वर्तमान समयमा यहोवा हामीबाट के चाहनुहुन्छ?
“त्यस बादलबाट एउटा यसो भन्ने आवाज आयो, ‘यिनी मेरा प्रिय पुत्र हुन्, जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन।’ ”—मत्ती १७:५.
१.व्यवस्थाको उद्देश्य कहिले पूरा भयो?
यहोवाले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा थुप्रै पक्षहरू समावेश थियो। यस सन्दर्भमा प्रेरित पावलले यसो भने: “केवल (खाने, र पिउने, र विभिन्न स्नानहरू), शारीरिक धर्म-विधि हुन्, जो सुधारको समय नआउञ्जेल राखिएका थिए।” (हिब्रू ९:१०) व्यवस्थाले बाँकी रहेका इस्राएलीहरूलाई येशू नै मसीह वा ख्रीष्ट हुनुहुन्छ भनी ग्रहण गर्न सिकाएपछि व्यवस्थाको उद्देश्य पूरा भयो। अतः पावलले यस्तो घोषणा गरे: “ख्रीष्टनै व्यवस्थाको अन्त्य हुनुहुन्छ।”—रोमी १०:४; गलाती ३:१९-२५; ४:४, ५.
२. व्यवस्थाको अधीनमा को थिए र तिनीहरू कहिले त्यसबाट मुक्त भए?
२ के यसको अर्थ आज हामी यस व्यवस्थाको अधीनमा छैनौं भनेको हो? वास्तवमा अधिकांश मानवजाति व्यवस्थाको अधीनमा कहिल्यै थिएन। यसबारे भजनरचयिताले यसो भने: “[यहोवाले] आफ्नो वचन याकूबलाई र आफ्नो नियम र इन्साफ इस्राएललाई देखाउनुहुन्छ। उहाँले अरू कुनै जातिमाथि यस्तो व्यवहार देखाउनुभएको छैन, र उहाँका इन्साफ पनि तिनीहरूले थाह पाएका छैनन्। परमप्रभुको प्रशंसा गर।” (भजन १४७:१९, २०) येशूको बलिदानको आधारमा परमेश्वरले नयाँ करार स्थापना गर्नुभएपछि इस्राएल राष्ट्रसमेत व्यवस्थाको अधीनमा बस्नुपर्ने बाध्यता भएन। (गलाती ३:१३; एफिसी २:१५; कलस्सी २:१३, १४, १६) व्यवस्था पालन गर्नु पर्दैन भने आज यहोवाको सेवा गर्न इच्छा गर्नेहरूबाट उहाँ के चाहनुहुन्छ त?
यहोवा के चाहनुहुन्छ
३, ४. (क) यहोवाले वास्तवमा आज हामीबाट के चाहनुहुन्छ? (ख) हामीले किन येशूको पाइला पछ्याउनुपर्छ?
३ येशूको सेवकाईको अन्तिम वर्षको दौडान आफ्ना प्रेरितहरू पत्रुस, याकूब र यूहन्नासँगै अग्लो डाँडा, सायद हर्मोन डाँडानेर जानुभयो। त्यहाँ तिनीहरूले येशू तेजस्वी महिमामा आउनुभएको भविष्यसूचक दर्शन देखे र परमेश्वरको यस्तो आवाज सुने: “यिनी मेरा प्रिय पुत्र हुन्, जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन।” (मत्ती १७:१-५) वास्तवमा यहोवाले हामीबाट चाहनुभएको कुरा पनि त्यही हो अर्थात् उहाँको पुत्रको कुरा सुन्ने र उहाँको नमुना तथा शिक्षाहरू पछ्याउने। (मत्ती १६:२४) अतः प्रेरित पत्रुसले यसप्रकार लेखे: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।”—१ पत्रुस २:२१.
४ हामीले किन येशूको पाइला पछ्याउनुपर्छ? किनभने उहाँको अनुसरण गर्दा हामीले यहोवा परमेश्वरको अनुसरण गरिरहेका हुनेछौं। येशू, यस पृथ्वीमा आउनुअघि स्वर्गमा असंख्य अरबौं वर्षहरू पितासित बिताउनुभएकोले उहाँहरूबीच एकदमै घनिष्ठ सम्बन्ध थियो। (हितोपदेश ८:२२-३१; यूहन्ना ८:२३; १७:५; कलस्सी १:१५-१७) पृथ्वीमा हुनुहुँदा येशूले वफादारीसाथ आफ्नो पिताको प्रतिनिधित्व गर्नुभयो। उहाँले भन्नुभयो: “जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा बोल्दछु।” वास्तवमा येशूले यहोवाको हुबहु अनुकरण गर्नुभएकोले उहाँले यस्तो भन्न सक्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।”—यूहन्ना ८:२८; १४:९.
५. मसीहीहरू कुन व्यवस्थाको अधीनमा छन् र यो व्यवस्था कहिले देखि लागू भयो?
५ येशूको कुरा सुन्नु र उहाँको अनुसरण गर्नुमा के समावेश छ? के यसको अर्थ व्यवस्थाको अधीनमा हुनु हो? पावलले लेखे: “म आफै व्यवस्थाको अधीनमा” छैन। तिनले पुरानो “व्यवस्था” अर्थात् इस्राएलसित बाँधिएको करारलाई संकेत गर्दै थिए। तर पावलले आफू “ख्रीष्टको व्यवस्थाको अधीनमा” भएको मानि लिए। (१ कोरिन्थी ९:२०, २१; २ कोरिन्थी ३:१४) पुरानो करार अन्त भएपछि “नयाँ करार” लागू भयो र यो “ख्रीष्टको व्यवस्था” आज सबै यहोवाका सेवकहरूले पालन गर्नुपर्छ।—लूका २२:२०; गलाती ६:२; हिब्रू ८:७-१३.
६. “ख्रीष्टको व्यवस्था” कसरी वर्णन गर्न सकिन्छ र हामीले कसरी पालन गर्नसक्छौं?
६ यहोवाले “ख्रीष्टको व्यवस्था[लाई]” पुरानो करारजस्तै विभिन्न भागमा वर्गीकरण गरेर व्यवस्थासंग्रहको रूपमा दिनुभएन। ख्रीष्टका अनुयायीहरूले के गर्नुहुन्छ र के गर्नुहुँदैन भनेर यस नयाँ व्यवस्थामा लामो सूची दिइएको छैन। तथापि, यहोवाले आफ्नो वचनमा पुत्रको जीवनी तथा शिक्षाको चार वटा विस्तृत विवरण साँचेर राख्नुभयो। साथै, परमेश्वरले येशूका केही प्रारम्भिक अनुयायीहरूलाई व्यक्तिगत आचरण, मण्डलीका मामिलाहरू, परिवारसितको बानीबेहोरा तथा अन्य विषयहरूको सन्दर्भमा लिखित निर्देशनहरू तयार पार्न प्रेरित गर्नुभयो। (१ कोरिन्थी ६:१८; १४:२६-३५; एफिसी ५:२१-३३; हिब्रू १०:२४, २५) आफ्नो जीवनमा येशू ख्रीष्टको नमुना तथा शिक्षा चलाएर अनि प्रथम शताब्दीका प्रेरित बाइबल लेखकहरूको सल्लाह सुनेर हामीले “ख्रीष्टको व्यवस्था” पालन गरिरहेका हुनेछौं। यहोवाले वर्तमान समयमा आफ्ना सेवकहरूबाट चाहनुहुने पनि यही हो।
प्रेमको महत्त्व
७. आफ्ना प्रेरितहरूसित अन्तिम निस्तार चाड मनाउनुहुँदा येशूले कसरी व्यवस्थाको सारलाई जोड दिनुभयो?
७ व्यवस्था अन्तर्गत प्रेम महत्त्वपूर्ण थियो तर ख्रीष्टको व्यवस्थाको मुख्य आधार वा सार नै प्रेम हो। सा.यु. ३३ मा निस्तार चाड मनाउन येशू आफ्ना प्रेरितहरूसित हुनुहुँदा उहाँले यही प्रेमलाई जोड दिनुभयो। त्यस रात भएको घटनाबारे प्रेरित यूहन्नाको सारांशअनुसार येशूका हृदयस्पर्शी शब्दहरूमा २८ चोटि प्रेमबारे उल्लेख गरिएको पाइन्छ। यसप्रकार उहाँका प्रेरितहरूले व्यवस्थाको मुख्य उद्देश्य वा सारबारे स्पष्टसित बुझे। त्यस महत्त्वपूर्ण साँझको घटना विवरण यूहन्नाले यसरी सुरु गरे: “निस्तार-चाड़को अघि येशूले यस संसारबाट पिताकहाँ जाने बेला आयो भनी जानेर संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो।”—यूहन्ना १३:१.
८. (क) प्रेरितहरूमाझ भएको बहसको अझै टुंगो लागेको थिएन भनेर कुन कुराले संकेत गर्छ? (ख) येशूले आफ्ना प्रेरितहरूलाई नम्रताको पाठ कसरी सिकाउनुभयो?
८ येशूका चेलाहरूमा शक्ति र ओहदाको अत्यधिक चाहना थियो। येशूले तिनीहरूको त्यस्तो चाहना हटाउन गर्नुभएको प्रयास असफल भए तापनि उहाँले तिनीहरूलाई माया गर्नुहुन्थ्यो। यरूशलेम आउनुभन्दा महिनौ अघि ‘तिनीहरूमध्ये को ठूलो भनी बहस गरेका थिए।’ अनि निस्तार चाड मनाउन शहरमा आउनुभन्दा अलिक समयअघि मात्र पनि को ठूलो भनी फेरि बहस भएको थियो। (मर्कूस ९:३३-३७; १०:३५-४५) यो समस्याको अझै टुंगो लागेको थिएन भनेर सबै प्रेरितहरू माथिल्लो कोठामा एकसाथ भेला भएर अन्तिम चोटि निस्तार चाड मनाउँदा भएको घटनाबाट स्पष्ट हुन्छ। त्यतिबेला अरूको खुट्टा धोइदिएर परम्परागत तरिकामा कसैले अतिथि सत्कार गरेनन्। तिनीहरूलाई नम्रताको पाठ सिकाउन येशू आफैले तिनीहरूको खुट्टा धोइदिनुभयो।—यूहन्ना १३:२-१५; १ तिमोथी
९. अन्तिम निस्तार चाडपछि भएको घटनालाई येशूले कसरी सुल्झाउनुभयो?
९ त्यस पाठको बावजूद, निस्तार चाड मनाउन सिद्धिएपछि येशूले उहाँको हुनै लागेको मृत्युको स्मरणार्थ स्थापना गर्नुभएपछि फेरि के भयो, याद गर्नुहोस्। लूकाको सुसमाचारको पुस्तकको विवरणले यसो भन्छ: “तिनीहरूमध्ये को सबैभन्दा ठूलो गनिएको छ भनी तिनीहरूका बीचमा वाद विवाद हुनलाग्यो।” प्रेरितहरूसित रिसाएर तिनीहरूलाई हप्काउनुका सट्टा शक्तिका भोका यस संसारका शासकहरू जस्तो हुनुहुन्न भनेर येशूले मायालु ढंगमा सल्लाह दिनुभयो। (लूका २२:२४-२७) अनि उहाँले ख्रीष्टको व्यवस्थाको मूलभूत आज्ञा बताउनुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर।”—यूहन्ना १३:३४.
१०. येशूले आफ्ना चेलाहरूलाई कुन आज्ञा दिनुभयो र यसमा के समावेश थियो?
१० ख्रीष्टको जस्तो प्रेम कत्तिको व्यापक हुनुपर्छ भनेर येशूले त्यसै दिनको साँझमा देखाउनुभयो। उहाँले भन्नुभयो: “मेरो आज्ञा यही हो, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन।” (यूहन्ना १५:१२, १३) के येशूले कुनै त्यस्तै परिस्थिति आइपर्दा उहाँका अनुयायीहरू आफ्नो सँगी विश्वासीहरूको निम्ति मर्नसमेत तयार हुनुपर्छ भनिरहनुभएको थियो? त्यस घटनाका प्रत्यक्षदर्शी यूहन्नाले त्यस्तै बुझे किनभने तिनले यसो लेखे: “यसैमा हामीले प्रेम थाह पाउँछौं, किनभने उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो, र हामीले पनि हाम्रो भाइको निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।”—१ यूहन्ना ३:१६.
११. (क) हामीले ख्रीष्टको व्यवस्था कसरी पूरा गर्छौं? (ख) येशूले कस्तो उदाहरण बसाल्नुभयो?
११ अतः अरूलाई उहाँका शिक्षाहरू सिकाउँदैमा हामीले ख्रीष्टको व्यवस्था पूरा गरिरहेका हुँदैनौं। हामीले येशूको जीवनशैली तथा आचरण पनि अनुकरण गर्नुपर्छ। हो, येशूले आफ्ना भाषणहरूमा राम्रा राम्रा शब्दहरू चलाउनुभयो। यद्यपि उहाँले राम्रो उदाहरण पनि बसाल्नुभयो। येशू स्वर्गमा शक्तिशाली आत्मिक प्राणी हुनु भए तापनि यस पृथ्वीमा उहाँको पिताको इच्छा पूरा गर्न र हामीले आफ्नो जीवन कसरी बिताउनुपर्छ भनी देखाउने सुअवसरको महत्त्व बुझ्नुभयो। उहाँ नम्र, दयालु र अरूको ख्याल राख्ने स्वभावको हुनुहुन्थ्यो अनि निराश र शोषितहरूलाई मदत गर्नुहुन्थ्यो। (मत्ती ११:२८-३०; २०:२८; फिलिप्पी २:५-८; १ यूहन्ना ३:८) अनि येशूले आफ्ना चेलाहरूलाई प्रेम गर्नुभएझैं तिनीहरूलाई पनि आपसमा प्रेम गर्न आग्रह गर्नुभयो।
१२. ख्रीष्टको व्यवस्थाले यहोवालाई गर्नुपर्ने प्रेमको महत्त्वलाई कम गर्दैन भनी किन भन्न सकिन्छ?
१२ यहोवाप्रतिको प्रेम अर्थात् व्यवस्थाको सबैभन्दा प्रमुख आज्ञाको ख्रीष्टको व्यवस्थामा कुन स्थान छ? (मत्ती २२:३७, ३८; गलाती ६:२) दोस्रो स्थान हो? पटक्कै होइन! यहोवाप्रतिको प्रेम र हाम्रो सँगी मसीहीप्रतिको प्रेमबीच गहिरो सम्बन्ध छ। यहोवालाई प्रेम नगर्नेले आफ्नो भाइलाई साँचो प्रेम गर्न सक्दैन किनभने प्रेरित यूहन्नाले यसो भने: “यदि कसैले ‘म परमेश्वरलाई प्रेम गर्छु, भन्छ’ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्नसक्तैन।”—१ यूहन्ना ४:२०; तुलना गर्नुहोस् १ यूहन्ना ३:१७, १८.
१३. येशूको नयाँ आज्ञाप्रति चेलाहरू आज्ञाकारी हुँदा कस्तो प्रभाव पऱ्यो?
१३ येशूले चेलाहरूलाई प्रेम गर्नुभएझैं तिनीहरूले पनि आपसमा प्रेम गर्नु भन्ने नयाँ आज्ञा दिनुहुँदा उहाँले यसले कस्तो प्रभाव पार्नेछ भनेर वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) येशूको मृत्यु भएको सय वर्षभन्दा पछिका टर्टुलियनअनुसार प्रारम्भिक मसीहीहरूको भातृत्व प्रेमले त्यस्तै प्रभाव पाऱ्यो। गैरमसीहीहरूले ख्रीष्टका अनुयायीहरूबारे भनेका कुरा टर्टुलियनले यसरी लिपिबद्ध गरे: ‘तिनीहरूको आपसमा प्रेम छ र एकअर्काको निम्ति मर्नसमेत तयार छन्।’ हामीले आफैलाई यस्तो प्रश्न गर्नसक्छौं, ‘के मैले पनि आफ्ना सँगी मसीहीहरूको निम्ति त्यस्तो प्रेम देखाउँछु जसबाट म येशूको अनुयायी हो भनेर प्रमाणित हुन्छ?’
हामीले कसरी आफ्नो प्रेम प्रमाणित गर्छौं
१४, १५. ख्रीष्टको व्यवस्था पालन गर्न कुन कुराले गाह्रो बनाउनसक्छ तर हामीलाई कुन कुराले मदत गर्नसक्छ?
१४ यहोवाका सेवकहरूले ख्रीष्टको जस्तो प्रेम देखाउनु महत्त्वपूर्ण छ। तर के तपाईंलाई स्वार्थी मनोभाव देखाउने सँगी मसीहीहरूलाई प्रेम देखाउन गाह्रो लाग्छ? हामीले प्रेरितहरूसमेत आपसमा बहस गरेको र आफ्नै इच्छालाई प्राथमिकता दिन खोजेको देख्यौं। (मत्ती २०:२०-२४) गलाती मण्डलीको पनि आपसमा कचकच भइरहन्थ्यो। छिमेकीप्रतिको प्रेमले व्यवस्था पूरा गर्छ भनी औंल्याएपछि पावलले यस्तो चेताउनी दिए: “तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता, होशियार बस, एकबाट अर्को भस्म हुनु नपरोस्।” शरीरका कामसित परमेश्वरको आत्माको फल तुलना गरेपछि पावलले अझ यस्तो सल्लाह दिए: “एउटाले अर्कोसित पाखुरा सुर्काउने, र एउटाले अर्कोको डाह गर्ने भएर हामी अति अहंकारी नहोऔं।” त्यसपछि प्रेरितले यस्तो आग्रह गरे: “तिमीहरू एउटाले अर्कोको भार उठाऊ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।”—गलाती ५:१४–६:२.
१५ ख्रीष्टको व्यवस्था पालन गर्ने आज्ञा दिनुभएर के यहोवाले हामीबाट अचाक्ली मागिरहनुभएको छ? हाम्रो चित्त दुखाएका र हामीलाई भावनात्मक तवरमा हानि पुऱ्याएकाहरूलाई प्रेम देखाउन गाह्रो भए तापनि ‘बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू भएर प्रेममा चल्नु’ हाम्रो दायित्व हो। (एफिसी ५:१, २) हामीले परमेश्वरको उदाहरणलाई पछ्याइ रहनुपर्छ जसले “हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” (रोमी ५:८) हामीसित नराम्रो व्यवहार गरेकाहरूलगायत अरूलाई मदत गर्न अग्रसर हुँदा हामीले परमेश्वरको अनुसरण गर्नुका साथै ख्रीष्टको व्यवस्थाको आज्ञा पालन गरिरहेका हुनेछौं।
१६. परमेश्वर र ख्रीष्टप्रति हामीले कसरी आफ्नो प्रेम प्रमाणित गर्छौं?
१६ हामीले हाम्रो प्रेम वचनले मात्र होइन कार्यले पनि प्रमाणित गर्छौं भनी सम्झनुपर्छ। एक चोटि येशूलाई समेत विशेष परिस्थितिको कारण परमेश्वरको इच्छा पूरा गर्न गाह्रो लाग्यो। “हे पिता, तपाईंको इच्छा छ भए कचौरा मबाट हटाइदिनुहोस्” भनी येशूले प्रार्थना गर्नुभयो। तर उहाँले तुरुन्तै भन्नुभयो: “तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाबमोजिम होस्।” (लूका २२:४२) येशूले जस्तोसुकै दुःखहरू भोग्नुभए तापनि परमेश्वरको इच्छाअनुसार गर्नुभयो। (हिब्रू ५:७, ८) आज्ञाकारिता हाम्रो प्रेमको प्रमाण हो र यसले परमेश्वरको मार्ग नै सर्वोत्तम हो भनी हामीले स्वीकारेको देखाउँछ। बाइबल भन्छ: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्वरप्रति प्रेम हो।” (१ यूहन्ना ५:३) अनि येशूले आफ्ना प्रेरितहरूलाई यसो भन्नुभयो: “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।”—यूहन्ना १४:१५.
१७. येशूले आफ्ना अनुयायीहरूलाई कुन विशेष आज्ञा दिनुभयो र यो आज हामीलाई पनि लागू हुन्छ भनी कसरी थाह पाउनसक्छौं?
१७ आफ्ना अनुयायीहरूलाई आपसमा प्रेम गर भन्ने आज्ञाबाहेक ख्रीष्टले तिनीहरूलाई अर्को कुन विशेष आज्ञा दिनुभयो? उहाँले तिनीहरूलाई प्रशिक्षण दिनुभएको काम अर्थात् प्रचार गर्ने आज्ञा दिनुभयो। पत्रुसले यसो भने: “उहाँले हामीलाई जनतामा प्रचार गर्न . . . आज्ञा गर्नुभएको छ।” (प्रेरित १०:४२) येशूले तोकेरै यस्तो आज्ञा दिनुभएको थियो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०; प्रेरित १:८) येशूले उक्त निर्देशन अहिले “अन्तको समय[मा]” बाँचिरहेका अनुयायीहरूलाई पनि लागू हुन्छ भनी प्रकाश पार्नुभयो किनभने उहाँले यसो भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (दानियल १२:४; मत्ती २४:१४) निस्सन्देह हामीले प्रचार गरोस् भन्ने परमेश्वरको इच्छा हो। तर कसै कसैलाई यो काम गर भन्ने आज्ञा दिनुभएर परमेश्वरले हामीबाट अचाक्ली माग्नुभएको छ जस्तो लाग्ला। तर के साँच्चै हो त?
किन गाह्रो जस्तो देखिनसक्छ
१८. यहोवाले चाहनु भएअनुसार गर्दा समस्या भोग्नुपऱ्यो भने हामीले के सम्झनुपर्छ?
१८ यहोवाले इतिहासभरि मानिसलाई विभिन्न आवश्यकताहरू पूरा गर्न आज्ञा दिनुभएको हामीले बुझिसक्यौं। अनि तिनीहरूलाई अह्राउनुभएको काम विविध भएजस्तै तिनीहरूले भोग्नुपरेको परीक्षा पनि फरक फरक छन्। परमेश्वरको प्यारो पुत्रले सबैभन्दा कठिन परीक्षा भोग्नुभयो र अन्ततः परमेश्वरले चाहनु भएअनुसार गरेकोले सबैभन्दा क्रूर तरिकामा मृत्यु भोग्नुभयो। तर हामीले यहोवाले चाहनु भएअनुसार गरेकोले समस्या भोग्दा हाम्रो परीक्षाको जिम्मेवार उहाँ हुनुहुन्न भनी सम्झनुपर्छ। (यूहन्ना १५:१८-२०; याकूब १:१३-१५) शैतानको विद्रोहको कारण हामीले पाप, समस्या तथा मृत्यु पाएका छौं र यहोवाले आफ्ना सेवकहरूबाट माग गर्नुहुने कुराहरू पूरा गर्न कठिन परिस्थितिहरू सृजना गर्ने अक्सर शैतान नै हो।—अय्यूब १:६-१९; २:१-८.
१९. परमेश्वरले आफ्नो पुत्र मार्फत हामीबाट चाहनुहुने कुरा गर्न पाउनु किन सुअवसर हो?
१९ सबै मानव दुःखको निवारण परमेश्वरको राज्यले मात्र गर्नेछ भनी यस आखिरी दिनमा पृथ्वीभरि घोषणा गर्न यहोवाले आफ्नो पुत्र मार्फत उहाँका सेवकहरूलाई निर्देशन दिनुभएको छ। परमेश्वरको यस राज्यले युद्ध, अपराध, गरिबी, बूढेसकाल, बिरामी, मृत्यु जस्ता सबै समस्या हटाउनेछ। यस राज्यले महिमित पार्थिव प्रमोदवन स्थापना गर्नेछ जहाँ मरेकाहरूको समेत पुनरुत्थान हुनेछ। (मत्ती ६:९, १०; लूका २३:४३, NW; प्रेरित २४:१५; प्रकाश २१:३, ४) त्यस्तो सुसमाचार घोषणा गर्न पाउनु ठूलो सुअवसर हो! अतः स्पष्टतः यहोवाले हामीबाट माग गर्नुभएको कुरा मनासिब छ। हामीले सतावट भोग्नुको कारण शैतान अर्थात् दियाबल तथा त्यसको संसार हो।
२०. दियाबलले ल्याउने जुनै पनि चुनौती कसरी सामना गर्नसक्छौं?
२० शैतानले दिने कुनै पनि चुनौती सामना गर्न हामी कसरी सफल हुनसक्छौं? यी शब्दहरू मनमा राखेर: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) आफ्नो पिताको इच्छा पूरा गर्न स्वर्गको आनन्ददायी जीवन छोडेर पृथ्वीमा आउनुभएर येशूले शैतानलाई मुखभरिको जवाफ दिनुभयो। (यशैया ५३:१२; हिब्रू १०:७) मानवको रूपमा येशूले सबै प्रकारको समस्या र शूलीमा मृत्यु समेत भोग्नुभयो। हाम्रो आदर्शको रूपमा उहाँलाई पछ्यायौं भने हामीले समस्याहरू आइपर्दा सहन सक्नेछौं र यहोवाले चाहनुभएको सबै कुरा गर्नसक्नेछौं।—हिब्रू १२:१-३.
२१. यहोवा र उहाँको पुत्रले देखाउनुभएको प्रेमप्रति हामी कस्तो महसुस गर्छौं?
२१ हाम्रोलागि परमेश्वर र उहाँको पुत्रले अद्भुत प्रेम देखाउनुभएको छ! येशूको बलिदानको कारण आज्ञाकारी मानिसहरूले प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशा पाएका छन्। अतः यस आशालाई कुनै पनि कुराले धमिल्याउन नदिऔं। त्यसको सट्टा येशूले हाम्रो निम्ति सम्भव बनाउनुभएको कुरालाई गम्भीरता साथ लिऔं। त्यसबारे पावलले यसो भने: “परमेश्वरका पुत्र[ले] . . . मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो।” (गलाती २:२०) अनि हामीबाट अचाक्ली माग्नु नहुने हाम्रो मायालु परमेश्वर यहोवाप्रति हार्दिक कृतज्ञता देखाऔं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ यहोवा अहिले हामीबाट के चाहनुहुन्छ?
◻ आफ्ना प्रेरितहरूसित बिताउनुभएको अन्तिम साँझमा ख्रीष्टले कसरी प्रेमको महत्त्वमाथि जोड दिनुभयो?
◻ परमेश्वरलाई प्रेम गर्छौं भनी हामी कसरी प्रमाणित गर्नसक्छौं?
◻ यहोवाले हामीबाट माग गर्नुभएको कुरा गर्न पाउनु किन सुअवसर हो?
५:९, १०.
[पृष्ठ २३-मा भएको चित्र]
आफ्ना प्रेरितहरूको खुट्टा धोइदिनुभएर येशूले कस्तो पाठ सिकाउनुभयो?
[पृष्ठ २५-मा भएको चित्र
सतावट सामना गर्नु परे तापनि सुसमाचार बाँड्न पाउनु एउटा आनन्ददायी सुअवसर हो