प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ८/१५ pp. १४-१९
  • हामी सधैं यहोवाको नाउँमा हिंड्‌नेछौं!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी सधैं यहोवाको नाउँमा हिंड्‌नेछौं!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामी न्यायी भएको आशा गर्नुहुन्छ
  • कसका प्रार्थनाहरूको जवाफ दिइन्छ?
  • परमेश्‍वरको आत्माद्वारा बलियो तुल्याइएको
  • यहोवाले फैसला गर्नुहुन्छ
  • यहोवाको नाउँमा हिंड्‌न कटिबद्ध
  • मानिसहरूको लागि साँचो स्फूर्ति
  • यहोवाका सेवकहरूसित साँचो आशा छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवा हामीबाट के आशा गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—मीका
    हाम्रो राज्य सेवा—२०१४
  • धैर्य गर्दै ‘परमेश्‍वरको बाटो हेर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ८/१५ pp. १४-१९

हामी सधैं यहोवाको नाउँमा हिंड्‌नेछौं!

“हामी . . . सदा सर्वदै परमप्रभु आफ्ना परमेश्‍वरको नाउँमा हिंड़नेछौं।”—मीका ४:५.

१. मीका अध्याय ३ देखि ५ मा कस्ता सन्देशहरू पाइन्छन्‌?

यहोवाले आफ्ना जनहरूलाई भन्‍नुपर्ने केही कुरा छ र यसको लागि उहाँले मीकालाई आफ्नो अगमवक्‍ताको रूपमा चलाउनुहुन्छ। उहाँले भन्‍नुपर्ने त्यो कुरा, गलत काम गर्नेहरू विरुद्ध कारबाही गर्ने परमेश्‍वरको उद्देश्‍य हो। उहाँले इस्राएललाई त्यसको धर्मत्यागको निम्ति सजाय दिनुहुनेछ। तर आनन्दको कुरा, यहोवाको नाउँमा हिंड्‌नेहरूलाई उहाँले आशिष्‌ दिनुहुनेछ। यी सन्देशहरू मीकाको भविष्यवाणीको अध्याय ३ देखि ५ मा स्पष्टसित बताइएका छन्‌।

२, ३. (क) इस्राएलका नेताहरूले कस्तो गुण देखाउनुपर्छ तर वास्तवमा तिनीहरूले के गरिरहेका छन्‌? (ख) मीका ३:२, ३ मा प्रयोग गरिएको प्रतीकात्मक बोलीलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?

२ परमेश्‍वरका अगमवक्‍ता यस्तो घोषणा गर्छन्‌: “हे याकूबका घरानाका प्रधान र इस्राएलीहरूका शासकहरू हो, सुन। के न्याय जान्‍नु तिमीहरूको काम होइन?” हो, तिनीहरूले गर्नुपर्ने काम त्यही हो तर तिनीहरूले वास्तवमा के गरिरहेका छन्‌? मीका यसो भन्छन्‌: “तिमीहरू जसले, भलाइलाई घृणा गर्छौ र बुराइलाई रूचाउँछौ। तिमीहरू, जसले मेरो प्रजाको छाला काड़दछौ र तिनीहरूका हड्‌डीदेखि मासु निकाल्दछौ, तिमीहरू जसले मेरो प्रजाको मासु पनि खाँदछौ, र तिनीहरूका छाला काड़ेर हाड़हरू भाँच्तछौ, र भाँड़ामा हाल्ने र खड़कुँड़ामा पकाउने मासुझैं तिनीहरूलाई टुक्रा–टुक्रा पार्दछौ।”—मीका ३:१-३.

३ नेताहरूले गरिब, निस्सहाय मानिसहरूलाई कस्तो थिचोमिचो गरिरहेका छन्‌! यहाँ मीकाले प्रयोग गरेको प्रतीकात्मक बोली, तिनको कुरा सुन्‍ने सबैले सजिलै बुझ्न सक्छन्‌। भेडा मारेर तातो पानीमा डुबाएपछि पहिला छाला काडिन्छ अनि भाग-भाग छुट्याइन्छ। कहिलेकाहीं मासी झिक्नको लागि हड्डी टुक्रा टुक्रा पारिन्छ। मीकाले भनेझैं मासु र हड्डी एउटा ठूलो भाँडोमा उमालिन्छ। (इजकिएल २४:३-५, १०) मीकाको समयका दुष्ट नेताहरूको हातबाट मानिसहरूले भोगिरहेको दुर्व्यवहार झल्काउने कस्तो उपयुक्‍त उदाहरण!

यहोवा हामी न्यायी भएको आशा गर्नुहुन्छ

४. यहोवा र इस्राएलका नेताहरूबीच कस्तो भिन्‍नता छ?

४ मायालु गोठालो यहोवा र इस्राएलका नेताहरूबीच उल्लेखनीय भिन्‍नता छ। किनभने तिनीहरूले न्याय नगर्ने हुँदा भेडालाई जोगाउनुपर्ने काम पूरा गर्न सकेका छैनन्‌। त्यसो नगरी तिनीहरू मीका ३:१० मा बताइएझैं आफ्नै स्वार्थपूर्तिको लागि प्रतीकात्मक भेडालाई न्यायबाट वञ्चित गराएर ‘रगत बगाउँछन्‌।’ हामी यो अवस्थाबाट के सिक्न सक्छौं?

५. आफ्ना जनहरूमाझ नेतृत्व लिइरहेका मानिसहरूबाट यहोवा के आशा गर्नुहुन्छ?

५ आफ्ना जनहरूमाझ नेतृत्व लिइरहेका मानिसहरूबाट परमेश्‍वर न्यायपूर्ण व्यवहार आशा गर्नुहुन्छ। आज यहोवाका सेवकहरूमाझ यही कुरा साँचो साबित भइरहेको छ। यसबाहेक, यो यशैया ३२:१ अनुरूप छ, जहाँ यसो भनिएको छ: “हेर, राजाले न्यायोचित राज्य गर्नेछन्‌, र भारादारहरूले उचित शासन गर्नेछन्‌।” तथापि, मीकाको समयमा हामी के पाउँछौं? ‘भलाइलाई घृणा गर्ने र बुराइलाई रुचाउनेहरू’ न्यायलाई बंग्याउन लागिरहन्छन्‌।

कसका प्रार्थनाहरूको जवाफ दिइन्छ?

६, ७. मीका ३:४ मा कुन महत्त्वपूर्ण बुँदालाई जोड दिइएको छ?

६ के मीकाका दुष्ट समकालीनहरूले यहोवाको अनुग्रह पाउने आशा गर्न सक्छन्‌? अवश्‍य सक्दैनन्‌! मीका ३:४ यसो भन्छ: “तिनीहरू परमेश्‍वरको पुकारा गर्दछन्‌, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुन्‍न। तिनीहरूले बुराइ गरेको कारण उहाँले आफ्नो मुख त्यस बेला तिनीहरूदेखि लुकाउनुहुनेछ।” यसले एउटा एकदमै महत्त्वपूर्ण बुँदालाई जोड दिन्छ।

७ हामीले पाप गरिरह्‍यौं भने यहोवाले हाम्रा प्रार्थनाको जवाफ दिनुहुने छैन। हामीले दोहोरो जीवन बिताएर एकातिर गलत कार्यहरू लुकाउँछौं अनि अर्कोतिर विश्‍वासी भई परमेश्‍वरको सेवा गर्ने ढोंग गर्छौं भने अवश्‍य यस्तै हुनेछ। भजन २६:४ अनुसार दाऊदले यस्तो भजन गाए: “म व्यर्थका मानिसहरूसँग बसेको छैनँ। नता म कपटीहरूको साथमा जानेछु।” जानाजानी उहाँको वचन भंग गर्नेहरूको प्रार्थना त झन्‌ उहाँले कहाँ सुन्‍नुहुन्छ होला र!

परमेश्‍वरको आत्माद्वारा बलियो तुल्याइएको

८. मीकाको समयका झूटा अगमवक्‍ताहरूलाई कुन कुराबारे चेतावनी दिइएको थियो?

८ इस्राएलका आध्यात्मिक नेताहरूमाझ कस्ता निन्दनीय प्रचलनहरू व्याप्त छन्‌! झूटा अगमवक्‍ताहरूले परमेश्‍वरका जनहरूलाई आध्यात्मिक तवरमा अलपत्र छोड्‌छन्‌। लोभी नेताहरू “शान्ति” भनेर कराउँछन्‌ तर तिनीहरूका मुखमा केही नहालिदिनेको विरुद्धमा चाहिं लडाइँ गर्न तयार हुन्छन्‌। “त्यसकारण” यहोवा भन्‍नुहुन्छ, “तिमीहरूका लागि रात हुनेछ, र तिमीहरूले दर्शन देख्नेछैनौ। तिमीहरूलाई अँध्यारोले छोप्नेछ, र तिमीहरूले अगमवाणी गर्नेछैनौ। अगमवक्‍तामाथि सूर्य अस्ताउनेछ, र दिनचाहिं तिनीहरूका निम्ति अन्धकार हुनेछ। औ दर्शन देख्नेहहरूको बेइज्जत हुनेछ, र अगमवाणी कहनेहरू लाजमा पर्नेछन्‌। निश्‍चय तिनीहरू सबैले आफ्नो मुख [“जुँगा,” NW] छोप्नेछन्‌।”—मीका ३:५-७क.

९, १०. ‘जुँगा छोप्नुको’ अर्थ के हो र किन मीकाले त्यसो गर्नुपर्ने कुनै कारण छैन?

९ किन “जुँगा छोप्ने?” मीकाका दुष्ट समकालीनहरू लाजले त्यसो गर्छन्‌। अनि यी दुष्ट मानिसहरू लजाउनै पर्ने कारण छ। यी दुष्ट मानिसहरूको सोचाइमा “तिनीहरूले परमेश्‍वरबाट जवाफ पाउनेछैनन्‌।” (मीका ३:७ख) यहोवाले हठी दुष्ट जनहरूको प्रार्थनालाई पटक्कै ध्यान दिनुहुन्‍न।

१० मीकाले ‘आफ्नो जुँगा छोप्नुपर्ने’ कुनै कारण छैन। तिनी लज्जित भएका छैनन्‌। यहोवाले तिनका प्रार्थनाहरूको जवाफ दिनुहुन्छ। मीका ३:८ मा ध्यान दिनुहोस्‌, जहाँ विश्‍वासी अगमवक्‍ता यसो भन्छन्‌: “म . . . परमप्रभुको आत्माद्वारा शक्‍ति, न्याय र पराक्रमले पूर्ण छु।” आफ्नो लामो तथा विश्‍वासी सेवकाईको दौडान सधैंभरि “परमप्रभुको आत्माद्वारा शक्‍तिले . . . पूर्ण” भएकोमा मीका कति कृतज्ञ छन्‌! “याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पाप जनाइदिन” यसले तिनलाई बल प्रदान गरेको छ।

११. परमेश्‍वरको सन्देश घोषणा गर्न मानिसहरूलाई कसरी बलियो बनाइन्छ?

११ प्रतिकूल न्यायबारे परमेश्‍वरको सन्देश उद्‌घोषणा गर्न मीकालाई मानव बल मात्र पर्याप्त छैन। यहोवाको आत्मा वा शक्‍तिशाली सक्रिय शक्‍ति अत्यावश्‍यक छ। हामीलाई नि? यहोवाले आफ्नो पवित्र आत्माद्वारा हामीलाई सुदृढ पार्नुभयो भने मात्र हामी आफ्नो प्रचारकार्य पूरा गर्न सक्छौं। हामी जानाजानी पाप गरिरहन्छौं भने प्रचार गर्ने हाम्रो प्रयास व्यर्थ हुनेछ। त्यस्तो अवस्थामा यो कार्य गर्न बल माग्दै प्रार्थना गरे पनि परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्‍न। “परमप्रभुको आत्मा” हामीमा नभएको खण्डमा स्वर्गमा हुनुहुने हाम्रो पिताले गर्नुहुने न्यायको सन्देश पक्कै घोषणा गर्न सक्दैनौं। सुनुवाइ हुने प्रार्थना र पवित्र आत्माको मदतद्वारा हामी मीकाजस्तै साहसी भएर परमेश्‍वरको वचनबारे सुनाउन सक्छौं।

१२. येशूका प्रारम्भिक चेलाहरूले किन ‘बिलकुल निर्भयतासाथ परमेश्‍वरको वचन बोलिरहन’ सके?

१२ सायद तपाईंले प्रेरित ४:२३-३१ मा दिइएको विवरण सम्झनुभएको होला। कल्पना गर्नुहोस्‌, तपाईं प्रथम शताब्दीका येशूका चेलाहरूमध्ये हुनुहुन्छ। कट्टरपन्थी उत्पीडकहरूले ख्रीष्टका अनुयायीहरूको मुख बन्द गर्न खोजिरहेका छन्‌। तर यी भक्‍त जनहरू सार्वभौम प्रभुलाई यसरी बिन्ती गर्दै प्रार्थना गर्छन्‌: “हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्‌, र तपाईंका दासहरूलाई बिलकुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्‌।” परिणाम कस्तो हुन्छ? तिनीहरूले अन्तरबिन्ती गर्दा तिनीहरू भेला भएको ठाउँमा कम्प हुन्छ र तिनीहरू एक-एक गरी सबै जना पवित्र आत्माले भरिन्छन्‌ र निर्भयतासाथ परमेश्‍वरको वचन बोल्छन्‌। त्यसकारण, आफ्नो सेवकाईको काम गर्दा, हामी प्रार्थनापूर्वक यहोवाको बाटो हेरेर पवित्र आत्माद्वारा उहाँको मदतमा भरोसा राख्न सकौं।

१३. यरूशलेम र सामरियालाई के हुनेछ र किन?

१३ फेरि मीकाको समयबारे सोच्नुहोस्‌। मीका ३:९-१२ अनुसार रक्‍तदोषी न्यायकर्ताहरूले घुस खाएर न्याय गर्छन्‌, पूजाहारीहरूले व्यवस्था सिकाउन ज्याला लिन्छन्‌ अनि झूटा अगमवक्‍ताहरूले पैसाको लागि अगमवाणी सुनाउँछन्‌। त्यसैकारण परमेश्‍वरले यहूदाको राजधानी, यरूशलेम “भत्केको ढेर बन्‍नेछ” भन्‍ने आदेश जारी गर्नु कुनै छक्कलाग्दो कुरा होइन! इस्राएलमा पनि झूटो उपासना र नैतिक भ्रष्टाचार व्याप्त भएको कारण परमेश्‍वरले सामरियालाई “ढुंगाको थुप्रो” बनाउनुहुनेछ भनेर चेतावनी दिन मीका उत्प्रेरित हुन्छन्‌। (मीका १:६) वास्तवमा, सा.यु.पू. ७४० मा अश्‍शूरी सेनाले सामरियाको विनाश गरेको हेर्न ती अगमवक्‍ता जीवितै हुन्छन्‌। (२ राजा १७:५, ६; २५:१-२१) यरूशलेम र सामरिया विरुद्धका यी शक्‍तिशाली सन्देशहरू यहोवाको बलद्वारा मात्र घोषणा गर्न सकिन्छ भन्‍ने कुरा प्रस्ट छ।

१४. मीका ३:१२ मा लिपिबद्ध भविष्यवाणी कसरी पूरा भयो र त्यसले हामीलाई कस्तो असर पार्नुपर्छ?

१४ यहोवाको प्रतिकूल न्यायबाट यहूदा पक्कै उम्कन सक्दैन। मीका ३:१२ मा लिपिबद्ध भविष्यवाणीको पूर्तिअनुरूप सियोन केवल “खेतझैं जोतिनेछ।” अहिले २१ औं शताब्दीबाट हेर्दा, सा.यु.पू. ६०७ मा बेबिलोनीहरूले यहूदा र यरूशलेममाथि विनाश ल्याउँदा यी घटनाहरू घटेका थिए भनेर हामीलाई थाह छ। यो मीकाले गरेको भविष्यवाणीभन्दा वर्षौंपछि भयो तर ती अवश्‍य हुनेछन्‌ भनेर तिनलाई पक्का थियो। निस्सन्देह, वर्तमान दुष्ट रीतिरिवाजको अन्त, भविष्यवाणी गरिएको “त्यस दिन[मा]” हुनेछ भनेर हामी त्यत्तिकै विश्‍वस्त हुनुपर्छ।—२ पत्रुस ३:११, १२.

यहोवाले फैसला गर्नुहुन्छ

१५ मीका ४:१-४ मा लिपिबद्ध भविष्यवाणीलाई तपाईं आफ्नै शब्दमा कसरी वर्णन गर्नुहुन्छ?

