खेदो गर्ने व्यक्तिले तेजिलो ज्योति देख्छन्
शावल येशूका चेलाहरूप्रति रिसले चूर थिए। चेलाहरूको खेदो गरेर अनि यरूशलेममा स्तिफनसलाई ढुंगाले हानेर मार्नुजस्ता कार्यबाट मात्र चित्त नबुझेर तिनले सतावट अझ चर्काउन खोजे। “अझै पनि प्रभुका चेलाहरूका विरुद्धमा धम्की र हत्याको धुनमा सास फुलाउँदै [शावल] प्रधान पूजाहारीकहाँ गए, औ तिनले त्यस मार्गमा हुने पुरुष र स्त्रीहरू दुवै, जस जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउनपाउने भनी दमीशकका सभा-घरहरूको नाउँमा उनको पुर्जी मागे।”—प्रेरित ९:१, २.
शावल दमीशकतिर गइरहेको बेला त्यस पुर्जीलाई कसरी प्रयोग गर्दा प्रभावकारी होला भन्नेबारे विचार गरिरहेको हुनुपर्छ। प्रधान पुजाहारीले नै त्यो अधिकार दिएको हुनाले त्यस शहरका विशाल यहूदी समाजका अगुवाहरूले तिनलाई पक्कै सहयोग गर्नेथिए। शावलले तिनीहरूसित मदत माग्नसक्थे।
शावल आफ्नो गन्तव्यस्थानको जति जति नजिक पुग्दैगए तिनको उत्साह पनि झन् झन् बढ्दै गएको हुनुपर्छ। यरूशलेमदेखि दमीशकसम्मको सात आठ दिन लामो २२० किलोमिटर बाटो थकाइलाग्दो थियो। मध्यदिनमा अचानक शावलको वरपर सूर्यभन्दा तेजिलो ज्योति चम्कियो र शावल भुईंमा पछारिए। हिब्रू भाषामा तिनलाई यसो भनिरहेको आवाज तिनले सुने: “ए शावल, तिमी किन मेरो खेदो गर्दछौ? सुइरोमा लात हान्न तिमीलाई कठिन छ।” शावलले सोधे, “हे प्रभु, तपाईं को हुनुहुन्छ? अनि जवाफमा तिनलाई यसो भनिरहेको सुने, “म येशू हुँ, जसको तिमी खेदो गर्दछौ। तर उठ, र खड़ा होऊ, किनकि तिमीले मलाई देखेका र मैले तिमीलाई देखाउनलागेका कुराको गवाही र सेवक तुल्याउनाको मतलबले म तिमीकहाँ देखा परेको हुँ। म तिमीलाई जनताहरू र अन्यजातिहरूका बीचबाट अलग गर्नेछु। तिनीहरूकहाँ म तिमीलाई पठाउनेछु।” तिनले फेरि सोधे, “हे प्रभु, अब के गरूँ?” “उठ, दमीशकमा जाऊ, र तिम्रो निम्ति गर्नुपर्ने तोकेका कामहरू तिमीलाई बताइनेछ।”—प्रेरित ९:३-६; २२:६-१०; २६:१३-१७.
शावलका सहयात्रीहरूले आवाज त सुने तर तिनीहरूले बोल्ने मानिस पनि देखेनन् र तिनले भनेको कुरा पनि बुझेनन्। ज्योति निकै चम्किलो भएकोले तिनी उठेपछि केही देखेनन् अनि तिनलाई हात समातेर डोऱ्याउनुपऱ्यो। “तिनी तीन दिनसम्म नदेख्ने भएर नता खाना खाए न पानी पिए।”—प्रेरित ९:७-९; २२:११.
तीन दिनसम्म गहिरो मनन
सीधा भन्ने गल्लीमा बस्ने यहूदाले शावलको राम्ररी पाहुना सत्कार गरे।a (प्रेरित ९:११) यो अरबी भाषामा डर्ब अल मुस्ताकिम भनिने गल्ली अहिले पनि दमीशकको एकदमै चल्ती बाटो हो। यहूदाको घरमा हुँदा शावलको मनमा के के कुरा खेलिरह्यो होला कल्पना गर्नुहोस् त। त्यो घटनाले गर्दा तिनी अन्धा र अवाक् भए। यसले गर्दा तिनले यी सब हुनुको कारण के होला भनी मनन गर्ने मौका पाए।
खेदो गर्ने व्यक्तिले आफूले बेकार ठानेको कुराकै सामना गर्नुपऱ्यो। यहूदी सर्वोच्च अख्तियारले दोषी ठहराएको अनि ‘मानिसहरूबाट घृणित र कुनै मोलको नगनेको’ येशूलाई शूलीमा झुन्ड्याएर मारियो तर उहाँ जीवितै हुनुहुन्थ्यो। साँच्चै अझ परमेश्वरको दाहिने बाहुली पट्टि “कोही पुग्न नसक्ने ज्योतिमा” समेत उभिन पाउनुभयो! येशू नै मसीह हुनुहुन्थ्यो। स्तिफनस र अरूले भनेको कुरा ठीकै थियो। (यशैया ५३:३; प्रेरित ७:५६; १ तिमोथी ६:१६) शावल पूर्णतया गलत थिए किनभने येशूले आफू तिनले खेदो गरिरहेकाहरू मध्येकै हुनुहुन्छ भन्नुभयो। यस्तो प्रमाण अगाडि हुँदाहुँदै पनि तिनले कसरी “सुइरोमा लात” हानिरहन सक्थे र? कुनै जोदाहा साँढे पनि अन्ततः आफ्नो मालिकले डोऱ्याएकै ठाउँमा जान्छ। तसर्थ, येशूको आग्रहलाई इन्कार गर्दा तिनले आफैलाई हानि पुऱ्याइरहेका हुन्थे।
मसीह हुनुभएकोले येशू यहोवाबाट श्रापित हुनु पटक्कै नमिल्ने कुरा थियो। यद्यपि, यहोवाले उहाँलाई एकदम निन्दनीय मृत्यु भोग्नदिनुभएर व्यवस्थाको यो भनाइ पुरा हुनदिनुभयो: “जो झुण्डाइन्छ त्यो परमेश्वरबाट श्रापित हुन्छ।” (व्यवस्था २१:२३) शूलीमा झुन्ड्याइएपछि येशू मर्नुभयो। उहाँले कुनै पाप नगर्नुभएको हुनाले आफ्नै होइन तर मानवजातिको पापका लागि श्रापित हुनुभयो। शावलले पछि यसरी वर्णन गरे: “व्यवस्थाका कर्मकाहरू जति सबै श्रापित छन्, किनभने ‘व्यवस्थाका पुस्तकमा लेखिएका गर्नु पर्ने सबै कुराहरूमा निरन्तर नलाग्ने हरेक श्रापित हुनेछ’ भन्ने लेखिएको छ। अब परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिंदैन भन्ने प्रत्यक्ष छ। . . . हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि, ‘काठमा झुण्डिने हरेक श्रापित हुन्छ’ भन्ने लेखिएको छ।”—गलाती ३:१०-१३.
येशूले चढाउनुभएको बलिदानमा छुडौतीको मोल थियो। त्यो बलिदान स्वीकारेर यहोवाले लाक्षणिक ढंगमा व्यवस्था तथा त्यसको श्रापलाई शूलीमा कीला ठोकेर झुन्ड्याइ दिनुभयो। त्यो तथ्य बुझेपछि शावलले “यहूदीहरूका निम्ति बाधा” साबित भएको “परमेश्वरको ज्ञान” अर्थात् शूलीप्रति मूल्यांकन देखाउन सक्नेथिए। (१ कोरिन्थी १:१८-२५; कलस्सी २:१४) त्यसैले, अब मुक्ति व्यवस्थाका कामहरूबाट नभई तिनीजस्तै पापी मानिसहरूप्रति देखाउनुभएको परमेश्वरको असीमित दयाको माध्यमबाट मात्र पाउन सकिने भए यो व्यवस्थाको अधीनमा नभएकाहरूका लागि पनि उपलब्ध हुने थियो। अनि येशूले शावललाई ती अन्यजातिहरूकहाँ नै पठाउन लाग्नुभएको थियो।—एफिसी ३:३-७.
शावलले आफ्नो धर्म परिवर्तन गर्दा यो कुरा कत्तिको बुझेका थिए हामीलाई थाह छैन। तिनले गर्नु पर्ने कामहरूबारे सायद अझ थुप्रै चोटि येशूले बताउनुहुने थियो। यसबाहेक, ईश्वरीय प्रेरणा पाएर शावलले केही समयपछि यी जम्मै कुराहरू लेखे। (प्रेरित २२:१७ -२१; गलाती १:१५-१८; २:१, २) तथापि, आफ्ना नयाँ मालिकबाट अझ बढी निर्देशनहरू पाउन शावलले केही दिन मात्र कुर्नुपऱ्यो।
हननिया तिनीकहाँ आउँछन्
शावलकहाँ देखापरिसकेपछि, येशू हननियाकहाँ पनि देखा परेर यसो भन्नुहुन्छ: “उठ, र ‘सीधा’ भन्ने गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा टार्ससको शावल नाउँ भएको मानिसलाई खोजी गर। किनभने हेर, तिनी प्रार्थना गर्दछन्। औ तिनले हननिया नाउँ भएको एक जना मानिसलाई भित्र आएर तिनले दृष्टि पाओस् भनेर आफूमाथि उनको हात राखेका देखे।”—प्रेरित ९:११, १२.
शावलबारे सुनिसकेका हननिया येशूको कुरा सुनेर अक्मकिनुको कारण बुझ्नसक्छौं। तिनले भने: “हे प्रभु, मैले धेरै जनाबाट यी मानिसको विषयमा सुनेको छु, तिनले यरूशलेममा तपाईंका भक्त जनहरूलाई कतिको खराबी गरेका छन्। यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पूजाहारीहरूबाट तिनीसँग छ अरे।” तैपनि, येशूले हननियालाई भन्नुभयो: “जाऊ किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु मेरो निम्ति मेरो नाउँ चलाउनालाई तिनी एक छानिएका पात्र हुन्।”—प्रेरित ९:१३-१५.
येशूले दिनुभएको ठेगानामा हननिया निर्धक्क भई गए। शावललाई भेटेर अभिवादन गरिसकेपछि तिनले आफ्नो हात तिनीमाथि राखे। विवरण यसप्रकार छ: ‘तुरुन्तै [शावलका] आँखाबाट चिप्राजस्तो केही खसे, र तिनले दृष्टि पाए।’ शावल अब तिनको कुरा सुन्न तयार थिए। शावलले येशूको कुरा कत्तिको बुझेका रहेछन् भनेर हननियाका यी कुराहरूबाट पुष्टि हुन्छ: “हाम्रा पिता-पुर्खाका परमेश्वरले उहाँको इच्छा तपाईंले बुझ्न, र ती धार्मिक पुरुषलाई देख्न, र उहाँको मुखबाट शब्द सुन्नसकोस् भनेर तपाईंलाई नियुक्त गर्नुभएको छ। किनकि सबै मानिसहरूका सामु उहाँको निम्ति तपाईं यी सबै कुराको गवाही हुनहुनेछ, जो तपाईंले देख्नु र सुन्नुभएको छ। त अब किन बियाँलो गर्नुहुन्छ? उठ्नुहोस्, र उहाँको नाउँ लिएर बप्तिस्मा भई आफ्ना पाप धुनुहोस्।” परिणाम के भयो? शावल “उठेर बप्तिस्मा लिए। औ तिनले खानेकुरो खाएर बल पाए।”—प्रेरित ९:१७-१९; २२:१२-१६.
विश्वासी हननियालाई सुम्पिएको यो काम पूरा गरिसकेपछि बाइबलमा तिनीबारे अझ बढी बताइएको पाउँदैनौं। तर शावलका कुरा सुन्नेहरू सबै जना छक्क परे! पहिले खेदो गर्दै दमीशकको येशूका चेलाहरूलाई समात्न आउने मानिस सभाघरहरू हुँदो येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर प्रमाण दिंदै प्रचार गर्दैथिए।—प्रेरित ९:२०-२२.
“अन्यजातिहरूको प्रेरित”
दमीशकको बाटोमा भएको घटनाले गर्दा शावल खेदो गर्ने काम रोक्न बाध्य भए। मसीहलाई चिनेपछि शावलले धर्मशास्त्रका थुप्रै कुराहरू तथा भविष्यवाणीहरू येशूमा कसरी लागू हुन्छ भन्ने देखे। येशू तिनीकहाँ देखापर्नुभएको, उहाँले तिनलाई ‘पक्रनुभएको’ र “अन्यजातिहरूको प्रेरित” बनाउनुभएको हुनाले तिनको जीवनमा गहिरो छाप पऱ्यो। (फिलिप्पी ३:१२; रोमी ११:१३) अब प्रेरितको रूपमा पावलसित पृथ्वीमा आफ्नो बाँकी जीवनमा मात्र होइन तर मसीही इतिहासको हरेक पाइलामा प्रभाव पार्ने सुअवसर अनि अख्तियार थियो।
वर्षौंपछि, पावल पनि प्रेरित हो कि होइन भन्ने विवाद उठ्दा तिनले दमीशकको बाटोमा भएको घटना दोहोऱ्याउँदै आफ्नो अख्तियारको प्रमाण दिए। तिनले सोधे, “के म प्रेरित होइनँ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैनँ?” अनि अरू सामु पुनरुत्थान हुनुभएको येशू देखापर्नुभएको कुरा वर्णन गरिसकेपछि शावलले (पावल) भने: “सबैभन्दापछि बेला नपुगी जन्मेको मानिस जस्तै मकहाँ पनि उहाँ देखा पर्नुभयो।” (१ कोरिन्थी ९:१; १५:८) यसको मतलब, येशूको स्वर्गीय महिमाको दर्शन पाएर शावल आत्मिक शरीरमा बेलै नपुगी जन्मे अर्थात् पुनरुत्थान भए।
शावलले आफ्नो विशेषाधिकारलाई बुझेर त्यसैअनुसार जीवन बिताउन मरिमेटे। तिनले लेखे, “प्रेरितहरूमध्ये म सबैभन्दा सानो हुँ। म ता प्रेरित भनिनँ पनि सुहाउँदिनँ। किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरें। तर . . . ममाथि भएको [परमेश्वरको] अनुग्रह व्यर्थमा भएन। तर ती [अरू प्रेरितहरूले] भन्दा बढ़ता मैले परिश्रम गरें।”—१ कोरिन्थी १५:९, १०.
सायद शावलले जस्तै परमेश्वरको निगाह पाउन तपाईंले पनि धेरै अघिदेखि मान्दै आउनुभएको धार्मिक दृष्टिकोणहरूमा परिवर्तन ल्याउनुपर्छ भनी महसुस गर्नुभएको समयबारे बिर्सनुभएको छैन होला। निस्सन्देह, सच्चाइ धान्न मदत गर्नुभएकोमा तपाईं यहोवाप्रति कृतज्ञ हुनुभयो। शावलले ज्योति देखेपछि आफूले गर्नु पर्ने काम थाह पाएर त्यो काम पूरा गर्न हिचकिचाएनन्। अनि त्यसो गरिरहन बाँकी जीवनभर जोसका साथ डटिरहे। आज पनि यहोवाको अनुग्रह पाउन चाहनेहरूका लागि कस्तो विशिष्ट उदाहरण!
[फुटनोट]
a एक विद्वान्को विचारमा यहूदा, स्थानीय यहूदी समाजका नेता वा यहूदीहरू बस्ने होटेलका मालिक हुनसक्छन्।
[पृष्ठ २७-मा भएको चित्र]
हालको दमीशकको सीधा भनिने गल्ली
[स्रोत]
Photo by ROLOC Color Slides