प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ११/१५ pp. ५-७
  • तपाईंले किन प्रार्थना गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले किन प्रार्थना गर्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थनाले समस्याहरू समाधान गर्नसक्छ
  • सबै प्रार्थनाहरूको सुनुवाइ हुने बेला आउनेछ
  • तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • तपाईँ कसरी ईश्‍वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • आफ्नो प्रार्थनाको गुणस्तर बढाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ११/१५ pp. ५-७

तपाईंले किन प्रार्थना गर्नुपर्छ?

“तिमीहरू माग्दछौ, तर पाउँदैनौ, किनभने . . . बेठीकसँग माग्दछौ। परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:३, ८) येशूका चेला याकूबले बताएका यी शब्दहरूले हामीलाई आफ्नो प्रार्थनाको उद्देश्‍यमा ध्यान दिन उत्प्रेरित गर्नसक्छ।

प्रार्थना भनेको हामीले आफूलाई चाहिएका कुराहरू परमेश्‍वरसँग माग्नु मात्र होइन। डाँडाको उपदेश भनेर प्रख्यात मानिएको उपदेशमा येशूले यसो भन्‍नुभयो: “तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्छ।” यद्यपि, येशूले यसो पनि भन्‍नुभयो: “माग, तिमीहरूलाई दिइनेछ।” (मत्ती ६:८; ७:७) त्यसैले, हामीले यहोवालाई आफूलाई चाहिएको कुरा मागेको उहाँ चाहनुहुन्छ। तर प्रार्थना गर्नु भनेको त्यति मात्र होइन।

साँचो मित्रहरू आफूलाई कुनै कुराको खाँचो पऱ्‍यो भने मात्र कुराकानी गर्ने गर्दैनन्‌। तिनीहरू एकअर्काप्रति चासो राख्छन्‌ र आ-आफ्नो विचार व्यक्‍त गर्दा तिनीहरूको मित्रता झनै घनिष्ठ हुन्छ। त्यसै गरी, प्रार्थना गर्नुको उद्देश्‍य कुनै कुरा माग्नु मात्र होइन। यसले हाम्रो हार्दिक भक्‍ति यहोवाको सामु प्रकट गरेर उहाँसितको सम्बन्ध अझ बलियो बनाउने सुअवसर प्रदान गर्छ।

हो, यहोवाले हामी उहाँको नजिक हुन सकौं भनेर प्रार्थना गर्ने सुअवसर दिनुभएको छ। हामीले कण्ठ पारेका प्रार्थनाहरू गर्नुको सट्टा आफ्नै भावनाहरू व्यक्‍त गऱ्‍यौं भने मात्र यसो हुनसक्छ। यहोवालाई प्रार्थना गर्न पाउनु साह्रै आनन्दको कुरा हो! यसबाहेक, बाइबल हितोपदेश यसो भन्छ: “असल मानिसको प्रार्थनादेखि उहाँ प्रसन्‍न हुनुहुन्छ।”—हितोपदेश १५:८.

“परमेश्‍वरको नजीक जान मेरो निम्ति असल छ” भनी भजनरचयिता आसापले गाए। (भजन ७३:२८) तर परमेश्‍वरसित नजिक हुन हामीले प्रार्थना गरेर मात्र पुग्दैन। तल दिइएको उदाहरणले यसलाई कसरी प्रस्ट पार्छ ध्यान दिनुहोस्‌:

“उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, ‘हे प्रभु, यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाएझैं हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌।’” येशूले यस्तो जवाफ दिनुभयो: “तिमीहरूले प्रार्थना गर्दा यसो भन, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस्‌। तपाईंको राज्य आओस्‌।’” (लूका ११:१-३) परमेश्‍वरको नाउँ के हो र यसलाई कसरी पवित्र गर्न सकिन्छ भन्‍ने कुरा थाहै नपाई के हामी अर्थपूर्ण ढंगमा प्रार्थना गर्नसक्छौं होला र? अनि परमेश्‍वरको राज्य भनेको के हो थाहै छैन भने हामीले येशूका यी शब्दहरूअनुरूप कसरी प्रार्थना गर्नसक्छौं र? हामीले बाइबललाई राम्ररी केलायौं भने यी कुराहरू बुझ्नसक्छौं। अनि यसरी पाएको ज्ञानले परमेश्‍वर र उहाँका मार्गहरू थाह पाउन मदत गर्नेछ। त्यसबाहेक, यहोवा परमेश्‍वरसित परिचित हुँदा उहाँको नजिक र उहाँप्रति अझ भक्‍त हुनसक्छौं। यसले उहाँसित प्रार्थनामा ढुक्क भई बोल्न मदत गर्नेछ।

प्रार्थनाले समस्याहरू समाधान गर्नसक्छ

यहोवासित घनिष्ठ सम्बन्ध बढाउनाले समस्याहरू समाधान गर्न हामीलाई मदत गर्नेछ। निम्न अवस्थाहरूमा यो कुरा कसरी साँचो साबित भयो त्यसलाई ध्यान दिनुहोस्‌। यहोवालाई प्रार्थना गर्नेहरूले उहाँसित आफ्नो सम्बन्ध बलियो पार्नसके भनी यी उदाहरणहरूले देखाउँछन्‌।

ब्राजिलमा मारिया नाउँकी एउटी आइमाईले मदतको लागि परमेश्‍वरलाई प्रार्थना गरिन्‌। आफ्नो समाजमा देखेको ढोंगी व्यवहारले असन्तुष्ट भएर तिनी त्यसको विद्रोह गर्न चाहन्थिन्‌। मारियाले आफ्नो पति, छोराछोरी र घरसमेत छाडेकी थिइन्‌। तिनी लागूऔषधको कुलतमा समेत लाग्न थालिन्‌। तर आफूले त्यसबाट आनन्द पाउन नसकेपछि तिनले परमेश्‍वरसामु आफ्ना भावनाहरू पोख्दै मदतको लागि प्रार्थना गरिन्‌।

केही समयपछि, दुई जना यहोवाका साक्षीहरू मारियाको घरमा आए र ईश्‍वरीय निर्देशन स्वीकार्नुको महत्त्वबारे प्रकाश पार्ने प्रहरीधरहरा-को अंक छाडेर गए। यसले तिनको हृदय छोयो र त्यसै दिनदेखि तिनले ती साक्षीहरूसित बाइबल अध्ययन सुरु गरिन्‌। परिणामस्वरूप तिनको पारिवारिक जीवन राम्रो हुन थाल्यो। यहोवाबारे सिक्दै जाँदा तिनी उहाँप्रति आफ्नो प्रेम व्यक्‍त गर्न चाहन्थिन्‌। मारियाले बताइन्‌, “मैले आफ्ना चालचलन सुधारें। सुरु सुरुमा त मेरो पति र परिवारले मैले बाइबल अध्ययन गरेकोमा विरोध गरे। तर ममा परिवर्तनहरू आउन थालेको देखेपछि तिनीहरूले मलाई प्रोत्साहन दिन थाले।” पछि, मारियाले प्रार्थना सुन्‍नुहुने परमेश्‍वरको सेवामा आफ्नो जीवन समर्पण गरिन्‌।

होसेको राम्री श्रीमती र फस्टाउँदो व्यापार भए तापनि तिनी खुसी थिएनन्‌। परस्त्रीसित नाजायज सम्बन्ध राखेकोले तिनकी श्रीमतीले तिनलाई छाडेर गइन्‌। तिनी निकै रक्सी पिउँथे अनि आफूलाई बेकम्मा महसुस गर्थे। होसे भन्छन्‌: “मैले परमेश्‍वरलाई खुसी तुल्याउन के गर्नुपर्छ भन्दै हार्दिक प्रार्थना गर्न थालें। चाँडै नै यहोवाका साक्षीहरू मेरो व्यापार गर्ने ठाउँमा आइपुगे र निश्‍शुल्क गृह बाइबल अध्ययनको प्रस्ताव राखे तर मैले वास्तै गरिनँ। तीन पटकसम्म त्यसै गरें। मैले मदतको लागि प्रार्थना गरेपछि नै ती साक्षीहरू टुप्लुक्क आइपुग्थे। अन्ततः मैले अर्को चोटि तिनीहरूको कुरा सुन्‍ने अठोट गरें। मैले पूरै बाइबल पढिसकेको हुँदा मनमा थुप्रै प्रश्‍न थिए तर तिनीहरूले जहिले पनि मलाई चित्तबुझ्दो जवाफ दिन्थे। यहोवाबारे सिकेर मैले जीवनमा नयाँ उद्देश्‍य पाएँ र ती साक्षीहरूमाझ पाएका मेरा साथीहरू अत्यन्तै प्रोत्साहनदायी थिए! मैले आफ्नो प्रेमिका र मेरा जँड्याहा साथीहरूसँगको संगत छोडिदिएँ। केही समय नबित्दै म मेरै श्रीमती र छोराछोरीसँग बस्नथालें। मैले १९९९ को सुरुतिर बप्तिस्मा लिएँ।”

इटालीकी तामाराको विवाह समस्याग्रस्त भएको हुनाले तिनले बुद्धिको लागि प्रार्थना गरिन्‌। चौध वर्षको उमेरमा आफ्नो परिवारबाट कुटपिट गरेर निकालिएकी हुनाले तिनी झगडालु स्वभावकी थिइन्‌। तामारा यसो भन्छिन्‌: “मैले एउटा बाइबल भेट्टाएँ र त्यो पढ्‌न थालें। एक साँझ पढिरहेको बेला मैले ‘बुद्धि भेट्टाउनु गाड धन भेट्टाउनुजस्तै हो’ भनेर पढें। मैले त्यस्तो बुद्धिको लागि प्रार्थना गरें। (हितोपदेश २:१-६) प्रार्थना गरेको भोलिपल्ट यहोवाका साक्षीहरू टुप्लुक्क आइपुगे। मैले तिनीहरूसित बाइबल अध्ययन गर्न थालें तर आफूले सिकेका कुराहरू प्रयोगमा ल्याउन धेरै समय लाग्यो। अन्ततः मैले मसीही जीवनशैली अपनाउने निर्णय गरेर बप्तिस्मा लिएँ। अहिले म र मेरो श्रीमान्‌ मिलेर अरूलाई परमेश्‍वरको बुद्धिबाट लाभ उठाउन मदत गरिरहेका छौं।”

बियाट्रीस भेनेजुएला काराकासमा धनीमानीहरूमध्ये एक गनिन्थिन्‌। तर तिनको पारपाचुके भइसकेको थियो र तिनी चिन्तित थिइन्‌। अत्यन्तै दुःखी भएर तिनले एक चोटि घण्टौंसम्म प्रार्थना गरिन्‌। भोलिपल्ट सबेरै ढोकामा घण्टी बज्यो। झर्को मान्दै तिनले ढोकाको प्वालबाट बाहिर हेर्दा ब्याग बोकेर उभिरहेका दुई जना मानिस देखिन्‌। तिनले आफू घरमा नभएजस्तो गरिन्‌ तर त्यस दम्पत्तीले त्यहाँबाट जानुअघि एउटा हातेपर्चा ढोकाभित्र घुसारे। त्यसमा लेखिएको थियो, “तपाईंको बाइबलबारे थाह पाउनुहोस्‌।” के यिनीहरू यहाँ आउनु र अघिल्लो रात तिनले गरेको प्रार्थनाबीच कुनै सम्बन्ध छ कि? तिनीहरूलाई फेरि आउन तिनले आग्रह गरिन्‌। चाँडै नै तिनले बाइबल अध्ययन गर्न थालिन्‌ र पछि तिनले बप्तिस्मा लिइन्‌। बल्ल खुसी हुँदै अहिले तिनी अरूलाई पनि आनन्द पाउने तरिका सिकाउँछिन्‌।

कार्मेन आफ्नो गरिबीको कारण प्रार्थना गर्ने गर्थिन्‌। तिनको दस जना सन्तान र श्रीमान्‌ राफेल जँड्याहा थिए। कार्मेनले यसो भनिन्‌: “मैले अरू मानिसहरूको लुगा धोएर पनि पैसा कमाउने प्रयास गरें।” तर राफेलको रक्सी पिउने बानी झन्‌ झन्‌ बिग्रँदै गयो। “हामीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि मात्र मेरो श्रीमान्‌मा केही परिवर्तन देखिन थाल्यो। यहोवाले चाँडै नै यस संसारबाट दरिद्रता र अत्याचार हटाउनुहुनेछ भन्‍ने राज्य प्रतिज्ञाबारे सिक्यौं। बल्ल मेरो प्रार्थनाको जवाफ पाएँ!” यहोवाका तौरतरिकाहरू सिकेपछि राफेलले पिउने बानी छाडे र तिनले “नयाँ मानिसलाई धारण” गरे। (एफिसी ४:२४) तिनी र तिनको परिवारको जीवनस्तर पनि सुध्रन थाल्यो। राफल यसो भन्छन्‌: “हामी धनी छैनौं अनि हाम्रो आफ्नो घर पनि छैन तैपनि जीवन धान्‍न चाहिने कुराहरू हामीसित छ र हामी खुसी छौं।”

सबै प्रार्थनाहरूको सुनुवाइ हुने बेला आउनेछ

के प्रार्थना गरेर यी मानिसहरूलाई कुनै फरक पाऱ्‍यो? अवश्‍य! अनि प्रायजसो अवस्थामा मसीही मण्डलीको कसैले तिनीहरूलाई बाइबल अध्ययन गरेर यहोवा परमेश्‍वरको नजिक हुन मदत गर्दा प्रार्थनाको जवाफ पाएको के तपाईंले याद गर्नुभयो?—प्रेरित ९:११.

त्यसैले, प्रार्थना गर्नुपर्ने हामीसित ठोस कारण छ। अब चाँडै परमेश्‍वरको राज्य आओस्‌ र उहाँको इच्छा यस पृथ्वीमा पूरा होस्‌ भन्‍ने प्रार्थनाको जवाफ पाउनेछौं। (मत्ती ६:१०) परमेश्‍वरले उहाँको विरोध गर्नेहरूलाई पृथ्वीबाट नामेट पार्नुभएपछि “पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) त्यसपछि, यहोवालाई प्रेम गर्ने सबैले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रता[मा]” आनन्द मनाउनेछन्‌ र तिनीहरूले निश्‍चय नै आफ्नो प्रार्थनाको जवाफ पाउनेछन्‌।—रोमी ८:१८-२१.

[पृष्ठ ७-मा भएको चित्र]

हामीले किन प्रार्थना गर्नुपर्छ के तपाईंलाई थाह छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने