्षकको हैसियतमा परिभ्रमण कार्यमा खटाइयो तर त्यो काम थाल्नुअघि एड्रियन थम्सनबाट नागोयामा केही दिन प्रशिक्षण पाएँ। मेरो क्षेत्रीय इलाकामा माउन्ट फुजी नजिकैको शिमिजुदेखि शिकोकु टापु र क्योटो, ओसाका, कोबे र हिरोशिमाजस्ता ठूलठूला शहरहरू पर्थ्यो।
म १९६१ मा जिल्ला निरीक्षकको हैसियतमा खटाइएँ। यो सिलसिलामा होकाइडोको हिउँले ढाकिएको उत्तरी टापुदेखि ओकिनावाको उपउष्णप्रदेशीय टापु र ताइवान नजिकैको इशिगाकी टापुहरूसम्म यात्रा गर्नुपर्थ्यो। जम्माजम्मी ३,००० किलोमिटरको दूरी थियो।
त्यसपछि १९६३ मा मैले ब्रूक्लिन बेथेलमा सम्पन्न हुने गिलियड स्कूलको दस महिने कोर्सको लागि निम्तो पाएँ। त्यो कोर्सको दौडान भाइ नोरले कामप्रति सही दृष्टिकोण राख्नुपर्ने महत्त्वमाथि जोड दिनुभयो। शौचालय सफा गर्नु र अफिसमा काम गर्नु दुवै उत्तिकै महत्त्वपूर्ण हुन् भनेर उहाँले भन्नुभयो। शौचालयहरू सफा भएनन् भने सम्पूर्ण बेथेल परिवार र तिनीहरूको कामलाई असर गर्छ। पछि, जापान बेथेलमा मैले शौचालयहरू सफा गर्ने काम पनि गरें र त्यो सल्लाह झलझली सम्झें।
जापान फर्केपछि मलाई फेरि परिभ्रमण कार्यमा खटाइयो। केही वर्षपछि १९६६ मा मैले मात्सुइ शहरमा विशेष अग्रगामी गरिरहेकी जुन्को इवासाकीसित विवाह गरें। जापानका तत्कालीन शाखा निरीक्षक लोइड ब्यारीले हृदयस्पर्शी विवाह भाषण दिनुभयो। त्यसपछि परिभ्रमण कार्यमा जुन्कोले मलाई साथ दिन थालिन्।
मलाई १९६८ मा अनुवाद कार्य गर्न टोकियो शहरको शाखा कार्यालयमा बोलाइँदा काममा फेरि परिवर्तन भयो। त्यहाँ कोठाको अभाव भएकोले टोकियो शहरको सुमिडा नगर क्षेत्रबाट दिनहुँ आउनेजाने गर्थें र जुन्को, विशेष अग्रगामीको हैसियतमा स्थानीय मण्डलीमा सेवा गर्थिन्। यतिबेलासम्म शाखा कार्यालयलाई अझ बढाउन आवश्यक भइसकेको थियो। त्यसकारण, १९७० मा माउन्ट फुजी नजिकै नुमाजु शहरमा जग्गा किनेर तीन तल्ले कारखाना तथा आवास भवन निर्माण गरियो। निर्माण कार्य सुरु गर्नुअघि त्यहाँका थुप्रै घरहरू मण्डलीका निरीक्षकहरूलाई प्रशिक्षण दिने किङडम मिनिस्ट्री स्कूलको लागि प्रयोग गरियो। मैले उक्त स्कूलमा सिकाउने सुअवसर पाएँ र जुन्को विद्यार्थीहरूको लागि खाना बनाउँथिन्। सयौं मसीहीहरूले सेवकाईको निम्ति विशेष प्रशिक्षण पाएको हेर्न पाउनु रोमाञ्कारी थियो।
एक दिउँसोको कुरा हो, मैले एउटा टेलिग्राम पाएँ। आमालाई अस्पतालमा भर्ना गरिएको रहेछ र उहाँ बाँच्ने आशा थिएन। म बुलेट ट्रेनमा चढेर नागोया पुगें र अस्पतालतिर दौडें। उहाँ अचेत हुनुहुन्थ्यो तर म रातभरि उहाँको छेउमा बसें। बिहान सबेरै आमा बित्नुभयो। नुमाजु फर्कंदा, आमाले जिन्दगीभर भोग्नुभएका कठिनाइहरू र उहाँले मप्रति राख्नुभएको स्नेह सम्झेर मैले आँसु थाम्न सकिनँ। यहोवाको इच्छा भए पुनरुत्थानपछि उहाँसित फेरि भेट्ने आशा छ।
हामीलाई नुमाजुको ठाउँ पनि नपुग्ने भयो। त्यसकारण, एबिना शहरमा १८ एकड जमिन किनेर १९७८ मा नयाँ शाखा कार्यालय भवनहरू निर्माण गर्न थालियो। अहिले यो ठाउँमा कारखाना तथा आवास भवन र २,८०० भन्दा बढी मानिसहरू अटाउने सम्मेलन भवन छ। हालै यहाँ थपिएको अर्को १३-तल्ले दुइटा आवास गृह र ५-तल्ले गाडी बिसौनी भवनको निर्माण कार्य यही वर्षको सुरुतिर पूरा भयो। अहिले हाम्रो बेथेल परिवारमा ५३० जना जति सदस्यहरू छन् तर हाल प्राप्त भएका यी थप सुविधाहरूले गर्दा ९०० जना जति अटाउन सक्नेछौं।
आनन्दित हुने थुप्रै कारण
बाइबल भविष्यवाणीको पूर्तिअनुरूप “तुच्छ चाहिं एउटा सामर्थी जाति” भएको हेर्न पाउनु एउटा रमाइलो कुरा भएको छ। (यशैया ६०:२२) मेरो दाइले एक चोटि मलाई धेरै पहिले १९५१ मा सोध्नुभएको थियो, “जापानमा कति जना साक्षीहरू छन्?”
“२६० जति होलान्,” मैले भनें।
“त्यति मात्र?” उहाँले अलि होच्याउँदै सोध्नुभयो।
मैले मनमनै सोचेको थिएँ, ‘यस शिन्टो-बौद्ध देशमा यहोवाले कति जना मानिसहरूलाई आफ्नो उपासनातिर खिंच्नुहुनेछ, त्यो समयले नै बताउनेछ।’ अनि यहोवाले त्यो जवाफ दिनुभएको छ! अहिले जापानको प्रायजसो सबै इलाकामा प्रचार भइसक्यो र साँचो उपासकहरूको संख्या ३,८०० मण्डलीहरूमा २,२२,००० भन्दा बढी पुगेको छ!
मैले पूर्ण-समय सेवकाईमा बिताएको ४४ वर्ष र त्यसमध्ये ३२ वर्ष मेरी प्यारी पत्नीसित बिताएको समय असाध्यै रमाइलो भएको छ। त्यसमध्ये २५ वर्ष मैले बेथेलको अनुवाद विभागमा बिताएँ। सेप्टेम्बर १९७९ मा मलाई जापानमा यहोवाका साक्षीहरूको शाखा समितिको सदस्य हुन पनि बोलाइयो।
इमानदार, शान्तिप्रिय मानिसहरूलाई यहोवाको उपासना गर्न मदत दिने कार्यमा सानो भाग पाउनु आफ्नो सुअवसर र आशिष् साबित भएको छ। थुप्रैले मैले जस्तै सम्राटको उपासनालाई छोडेर एकमात्र साँचो परमेश्वर, यहोवाको उपासना गर्न थालेका छन्। यहोवाको विजयी पक्षमा बसेर शान्तिमय नयाँ संसारमा अनन्त जीवन पाउन अझ थुप्रैलाई मदत गर्ने मेरो साँचो इच्छा छ।—प्रकाश २२:१७.
[फुटनोट]
a तिनका बुबा विश्वासी साक्षी थिए र हिरोशिमामा १९४५ मा परमाणु बम विष्फोटन हुँदा जापानी झ्यालखानामा थिए। ब्यूँझनुहोस्! अक्टोबर ८, १९९४, पृष्ठ १२-१६ हेर्नुहोस्।
[पृष्ठ २९-मा भएको चित्र]
स्कूलको शिक्षा सम्राटको उपासनामा केन्द्रित हुन्थ्यो
[स्रोत]
The Mainichi Newspapers
[पृष्ठ २९-मा भएको चित्र]
न्यु योर्कमा भाइ फ्रान्जसित
[पृष्ठ २९-मा भएको चित्र]
मेरी पत्नी जुन्कोसित
[पृष्ठ ३१-मा भएको चित्र]
अनुवाद विभागमा काम गरिरहेको