१५ फर्केर हेर्दा मीकाले त्यसपछि अर्को रोमाञ्चकारी आशाको सन्देश सुनाएको पाउँछौं। मीका ४:१-४ मा हामी कस्ता हृदयस्पर्शी शब्दहरू पाउँछौं! मीकाले बताएको कुराको केही अंश यसप्रकार छ: “पछिल्ला दिनमा परमप्रभुको भवनको डाँड़ाचाहिं पहाड़हरूमा सर्वोच्च बनाइने छ, र त्यो सबै पहाड़हरूभन्दा उच्च पारिनेछ। औ अन्यजातिहरू त्यसमा ओइरिएर आउनेछन्‌। . . . उहाँले धेरै जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र टाढ़ा टाढ़ासम्मका सामर्थी जातिहरूको झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्ना तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउनेछन्‌। जाति जातिहरूले एकअर्काको विरुद्धमा तरवार चलाउनेछैनन्‌, नता तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न सिक्नेछन्‌। तर तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।”

१६, १७. आज मीका ४:१-४ कसरी पूरा भइरहेको छ?

१६ यहाँ उल्लेख गरिएका “धेरै जातिहरू” र “सामर्थी जातिहरू” को हुन्‌? तिनीहरू यस संसारका राष्ट्र तथा सरकारहरू होइनन्‌। बरु, यस भविष्यवाणीले साँचो उपासनाको यहोवाको डाँडामा पवित्र सेवा चढाउन एकताबद्ध भएका सबै जातिबाट आएका व्यक्‍तिविशेषहरूलाई संकेत गर्छ।

१७ मीकाको भविष्यवाणीअनुरूप अब चाँडै पृथ्वीभरि अझ विस्तृत तवरमा यहोवाको स्वच्छ उपासना गरिनेछ। आज “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू” यहोवाको मार्गमा हिंड्‌न सिक्दैछन्‌। (प्रेरित १३:४८) यहोवाले परमेश्‍वरको राज्यको पक्षमा खडा हुने विश्‍वासीहरूका लागि आध्यात्मिक तवरमा इन्साफ गर्नुभएर फैसला गरिरहनुभएको छ। तिनीहरू “ठूलो भीड[को]” हैसियतमा “महा संकष्टबाट” बच्नेछन्‌। (प्रकाश ७:९, १४) तिनीहरूले तरवार पिटेर हलोको फाली बनाएर अहिले पनि यहोवाका सँगी उपासक तथा अरूसित मिलेर शान्तिमा बसिरहेका छन्‌। तिनीहरूमाझ हुन पाउनु कत्ति खुसीको कुरा!

यहोवाको नाउँमा हिंड्‌न कटिबद्ध

१८. ‘आ-आफ्नै नेभारा र दाखको बोटमुनि बस्नुले’ कुन कुरालाई संकेत गर्छ?

१८ हाम्रो समयमा पृथ्वीलाई डरको अनिष्ट बादलले झैं छोपिरहेको बेला थुप्रै मानिसहरू यहोवाको मार्गमा हिंड्‌न सिकिरहेको हेर्न पाउँदा हामी खुसी छौं। हामी त्यो समयको प्रतिक्षा गर्छौं जब परमेश्‍वरलाई प्रेम गर्ने ती सबै मानिसहरूले युद्ध गर्न सिक्ने छैनन्‌ तर आ-आफ्नै नेभारा र दाखको बोटमुनि बस्नेछन्‌। नेभाराको बोट अक्सर दाखबारीमा रोपिन्छ। (लूका १३:६) आफ्नै नेभारा र दाखको बोटमुनि बस्नुले शान्ति, संवृद्धि तथा सुरक्षित अवस्थाको प्रतिनिधित्व गर्छ। यहोवासितको हाम्रो सम्बन्धले अहिल्यै पनि हामीलाई मनोशान्ति र आध्यात्मिक सुरक्षा दिन्छ। परमेश्‍वरको राज्यअन्तर्गत त्यस्तो अवस्था हुँदा हामी डराउनुपर्ने कुनै कारण हुनेछैन र सुरक्षित हुनेछौं।

१९. यहोवाको नाउँमा हिंड्‌नुको अर्थ के हो?

१९ ईश्‍वरीय अनुग्रह तथा आशिष्‌ पाउन हामी यहोवाको नाउँमा हिंड्‌नै पर्छ। यो कुरा मीका ४:५ मा जोडदार ढंगमा प्रकट गरिएको छ, जहाँ अगमवक्‍ता यसो भन्छन्‌: “सबै जातिका मानिसहरू चाहिं ता आफ्नो आफ्नो देवताको नाउँमा हिंड़छन्‌, तर हामी चाहिं सदा सर्वदै परमप्रभु आफ्ना परमेश्‍वरको नाउँमा हिंड़नेछौं।” यहोवाको नाउँमा हिंड्‌नुको अर्थ उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ भन्‍नु मात्र होइन। मसीही सभाहरूमा भाग लिनु र राज्य-प्रचार कार्यजस्ता क्रियाकलापहरू महत्त्वपूर्ण भए तापनि यसको लागि यति मात्र पर्याप्त छैन। हामी यहोवाको नाउँमा हिंडिरहेका छौं भने उहाँप्रति समर्पित हुन्छौं र आफ्नो पूरा तनमनले उत्प्रेरित भई विश्‍वासीपूर्वक उहाँको सेवा गर्ने कोसिस गरिरहेका छौं। (मत्ती २२:३७) अनि उहाँका उपासकहरूको हैसियतमा, पक्कै पनि हामी सदा सर्वदा हाम्रो परमेश्‍वर यहोवाको नाउँमा हिंडिरहन कटिबद्ध छौं।

२०. मीका ४:६-१३ मा कस्तो भविष्यवाणी गरिएको थियो?

२० अब कृपया मीका ४:६-१३ को भविष्यसूचक शब्दहरूलाई विचार गर्नुहोस्‌। “सियोनकी छोरी” “बाबेलसम्मै” निर्वासित हुनुपर्छ। यरूशलेमका बासिन्दाहरूलाई सा.यु.पू. सातौं शताब्दीमा ठीक त्यस्तै भयो। तैपनि, शेष जन यहूदामा फर्कनेछ र सियोनको पुनर्स्थापना हुँदा यहोवाले शत्रुहरूलाई अवश्‍य धूलोपीठो पार्नुहुनेछ भनेर मीकाको भविष्यवाणीले संकेत गर्छ।

२१, २२. मीका ५:२ कसरी पूरा भयो?

२१ मीका अध्याय ५ मा अन्य उल्लेखनीय परिवर्तनहरूबारे अगमवाणी गरिएको छ। उदाहरणका लागि, मीका ५:२-४ मा के भनिएको छ, ध्यान दिनुहोस्‌। मीकाले परमेश्‍वरबाट नियुक्‍त शासक, “जसको शुरु अघिदेखि” थियो, तिनी बेतलेहेमबाट निस्कनेछन्‌ भनेर भविष्यवाणी गरेका थिए। तिनले “परमप्रभुको शक्‍तिमा” गोठालोले जस्तै शासन गर्नेछन्‌। यसबाहेक, यी शासक इस्राएलमा मात्र होइन तर “पृथ्वीको पल्लो छेउसम्मै” महान्‌ हुनेछन्‌। यी शासकको चिनारीबारे संसार अलमल्लमा पर्ला तर हाम्रो लागि यो कुनै रहस्य होइन।

२२ बेतलेहेममा जन्मिएका सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति को थिए? अनि “पृथ्वीको पल्लो छेउसम्मै महान्‌” हुने व्यक्‍ति को हुनेछ? मसीह अर्थात्‌ येशू ख्रीष्टबाहेक अरू को हुन सक्छ र! महान्‌ हेरोदले मुख्य पूजाहारी तथा शास्त्रीहरूलाई मसीहको जन्म कहाँ हुनेछ भनेर प्रश्‍न गर्दा तिनीहरूले यस्तो जवाफ दिए: “यहूदियाको बेतलेहेममा।” तिनीहरूले मीका ५:२ का शब्दहरू समेत उद्धरण गरे। (मत्ती २:३-६) जनसाधारणमध्ये कसै-कसैलाई यसबारे थाह थियो किनभने तिनीहरूले यसो भनेका थिए भनी यूहन्‍ना ७:४२ ले बताउँछ: “के धर्मशास्त्रमा भनेको छैन? ‘ख्रीष्ट दाऊदका सन्तानबाट, र बेतलेहेम गाउँबाट आउँछन्‌, जहाँ दाऊद थिए?’ ”

मानिसहरूको लागि साँचो स्फूर्ति

२३. मीका ५:७ को पूर्तिअनुरूप अहिले के भइरहेको छ?

२३ अश्‍शूरी आक्रमणले क्षणिक सफलता मात्र हासिल गर्नेछ र परमेश्‍वरले अनाज्ञाकारी राष्ट्रहरूलाई सजाय दिनुहुनेछ भनी मीका ५:५-१५ ले संकेत गर्छ। मीका ५:७ ले पश्‍चात्तापी यहूदीहरू आफ्नो मातृभूमिमा फर्कनेछन्‌ भनी प्रतिज्ञा गर्छ, तर यी शब्दहरू अहिले हाम्रो दिनमा पनि लागू हुन्छन्‌। मीका यस्तो घोषणा गर्छन्‌: “याकूबका बाँकी रहेकाहरू चाहिं धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरीझैं हुनेछन्‌।” यस्तो सुन्दर प्रतीक प्रयोग गरेर आध्यात्मिक याकूब वा इस्राएलका शेष जन, मानिसहरूको लागि परमेश्‍वरको आशिष्‌ हुनेछन्‌ भनेर देखाइएको छ। पार्थिव आशा भएका येशूका “अरू भेडा” “परमेश्‍वरका इस्राएल[का]” वर्तमान शेष जनसित काँधमा काँध मिलाएर सेवा गर्दै, अरूलाई आध्यात्मिक स्फूर्ति प्राप्त गर्न मदत दिंदा खुसी छन्‌। (यूहन्‍ना १०:१६; गलाती ६:१६; सपन्याह ३:९) यस सन्दर्भमा विचार गर्नुपर्ने एउटा महत्त्वपूर्ण बुँदा छ। परमेश्‍वरको राज्यका उद्‌घोषकहरूका हैसियतमा अरूलाई साँचो स्फूर्ति दिने हाम्रो सुअवसरको हामी सबैले कदर गर्नुपर्छ।

२४. मीका ३ देखि ५ अध्यायका कस्ता बुँदाहरूले तपाईंलाई प्रभाव पाऱ्‍यो?

२४ मीकाको भविष्यवाणीको अध्याय ३ देखि ५ बाट तपाईंले के सिक्नुभयो? सायद यी बुँदाहरू होलान्‌: (१) परमेश्‍वर, आफ्ना जनहरूमाझ नेतृत्व लिने मानिसहरूले न्याय गरेको आशा गर्नुहुन्छ। (२) हामीले जानाजानी पाप गरिरह्‍यौं भने यहोवाले हाम्रा प्रार्थनाको जवाफ दिनुहुनेछैन। (३) परमेश्‍वरले उहाँको पवित्र आत्माद्वारा हामीलाई बल प्रदान गर्नुभएको खण्डमा मात्र हामीले प्रचार गर्ने हाम्रो काम पूरा गर्न सक्नेछौं। (४) ईश्‍वरीय अनुग्रह पाउन हामी यहोवाको नाउँमा हिंड्‌नै पर्छ। (५) परमेश्‍वरको राज्यका उद्‌घोषकहरूको हैसियतमा हामीले मानिसहरूलाई साँचो स्फूर्ति दिने आफ्नो सुअवसरको कदर गर्नुपर्छ। अरू बुँदाहरूले पनि तपाईंलाई छाप पारेको होला। यस भविष्यसूचक बाइबल पुस्तकबाट हामी अरू के-के सिक्न सक्छौं? हाम्रो विश्‍वास बलियो बनाउने मीकाको भविष्यवाणीको अन्तिम दुई अध्यायबाट व्यावहारिक पाठहरू सिक्न हामीलाई अर्को लेखले मदत गर्नेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आफ्ना जनहरूमाझ नेतृत्व लिइरहेका मानिसहरूबाट परमेश्‍वर के आशा गर्नुहुन्छ?

• यहोवाप्रति हाम्रो सेवाको सन्दर्भमा प्रार्थना र पवित्र आत्मा किन महत्त्वपूर्ण छ?

• मानिसहरू कसरी ‘यहोवाको नाउँमा हिंड्‌छन्‌’?

[पृष्ठ १५-मा भएको चित्र]

के तपाईं खड्‌कुँलासम्बन्धी मीकाको दृष्टान्त वर्णन गर्न सक्नुहुन्छ?

[पृष्ठ १६-मा भएका चित्रहरू]

हामी मीकाजस्तै साहसी भई आफ्नो सेवकाईको काम गरिरहन्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने