परमेश्वरको वचनका प्रेमीहरूका लागि उल्लेखनीय उपलब्धि
सन् १९९८ मा परमेश्वरको वचनका सम्पूर्ण प्रेमीहरूलाई उल्लेखनीय उपलब्धिहरू हासिल भयो। त्यस वर्ष “पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद”-को दसौं करोड प्रति प्रेसमा छापिएर प्रकाशित भयो। यसरी यो बाइबल यस शताब्दीभरिकै सर्वाधिक वितरित बाइबलमध्ये एक हुनपुग्यो!
यो अविस्मरणीय कार्य उल्लेखनीय हुनुको कारण यो अनुवाद प्रकाशित हुँदा यसले घोर आलोचना सामना गर्नुपरेको थियो। यद्यपि, यो ती आलोचनाबाट उम्कन मात्र नभई मौलाउनसमेत सफल भएको छ। यसले संसारभर थुप्रै घरहरू तथा हृदयहरूमा एउटा छुट्टै ठाउँ बनाएको छ! यस्तो विशिष्ट अनुवादको सुरुआत कहाँबाट भयो? यसको पछाडि को छ? अनि यो अनुवाद प्रयोग गरेर तपाईंले कसरी फाइदा उठाउन सक्नुहुन्छ?
नयाँ अनुवाद किन चाहियो?
यहोवाका साक्षीहरूको प्रतिनिधित्व गर्ने कानुनी संस्था वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीले बाइबलहरू वितरण गर्दै आएको सय वर्षभन्दा धेरै भइसक्यो। उसोभए, यहोवाका साक्षीहरूले परमेश्वरको वचनको अर्को अनुवाद प्रकाशित गर्नुपर्ने आवश्यकता किन महसुस गरे? साकाए कूबो र वल्टर स्पेक्टले आफ्नो पुस्तक यत्ति थुप्रा अनुवादहरू (अंग्रेजी) पुस्तकमा यस्तो विचार पोखेका छन्: “बाइबलको कुनै पनि अनुवादलाई अन्तिम मान्न सकिंदैन। बाइबलको अध्ययन र भाषाको परिवर्तनसँगसँगै यी अनुवादहरू विकास हुनैपर्छ।”
यो शताब्दीले बाइबलका मूल भाषाहरू अर्थात् हिब्रू, युनानी र अरामी भाषाहरू बुझ्ने क्रममा निकै वृद्धि भएको देखेको छ। अनि यस पुस्ताअघिका बाइबल अनुवादकहरूले प्रयोग गरेका हस्तलिपिहरूभन्दा पनि पुराना र अझ सही बाइबल हस्तलिपिहरू पनि भेट्टाइएका छन्। यसरी पहिलेभन्दा पनि अझ ठीकसित परमेश्वरको वचन अनुवाद गर्न सकिएको छ! अतः आधुनिक भाषाहरूमा बाइबल अनुवाद गर्न नयाँ विश्व बाइबल अनुवाद समिति गठन हुनु उपयुक्त थियो।
सन् १९५० मा मसीही युनानी धर्मशास्त्रको नयाँ विश्व अनुवाद अंग्रेजीमा प्रकाशित भयो। बाइबल “पुरानो” तथा “नयाँ” नियमहरूले बनेको छ भनेर चिनाउने परम्परालाई त्याग्ने यो शीर्षकै मात्र पनि एउटा साहसपूर्ण कदम थियो। त्यसपछिको दशकमा हिब्रू धर्मशास्त्र खण्ड खण्ड गरी प्रकाशित भए। अनि १९६१ मा सम्पूर्ण बाइबल अंग्रेजीमा एक खण्डमा विमोचित गरियो।
यस्तो उल्लेखनीय बाइबलको अनुवाद कसले गऱ्यो? सेप्टेम्बर १५, १९५० को प्रहरीधरहरा यसो भन्छ: “अनुवाद समितिका सदस्यहरूले . . . बेनामी रहने अनि आफ्नो नाउँ जीवित छँदा वा मृत्युपछि समेत प्रकाशित नगरिदिने विशेष . . . इच्छा जाहेर गरे। अनुवाद गर्नुको प्रमुख उद्देश्य जीवित साँचो परमेश्वरको नाउँ महिमित गर्नु थियो।” केही आलोचकहरूले यसलाई सिकारुहरूको अनुवाद ठहर गर्न खोज्दै तुरुन्तै खारेज गर्नुपर्छ भन्ने माग राखे तर सबैले यस्तो अतार्किक भाव व्यक्त गरेनन्। एलन एस. दथी लेख्छन्: “बाइबल अनुवादका अनुवादक वा प्रकाशकहरू को हुन् भनेर थाह पाउँदैमा के त्यसले हामीलाई उक्त अनुवादको गुणस्तर किटान गर्न मदत गर्छ र? पटक्कै गर्दैन। वास्तवमा प्रत्येक अनुवादको आफ्नै विशिष्ट गुणहरू केलाउन पढेर हेर्नुबाहेक अरू कुनै विकल्प छैन।”a
विशिष्ट पक्षहरू
लाखौंलाख पाठकहरूले त्यसै गरेका छन् र नयाँ विश्व अनुवाद पढ्न योग्यको हुनका साथै सानोतिनो विवरणमा समेत एकदम सही भएको पाएका छन्। यसका अनुवादकहरूले उपलब्ध सबैभन्दा उत्तम पदहरू प्रयोग गर्दै हिब्रू, अरामी र युनानीजस्ता मूल भाषाबाट काम थाले।b पुरातन पाठलाई सजिलै बुझ्न सकिने तर सकेसम्म जस्ताको तस्तै अर्थ प्रकट हुने गरी अनुवाद गर्न निकै होस पनि पुऱ्याइएको थियो। फलतः केही शास्त्रज्ञहरूले यो अनुवादलाई यसको इमानदारी र सत्यताको निम्ति प्रशंसा गरेका छन्। उदाहरणका लागि, जनवरी १९६३ को एण्डोभर न्युटन क्वाटर्ली-ले यसो भन्यो: “नयाँ नियमको अनुवाद हुनुले बाइबल अनुवादका थुप्रै समस्याहरूलाई बुद्धिमानीसाथ समाधान गर्नसक्ने संगठित तथा दक्ष शास्त्रज्ञहरू छन् भन्ने कुराको प्रमाण दिन्छ।”
नयाँ विश्व अनुवाद-का अनुवादकहरू बाइबललाई बुझ्ने सन्दर्भमा नयाँ आयाम थप्न सफल भए। पहिले पहिले प्रस्ट नबुझिएका बाइबल पदहरू अहिले छर्लंग बुझिने भए। उदाहरणका लागि, पहिले पहिले त्यति राम्ररी नबुझिएको बाइबल पद मत्ती ५:३, “धन्य आत्मामा दरिद्र हुनेहरू” लाई अर्थ खुलस्त हुने गरी “आफ्नो आध्यात्मिक आवश्यकताप्रति सजग हुनेहरू धन्य हुन्” भनेर अनुवाद गरियो। नयाँ विश्व अनुवाद-ले मुख्य मुख्य पदावलीहरूलाई पनि एकदम सामञ्जस्यताका साथ अनुवाद गरेको छ। उदाहरणका लागि, युनानी शब्द साइकी लाई प्रत्येक ठाउँमा “आत्मा” भनेर अनुवाद गरिएको छ। फलतः पाठकहरूले अन्य धार्मिक सिद्धान्तहरू विपरीत आत्मा अमर छैन भन्ने सिद्धान्त तुरुन्तै बुझिहाल्छन्!—मत्ती २:२०; मर्कूस ३:४; लूका ६:९; १७:३३.
परमेश्वरको नाउँको पुनःस्थापना
नयाँ विश्व अनुवाद-को अर्को विशिष्ट पक्ष, परमेश्वरको नाउँ, यहोवा पुनःस्थापित गर्नु पनि हो। हिब्रू बाइबलको पुराना प्रतिहरूमा ईश्वरीय नाउँलाई चारवटा व्यञ्जनहरूद्वारा चित्रित गरिन्थ्यो, जसलाई YHWH अथवा JHVH मा रूपान्तर गर्न सकिन्थ्यो। यो विशिष्ट नाउँ पुरानो नियम भनिने भागमा मात्रै झन्डै ७,००० पटक उल्लेख भएको छ। (प्रस्थान ३:१५; भजन ८३:१८) स्पष्टतः हाम्रो सृष्टिकर्ता आफ्नो उपासकहरूले उहाँको नाउँ जानून् र प्रयोग गरून् भन्ने चाहनुहुन्छ!
तथापि, अन्धविश्वासले गर्दा यहूदीहरूले यो ईश्वरीय नाउँ प्रयोग गर्न बन्द गरे। येशूका प्रेरितहरूको मृत्युपछि युनानी धर्मशास्त्रका प्रतिलिपकहरूले परमेश्वरको व्यक्तिगत नाउँको ठाउँमा किरियोस (परमप्रभु) वा थेओस (परमेश्वर) जस्ता युनानी शब्दहरू राख्न थाले। दुःखको कुरा, आधुनिक अनुवादकहरूले परमेश्वरको नाउँलाई अधिकांश बाइबलहरूबाट हटाउनुका साथै परमेश्वरको नाउँ पनि छ भन्ने कुरालाई नै लुकाएर परमेश्वरको अनादर गर्ने यो परम्परालाई कायमै राखे। उदाहरणका लागि, यूहन्ना १७:६ मा “तपाईंको नाउँ मैले प्रकट गरिदिएँ” भन्ने येशूका शब्दहरूलाई, टुडेज् इंग्लिस भर्सन-मा “मैले तपाईंलाई चिनाएँ” भनेर अनुवाद गरिएको छ।
केही शास्त्रज्ञहरू यसरी ईश्वरीय नाउँको खास उच्चारण थाह नभएकोले त्यसलाई हटाउनु ठीक छ भनेर समर्थन गर्छन्। तथापि, यर्मिया, यशैया अनि येशूजस्ता चिरपरिचित बाइबलीय नाउँहरूको जुन किसिमले बारम्बार उच्चारण भइरहेको छ, त्यो मूल हिब्रू उच्चारणसित कमै मेल खान्छ। यहोवा नै ईश्वरीय नाउँको एकमात्र वैद्य उच्चारण हुनुका साथै थुप्रै मानिसहरू त्यससित अभ्यस्त भएकाले उक्त नाउँको प्रयोगमाथि आपत्ति प्रकट गर्नेहरूको मनसाय ठीक छ भन्न सकिंदैन।
नयाँ विश्व बाइबल अनुवाद समितिले हिब्रू अनि युनानी धर्मशास्त्र दुवैमा यहोवा नाउँ प्रयोग गरेर साहसी कदम चाले। मध्य अमेरिका, दक्षिण प्रशान्त तथा पूर्वका मानिसहरूको निम्ति अनुवाद गर्ने प्रारम्भिक मसीहीहरूको कामलाई तिनीहरूले यसरी ईश्वरीय नाउँको स्थापना गर्ने आधार माने। तथापि, परमेश्वरको नाउँको यस्तो प्रयोग शैक्षिक चासोको विषय मात्र थिएन। परमेश्वरलाई व्यक्तिविशेषको रूपमा चिन्नुअघि उहाँको नाउँ जान्नु नितान्त आवश्यक छ। (प्रस्थान ३४:६, ७) नयाँ विश्व अनुवाद-ले थुप्रै पाठकहरूलाई उहाँको नाउँ प्रयोग गर्न प्रोत्साहित गरेको छ!
अंग्रेजी नजान्ने पाठकहरूसम्म पुग्ने
सन् १९६३ देखि १९८९ बीच नयाँ विश्व अनुवाद सम्पूर्ण वा खण्डको रूपमा अरू थप दस भाषाहरूमा उपलब्ध भयो। तथापि, त्यसरी अनुवाद गर्नु निकै कठिन थियो र कुनै कुनै अनुवादको काम सिध्याउन २० वर्ष वा त्योभन्दा बढी समय लाग्यो। त्यसपछि १९८९ मा यहोवाका साक्षीहरूको मुख्यालयमा अनुवाद सेवा विभाग स्थापित भयो। परिचालक निकायको लेखन समितिअन्तर्गत सञ्चालन हुने यस विभागले बाइबल अनुवाद कार्यलाई द्रुत गतिमा पूरा गर्न कम्मर कस्यो। बाइबलका शब्दसूची अध्ययनलाई कम्प्युटर प्रणालीसित मिलाएर अनुवाद पद्धति विकास गरियो। यो प्रणालीले कसरी काम गर्छ त?
लेखन विभागले नयाँ भाषामा बाइबल अनुवाद गर्ने अनुमति दिइसकेपछि यस विभागले समर्पित मसीहीहरूलाई छानेर अनुवाद टोली गठन गर्छ। एक्लो व्यक्तिले भन्दा टोलीले गरेको काम गुणस्तरीय हुन्छ। (हितोपदेश ११:१४ तुलना गर्नुहोस्।) अक्सर यसरी टोली गठन गर्दा सोसाइटीका प्रकाशनहरू अनुवाद गर्ने अनुभव बटुलिसकेका मसीहीहरूलाई छानिन्छ। त्यसपछि उक्त टोलीलाई बाइबल अनुवादको सिद्धान्तहरू र यसैको निम्ति तयार पारिएको विशेष कम्प्युटर प्रोग्रामबारे विस्तृत तालिम दिइन्छ। कम्प्युटरले वास्तविक अनुवाद त गर्दैन तर यसले टोलीलाई महत्त्वपूर्ण जानकारी प्राप्त गर्न र टोलीले गरेका निर्णयहरूको रेकर्ड राख्न मदत गर्छ।
बाइबल अनुवाद योजनाका दुई चरणहरू छन्। पहिलो चरणमा अनुवादकहरूलाई अंग्रेजी नयाँ विश्व अनुवाद-मा प्रयोग गरिएका शब्द तथा अभिव्यक्तिहरूको सूची दिइन्छ। सम्बन्धित अंग्रेजी पदावलीहरू जस्तै “अटोन,” “अटोनमेन्ट” र “प्रोपिसिएसन” लाई एकै समूहमा राखेर अनुवादकहरूलाई यी पदावलीहरूबीचका अति सूक्ष्म भिन्नताबारे सतर्क गराउँछ। त्यसपछि अनुवादकहरूले आफ्नो भाषामा मिल्ने पदावलीहरू जम्मा गर्छन्। कहिलेकाहीं अनुवादकलाई कुनै पद अनुवाद गर्न निकै गाह्रो पर्छ। त्यतिबेला कम्प्युटरको अनुसन्धान प्रणालीले अनुवादकलाई युनानी तथा हिब्रू पदावलीसम्बन्धी जानकारी दिनुका साथै वाच टावर प्रकाशनहरूबाट जानकारी प्राप्त गर्न मदत गर्छ।
प्रोजेक्टको दोस्रो चरणमा छानिएका स्थानीय पदावलीहरू स्वतः बाइबल पदहरूमा टक्क टक्क बस्छन्। यसरी अनुवाद गर्दा अनुवादमा एकरूपता कायम हुन्छ। तथापि, यो “सर्च एण्ड रिप्लेस” (“खोज्ने अनि फेर्ने”) प्रक्रियापछिको परिणाम पढ्न सकिने किसिमको अवश्य पनि हुँदैन। सरर्र पढ्न सकियोस् भन्नका लागि बाइबल पदहरूलाई काँटछाँट गर्न र वाक्यशैलीलाई मिलाउन निकै काम गर्नुपर्छ।
यो अनुवाद प्रणाली असाध्यै प्रभावकारी प्रमाणित भएको छ। एउटा समूहले सम्पूर्ण हिब्रू धर्मशास्त्र दुई वर्षमा अनुवाद गरिसिद्धयायो। कम्प्युटरको मदतबिना यही भाषामा अनुवाद गर्ने अर्को समूहलाई १६ वर्ष लाग्यो। सन् १९८९ देखि आजको मितिसम्ममा थप १८ भाषाहरूमा मसीही युनानी धर्मशास्त्र छापिइसकियो। अहिले नयाँ विश्व अनुवाद पूर्ण वा खण्डको रूपमा ३४ भाषाहरूमा उपलब्ध छन्। यसरी ८० प्रतिशतभन्दा धेरै यहोवाका साक्षीहरूसित मसीही युनानी धर्मशास्त्र मात्रै भए पनि मातृभाषामा उपलब्ध छ।
विश्वका ६,५०० भाषाहरूमध्ये २,२१२ भाषाहरूमा मात्र बाइबलका केही खण्डहरू उपलब्ध छन् भन्ने युनाइटेड बाइबल सोसाइटीजको रिपोर्ट छ।c अतः केही १०० अनुवादकहरू नयाँ विश्व अनुवाद-को हिब्रू तथा युनानी धर्मशास्त्रलाई क्रमशः ११ तथा ८ भाषाहरूमा प्रकाशित गर्न काम गरिरहेका छन्। परमेश्वरको इच्छा “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने” छ। (१ तिमोथी २:४) निस्सन्देह, यस सम्बन्धमा नयाँ विश्व अनुवाद-ले प्रमुख भूमिका निर्वाह गरिरहनेछ।
यो अनुवादले १० करोड प्रति छापेर उल्लेखनीय उपलब्धि हासिल गरेकोमा हामी प्रफुल्लित छौं र भविष्यमा अझै अरू लाखौं प्रतिहरू छापियोस् भनेर प्रार्थना गर्छौं। यो अनुवाद जाँचेर हेर्नुहोस् भनी हामी तपाईंलाई प्रोत्साहित गर्छौं। तपाईंले यसका अनगिन्ती विशेष पक्षहरूको आनन्द उठाउन सक्नुहुन्छ। जस्तै, सफा अक्षर, हरेक पृष्ठमा दिइएका शीर्षक, चिरपरिचित पदहरू भेट्टाउन तपाईंलाई मदत गर्ने अनुक्रमणिका, विस्तृत मानचित्रहरू तथा मोहक विषयवस्तुहरूले सजिएको परिशिष्ट आदि। योभन्दा पनि महत्त्वपूर्ण कुरा त, परमेश्वरको वचनलाई तपाईंकै भाषामा सही र शुद्ध तरिकामा हस्तान्तरण गर्ने यस बाइबललाई तपाईंले विश्वस्त भएर पढ्नसक्नुहुन्छ।
[फुटनोटहरू]
a न्यु अमेरिकन स्टाण्डर्ड बाइबल-को १९७१ सन्दर्भिकासहितको संस्करणको खोलमा यस्तै रोचक कुरा उल्लेख गरिएको छ: “हामीले कुनै पनि शास्त्रज्ञको नाउँ उल्लेख गरेका वा प्रयोग गरेका छैनौं किनकि परमेश्वरको वचनले कसैको नाउँको सहारा लिनु आवश्यक छैन भन्ने विश्वास हामीले राखेका छौं।”
b वेस्कट र होर्टको द न्यु टेस्टामेन्ट इन ओरिजिनल ग्रीक युनानी पाठको लागि र आर. किटलको बिब्लिया हेब्राइका हिब्रूधर्मशास्त्रको आधारको रूपमा लिइएको थियो।
c थुप्रै मानिसहरूलाई एकभन्दा धेरै भाषा आउने भएको हुँदा पृथ्वीका ९० प्रतिशत मानिसहरूले पढ्न पाउने गरी बाइबल पूरै वा केही खण्ड प्रशस्त भाषाहरूमा अनुवाद भइसकेको अनुमान छ।
[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]
“नयाँ नियमको अनुवाद हुनुले बाइबल अनुवादका थुप्रै समस्याहरूलाई बुद्धिमानीसाथ समाधान गर्नसक्ने संगठित तथा दक्ष शास्त्रज्ञहरू छन् भन्ने कुराको प्रमाण दिन्छ।”— एण्डोभर न्युटन क्वाटर्ली, जनवरी १९६३
[पृष्ठ ३०-मा भएको ठूलो अक्षरको क्याप्सन]
“बाइबलको अध्ययन र भाषाको परिवर्तनसँगसँगै यी अनुवादहरू विकास हुनैपर्छ”
[पृष्ठ ३१-मा भएको पेटी/चित्र]
शास्त्रज्ञहरू नयाँ विश्व अनुवाद-को प्रशंसा गर्छन्
ए न एमेरिकन ट्रान्सलेशन-को युनानी “नयाँ नियम”-का अनुवादक एड्गर जे. गुडस्पीडले मसीही युनानी धर्मशास्त्रको नयाँ विश्व अनुवाद-बारे डिसेम्बर ८, १९५० मिति भएको पत्रमा यसो लेखे: “मलाई तपाईंहरूको यो अभियान अनि यसको व्यापकता देखेर चासो लाग्यो। तपाईंहरूको दुरुस्त, फरासिलो अनि जीवन्त अनुवाद देखेर म दंग परेको छु। यो अनुवाद तयार पार्न गरिएको गहन अनि गम्भीर अध्ययन म छर्लंग देख्नसक्छु।”
हिब्रू तथा युनानी शास्त्रज्ञ आलेक्सजेन्डर थमसनले यसो लेखे: “यो अनुवाद निश्चय पनि निपुण तथा विज्ञ शास्त्रज्ञहरूको उपज हो। किनकि यसले युनानी पदावलीहरूलाई अंग्रेजी भाषाले दिएसम्म सही अनि स्पष्ट ढंगमा प्रस्तुत गर्ने प्रयास गरेको छ।”— द डिफ्रेन्सिएटर, अप्रिल १९५२, पृष्ठ ५२-५७.
इज्राएलका हिब्रू शास्त्रज्ञ प्राध्यापक बेन्जामिन केदारले १९८९ मा यसो भने: “हिब्रू बाइबल अनि अनुवादसम्बन्धी अनुसन्धान गर्नुपर्दा म अक्सर एउटा अंग्रेजी अनुवादलाई हेर्ने गर्छु, जसको नाउँ हो, नयाँ विश्व अनुवाद। अनुसन्धानको दौडान मैले पढेका यसका पदहरू सकेसम्म सही तरिकामा बुझाउन इमानदार प्रयास गरिएको अनुभव गरेको छु।”