येशू ख्रीष्टलाई किन विश्वास गर्नु?
“मसीहीधर्म नमान्ने थुप्रै व्यक्तिहरूले पनि उहाँ महान् र बुद्धिमान् शिक्षक हुनुहुन्थ्यो भनेर विश्वास गर्छन्। आजसम्म बाँचेकाहरूमध्ये एक प्रभावशाली व्यक्ति उहाँ हुनुहुन्थ्यो भनेर कसैको दुई मत नहोला।” (द वर्ल्ड बूक इन्साइक्लोपीडिया) “उहाँ” को हुनुहुन्छ? मसीहीधर्मको संस्थापक, येशू ख्रीष्ट।
विश्वकोशले यस्तो कुरा बताए तापनि पूर्वीय र अन्य देशहरूमा बस्ने लाखौं मानिसहरू येशू ख्रीष्टलाई चिन्दैनन्। तिनीहरूको निम्ति येशू ख्रीष्ट उच्च माध्यामिक स्कूलको पाठ्यपुस्तकहरूमा देखेको कुनै एउटा नाउँ मात्र हो। मसीहीजगत्का चर्चहरूमा पनि येशूलाई नचिन्ने र बाइबलमा पाइने उहाँको जीवनसम्बन्धी संरक्षित चार विवरणहरूमा (सुसमाचारका पुस्तकहरू) शंका गर्ने धर्मविद् र पादरीहरू पनि छन्।
के सुसमाचारका लेखकहरूले येशूको जीवनीबारे आफ्नै मनगढन्ते कुरा लेखेका हुन् त? कदापि होइन! यी सुसमाचारका विवरणहरूको खण्डन गरेपछि चिरपरिचित इतिहासकार विल ड्युरान्टले यस्तो लेखे: “एकै पुस्ताभित्र, केही साधारण मानिसहरूले यतिका शक्तिशाली र मन लोभ्याउने व्यक्तित्व, यतिका उच्च नैतिक स्तर र मानव भ्रातृत्वको यति प्रेरणादायक दर्शनको आविष्कार गर्नसक्नु नै येशूको जीवनीमा उल्लेखित सबै चमत्कारहरूमध्ये सबैभन्दा पत्याउन नसकिने चमत्कार हुनेछ। येशूको जीवन, चरित्र र शिक्षाहरूबारे लेखिएको सुसमाचारका पुस्तकहरूलाई समालोचना गरिंदै आएको लगभग दुई शताब्दी भइसक्यो तर यथार्थ भने स्पष्ट छ र पश्चिमी मानव इतिहासको एउटा रोचक पक्ष बन्न पुगेको छ।”
तथापि, ख्रीष्टका अनुयायी भनेर दाबी गर्नेहरूको काम देखेर येशू ख्रीष्टबारे थाह पाउनु जरुरी छैन भन्नेहरू पनि छन्। जापानमा कसै कसैले भन्छन्, ‘नागासाकीमा परमाणु बम खसाल्ने पनि तिनीहरू नै त हुन् नि। अनि जापानका अन्य शहरहरूमा भन्दा नागासाकीमा नै अधिकांश मसीहीहरू छन्।’ तर डाक्टरको निर्देशन पालन नगर्ने बिरामीको रोग निको नभएमा के त्यसको दोष डाक्टरलाई दिन मिल्छ र? मसीही हुँ भनी दाबी गर्ने थुप्रैले मानिसजातिको रोग निको पार्ने येशूको निर्देशनलाई बेवास्ता गर्दै आएका छन्। तापनि, येशूले हाम्रा दैनिक समस्याहरूका साथसाथै विश्वभरिका मानिसजातिको कष्टको समाधान गर्ने तरिका दिनुभयो। त्यसैकारण हामी तपाईंलाई यसपछिको लेख पढ्न आग्रह गर्छौं र उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्थ्यो, तपाईं आफै हेर्नुहोस्।