प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ९/१५ pp. २१-२५
  • “उद्धार परमप्रभुमा छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उद्धार परमप्रभुमा छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तँ तिनीहरूका सामने ननिउरनू”
  • राष्ट्रिय गानहरू भनेका के हुन्‌ ?
  • आदरपूर्ण ढंगमा इन्कार गर्नुहोस्‌
  • ‘असल विवेक राख्नुहोस्‌’
  • “सबैप्रति भला”
  • झन्डा सलामी, भोट हाल्नु र निजामती सेवा
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • यहोवाका साक्षीहरू राष्ट्रवादी क्रियाकलापहरूमा किन भाग लिँदैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ९/१५ pp. २१-२५

“उद्धार परमप्रभुमा छ”

राष्ट्रिय संकट वा अन्तरराष्ट्रिय तनाउको बेलामा जनताहरू सुरक्षाको लागि सरकारको मुख ताक्छन्‌। सरकारले भने जनतालाई एकजुट बनाउन र तिनीहरूको समर्थन पाउन विभिन्‍न प्रकारका योजनाहरू अघि सार्छन्‌। यस्ता कार्यक्रमहरूमार्फत जति धेरै देशप्रेमको भावना जगाइन्छ, देशभक्‍तिका समारोहहरू पनि त्यति नै भव्य हुन्छन्‌ र बारम्बार मनाइन्छन्‌।

राष्ट्रिय संकटको बेलामा देशभक्‍तिको भावनाले जनताहरूलाई अक्सर एकता र शक्‍तिको अनुभूति दिन्छ। यसले तिनीहरूमाझ सहयोगको भावना जगाउनुका साथै नागरिक कर्तव्यको बोध गराउँछ। “देशभक्‍तिको भावनालाई विनारोकटोक प्रकट हुन दिने हो भने, यसले अत्यन्तै डरलाग्दो रूप लिने हुनाले यो पनि अरू भावनाहरू जस्तै क्षणिक हुन्छ” भनी द न्यु योर्क टाइम्स म्याग्जिन-को एउटा लेखले बताउँछ। देशभक्‍ति प्रदर्शन गर्दा यसले देशका कुनै-कुनै नागरिकहरूको मौलिक अधिकार तथा धार्मिक स्वतन्त्रतामाथि अतिक्रमण हुन सक्छ। विशेष गरी साँचो मसीहीहरू आफ्नो विश्‍वासको सम्झौता गर्ने दबाउमा पर्छन्‌। तिनीहरू वरपरको संसारमा यस्तो वातावरण व्याप्त हुँदा तिनीहरूले कस्तो व्यवहार गर्छन्‌? अन्तरदृष्टि चलाउन र परमेश्‍वरसामु निष्ठा कायम राख्न तिनीहरूलाई कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्छन्‌?

“तँ तिनीहरूका सामने ननिउरनू”

कहिलेकाहीं, राष्ट्रिय झन्डालाई सलाम गर्नु भनेको देशभक्‍ति व्यक्‍त गर्ने लोकप्रिय तरिका हुन्छ। तर अक्सर झन्डामा आकाशमा भएका ताराजस्ता चीजहरूका साथै पृथ्वीमा भएका चीजहरू अंकित हुन्छन्‌। यस्ता चीजहरूलाई दण्डवत्‌ गर्ने सन्दर्भमा परमेश्‍वरको दृष्टिकोण उहाँले आफ्ना जनहरूलाई दिनुभएको आज्ञामा यसरी प्रकट गर्नुभयो: “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तेरा परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ, पिता-पुर्खाले गरेको अधर्म र मेरो अवहेलनाको दण्ड तिनीहरूका सन्तानहरू, तिनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु।”—प्रस्थान २०:४, ५.

राज्यको प्रतिनिधित्व गर्ने झन्डालाई दण्डवत्‌ गर्दा वा त्यसको सामु झुक्दा के साँच्चै यहोवालाई ऐकान्तिक भक्‍ति चढाउनू भन्‍ने आज्ञाको विपरीत चलिरहेको हुन्छ? पुरातन इस्राएलीहरू उजाडस्थानमा हुँदा तिनीहरूको “ध्वजा” वा “झण्डा” थियो र तिनीहरू त्यसैअनुसार तीन-तीन कुलमा बाँडिएर बस्थे। (गन्ती २:१, २) यस्ता झन्डाहरू बुझाउनको लागि प्रयोग गरिएको हिब्रू शब्दबारे टिप्पणी गर्दै म्याकक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया यसो भन्छ: “ ‘झन्डा’ भन्‍ने अर्थ बुझाउनको लागि यहाँ प्रयोग गरिएको कुनै पनि हिब्रू शब्दले अहिले हामीले सोच्ने जस्तो झन्डा बुझाउँदैन।” साथै, इस्राएलका झन्डाहरूलाई पवित्र ठानिंदैनथ्यो न त यससित सम्बन्धित कुनै समारोहहरू नै आयोजना गरिन्थ्यो। यिनीहरूले खालि मानिसहरूलाई कहाँ जम्मा हुने भनी बुझाउनको लागि संकेत चिह्नको रूपमा काम गर्थे।

बासस्थान तथा सुलेमानको मन्दिरका करूबहरू मुख्यतया स्वर्गका करूबहरूको नमुना मात्र थिए। (प्रस्थान २५:१८; २६:१, ३१, ३३; १ राजा ६:२३, २८, २९; हिब्रू ९:२३, २४) करूबहरूका यी नक्कलहरूलाई उपासना गर्नुहुँदैनथ्यो भन्‍ने कुरा साधारण व्यक्‍तिहरूले यी करूबहरूलाई कहिल्यै पनि नदेखेका र स्वर्गदूतहरूलाई पूज्नु नहुने कुराबाट प्रस्ट हुन्छ।—कलस्सी २:१८; प्रकाश १९:१०; २२:८, ९.

इस्राएलीहरूले उजाडस्थानमा यात्रा गरिरहेको समयमा अगमवक्‍ता मोशाले बनाएको पीत्तले साँपको आकृतिलाई पनि विचार गर्नुहोस्‌। त्यो आकृति वा प्रतिमाले एउटा प्रतीकको रूपमा काम गऱ्‍यो र यसको भविष्यसूचक महत्त्व थियो। (गन्ती २१:४-९; यूहन्‍ना ३:१४, १५)

यसको पूजा अर्थात्‌ उपासना गरिंदैनथ्यो। तथापि, मोशाको समयभन्दा शताब्दीयौंपछि इस्राएलीहरूले उक्‍त प्रतिमालाई उपासना गर्न र धूप पनि बाल्न थाले अनि यो काम अनुचित थियो। त्यसकारण, यहूदाका राजा हिजकियाहले यसलाई टुक्रा-टुक्रा पार्नुपऱ्‍यो।—२ राजा १८:१-४.

के राष्ट्रिय झन्डाहरू कुनै खास उपयोगी कामका प्रतीकहरू मात्र हुन्‌? तिनीहरू केका प्रतीक हुन्‌? “झन्डा राष्ट्रवादमाथिको विश्‍वासको प्रमुख प्रतीक तथा उपासनाको प्रमुख वस्तु हो” भनी लेखक जे. पावल विलियम्सले बताए। दी इन्साइक्लोपीडिया अमेरिकाना यसो भन्छ: “झन्डा क्रस जत्तिकै पवित्र छ।” झन्डा राष्ट्रको प्रतीक हो। त्यसकारण, झन्डासामु झुक्नु वा यसलाई दण्डवत्‌ गर्नु भनेको राष्ट्रप्रति श्रद्धा देखाउने धार्मिक समारोह हो। यस्ता कामहरूले राष्ट्रको उद्धार गर्छ भनिन्छ, जुन बाइबलले मूर्तिपूजाबारे बताउने कुरासँग मेल खाँदैन।

धर्मशास्त्रले स्पष्टसँग यसो भन्छ: “उद्धार परमप्रभुमा छ।” (भजन ३:८) मानव संस्थाहरू वा तिनीहरूको प्रतीकहरूमा उद्धार छैन। प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो सल्लाह दिए: “ए मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग रहो।” (१ कोरिन्थी १०:१४) प्रारम्भिक मसीहीहरूले राष्ट्रको उपासनामा भाग लिएनन्‌। दोज अवाउट टु डाइ पुस्तकमा डानियल पि. म्यानिक्स यसरी बताउँछन्‌: “मसीहीहरूले प्रतिभाशाली [रोमी] सम्राट्‌हरूको लागि बलि चढाउन . . . इन्कार गरे जुन कुरा अहिले झन्डा सलामी गर्न इन्कार गर्नु बराबरै थियो।” आजका साँचो मसीहीहरूले पनि यसै गर्छन्‌। यहोवालाई ऐकान्तिक भक्‍ति चढाउनको लागि तिनीहरू कुनै पनि राष्ट्रको झन्डा सलामी गर्नदेखि अलग रहन्छन्‌। यसो गरेर तिनीहरूले सरकार तथा यसका शासकहरूप्रति आदर देखाउनुका साथै परमेश्‍वरलाई प्रथम स्थान दिइरहेका हुन्छन्‌। पक्कै पनि तिनीहरू सरकारी “उच्च अख्तियारवालाहरूका अधीनमा” बस्नुपर्ने जिम्मेवारीलाई स्वीकार्छन्‌। (रोमी १३:१-७) तथापि, राष्ट्रिय गानजस्ता देशभक्‍तिका गीतहरू गाउनेबारे धर्मशास्त्रीय दृष्टिकोण कस्तो छ?

राष्ट्रिय गानहरू भनेका के हुन्‌ ?

“राष्ट्रिय गानहरू देशभक्‍तिको भावनाका अभिव्यक्‍ति हुन्‌ र अक्सर यसमा जनता वा शासकहरूको सुरक्षाको लागि ईश्‍वरीय निर्देशन तथा सुरक्षा माग गरिएको हुन्छ” भनी दी इन्साइक्लोपीडिया अमेरिकाना बताउँछ। वास्तवमा राष्ट्रिय गान भनेको राष्ट्रको खातिर गरिएको स्तुतिगान वा प्रार्थना हो। यसमा प्रायजसो, राष्ट्रले संवृद्धि र स्थायित्व अनुभव गरोस्‌ भन्‍ने कामना गरिन्छ। के साँचो मसीहीहरूले यस्ता प्रार्थनाका समारोहहरूमा भाग लिनुहुन्छ?

अगमवक्‍ता यर्मिया यहोवालाई सेवा गरेको दाबी गर्ने मानिसहरूमाझ बाँचिरहेका थिए। तैपनि, यहोवाले तिनलाई यस्तो आज्ञा दिनुभयो: “यस प्रजाको निम्ति प्रार्थना नगर्‌, अथवा यिनीहरूका निम्ति पुकारा वा बिन्ती नचढ़ा। मसित यिनीहरूका निम्ति अन्तरबिन्ती नगर्‌, किनकि म तेरो प्रार्थना सुन्दिनँ।” (यर्मिया ७:१६; ११:१४; १४:११) यर्मियालाई किन यस्तो आज्ञा दिइएको थियो? किनभने तिनीहरूको समाजमा चोरी, हत्या, व्यभिचार, झूटा कसम र मूर्तिपूजा व्याप्त थियो।—यर्मिया ७:९.

येशू ख्रीष्टले यसो भनेर एउटा नमुना बसाल्नुभयो: “म तिनीहरूका निम्ति बिन्ती गर्छु, संसारको निम्ति ता म बिन्ती गर्दिनँ, तर तिनीहरूकै निम्ति, जसलाई तपाईंले मलाई दिनुभएको छ।” (यूहन्‍ना १७:९) धर्मशास्त्रले “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” र यो “बितिजान्छ” भनेर बताउँछ। (१ यूहन्‍ना २:१७; ५:१९) त्यसोभए, साँचो मसीहीहरूले कसरी यस्तो संसारको संवृद्धि तथा स्थायित्वको कामना गर्न सक्छन्‌ होला र?

निस्सन्देह, सबै राष्ट्रिय गानहरूमा परमेश्‍वरलाई बिन्ती चढाइएको हुँदैन। इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “राष्ट्रिय गानहरूको भाव सम्राट्‌को लागि प्रार्थनादेखि लिएर राष्ट्रिय महत्त्वका युद्धसम्म वा विद्रोहदेखि लिएर . . . देशभक्‍तिको भावना जगाउनेसम्म हुन्छ।” तर परमेश्‍वरलाई खुसी तुल्याउन चाहनेहरू के कुनै राष्ट्रको युद्ध वा विद्रोहहरूमा हर्षित हुन सक्छन्‌ होला र? साँचो उपासकहरूको सन्दर्भमा यशैयाले अग्रिमवाणी गरे: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌।” (यशैया २:४) प्रेरित पावलले लेखे, “हामी शरीरअनुसार चल्छौं, तापनि शरीरअनुसार लडाइँ ता गर्दैनौं। किनभने हाम्रो युद्धका हतियार शारीरिक होइनन्‌, तर किल्लाहरू भत्काउनसक्नेझैं छन्‌।”—२ कोरिन्थी १०:३, ४.

अक्सर राष्ट्रिय गानहरूले राष्ट्रिय गौरव वा श्रेष्ठताको भाव झल्काउँछन्‌। यस दृष्टिकोणलाई धर्मशास्त्रले समर्थन गर्दैन। प्रेरित पावलले अरैयापागसमा दिएको भाषणमा यसो भने: “पृथ्वीको सतहमाथि बास गर्नालाई [यहोवा परमेश्‍वरले] एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।” (प्रेरित १७:२६) “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ” भनी प्रेरित पत्रुसले बताए।—प्रेरित १०:३४, ३५.

बाइबलका कुराहरू बुझेका कारण धेरै जनाले झन्डा सलामी गर्न तथा देशभक्‍तिका गीतहरू गाउनबाट अलग रहने व्यक्‍तिगत निर्णय गर्छन्‌। तथापि, परिस्थितिवश यस्ता मामिलाहरूको सम्मुख परे भने तिनीहरूले कस्तो व्यवहार गर्छन्‌?

आदरपूर्ण ढंगमा इन्कार गर्नुहोस्‌

पुरातन बाबेलका राजा नबूकदनेसरले आफ्नो साम्राज्यको एकतालाई अझ सुदृढ बनाउने अभिप्रायले दूराको मैदानमा सुनको एउटा ठूलो मूर्ति खडा गरे। त्यसपछि तिनले यो मूर्ति स्थापना गर्ने समारोहको लागि बडाहाकिम, शासक, राज्यपाल, सल्लाहकार र अरू उच्च पदस्थ अधिकारीहरूलाई निमन्त्रणा गरे। संगीतको आवाज सुन्‍नेबित्तिकै भेला भएकाहरू सबैले सो मूर्तिलाई घोप्टो परेर दण्डवत्‌ गर्नुपर्थ्यो। उपस्थित हुनुपर्ने व्यक्‍तिहरूमा तीन जना हिब्रूहरू, शद्रक, मेशक र अबेद्‌नगो पनि पर्दथे। त्यस धार्मिक समारोहमा भाग लिइरहेको छैन भन्‍ने कुरा तिनीहरूले कसरी देखाए? जसै संगीत बज्न थाल्यो त्यहाँ भेला भएकाहरूले त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत्‌ गरे तर तीन हिब्रूहरू भने खडा नै भइरहे।—दानियल ३:१-१२.

अचेल, साधारणतया झन्डा सलामी गर्दा हात पसारिन्छ वा हात निधारमा वा छातीमा राखिन्छ। कहिलेकाहीं भने विशेष आसनमा बसिन्छ। कुनै-कुनै देशहरूमा स्कूल जाने बच्चाहरूले घुँडा टेकेर झन्डालाई म्वाइँ खानुपर्छ। अरूले झन्डा सलामी गर्ने बेलामा साँचो मसीहीहरू चुपचाप उभिरहँदा तिनीहरू आदर देखाउने अवलोकनकर्ताहरू मात्र हुन्‌ भन्‍ने कुरा प्रस्ट हुन्छ।

तर झन्डा सलामीको समारोहमा चुपचाप उभिरहँदा मात्र पनि त्यसमा भाग लिएजस्तो देखिन्छ भने नि? उदाहरणका लागि, सम्पूर्ण स्कूलको प्रतिनिधित्व गर्दै एक जना विद्यार्थीले बाहिर खम्बामा राखिएको झन्डालाई सलामी गर्दा अरू विद्यार्थीहरू भने कक्षाभित्र चुपचाप उभिरहनुपर्ने होला। यस परिस्थितिमा उभिनुको अर्थ बाहिर भएको विद्यार्थीलाई झन्डा सलामी गर्नको लागि आफ्नो प्रतिनिधिको रूपमा स्वीकारेको कुरा जनाउनु हो। उभिनुको अर्थ नै यस समारोहमा भाग लिनु हो। यस्तो अवस्थामा आदर देखाउने अवलोकनकर्ता हुन चाहनेहरू चुपचाप बसिरहन्छन्‌। तर यस्तो समारोह सुरु हुनुभन्दा पहिलेदेखि नै कक्षाका सम्पूर्ण विद्यार्थीहरू उभिरहेका छन्‌ भने नि? यस्तो अवस्थामा भने उभिरहँदा पनि यसमा भाग लिएको संकेत गर्दैन।

उदाहरणका लागि कसैलाई झन्डा सलामी गर्न त नभनिएला तर कवाजमा वा कक्षाकोठामा वा अन्यत्र कतै अरूले झन्डा सलामी गर्न सकून्‌ भन्‍नको लागि झन्डा बोक्न मात्र अह्राइएला। यसो गर्नुको अर्थ “मूर्तिपूजाबाट अलग रहो” भन्‍ने धर्मशास्त्रीय आज्ञा विपरीत समारोहको मुख्य केन्द्रबिन्दु भइरहेको हुनेछ। देशभक्‍तिका कवाजहरूमा भाग लिने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। यसो गर्नुको अर्थ सो कवाजले दिन खोजेको सन्देशलाई समर्थन गर्नु हो र साँचो मसीहीहरूले आफ्नो विवेकको खातिर यसो गर्न सक्दैनन्‌।

राष्ट्रिय गानहरू बजाइँदा त्यसका भावनाहरूसँग आफू सहमत भएको कुरा जनाउन अक्सर सबै व्यक्‍तिहरू उठ्‌नुपर्छ। यस्तो अवस्थामा मसीहीहरू भने उठ्‌दैनन्‌। तथापि, राष्ट्रिय गान सुरु हुँदा तिनीहरू पहिलेदेखि नै उभिरहेका छन्‌ भने चाहिं राष्ट्रिय गान सुरु भएपछि बस्नु आवश्‍यक छैन। किनभने तिनीहरू राष्ट्रिय गानकै लागि भनेर उभिएका होइनन्‌। अर्को तर्फ, समूह नै उठेर गाउनुपर्ने छ भने आदर देखाउनको लागि उभिंदा तर गीत भने नगाउँदा त्यस गीतको भावनासँग सहमत भएको हुँदैन।

‘असल विवेक राख्नुहोस्‌’

मानव निर्मित श्रद्धाका वस्तुहरूको प्रभावहीनताबारे बताइसकेपछि भजनहारले यसो भने: “तिनीहरूलाई बनाउने जस्ता छन्‌, ती पनि त्यस्तै हुन्छन्‌। तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै त्यस्तै हुन्छन्‌।” (भजन ११५:४-८) त्यसकारण, राष्ट्रिय झन्डाहरूलगायत कुनै पनि श्रद्धाका वस्तुहरू बनाउने काममा प्रत्यक्ष संलग्न हुने रोजगार यहोवाका साक्षीहरूको लागि पक्कै स्वीकार्य हुँदैन। (१ यूहन्‍ना ५:२१) मसीहीहरूले झन्डालाई वा यसले प्रतिनिधित्व गर्ने कुनै पनि कुरालाई उपासना गर्दैनन्‌ तर तिनीहरूले यहोवालाई मात्र उपासना गर्छन्‌ भन्‍ने कुरा आदरपूर्ण ढंगमा प्रदर्शित गर्दा रोजगारका अरू पनि अवसरहरू प्राप्त हुन सक्छन्‌।

उदाहरणका लागि, कुनै कार्यालयको हाकिमले आफ्नो कामदारलाई भवनमा राखिने झन्डा राख्न र निकाल्न अह्राउन सक्छन्‌। यो काम गर्ने वा नगर्ने भन्‍ने कुरा त्यस परिस्थितिप्रतिको व्यक्‍तिगत दृष्टिकोणमा भर पर्छ। झन्डा राख्ने वा निकाल्ने काम अरू थुप्रै व्यक्‍तिहरू झन्डा सलामी गर्न तयार भएको विशेष समारोहमा गरिएको हो भने यो पनि उक्‍त समारोहमा भाग लिए सरह नै हो।

अर्कोतर्फ, झन्डोत्तोलनको कुनै समारोह होइन भने, झन्डा माथि लैजाने वा झार्ने काम पनि प्रयोगको लागि भवनको ढोका खोल्ने र बन्द गर्ने तथा झ्यालहरू खोल्ने र बन्द गर्ने जस्तै सामान्य काम हो। यस्तो अवस्थामा झन्डा राष्ट्रको प्रतीक मात्र हो र अरू दैनिक कार्यहरू जस्तै झन्डा राख्ने र निकाल्ने काम हरेकले आफ्नो बाइबल प्रशिक्षित अन्तस्करणको आधारमा गर्नुपर्ने व्यक्‍तिगत निर्णय हो। (गलाती ६:५) कुनै व्यक्‍तिको अन्तस्करणले उसलाई झन्डा राख्न र निकाल्न अरू नै कुनै व्यक्‍तिलाई खटाउनको लागि आफ्नो हाकिमसँग आग्रह गर्न उत्प्रेरित गर्न सक्छ। अर्को मसीहीलाई भने कुनै समारोह नभएको बेलामा झन्डा राख्नु वा निकाल्नु कुनै आपत्तिजनक कामजस्तो नलाग्ला। जेसुकै निर्णय गरे तापनि साँचो उपासकहरूले परमेश्‍वरसामु ‘असल विवेक राख्नुपर्छ।’—१ पत्रुस ३:१६.

वारुणयन्त्र कार्यालय, नगरपालिकाको कार्यालय अनि स्कूलजस्ता झन्डा राखिने सार्वजनिक भवनहरूमा काम गर्न वा बस्न धर्मशास्त्रले मनाही गरेको छैन। हुलाक टिकट, सवारी चालक अनुमति पत्र वा अन्य सरकारी कागजातहरूमा पनि झन्डाको चित्र अंकित हुन सक्छ। यस्ता कुराहरू प्रयोग गर्दैमा व्यक्‍तिविशेषले त्यसलाई उपासना चढाइरहेको हुँदैन। यहाँ झन्डा वा त्यसको चित्र महत्त्वपूर्ण कुरा होइन तर यसप्रति कस्तो दृष्टिकोण राखिन्छ सो कुरा महत्त्वपूर्ण हो।

अक्सर झ्याल, ढोका, गाडी, डेस्क वा अरू चीजहरूमा झन्डाको स्टिकर टाँसिएको हुन्छ। झन्डा छापिएका लुगाहरू पनि किन्‍न पाइन्छन्‌। कुनै-कुनै देशहरूमा यस्ता लुगाहरू लगाउनु गैर-कानूनी मानिन्छ। तर यसो गर्दा कानून उल्लंघन हुँदैन भने तापनि यसबाट संसारप्रति उक्‍त व्यक्‍तिको कस्तो अडान भएको देखिन्छ? येशू ख्रीष्टले आफ्ना अनुयायीहरूबारे यसो भन्‍नुभयो: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌।” (यूहन्‍ना १७:१६) यस्ता कामहरूले सँगी विश्‍वासीहरूमा पार्ने असरलाई पनि बेवास्ता गर्नु हुँदैन। के यसले कसैको अन्तस्करणमा चोट पुऱ्‍याउन सक्छ? विश्‍वासमा दृढ रहने तिनीहरूको अडान कमजोर पो हुन्छ कि? पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक।”—फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण।

“सबैप्रति भला”

यस “डरलाग्दो समय[मा]” संसारको अवस्था जसै खस्कँदै जान्छ देशभक्‍तिको भावना झनै तीव्र हुन सक्छ। (२ तिमोथी ३:१) परमेश्‍वरलाई प्रेम गर्नेहरूले उद्धार यहोवामा मात्र छ भन्‍ने कुरा कहिल्यै नबिर्सून्‌। उहाँ ऐकान्तिक भक्‍तिको माग गर्नुहुन्छ। यहोवाको इच्छा विपरीतको काम गर्न अह्राइँदा येशूका प्रेरितहरूले यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२९.

“प्रभुका सेवकले झगडा गर्नुहुँदैन, तर सबैप्रति भला” हुनुपर्छ भनी प्रेरित पावलले लेखे। (२ तिमोथी २:२४) त्यसकारण, झन्डा सलामी गर्ने वा राष्ट्रिय गान गाउने सन्दर्भमा आफ्नो बाइबल प्रशिक्षित अन्तस्करणको आधारमा व्यक्‍तिगत निर्णय गर्दा मसीहीहरू शान्तिमय, आदरपूर्ण र भला हुने कोसिस गर्छन्‌।

[पृष्ठ २३-मा भएको चित्र]

दृढ तर आदरपूर्ण भएर तीन जना हिब्रूहरूले परमेश्‍वरलाई खुसी तुल्याउन रोजे

[पृष्ठ २४-मा भएको चित्र]

देशभक्‍तिको समारोहमा एक जना मसीहीले कस्तो अडान लिनुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने