प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ७/१ pp. २३-२७
  • अचाक्ली गरिबीदेखि अपार धन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अचाक्ली गरिबीदेखि अपार धन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ उत्तम कुराको खोज
  • बाइबलको प्रत्याशाले रोमाञ्चित भएको
  • अतिथि सत्कारबाट लाभ उठाउनु
  • सतावट सहँदा
  • धनको आनन्द उठाउँदै
  • परमेश्‍वरले हामीलाई विभिन्‍न तरिकामा असीम अनुग्रह देखाउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • यहोवाको निमन्त्रणा स्वीकार्दा इनाम पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको सेवा गरेर हामीले थुप्रै नौला अनुभवहरू बटुल्यौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ७/१ pp. २३-२७

अचाक्ली गरिबीदेखि अपार धन

मानवेल डा झेजुस अलमेडाको वृत्तान्तमा आधारित

मेरो जन्म अक्टोबर सन्‌ १९१६ मा भएको हो। म १७ जना छोराछोरीमध्ये सबैभन्दा कान्छो हुँ। मेरो नौ जना दाज्यू-दिदीहरूको चाहिं रोग र कुपोषणको कारण मृत्यु भइसकेको थियो, त्यसैले उनीहरूबारे मलाई केही थाहा छैन। हामी बाँचेका आठ जना चाहिं आमाबुबासँग पुर्तगालको पोर्टोनजिक, सानो गाँउमा बस्थ्यौं।

हाम्रो सानो घरमा एउटा सानो बैठक कोठा र एउटा सुत्ने कोठा थियो। खानेपानीचाहिं लगभग आधा किलोमिटर टाढाको इनारबाट निकाल्थ्यौं। हाम्रो खाना पकाउने त्यति राम्रो सुविधाहरू थिएनन्‌।

मेरो दाज्यूहरू अलि ठूलो भएपछि मकैबारीमा काम गर्न सुरु गरे। उनीहरूले कमाएको पैसाले परिवारमा केही खाद्यान्‍नको जगेडा हुन्थ्यो। उनीहरूको सहायताले मैले दुई-चार कक्षा भएपनि पढ्‌ने मौका पाएँ। हाम्रो जीवन कठिनाइमा गुज्रिरहेको भए तापनि हामी क्याथोलिक चर्चको ज्यादै भक्‍त थियौं, कुनै न कुनै तरिकाले यसले हाम्रो जीवनमा सहायता पुऱ्‍याउँछ भन्‍ने हामीमा प्रत्याशा थियो।

मे महिनामा नोभेना अर्थात्‌ नौ दिनसम्म गरिने प्रार्थना सभा आयोजना गरिएको थियो। नौ दिनसम्म लगातार हामी चर्च एकाबिहान झिसमिसेमै जान्थ्यौं। परमेश्‍वरले हामीलाई अवश्‍य आशिष्‌ दिनुहुनेछ भन्‍ने विश्‍वास राखेर हामी प्रार्थना गर्थ्यौं। हामी पादरी एक जना पवित्र जन, परमेश्‍वरको प्रतिनिधि नै भन्ठान्थ्यौं। तर वास्तविकता त अर्कै पो रहेछ।

अझ उत्तम कुराको खोज

हामीले चर्चको कर तिर्न नसक्दा पादरीले हाम्रो आर्थिक अवस्था रत्तीभर बुझिदिएन। यसैले हामी साह्रै खिन्‍न भयौं। चर्चप्रति मेरो झुकाउ पूरै परिवर्तन भयो। यसकारण, म १८ वर्षको भएपछि बारीमा काम गर्न र चर्चसँग गनगन गरिरहनुभन्दा जीवनमा अरू असल कुरा पाइन्छ कि भनेर परिवारलाई छोड्‌ने निर्णय गरें। यसर्थ, म सन्‌ १९३६ मा पुर्तगालको राजधानी लिस्बन आइपुगें।

त्यहाँ एडमिन्यसँग मेरो भेट भयो। धर्मले मलाई धोका दिए जस्तो लागे तापनि मैले चर्चको रीतिथितिअनुसार क्याथोलिक चर्चमै विवाह गरें। त्यसपछि सन्‌ १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु हुँदा मैले १८ वटा गोदामहरूको रेखदेख गर्थें, युद्धको समय हामीले दिनमा करिब १२५ ट्रक युद्ध सामग्रीहरू पठाउँने गर्थ्यौं।

युद्धले त्रसित भएको बखत क्याथोलिक चर्चको पनि संलग्नता भएको कुराले मलाई ठूलो असर पाऱ्‍यो। यसले मेरो मनमा थुप्रै प्रश्‍नहरू उब्जायो, ‘के साँच्ची नै परमेश्‍वरले मानवजातिको चिन्ता गर्नुहुन्छ? हामीले उहाँलाई कसरी उपासना गर्नुपर्छ?’ वर्षौंपछि सन्‌ १९५४ मा एक वृद्ध भलाद्‌मीले यस्तै प्रश्‍नहरूबारे मसित कुरा गरे। उनी एक यहोवाका साक्षी थिए। यस्ता कुराकानीले मेरो जीवनमा नयाँ मोड ल्यायो।

बाइबलको प्रत्याशाले रोमाञ्चित भएको

यिनै दयालु व्यक्‍ति, जोसुआले मलाई परमेश्‍वरको राज्यले मात्र संसारको समस्याहरूको समाधान गर्छ र यस राज्यको शासनले मात्र शान्ति र सुरक्षा कायम गर्नेछ भनेर बताए। (मत्ती ६:९, १०; २४:१४) उनको कुरा सुनेर म रमाएँ तर मेरो पहिलाकै धर्मको अनुभवले गर्दा उनको कुरा स्वीकार्न म हिचकिचाएको थिएँ। जब मसँग उनले अध्ययन गर्ने प्रस्ताव राखे तब मैले मसँग पैसा नलिने र राजनीति विषयमा कुरा नगर्ने सर्त राखेर उक्‍त प्रस्तावलाई स्वीकारें। त्यसै गरी उनी पनि मलाई सित्तैंमा अध्ययन गराउन राजी भए।—प्रकाश २२:१७.

जोसुआको कुरामा मेरो विश्‍वास बढ्यो। यसकारण, “के म पनि एउटा बाइबल पाउन सक्छु?” भनेर मैले बाल्यवस्थादेखि नै चाहेको पुस्तकको विषयमा सोधें। यो किताब पाएर प्रथम चोटि सृष्टिकर्ताको आफ्नै वचनमा, “परमेश्‍वर आफै [मानिस]हरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌” भन्‍ने प्रतिज्ञा पढ्‌न पाउँदा म ज्यादै आनन्दित भएँ!—प्रकाश २१:३, ४.

बाइबलको विशेष गरी गरिबी र रोग हटाउने कुरा मेरो निम्ति सान्त्वनादायी थियो। विश्‍वासी एलीहूले परमेश्‍वरको विषयमा यसो भने: उहाँले “तिनीहरूलाई प्रशस्त गरी खानेकुरा दिनुहुन्छ।” (अय्यूब ३६:३१) अनि परमेश्‍वरको धार्मिक शासनको अधीनमा, “त्यहाँका बासिन्दाहरूले यसो भन्‍ने छैनन्‌, ‘म बिरामी परें’ ” भनेर बाइबल भन्छ। (यशैया ३३:२४) परमेश्‍वरले मानवजातिप्रति कति धेरै चासो राख्नुहुन्छ! उहाँका प्रतिज्ञाहरूमा मेरो चासो बढेर गयो।

म अप्रिल १७, १९५४ मा यहोवाका साक्षीहरूको सभामा पहिलो चोटि उपस्थित भएँ। यो येशूको मृत्युको स्मरणार्थ उत्सवको विशेष सभा थियो। त्यस दिनदेखि म सभाहरूमा नियमित उपस्थित भइरहेको छु। चाँडै मैले सिकेका राम्रा कुराहरू अरूलाई पनि बाँड्‌न सुरु गरें। ती दिनहरूमा हामी पुर्तगालमा प्रत्येक महिना समुन्द्र किनारमा पिकनिक मनाउँथ्यौं र त्यहीं बप्तिस्मा पनि दिइन्थ्यो। जोसुआसँग भेट भएको सात महिनापछि मैले समुन्द्रमा पानीको बप्तिस्माद्वारा यहोवामा आफ्नो समर्पण जाहेर गरें।

सन्‌ १९५४ मा पुर्तगालभरि लगभग एक सय जति मात्र साक्षीहरू थिए। त्यसैले त्यहाँ प्रचारको काममा अगुवाइ लिने भाइहरूको अत्यन्तै आवश्‍यकता थियो। मैले लगातार प्रगति गर्दै गएँ अनि मण्डलीमा जिम्मेवारीहरू पनि पाएँ। सन्‌ १९५६ मा लिस्बनको यहोवाका साक्षीहरूको अर्को मण्डलीमा मण्डली सेवक अर्थात्‌ अध्यक्ष निरीक्षकको रूपमा नियुक्‍त भएँ। आज यस शहर र यसको वरपर एक सयभन्दा बढी मण्डलीहरू छन्‌।

अतिथि सत्कारबाट लाभ उठाउनु

एडमिन्य र म गरिब नै भए तापनि मसीही भाइबहिनीहरूको निम्ति हाम्रो ढोका हमेसा खुला हुन्थ्यो। सन्‌ १९५५ मा ब्राजिलदेखि एक अग्रगामी अर्थात्‌ यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक जर्मनीमा सम्पन्‍न “विजयी राज्य” विषयक अन्तर्राष्ट्रिय अधिवेशनमा उपस्थित हुन गइरहेको बेला पुर्तगालमा रोकिनु पऱ्‍यो। उनी यातायातको समस्याको कारण हाम्रो घरमा महिना दिन जस्तो हामीसँगै बस्दा हामीले धेरै आध्यात्मिक लाभहरू उठायौं।

हाम्रो घरमा आउनेहरूमध्ये न्यु योर्कस्थित ब्रूकलिनबाट आएका यहोवाको साक्षीहरूको मुख्य कार्यालयका सदस्यहरू हूगो रिमर र चाल्स इकर पनि थिए। उनीहरूले हामीसँगै खानपान गरेपछि पुर्तगाली भाइहरूलाई भाषण दिए। भर्खरै ओथारोबाट निक्लेको चल्लाले चुच्चो आँ गरेर चारो पर्खे जस्तो हामी आध्यात्मिक रसदार मीठो गाँस पर्खिरह्‍यौं।

यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षक पनि भ्रमणको दौडान हाम्रै घरमा बस्नुभयो। सन्‌ १९५७ को भ्रमणमध्ये पुर्तगालको भाइहरूलाई प्रोत्साहन दिन भ्रमण गर्न खटाइएका मोरोक्कोको शाखा निरीक्षक अल्भेरू बेरिकोकियको भ्रमण चाहिं अविस्मरणीय छ। उहाँ हाम्रो घरमै हुने पुस्तक अध्ययनमा उपस्थित हुनुभयो, हामीले उहाँलाई पुर्तगालमा बसुञ्जेल हाम्रै घरमा बस्न भनी आग्रह गऱ्‍यौं। हामी उहाँको महिना दिनको लामो भ्रमणले आध्यात्मिक तौरमा आशिषित भयौं अनि मोटायौं, साथै भाइ अल्भेरू पनि मेरी प्रिय एडमिन्यले पकाएको मीठो खानाले मोटाए।

मैले बाल्यकालमा अनुभव गर्नुपरेको आचाक्ली गरिबीले ठूलो छाप छोडेको छ। यद्यपि, हामीले यहोवा र उहाँको भक्‍तजनहरूलाई जत्ति दिन्छौं उत्ति नै उहाँले हामीलाई आशिष्‌ दिनुहुन्छ भन्‍ने मैले बुझें। हामीले सकेजति अतिथिसत्कार देखाउँदा यहोवाको आशिष्‌ त्यतिकै महसुस गर्थ्यौं।

सन्‌ १९५८ मा न्यु योर्क, यांकी स्टेडियम्‌मा सम्पन्‍न हुने अन्तर्राष्ट्रिय अधिवेशनबारे सन्‌ १९५५ को पोर्टो अधिवेशनमा घोषणा गरियो। त्यस अधिवेशनमा पुर्तगाली प्रतिनिधिहरू पठाउँन खर्च सहयोगको लागि देशभरिको थोरै संख्यामा भएको राज्यभवनहरूमा चन्दा बाकसहरू राखियो। ती प्रतिनिधिहरूमध्ये म र मेरी पत्नी पनि छानिंदा हामी कत्ति रमायौं होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? अधिवेशनको निम्ति हामी संयुक्‍त राज्यमा हुँदा ब्रूकलिन, यहोवाका साक्षीहरूको मुख्य कार्यालय पनि घुम्न पाउँदा अझ कत्ति रमायौं होला।

सतावट सहँदा

सन्‌ १९६२ मा यहोवाका साक्षीहरूको प्रचार कार्यमा प्रतिबन्ध लगाएपछि मिसनरीहरू एरिक ब्रीटन, डोमेनीक पिकोनी र एरिक बेभरीजलाई देशनिकाला गरियो। हामीले राज्यभवनमा सभाहरू संचालन गर्न नपाउने भयौं। त्यसैले हामीले आफ्नै घरहरूमा गुप्तरूपमा सभाहरू संचालन गर्न थाल्यौं। पुर्तगालमा ठूलठूलो अधिवेशन हुनु त झन असम्भवकै कुरा थियो। त्यसैले हाम्रा मसीही भाइबहिनीहरूलाई अरू देशहरूमा हुने अधिवेशनहरूमा पठाउन यातायातको प्रबन्ध मिलाउने मेरो जिम्मेवारी थियो।

त्यत्रो थुप्रो साक्षीहरूको निम्ति यात्राको प्रबन्ध मिलाउनु सजिलो कुरा थिएन। यद्यपि, पुर्तगाली भाइहरूले धेरै आध्यात्मिक फाइदाहरू उठाएको देख्न पाउँदा परिश्रम व्यर्थै खेर गएन। स्वीजरल्याण्ड, बेलाइत, इटाली र फ्रान्समा भएको अधिवेशनहरूमा उपस्थित हुनु पाउनु तिनीहरूको निम्ति कत्ति उत्थानदायी अनुभव थियो। यस्ता अधिवेशनहरूबाट आफ्नो देश फर्केर आउँदा तिनीहरूले साहित्यहरू पनि ल्याउने मौका पाए। त्यतिखेर पुर्तगालमा एउटा धार्मिक संस्थाको रूपमा दर्ता गर्न अनेकौं बिन्ती चढायौं तर त्यो सबै बेकार भयो।

सन्‌ १९६२ को सुरुतिर मिसनरीहरूलाई देशनिकाला गरेपश्‍चात्‌ हाम्रो प्रचारकार्य बन्द गर्न गोप्य प्रहरीहरूले कुनै कसर छोडेनन्‌। हाम्रा थुप्रै भाइबहिनीहरूलाई गिरफ्तार गरेर अदालत लगे। यी घटनाहरूको लिखित रिपोर्टहरू यस पत्रिका र यसको सहायक पत्रिका, ब्यूँझनुहोस्‌! मा प्रकाशित भएको थियो।a

ती झ्यालखानमा पर्नेहरूमध्ये मैले परमेश्‍वरको राज्यको सुसमाचार सुनाएको एक अग्रगामी पनि थियो। प्रहरीहरूले खानतलासी लिंदा तिनीहरूमध्ये एक जनाकोमा मेरो ठेगाना फेला पारे, त्यसपछि मलाई बोलाएर केरकार गरे।

केही दिनपछि, दुई जना प्रहरीहरू मेरो घरमा खानतलासी लिन आए। उनीहरूले मेरो बाइबल अध्ययन सहायक सामग्रीहरू लगायत १३ प्रति बाइबल जफत गरे। उनीहरू फरक फरक समयमा जम्माजम्मी सात चोटि हाम्रो घर र वरिपरि खानतलासी लिन आएर साह्रै हैरान गरे। उनीहरूले हरेक पटक हामीलाई तीन थुप्रो प्रश्‍नहरू गरिरहे।

अदालतको मुद्दामा सँगी साक्षीहरूको पक्षमा गवाही दिनु मलाई अनेकौं पटक बोलाइयो। हुनत म त्यति लेखपढ गरेको मानिस होइन तर यहोवाले मलाई ‘दिनुभएको बुद्धिले विरोधीहरू प्रत्युत्तर दिन र खण्डन गर्न सक्दैनथे।’ (लूका २१:१५) मेरो अकाट्य गवाहीप्रति अचम्मित हुँदै न्यायाधीशले मेरो शैक्षिक योग्यता जान्‍न चाहे। म चार कक्षा मात्र पढेको हुँ भन्‍ने कुरा सुनेर अदालतका कोठामा भएकाहरू सबै गललल हाँसे।

सतावट जत्ति बढ्‌दै गयो राज्यको समाचार स्वीकार्नेहरू कम भएन। यसर्थ, पुर्तगालमा सन्‌ १९६२ को १,३०० भन्दा कम साक्षीहरू सन्‌ १९७४ मा १३,००० भन्दा अधिक पुग्यो! त्यसैताका मे १९६७ मा मलाई परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्न बोलाइयो। यस काममा म यहोवाका साक्षीहरूलाई आध्यात्मिक बल दिन मण्डलीहरूमा गएँ।

धनको आनन्द उठाउँदै

डिसेम्बर १९७४ मा मैले पुर्तगालमा यहोवाका साक्षीहरूको कार्यलाई वैध बनाउन दर्ता गर्ने काममा सहभागी हुने सुअवसर पाएँ। त्यसको अर्को वर्ष म र मेरी पत्नी इस्टरीलमा यहोवाका साक्षीहरूको बेथेल परिवारको सदस्य भयौं। म पुर्तगाल शाखा समितिको सदस्य भएर सेवा गर्न पनि नियुक्‍त भएँ।

पुर्तगाल र अरू इलाकाहरूमा हाम्रो शाखाको रेखदेखमा प्रचारकार्यमा भएको उन्‍नति देख्न पाउनु कत्ति खुसीको कुरा! यसमा अंगोला, अजोरस, केप भर्ड, मडिरा अनि साओ तोमे र प्रिन्सिप समावेश छन्‌। यत्तिका वर्षहरूमा पुर्तगालबाट बाहिरका यी मुलुकहरूमा सेवा गर्न पठाउँदा राज्य समाचारमा अत्यन्तै चासो देखाउनेहरू देख्न पाउनु कत्ति रोमाञ्चकारी कुरा! अहिले यी मुलुकहरूमा, पुर्तगालमा मात्र ४७,००० लगायत ८८,००० राज्य प्रचारकहरू भएको पाउँदा हामी कत्ति हर्षले विभोर छौं, कल्पना गर्नुहोस्‌ त! यी देशहरूमा सन्‌ १९५४ को स्मरणार्थ उत्सवको २०० उपस्थितिसँग तुलना गर्दा सन्‌ १९९८ मा उपस्थितिको शिखर २,४५,००० पुग्यो।

एडमिन्य र म बाइबल भजनरचयिताको यो शब्दहरूसँग हृदयदेखि नै सहमत छौं, जसले यसो भने, “[यहोवा] को दरवारमा एक दिन हजार दिनभन्दा असल छ।” (भजन ८४:१०) जब बितेका गरिब दिनहरूलाई अहिलेको आध्यात्मिक धनसँग तुलना गर्दा म औधी आनन्दित हुन्छु। म अगमवक्‍ता यशैयाले जस्तै सोच्ने गर्छु: “हे परमप्रभु [यहोवा], तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, म तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँको स्तुति गर्छु, किनकि तपाईंले आश्‍चर्यका कामहरू गर्नुभयो . . . किनकि तपाईं गरीबहरू र दरिद्रहरूका दुःखमा आड हुनुभएको छ।”—यशैया २५:१, ४.

[फुटनोट]

a मे २२, १९६४, ब्यूँझनुहोस्‌! (अंग्रेजी) पृष्ठ ८-१६ र अक्टोबर १, १९६६, प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ ५८१-९२ सम्म हेर्नुहोस्‌।

[पृष्ठ २४-मा भएका चित्रहरू]

सबभन्दा माथि: लिस्बनमा भाइ अल्मेदा सन्‌ १९५८ को न्यु योर्कको अधिवेशनमा प्रतिनिधिहरू पठाउने प्रबन्ध मिलाउन घोषणा गर्दै

बीचमा: पेरिसको “पृथ्वीमा शान्ति” अन्तर्राष्ट्रिय अधिवेशनमा आदर्श सेवकाई सेवक र प्राचीनहरूको सभा संचालन गर्दै

तल्लो: फ्रान्सको जिल्ला अधिवेशन जान तयारी भाडामा लिइएका बसहरू

[पृष्ठ २५-मा भएको चित्र]

पुर्तगाल शाखामा बिहानको उपासना संचालन गर्दै

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९८८ मा समर्पित, पुर्तगाल शाखा

[पृष्ठ २६-मा भएको चित्र]

ब्रूकलिन बेथेलबाट आएका भाइ हूगो रिमरको भाषणबाट हामीले निकै प्रोत्साहन पायौं

[पृष्ठ २६-मा भएको चित्र]

मेरी पत्नीसँग

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने