के यहोवाले तपाईंको कामकुरा याद गर्नुहुन्छ?
तपाईं यो प्रश्नको जवाफ कसरी दिनुहुन्छ? थुप्रैले यसो भन्लान्: ‘परमेश्वरले मोशा, गिदोन र दाऊदजस्ता मानिसहरूको उपलब्धि याद गर्नुभयो होला तर मेरो कामकुरामा उहाँले चासो लिनुहुन्न होला। मोशा, गिदोन वा दाऊदजस्तो म कहाँ छु र।’
हो, बाइबलकालीन केही विश्वासी पुरुषहरूले उल्लेखनीय विश्वासका कामहरू गरेका थिए। तिनीहरूले ‘राज्यहरू कब्जा गरे, सिंहका मुख थुनिदिए, आगोको ज्वाला निभाए र तरवारका धारबाट उम्के।’ (हिब्रू ११:३३, ३४) तथापि, अरू कतिपयले त्यति उल्लेखनीय ढंगमा आफ्नो विश्वासको प्रदर्शन गरेनन् र परमेश्वरले तिनीहरूको पनि विश्वासको काम याद गर्नुभएको कुरा बाइबलले आश्वासन दिन्छ। जस्तै— एक जना गोठालो, एक जना अगमवक्ता र एक जना विधवाको धर्मशास्त्रीय उदाहरणलाई विचार गर्नुहोस्।
गोठालोले बलि चढाउँछन्
तपाईंले आदम र हव्वाको माइलो छोरा हाबिलबारे के कुरा सम्झनुभएको छ? तपाईंलाई थाहै होला, तिनले शहीदको मृत्यु भोगेका थिए जुन हामीमध्ये कमैले मात्र अनुभव गर्नेछौं। तर सबैभन्दा पहिला परमेश्वरले हाबिललाई अर्कै कारणले याद गर्नुभएको थियो।
एक दिन हाबिलले आफ्नो बगालबाट उत्तम भेडा परमेश्वरलाई बलिदान चढाउन लगे। तिनको बलिदान आजको समयमा खासै विशेष नहोला तर यहोवाले याद गर्नुभयो र अनुमोदन पनि व्यक्त गर्नुभयो। तथापि, कुरा यति मात्रै होइन। झन्डै चार हजार वर्षपछि यहोवाले प्रेरित पावललाई यसबारे हिब्रूको पुस्तकमा लेख्न प्रेरित गर्नुभयो। त्यस्तो लामो समयपछि पनि परमेश्वरले त्यस साधारण बलिदान बिर्सनुभएको थिएन!—हिब्रू ६:१०; ११:४.
कस्तो बलिदान चढाउने भनेर हाबिलले कसरी निर्णय गरे? बाइबलले यसबारे बताउँदैन तर तिनले पक्कै यस विषयमा गम्भीरतापूर्वक सोचेको हुनुपर्छ। तिनी गोठालो थिए, त्यसैले तिनले आफ्नो बगालबाटै आफ्नो भेटी छान्नु कुनै अनौठो कुरा होइन। तर याद गर्नुहोस्, तिनले सबैभन्दा “उत्तम” चाहिं ल्याए। (उत्पत्ति ४:४) हुनसक्छ, तिनले यहोवाले अदनको बगैंचामा सर्पलाई भन्नुभएका कुराहरूमाथि मनन गरे: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्।” (उत्पत्ति ३:१५; प्रकाश १२:९) “स्त्री” र तिनको “सन्तान” भनेको को हो भनेर थाह नपाए तापनि हाबिलले स्त्रीको सन्तानको ‘कुर्कुच्चो डस्नुमा’ रगत बगाउनु समावेश छ भनेर बुझेको हुनुपर्छ। जिउँदो प्राणीभन्दा अरू केही पनि मूल्यवान् हुन सक्दैन भनेर तिनले पक्कै पनि बुझेका थिए। जे होस्, तिनले चढाएको बलिदान साँच्चै उचित थियो।
हाबिल जस्तै आज पनि मसीहीहरूले परमेश्वरलाई बलिदान चढाउँछन्। तिनीहरूले आफ्नो बगालको सबैभन्दा उत्तम भेडा होइन तर ‘परमेश्वरलाई निरन्तर स्तुतिको बलिदान चढाउँछन्, जो [परमेश्वरको] नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।’ (हिब्रू १३:१५) हामीले आफ्नो विश्वासबारे अरूलाई बताउँदा हाम्रो ओठले सार्वजनिक घोषणा गर्छ।
के तपाईं आफ्नो बलिदानको गुणस्तरमा उन्नति गर्न चाहनुहुन्छ? त्यसोभए तपाईंको इलाकाका मानिसहरूको आवश्यकताबारे गहिरिएर सोच्नुहोस्। तिनीहरू कस्ता विषयहरूमा चिन्तित छन्? तिनीहरूको चासो? तिनीहरू बाइबल सन्देशको कुन पक्षप्रति आकर्षित हुनेछन्? हरेक चोटि प्रचारकार्यमा जानुहुँदा तपाईंको प्रभावकारिता बढाउने हेतुले गर्नुभएका भेटहरूको विश्लेषण गर्नुहोस्। अनि यहोवाबारे कुरा गर्नुहुँदा विश्वस्त भई हृदयदेखि बोल्नुहोस्। तपाईंको बलिदान साँच्चैको “स्तुतिको बलिदान” बनाउनुहोस्।
एक जना अगमवक्ताले भावशून्य छिमेकीहरूलाई प्रचार गर्छन्
अब अगमवक्ता हनोकलाई विचार गर्नुहोस्। तिनी एक्लैले यहोवा परमेश्वरको साक्षीको हैसियतमा सेवा गरिरहेका थिए होलान्। के तपाईं पनि हनोकजस्तै यहोवाको विश्वासीपूर्वक सेवा गर्ने परिवारको एक मात्र सदस्य हुनुहुन्छ? के तपाईं आफ्नो कक्षा वा जागिरमा बाइबलका सिद्धान्तहरू पछ्याउने एक मात्र व्यक्ति हुनुहुन्छ? त्यसो हो भने, तपाईंले चुनौतीहरू सामना गर्नुपर्छ। साथीभाइ, नातेदार, सहपाठी वा सहकर्मीले तपाईंलाई परमेश्वरको व्यवस्था उल्लंघन गर्न दबाब दिन सक्छन्। तिनीहरूले यसो भन्लान् “तिमीले के गऱ्यौ कसैले पनि थाह पाउँदैन। हामी कसैलाई पनि भन्दैनौं।” बाइबलका नैतिक स्तरहरूबारे चिन्ता गर्नु मूर्खता हो किनभने परमेश्वरले तपाईंले के गर्नुहुन्छ भनी वास्ता गर्नुहुन्न भन्ने जस्ता कुरा तिनीहरूले गरिरहलान्। तपाईंको सोच्ने र काम गर्ने शैली तिनीहरूको जस्तो नहुँदा रिस उठेर तिनीहरूले तपाईंको अडान तोड्ने हर प्रयास गर्न सक्छन्।
हुन त हो, त्यस्तो दबाबको सामना गर्न सजिलो छैन तर नसकिने चाहिं होइन। आदमदेखि सात पुस्तामुनिका हनोकलाई विचार गर्नुहोस्। (यहूदा १४) हनोकको जन्म भएको समयमा अधिकांश मानिसहरू नैतिक तवरमा पूर्णतया विकृत भइसकेका थिए। तिनीहरूको बोली अपमानजनक र आचरण “कठोर” थियो। (यहूदा १५) तिनीहरूले वर्तमान समयका मानिसहरूले जस्तै व्यवहार गर्थे।
हनोकले कसरी यस्तो परिस्थितिको सामना गरे? यस प्रश्नको जवाफ आज हाम्रोलागि चासोको विषय हो। त्यतिबेला यस पृथ्वीमा परमेश्वरको उपासना गर्ने हनोक मात्र भए तापनि तिनी साँच्चै एक्लै भने थिएनन्। हनोक परमेश्वरको साथसाथै हिंडे।—उत्पत्ति ५:२२.
परमेश्वरलाई आनन्दित तुल्याउनु हनोकको जीवनको प्रमुख लक्ष्य थियो। तिनलाई परमेश्वरको साथसाथै हिंड्नुको अर्थ स्वच्छ, नैतिक जीवन बिताउनु मात्र होइन भनेर थाह थियो। तिनले प्रचार गरेको यहोवा चाहनुहुन्थ्यो। (यहूदा १४, १५) मानिसहरूलाई तिनीहरूले गरेका अधर्मी कामहरू परमेश्वरले याद गर्नुहुन्छ भनेर चेतावनी दिनुपर्ने थियो। हनोक ३०० वर्षभन्दा बढी समयसम्म परमेश्वरको साथसाथै हिंडे जुन हामीले धैर्य धारण गर्नुपरेको भन्दा निकै लामो समय हो। तिनी मृत्युसम्मै परमेश्वरको साथसाथै हिंडिरहे।—उत्पत्ति ५:२३, २४.
हनोकले जस्तै हामीले पनि प्रचार गर्ने आज्ञा पाएका छौं। (मत्ती २४:१४) घर-घर प्रचारकार्यको अलावा हामी आफ्नो नातागोता, व्यापारिक पहिचान र सहपाठीहरूलाई सुसमाचार सुनाउने प्रयास गर्छौं। तर कहिलेकाहीं हामी हिचकिचाउन सक्छौं। के तपाईं पनि कहिलेकाहीं हिचकिचाउनुहुन्छ? हरेस नखानुहोस्। प्रारम्भिक मसीहीहरूको अनुकरण गर्नुहोस् र निर्भयतासाथ बोल्न परमेश्वरलाई प्रार्थना गर्नुहोस्। (प्रेरित ४:२९) तपाईं जबसम्म परमेश्वरको साथसाथै हिंड्नुहुन्छ तपाईं कहिल्यै एक्लै हुनुहुन्न भनी नबिर्सनुहोस्।
विधवाले खानेकुरा तयार पार्छिन्
एक जना नाउँ थाह नभएको विधवाले साधारण भोजन तयार पारेकोले दुइटा इनाम पाएको कल्पना गर्नुहोस्! तिनी इस्राएली नभई परदेशी थिइन् र सा.यु.पू. दसौं शताब्दीमा सारपत भन्ने गाउँमा बसोबास गर्थिन्। लामो समयसम्मको खडेरी र अनिकालले गर्दा विधवाको खाना सिद्धिन लागेको थियो। तिनीसँग आफू र आफ्नो छोराको लागि एक मुठी पीठो र ढुंग्रोमा अलिकता तेल मात्र बाँकी थियो।
यति नै बेला एक जना पाहुना आए। तिनी परमेश्वरका अगमवक्ता एलिया थिए र तिनले त्यस विधवाको अलिकता भएकोबाट केही खानेकुरा मागे। आफू र आफ्नो छोराको लागि त पुगनपुग भइरहेको बेलामा पाहुनालाई दिन पक्कै पनि केही थिएन। तर एलियासँग खानेकुरा बाँडेको खण्डमा तिनी र तिनको छोरा भोको नहुने आश्वासन एलियाले यहोवाको नाउँमा दिए। एक जना परदेशी विधवालाई इस्राएलको परमेश्वरले याद गर्नुहुन्छ भनी पक्का हुन विश्वासको खाँचो पर्थ्यो। तैपनि तिनले एलियालाई विश्वास गरिन् र यहोवाले तिनलाई इनाम दिनुभयो। “एलियाद्वारा परमप्रभुले पहिलेनै भन्नुभएझैं भाँड़ाको पीठो सिद्धिएन, औ गरीयोको तेल पनि रित्तिएन।” अनिकाल नसिद्धिउन्जेल विधवा र तिनको छोरालाई खानाको समस्या भएन।—१ राजा १७:८-१६.
तथापि, विधवाले अर्को इनाम पनि पाइन्। त्यस चमत्कारको केही समयपछि तिनको प्यारो छोरा बिरामी भएर मऱ्यो। दयाले भरिएर एलियाले त्यसलाई ब्यूँताउन यहोवालाई आग्रह गरे। (१ राजा १७:१७-२४) यसो गर्न त अपूर्व चमत्कार गर्नुपर्ने थियो। त्योभन्दा अघि कसैको पुनरुत्थान भएको रेकर्ड छैन! के यहोवाले यस परदेशी विधवामाथि फेरि कृपा देखाउनुहुने थियो? उहाँले देखाउनुभयो। यहोवाले त्यस ठिटोलाई ब्यूँताउन एलियालाई शक्ति प्रदान गर्नुभयो। यो विशेष अनुग्रह पाएकी स्त्रीको सन्दर्भमा येशूले पछि यसो भन्नुभयो: “इस्राएलमा . . . धेरै विधवाहरू थिए, तापनि . . .एलिया सीदोन देशको सारफतमा एउटी विधवाकहाँ बाहेक . . . अरू कसैकहाँ पठाइएन।”—लूका ४:२५, २६.
आज विकसित देशहरूमा समेत आर्थिक अवस्था स्थिर छैन। ठूलठूला कम्पनीहरूले दशकौं वफादार सेवा गरेका थुप्रै कामदारलाई समेत जागिरबाट बर्खास्त गरेका छन्। बेरोजगारको समस्या हुन सक्ने भएकोले मसीहीहरू पनि आफ्नो जागिर नगुमाउने आशामा धेरै समय काममा बिताउन प्रलोभित हुन सक्छ। यसो गर्दा तिनलाई मसीही सभा धाउन, क्षेत्र सेवकाईमा भाग लिन वा आफ्नो परिवारको भावनात्मक तथा आध्यात्मिक आवश्यकताको हेरविचार गर्न फुर्सदै नहुन सक्छ। तथापि, तिनलाई हरहालतमा आफ्नो जागिर बचाउनुपर्छ जस्तो लाग्न सक्छ।
आर्थिक तवरमा त्यस्तो कठिन परिस्थितिमा परेको मसीही चिन्तित हुनु स्वाभाविक हो। आजभोलि जागिर पाउन गाह्रो छ। हामीमध्ये प्रायजसोले धनी हुने प्रयास गरिरहेका छैनौं तर सारपातको विधवा जस्तै केवल आधारभूत आवश्यकता पूरा गर्न चाहन्छौं। तथापि, परमेश्वरले भन्नुभएको कुराबारे प्रेरित पावल हामीलाई यसरी सम्झाउँछन्: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।” हामी निर्धक्क भई यसो भन्न सक्छौं: “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ।” (हिब्रू १३:५, ६) यही प्रतिज्ञाको आधारमा पावलले आफ्नो ज्यानसमेत जोखिममा पारे र यहोवाले सधैं तिनको ख्याल राख्नुभयो। हामीले पनि यहोवालाई त्यागेनौं भने उहाँले त्यस्तै गर्नुहुनेछ।
मोशा, गिदोन र दाऊदजस्ता आध्यात्मिक व्यक्तिले गरेजस्तो उल्लेखनीय कामहरू हामी कुनै हालतमा गर्न सक्दैनौं जस्तो लाग्न सक्छ तर तिनीहरूको विश्वासको अनुकरण गर्न सक्छौं। अनि हाबिल, हनोक र सारपातको विधवाले विश्वास झल्काउँदै गरेका साधारण कामहरू सम्झन सक्छौं। यहोवा विश्वासका स-साना कामहरूमा पनि चासो लिनुहुन्छ। ईश्वरभीरु विद्यार्थीले लागू औषध सेवन गर्न साथीको प्रस्ताव अस्वीकार गर्दा, मसीही कामदारले जागिरमा अनैतिक काममा संलग्न हुन इन्कार गर्दा वा वृद्ध साक्षी थकान वा खराब स्वास्थ्यको बावजुद विश्वासीपूर्वक मसीही सभाहरू धाउँदा यहोवाले देख्नुहुन्छ। अनि उहाँ आनन्दित हुनुहुन्छ!—हितोपदेश २७:११.
के तपाईंले अरूका कामहरू याद गर्नुहुन्छ?
हो, यहोवाले हाम्रा कामहरू याद गर्नुहुन्छ। तसर्थ, परमेश्वरको अनुकरण गर्नेहरूको हैसियतमा हामी अरूको प्रयासबारे सजग हुनुपर्छ। (एफिसी ५:१) आफ्ना सँगी मसीहीहरूले मसीही सभाहरू धाउन, क्षेत्र सेवकाईमा भाग लिन वा आफ्नो जीविकोपार्जन गर्न गरेका संघर्षहरूलाई अझ नियालेर हेरे कसो होला?
अनि यहोवाले तिनीहरूको प्रयासको निकै कदर गर्नुहुन्छ भनेर सँगी उपासकहरूलाई थाह दिनुहोस्। तपाईंले याद गर्नुभएकोमा तिनीहरू खुसी हुनेछन् र तपाईंले ख्याल राख्नुभएको हुँदा यहोवाले पनि याद गर्नुहुन्छ भनी झन् विश्वस्त हुन सक्नेछन्।