प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ८/१ pp. २४-२८
  • हतियार निर्माणदेखि जीवनदानसम्म

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हतियार निर्माणदेखि जीवनदानसम्म
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • संयुक्‍त राज्यमा नयाँ जीवनको सुरुआत
  • प्रयास गरिरहने व्यक्‍ति
  • कठिन निर्णय
  • छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउँदै हुर्कायौं
  • मेरो जीवनको सबैभन्दा आनन्दित क्षण
  • यहोवाप्रतिको पहिलो प्रेमलाई सम्झिरहँदा स्थिर रहन सकेको छु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ईश्‍वरीय भक्‍तिअनुसार हिंड्‌दा प्राप्त भएका इनामहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के तपाईं महान्‌ कुमाले यहोवाबाट आकार पाउन तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ८/१ pp. २४-२८

जीवनी

हतियार निर्माणदेखि जीवनदानसम्म

ईसीडोरस ईस्माइलीदिसको वृत्तान्तमा आधारित

घुँडा टेकेर प्रार्थना गर्दा मेरा आँखाबाट बर्रर आँसु झरिरहेका थिए। प्रार्थनामा मैले यसो भनें “हे परमेश्‍वर, मेरो अन्तस्करणले मलाई हतियार कारखानामा काम गर्न दिइरहेको छैन। मैले धेरै चोटि अर्को जागिर खोज्ने प्रयास गरें तर सकिनँ। भोलि नै म आफ्नो राजिनामा पेस गर्दैछु। हे यहोवा, हाम्रा चार छोराछोरीको रक्षा गर्नुहोस्‌, तिनीहरू भोकभोकै बस्नु नपरोस्‌।” म कसरी यस्तो अवस्थामा पुगें?

उत्तरी ग्रीसको ड्रामामा सन्‌ १९३२ मा मेरो जन्म हुँदा जीवन शान्त अनि सरल थियो। ठूलो भएपछि मैले के गरेको आशा गर्नुहुन्छ, बुबा त्यसबारे मलाई बताइरहनुहुन्थ्यो। उहाँले मलाई अमेरिका गएर शिक्षा हासिल गर्न प्रोत्साहन दिइरहनुहुन्थ्यो। दोस्रो विश्‍वयुद्धको बेला ग्रीस तहसनहस भएकोले हर युनानीको मुखमा यो भनाइ हुन्थ्यो: “तिमीहरू हाम्रो सम्पत्ति हरण गर्नसक्छौं तर हाम्रो विद्या कहिल्यै हरण गर्नसक्दैनौं।” त्यसैले मैले उच्च शिक्षा हासिल गर्ने र कसैले पनि हरण गर्न नसक्ने चीज प्राप्त गर्ने अठोट गरें।

कलिलै उमेरदेखि म ग्रीक अर्थोडक्स चर्चद्वारा समर्थित विभिन्‍न युवा समूहहरूमा सामेल हुन्थें। हामीलाई खतरनाक गुटहरूसित सतर्क रहन चेताउनी दिइन्थ्यो। मलाई विशेष गरी एउटा गुट अझै याद छ। तिनीहरू यहोवाका साक्षीहरू थिए र तिनीहरू ख्रीष्ट विरोधीहरू हुन्‌ भनिएकोले पनि त्यो मलाई याद भएको हो।

सन्‌ १९५३ मा एथेन्सको प्राविधिक स्कूलबाट स्नातक भइसकेपछि म जागिर खान र अध्ययन गर्न जर्मनी गएँ। तर त्यहाँ कामकुरा मिलेन र म अन्य मुलुकतर्फ लागें। केही हप्तापछि बेल्जियमको बन्दरगाहमा पुग्दा मसित फुट्टीकौडी थिएन। मलाई अझै याद छ, म चर्चमा गएँ, बसें अनि यत्ति बेस्सरी रोएँ, भुइँ मेरो आँसुले भिजिसकेको थियो। परमेश्‍वरले मलाई अमेरिकासम्म पुग्न मदत गर्नुभयो भने म भौतिक कुराको पछि दगुर्दिनँ तर शिक्षा हासिल गर्छु अनि असल मसीही तथा असल नागरिक बन्छु भनेर प्रार्थना गरें। अन्ततः १९५७ मा म अमेरिका पुगें।

संयुक्‍त राज्यमा नयाँ जीवनको सुरुआत

भाषा नजान्‍ने अनि रित्तो खल्ती हुने परदेशीलाई अमेरिकामा जीवन बिताउन साह्रै गाह्रो हुँदो रहेछ। म हरेक रात दुई ठाउँमा काम गर्थें र दिनमा स्कूल जाने प्रयास गर्थें। म थुप्रै कलेज गएँ र प्रमाणपत्र तह पास गरें। त्यसपछि म लस एन्जेलसको युनिभर्सिटी अफ क्यालिफोर्निया गएँ र त्यहाँबाट मैले प्रयोगात्मक भौतिक शास्त्रमा स्नातकोत्तर गरें। यी कठिन वर्षहरूमा मलाई शिक्षासम्बन्धी मेरा बुबाका शब्दहरूले नै थामेका थिए।

त्यतिखेरतिरकै कुरा हो, मैले एकातेरीनी नाउँकी एउटी राम्री ग्रीक केटी भेटें र हामीले १९६४ मा बिहे गऱ्‍यौं। तीन वर्षपछि हाम्रो जेठो छोरा जन्मियो र त्यसको चार वर्षभित्र हाम्रो अरू दुई छोरालगायत एउटी छोरी जन्मिई। विश्‍वविद्यालयमा पढ्‌दै परिवार पाल्नु वास्तवमा सजिलो थिएन।

म क्यालिफोर्नियाको सन्‍नीभालेस्थित यु.एस. हवाई विभागको क्षेप्यास्त्र तथा अन्तरिक्ष कम्पनीमा काम गर्थें। मैले एजेना र अपोलो कार्यक्रमलगायत अन्य थुप्रै वायु तथा अन्तरिक्षसम्बन्धी प्रोजेक्टहरूमा काम गरें। अपोलो ८ र अपोलो ११ मिसनमा मैले पुऱ्‍याएको योगदानका लागि मैले तक्माहरू पनि पाएको थिएँ। त्यसपछि पनि, मैले आफ्नो शिक्षा कायम राखें र सेनासित सम्बन्धित थुप्रै अन्तरिक्ष प्रोजेक्टहरूमा झन्‌ झन्‌ बिथोलित हुँदै गएँ। त्यतिखेर मलाई आफ्नो जीवन पूर्ण भएजस्तो लागेको थियो। मसित प्यारी श्रीमती, चार राम्रा राम्रा छोराछोरी, सम्मानित जागिर अनि राम्रो घर सब थोक थियो।

प्रयास गरिरहने व्यक्‍ति

सन्‌ १९६७ को सुरुतिर मैले अफिसमा जीम नाउँ गरेका एकदम नम्र र भलादमी मान्छे भेटें। जीम सधैं हँसिलो देखिन्थ्यो र कफी खान जाऔं भन्दा कहिल्यै नाइँ भन्दैनथ्यो। कफी खान जानेबेला ऊ अक्सर मसित बाइबलको कुरा गर्थ्यो। आफू यहोवाका साक्षीहरूसित अध्ययन गर्दै गरेको कुरा पनि जीमले मलाई बतायो।

जीम त्यस्तो खतरनाक धार्मिक समूहसित संगत गर्दो रहेछ भनेर थाह पाउँदा त म तीन छक परें। यस्तो राम्रो व्यक्‍ति त्यस्तो ख्रीष्ट विरोधी गुटको पञ्जामा कसरी परेको होला? तथापि, जीमले मप्रति देखाएको व्यक्‍तिगत चासो र उसको दयालु भाव मलाई मन पर्थ्यो। ऊसित हरेक दिन मलाई पढ्‌न दिन केही न केही अवश्‍य हुन्थ्यो। उदाहरणका लागि, एकदिन ऊ मेरो अफिसमा आयो र भन्यो: “ईसीडोरस, हेर त द वाचटावर-को यो अंकले पारिवारिक जीवनलाई कसरी बलियो पार्ने भनेर बताएको छ। लौ घर लगेर श्रीमतीसित पढ।” मैले पढ्‌छु भनें तर पछि शौचालयमा गएर त्यो पत्रिकालाई टुक्रा टुक्रा हुने गरी च्यातें र फोहर फाल्ने ढ्‌वाङमा फ्याँकिदिएँ।

तीन वर्षसम्म मैले यसरी नै उसले दिएका प्रत्येक किताब तथा पत्रिकाहरू च्यात्न थालें। म जीमसितको मित्रता गुमाउन चाहन्‍नथें। त्यसकारण, यहोवाका साक्षीहरू विरुद्ध पूर्वाग्रह भए तापनि उसको कुरा एउटा कानले सुनेर तुरुन्तै अर्को कानले उडाइदिनु नै बेस सम्झें।

तथापि, यी छलफलहरूबाट मैले आफूले विश्‍वास गरेका अनि प्रयोगमा ल्याएका कतिपय कुराहरू बाइबलमा आधारित रहेनछन्‌ भनेर थाह पाएँ। त्रिएक, नरकको आगो अनि अमर आत्माजस्ता शिक्षाहरू धर्मशास्त्र विपरीत रहेछन्‌ भनेर पनि मैले थाह पाएँ। (उपदेशक ९:१०; इजकिएल १८:४; यूहन्‍ना २०:१७) तर जिद्दी ग्रीक अर्थोडक्स भएकोले म खुल्लमखुल्ला जीमले भनेका कुराहरू सही हुन्‌ भनेर स्वीकार्न चाहन्‍नथें। ऊ आफ्नो व्यक्‍तिगत विचार होइन, तर सधैं बाइबलको विचार व्यक्‍त गर्थ्यो। त्यसकारण अन्ततः, यो मान्छेसित बाइबलमा आधारित केही जानकारी पक्कै हुनुपर्छ भनेर मैले स्वीकारें।

मेरी श्रीमतीलाई केही गडबड छजस्तो लाग्यो र कतै म यहोवाका साक्षीहरूसित सम्बन्धित त्यो साथीसित कुरा त गरिरहेको छैन भनेर उनले सोधिन्‌। मैले हो भनेर जवाफ दिएपछि उनले यसो भनिन्‌: “अरू जुनसुकै चर्च गए पनि हुन्छ तर यहोवाका साक्षीहरूकहाँ चाहिं नजाऔं है।” तथापि, केही समय नबित्दै मेरी श्रीमती, म अनि हाम्रा बालबच्चा सबै यहोवाका साक्षीहरूको सभामा नियमित तवरले जान थाल्यौं।

कठिन निर्णय

बाइबल पढ्‌दै गर्दा मैले यशैया अगमवक्‍ताका यी शब्दहरू भेट्टाएँ: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।” (यशैया २:४) मैले आफैलाई सोधें, ‘शान्ति प्रेमी परमेश्‍वरको सेवकले विनाशकारी हतियार रचना गर्ने अनि बनाउने काम कसरी गर्न मिल्ला?’ (भजन ४६:९) मैले आफ्नो जागिर छोड्‌नुपर्छ भनेर निर्णय गर्न मलाई धेरै समय लागेन।

हो, यो निकै ठूलो चुनौती थियो। मैले निकै मान-सम्मान पाउने जागिर खाइरहेको थिएँ। यो स्थितिसम्म पुग्न मैले निकै पढाइ, मेहनत अनि त्यागहरू गरेको थिएँ। मेरो ओहदा निकै उच्च थियो। तर जीवनको यस मोडमा आएर मैले जागिर छोड्‌ने विचार गर्दै थिएँ। तथापि, यहोवाप्रतिको गहिरो माया र उहाँको इच्छा पूरा गर्ने मेरो गहिरो चाहना नै विजयी भयो।—मत्ती ७:२१.

मैले वासिङटन, सिआटलस्थित कम्पनीमा काम गर्न खोजें। तथापि, त्यहाँ गरिने काम त यशैया २:४ सित झनै मेल नखाँदो रहेछ भनेर थाह पाउँदा म निरुत्साहित भएँ। अन्य प्रोजेक्टहरूमा काम गर्न पाइएला कि भनेर गरेका प्रयासहरू पनि विफल भए अनि मेरो अन्तस्करणले मलाई घचघच्याउन थाल्यो। मेरो सफा अन्तस्करण र मेरो जागिर दुवैलाई एउटै हलोमा राख्न नसकिने कुरा मैले प्रस्टै देखें।—१ पत्रुस ३:२१.

हामीले आफ्नो जीवनमा महत्त्वपूर्ण परिवर्तनहरू गर्नुपर्ने आवश्‍यकता देख्यौं। छ महिनाभित्रै हामीले हाम्रो जीवनशैली परिवर्तन गऱ्‍यौं र हाम्रो खर्च पनि ५० प्रतिशतले कम गऱ्‍यौं। त्यसपछि, हामीले हाम्रो सुविधासम्पन्‍न घर बेच्यौं र कोलोराडो, डेन्भरमा सानो घर किन्यौं। अब म अन्तिम परिवर्तन गर्न अर्थात्‌ जागिर छोड्‌न तयार थिएँ। मैले आफ्नो अन्तस्करणको कारण जागिर छोड्‌न चाहेको कुरा खुलाएर राजीनामा पत्र लेखें। त्यस रात छोराछोरी सुतिसकेपछि यस लेखको सुरुमा उल्लेख गरेझैं श्रीमतीसित घुँडा टेकेर यहोवालाई प्रार्थना गरें।

महिनाभरमा हामी डेन्भर सऱ्‍यौं र यसको दुई हप्तापछि जुलाई १९७५ मा मेरी श्रीमती र मैले बप्तिस्मा लियौं। छ महिनासम्म मैले जागिर पाइनँ र हामीले जोगाएको पैसा बिस्तारै बिस्तारै सिद्धिन थाल्यो। सातौं महिनामा त हाम्रो बचत खातामा बाँकी रहेको पैसा हामीले तिर्नुपर्ने घरको मासिक व्याजभन्दा पनि कम भयो। म आफूले गर्नसक्ने जुनसुकै कामको निम्ति यताउता दगुर्न थालें र केही समयमै मैले इन्जिनियरिङको काम पाएँ। मेरो तलब पहिलेको तुलनामा आधाजति मात्र थियो तैपनि, यो मैले यहोवसित बिन्ती गरेको भन्दा धेरै नै थियो। आध्यात्मिक कामकुरालाई प्रथम स्थान दिएकोमा म धेरै खुसी थिएँ!—मत्ती ६:३३.

छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउँदै हुर्कायौं

यसैबीच, एकातेरीनी र म हाम्रा चार जना छोराछोरीलाई ईश्‍वरीय सिद्धान्तअनुसार हुर्काउने चुनौतीपूर्ण कार्यमा व्यस्त थियौं। खुसीको कुरा, यहोवाको मदतले हाम्रा चारै जना छोराछोरी परिपक्व मसीही भएको र उनीहरूले राज्य प्रचारजस्तो महत्त्वपूर्ण कार्यमा आ-आफ्नो जीवन पूर्णतया समर्पण गरेको हामीले देख्न पायौं। हाम्रा तीनै छोराहरू ख्रीस्टस, लाकीस र ग्रेगोरी, मिनिस्टेरियल ट्रेनिङ स्कूलबाट स्नातक भएर अहिले विभिन्‍न कार्यभार सम्हाली रहेका छन्‌ र मण्डलीहरूको भ्रमण गर्ने अनि प्रोत्साहन दिने काममा व्यस्त छन्‌। हाम्री छोरी, टुला यहोवाका साक्षीहरूको न्यु योर्कस्थित मुख्यालयमा स्वयम्‌सेवा गर्छिन्‌। यिनीहरू सबैले सफलता अनि धेरै तलब पाइने जागिर छान्‍नुको साटो यहोवाको सेवा गर्ने छनौट गरेको देख्दा हाम्रो हृदय गदगद्‌ हुन्छ।

छोराछोरीलाई यसरी सफलतासाथ हुर्काउन सक्नुको रहस्य के हो भनेर थुप्रैले हामीलाई सोधेका छन्‌। छोराछोरी हुर्काउने कुनै फर्मुला त छैन तर हामीले उनीहरूको हृदयमा यहोवा अनि छिमेकीहरूप्रतिको माया बढाउने अथक प्रयास गऱ्‍यौं। (व्यवस्था ६:६, ७; मत्ती २२:३७-३९) हाम्रो कामैबाट हामी यहोवालाई माया गर्छौं भनेर नदेखिएसम्म हामी यहोवालाई माया गर्छौं भन्‍न सक्दैनौं भनी हाम्रा छोराछोरीले बुझे।

हप्ताको एक दिन, अक्सर शनिबार हामी सम्पूर्ण परिवार सेवकाईमा भाग लिन्थ्यौं। सोमबार राती खाना खाइसकेपछि हाम्रो नियमित पारिवारिक अध्ययन हुन्थ्यो र हामी प्रत्येक छोराछोरीसित व्यक्‍तिगत तवरमा पनि बाइबल पढ्‌थ्यौं। छोराछोरी सानै छँदा हामी उनीहरूसित हप्तामा निकै पटक अलि अलि गर्दै बाइबल अध्ययन गर्थ्यौं भने तिनीहरू हुर्किसकेपछि हामीले हप्तामा एक पटक तर अलि धेरै समय बिताएर अध्ययन गऱ्‍यौं। यी अध्ययनहरूले गर्दा हाम्रा छोराछोरीहरू आफ्नो मन खोलेर कुरा गर्थे र नहिचकिचाई आफ्नो समस्या हामीलाई बताउँथे।

पूरै परिवार मिलेर हामीले प्रोत्साहनदायी मनोरञ्जनको आनन्द पनि उठायौं। हामी एकसाथ बाजागाजा बजाउथ्यौं। छोराछोरी उनीहरूलाई मनपर्ने आफ्नो आफ्नो गीत गाउँथे। कुनै कुनै सप्ताहन्तमा प्रोत्साहनदायी संगतिको लागि हामी अरू परिवारलाई पनि बोलाउँथ्यौं। हामी सपरिवार बेला बेलामा घुम्न जाने पनि गर्थ्यौं। यस्तै एकपटक हामी कोलोराडोको डाँडाहरूमा घुम्न जाँदा त्यहाँको स्थानीय मण्डलीसित क्षेत्र सेवकाईमा भाग लियौं। जिल्ला अधिवेशनमा विभिन्‍न विभागमा काम गरेको र विभिन्‍न स्थानहरूमा राज्यभवन निर्माणमा सहयोग गरेको सम्झँदा छोराछोरीहरू अहिले पनि रमाउँछन्‌। छोराछोरीलाई ग्रीसमा हाम्रा नातेदारहरू भेट्‌न लैजाँदा उनीहरूले विश्‍वासको खातिर झ्यालखानामा परेका थुप्रै विश्‍वासी साक्षीहरूलाई पनि भेट्‌न पाए। यसले उनीहरूको मनमा अमेट छाप पाऱ्‍यो र सच्चाइको खातिर स्थिर तथा बलियो रहने अठोटलाई बल दियो।

हो, कहिलेकाहीं छोराछोरीले बदमासी पनि गरे वा गलत संगत पनि रोजे। अनि कहिलेकाहीं कुनै कुनै कुरामा अत्यन्तै रोकटोक गरेर हामीले नै उनीहरूको निम्ति समस्या पनि खडा गऱ्‍यौं। तर बाइबलमा भनिएझैं ‘यहोवाको चेताउनीअनुसार’ गरेर हामी सबैले परिस्थितिलाई सच्याउने मौका पायौं।—एफिसी ६:४; २ तिमोथी ३:१६, १७.

मेरो जीवनको सबैभन्दा आनन्दित क्षण

हाम्रा छोराछोरी पूर्ण-समय सेवकाईमा लागिसकेपछि एकातेरीनी र मैले जीवनरक्षक कार्यमा अझ बढी भाग लिन के गर्नसक्छौं होला भनेर गम्भीरतासाथ विचार गर्न थाल्यौं। यसरी १९९४ मा मैले समय अगावै अवकाश लिएँ र हामी दुवैले नियमित अग्रगामीको काम गर्न थाल्यौं। हाम्रो सेवकाईमा स्थानीय कलेज तथा विश्‍वविद्यालयहरूमा जानु समावेश छ। हामी त्यहाँका विद्यार्थीहरूलाई साक्षी दिन्छौं र तिनीहरूमध्ये कोही कोहीसित बाइबल अध्ययन पनि गर्छौं। केही वर्षअघि म पनि तिनीहरूको जस्तै अवस्थामा भएकोले यी विद्यार्थीहरूले सामना गर्नुपरेका समस्याहरू देख्दा मलाई माया लाग्छ र यसैले होला, तिनीहरूलाई यहोवाबारे सिकाउन सफलता पाएको छु। बोलिभिया, ब्राजिल, चिली, चीन, इजिप्ट, इथियोपिया, मेक्सिको, थाइल्याण्ड अनि टर्कीजस्ता देशहरूबाट आएका विद्यार्थीहरूसित अध्ययन गर्न पाउनु हाम्रो लागि ठूलो आनन्दको कुरा भएको छ! टेलिफोनमार्फत साक्षी दिंदा र विशेष गरी आफ्नै मातृभाषा बोल्ने व्यक्‍तिहरूसित कुरा गर्दा पनि मलाई धेरै रमाइलो लाग्छ।

म ग्रीक पाराले बोल्ने भएकोले र पाको उमेरका कारण मेरा थुप्रै सीमितताहरू छन्‌। तैपनि, मैले सधैं आफूलाई यहोवाको सेवाको निम्ति तयार राखेको छु। मेरो भावना पनि “म हाजिर छु। मलाई पठाउनुहोस्‌” भन्‍ने यशैयाको जस्तै छ। (यशैया ६:८) हामीले आधा दर्जनभन्दा बढी मानिसहरूलाई आफ्नो जीवन यहोवामा समर्पण गर्न मदत गर्ने सुअवसर पाएका छौं। निस्सन्देह, यो हाम्रो जीवनको सबैभन्दा आनन्दित क्षण हो।

कुनै समय मेरो सम्पूर्ण जीवन सँगी मानवहरूलाई मार्न प्रयोग गरिने डरलाग्दा हतियारहरू बनाउनमा बितेको थियो। तथापि, आफ्नो अपार दया र करुणाका कारण यहोवाले मलाई अनि मेरो परिवारलाई उहाँको समर्पित सेवक हुने अनि मानिसहरूलाई अनन्त जीवनको सुसमाचार सुनाउने बाटो खोलिदिनुभयो। आफूले गर्नुपरेको चुनौतीपूर्ण निर्णयलाई सम्झँदा मलाकी ३:१० का यी शब्दहरू मेरो मनमा झलझली आउँछन्‌: “ ‘मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ’ सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ।” उहाँले साँच्चै नै हाम्रो हृदय सन्तुष्ट हुने गरी प्रशस्त आशिष्‌ दिनुभएको छ!

[पृष्ठ २७-मा भएको पेटी/चित्र]

लाकीस: मेरो बुबालाई ढोङ पटक्कै मनपर्दैनथ्यो। आफू पनि ढोंगी नहुन र विशेष गरी परिवारको निम्ति असल उदाहरण बसाल्न उहाँ असाध्यै प्रयास गर्नुहुन्थ्यो। उहाँ अक्सर हामीलाई यसो भन्‍नुहुन्थ्यो: “तिमीहरू यहोवालाई आफ्नो जीवन समर्पण गर्न चाहन्छौ भने त्यो ठूलो कुरा हो। तिमीहरू यहोवाको निम्ति त्यागहरू गर्न इच्छुक हुनुपर्छ। किनकि मसीही हुनुको अर्थ नै त्यही हो।” यी शब्दहरूले ममा छाप पारेको छ र यसले मलाई बुबाको अनुकरण गर्दै यहोवाको निम्ति त्यागहरू गर्न मदत गरेको छ।

[पृष्ठ २७-मा भएको पेटी/चित्र]

ख्रीस्टस: म मेरा आमाबाबुले यहोवाप्रति आफ्नो सम्पूर्ण प्राणले देखाउनुभएको वफादारी अनि आमाबाबुको रूपमा उहाँहरूले निर्वाह गर्नुभएको जिम्मेवारीको निम्ति धेरै कृतज्ञता जाहेर गर्छु। परिवारको रूपमा हामीले सबथोक अर्थात्‌ सेवकाईदेखि छुट्टी मनाउनुसम्म सब थोक एकसाथ गर्थ्यौं। उहाँहरू अरू थुप्रै कुराहरूमा व्यस्त हुन सक्नुहुन्थ्यो तर मेरा आमाबाबुले आफ्नो जीवन एकदम सरल बनाउनुका साथै आफ्नो तनमन सेवकाईमा लगाउनुभएको थियो। यहोवाको सेवामा पूर्णतया व्यस्त हुनपाएकोमा, साँच्चै सबैभन्दा आनन्दित मानिस मै हुँ जस्तो मलाई लाग्छ।

[पृष्ठ २८-मा भएको पेटी/चित्र]

ग्रेगोरी: आफ्नो सेवकाई विस्तृत पार्न मेरा आमाबाबुले मलाई प्रोत्साहन त दिनु नै भएको थियो। तर त्यसका साथै उहाँहरूको उदाहरण र यहोवाको सेवामा उहाँहरूले प्राप्त गर्नुभएको आनन्द देखेर म पनि मेरो अवस्था नियाँल्न उत्प्रेरित भएँ, पूर्ण-समय सेवा सुरु गर्न मनमा आएका चिन्ता र शंकाहरू एकातिर पन्छाएर यहोवाको काममा अझै लाग्नसक्ने भएँ। आफूलाई यसरी सेवामा लगाएर पाएको आनन्दको लागि म मेरा आमाबाबुलाई धेरै धन्यवाद दिन चाहन्छु।

[पृष्ठ २८-मा भएको पेटी/चित्र]

टुला: यहोवासितको हाम्रो सम्बन्ध हामीले प्राप्त गर्नसक्ने सबैभन्दा बहुमूल्य कुरा हो र यहोवालाई आफ्नो सर्वोत्तम कुरा चढाएर मात्र हामी साँच्चै आनन्दित हुनसक्छौं भनेर आमाबाबुले सधैं जोड दिनुहुन्थ्यो। उहाँहरूले हामीलाई यहोवा वास्तविक हुनुहुन्छ भनेर महसुस गराउनुभयो। यहोवालाई खुसी पार्न आफूले सक्दो गरेछु भन्‍ने सफा अन्तस्करण लिएर सुत्न सक्नु वर्णनै गर्न नसकिने अनुभूति हो भनेर मेरो बुबा अक्सर हामीलाई बताउनुहुन्थ्यो।

[पृष्ठ २५-मा भएको चित्र]

ग्रीसमा सैनिक छँदा, १९५१ मा

[पृष्ठ २५-मा भएको चित्र]

एकातेरीनीसित १९६६ मा

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९९६ मा मेरो परिवार: (बायाँबाट दायाँ, पछाडि) ग्रेगोरी, ख्रीस्टस, टुला; (अगाडि) लाकीस, एकातेरीनी र म

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने