प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ९/१ पृ. २२-२६
  • मध्यपूर्वमा आध्यात्मिक ज्योति चम्किन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मध्यपूर्वमा आध्यात्मिक ज्योति चम्किन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ज्योति फैलिन्छ
  • बाइबल देशमाहरूमा साक्षी दिंदै
  • मिसनरीहरूसँग काम गर्दै
  • कठिनाइको बावजूद प्रचार गर्दै
  • साक्षी दिने अन्य सुअवसरहरू
  • मैले हरेक निर्णय गर्दा यहोवालाई पहिलो स्थानमा राखेँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवाले मलाई साँच्चै सहायता गर्नुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ९/१ पृ. २२-२६

जीवनी

मध्यपूर्वमा आध्यात्मिक ज्योति चम्किन्छ

नाजिब सालेमको वृत्तान्तमा आधारित

सा.यु. प्रथम शताब्दीमा परमेश्‍वरको वचनको ज्योति मध्यपूर्वबाट चम्कियो र पृथ्वीको अन्तसम्म पुग्यो। बीसौं शताब्दीको दौडान संसारको यस भागमा पुनः त्यो ज्योति चम्कन थाल्यो। म तपाईंहरूलाई यो कसरी भयो, त्यसबारे बताउँछु।

मेरो जन्म उत्तरी लेबनानको अमयुन शहरमा १९१३ मा भएको थियो। सापेक्षिक स्थायित्व र शान्ति छाएको त्यही नै अन्तिम वर्ष थियो किनभने त्यसपछिको वर्षमा प्रथम विश्‍वयुद्ध सुरु भयो। सन्‌ १९१८ मा युद्ध अन्त हुँदा मध्यपूर्वको मोतीको रूपमा चिनिने लेबनान आर्थिक र राजनैतिक दुवै तवरमा अत्यन्तै थकित देखिन्थ्यो।

सन्‌ १९२० मा हुलाक सेवा पुनः सुरु हुँदा विदेशमा बसिरहेका लेबनानका मानिसहरूको पत्रहरू आउन थाले। त्यस्तै पत्रहरूमध्ये एउटा मेरा मामाहरू अब्दुल्ला र जर्ज गान्टुसको पनि थियो। उहाँहरूले आफ्नो बुबा अर्थात्‌ मेरो बाजे हबिब गान्टुसलाई परमेश्‍वरको राज्यबारे बताउँदै पत्र लेख्नुभएको थियो। (मत्ती २४:१४) आफ्ना छोराहरूले लेखेको पत्रको कुरा बताउँदा मात्र पनि शहरका मानिसहरूले बाजेको गिल्ला गर्न थाले। शहरका मानिसहरूले, हबिबका छोराहरूले आफ्नो बुबालाई जमिन बेचेर गधा किन्‍न र प्रचारमा जान प्रोत्साहन दिइरहेको छ भन्‍ने हल्ला फैलाए।

ज्योति फैलिन्छ

त्यसको अर्को वर्ष, १९२१ मा स.रा.अ., न्यु योर्क शहरको ब्रूकलिनमा बसोबास गरिरहेका मिशेल अबुद ट्रिपोली, लेबनान फर्कनुभयो। उहाँ बाइबल स्टुडेन्ट हुनुभएको थियो, त्यतिबेला यहोवाका साक्षीहरू यो नाउँले चिनिन्थे। भाइ अबुदका प्रायजसो साथी तथा नातेदारहरूले बाइबल सन्देश नसुने तापनि नाउँ चलेका दुई व्यक्‍तिहरू प्राध्यापक इब्राहिम अट्याय र दन्त विशेषज्ञ हाना शामासले भने सुने। डा. शामासले त आफ्नो घर र क्लिनिक मसीही सभाहरूको निम्ति उपलब्धसमेत गर्नुभयो।

भाइ अबुद र शामास म बस्ने ठाउँ अमयुन आउनुहुँदा म ठिटै थिएँ। उहाँहरूको भ्रमणबाट म असाध्यै प्रभावित भएँ र म भाइ अबुदसँग प्रचारकार्यमा जान थालें। भाइ अबुदको १९६३ मा मृत्यु नभएसम्म हामी दुई जना ४० वर्षसम्म सेवकाईमा सँगै नियमित तवरमा जान्थ्यौं।

सन्‌ १९२२ र १९२५ को बीचमा उत्तरी लेबनानको थुप्रै गाउँमा बाइबल सत्यको ज्योति व्यापक रूपमा फैलियो। निजी घरहरू जस्तै, अमयुनमा, हाम्रो घरमा बाइबल छलफल गर्न २० देखि ३० जना मानिसहरू भेला हुन्थे। हाम्रा सभाहरू बिथोल्ने हेतुले, पादरीहरूले बच्चाहरूलाई गोल्टिन ठटाउन र जोडले कराउन पठाउँथ्यो। त्यसैले, हामी कहिलेकाहीं सल्लाको जंगलमा भेट्‌ने गर्थ्यौं।

जवान छँदा सेवकाई र मसीही सभाहरूप्रति देखाएको जोसले गर्दा मैले तिमोथी भन्‍ने उपनाउँ कमाएँ। स्कूलका निर्देशकले मलाई “त्यस्ता सभाहरू” नधाउनू भनेर भन्‍नुभयो। मैले उहाँको कुरा सुन्‍न इन्कार गर्दा मलाई स्कूलबाटै निकालियो।

बाइबल देशमाहरूमा साक्षी दिंदै

सन्‌ १९३३ मा मेरो बप्तिस्माको केही समयपछि मैले अग्रगामीको सेवा सुरु गरें। यहोवाका साक्षीहरूले पूर्ण-समय सेवकहरूलाई अग्रगामी भन्‍ने गर्छन्‌। त्यतिबेला हामी थोरै भए तापनि हामीले उत्तरी लेबनानको अधिकांश गाउँहरू मात्र नभई बेरूत र यसका छेउछाउका शहरहरूलगायत दक्षिणी लेबनानसम्म प्रचार गऱ्‍यौं। ती दिनहरूमा हामी येशू ख्रीष्ट र उहाँका प्रथम शताब्दीका अनुयायीहरूजस्तै अक्सर पैदल वा गधामा चढेर जान्थ्यौं।

सन्‌ १९३६ मा संयुक्‍त राज्य अमेरिकामा धेरै वर्ष बसेका युसूफ राकाल आफ्नो देश लेबनान फर्कनुभयो। उहाँले आफ्नो साथमा ध्वनिका उपकरण र केही फोनोग्राफ ल्याउनुभएको थियो। हामीले ती उपकरण १९३१ को मोडलको फोर्ड गाडीमा राख्यौं र लेबनान तथा सिरियाका दुर्गम क्षेत्रहरूसम्म राज्य सन्देश पुऱ्‍यायौं। दस किलोमिटर टाढासम्म एम्पलिफायरको आवाज सुन्‍न सकिन्थ्यो। मानिसहरू स्वर्गबाट आएको आवाज भन्दै, कुरा सुन्‍न आ-आफ्नो घरको छतमा जान्थे। खेतमा काम गरिरहेका मानिसहरूचाहिं आ-आफ्नो काम छोडेर सुन्‍न गाडीको नजिक आउँथे।

युसूफ राकालसँग १९३७ को जाडो याममा आलेप्पो, सिरिया गयौं र त्यही नै उहाँसँगको अन्तिम भ्रमण थियो। उहाँ संयुक्‍त राज्य अमेरिका फर्कनुअघि हामी प्यालेस्टाइन पनि गयौं। त्यहाँ हामी हाइफा र जेरूशलेम शहरलगायत अन्य गाउँहरूमा पनि गयौं। त्यहाँ हाम्रो इब्राहिम शेहाडेसित पनि भेट भयो, जसलाई मैले पत्रचारमार्फत चिनेको थिएँ। इब्राहिमले बाइबल ज्ञानमा यति प्रगति गर्नुभएको थियो कि हाम्रो भ्रमणको दौडान उहाँले हामीसँग घरघरको सेवकाईमा भाग लिन थाल्नुभयो।—प्रेरित २०:२०.

म प्राध्यापक खालिल कोब्रोसेलाई पनि भेट्‌न उत्सुक थिएँ। उहाँ कट्टर क्याथोलिक हुनुहुन्थ्यो र पत्राचारद्वारा उहाँले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै हुनुहुन्थ्यो। उहाँले लेबनानस्थित साक्षीहरूको ठेगाना कसरी प्राप्त गर्नुभयो? हाइफाको एउटा पसलेले खालिललाई उहाँले किनेका सामानहरू यहोवाका साक्षीहरूको साहित्यमा पोका पारेर दिएको रहेछ। त्यस कागजमा हाम्रो ठेगाना थियो। हाम्रो भेट असाध्यै राम्रो भयो र पछि १९३९ मा उहाँ बप्तिस्मा लिन ट्रिपोली आउनुभयो।

सन्‌ १९३७ मा पेट्रोस लागाकोस र उहाँकी पत्नी ट्रिपोली आइपुग्नुभयो। त्यसपछिका केही वर्ष, हामी तीन जनाले लेबनान र सिरियाको प्रायजसो भाग ढाक्यौं अनि मानिसहरूलाई तिनीहरूको घरघरमा राज्य सन्देश पुऱ्‍याउँथ्यौं। सन्‌ १९४३ मा भाइ लागाकोसको मृत्यु हुँदासम्म साक्षीहरूले लेबनान, सिरिया र प्यालेस्टाइनका प्रायजसो शहर तथा गाउँहरूमा आध्यात्मिक ज्योति पुऱ्‍याइसकेका थिए। कहिलेकाहीं त दुर्गम इलाकाहरू सबै भ्याउन हामी ३० जना जति गाडी वा बसमा बिहान ३:०० बजे नै हिंड्‌थ्यौं।

सन्‌ १९४० को दशकमा इब्राहिम अटियले प्रहरीधरहरा अरबी भाषामा अनुवाद गर्नुहुन्थ्यो। त्यसपछि, मैले चाहिं हातैले सारेर पत्रिकाको चार प्रति बनाउँथे र प्यालेस्टाइन, सिरिया र इजिप्टका साक्षीहरूको निम्ति पठाइ दिन्थें। दोस्रो विश्‍वयुद्धको दौडान हाम्रो प्रचारकार्यमा निकै विरोध आएको थियो तर हामीले मध्यपूर्वभरिका बाइबल सत्यका प्रेमीहरूसँग सम्पर्क राख्थ्यौं। म आफैले शहर तथा वरपरका गाउँहरूको नक्सा बनाउँथे र हामी तिनीहरूसम्म सुसमाचार पुऱ्‍याउँथ्यौं।

सन्‌ १९४४ मा दोस्रो विश्‍वयुद्ध चर्किरहेको बेला मैले मेरो अग्रगामी मित्र मिशेल अबुदको छोरी इभलिनसँग विवाह गरें। हाम्रो जम्मा तीन छोराछोरी भए, एक जना छोरी र दुई जना छोरा।

मिसनरीहरूसँग काम गर्दै

युद्ध अन्त हुने बित्तिकै गिलियड स्कूलका प्रथम मिसनरीहरू लेबनान आउन थाले। फलस्वरूप, लेबनानमा पहिलो मण्डली स्थापना गरियो र मलाई कम्पनी सेवक नियुक्‍त गरियो। अनि १९४७ मा नेथन एच. नोर र तिनको सचिव मिल्टन जि. हेन्शेल लेबनान आउनुभयो अनि भाइहरूलाई निकै प्रोत्साहित गर्नुभयो। चाँडै थुप्रै मिसनरीहरू आउन थाले र हाम्रो सेवकाई व्यवस्थित गर्न अनि मण्डलीका सभाहरू सञ्चालन गर्न तिनीहरूबाट ठूलो मदत पायौं।

एक चोटि सिरियाको दुर्गम इलाकामा जाँदा, हामीले स्थानीय विशपबाट विरोधको सामना गर्नुपऱ्‍यो। तिनले हामीलाई यहूदीवादी साहित्यहरू वितरण गरेको दोष लगाए। छक्कलाग्दो कुरा के छ भने, १९४८ अघि पादरीहरूले हामीलाई “कम्युनिस्ट” भन्‍ने संज्ञा दिएका थिए। यस अवसरमा हामीलाई पक्रेर दुई घण्टासम्म केरकार गरे र हामीले पनि असाध्यै राम्रो साक्षी दिने मौका पायौं।

अन्तमा, हाम्रो मुद्दा सुन्‍ने न्यायाधीशले यस्तो घोषणा गरे: “तपाईंहरू विरुद्ध अभियोग लगाउने दाह्रीवालहरूलाई [पादरीहरूलाई संकेत गर्ने अभिव्यक्‍ति] म सराप्छु तर मैले तिनीहरूलाई धन्यवाद पनि दिनुपर्छ किनभने मैले तपाईंहरूलाई भेटेर तपाईंहरूको शिक्षा सिक्ने मौका पाएँ।” त्यसपछि उहाँले हामीलाई परेको असुविधाको निम्ति माफी माग्नुभयो।

दस वर्षपछि बसमा बेरूत जाँदै गर्दा मैले सँगै सिटमा बसेको मानिससित कुरा गर्न थालें। तिनी कृषिसम्बन्धी इन्जिनियर थिए। हाम्रो विश्‍वासबारे एकछिन सुनेपछि तिनले सिरियामा एक जना साथीबाट पनि यस्तो कुरा सुनेको बताए। त्यो साथी को थियो? दस वर्षअघि हाम्रो मुद्दा सुन्‍ने न्यायाधीश!

सन्‌ १९५० को दशकमा म इराकका साक्षीहरूलाई भेट्‌न गएँ र त्यहाँ तिनीहरूसँग घरघरको साक्षीकार्यमा भाग लिएँ। म जोर्डन र पश्‍चिमी किनारामा पनि गएँ। सन्‌ १९५१ मा बेथेलहेम जाने चार जना साक्षीहरूमध्ये म पनि एक थिएँ। हामीले त्यहाँ प्रभुको साँझको भोज मनायौं। त्यस अवसरको निम्ति उपस्थित हामी सबैजना बिहान बसमा यर्दन नदी गयौं, जहाँ २२ जनाले यहोवाप्रतिको आफ्नो समर्पण बप्तिस्माद्वारा प्रकट गरें। हामीले जब जब त्यस इलाकामा विरोधको सामना गर्थ्यौं तब तब हामी यसो भन्‍ने गर्थ्यौं: “हामी तपाईंहरूलाई तपाईंहरूकै एक जना पुत्र सारा पृथ्वीको राजा हुनेछ भनी भन्‍न आएको! तपाईंहरू किन रिसाउनुभएको? तपाईंहरू त उल्टो आनन्दित पो हुनुपर्छ!”

कठिनाइको बावजूद प्रचार गर्दै

मध्यपूर्वका मानिसहरू प्रायः असल हृदय भएका, नम्र र अतिथिसत्कार गर्ने खालका छन्‌। धेरैले परमेश्‍वरको राज्य सन्देश चासो दिएर सुन्छन्‌। साँच्चै, निम्न बाइबल प्रतिज्ञा चाँडै पूरा हुनेछ भनी थाह पाउनु जस्तो स्फूर्तिदायी कुरा अरू के होला र: “परमेश्‍वर आफै [आफ्ना मानिसहरूसँग] भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

हाम्रो कामको विरोध गर्ने प्रायजसो मानिसहरूले हाम्रो काम र हामीले दिने सन्देश नबुझेको मैले पाएको छु। मसीहीजगत्‌का पादरीहरूले हामीलाई नराम्रो देखाउन निकै प्रयास गरेका छन्‌! तसर्थ, सन्‌ १९७५ मा लेबनानमा गृहयुद्ध सुरु हुँदा र गृहयुद्ध भएको १५ वर्षको दौडान साक्षीहरूले धेरै कठिनाइ भोग्नुपऱ्‍यो।

एक समय म एउटा परिवारसँग बाइबल अध्ययन गर्थें। तिनीहरू चर्चका जोसिला सदस्य थिए। बाइबल सत्यमा तिनीहरूको राम्रो प्रगति देखेर पादरीहरू रिसले चूर भए। फलस्वरूप, एक रात स्थानीय धार्मिक समूहले आफ्ना सदस्यहरूलाई त्यस परिवारको पसलमा आक्रमण गर्न उक्साए र तिनीहरूले झन्डै १०,००० अमेरिकी डलर बराबरको धनमाल जलाइदिए। त्यही रात ती विरोधीहरूले मलाई पनि अपहरण गरेर लगे। तथापि, मैले तिनीहरूको नेतासँग तिनीहरू साँच्चै मसीही हुन्‌ भने यस्तो क्रूर व्यवहार गर्ने छैनन्‌ भनी तर्क गरें। त्यसपछि तिनले गाडी रोक्न लगाएर मलाई गाडीबाट ओर्लनु भने।

अर्को एक चोटि चाहिं मलाई चार जना सैनिकले अपहरण गरे। निकै धम्की दिएपछि तिनीहरूको नेता जसले मलाई गोली ठोक्छु भनेका थिए, अकस्मात्‌ आफ्नो मन परिवर्तन गरे र मलाई छोडिदिए। ती मानिसहरूमध्ये दुई जना अहिले हत्या र लुटपिटको अभियोगमा जेलमा छन्‌ र अर्को दुईलाई चाहिं मृत्युदण्ड दिइसक्यो।

साक्षी दिने अन्य सुअवसरहरू

मैले अक्सर देश विदेश जाने सुअवसर पाएको छु। एक चोटि बेरूतदेखि संयुक्‍त राज्य अमेरिकाको उडानमा मेरोसँगैको सिटमा लेबनानका भूतपूर्व विदेश मन्त्री चार्ल्स मालेक थिए। तिनले मैले पढेको हरेक बाइबल पद ध्यान दिएर मूल्यांकन गर्दै सुने। अन्तमा तिनले ट्रिपोलीमा आफू पढेको स्कूलमा तिनको एक जना शिक्षक इब्राहिम अटिय भएको बताए। तिनी त्यही मानिस थिए जसलाई मेरो ससुराले बाइबल सत्य सिकाएका थिए! इब्राहिमले तिनलाई बाइबलको आदर गर्न सिकाएको कुरा श्री मालेकले बताए।

त्यस्तै अर्को उडानमा म संयुक्‍त राष्ट्रका प्यालेस्टिनी प्रतिनिधिसँग बसें। मैले तिनलाई परमेश्‍वरको राज्यको सुसमाचार बताउने सुअवसर पाएँ। तिनले मलाई अन्तमा न्यु योर्कमा बसिरहेको तिनको भाइको परिवारसँग परिचित गराए र म तिनीहरूलाई अक्सर भेट्‌न जान्थें। न्यु योर्कस्थित संयुक्‍त राष्ट्रको भवनमा मेरो एक जना नातेदार काम गर्थ्यो। एक चोटि मैले तिनको कार्यालयमा तीन घण्टा बिताएँ र त्यसबेला मैले तिनलाई परमेश्‍वरको राज्यसम्बन्धी साक्षी दिन सकें।

म अहिले ८८ वर्षको भएँ र अझै मण्डलीका जिम्मेवारीहरू सक्रियतासाथ वहन गर्न सकिरहेको छु। यहोवाको सेवामा मलाई मेरी श्रीमती एभलिनले अझै साथ दिंदैछिन्‌। हाम्री छोरीले यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकसँग विवाह गरिन्‌, जो अहिले बेरूत मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्दैछ। मेरी नातिनी अर्थात्‌ तिनीहरूको छोरी पनि साक्षी हुन्‌। हाम्रो कान्छो छोरा र बुहारी पनि साक्षी हुन्‌ अनि तिनीहरूको छोरी पनि सच्चाइमा छिन्‌। हाम्रो जेठो छोरालाई पनि सानैदेखि मसीही विश्‍वास सिकाएका थियौं र आशा छ तिनले समयमा सत्य अँगाल्ने छ।

सन्‌ १९३३ मा मलाई अग्रगामीको रूपमा सेवा गर्न नियुक्‍त गरिएको थियो र म मध्यपूर्वको प्रथम अग्रगामी थिएँ। विगत ६८ वर्षदेखि अग्रगामी भएर यहोवाको सेवामा जीवन बिताउनु जस्तो उत्तम कुरा अरू के नै हुनसक्छ र। अनि परमेश्‍वरले प्रबन्ध गर्नुभएको आध्यात्मिक ज्योतिमा अघि बढ्‌दै जान म कटिबद्ध छु।

[पृष्ठ २३-मा भएको चित्र]

सन्‌ १९३५ मा नाजिब

[पृष्ठ २४-मा भएको चित्र]

लेबनानका पहाडहरूमा ध्वनि उपकरण जडित गाडी, १९४०

[पृष्ठ २५-मा भएका चित्रहरू]

माथि बायाँदेखि: नाजिब, इभलिन, तिनीहरूको छोरी, भाइ अबुद र नाजिबको जेठो छोरा, १९५२

तल (अगाडि पंक्‍तिमा): भाइ शामास, नोर, अबुद र हेन्शेल नाजिबको घर ट्रिपोलीमा, १९५२

[पृष्ठ २६-मा भएको चित्र]

नाजिब र तिनकी पत्नी एभलिन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने