प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ८/१५ pp. १९-२४
  • यहोवाले बाटो तयार पार्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले बाटो तयार पार्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कठिन कार्यभार
  • धार्मिक वातावरण
  • कानुनव्यवस्थाबाट फाइदा
  • शान्ति र सहिष्णुताको समय
  • प्रविधिको भूमिका
  • ‘यहोवाको विषयमा सुनाउन’ जाति जातिहरूलाई तयार पारियो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यहोवा संसारभर भइरहेको शिक्षणकार्यलाई डोऱ्‍याउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “सब जातिहरूलाई साक्षी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ८/१५ pp. १९-२४

यहोवाले बाटो तयार पार्नुहुन्छ

“राज्यको यो सुसमाचार . . . प्रचार गरिनेछ।”—मत्ती २४:१४.

१. प्रथम तथा यो २० औं शताब्दीमा भएको प्रचार कार्यले गर्दा के भयो?

यहोवा प्रेमको परमेश्‍वर हुनुभएकोले “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने चाहनुहुन्छ। (१ तिमोथी २:४) अतः अन्तरराष्ट्रिय तवरमा प्रचार गर्ने तथा शिक्षा दिने अभियान चालू गर्नुपरेको छ। प्रथम शताब्दीमा प्रचार कार्यले मसीही मण्डलीलाई “सत्यको खामा र जग” बनायो। (१ तिमोथी ३:१५) त्यसपछि लामो समयसम्म धर्मत्याग फैलियो र सत्यको ज्योति धमिलियो। अहिले यो “अन्तको समय[मा]” फेरि प्रशस्त मात्रामा ‘सही ज्ञान’ उपलब्ध भएको छ र लाखौं मानिसहरूले बाइबलमा आधारित अनन्त छुटकाराको आशा पाएका छन्‌।—दानियल १२:४.

२. प्रचार गतिविधिको सम्बन्धमा यहोवाले के गर्नुभएको छ?

२ परमेश्‍वरको उद्देश्‍य विफल पार्न शैतानले गरेको अथक प्रयासको बावजूद प्रचार गतिविधिले प्रथम तथा यो २० औं शताब्दीमा अचम्मै लाग्ने गरी सफलता हासिल गरेको छ। यसले यशैयाको भविष्यवाणी स्मरण गराउँछ। सा.यु.पू. छैटौं शताब्दीमा यहूदा फर्कने निर्वासित यहूदीहरूको सन्दर्भमा यशैयाले लेखे: “हरेक बेंसी अल्गो बनाइनेछ, र हरेक पर्वत र डाँड़ा होंचाइनेछ, औ बांगो–टेढ़ो जग्गा सीधा बनाइनेछ, र खाल्टी–खुल्टी समतल बनाइनेछ।” (यशैया ४०:४) प्रथम तथा २० औं शताब्दीमा यहोवाले बृहत्‌ प्रचार अभियानको निम्ति बाटो तयार गर्नुका साथै, त्यसलाई सजिलो पनि बनाउनुभएको छ।

३. यहोवाले कुन कुन तरिकामा आफ्ना उद्देश्‍यहरू पूरा गर्न सक्नुहुन्छ?

३ यसको अर्थ यहोवाले सुसमाचार प्रचारकार्यलाई अघि बढाउन यस पृथ्वीमा हुने हर गतिविधिलाई आफ्नो हातमा लिनुभयो वा भविष्यमा हुने प्रत्येक कुराहरू एक एक गरी जान्‍न पहिल्यै आफ्नो दूरदर्शिता प्रयोग गर्नुभयो भन्‍ने होइन। उहाँले अवश्‍य भविष्य देख्नसक्नुहुन्छ अनि भावी घटनाहरू काँटछाँट गर्न पनि सक्नुहुन्छ। (यशैया ४६:९-११) तर त्यसका साथै उहाँ घटनाहरू प्रस्ट हुँदै जाँदा त्यसअनुरूप कदम चाल्न पनि सक्नुहुन्छ। आफ्नो बगाललाई कसरी डोऱ्‍याउने अनि सुरक्षित राख्ने भनेर जान्‍ने अनुभवी गोठालोलेझैं यहोवा आफ्ना जनहरूलाई डोऱ्‍याउनुहुन्छ। उहाँले आफ्ना जनहरूको आध्यात्मिकता सुरक्षित गरेर अनि विश्‍वभरि सफलतासाथ सुसमाचार प्रचार गर्न टेवा पुऱ्‍याउने परिस्थिति तथा परिवर्तनहरूको मौका उठाउन प्रेरित गरेर तिनीहरूलाई छुटकारातर्फ डोऱ्‍याउनुहुन्छ।—भजन २३:१-४.

कठिन कार्यभार

४, ५. सुसमाचार प्रचार गर्नु किन चुनौतीपूर्ण कार्यभार भएको छ?

४ नूहको समयको जहाज बनाउने कामजस्तै परमेश्‍वरको राज्य प्रचारकार्य प्रथम शताब्दीमा र आधुनिक समयमा एउटा बृहत्‌ योजना भएको छ। सन्देश चाहे जस्तोसुकै होस्‌, सबै मानिसहरूलाई सुनाउनु मात्रै पनि असाध्यै गाह्रो हुन्छ भने, प्रचार गर्नु त झनै चुनौतीपूर्ण हुने नै भयो। प्रथम शताब्दीमा चेलाहरू थोरै थिए। तिनीहरूका नेता येशूलाई राजद्रोहको झूटो आरोपमा मृत्युदण्ड दिइएको थियो। मसीहीधर्मको तुलनामा यहूदीधर्म बलियो जरा गाडिसकेको धर्म थियो। यरूशलेममा भव्य मन्दिर थियो। भूमध्यसागर वरपरका इलाकाहरूमा गैरयहूदीधर्म राम्ररी स्थापित भइसकेको थियो। तिनीहरूका मन्दिर तथा पूजाहारीहरूसमेत थिए। त्यसै गरी सन्‌ १९१४ मा “अन्तको समय” सुरु हुँदा अभिषिक्‍त मसीहीहरू थोरै तर परमेश्‍वरको सेवा गर्छौं भनी दाबी गर्ने अन्य धर्मावलम्बीहरू थुप्रै थिए।—दानियल १२:९.

५ येशूले आफ्ना अनुयायीहरूलाई तिनीहरू सताइनेछन्‌ भनेर चेताउनी दिनुभयो। उहाँले भन्‍नुभयो: “तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्‌, र तिमीहरूलाई मार्नेछन्‌, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:९) यी समस्याहरूको अलावा, विशेष गरी यो “आखिरी दिनमा” मसीहीहरूले “डरलाग्दो समय[को]” सामना गर्नुपर्नेथियो। (२ तिमोथी ३:१) कामको व्यापकता, सतावट अनि कठिन समयले प्रचार कार्यलाई चुनौतीपूर्ण र कठिन बनाएको छ। ठूलो विश्‍वासको खाँचो परेको छ।

६. आफ्ना जनहरूलाई तिनीहरू सफल हुनेछन्‌ भनेर यहोवा कस्तो आश्‍वासन दिनुहुन्छ?

६ समस्याहरू आइपर्नेछन्‌ भनी थाह हुनुका साथसाथै यो कार्यलाई कुनै कुराले रोक्नसक्दैन भनेर पनि यहोवालाई थाह थियो। प्रथम अनि यो २० औं शताब्दीमा प्राप्त हुने उल्लेखनीय सफलताबारे चिरपरिचित भविष्यवाणीमा उल्लेख गरिसकिएको थियो: “राज्यको यो सुसमाचार सारा संसारमा . . . प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

७. प्रथम शताब्दीमा प्रचार गतिविधि कुन हदसम्म फैलिएको थियो?

७ विश्‍वास र पवित्र आत्माले भरिएर प्रथम शताब्दीमा परमेश्‍वरका सेवकहरूले आफ्नो कार्यभार पूरा गरिरहेका छन्‌। यहोवा तिनीहरूसँग हुनुभएकोले तिनीहरूले आशा गरेभन्दा बढी सफलता प्राप्त गरे। येशूको मृत्यु भएको झन्डै २७ वर्षपछि पावलले कलस्सीहरूलाई पत्र लेख्दा सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भन्‍न सके। (कलस्सी १:२३) तुलना गर्ने हो भने २० औं शताब्दीको अन्तसम्ममा २३३ मुलुकहरूमा सुसमाचार प्रचार गरिसकिएको छ।

८. कस्ता अवस्थाहरूमा थुप्रैले सुसमाचारलाई अंगालेका छन्‌? उदाहरणहरू दिनुहोस्‌।

८ हालैका दशकहरूमा लाखौंले सुसमाचार ग्रहण गरेका छन्‌। थुप्रैले कठिन अवस्था अर्थात्‌ युद्ध, प्रतिबन्ध अनि भीषण सतावट भइरहेको बेला सुसमाचार ग्रहण गरेका छन्‌। प्रथम शताब्दीमा पनि यस्तै भएको थियो। एक पटक पावल र सिलासलाई फलामको छडीले नराम्रोसँग पिटी झ्यालखानामा हालियो। निस्सन्देह, यो कुनै पनि हालतमा चेला बनाउन सुहाउँदो अवस्था हुनसक्दैन! यद्यपि, यहोवाले त्यसै गर्नुभयो। पावल र सिलास रिहाइ भए अनि झ्यालखानाका हाकिम र तिनका परिवार विश्‍वासी भए। (प्रेरित १६:१९-३३) सुसमाचारका विरोधीहरूले सुसमाचारलाई बन्द गर्नसक्दैनन्‌ भनी यस्ता अनुभवहरूले देखाउँछन्‌। (यशैया ५४:१७) तैपनि, मसीहीधर्मको इतिहास घोर दुःखकष्ट र सतावटले मात्र भरिएको छैन। आउनुहोस्‌, प्रथम तथा यो २० औं शताब्दीमा सुसमाचार प्रचारकार्य सफल बनाउन भएका केही अनुकूल विकासमाथि ध्यान केन्द्रित गरौं।

धार्मिक वातावरण

९, १०. यहोवाले प्रथम शताब्दी अनि २० औं शताब्दीमा सुसमाचार प्रचारकार्यका लागि कसरी आशा जगाउनुभयो?

९ विश्‍वव्यापी तवरमा प्रचारकार्य गर्ने अभियानको समयलाई विचार गर्नुहोस्‌। प्रथम शताब्दीको सम्बन्धमा दानियल ९:२४-२७ मा दिइएको वर्षमा गणना गरिने ७० हप्ते भविष्यवाणीले मसीह देखा पर्ने समय अर्थात्‌ सा.यु. २९ लाई संकेत गऱ्‍यो। प्रथम शताब्दीका यहूदीहरूले मसीह देखा पर्ने सही समय बुझ्न नसके तापनि तिनीहरू आशा गर्दै मसीहलाई पर्खिरहेका थिए। (लूका ३:१५) फ्रान्सेली मानुएल बीब्लीक यसो भन्छ: “दानियलले तोकेको वर्षमा गणना गरिने सत्तरी हप्ता नजिकिंदै छ भनेर मानिसहरूलाई थाह थियो। त्यसैकारण, बप्तिस्मा दिने यूहन्‍नाले परमेश्‍वरको राज्य नजिकै छ भनी घोषणा गर्दा कोही पनि छक्क परेनन्‌।”

१० अनि आधुनिक समयबारे नि? भनौं भने, विस्मयकारी घटनाचाहिं येशू स्वर्गमा गद्दीनसिन हुनु थियो। जसले उहाँको राज्य शक्‍ति सुरु भएको भनी चिह्नित गऱ्‍यो। बाइबल भविष्यवाणीअनुसार यो घटना १९१४ मा भयो। (दानियल ४:१३-१७) यो घटनाको अडकल काट्‌दै आधुनिक समयमा पनि धार्मिक झुकाउ भएका केही मानिसहरूले आशा गरिरहेका थिए। यो प्रत्याशा १८७९ मा सियोनको प्रहरीधरहरा तथा ख्रीष्टको उपस्थितिको उद्‌घोषणा शीर्षक राखेर यही पत्रिका प्रकाशित गर्ने सच्चा बाइबल विद्यार्थीहरूले पनि राखेका थिए। यसरी प्रथम शताब्दी अनि आधुनिक समयमा धार्मिक सुसमाचार प्रचार गर्ने वातावरण तयार पाऱ्‍यो।a

११. सुसमाचार प्रचारकार्यलाई सहयोग पुऱ्‍याउने कस्ता धार्मिक जगहरू बसालिए?

११ थुप्रै मानिसहरू पवित्र धर्मशास्त्रसित परिचित भएकाले पनि दुवै युगमा मसीहीहरूको कार्यलाई अघि बढाउन मदत मिल्यो। प्रथम शताब्दीमा यहूदी समुदायहरू अन्यजातिका मुलुकहरूमा यत्रतत्र छरिएका थिए। यी समुदायहरूका सभाधरहरू हुन्थे जहाँ मानिसहरू धर्मशास्त्रको पढाइ तथा छलफल सुन्‍न नियमित तवरमा भेला हुने गर्थे। यसरी प्रारम्भिक मसीहीहरूले मानिसहरूले पहिल्यैदेखि जानेबुझेका धार्मिक ज्ञानलाई आधार बनाएर सुसमाचार प्रचार गर्नसके। (प्रेरित ८:२८-३६; १७:१, २) हाम्रो जमानाको सुरुसुरुतिर यहोवाका जनहरूले प्रचार गर्न थाल्दा थुप्रै मुलुकहरूमा वातावरण यस्तै थियो। मसीहीजगत्‌ र विशेष गरी प्रोटेस्टेन्टधर्म मान्‍ने मुलुकहरूमा बाइबलहरू सर्वत्र उपलब्ध थियो। थुप्रै चर्चहरूमा बाइबल पढिन्थ्यो र लाखौंसित आफ्नै प्रति थियो। मानिसहरूको हातमा बाइबल थियो तर त्यसमा भएका कुराहरू बुझ्न तिनीहरूलाई मदत चाहिइरहेको थियो।

कानुनव्यवस्थाबाट फाइदा

१२. प्रथम शताब्दीमा रोमी व्यवस्था अक्सर कसरी सुरक्षाको कारण भयो?

१२ मसीही प्रचार कार्यले अक्सर सरकारी कानुनव्यवस्थाबाट पनि फाइदा उठाएका छन्‌। प्रथम शताब्दीताक सारा विश्‍वमाथि रोमी साम्राज्यले अधिकार जमाएको थियो र त्यसका लिखित कानुनव्यवस्थाले मानिसहरूको दैनिक जीवनमा गहिरो प्रभाव पारेको थियो। यी कानुनी व्यवस्थाहरूले सुरक्षा प्रदान गर्थ्यो र प्रारम्भिक मसीहीहरूले यसबाट फाइदा उठाए। उदाहरणका लागि, पावलले रोमी कानुनी व्यवस्थाअनुसार अपिल गर्दा झ्यालखानाबाट छुटे अनि कोर्रा खानदेखि बचे। (प्रेरित १६:३७-३९; २२:२५, २९) रोमी कानुनी व्यवस्थाको उल्लेख गरेर एफिसीमा मानिसहरूको क्रुद्ध भीडलाई शान्त पार्न सकियो। (प्रेरित १९:३५-४१) रोमी नागरिक भएकाले एक पटक पावल यरूशलेममा भएको दंगाबाट बचे। (प्रेरित २३:२७) पछि, रोमी कानुनी व्यवस्थाकै कारण तिनले सिजरकहाँ गएर कानुनी तवरमा आफ्नो विश्‍वासको वकालत गर्न सके। (प्रेरित २५:११) प्रायजसो सिजरहरू निरंकुश भए तापनि प्रथम शताब्दीको कानुनव्यवस्थाले अक्सर “सुसमाचारको रक्षा र समर्थनको काम” गर्न मदत दियो।—फिलिप्पी १:७.

१३. अहिले हाम्रो समयमा प्रचार कार्यले अक्सर कानुनव्यवस्थाबाट कसरी फाइदा उठाएको छ?

१३ आज थुप्रै मुलुकहरूमा यो कुरा सत्य साबित भएको छ। बेला बेलामा ‘नियमद्वारा अधर्म रच्ने’ मानिसहरूले दुःख दिए तापनि अधिकांश मुलुकहरूका लिखित कानुनी व्यवस्थाहरूले धार्मिक स्वतन्त्रतालाई मौलिक अधिकार मानेको छ। (भजनसंग्रह ९४:२०) यहोवाका साक्षीहरूले सामाजिक व्यवस्थामा कुनै खतरा पुऱ्‍याउँदैनन्‌ भन्‍ने कुरा बुझेर थुप्रै सरकारहरूले हामीलाई कानुनी मान्यता दिएका छन्‌। यहोवाका साक्षीहरूको अधिकांश मुद्रणकार्य हुने ठाउँ संयुक्‍त राज्यमा त्यहाँको विद्यमान्‌ व्यवस्थाले गर्दा विगत १२० वर्षदेखि प्रहरीधरहरा पत्रिका प्रकाशित गर्न र विश्‍वभरिका पाठकहरूले पढ्‌न सम्भव भएको छ।

शान्ति र सहिष्णुताको समय

१४, १५. सापेक्षिक सामाजिक स्थिरताले प्रथम शताब्दीमा प्रचार गतिविधिलाई कसरी फाइदा पुऱ्‍यायो?

१४ प्रचार गतिविधिले सापेक्षिक शान्तिको समयबाट पनि फाइदा उठाएको छ। येशूले यी दुई युगहरूमा ‘जातिको विरुद्धमा जाति उठ्‌नेछ’ भनी सही भविष्यवाणी गर्नुभएको भए तापनि बीच-बीचमा देखा परेको शान्तिमय अवस्थाले गर्दा जोडतोडका साथ राज्य प्रचारकार्य गर्न सम्भव भयो। (मत्ती २४:७) प्रथम शताब्दीका मसीहीहरूले पाक्स रोमाना अर्थात्‌ रोमी शान्तिमय युगमा जीवन बिताए। एक इतिहासकारले लेखे: “रोमले भूमध्यसागरका मानिसहरूलाई पूर्णतया आफ्नो नियन्त्रणमा राखेकोले त्यहाँ वर्षौंदेखि तिनीहरूबीच चल्दै आएको युद्ध लगभग समाप्त नै भयो।” यस किसिमको स्थायित्वले प्रारम्भिक मसीहीहरूलाई रोमी साम्राज्यभरि केही हदसम्म भए पनि सुरक्षित यात्रा गर्न सघायो।

१५ रोमी साम्राज्यले आफ्नो नियन्त्रणमा भएका मानिसहरूलाई एकताबद्ध गराउने प्रयास गऱ्‍यो। यो नीतिले गर्दा यात्रा, सहिष्णुता, विचारको आदानप्रदान तथा अन्तरराष्ट्रिय भ्रातृत्व फस्टाउन सक्यो। सभ्यताको बाटोमा नामक (अंग्रेजी) पुस्तकमा यस्तो लेखिएको छ: “[रोमी] साम्राज्यको एकताले [मसीही प्रचारकार्यको लागि] अनुकूल अवस्था सृजना गऱ्‍यो। राजनैतिक सिमानाहरू थिएनन्‌। रोमी नागरिक संसारकै नागरिक थिए। . . . यसबाहेक, रोमजस्तो विश्‍वव्यापी नागरिकताको विचारधारा विकास गर्ने राष्ट्रमा भ्रातृत्वको शिक्षा दिने मसीहीधर्मलाई बुझ्नु गाह्रो थिएन।”—प्रेरित १०:३४, ३५; १ पत्रुस २:१७ तुलना गर्नुहोस्‌।

१६, १७. आधुनिक समयमा कुन कारणले गर्दा मानिसहरू शान्ति ल्याउने प्रयास गर्न उत्सुक भए र थुप्रै मानिसहरू कस्तो निष्कर्षमा पुगेका छन्‌?

१६ हाम्रो समयबारे के भन्‍न सकिन्छ? यो २० औं शताब्दीले इतिहासकै सबैभन्दा विनाशकारी युद्धहरू समेटेको छ र केही मुलुकहरूमा त अझै पनि धार्मिक युद्धहरू चर्किरहेका छन्‌। (प्रकाश ६:४) यद्यपि, समय समयमा केही हदसम्म भए पनि शान्ति छाएको छ। विश्‍वका शक्‍तिशाली राष्ट्रहरू आपसमा खुलेआम नलडेका ५० वर्षभन्दा बढी भइसक्यो। फलतः यी मुलुकहरूमा सुसमाचार प्रचार गर्न निकै सहयोग मिलेको छ।

१७ यस २० औं शताब्दीमा लडिएका बीभत्स युद्धहरूले थुप्रै मानिसहरूलाई विश्‍वव्यापी सरकारको आवश्‍यकता महसुस गराएको छ। विश्‍वयुद्ध होला भन्‍ने डरकै कारण राष्ट्र संघ र संयुक्‍त राष्ट्र संघ स्थापित भए। (प्रकाश १३:१४) यी दुवै संगठनहरूले घोषणा गरेको उद्देश्‍य अन्तरराष्ट्रिय सहयोग तथा शान्तिलाई प्रोत्साहन गर्नु हो। यस्तो आवश्‍यकता महसुस गर्ने व्यक्‍तिहरूले अक्सर साँचो अनि चिरकालीन शान्ति ल्याउने विश्‍व सरकार अर्थात्‌ परमेश्‍वरको राज्यबारे सुसमाचारप्रति सकारात्मक प्रतिक्रिया व्यक्‍त गर्छन्‌।

१८. धर्मप्रतिको कस्तो झुकाउले प्रचार कार्यलाई सजिलो बनायो?

१८ समय समयमा मसीहीहरूले घोर सतावटको सामना गर्नुपरे तापनि प्रथम अनि यस २० औं शताब्दीमा धार्मिक सहिष्णुता पनि महसुस गरेका छन्‌। (यूहन्‍ना १५:२०; प्रेरित ९:३१) रोमीहरूले आफ्नो कब्जामा लिएका राष्ट्रहरूको देवीदेवतालाई सजिलै ग्रहण गर्नुका साथै आफ्नो धर्ममा भित्र्याए। प्राध्यापक रड्‌नी स्टार्कले यसरी लेखे: “थुप्रै तरिकामा रोमले निकै हदसम्म धार्मिक स्वतन्त्रता दिएको थियो। त्यस्तो स्वतन्त्रता अमेरिकी क्रान्तिपछि मात्र देखियो।” आधुनिक समयमा थुप्रै मुलुकमा मानिसहरू अन्य विचारधाराहरूप्रति पनि खुलस्त भएका छन्‌। यसकारण, तिनीहरू यहोवाका साक्षीहरूले बाइबलबाट सुनाउने सन्देश सुन्‍न इच्छुक भएका छन्‌।

प्रविधिको भूमिका

१९. प्रारम्भिक मसीहीहरूले कसरी कोडेक्सको प्रयोग गरे?

१९ अन्तमा, यहोवाले आफ्ना जनहरूलाई प्राविधिक विकासबाट फाइदा उठाउन कसरी मदत गर्नुभयो विचार गरौं। हुन त, प्रारम्भिक मसीहीहरू यस पृथ्वीमा भएका समयमा द्रुत गतिमा कुनै प्राविधिक विकासहरू भएनन्‌। तैपनि तिनीहरूले कोडेक्स अथवा पत्तेदार पुस्तकहरूको विकासबाट भने फाइदा उठाए। झिजोलाग्दो मुठ्ठाहरूको ठाउँ कोडेक्सले लियो। कोडेक्सको उत्पत्ति नामक (अंग्रेजी) पुस्तक यसो भन्छ: “अन्य सांसारिक साहित्यहरूले जुन गतिमा मुठ्ठाको सट्टा कोडेक्सको प्रयोग गरे, त्यसलाई मसीहीधर्मसित तुलना गर्ने हो भने मसीहीहरूले कोडेक्सलाई सहजै स्वीकारेको देखिन्छ।” सोही पुस्तक अझै यसो भन्छ: “दोस्रो शताब्दीसम्म मसीहीधर्ममा कोडेक्सको प्रयोग यति व्याप्त भइसकेको थियो कि, सा.यु. १०० अघि नै त्यो प्रचलनमा आइसकेको हुनुपर्छ भनेर ठोकुवा गर्न सकिन्छ।” मुठ्ठाको तुलनामा कोडेक्स प्रयोग गर्नु असाध्यै सजिलो थियो। शास्त्रपदहरू छिटै भेट्टाउन सकिन्थ्यो। यसले धर्मशास्त्र व्याख्या गर्न मात्र नभई ‘अर्थ खोलीकन निश्‍चय गरेर बताइदिन’ पावलजस्ता प्रारम्भिक मसीहीहरूलाई पक्कै सहयोग गरेको हुनुपर्छ।—प्रेरित १७:२, ३.

२०. विश्‍वव्यापी प्रचार गर्न परमेश्‍वरका जनहरूले आधुनिक प्रविधिको प्रयोग कसरी गरिरहेका छन्‌?

२० आज हाम्रो शताब्दीमा उदेकलाग्दा प्राविधिक विकासहरू भएका छन्‌। द्रुत गतिले चल्ने छापाखानाहरूले गर्दा थुप्रै भाषाहरूमा एकैचोटि बाइबल साहित्यहरू प्रकाशित गर्न सम्भव भएको छ। आधुनिक प्रविधिले गर्दा छिटछिटो बाइबल अनुवाद गर्न पनि सजिलो भएको छ। ट्रक, रेल, पानीजहाज, हवाईजहाज आदिले पृथ्वीभरि बाइबल साहित्यहरू तुरुन्तै ढुवानी गर्न सम्भव गराएको छ। टेलिफोन र फ्याक्सले गर्दा तुरुन्तातुरुन्तै सूचना आदानप्रदान गर्नसकिने भएको छ। यहोवाले आफ्नो पवित्र आत्माद्वारा आफ्ना सेवकहरूलाई यस्ता प्रविधिहरूको व्यवहारिक प्रयोग गर्न उत्प्रेरित गराउनुभएर विश्‍वभरि सुसमाचार फैलाउन लगाउनुभएको छ। संसारमा आएका नयाँ नयाँ कुराहरूबारे थाह पाउन वा प्रयोग गर्न तिनीहरू यी साधनहरू प्रयोग गरेका होइनन्‌। बरु, तिनीहरूको पहिलो अनि प्रमुख चासो त के कुराले तिनीहरूलाई आफ्नो प्रचार अभियानलाई अझ प्रभावकारी बनाउन मदत गर्छ, त्यसमा छ।

२१. कुन कुरामा हामी निर्धक्क हुनसक्छौं?

२१ “राज्यको यो सुसमाचार सारा संसारमा . . . प्रचार गरिनेछ” भनी येशूले भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:१४) प्रारम्भिक मसीहीहरूले उक्‍त भविष्यवाणीको पूर्ति देखेझैं आज हामीले पनि यो भविष्यवाणी विस्तृत तवरमा पूरा भएको देखिरहेका छौं। अत्यन्त बृहत्‌ अनि गाह्रो भए तापनि अनुकूल तथा प्रतिकूल दुवै समयमा, कानुनव्यवस्था तथा मनोवृत्तिहरू परिवर्तन भइरहेको बेलामा, युद्ध अनि शान्तिमा र हरप्रकारका प्राविधिक विकासहरूमाझ सुसमाचार प्रचार भए अनि भइरहेको छ। यस क्षेत्रमा यहोवाले प्रकट गर्नुभएको बुद्धि अनि उदेकलाग्दो दूरदर्शिता देखेर के तपाईंको हृदय खुसीले ढक्क फुलेन? यहोवाको समयतालिकाअनुसार प्रचार कार्य र धर्मीहरूलाई आशिष्‌ दिने उहाँको मायालु उद्देश्‍य पूरा हुनेछ भनेर हामी निर्धक्क हुनसक्छौं। यी धर्मीहरूले पृथ्वीमा अधिकार गर्नेछन्‌ र तिनीहरू त्यसैमा सधैंभरि रहिरहनेछन्‌। (भजन ३७:२९; हबकूक २:३) यहोवाको उद्देश्‍यअनुरूप आफ्नो जीवन बितायौं भने हामी पनि तिनीहरूका माझमा हुनेछौं।—१ तिमोथी ४:१६.

[फुटनोट]

a मसीहसित सम्बन्धित यी दुई भविष्यवाणीहरूबारे थप जानकारीका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको पृष्ठ ३६, ९७ अनि ९८-१०७ हेर्नुहोस्‌।

सम्झनुपर्ने बुँदाहरू

◻ सुसमाचार प्रचार गर्नु किन चुनौतीपूर्ण कार्यभार भएको छ?

◻ सरकारी प्रबन्धहरू तथा केही सापेक्षिक सामाजिक स्थिरताबाट मसीहीहरूको कार्यले कुन कुन तरिकामा फाइदा उठाएको छ?

◻ यहोवाले प्रचार कार्यमाथि वर्षाउनुभएको आशिष्‌ले हामीलाई भविष्यमा हुने कस्ता घटनाहरूप्रति निर्धक्क बनाउँछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने