कौशल हुने कला सिक्ने
आफ्नो ठूलो छोराले सानो छोरासित रूखो बोलीमा कुरा गरिरहेको पेगीले याद गरिन्। “के तिमीलाई आफ्नो भाइसित बोल्ने राम्रो तरिका त्यै हो जस्तो लाग्छ?” भनेर तिनले सोधिन्। “हेर, बिचरा ऊ कत्ति दुःखी छ!” किन तिनले त्यसो भनिन्? तिनले आफ्नो छोरालाई कौशलतासाथ व्यवहार गर्न र अरूको भावनाको ख्याल गर्न सिकाउन खोजिरहेकी थिइन्।
प्रेरित पावलले आफ्ना सँगी जवान तिमोथीलाई “सबैप्रति भला” [वा “कौशल”] हुन प्रोत्साहन दिए। यस्तो भएको खण्डमा तिमोथीले अरूका भावनासित खेलवाड गरिरहेका हुने थिएनन्। (२ तिमोथी २:२४) कौशल भनेको के हो? यस क्षेत्रमा तपाईं कसरी उन्नति गर्न सक्नुहुन्छ? अनि यो कला विकास गर्न तपाईं कसरी अरूलाई मदत गर्न सक्नुहुन्छ?
कौशल भनेको के हो?
कौशल शब्दलाई “परिस्थितिको संवेदनशीलतालाई बुझ्ने र त्यसैअनुरूप सुहाउँदो काम वा दयालु वचन गर्ने दक्षता” भनी परिभाषित गरिएको छ। कौशल व्यक्तिले अरू मानिसहरूको भावना बुझ्नुका साथै आफ्नो वचन तथा कामहरूले कसरी उनीहरूलाई असर गर्छ भनी बुझ्न सक्छ। तर यसो गर्न सक्नु एउटा कला मात्र होइन; यसमा अरूलाई चोट नपुऱ्याउने साँचो इच्छा बिथोलित छ।
एलीशाको चाकर गेहजीबारे बाइबल विवरणमा हामी अरूसित कौशलतासाथ व्यवहार गर्न नजान्ने एक जना व्यक्तिको उदाहरण पाउँछौं। भर्खरै आफ्नो काखमा छोराको मृत्यु भएकी शुनैमी स्त्री सान्त्वना खोज्दै एलीशाकहाँ आउँछिन्। के सबै कुरा कुशल छ भनी सोद्धा तिनले यस्तो जवाफ दिइन्: “सबै कुशलै छन्।” तर जब तिनी अगमवक्ताकहाँ पुगिन्, “तिनलाई हटाउनलाई गेहजी अघि सरेर आयो।” अर्कोतर्फ, एलीशाले यसो भने: “छोड़िदे। तिनलाई साह्रै ठूलो कष्ट परेको छ।”—२ राजा ४:१७-२०, २५-२७.
गेहजीले कसरी विचारै नपुऱ्याइकन र अविवेकी ढंगमा व्यवहार गर्न सकेका होलान्? हुन त हो, सोधेको बेला उक्त स्त्रीले आफ्नो भावना व्यक्त गरिनन्। तर अधिकांश मानिसहरूले जो पायो त्यसैलाई आफ्ना भावनाहरू पोखाउँदैनन्। तैपनि, कुनै न कुनै तरिकामा तिनको भावना प्रकट भएको हुनुपर्छ। एलीशाले तिनको भावना बुझ्न सके तर गेहजीले भने बुझ्न सकेनन् वा जानाजानी बुझ पचाए। यसले कौशलतासाथ व्यवहार गर्न नसक्नुको एउटा साधारण कारण दर्साउँछ। कुनै व्यक्तिले आफ्नो कामलाई मात्र बढी महत्त्वपूर्ण ठान्दा, आफूले व्यवहार गर्ने व्यक्तिहरूका आवश्यकताहरू बुझ्न वा त्यसको ख्याल गर्नदेखि ऊ सजिलै चुक्न सक्छ। तिनी त यस्तो बस चालकजस्तो हो, जसलाई समयमा आइपुग्ने मात्र धुन लागेको कारण बाटोका यात्रुहरूलाई उठाउन बस रोक्दै रोकेनन्।
कौशलतासाथ व्यवहारै गर्न नजान्ने व्यक्ति गेहजीजस्तो नहुनका लागि, मानिसहरूप्रति दयालु हुने प्रयत्न गर्नुपर्छ किनभने उनीहरूले वास्तवमा कस्तो महसुस गर्छन् भन्ने कुरा हामीलाई थाह हुँदैन। मानिसको भावना प्रकट गर्ने संकेतहरूप्रति हामी सधैं सजग हुनुपर्छ र दयालु शब्द वा कार्यद्वारा त्यो देखाउनुपर्छ। यस सन्दर्भमा तपाईं कसरी आफ्नो कला तिखार्न सक्नुहुन्छ?
अरूका भावनाहरू बुझ्ने
मानिसहरूका भावना बुझ्ने र उनीहरूसित दयालुपूर्वक व्यवहार गर्ने उत्तम तरिका पत्ता लगाउने सम्बन्धमा येशू उल्लेखनीय हुनुहुन्थ्यो। एक चोटि उहाँ फरिसी शिमोनको घरमा खान खाइरहनुभएको बेला “शहरको एउटी पापी” भनेर चिनिने आइमाई उहाँकहाँ आइन्। यसपालि पनि केही भनिएको थिएन तर देख्न सकिने थुप्रै कुराहरू थिए। तिनले “एउटा सिङ्गमर्मरको भुँडुल्कोमा मलहम लिएर, पछिल्तिरबाट उहाँका पाउनेर उभिएर रूँदै [येशूका] पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछतै उहाँका पाउलाई चुम्मन गरी, औ त्यो मलहम घस्नलागी।” यी सबै गर्नुको कारण येशूले बुझ्नुभयो। अनि शिमोनले केही पनि नभने तापनि तिनले मनमनै भनिरहेको कुरा येशूले बुझ्नुभयो: “यिनी अगमवक्ता हुँदाहुन् ता उनलाई छुने को र कस्ती आइमाई हो भनी यिनले जान्ने थिए, किनकि यो ता पापीनी हो।”—लूका ७:३७-३९.
येशूले त्यस आइमाईलाई धकेलेर पठाइदिनुभएको भए कस्तो अनिष्ट हुन्थ्यो होला वा उहाँले शिमोनलाई यसो भन्नुभएको भए के हुन्थ्यो: “ए अबुझ! के तिमी तिनको पश्चात्ताप देख्न सक्दैनौ?” त्यसो भन्नुको सट्टा, येशूले कौशलतासाथ शिमोनलाई एक जना मानिसको दृष्टान्त बताउनुभयो, जसले धेरै ऋण लिने र थोरै ऋण लिने दुवै व्यक्तिलाई माफी दिए। “कुन चाहिंले तिनलाई ज्यादा प्रेम गर्नेछ?” भनी येशूले सोध्नुभयो। यस प्रकार, शिमोनको आलोचना गरेझैं देखाउनुको साटो सही जवाफ दिएकोमा येशूले शिमोनको सराहना गर्न सक्नुभयो। त्यसपछि आइमाईका निश्छल भावनाका थुप्रै संकेत तथा पश्चात्तापका अभिव्यक्तिहरू चिन्न येशूले दयालु ढंगमा शिमोनलाई मदत गर्नुभयो। येशू त्यस आइमाईतिर फर्किनुभयो र तिनका भावनाहरू बुझेको संकेत दिनुभयो। तिनका पाप क्षमा भए भनी बताइसक्नुभएपछि उहाँले यसो भन्नुभयो: “तिम्रो विश्वासले तिम्रो उद्धार भएको छ, शान्तिसित जाऊ।” कौशलतासाथ भनिएका ती शब्दहरूले सही कुरा गर्ने तिनको कटिबद्धतालाई कत्ति सुदृढ बनायो होला! (लूका ७:४०-५०) येशू कौशल हुन सक्नुभयो किनभने मानिसहरूले कस्तो महसुस गर्छन् भन्ने कुरा उहाँले हेर्नुभयो र अनुकम्पापूर्ण व्यवहार गर्नुभयो।
येशूले शिमोनलाई मदत गर्नुभएझैं हामी पनि अरूको हावभावमा प्रकट हुने कुरा बुझ्न सिकेर अरूलाई मदत गर्न सक्छौं। अनुभवी सेवकहरूले कहिलेकाहीं नयाँ व्यक्तिहरूलाई मसीही सेवकाईमा यो कौशलता सिकाउन सक्छन्। सुसमाचार सुनाइसकेपछि उनीहरूले भेटेका मानिसहरूको भावना प्रकट हुने संकेतहरू विश्लेषण गर्न सक्छन्। के ती व्यक्ति लजालु, शंकालु, झिजो मान्ने खालका वा व्यस्त थिए? तिनलाई मदत गर्ने सबैभन्दा दयालु तरिका के हुन सक्ला? कौशल नभएकोले एक अर्कालाई चोट पुऱ्याएका भाइबहिनीहरूलाई पनि प्राचीनहरूले मदत गर्न सक्छन्। प्रत्येकलाई अरूको भावना बुझ्न मदत गर्नुहोस्। के तिनी अपमानित, उपेक्षित वा अरूले गलत अर्थ लगाएको महसुस गर्छन्? कसरी दयाले तिनलाई हल्का महसुस गर्न लगाउन सक्छ?
आमाबाबुहरूले आफ्ना छोराछोरीलाई अनुकम्पा खेती गर्न मदत गर्नुपर्छ किनभने यसले उनीहरूलाई कौशलतासाथ व्यवहार गर्न प्रेरित गर्नेछ। सुरुमा उल्लिखित पेगीका छोराले आफ्नो भाइको अनुहार रातो भएको, ओठ लेप्य्राएको र आँखा रसाएको देखे अनि भाइलाई कत्ति चित्त दुखेछ भनेर बुझे। आमाले आशा गरेझैं तिनलाई पछुतो भयो र परिवर्तन हुने संकल्प गरे। पेगीका दुवै छोराहरूले बाल्यावस्थामा सिकेका ती कलाको सदुपयोग गरे र वर्षौंपछि चेला बनाउने काममा फलदायी हुनुका साथै मसीही मण्डलीका गोठालाहरू हुन सके।
कुरा बुझ्छु भनेर देखाउनुहोस्
अरू विरुद्ध केही गुनासो छ भने, त्यस्तो अवस्थामा कौशलता झनै महत्त्वपूर्ण हुन्छ। तिनको मर्यादामा तपाईंले सजिलै धक्का पुऱ्याउन सक्नुहुन्छ। सुरुमा कुनै खास कुराको लागि सराहना गर्नु सधैं उपयुक्त हुन्छ। तिनको आलोचना गर्नुको सट्टा, समस्यामा ध्यान केन्द्रित गर्नुहोस्। तिनको व्यवहारले कसरी तपाईंलाई असर गर्छ र तिनले वास्तवमा कस्तो परिवर्तन गरेको चाहनुहुन्छ, बुझाउनुहोस्। त्यसपछि सुन्न तयार हुनुहोस्। तपाईंले तिनको कुरा राम्ररी बुझ्नु नभएको हुन सक्छ।
तपाईं सहमत नहुनु भए तापनि मानिसहरू तपाईंले उनीहरूको विचारधारा बुझेको चाहन्छन्। मार्थाको दुःख बुझें भन्ने कुरा देखाउँदै येशूले कौशलतासाथ बोल्नुभयो। उहाँले यसो भन्नुभयो: “ए मार्था, मार्था, तिमी धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दछ्यौ।” (लूका १०:४१) त्यस्तै गरी, कुनै समस्याबारे कुरा गर्दा, राम्ररी कुरै नसुनी त्यसको समाधान बताउनुभन्दा बरु, कुरा बुझ्छु भनी देखाउने उत्तम तरिका आफ्नै शब्दमा उक्त समस्या वा गुनासोलाई दोहोऱ्याउनु हो। कुरा बुझ्छु भनेर देखाउने यो एउटा दयालु तरिका हो।
भन्न नहुने कुरा थाह पाउनुहोस्
यहूदीहरूलाई नाश गर्ने हामानको षड्यन्त्रलाई रद्द गर्न आफ्नो पतिलाई बिन्ती गर्न चाहँदा आफ्नो पति प्रसन्न मुद्रामा होस् भनेर रानी एस्तरले सबै कुराको बन्दोबस्त कौशलतासाथ मिलाइन्। त्यसपछि मात्र तिनले यो संवेदनशील विषय उठाइन्। तर तिनले नभनेका कुराहरू बुझ्नु पनि निर्देशनमूलक छ। कौशल भएकी हुँदा तिनले त्यस कुटिल योजनामा आफ्नो पतिको जिम्मेवारीबारे कुरै निकालिनन्।—एस्तर ५:१-८; ७:१, २; ८:५.
त्यस्तै गरी, मसीही बहिनीको बेग्लै विश्वास भएका पतिलाई भेट्न जाँदा जानासाथ बाइबल खोलेर देखाउनुको सट्टा तिनको चासोका विषयहरू कौशलतासाथ थाह लगाएर कुराकानी सुरु गर्नुभए कसो होला? कोही अपरिचित व्यक्ति अनौपचारिक पहिरनमा वा धेरै दिन पछि राज्यभवनमा आउँदा, तिनको पहिरन वा अनुपस्थितिबारे टीकाटिप्पणी गर्नुको सट्टा तिनको न्यानो स्वागत गर्नुहोस्। अनि इच्छुक नयाँ व्यक्तिको गलत दृष्टिकोण थाह पाउनुभयो भने, त्यतिखेरै तुरुन्त नसच्याइहाल्न बेस हुन सक्छ। (यूहन्ना १६:१२) कौशलता भनेको भन्न नहुने कुरा के हो बुझेर दया देखाउनु पनि हो।
निको पार्ने बोली
कौशलतासाथ बोल्ने कला सिक्दा, कसैले तपाईंको मनसायको गलत अर्थ लगाउँदा र अत्यन्तै क्रुद्ध हुँदासमेत त्यसले तपाईंलाई अरूसित शान्तिमय सम्बन्धको आनन्द उठाउन मदत गर्नेछ। उदाहरणका लागि, एप्रैमका मानिसहरूले गिदोनलाई ‘अनेक अभियोग लगाउन खोज्दा’ तिनले तथ्य कुराको स्पष्ट विवरण र एप्रैमका मानिसहरूले हासिल गरेका उपलब्धिहरूको निष्कपट मूल्यांकन गर्दै कौशलतासाथ जवाफ दिए। कौशलतासाथ यसो गरिएको थियो किनभने तिनले उनीहरू दुःखी हुनुको कारण बुझे र तिनको विनम्रताले उनीहरूलाई शान्त गरायो।—न्यायकर्त्ता ८:१-३; हितोपदेश १६:२४.
आफ्नो बोलीले अरू मानिसहरूलाई कस्तो असर गर्नेछ, त्यसबारे सधैं विचार गर्ने कोसिस गर्नुहोस्। कौशल हुने प्रयत्न गर्दा त्यसले तपाईंलाई हितोपदेश १५:२३ मा वर्णन गरिएको आनन्द अनुभव गर्न मदत गर्नेछ: “मानिस आफ्नो जवाफले आफै खुशी हुनसक्छ भने ठीक बेलामा भनिएको कुरा झन् कति असल हुन्छ।”
[पृष्ठ ३१-मा भएको चित्र]
आमाबाबुले आफ्ना छोराछोरीलाई अरूका भावनाहरू बुझ्न सिकाउन सक्छन्
[पृष्ठ ३१-मा भएको चित्र]
अनुभवी मसीही सेवकहरूले नयाँ व्यक्तिहरूलाई कौशल हुन सिकाउन सक्छन्