प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ६/१५ पृ. २६-२८
  • के तपाईं देख्न नसक्ने कुरामा विश्‍वास गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं देख्न नसक्ने कुरामा विश्‍वास गर्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन कसैकसैले विश्‍वास गर्दैनन्‌
  • परमेश्‍वरलाई चिन्‍ने
  • बाइबलले वास्तवमा जे सिकाउँछ, त्यही सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न? यो कत्तिको महत्त्वपूर्ण प्रश्‍न हो?
    ब्यूँझनुहोस्‌!—२०१५
  • के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
    के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
  • परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ६/१५ पृ. २६-२८

के तपाईं देख्न नसक्ने कुरामा विश्‍वास गर्नुहुन्छ?

कसैले तपाईंलाई, ‘म, आफूले देख्नसक्ने कुरामा मात्र विश्‍वास गर्छु’ भन्यो भने उसले झूट बोल्दैछ। वास्तवमा, हामी सबै आफूले देख्न नसक्ने कुराहरूमा विश्‍वास गर्छौं।

उदाहरणका लागि, तपाईंले स्कूलमा चुम्बकीय क्षेत्रको अस्तित्व प्रमाणित गर्ने प्रयोग गर्नुभएको होला। जसअनुसार: फलामको धूलो एक टुक्रा कागतमा छर्नुहोस्‌। त्यसपछि, चुम्बकलाई कागतमुनि लैजानुहोस्‌। अनि कागतको टुक्रालाई हल्लाउँदा अचम्म तरिकाले फलामका धूलोहरू चुम्बकका ध्रुवहरूतिर झुम्मिन जान्छन्‌ र चुम्बकीय क्षेत्रको आकार बनाएर बस्छन्‌। तपाईंले पनि त्यसो गर्नुभएको छ भने, के त्यतिबेला साँच्चिकै वास्तविक चुम्बकीय क्षेत्र देख्नुभयो र? अहँ, देख्नसक्नु भएन। बरु, फलामका धूलोहरूमा परेको यसको असर देखेर तपाईं चुम्बकीय शक्‍तिको अस्तित्वमा निर्धक्क भई विश्‍वास गर्नुहुन्छ।

हामी देख्न नसकिने अरू पनि कतिपय कुराहरू निस्संकोच स्वीकार्छौं। हामीले कुनै राम्रो चित्र हेर्दा अथवा राम्रो मूर्तिको प्रशंसा गर्दा त्यसका चित्रकार अथवा मूर्तिकारको अस्तित्वमाथि सन्देह गर्दैनौं। अतः, हामीले झरना अथवा डुब्नै लागेको घाम हेर्दा कमसेकम यो पनि कुनै महान कलाकार अथवा शिल्पकारको हातका काम हुनसक्छ भनेर विचार गर्न उत्प्रेरित हुनुपर्ने होइन र?

किन कसैकसैले विश्‍वास गर्दैनन्‌

हाँसउठ्‌दो कुरा, केही मानिसहरूले चर्चमा आफूलाई सिकाइएको कुरा चित्त नबुझेर परमेश्‍वरमाथि विश्‍वास गर्न छाडेका छन्‌। यस्ताहरूमध्ये नर्वेका एक जना मानिस पनि पर्छन्‌। तिनले दुष्टहरूलाई परमेश्‍वरले अग्नि कुण्डमा जलाउनुहुन्छ भनेर सिके। मानिसलाई त्यसरी सास्ती दिने पनि परमेश्‍वर हुनसक्ला र? भनेर यस मानिसले बुझ्नै सकेनन्‌। त्यसैले तिनी नास्तिक भए।

तथापि, पछि यस मानिसले एक जना यहोवाका साक्षीको मदत लिएर बाइबल जाँच्न राजी भए। बाइबलले दुष्टहरूलाई अग्निमय कुण्डमा सास्ती दिन्छ भन्‍ने कुरा सिकाएको छैन भनेर थाह पाएपछि तिनी ताजुब भए। बाइबल हाम्रो मृत्युलाई गहिरो निद्रासित तुलना गर्छ। चिहानमा हामी केही अनुभव गर्दैनौं; हामीलाई कुनै कुराको ज्ञान हुँदैन। (उपदेशक ९:५, १०) साथै, सुधार्न नसकिने भनी परमेश्‍वरले निर्णय गर्नुभएका दुष्टहरू सदाका लागि चिहानमा रहनेछन्‌ भन्‍ने पनि तिनले सिके। (मत्ती १२:३१, ३२) बाँकी मरेकाहरूलाई चाहिं उहाँले आफ्नो समयमा प्रमोदवनमा अनन्त जीवन दिने आशाका साथ बिउँताउनुहुनेछ। (यूहन्‍ना ५:२८, २९; १७:३) यो कुरा तर्कसंगत थियो। किनभने यो “परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍ने बाइबलको कुरासित पनि मेल खान्थ्यो। (१ यूहन्‍ना ४:८) यस निष्कपट मानिसले परमेश्‍वरको वचन नियमित तवरमा अध्ययन गरिनै रहे र केही समयपछि बाइबलका परमेश्‍वरलाई प्रेम गर्न थाले।

अरूचाहिं व्याप्त तनाउ अनि अन्यायको कारण मायालु सृष्टिकर्ताको अस्तित्व स्वीकार्दैनन्‌। तिनीहरू स्वर्गतिर परमेश्‍वरलाई औंल्याउँदै यसो भन्‍ने स्वीडेनका एक जना मानिससित सहमत हुन्छन्‌: “यहाँ यत्तिका भ्रष्टाचार र दुष्टता हुँदाहुँदै सर्वशक्‍तिमान्‌ अनि कृपालु परमेश्‍वर हुनुहुन्छ भन्‍न मिल्छ र?” यो प्रश्‍नको जवाफ कसैले दिन नसकेकोले तिनी पनि नास्तिक भए। पछि तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नथाले। परमेश्‍वरको वचनले धेरै पुरानो प्रश्‍न, परमेश्‍वरले किन दुष्टता रहिरहन दिनुहुन्छ? भन्‍ने प्रश्‍नको समेत चित्तबुझ्दो जवाफ दिन्छ भनेर उनले थाह पाए।a

यस सोझो मानिसले दुष्टता हुँदैमा परमेश्‍वरको अस्तित्वनै छैन भन्‍नु मिल्दैन भन्‍ने कुरा बुझे। उदाहरणका लागि: एक जना मानिसले मासु काट्‌न चक्कु बनाउला। अर्को मानिसले त्यो चक्कु किनेर मासु काट्‌नुको सट्टा हत्या गर्ला। यसरी चक्कुको दुरुपयोग भयो भन्दैमा चक्कु बनाउने मानिस नै छैन भन्‍ने त प्रमाणित हुँदैन नि। त्यसै गरी, पृथ्वीमा पनि जस्तो अवस्था हुनुपर्ने थियो, त्यस्तो नहुँदैमा सृष्टिकर्ता नै छैन भन्‍न मिल्दैन।

बाइबल परमेश्‍वरको कार्य सिद्ध छ भनेर सिकाउँछ। उहाँ, “अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:४) परमेश्‍वरले मानिसलाई असल वरदान दिनुहुन्छ तर कुनै कुनै वरदानलाई दुरुपयोग गरिएकोले नै नाना भाँतिका दुःखहरू आइपरेका हुन्‌। (याकूब १:१७) तथापि, परमेश्‍वरले दुःखकष्ट पूर्णतया हटाउनु हुनेछ। तसर्थ, “नम्रहरूले देश अधिकार गर्नेछन्‌। . . . र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:११, २९.

अगि उल्लेख गरिएको स्वीडेनका मानिस आफ्ना सँगी मानवहरूको पीडा देखेर दुःखी भए। साँच्चै, तिनको मायालु चासोले परमेश्‍वरको अस्तित्व छ भन्‍ने कुरा प्रमाणित गर्छ। कसरी?

परमेश्‍वरमाथि विश्‍वास नगर्ने प्रायजसो मानिसहरू विकासवादमाथि विश्‍वास गर्छन्‌। विकासवादीहरू “सक्षमको अस्तित्व”-बारे सिकाउँछन्‌। यसअनुसार मानिस तथा जनावरहरू आफ्ना जातिभित्र बाँच्नका लागि संघर्ष गर्छन्‌। बलिया बाँच्छन्‌ भने निर्धाहरू मर्छन्‌। तिनीहरूको भनाइमा यो प्राकृतिक चक्र हो। तर बलियाहरू बस्ने ठाउँ बनाउन कमजोरहरू मर्नु “प्राकृतिक” चक्र नै हो भने, त्यस स्वीडेनी मानिसजस्तै केही बलिया मानिसहरू आफ्ना संगी मानवहरूको दुःख देखेर चिन्तित हुँदा, त्यसलाई के भन्‍ने नि?

परमेश्‍वरलाई चिन्‍ने

हाम्रोजस्तै चोला नभएकोले परमेश्‍वरलाई हामी देख्नसक्दैनौं। तथापि, परमेश्‍वरलाई हामीले चिनोस्‌ भन्‍ने उहाँ चाहनुहुन्छ। यहोवाका असाधारण कामहरू अर्थात्‌ सृष्टिका “चित्रहरू” तथा “शिल्पकलाहरू” नियाल्नु उहाँलाई चिन्‍ने एउटा तरिका हो। बाइबलको रोमी १:२० मा यस्तो लेखिएको छ: “[परमेश्‍वरको] अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ।” हो, चित्र वा शिल्पकलालाई हेरेर तपाईंले कलाकारको व्यक्‍तित्वबारे अन्तरदृष्टि पाउन सक्नु भएजस्तै परमेश्‍वरका अद्‌भुत कामहरू मनन गरेर तपाईं उहाँको व्यक्‍तित्वसित अझ बढी परिचित हुनुहुनेछ।

हो, हामीले सृष्टिका कामहरूलाई हेरेर मात्र सबै प्रश्‍नको जवाफ पाउन सक्दैनौं। तर, परमेश्‍वरको वचन बाइबलमा खोज्यौं भने हामी त्यस्ता प्रश्‍नहरूको जवाफ पाउनसक्छौं। जसरी माथि उल्लिखित मानिसहरूले खुल्ला हृदयले बाइबल पढ्‌दा परमेश्‍वर हुनुहुन्छ र उहाँ हामीमाथि चासो राख्नुहुन्छ भनेर थाह पाए। त्यसरी नै हामीले पनि आफ्नो हृदय खुल्ला गर्नुपर्छ।

[फुटनोट]

a परमेश्‍वरले दुष्टता रहिरहन अनुमति दिनुका कारणहरूबारे थप जानकारी पाउन वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित इज देयर अ क्रिएटर हु केयरस्‌ अबाउट यु? पुस्तकको अध्याय १० हेर्नुहोस्‌।

[पृष्ठ २८-मा भएको चित्रको स्रोत]

J. Hester and P. Scowen (AZ State Univ.), NASA

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने