प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ७/१५ pp. १०-१४
  • तपाईंको धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धीरजको खाँचो
  • ईश्‍वरीय भक्‍तिको अर्थ के हो
  • परमेश्‍वरसँग सम्बन्ध विकास गर्नुहोस्‌
  • आध्यात्मिक तवरमा बलियो हुनुहोस्‌
  • ईश्‍वरीय भक्‍तिका खतराहरूप्रति होसियार हुनुहोस्‌
  • येशूको उदाहरण अनुसरण गर्नुहोस्‌
  • धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • बप्तिस्मा लिएको मसीही भयेर, इश्‍वरीय भक्‍तिको पिछा गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येशूको ईश्‍वरीय भक्‍तिलाई उदाहरण मान्दै अनुसरण गर्नुहोस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • ईश्‍वरीय भक्‍तिको पवित्र रहस्य सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ७/१५ pp. १०-१४

तपाईंको धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌

“तिमीहरूका विश्‍वासमा . . . धीरज, धीरजमा [ “ईश्‍वरीय,” NW] भक्‍ति [ थप्नुहोस्‌]।”—२ पत्रुस १:५, ६.

१, २. (क) बच्चाको सन्दर्भमा कस्तो वृद्धिको आशा गरिन्छ? (ख) आध्यात्मिक प्रगति कत्तिको महत्त्वपूर्ण छ?

बच्चा हुर्कनु महत्त्वपूर्ण छ तर शारीरिक तवरमा मात्र हलक्क बढ्‌नु पर्याप्त छैन। मानसिक र भावनात्मक तवरमा पनि बढ्‌नुपर्छ। अनि समय बित्दै जाँदा बच्चाले आफ्ना अपरिपक्व आनीबानी छोड्‌छ र परिपक्व पुरुष वा स्त्री बन्छ। प्रेरित पावलले यही कुरालाई संकेत गर्दै यस्तो लेखे: “जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै विचार गर्थें, तर अब म जवान भएको छु, र केटा-केटीको कुरो छोडिदिएको छु।”—१ कोरिन्थी १३:११.

२ पावलका शब्दहरूबाट आध्यात्मिक प्रगतिबारे महत्त्वपूर्ण बुँदा बुझ्न सक्छौं। मसीहीहरू आध्यात्मिक बालकहरूबाट हुर्केर “समझमा मानिस” हुनु आवश्‍यक छ। (१ कोरिन्थी १४:२०) तिनीहरू अघि बढ्‌नुपर्छ र “ख्रीष्टको पूर्णताको कदको नापसम्मको पूरा पाको मानिस” हुने कोसिस गर्नुपर्छ। तब मात्र तिनीहरू “सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने बालकहरू” हुँदैनन्‌।—एफिसी ४:१३, १४.

३, ४. (क) आध्यात्मिक तवरमा पूरा बढेको पाको मानिस हुन हामीले के गर्नुपर्छ? (ख) हामीले कस्ता ईश्‍वरीय गुणहरू प्रदर्शित गर्नुपर्छ र ती हाम्रोलागि कत्तिको महत्त्वपूर्ण छन्‌?

३ आध्यात्मिक तवरमा हामी कसरी पूरा बढेको पाको मानिस हुन सक्छौं? सामान्य परिस्थितिमा शारीरिक वृद्धि स्वतः हुन्छ तर आध्यात्मिक प्रगतिको निम्ति प्रयास गर्नु आवश्‍यक छ। यसको निम्ति हामीले पहिला परमेश्‍वरको वचनको सही ज्ञान लिनुपर्छ अनि सिकेको कुरा व्यवहारमा उतार्नुपर्छ। (हिब्रू ५:१४; २ पत्रुस १:३) त्यसो गरेर हामीले ईश्‍वरीय गुणहरू प्रदर्शित गर्न सक्छौं। शारीरिक वृद्धिसित सम्बन्धित थुप्रै पक्षहरू जस्तै विभिन्‍न ईश्‍वरीय गुणहरू पनि सँगसँगै विकास हुन्छन्‌। प्रेरित पत्रुसले यस्तो लेखे: “तिमीहरूले सबै किसिमका प्रयत्नले तिमीहरूका विश्‍वासमा सद्‌गुण, सद्‌गुणमा बुद्धि, बुद्धिमा संयम, संयममा धीरज, धीरजमा [“ईश्‍वरीय,” NW] भक्‍ति, [“ईश्‍वरीय,” NW] भक्‍तिमा भ्रातृस्नेह, भ्रातृस्नेहमा प्रेम थप।”—२ पत्रुस १:५-७.

४ पत्रुसले सूचीबद्ध गरेका हरेक गुण अत्यावश्‍यक छन्‌, कुनैलाई पनि बेवास्ता गर्न सकिंदैन। तिनी भन्छन्‌: “यी कुराहरू तिमीहरूमा प्रशस्तसँग छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्ट चिन्‍ने ज्ञानमा तिनीहरूले तिमीहरूलाई बेकम्मा र निष्फल तुल्याउनेछैनन्‌।” (२ पत्रुस १:८) आउनुहोस्‌, हामी आफ्नो धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुपर्ने महत्त्वमाथि ध्यान देऔं।

धीरजको खाँचो

५. हामीलाई किन धीरज चाहिन्छ?

५ पत्रुस र पावल दुवैले ईश्‍वरीय भक्‍ति र धीरजबीचको सम्बन्धबारे बताएका छन्‌। (१ तिमोथी ६:११) धीरजी हुनुको अर्थ कठिन परिस्थितिमा सहनु र दृढ रहनु मात्र होइन। यसमा परीक्षा, अवरोध वा प्रलोभनको बेला आशा नगुमाई सहनशील हुनु, साहस र दृढ अडान देखाउनु पनि समावेश छ। हामी “ख्रीष्ट येशूमा [“ईश्‍वरीय,” NW] भक्‍तिसँग जीवन बिताउन” इच्छा गर्ने हुँदा हामी पनि सताइनेछौं भनी आशा गर्न सक्छौं। (२ तिमोथी ३:१२) यहोवाप्रति आफ्नो प्रेम प्रमाणित गर्ने र मुक्‍तिको लागि चाहिने गुणहरू विकास गर्ने हो भने हामी धीरजी हुनुपर्छ। (रोमी ५:३-५; २ तिमोथी ४:७, ८; याकूब १:३, ४, १२) धीरजविना हामीले अनन्त जीवन पाउन सक्दैनौं।—रोमी २:६, ७; हिब्रू १०:३६.

६. अन्तसम्म स्थिर रहनुको अर्थ के हो?

६ हामीले जतिसुकै राम्रो सुरुआत गरे तापनि सबैभन्दा महत्त्वपूर्ण कुराचाहिं धीरज नै हो। येशूले यसो भन्‍नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) हो, हामी अन्तसम्मै धीरजी रहनुपर्छ, चाहे त्यो हाम्रो वर्तमान जीवनको वा यस दुष्ट रीतिरिवाजको अन्त नै किन नहोस्‌। अवस्था जुनसुकै होस्‌, हामीले परमेश्‍वरप्रति आफ्नो निष्ठा कायम राख्नुपर्छ। तथापि, हाम्रो धीरजमा ईश्‍वरीय भक्‍ति थपेका छैनौं भने हामीले यहोवालाई खुसी तुल्याउन सक्दैनौं र अनन्त जीवन पनि पाउनेछैनौं। तर ईश्‍वरीय भक्‍ति भनेको के हो?

ईश्‍वरीय भक्‍तिको अर्थ के हो

७. ईश्‍वरीय भक्‍ति भनेको के हो र यसले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

७ ईश्‍वरीय भक्‍ति भनेको यहोवा परमेश्‍वरप्रतिको व्यक्‍तिगत श्रद्धा, उपासना र सेवाको साथसाथै उहाँको विश्‍वव्यापी सार्वभौमिकताप्रतिको वफादारी हो। यहोवाप्रति ईश्‍वरीय भक्‍ति अभ्यास गर्न हामीले उहाँ र उहाँका तौरतरिकाहरूबारे सही ज्ञान हासिल गर्नुपर्छ। परमेश्‍वरलाई व्यक्‍तिगत रूपमा घनिष्ठसँग चिन्‍ने हाम्रो चाहना हुनुपर्छ। यसले हामीलाई उहाँसित गहिरो सम्बन्ध विकास गर्न उत्प्रेरित गर्नेछ र यो हाम्रो कार्य तथा जीवन शैलीबाट प्रस्ट झल्कन्छ। हामीले परमेश्‍वरजस्तो हुने वा उहाँका तौरतरिकाहरू यथासक्दो अनुकरण गरेर उहाँका गुण तथा व्यक्‍तित्व झल्काउने इच्छा गर्नुपर्छ। (एफिसी ५:१) साँच्चै, ईश्‍वरीय भक्‍तिले हामीलाई आफ्नो सबै कार्यमा परमेश्‍वरलाई आनन्दित पार्न उत्प्रेरित गर्छ।—१ कोरिन्थी १०:३१.

८. ईश्‍वरीय भक्‍ति र ऐकान्तिक भक्‍तिबीच कस्तो नजिकको सम्बन्ध छ?

८ साँचो ईश्‍वरीय भक्‍ति विकास गर्न हामीले यहोवालाई ऐकान्तिक भक्‍ति चढाउनुपर्छ र हामीले उहाँको ठाउँमा अन्य कुनै पनि कुरालाई प्राथमिकता दिनुहुँदैन। उहाँ हाम्रो सृष्टिकर्ता हुनुभएको कारण उहाँले हामीबाट ऐकान्तिक भक्‍ति चाहनु जायज हो। (व्यवस्था ४:२४; यशैया ४२:८) यद्यपि, यहोवाले हामीलाई उहाँको उपासना गर्न जबरजस्ती गर्नुहुन्‍न। उहाँ हामीले राजीखुसीसाथ उपासना गरेको चाहनुहुन्छ। परमेश्‍वरको सही ज्ञान तथा उहाँप्रतिको प्रेमले हामीलाई आफ्नो जीवन स्वच्छ पार्न र उहाँलाई जीवन समर्पण गर्न उत्प्रेरित गर्छ।

परमेश्‍वरसँग सम्बन्ध विकास गर्नुहोस्‌

९, १०. हामीले परमेश्‍वरसँग कसरी नजिकको सम्बन्ध विकास गर्नुका साथै त्यसलाई कायम गर्न सक्छौं?

९ बप्तिस्माद्वारा परमेश्‍वरप्रति आफ्नो समर्पण जनाएपछि हामीले उहाँसँग अझै बलियो व्यक्‍तिगत सम्बन्ध विकास गर्नु आवश्‍यक छ। यस्तो गर्ने र विश्‍वासी भई यहोवाको सेवा गर्ने चाहनाले हामीलाई उहाँको वचन नियमित तवरमा अध्ययन गर्न र मनन गर्न उत्प्रेरित गर्छ। हामी जसै परमेश्‍वरको आत्मा हाम्रो मनमा सक्रिय हुन दिन्छौं यहोवाप्रतिको हाम्रो प्रेम उत्तिकै गहिरो हुँदै जान्छ। अनि उहाँसँगको हाम्रो सम्बन्ध नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ। हामी यहोवालाई आफ्नो सबैभन्दा असल मित्र ठान्छौं र हरबखत उहाँलाई आनन्दित तुल्याउन चाहन्छौं। (१ यूहन्‍ना ५:३) परमेश्‍वरसँगको सुमधुर सम्बन्धमा हाम्रो आनन्द बढ्‌दै जान्छ अनि उहाँले मायालु निर्देशन दिनुभएकोमा र आवश्‍यक परेको बेला हामीलाई सच्याउनुभएकोमा कृतज्ञ हुन्छौं।—व्यवस्था ८:५.

१० यहोवासँगको हाम्रो अनमोल सम्बन्धलाई बलियो बनाउँदै लैजान हामीले निरन्तर कदम चाल्नुपर्छ, अन्यथा यो कमजोर हुँदै जान्छ। त्यसो भयो भने यो परमेश्‍वरको गल्ती हुनेछैन किनभने “उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न।” (प्रेरित १७:२७) यहोवा हामीबाट टाढा नहुनु भएको कारण हामी कत्ति खुसी छौं! (१ यूहन्‍ना ५:१४, १५) निस्सन्देह, यहोवासँग नजिकको सम्बन्ध कायम राख्न हामीले यथासक्दो गर्नुपर्छ। तथापि, उहाँसँग नजिक हुन हामीलाई आवश्‍यक सबै प्रबन्धहरू मिलाउनुका साथै ईश्‍वरीय भक्‍ति कायम राख्न उहाँले मदत गर्नुहुन्छ। (याकूब ४:८) हामीले यी सबै मायालु प्रबन्धहरूको पूर्ण सदुपयोग कसरी गर्न सक्छौं?

आध्यात्मिक तवरमा बलियो हुनुहोस्‌

११. हाम्रो ईश्‍वरीय भक्‍तिका केही अभिव्यक्‍तिहरू के हुन्‌?

११ परमेश्‍वरप्रतिको गहिरो प्रेमले हामीलाई पावलको निम्न सल्लाहअनुरूप आफ्नो ईश्‍वरीय भक्‍तिको गहिराइ प्रदर्शित गर्न उत्प्रेरित गर्छ: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।” (२ तिमोथी २:१५) यसको निम्ति हामीले नियमित बाइबल अध्ययन, सभामा उपस्थिति र क्षेत्र सेवकाईमा भाग लिन राम्रो तालिका बनाउनुपर्छ। ‘प्रार्थना गरेर’ पनि हामी यहोवासँग नजिक हुन सक्छौं। (१ थिस्सलोनिकी ५:१७) यी हाम्रो ईश्‍वरीय भक्‍तिका अर्थपूर्ण अभिव्यक्‍तिहरू हुन्‌। यी प्रबन्धहरूमध्ये कुनै एउटाको बेवास्ता गर्दा हामी आध्यात्मिक तवरमा बिरामी पर्छौं र शैतानका युक्‍तिहरूको सिकार बन्‍न पुग्छौं।—१ पत्रुस ५:८.

१२. हामी परीक्षाहरूको सामना गर्न कसरी सफल हुन सक्छौं?

१२ आध्यात्मिक तवरमा बलियो र सक्रिय हुँदा विभिन्‍न परीक्षाहरू सामना गर्न सक्षम हुन्छौं। कहिलेकाहीं हामीले भोग्ने परीक्षाहरूले हाम्रो कडा जाँच गर्न सक्छ। भावशून्यता, विरोध र आफ्नै परिवारको सदस्य, नातेदार वा छिमेकीहरूबाट सतावट आउँदा सहन झनै गाह्रो हुन सक्छ। हाम्रो मसीही सिद्धान्तमा सम्झौता गर्ने दबाउ चालै नपाउने ढंगमा कार्यस्थल वा स्कूलमा आइपर्न सक्छ। निराशा, बिरामी र उदासिनताले हामीलाई शारीरिक तवरमा कमजोर बनाउन सक्छ र विश्‍वासको जाँच हुँदा झनै गाह्रो हुन सक्छ। तर हामी ‘परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा गरेर सबै पवित्र जीवन र भक्‍तिमा’ हिंडिरह्‍यौं भने सबै परीक्षाहरू सामना गर्न सफल हुन सक्छौं। (२ पत्रुस ३:११, १२) अनि परमेश्‍वरको आशिष्‌ पाउने कुरामा पूर्ण विश्‍वस्त हुँदै आफ्नो आनन्द कायम राख्न सक्छौं।—हितोपदेश १०:२२.

१३. ईश्‍वरीय भक्‍तिअनुसार जीवन बिताइरहने हो भने हामीले के गर्नुपर्छ?

१३ शैतानले ईश्‍वरीय भक्‍तिअनुसार जीवन बिताउनेहरूलाई आक्रमण गर्ने भए तापनि हामी डराउनुपर्दैन। किन? किनभने “भक्‍तहरूलाई परीक्षाबाट बचाउन . . . प्रभु जान्‍नुहुन्छ।” (२ पत्रुस २:९) परीक्षाहरू सहन र त्यस्तो बचाउ अनुभव गर्न “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर हामीले यस वर्त्तमान युगमा आत्मसंयम, धार्मिक र [“ईश्‍वरीय,” NW] भक्‍तिको जीवनमा रहनुपर्दछ।” (तीतस २:१२) मसीहीहरूको हैसियतमा हामी होसियार हुनुपर्छ किनभने शारीरिक इच्छा तथा गतिविधिहरू मुछिएको कुनै पनि कमजोरीले हाम्रो ईश्‍वरीय भक्‍तिलाई कमजोर बनाएर नाश पार्न सक्छ। आउनुहोस्‌, हामी यस्ता केही खतराहरू विचार गरौं।

ईश्‍वरीय भक्‍तिका खतराहरूप्रति होसियार हुनुहोस्‌

१४. भौतिकवादको पासोमा पर्न लालायित भयौं भने हामीले के सम्झनुपर्छ?

१४ भौतिकवाद थुप्रैको निम्ति पासो हो। ईश्‍वरीय “भक्‍तिचाहिं [भौतिक] लाभको बाटो हो” भनी हामीले स्वयम्‌ आफूलाई ठगिरहेका हुन सक्छौं। अतः सँगी विश्‍वासीले देखाएको विश्‍वासको नाजायज फाइदा उठाउन लालायित हुन सक्छौं। (१ तिमोथी ६:५) कुनै सम्पन्‍न मसीहीसँग ऋण माग्नु र पछि तिर्न नसके पनि ठिकै हो भन्‍ने गलत निष्कर्षमा पुग्न सक्छौं। (भजन ३७:२१) तर “अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा” प्राप्त गर्ने भौतिक कुराहरूबाट नभई ईश्‍वरीय भक्‍तिद्वारा हो। (१ तिमोथी ४:८) “हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजान” सक्ने भएकोले “सन्तुष्टता सहितको [“ईश्‍वरीय,” NW] भक्‍ति[को]” जीवन बिताउन झनै कटिबद्ध हुनुका साथै “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट” होऔं।—१ तिमोथी ६:६-११.

१५. हाम्रो ईश्‍वरीय भक्‍तिलाई कमजोर बनाउने खतरा छ भने हामी के गर्न सक्छौं?

१५ सुख-विलासको लागि दौडधूप गर्दा ईश्‍वरीय भक्‍ति धमिलो हुन सक्छ। के यस सन्दर्भमा हामीले तुरुन्तै छाँटकाँट गर्नुपर्ने छ कि? हो, शारीरिक व्यायाम र मनोरञ्जनबाट केही फाइदा हुन्छ। यद्यपि, त्यस्ता इनामहरू अनन्त जीवनको तुलनामा केही पनि होइन। (१ यूहन्‍ना २:२५) आज थुप्रै मानिसहरू “परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने” गर्छन्‌ र हामी त्यस्ता मानिसहरूदेखि होसियार रहनुपर्छ। (२ तिमोथी ३:४, ५) ईश्‍वरीय भक्‍तिलाई महत्त्वपूर्ण ठान्‍ने व्यक्‍तिहरूले “पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखून्‌।”—१ तिमोथी ६:१९.

१६. परमेश्‍वरको धार्मिक स्तरअनुरूप जीवन बिताउन कस्ता पापी इच्छाहरूले अवरोध खडा गर्न सक्छ र हामीले यस्ता इच्छाहरूमाथि कसरी विजय हासिल गर्न सक्छौं?

१६ मद्य तथा लागूपदार्थको दुर्व्यसन, अनैतिकता र पापी इच्छाहरूले हाम्रो ईश्‍वरीय भक्‍तिलाई नाश गर्न सक्छ। यी कुराहरूको वशमा पर्दा हामी परमेश्‍वरको धार्मिक स्तरहरूअनुरूप जीवन बिताउनदेखि वञ्चित हुन सक्छौं। (१ कोरिन्थी ६:९, १०; २ कोरिन्थी ७:१) पावलले समेत आफ्ना पापी इच्छाहरू विरुद्ध संघर्ष गर्नुपऱ्‍यो। (रोमी ७:२१-२५) गलत इच्छाहरू हटाउन निर्णायक कदमहरू चाल्नुपर्छ। एउटा कुरा त, हामी नैतिक तवरमा स्वच्छ रहन कटिबद्ध हुनुपर्छ। पावल यसो भन्छन्‌: “पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।” (कलस्सी ३:५) त्यस्ता पापी कुराहरूको इच्छा नगर्न हामीले त्यस्ता कुराहरू हटाउने संकल्प गर्नुपर्छ। गलत इच्छाहरू हटाउन र यस दुष्ट रीतिरिवाजमा धार्मिकता र ईश्‍वरीय भक्‍तिको पछि लाग्न साँचो हृदयले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ।

१७. हामीले अनुशासनप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१७ निरुत्साहले हाम्रो धीरजलाई कमजोर तुल्याउन सक्छ र हाम्रो ईश्‍वरीय भक्‍तिमा हानिकारक असर पार्न सक्छ। यहोवाका थुप्रै सेवकहरू समय समयमा निरुत्साहित भएका छन्‌। (गन्ती ११:११-१५; एज्रा ४:४; योना ४:३) हामीले आफू अपमानित भएको वा अत्यन्तै कडा ताडना वा अनुशासन दिएजस्तो लागेको कारण निरुत्साहको सँगसँगै द्वेष पनि महसुस गर्छौं भने विशेष गरी घातक असर हुन सक्छ। तथापि, ताडना र अनुशासन ईश्‍वरीय हेरचाह र मायालु चासोको प्रमाण हो। (हिब्रू १२:५-७, १०, ११) अनुशासनलाई केवल सजायको रूपमा होइन तर धार्मिकताको मार्गमा प्रशिक्षण दिने माध्यमको रूपमा हेर्नुपर्छ। हामी नम्र छौं भने हामी सल्लाह स्वीकार्छौं अनि त्यसको मूल्यांकन गर्छौं र “सुधारले जीवनको मार्ग देखाउँछन्‌” भनी बुझ्नेछौं। (हितोपदेश ६:२३) यसले हामीलाई ईश्‍वरीय भक्‍तिको जीवन पछ्याएर आध्यात्मिक प्रगति गर्न मदत गर्छ।

१८. चित्त दुखेको छ भने कस्तो कदम चाल्नुपर्छ?

१८ गलतफहमी र चित्त दुख्दा हाम्रो ईश्‍वरीय भक्‍तिमा खतरा आइपर्न सक्छ। यसले गर्दा व्याकुल हुन सक्छौं वा यसले आफ्ना आध्यात्मिक भाइबहिनीबाट अलग्गै बस्नेजस्ता अनुचित कदम चाल्न उक्साउन सक्छ। (हितोपदेश १८:१) तर अरूप्रति द्वेष राख्दा वा कुभलो चिताउँदा यहोवासँगको हाम्रो सम्बन्धमा एकदमै नराम्रो असर पर्न सक्छ भनी सम्झनु बेस हुन्छ। (लेवी १९:१८) वास्तवमा भन्‍ने हो भने, “आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई प्रेम गर्नसक्‍तैन।” (१ यूहन्‍ना ४:२०) येशूले डाँडाको उपदेशमा व्यक्‍तिगत समस्याहरू सुल्झाउन तुरुन्तै कदम चाल्नुपर्छ भनी जोड दिनुभयो। उहाँले आफ्ना श्रोताहरूलाई यसो भन्‍नुभयो: “तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने, त्यही वेदीको सामु तिम्रो भेटी छोड, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।” (मत्ती ५:२३, २४) छुच्चो बोली वा व्यवहारको कारण चित्त दुखेको छ भने माफी माग्दा त्यो घाउ निको हुन सक्छ। हामीले माफी माग्यौं र आफू अनुचित ढंगमा कामकुरा सम्हालेको स्वीकाऱ्‍यौं भने फाटोलाई हटाएर शान्तिपूर्ण सम्बन्ध पुनर्स्थार्पित गर्न सकिन्छ। समस्याहरू सुल्झाउनेबारे येशूले अरू सल्लाहहरू दिनुभयो। (मत्ती १८:१५-१७) समस्या सुल्झाउन गरिएका प्रयासहरू सफल भयो भने हामी कत्ति खुसी हुन्छौं!—रोमी १२:१८; एफिसी ४:२६, २७.

येशूको उदाहरण अनुसरण गर्नुहोस्‌

१९. येशूको उदाहरण अनुसरण गर्नु किन यत्तिको महत्त्वपूर्ण छ?

१९ परीक्षाहरू अवश्‍य आउने छन्‌ तर त्यसो भन्दैमा अनन्त जीवनको दौडबाट हामी अलमलिनु पर्दैन। यहोवाले हामीलाई परीक्षाबाट जोगाउन सक्नुहुन्छ भनी नबिर्सनुहोस्‌। ‘हर किसिमको टण्टा पन्छाएर’ “हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग” दौड्‌दा “विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं।” (हिब्रू १२:१-३) येशूको उदाहरणलाई नजिकबाट नियाल्दै आफ्नो वचन तथा कार्यमा उहाँको अनुसरण गर्ने प्रयास गर्दा ईश्‍वरीय भक्‍ति खेती गर्न र झन्‌ बढी प्रकट गर्न मदत पाउँछौं।

२०. धीरज र ईश्‍वरीय भक्‍तिको पछि लाग्दा कस्ता इनामहरू पाइन्छ?

२० हाम्रो मुक्‍ति पक्का गर्न धीरज तथा ईश्‍वरीय भक्‍तिबीच नजिकको सम्बन्ध छ। यी बहुमूल्य गुणहरू प्रकट गरेर हामी विश्‍वासी भई परमेश्‍वरको पवित्र सेवामा लागिरहन सक्छौं। परीक्षाको घडीमा पनि हामी आनन्दित हुनेछौं। हामीले यहोवाको अनुकम्पा र आशिष्‌ अनुभव गर्न सक्नेछौं किनभने हामीले धीरज धारण गर्नुका साथै ईश्‍वरीय भक्‍ति व्यवहारमा उतारेका छौं। (याकूब ५:११) यसबाहेक येशू स्वयम्‌ले यस्तो आश्‍वासन दिनुभएको छ: “तिमीहरूको आफ्नो धैर्यमा तिमीहरूले आफ्ना प्राण प्राप्त गर्नेछौ।”—लूका २१:१९.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• धीरज किन महत्त्वपूर्ण छ?

• ईश्‍वरीय भक्‍ति भनेको के हो र यो कसरी प्रकट गरिन्छ?

• हामी कसरी परमेश्‍वरसँग नजिकको सम्बन्ध गाँस्न र त्यसलाई कायम राख्न सक्छौं?

• हाम्रो ईश्‍वरीय भक्‍तिमा आइपर्ने केही खतराहरू के हुन्‌ र हामी तीबाट कसरी बच्न सक्छौं?

[पृष्ठ १२, १३-मा भएका चित्रहरू]

ईश्‍वरीय भक्‍ति विभिन्‍न तरिकामा प्रदर्शन गर्न सकिन्छ

[पृष्ठ १४-मा भएका चित्रहरू]

तपाईंको ईश्‍वरीय भक्‍तिमा आइपर्ने खतराहरूप्रति होसियार हुनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने