के तपाईं आफ्नो परिवारसँग समय बिताउनुहुन्छ?
“जापानी बुबाहरू प्रिय हुन्छन् तर तिनीहरू व्यस्तताले गर्दा आफ्ना छोराछोरीसँग समय बिताउँदैनन्।” केही वर्षअघि माइनिच शिम्बुन अखबारमा उक्त शीर्षसमाचार प्रकाशित
भएको थियो। सरकारद्वारा लिइएको सर्वेक्षणमा ८७.८ प्रतिशत जापानी केटाकेटीले भविष्यमा आफ्नो बुबाको स्याहारसुसार गर्ने इच्छा व्यक्त गरे भनी उक्त लेखले रिपोर्ट गऱ्यो। तथापि, उक्त अखबारको अंग्रेजी संस्करणमा सोही लेख अर्कै शीर्षसमाचार अन्तर्गत प्रकाशित भएको थियो। त्यो हो, “उपेक्षित बुबा तथा छोराहरू।” जापानी लेखमा उल्लेख नभएको उक्त सर्वेक्षणको एउटा अर्को पक्षबारे अंग्रेजी अखबारको लेखमा लेखिएको थियो। त्यो हो: जापानी बुबाहरू बिदाका दिनहरूबाहेक अन्य दिनमा छोराछोरीसँग ३६ मिनेट मात्र समय बिताउँछन्। यसको तुलनामा, पश्चिम जर्मनीमा बुबाहरू आफ्ना छोराछोरीसँग ४४ मिनेट समय बिताउँछन् भने संयुक्त राज्यका बुबाहरूले ५६ मिनेट बिताउँछन्।
आफ्ना छोराछोरीसँग थोरै समय बिताउने बुबाहरू मात्र होइनन्। उदाहरणका लागि, परिवार पाल्नुपर्ने थुप्रै एकली आमाहरू जागिर खान्छन्। फलस्वरूप, बुबा तथा आमा दुवैले नै आफ्ना छोराछोरीसँग कम समय बिताउँछन्।
सन् १९९७ मा १२,००० भन्दा बढी अमेरिकी किशोरकिशोरीहरूको अध्ययन गरिएको थियो। त्यस अध्ययनद्वारा के थाह लाग्यो भने, आफ्ना आमाबाबुसित घनिष्ठ सम्बन्ध भएका जवानहरू कमै मात्र भावनात्मक तनाउको सिकार हुन्छन्, आत्महत्या गर्ने प्रयास गर्दैनन्, हिंसात्मक कामकुरामा फस्दैनन् अथवा दुर्व्यसनी बन्दैनन्। त्यस विस्तृत अध्ययनमा सम्मिलित एक अनुसन्धानकर्ता यसो भन्छन्: “आमाबाबुहरूले छोराछोरीसँग समय बिताएन अनि तिनीहरूलाई चाहिएको बेला मदत गरेन भने तिनीहरूसित घनिष्ठ हुन सक्दैनन्।” आफ्ना छोराछोरीसँग समय बिताउनु र कुराकानी गर्नु धेरै महत्त्वपूर्ण छ।
कुराकानीको अभाव
खासगरी आमा वा बुबा जागिर खान टाढा गएका परिवारहरूमा खुलस्त कुराकानी नहुने सम्भावना धेरै हुन्छ। निस्सन्देह, आमा वा बुबा घरदेखि टाढा हुने परिवारहरूमा मात्र कुराकानीको अभाव हुने होइन। केही आमाबाबुहरू घरमै बसे तापनि छोराछोरी उठ्नुअघि नै काममा जान्छन् अनि घर फर्कंदा छोराछोरी सुतिसकेका हुन्छन्। आफ्नो परिवारसित समय बिताउन नपाएकोले केही आमाबाबुहरू सप्ताहन्त र बिदाका दिनहरूमा परिवारसित समय बिताउँछन्। तिनीहरू आफ्ना छोराछोरीसँग “फलदायी” समय बिताउने कुरा गर्छन्।
यद्यपि, के छोराछोरीसँग बिताउनुपर्ने समयको कमीलाई फलदायी समयले पूर्ति गर्नसक्छ? अनुसन्धानकर्ता लरेन्स स्टेनबर्ग यस्तो जवाफ दिन्छन्: “साधारणतया, आफ्नो आमाबाबुसँग बढी समय बिताउने केटाकेटीहरू असल हुन्छन्। छोराछोरीसँग बिताउनुपर्ने समयको कमी पूर्ति गर्न निकै गाह्रो हुन्छ। फलदायी समयलाई ज्यादै महत्त्व दिइएको छ।” एउटी बर्मेली आइमाई यस्तै महसुस गर्छिन्। उनको जापानी श्रीमान् प्रत्येक रात एक वा दुई बजे मात्र कामबाट फर्कन्थे। तिनले परिवारसित सप्ताहन्तमा समय बिताउँथे। तर तिनकी पत्नी यसो भन्छिन्: “घरमा शनिबार र आइतबार बिताएको समयले हप्ताका बाँकी दिनहरूमा परिवारसित नबिताएको समयको पूर्ति हुनसक्दैन . . . के हप्ताभरिको खाना एकै चोटि शनिबार र आइतबार खान सकिन्छ र?”
संयुक्त प्रयास चाहिन्छ
परिवारमा खुलस्त कुराकानी हुनुपर्छ भन्नु जति सजिलो छ, गर्नु त्यति सजिलो छैन। परिवार चलाउनु पर्ने भएकोले गर्दा बुबा वा जागिरे आमाको निम्ति परिवारसित समय बिताउनु गाह्रो हुन्छ। परिस्थितिवश घरदेखि टाढा जागिर खान बाध्य भएका थुप्रै आमाबाबुहरू घरमा बारम्बार फोन वा पत्राचार गर्छन्। तर चाहे आमाबाबु घरमा होस् या नहोस्, परिवारमा राम्रो कुराकानी हुन संयुक्त प्रयास गर्नुपर्छ।
आफ्नो परिवारसित कुराकानी गर्न हेलचेक्य्राइँ गर्ने आमाबाबुले त्यसको नतिजा भोग्नुपर्छ। आफ्नो परिवारसित एकदमै थोरै समय बिताउने अनि परिवारसित बसेर खाना खान पनि फुर्सत नहुने एक जना बुबाले गम्भीर नतिजाहरू भोग्नुपऱ्यो। तिनको छोराले हिंसाको बाटो अपनाए भने छोरीचाहिं पसलमा सरसामान चोरिरहेको अवस्थामा पक्राउ परिन्। एक दिन आइतबार बिहानै बुबा गल्फ खेल्न जानै लाग्दा छोरोले झोक्किंदै यसो भने: “के यो घरमा मुमा मात्र हुनुहुन्छ?” त्यसपछि तिनले दुःख पोखे, “सबै कुरा मुमाले निर्णय गर्नुहुन्छ। बुबा, तपाईंचाहिं कहिले पनि . . .।”
उक्त शब्दहरू सुनेपछि बुबाले सोचविचार गर्नथाल्यो। अन्ततः तिनले परिवारसँगै बसेर बिहानको चियाचमेना खान थाले। सुरु सुरुमा त तिनी र पत्नी मात्र हुन्थे। समय बित्दै जाँदा छोराछोरीले पनि सँगै खान थाले अनि चियाचमेनाको समयमा मीठा मीठा कुराकानी हुनथाल्यो। यसले गर्दा बेलुकीको खाना पनि सपरिवार सँगै बसेर खान थाले। यसरी बुबाले परिवार भताभुंग हुनबाट जोगाए।
परमेश्वरको वचनबाट मदत
बाइबलले आमाबाबुलाई आफ्ना छोराछोरीसँग कुराकानी गर्ने समय निकाल्न प्रोत्साहित गर्छ। अगमवक्ता मोशाद्वारा इस्राएलीहरूलाई यस्तो प्रशिक्षण दिइयो: “हे इस्राएली हो सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ! तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर। मैंले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” (व्यवस्था ६:४-७) हो, सबै आमाबुबाले आफ्ना छोराछोरीको मन तथा हृदयसम्म पुग्नेगरी परमेश्वरको वचन सिकाउन चाहन्छौं भने परिवारसँग समय बिताउने कदम चाल्नुपर्छ।
चाखलाग्दो कुरा, सन् १९९७ मा १२,००० भन्दा बढी अमेरिकी किशोरकिशोरीसँग लिइएको माथि उल्लिखित सर्वेक्षणबाट के पत्ता लाग्यो भने, “धार्मिक आस्था भएका झन्डै ८८ प्रतिशत . . . मानिसहरूलाई धर्म अनि प्रार्थनाले निकै सुरक्षा प्रदान गरेको थियो।” जवानहरूलाई घरमा उचित धार्मिक निर्देशन दिंदा तिनीहरू दुर्व्यसन, भावनात्मक तनाउ, आत्महत्या, हिंसा इत्यादि कुराहरूबाट सुरक्षित रहन्छन् भनी साँचो मसीहीहरू जान्दछन्।
केही आमाबाबुहरू आफ्नो परिवारसँग बिताउने समय निकाल्न निकै कठिन महसुस गर्छन्। खासगरी एकली आमाहरू यस्तो महसुस गर्छन्। उनीहरूले खुसीसाथ आफ्ना छोराछोरीसँग समय बिताउन चाहे तापनि उनीहरूलाई जागिर खानै पर्ने बाध्यताले अंगालेको हुन्छ। उनीहरू आफ्नो परिवारको निम्ति कसरी बहुमूल्य समय निकाल्नसक्छन्? “आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्” भनी बाइबल आग्रह गर्छ। (हितोपदेश ३:२१) आमाबाबुहरूले आफ्नो “विवेक” चलाएर परिवारको निम्ति समय निकाल्नसक्छन्। कसरी?
तपाईं जागिरे आमा हुनुहुन्छ अनि दिनभरिको कामले लखतरान हुनुभएको छ भने बेलुकीको खाना पकाउन छोराछोरीको मदत माग्नुभए कसो होला? यसरी सँगै समय बिताउँदा एकअर्काप्रति नजिकिने मौका पाइन्छ। सुरु सुरुमा छोराछोरीसँग मिलेर काम गर्दा झन बढी समय खर्च हुनसक्छ। यद्यपि, केही समयभित्रै तपाईंले छोराछोरीसित मिलेर खाना पकाउँदा आनन्द प्राप्त गर्न थाल्नुहुनेछ अनि समयको पनि बचत हुनेछ।
तपाईं त्यस्तो बुबा हुनुहोला जसले सप्ताहन्तमा अनेकौं कामहरू गर्नुपर्ने हुन्छ। तीमध्ये कुनै कुनै काम आफ्ना छोराछोरीसँग मिलेर गरे कसो होला? सँगै काम गर्नुहुँदा तपाईंले तिनीहरूसँग कुराकानी त गर्नुहुन्छ नै तर त्यसको साथसाथै तिनीहरूलाई मूल्यवान् प्रशिक्षण पनि दिइरहेको हुनुहुनेछ। आफ्नो बालबच्चालाई परमेश्वरको वचन सिकाओ भन्ने बाइबलको सल्लाहले तपाईंलाई तिनीहरूसँग “घरमा बस्ता, बाटोमा हिंड़दा” अर्थात् हरेक अवसरमा कुरा गर्न प्रोत्साहित गर्छ। तपाईंले आफ्ना छोराछोरीसँग काम गर्नुका साथसाथै कुराकानी गर्नु भनेको आफ्नो ‘योग्यताको’ प्रयोग गर्नु हो।
तपाईंले आफ्नो परिवारसित समय बिताउनुभयो भने चिरकालीन फाइदाहरू उठाउनुहुनेछ। बाइबल उपदेश भन्छ, “सर-सल्लाह लिनेहरूका बीचमा बुद्धि पाइन्छ।” (हितोपदेश १३:१०) परिवारसित कुराकानी गर्ने समय निकालेर तपाईं आफ्ना छोराछोरीलाई दैनिक जीवनमा संघर्ष गर्ने बुद्धिमानी निर्देशन दिन सक्नुहुन्छ। अहिले यस्तो निर्देशन दिनाले भविष्यमा निकै समय बच्नुका साथै मानसिक वेदनाबाट मुक्त हुन सकिन्छ। यसबाहेक, यसले तपाईं र तपाईंका छोराछोरीलाई आनन्दित बनाउनसक्छ। यस्तो निर्देशन दिन तपाईंले परमेश्वरको वचनमा पाइने प्रशस्त ज्ञान लिनुपर्छ। त्यो ज्ञान आफ्ना छोराछोरीलाई शिक्षा दिन अनि परिवारलाई डोऱ्याउन सदुपयोग गर्नुहोस्।—भजन ११९:१०५.
[पृष्ठ ४-मा भएको चित्र]
आफ्ना आमाबाबुसित घनिष्ठ सम्बन्ध भएका जवानहरू कमै मात्र भावनात्मक तनाउको सिकार हुन्छन्
[पृष्ठ ५-मा भएको चित्र]
खुलस्त कुराकानी गर्नाले परिवारमा प्रशस्त फाइदाहरू हुन्छन्
[पृष्ठ ६-मा भएको चित्र]
तपाईं आफ्ना छोराछोरीहरूसँग मिलेर काम गर्नुहुँदा तिनीहरूसित कुराकानी गर्न र तिनीहरूलाई मूल्यवान् प्रशिक्षण दिन सक्नुहुन्छ