प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ८/१ pp. १४-१९
  • सत्यका परमेश्‍वरको देखासिकी गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्यका परमेश्‍वरको देखासिकी गर्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका सेवकहरूलाई सत्य थाह छ
  • यहोवाका सेवकहरू सत्यवादी छन्‌
  • यहोवाका सेवकहरूले सत्य प्रकट गर्छन्‌
  • सत्यताको मार्ग पछ्याउनुहोस्‌
  • यहोवा, सत्यका परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • छिमेकीसित सत्य बोल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ८/१ pp. १४-१९

सत्यका परमेश्‍वरको देखासिकी गर्ने

“तिमीहरू प्रिय बालकहरूझैं परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ।”—एफिसी ५:१.

१. सत्यको सन्दर्भमा कोही-कोही कस्तो विश्‍वास गर्छन्‌ र तिनीहरूको तर्क किन त्रुटिपूर्ण छ?

“सत्य के हो?” (यूहन्‍ना १८:३८) आजभन्दा लगभग २,००० वर्षअघि पन्तियस पिलातसले दोष भेट्टाउन सोधेका उक्‍त प्रश्‍नले सत्य भनेको पछ्याउन नसकिने भ्रामक वस्तु हो भनी संकेत गर्छ। आज धेरै जना यस कुरामा सहमत हुन्छन्‌। सत्य स्वयम्‌माथि आक्रमण भएको छ। सत्य के हो भनेर प्रत्येकको आफ्नै धारणा हुन्छ वा सत्य सापेक्षिक हुन्छ वा सत्य सदा परिवर्तनशील हुन्छ भनेको तपाईंले सुन्‍नुभएको होला। यस्तो तर्क त्रुटिपूर्ण छ। अनुसन्धान तथा शिक्षाको मुख्य लक्ष्य हामी बाँचिरहेको संसारबारे तथ्य कुरा थाह लगाउनु हो। सत्य भनेको व्यक्‍तिगत विचारधारामा भर पर्ने कुरा होइन। उदाहरणका लागि, मानव प्राण कि त अमर हुन्छ कि हुँदैन। शैतान कि त अस्तित्वमा छ कि छैन। कि त जीवनको उद्देश्‍य छ कि छैन। यी हरेक अवस्थामा एउटै मात्र सही जवाफ हुन सक्छ। एउटा सही हुन्छ, अनि अर्को गलत; दुवै सही हुन सक्दैनन्‌।

२. कुन-कुन तरिकाहरूमा यहोवा सत्यका परमेश्‍वर हुनुहुन्छ र अब कस्ता प्रश्‍नहरूबारे छलफल गरिनेछ?

२ अघिल्लो लेखमा हामीले यहोवा सत्यका परमेश्‍वर हुनुहुन्छ भन्‍ने विषयमा विचार गऱ्‍यौं। उहाँलाई सबै कुराबारे सत्य थाह छ। उहाँको छली शत्रु शैतान अर्थात्‌ दियाबलको बिलकुलै विपरीत, यहोवा सधैं सत्यवादी हुनुहुन्छ। अझ अर्को कुरा, यहोवाले कुनै कन्जुस्याइँ नगरी अरूसामु सत्य प्रकट गर्नुहुन्छ। प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “तिमीहरू प्रिय बालकहरूझैं परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ।” (एफिसी ५:१) यहोवाका साक्षीहरूको हैसियतमा, सत्य बोल्ने र त्यसैअनुसार जीवन बिताउने सन्दर्भमा हामी कसरी उहाँको देखासिकी गर्न सक्छौं? यसो गर्नु किन महत्त्वपूर्ण छ? अनि सत्यताको मार्ग पछ्याउनेहरूलाई यहोवाले निगाह गर्नुहुन्छ भन्‍ने कस्तो आश्‍वासन हामीसित छ? आउनुहोस्‌, हामी हेरौं।

३, ४. “आखिरी दिनहरूमा” के हुनेछ भनी प्रेरित पावल तथा पत्रुसले कसरी वर्णन गरे?

३ हामी धार्मिक असत्य व्याप्त भएको समयमा बाँचिरहेका छौं। ईश्‍वरीय प्रेरणा पाएर प्रेरित पावलले अगमवाणी गरेझैं, यी “आखिरी दिनहरूमा” थुप्रै मानिसहरूले भक्‍तिको भेषचाहिं लिन्छन्‌ तर त्यसको शक्‍तिलाई इन्कार गर्छन्‌। कोही-कोही “भ्रष्ट दिमागका” भएर सत्यको विरोध गर्छन्‌। अझ, “दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌-झन्‌ दुष्ट हुँदै” जान्छन्‌। यस्ता मानिसहरू सिक्न त सधैं सिक्छन्‌, तर “सत्यको ज्ञानमा कहिल्यै” आउँदैनन्‌।—२ तिमोथी ३:१, ५, ७, ८, १३, नयाँ संशोधित संस्करण।

४ प्रेरित पत्रुस पनि आखिरी दिनबारे लेख्न प्रेरित भएका थिए। तिनले भविष्यवाणी गरेअनुसारै, मानिसहरूले सत्यलाई इन्कार गर्ने मात्र होइन तर परमेश्‍वरको वचन तथा यसमा भएको सत्य घोषणा गर्ने व्यक्‍तिहरूको गिल्ला पनि गर्छन्‌। गिल्ला गर्ने यस्ता व्यक्‍तिहरूले नूहको दिनमा जलप्रलय आएको थियो र यो भविष्यमा हुने न्यायको दिनको निम्ति एउटा नमुना हो भन्‍ने तथ्य “जानीबुझीकन पनि” बेवास्ता गर्छन्‌। भक्‍तिहीन मानिसहरूको विनाश गर्ने परमेश्‍वरको दिन आउँदा, तिनीहरूको कपोलकल्पित विचारको कारण तिनीहरूले विपत्ति भोग्नेछन्‌।—२ पत्रुस ३:३-७.

यहोवाका सेवकहरूलाई सत्य थाह छ

५. अगमवक्‍ता दानियलअनुसार, “अन्तको समय[मा]” के हुनेछ र यो भविष्यवाणी कसरी पूरा भएको छ?

५ “अन्तको समयको” एउटा विवरणमा, अगमवक्‍ता दानियलले परमेश्‍वरका जनहरूमाझ एउटा बिलकुल बेग्लै घटनाक्रमबारे अग्रिमवाणी गरे। त्यो हो—धार्मिक सत्यको पुनर्स्थापना। तिनले यस्तो लेखे: “धेरै जना यता र उता जानेछन्‌ र साँचो ज्ञान प्रशस्त हुनेछ।” (दानियल १२:४, NW) महाठगको कारण यहोवाका जनहरू अलमलमा पर्दैनन्‌ वा अन्धा हुँदैनन्‌। बाइबलका पानाहरूमा यता र उता खोजेर तिनीहरूले साँचो ज्ञान भेट्टाएका छन्‌। प्रथम शताब्दीमा, येशूले आफ्ना चेलाहरूलाई ज्योति दिनुभयो। “धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूका समझ खोलिदिनुभयो।” (लूका २४:४५) यहोवाले आज हाम्रो दिनमा पनि त्यसै गर्नुभएको छ। आफ्नो वचन, आत्मा तथा संगठनमार्फत उहाँले पृथ्वीभरिका लाखौं व्यक्‍तिहरूलाई उहाँलाई पहिल्यै थाह भइसकेको कुरा, सत्य बुझ्न सक्षम बनाउनुभएको छ।

६. आज परमेश्‍वरका जनहरूले कस्ता बाइबल सत्यहरू बुझेका छन्‌?

६ परमेश्‍वरका जनहरू भएको कारण, नत्र कहिल्यै बुझ्न नसक्ने थुप्रै कुरासमेत हामीले बुझेका छौं। संसारका बुद्धिमान्‌ मानिसहरूले हजारौं वर्षदेखि सामना गरिरहेका प्रश्‍नहरूको जवाफ हामीलाई थाह छ। उदाहरणका लागि, दुःख-कष्ट रहिरहनुको कारण के हो, मानिसहरू किन मर्छन्‌ र मानिसहरूले किन विश्‍वशान्ति तथा एकताको लक्ष्य हासिल गर्न सक्दैनन्‌ भनी हामीलाई थाह छ। भविष्य कस्तो हुनेछ अर्थात्‌ परमेश्‍वरको राज्य, पार्थिव प्रमोदवन र अनन्तकालीन सिद्ध जीवनबारे पनि हामीलाई थाह छ। हामीले सर्वोच्च व्यक्‍ति, यहोवालाई चिनेका छौं। उहाँको आकर्षक व्यक्‍तित्वका साथै उहाँको आशिष्‌को आनन्द उठाउन हामीले के गर्नुपर्छ भनेर पनि सिकेका छौं। यो सत्य थाह पाउँदा हामीले असत्य कुरा के हुन्‌ भनेर चिन्‍न सक्छौं। यस सत्यलाई प्रयोगमा ल्याउँदा यसले हामीलाई व्यर्थका कुराको पछि लाग्नबाट जोगाउँछ, जीवनबाट सर्वोत्तम फाइदा उठाउन मदत गर्छ अनि भविष्यको लागि अद्‌भुत आशा दिन्छ।

७. बाइबल सत्य कसको लागि उपलब्ध छ र कसको लागि छैन?

७ के तपाईं बाइबल सत्य बुझ्नुहुन्छ? त्यसो हो भने, तपाईंले प्रशस्त मात्रामा आशिष्‌ पाउनुभएको छ। एक जना लेखकले कुनै पुस्तक लेख्दा, अक्सर तिनले कुनै खास वर्गका मानिसहरूको निम्ति रोचक हुने गरी तयार पारेका हुन्छन्‌। कुनै पुस्तक उच्च शिक्षा हासिल गरेकाहरूको लागि लेखिएका हुन्छन्‌, अरूचाहिं बच्चाहरूका लागि भने अरू कतिपयचाहिं कुनै खास क्षेत्रका मानिसहरूका लागि लेखिएका हुन्छन्‌। बाइबल सबै जनाले सजिलै प्राप्त गर्न सक्ने भए तपानि यो एउटा वर्गका व्यक्‍तिहरूले मात्र बुझून्‌ र लाभ उठाऊन्‌ भनेर लेखिएको हो। यहोवाले यो पुस्तक पृथ्वीका विनयी, नम्र व्यक्‍तिहरूका लागि तयार पार्नुभयो। यस्ता व्यक्‍तिहरूले आफ्नो शिक्षा, संस्कृति, जीवनस्तर वा जातियता जस्तोसुकै भए तापनि बाइबलको अर्थ बुझ्न सक्छन्‌। (१ तिमोथी २:३, ४) अर्कोतर्फ, चाहे जतिसुकै बुद्धिमान्‌ वा शिक्षित किन नहोऊन्‌, उचित मानसिक प्रवृत्ति नभएकाहरूलाई बाइबल सत्य बुझ्ने समझ दिइएको छैन। अहंकारी अर्थात्‌ घमण्डीहरूले परमेश्‍वरको वचनका अमूल्य सत्यहरू बुझ्न सक्दैनन्‌। (मत्ती १३:११-१५; लूका १०:२१; प्रेरित १३:४८) यस्तो पुस्तक परमेश्‍वरले मात्र तयार पार्न सक्नुहुन्थ्यो।

यहोवाका सेवकहरू सत्यवादी छन्‌

८. येशू किन सत्यको मूर्तरूप हुनुहुन्थ्यो?

८ यहोवाजस्तै, उहाँका विश्‍वासी सेवकहरू पनि सत्यवादी छन्‌। यहोवाको सर्वोत्कृष्ट साक्षी, येशू ख्रीष्टले आफूले सिकाएका कुरा र आफ्नो जीवन शैली तथा मृत्युद्वारा सत्यको पुष्टि गर्नुभयो। उहाँले यहोवाका वचन तथा प्रतिज्ञाहरूको सत्यलाई समर्थन गर्नुभयो। फलस्वरूप, येशू आफैले भन्‍नुभएझैं उहाँ सत्यको मूर्तरूप हुनुहुन्थ्यो।—यूहन्‍ना १४:६; प्रकाश ३:१४; १९:१०.

९. सत्य बोल्नेबारे धर्मशास्त्रले के बताउँछ?

९ येशू “अनुग्रह र सत्यले पूर्ण” हुनुहुन्थ्यो र उहाँको “मुखमा केही छल थिएन।” (यूहन्‍ना १:१४; यशैया ५३:९) अरूसित सत्यवादी हुने सन्दर्भमा साँचो मसीहीहरू येशूले बसाल्नुभएको नमुना पछ्याउँछन्‌। पावलले सँगी विश्‍वासीहरूलाई यस्तो सल्लाह दिए: “हरेकले आफ्नो आफ्नो छिमेकीसित सत्य बोल, किनकि हामी एक दोस्रोका अंग हौं।” (एफिसी ४:२५) यसभन्दा अघि, अगमवक्‍ता जकरियाले यस्तो लेखे: “हरेकले आफ्नो छिमेकीसित साँचो बोल्ने गर।” (जकरिया ८:१६) मसीहीहरू सत्यवादी छन्‌ किनभने तिनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन चाहन्छन्‌। यहोवा सत्यवादी हुनुहुन्छ र उहाँलाई झूटले गर्दा हुने हानिबारे थाह छ। त्यसकारण उहाँले आफ्ना सेवकहरूले सत्य बोलेको चाहनु तार्किक हो।

१०. मानिसहरू किन झूट बोल्छन्‌ र यसले गर्दा कस्ता हानिकारक नतिजाहरू हुन्छन्‌?

१० थुप्रैलाई झूट बोल्नु भनेको कुनै खास लाभ प्राप्त गर्ने सजिलो तरिकाजस्तो लाग्ला। मानिसहरू सजायबाट जोगिन, कुनै तरिकामा मुनाफा आर्जन गर्न वा अरूको प्रशंसा पाउन झूट बोल्छन्‌। यद्यपि, झूट बोल्ने बानी एउटा दुर्गुण हो। अझ अर्को कुरा, झूट बोल्ने व्यक्‍तिले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। (प्रकाश २१:८, २७; २२:१५) हामी सत्यवादी व्यक्‍तिको रूपमा चिनिन्छौं भने हामीले भनेको कुरामा अरूले विश्‍वास गर्छन्‌; तिनीहरूले हामीमाथि भरोसा गर्छन्‌। तथापि, हामीले एउटा मात्र पनि झूट कुरा बोलेको पत्ता लाग्यो भने, भविष्यमा हामीले बोल्ने हरेक कुराको सत्यतामाथि अरूले शंका गर्न सक्छन्‌। एउटा अफ्रिकी उखान यसो भन्छ: “एउटा झूटले हजार सत्यलाई बेकाम बनाइदिन्छ।” अर्को उखान यसो भन्छ: “ढँटुवाले सत्य नै बोले तापनि कसैले पत्याउँदैन।”

११. कुन तरिकामा सत्यवादी हुनु भनेको सत्य बोल्नु मात्र होइन?

११ सत्यवादी हुनु भनेको सत्य बोल्नु मात्र होइन। यो जीवनको एउटा मार्ग हो। यसले हामी को हौं भनेर देखाउँछ। हामी आफूले बोल्ने कुराद्वारा मात्र होइन तर गर्ने कामद्वारा पनि अरूलाई सत्य चिनाउँछौं। प्रेरित पावलले यसरी सोधे: “के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ? न चोर भनेर मानिसलाई तिमी प्रचार गर्नेले, के आफै चोर्छौ? व्यभिचार नगर भन्‍ने तिमीले के आफै व्यभिचार गर्छौ?” (रोमी २:२१, २२) अरूलाई सत्य बाँड्‌न चाहन्छौं भने हामी आफ्ना सबै मार्गहरूमा सत्यवादी हुनै पर्छ। सत्यवादी र इमानदार भनी कमाएको नाउँले हामीले सिकाएको कुराप्रति मानिसहरूले देखाउने प्रतिक्रियामा ठूलो असर गर्नेछ।

१२, १३. सत्यताको सन्दर्भमा एक जना केटीले के लेखिन्‌ र तिनले उच्च नैतिक स्तर राख्नुको कारण के थियो?

१२ यहोवाका सेवकहरूमाझका केटाकेटीहरूले समेत सत्यवादी हुनुको महत्त्वबारे बुझेका छन्‌। स्कूलमा लेख्न लगाइएको एउटा निबन्धमा, त्यतिखेर १३ वर्ष पुगेकी जेन्‍नीले यस्तो लेखिन्‌: “म इमानदारितालाई साँच्चै मूल्यवान्‌ ठान्छु। दुःखको कुरा, आज थुप्रै मानिसहरू पूर्ण रूपमा इमानदार छैनन्‌। म आफ्नो जीवनभर इमानदारिता कायम राख्ने वाचा गर्छु। सत्य बोल्दा त्यसले मलाई वा मेरा साथीहरूलाई तत्काल फाइदा नपुऱ्‍याए तापनि म इमानदार रहनेछु। सत्य बोल्ने र इमानदार व्यक्‍तिहरूलाई मात्र आफ्नो साथी बनाउन म सजग रहन्छु।”

१३ यस निबन्धबारे टिप्पणी गर्दै जेन्‍नीकी शिक्षिकाले यसो भनिन्‌: “सानै उमेरकी भए तापनि तिमी नैतिकता तथा आचरणसम्बन्धी यस्तो बलियो सिद्धान्तमा अडिग छ्‌यौ। मलाई थाह छ तिमी आफ्नो सिद्धान्तमा अडिग रहनेछ्‌यौ किनभने तिमीसित ठूलो नैतिक बल छ।” यस स्कूले केटीसित नैतिक बल हुनुको कारण के थियो? आफ्नो निबन्धको सुरुमा जेन्‍नीले लेखिन्‌ कि तिनको धर्मले “[तिनको] जीवनका स्तरहरू निर्धारण गर्छ।” जेन्‍नीले उक्‍त निबन्ध लेखेको सात वर्ष बितिसकेको छ। तिनकी शिक्षिकाले भनेअनुसारै, जेन्‍नीले यहोवाको साक्षीको हैसियतमा उच्च नैतिक स्तर प्रदर्शन गरिरहेकी छिन्‌।

यहोवाका सेवकहरूले सत्य प्रकट गर्छन्‌

१४. विशेष गरी परमेश्‍वरका सेवकहरूसित किन सत्यलाई समर्थन गर्ने ठूलो जिम्मेवारी छ?

१४ निस्सन्देह, यहोवाका साक्षीहरूबाहेक अरूले पनि सत्य बोल्लान्‌ र इमानदार हुने कोसिस गर्लान्‌। तथापि, परमेश्‍वरका सेवकहरूको हैसियतमा, विशेष गरी हामीसित सत्यको समर्थन गर्ने ठूलो जिम्मेवारी छ। हामीलाई बाइबल सत्य सुम्पिएको छ—यो सत्यले मानिसलाई अनन्त जीवनतर्फ डोऱ्‍याउन सक्छ। यसर्थ, उक्‍त ज्ञान अरूलाई बाँड्‌नु हाम्रो दायित्व हो। येशूले यसो भन्‍नुभयो: “धेरै पाउने जुनसुकैबाट पनि धेरै लिइनेछ।” (लूका १२:४८) परमेश्‍वरको अमूल्य ज्ञान पाएकाहरूसित पक्कै पनि ‘धेरै लिइन्छ।’

१५. अरूलाई बाइबल सत्य बाँड्‌दा तपाईंले कस्तो आनन्द पाउनुहुन्छ?

१५ अरूलाई बाइबल सत्य बाँड्‌नुमा आनन्द छ। येशूका प्रथम शताब्दीका चेलाहरूजस्तै हामी पनि “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका” अनि “भूतात्माहरूका सिद्धान्त[द्वारा]” अन्धा भएका तथा अलमलमा परेकाहरूलाई सुसमाचार अर्थात्‌ आशाको हृदयस्पर्शी सन्देश घोषणा गर्छौं। (मत्ती ९:३६; १ तिमोथी ४:१) प्रेरित यूहन्‍नाले यस्तो लेखे: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढता आनन्द अरू मलाई हुँदैन।” (३ यूहन्‍ना ४) यूहन्‍नाका “छोरा-छोरीहरू” अर्थात्‌ सायद तिनले सत्य सुनाएका व्यक्‍तिहरूको विश्‍वासीपन देख्दा तिनले ठूलो आनन्द पाए। मानिसहरूले परमेश्‍वरको वचनप्रति मूल्यांकन प्रदर्शन गरेको देख्दा हामी आनन्दित हुन्छौं।

१६, १७. (क) किन सबैले सत्य स्वीकार्दैनन्‌? (ख) बाइबल सत्य घोषणा गर्दा तपाईं कस्तो आनन्द अनुभव गर्न सक्नुहुन्छ?

१६ हुन त हो, सबैले सत्य स्वीकार्नेछैनन्‌। त्यति लोकप्रिय नभए तापनि येशूले परमेश्‍वरबारे सत्य बोल्नुभयो। उहाँले यहूदी विरोधीहरूलाई यसो भन्‍नुभयो: “किन तिमीहरू मलाई विश्‍वास गर्दैनौ? जो परमेश्‍वरको हो, त्यसले परमेश्‍वरको कुरा सुन्दछ। तिमीहरू यही कारणले सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका तर्फबाट होइनौ।”—यूहन्‍ना ८:४६, ४७.

१७ येशूजस्तै, हामी पनि यहोवाबारे अमूल्य सत्य बताउनदेखि पछि हट्‌दैनौं। हामीले भनेका कुरा सबै मानिसहरूले स्वीकारून्‌ भन्‍ने आशा हामी गर्दैनौं, किनभने येशूले भन्‍नुभएका कुरा पनि सबै मानिसहरूले स्वीकारेनन्‌। यद्यपि, हामीले ठीक काम गरिरहेका छौं भन्‍ने थाह पाउँदा प्राप्त हुने आनन्द महसुस गर्छौं। यहोवाको करुणाको कारण उहाँ मानिसजातिसामु सत्य प्रकट भएको चाहनुहुन्छ। मसीहीहरूसित सत्य भएको कारण तिनीहरू अन्धकारमय संसारमा ज्योतिवाहक हुन्छन्‌। हाम्रो वचन तथा कामद्वारा सत्यको ज्योति चम्कन दिएर स्वर्गमा बस्नुहुने हाम्रा पितालाई महिमा दिन हामी अरूलाई मदत गर्न सक्छौं। (मत्ती ५:१४, १६) शैतानको तथाकथित सत्यलाई इन्कार गर्छौं अनि परमेश्‍वरको शुद्ध तथा निष्कलंक वचनलाई समर्थन गर्छौं भनी हामी खुलेआम थाह दिन्छौं। हामीलाई थाह भएको अनि हामीले बताउने सत्यले, यो स्वीकार्नेहरूलाई साँचो स्वतन्त्रता दिन सक्छ।—यूहन्‍ना ८:३२.

सत्यताको मार्ग पछ्याउनुहोस्‌

१८. येशूले नथनेलप्रति किन र कसरी निगाह देखाउनुभयो?

१८ येशूले सत्यलाई प्रेम गर्नुभयो र सत्य बोल्नुभयो। आफ्नो पार्थिव सेवकाईको दौडान, उहाँले सत्यवादी मानिसहरूतर्फ निगाह देखाउनुभयो। येशूले नथनेलबारे यसो भन्‍नुभयो: “हेर, साँच्चै एउटा इस्राएली, जसमा छल छैन।” (यूहन्‍ना १:४७) पछि, सम्भवतः बारथोलोमाइ भनिएको नथनेललाई १२ जना प्रेरितहरूमध्ये हुन रोजियो। (मत्ती १०:२-४) कस्तो सम्मान!

१९-२१. पहिलेको अन्धो मानिसले सत्य बोल्ने तिनको साहसको लागि कसरी आशिष्‌ पाए?

१९ बाइबलको पुस्तक यूहन्‍नाको एउटा पूरै अध्यायले येशूले इनाम दिनुभएको अर्को एक जना इमानदार मानिसको विवरण दिन्छ। हामीलाई तिनको नाउँ त थाह छैन। ती मानिस माग्ने थिए र तिनी जन्मजातै अन्धा थिए भन्‍ने कुराचाहिं हामीलाई थाह छ। येशूले तिनको दृष्टि फर्काइदिनुहुँदा मानिसहरू छक्क परे। येशूमाथि विश्‍वास गर्ने जोसुकैलाई पनि सभाघरबाट निकालिदिन आपसमा सहमत भएका, सत्यलाई घृणा गर्ने केही फरिसीहरूको कानमा यस चमत्कारपूर्ण निवारणको खबर पुग्यो। तिनीहरूको षड्यन्त्र थाह पाएर, पहिलेको अन्धो मानिसका आमाबाबु डराएर फरिसीहरूसित झूट बोले। आफ्नो छोरो कसरी देख्ने भयो र उसलाई कसले निको पाऱ्‍यो भन्‍ने कुरा थाह छैन भनी तिनीहरूले बताए।—यूहन्‍ना ९:१-२३.

२० निको पारिएको त्यस व्यक्‍तिलाई फेरि फरिसीहरूसामु हाजिर गराइयो। आफूमाथि आइपर्न सक्ने नतिजाको वास्ता नगरी तिनले साहससाथ सत्य बोले। तिनी कसरी निको भए र यो काम गर्ने येशू हुनुहुन्थ्यो भनेर तिनले बताए। यी प्रतिष्ठित तथा शिक्षित मानिसहरूले येशू परमेश्‍वरको तर्फबाट आउनुभएको हो भन्‍ने कुरा विश्‍वास नगरेको देखेर, निको भएका ती मानिसले तीन छक पर्दै तिनीहरूलाई निम्न तथ्य स्वीकार्न साहससाथ आग्रह गरे: “यदि यी मानिस परमेश्‍वरतर्फका नहुनुहुँदो हो ता उहाँले केही गर्न सक्नुहुने थिएन।” प्रतिवाद गर्ने कुनै तरिका नपाएको कारण फरिसीहरूले ती मानिसलाई मानहानिको आरोप लगाएर निकालिदिए।—यूहन्‍ना ९:२४-३४.

२१ यो कुरा थाह पाउनुभएपछि येशूले ती मानिसलाई खोज्न मायालुपूर्वक समय निकाल्नुभयो। तिनलाई भेट्‌टाएपछि, उहाँले पहिलेका ती अन्धा मानिसले देखाएका विश्‍वासलाई अझ बलियो बनाउनुभयो। येशूले आफूलाई मसीहको रूपमा खुलमखुल्ला चिनाउनुभयो। सत्य बताएको कारण ती मानिसले कत्रो ठूलो आशिष्‌ पाए! पक्कै पनि सत्य बोल्नेहरूले ईश्‍वरीय अनुमोदन पाउँछन्‌।—यूहन्‍ना ९:३५-३७.

२२. हामीले किन सत्यताको मार्ग पछ्याउनुपर्छ?

२२ सत्यअनुसार चल्नु भनेको हामीले गम्भीरतासाथ लिनुपर्ने कुरा हो। यो मानिसहरू र परमेश्‍वरसित असल सम्बन्ध बसाल्न तथा यसलाई कायम राख्न महत्त्वपूर्ण छ। सत्यवादी हुनु भनेको खुला, निष्कपट, सजिलै कुरा गर्न सकिने र भरोसायोग्य हुनु हो अनि यस्तो हुँदा यहोवाको अनुमोदन पाइन्छ। (भजन १५:१, २) सत्यवादी नहुनु भनेको छली, भरपर्दो नहुनु र झूटो हुनु हो अनि यस्तो हुँदा यहोवाको निगाह पाइँदैन। (हितोपदेश ६:१६-१९) त्यसकारण सत्यताको मार्ग पछ्याउन कटिबद्ध हुनुहोस्‌। निस्सन्देह, सत्यका परमेश्‍वरको देखासिकी गर्न हामीलाई सत्य थाह हुनुपर्छ, सत्य बोल्नुपर्छ र सत्यअनुसार जिउनुपर्छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• सत्य थाह पाएकोमा हामी किन कृतज्ञ हुन सक्छौं?

• सत्यवादी हुने सन्दर्भमा हामी कसरी यहोवाको देखासिकी गर्न सक्छौं?

• अरूलाई बाइबल सत्य बाँड्‌दा कस्ता लाभहरू हुन्छन्‌?

• सत्यताको मार्ग पछ्याउनु किन महत्त्वपूर्ण छ?

[पृष्ठ १७-मा भएका चित्रहरू]

मसीहीहरूलाई बाइबल सत्य सुम्पिएको कारण तिनीहरूले यो जोसकासाथ अरूलाई बाँड्‌छन्‌

[पृष्ठ १८-मा भएका चित्रहरू]

सत्य कुरा बताएको कारण येशूले निको पार्नुभएको अन्धा मानिसले प्रशस्त आशिष्‌ पाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने