साँच्चै महत्त्वपूर्ण सहस्र वर्षको लागि तयार हुनुहोस्!
ख्रीष्टको हजार वर्षीय राज्यले मानव परिवारमा असंख्य आशिष्हरू ल्याउनेछ। येशूको मायालु निर्देशनमा मानिसजातिलाई वर्तमान दयनीय अवस्थाबाट महिमित सिद्धतामा पुऱ्याइनेछ। तपाईंलाई त्यसले कस्तो अर्थ राख्नसक्छ, विचार गर्नुहोस्। स्वस्थ शरीर! हिजोभन्दा आज झन् तन्दुरुस्त महसुस गर्दै उठ्दा कस्तो होला, कल्पना गर्नुहोस्। त्यस्तो आनन्दमय समयमा लाखौं पुरुष, महिला तथा केटाकेटीहरू जीवन बिताउने आशा गर्छन्। तिनीहरू उत्सुकतासाथ त्यस समयको पर्खाइमा छन् र यसको लागि प्रार्थना गर्छन्। ती सबै आनन्द उठाउनसक्नेछन् भनी तिनीहरू बाइबल अध्ययनबाट विश्वस्त भएका छन्।
तथापि, येशू ख्रीष्टले आफ्नो हजार वर्षीय राज्य सुरु गर्नुअघि उहाँको शासनका विरोधीहरूलाई यस पृथ्वीबाट हटाउनुपर्छ। उहाँले यो बाइबलमा आरमागेडोन भनिएको युद्धमा गर्नुहुनेछ। (प्रकाश १६:१६) यस पृथ्वीका साँचो मसीहीहरू यस युद्धमा भाग लिनेछैनन्। यो परमेश्वरको युद्ध हो। अनि यो कुनै एउटा भौगोलिक क्षेत्रमा सीमित रहने छैन। बाइबलले यो युद्ध पृथ्वीको कुनाकाप्चासम्म हुनेछ भनी बताउँछ। ख्रीष्टको शासनका विरोधीहरूलाई नाश गरिनेछ। तिनीहरू कोही पनि उम्कन पाउने छैनन्!—यर्मिया २५:३३.
त्यसपछि येशूले शैतान अनि त्यसका प्रेतहरूमाथि कारबाही गर्नुहुनेछ। प्रकाशको पुस्तकका लेखकले जस्तै त्यस दृश्यको कल्पना गर्नुहोस्: “अगाध खाँदको साँचो र एउटा ठूलो सांगलो हातमा लिएको एउटा दूत [येशू ख्रीष्ट] स्वर्गबाट ओर्लेर आएका मैले देखें। औ तिनले त्यस अजीङ्गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे।” (प्रकाश २०:१, २) पछि, शैतान तथा त्यसका प्रेतहरूलाई सदाको लागि नाश गरिनेछ।—मत्ती २५:४१.
“कसैले गन्न नसक्ने . . . एक ठूलो भीड़” आरमागेडोनमा बच्नेछ। (प्रकाश ७:९) गोठालाले आफ्नो बगाललाई जीवनदायी पानीका फोहोरामा डोऱ्याएजस्तै ख्रीष्टले पनि यो ठूलो भीडलाई “जीवनका पानीहरूका फोहोरा[बाट]” पूर्ण लाभ उठाओस् भनेर डोऱ्याउनुहुनेछ। (प्रकाश ७:१७) शैतान तथा त्यसका प्रेतहरूलाई आफ्नो आध्यात्मिक प्रगतिमा अवरोध बन्न नदिई आरमागेडोनबाट बचेको यो ठूलो भीड बिस्तारै सिद्ध नहोउञ्जेल आफ्ना पापी झुकाउहरूमाथि विजय हासिल गर्न मदत पाउनेछन्।
ख्रीष्टको मायालु शासन अन्तर्गत दिनप्रतिदिन जीवनस्तर राम्रो हुँदै जानेछ। यहोवा परमेश्वरले येशू ख्रीष्ट मार्फत सबै दुःखकष्ट हटाउनुहुनेछ। “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:४) यी सबै कुराबारे अगमवक्ता यशैया यसो भन्छन्: “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लंगड़ा मृगझैं उफ्रनेछ, र गूङ्गाको जिब्रोले स्तुति गर्नेछ, किनकि उजाड़-स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्।” (यशैया ३५:५, ६) “ठूला र साना सबै” मरेकाहरू फेरि कहिल्यै मर्न नपर्ने प्रत्याशा लिएर पुनर्जीवित हुनेछन्!—प्रकाश २०:१२.
आरमागेडोनको युद्धबाट बाँच्ने “ठूलो भीड़” जम्मा गर्ने काम अहिले पनि भइरहेको छ। तिनीहरू ख्रीष्टको हजार वर्षीय राज्यको लागि तयार हुँदैछन्। उक्त शासन कहिले सुरु हुन्छ भनी तिनीहरूलाई थाह नभए तापनि परमेश्वरको तोकिएको समयमा हुनेछ भनी तिनीहरू विश्वस्त छन्। तपाईं पनि तिनीहरूमध्ये हुन सक्नुहुन्छ तर यसको लागि तयारी गर्ने तरिका आफ्नो जायजेथा बेचेर, कुनै एउटा भौगोलिक ठाउँमा जम्मा भएर होइन तर बाइबल अध्ययनद्वारा परमेश्वर र उहाँको उद्देश्यको सही ज्ञान लिएर हो। यहोवाका साक्षीहरूले तपाईं अनि तपाईंको परिवारले निश्शुल्क बाइबल अध्ययनबाट कुनै करकापमा नपरी कसरी लाभ उठाउन सक्नुहुन्छ भनी खुसीसाथ देखाउनेछन्। यस पत्रिकाका प्रकाशकहरू पनि थप जानकारी दिन खुसी हुनेछन्।
[पृष्ठ ७-मा भएको पेटी]
हजार वर्ष—शाब्दिक वा प्रतीकात्मक?
प्रकाशको पुस्तकको अधिकांश विवरण प्रतीकात्मक भाषामा लेखिएको हुँदा प्रश्न उठ्छ, प्रकाशको पुस्तकमा उल्लेख गरिएको ख्रीष्टको हजार वर्षीय राज्यचाहिं के हो नि? यो साँच्चैको हजार वर्ष हो या प्रतीकात्मक?
यसले साँच्चैको हजार वर्षलाई नै संकेत गर्छ भनी प्रशस्त प्रमाणहरू छन्। उदाहरणका लागि: प्रेरित पावलले ख्रीष्टको हजार वर्षीय राज्यलाई संकेत गर्छन् जुन बेला मानिसजातिलाई एक दिनको हिसाबमा न्याय गरिनेछ। (प्रेरित १७:३१; प्रकाश २०:४) प्रेरित पावलले यहोवाको एक दिन (२४ घण्टा) हाम्रो हजार वर्ष हो भने। (२ पत्रुस ३:८) यसैकारण यो न्यायको दिन साँच्चैको हजार वर्ष हो भनी तर्क गर्नसक्छौं। यसबाहेक, प्रकाश २०:३, ५-७ मा चार चोटि उल्लेख गरिएको “हजार वर्ष” कुनै अनिश्चित समयावधि होइन तर एउटा तोकिएको हजार वर्ष हो। यसले एक खास समयावधिलाई संकेत गर्छ।