प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ८/१ pp. २९-३१
  • हाम्रा आशाहरू किन व्यावहारिक हुनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रा आशाहरू किन व्यावहारिक हुनुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आशा र निराशाहरू
  • व्यावहारिक आशाहरू विकास गर्ने तरिकाहरू
  • व्यावहारिक आशाहरू राख्दा इनाम पाइन्छ
  • आफूसँग व्यावहारिक माग मात्र गर्नुहोस्‌ र आनन्दित हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • सिद्ध हुने कोसिस नगर्न म के गर्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००३
  • यहोवाको अनुकरण गर्नुहोस्‌ र व्यावहारिक हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • सिद्ध जीवन सपनामात्र होइन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ८/१ pp. २९-३१

हाम्रा आशाहरू किन व्यावहारिक हुनुपर्छ?

हाम्रा आशा र रहरहरू पूरा हुँदा हामी सन्तुष्ट महसुस गर्छौं। तर हाम्रा थुप्रै सपना र आशाहरू हामीले इच्छा गरेजस्तो पूरा हुँदैनन्‌। हाम्रा आशाहरू बारम्बार पूरा नहुँदा हामी आफै र अरूसित समेत दिक्क हुनसक्छौं। अतः एक बुद्धिमान्‌ पुरुषले यसो भन्‍नु उपयुक्‍त छ: “आशा साकार नहुँदा मन मर्छ।”—हितोपदेश १३:१२.

हामी निराश हुने केही कारणहरू के हुन्‌? आफूबाट अचाक्ली आशा नगर्न हामी के गर्नसक्छौं? यसबाहेक, यसो गर्दा किन हाम्रै फाइदा हुन्छ?

आशा र निराशाहरू

आजको व्यस्त जीवनमा हामी जति गर्न खोज्छौं त्यति नै पछि परेजस्तो महसुस गर्छौं। हामीले जत्ति समय दिए पनि वा मेहनत गरे तापनि नपुग्नसक्छ अनि हामी आफ्नो काममा विफल हुँदा आफैलाई दोषी ठहऱ्‍याउने हाम्रो झुकाउ हुन्छ। अरूलाई निराश तुल्याइरहेको महसुससमेत गर्न थाल्नसक्छौं। छोराछोरीकी आमा र पत्नी सिन्थीयालाई आमाबाबु हुँदा आइपर्ने दबाउहरूबारे थाह छ। तिनी भन्छिन्‌: “छोराछोरीलाई सधैं सच्याउन नसक्दा र मैले तिनीहरूलाई भनेजस्तो प्रशिक्षण दिन सकिरहेको छैन जस्तो लाग्दा रिस उठ्‌छ।” स्टेफनी नाउँ गरेकी एक किशोरी आफ्नो शिक्षाको सन्दर्भमा यसो भन्छिन्‌: “आफूले चाहेको सबै कुरा गर्ने समय नपाउँदा, म मुरमुरिन्छु।”

आफूबाट अचाक्ली आशा गर्न थाल्यौं भने सजिलै आफूबाट सिद्धता खोज्न थाल्ने छौं र यो अत्यन्तै हतोत्साहजनक हुनसक्छ। बेन नाउँ गरेको एक विवाहित युवक यसो भन्छन्‌: “आफ्नो काम, विचार अनि भावनाहरू केलाउँदा मलाई सधैं अझ राम्रो हुनसक्थ्यो जस्तो लाग्छ। म सधैं सिद्धता खोज्छु र यसले गर्दा म अधीर, निराश र दिक्क हुन्छु।” मसीही पत्नी गेल भन्छिन्‌: “आफूबाट सिद्धता खोज्ने व्यक्‍तिको निम्ति असफलता ठूलो हार हो। हामी सर्वोत्कृष्ट आमा तथा पत्नी बन्‍न चाहन्छौं। आनन्दित हुन हामी फलदायी हुनुपर्छ र केही कुरामा कतै चुक्यौं भने झोक चल्छ।”

हामीलाई व्यक्‍तिगत तवरमा निराश तुल्याउनसक्ने अर्को कारण बिग्रँदो स्वास्थ्यस्थिति र बुढ्यौली पनि हुनसक्छ। हलचल गर्न गाह्रो र अशक्‍त हुँदा हाम्रा सीमितता झनै खट्‌किन्छ अनि निराशाका भावनाहरू झनै प्रबल हुनथाल्छन्‌। एलिजाबेथ स्वीकार्छिन्‌: “बिरामी हुनुभन्दा अघि सजिलै गर्नसक्ने कामकुराहरू गर्न नसक्दा म आफैसँग दिक्क हुन्छु।”

माथि उल्लिखित उदाहरणहरू, के कस्ता कारणहरूले निराश होइन्छ भनेर प्रस्ट्याउने केही नमुना मात्र हुन्‌। त्यस्ता भावनाहरूलाई नियन्त्रणमा राखेन भने अरूले हाम्रो मूल्यांकन गर्दैनन्‌ भन्‍ने भावनासमेत आउनसक्छ। त्यसोभए, त्यस्ता निराशाहरूको सामना गर्न हामी कस्ता सकारात्मक कदम चाल्नुका साथै व्यावहारिक आशाहरू विकास गर्नसक्छौं?

व्यावहारिक आशाहरू विकास गर्ने तरिकाहरू

प्रथमतः यहोवा व्यावहारिक र समझदार हुनुहुन्छ भनेर नबिर्सनुहोस्‌। भजन १०३:१४ ले यस्तो सम्झना दिलाउँछ: “उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनहुन्छ।” यहोवालाई हाम्रो योग्यता र सीमितताहरू थाह भएकोले उहाँ हाम्रो क्षमता बाहिरका कुराहरू माग गर्नुहुन्‍न। परमेश्‍वरले हामीबाट माग्नुहुने एउटा कुरा हो, “[उहाँसित] नम्र भएर हिंड़नू।”—मीका ६:८.

यहोवाले हामीलाई प्रार्थना गर पनि भन्‍नुहुन्छ। (रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७) तर प्रार्थनाले हामीलाई कसरी मदत गर्छ? प्रार्थनाले हाम्रो सोचाइलाई स्थिर तथा सन्तुलित बनाउँछ। व्यग्र प्रार्थना, हामीलाई मदतको खाँचो छ भन्‍ने प्रमाण हुनुका साथै विनम्रता र विनयको चिह्न हो। यहोवा हामीलाई उहाँको पवित्र आत्मा अनि प्रेम, दया, भलाइ र संयमजस्ता आत्माका फलहरू दिएर हाम्रो प्रार्थनाको जवाफ दिन उत्सुक हुनुहुन्छ। (लूका ११:१३; गलाती ५:२२, २३) प्रार्थनाले फिक्री तथा निराशाहरू पनि हटाउँछ। प्रार्थना गर्दा महसुस हुने “सान्त्वना अन्य कुनै स्रोतबाट पाउन सकिंदैन” भनी एलिजाबेथ भन्छिन्‌। केभिन यसरी सहमति जनाउँछन्‌, “समस्याहरूसित जुझ्न, म शान्त हृदय अनि समझको निम्ति प्रार्थना गर्छु। र यहोवाले मलाई कहिल्यै निराश तुल्याउनुभएको छैन।” प्रेरित पावललाई प्रार्थनाको अनमोल महत्त्व थाह थियो। त्यसैकारण तिनले यस्तो सुझाउ दिए: “तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) हो, हामीलाई आफू अनि अरूबाट आशा गर्ने कुरामा व्यावहारिक हुन यहोवासितको कुराकानीले साँच्चै मदत गर्छ।

तर कहिलेकाहीं हामीलाई उत्ति नै खेर आश्‍वासनको खाँचो पर्छ। ठीक बेलामा भनिएको कुरा असल हुन्छ। भरोसायोग्य र परिपक्व साथीलाई आफू निराश वा चिन्तित भइरहेको कारण बताउँदा त्यस समस्यालाई नयाँ दृष्टिकोणले हेर्न मदत पाउनसक्छौं। (हितोपदेश १५:२३; १७:१७; २७:९) निराशासित संघर्ष गरिरहेका युवाहरूले आमाबाबुको मदत लिंदा सन्तुलित हुन मदत पाउँछन्‌। क्यान्डी यस कुराको मूल्यांकन गर्दै भन्छिन्‌: “मेरा आमाबाबुको मायालु निर्देशनको कारण म व्यावहारिक र सन्तुलित हुनुका साथै साथी भाइहरूसित रमाइलो गर्नसक्ने भएकी छु।” हो, हितोपदेश १:८, ९ को यो सम्झौटा समय सुहाउँदो छ: “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‌ र आफ्नी आमाको अर्ती इन्कार नगर्‌। किनभने ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुन्‌।”

आफूबाट सिद्धताको आशा गर्दा हुने नतिजा यस उक्‍तिले राम्ररी व्याख्या गर्छ: “आफूले भनेजस्तै आशा गर्नु भनेको निराशालाई निम्त्याउनु हो।” यसबाट बच्न आफ्नो सोचाइमा छाँटकाँट गर्नु आवश्‍यक छ। विनम्र र विनयीको भावसहित आफ्ना सीमितताहरूबारे व्यावहारिक विचारधारा राख्दा त्यसले हामीलाई निश्‍चय पनि सन्तुलित र व्यावहारिक आशा राख्न मदत गर्नेछ। त्यसकारण, रोमी १२:३ ले हामीलाई यस्तो सल्लाह दिनु उचित हो: “आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ।” यसबाहेक, फिलिप्पी २:३ ले नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान्‍ने प्रोत्साहन दिन्छ।

माथि उल्लिखित एलिजाबेथ आफ्नो बिमारीको कारण आफैसित दिक्क भएकी थिइन्‌। तिनलाई यहोवाको विचारधारा बुझ्न र उहाँले हाम्रो सेवकाईलाई बिर्सनु हुन्‍न भनेर ढुक्क हुन समय लाग्यो। कोलिन आफ्नो बिमारीको कारण हलचल गर्न सक्दैनथे। सुरुमा त तिनलाई पहिला स्वास्थ्य राम्रो हुँदा गरेको सेवाको तुलनामा अहिलेको सेवकाई बेकारको छ जस्तो लाग्थ्यो। तर २ कोरिन्थी ८:१२ जस्ता शास्त्रपद मनन गर्दा त्यस्ता भावनाहरू हटाउन मदत गऱ्‍यो। त्यस शास्त्रपदमा यसो भनिएको छ: “तत्परता छ भने, आफूसित नभएअनुसार होइन, तर आफूकहाँ भएअनुसार यो ग्रहणयोग्य हुन्छ।” कोलिन भन्छन्‌: “म अहिले धेरै गर्न सक्दिनँ तर केही त अवश्‍य गर्नसक्छु र त्यो यहोवाको निम्ति स्वीकार्य छ।” हिब्रू ६:१० मा हामीलाई यस्तो सम्झौटा दिइएको छ: “त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”

त्यसोभए हामी आफ्ना आशाहरू व्यावहारिक छन्‌, छैनन्‌ कसरी पत्ता लगाउनसक्छौं? आफैलाई सोध्नुहोस्‌, ‘के मैले आफूबाट गरेका आशाहरू परमेश्‍वरले मबाट गर्नुहुने आशाअनुरूप छन्‌?’ गलाती ६:४ यसो भन्छ: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्‌। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।” येशूले के भन्‍नुभयो सम्झनुहोस्‌ त: “मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” हो, हामी मसीही भएकाले जुवा बोक्नुपर्छ तर यो जुवा “सजिलो” र “हलका” छ र हामीले राम्रोसित बोक्न जान्यौं भने यो स्फूर्तिदायी हुनेछ भनेर येशूले प्रतिज्ञा गर्नुभयो।—मत्ती ११:२८-३०.

व्यावहारिक आशाहरू राख्दा इनाम पाइन्छ

परमेश्‍वरको वचनको सल्लाह सुनेर पालन गर्दै व्यावहारिक आशा विकास गर्न यत्न गऱ्‍यौं भने अहिले र भविष्यमा पनि इनाम पाउनेछौं। एउटा कुरा त, यसले हामीलाई शारीरिक स्वास्थ्यमा सकारात्मक असर पार्छ। यहोवाका सम्झौटाहरूबाट लाभ उठाउने जेनिफर स्वीकार्छिन्‌: “व्यावहारिक आशाहरू राख्दा मैले जीवनबाट धेरै बल तथा उत्साह प्राप्त गरेको छु।” अतः आफ्नो मन अनि हृदयले यहोवाले भन्‍नुहुने कुरामा ध्यान दिन हितोपदेश ४:२१, २२ ले आग्रह गर्छ किनभने “त्यसलाई पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो।”

अर्को इनाम मानसिक र भावनात्मक सुस्वास्थ्य हो। टेरेसा भन्छिन्‌: “मेरो मन अनि हृदय परमेश्‍वरको वचनमा केन्द्रित गर्दा म सधैं आनन्दित हुन्छु।” हो, हामीले जीवनमा निराशाको अनुभव गर्नुपर्छ। तर हामी त्यसको सामना गर्न सुसज्जित हुनसक्छौं। “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ” भनी याकूब ४:८ ले आग्रह गर्छ। यहोवाले हामीलाई जीवनमा आइपर्ने समस्याहरूसित जुझ्न बल र शान्ति दिने प्रतिज्ञा पनि गर्नुभएको छ।—भजन २९:११.

आफूबाट व्यावहारिक आशाहरू गर्दा त्यसले हामीलाई आध्यात्मिक तवरमा स्थिर रहन मदत गर्छ। यो पनि आशिष्‌ हो। हामीले जीवनमा अझ महत्त्वपूर्ण कुराहरूमा ध्यानकेन्द्रित गर्नसक्छौं। (फिलिप्पी १:१०) तब हाम्रो लक्ष्य व्यावहारिक अनि सुलभ हुन्छ र त्यसले हामीलाई सुख अनि सन्तुष्टि प्रदान गर्नेछ। हामी आफूलाई यहोवाको हातमा सुम्पन झनै इच्छुक हुनेछौं र उहाँले सबै कुरा हाम्रै भलाइको निम्ति गर्नुहुनेछ। पत्रुस यसो भन्छन्‌: “परमेश्‍वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।” (१ पत्रुस ५:६) यहोवाद्वारा सम्मानित हुनुभन्दा इनामदायी कुरा अरू केनै हुनसक्छ र?

[पृष्ठ ३१-मा भएका चित्रहरू]

व्यावहारिक आशाहरू विकास गर्दा हामीले हतोत्साह र निराशाका भावनाहरूसित लड्‌न मदत पाउनेछौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने