पाठकहरूका प्रश्नहरू
येशूले नमुना प्रार्थना गर्नुभएको बेलासम्म दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट निष्कासन नगरिएको भए तापनि के उहाँले उक्त प्रार्थनामा परमेश्वरको इच्छा स्वर्गमा पूरा भइसक्यो भन्न खोज्नुभएको थियो?
मत्ती ६:१० मा लिपिबद्ध गरिएअनुसार येशूले यसो भन्नुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” येशूको यस बिन्तीलाई दुई तरिकाबाट बुझ्न सकिन्थ्यो। पहिलो, परमेश्वरको इच्छा स्वर्गमा पहिल्यै पूरा भइसकेकोले पृथ्वीमा पनि त्यो इच्छा पूरा होस् भनेर गरिएको बिन्ती अथवा दोस्रो, स्वर्ग र पृथ्वी दुवै ठाउँमा परमेश्वरको इच्छा पूर्णतया पूरा होस् भनेर गरिएको अनुरोध।a “तपाईंको राज्य आओस्” भनेर भनिसक्नुभएपछि उहाँले भन्नुभएका शब्दहरूको अर्थ धर्मशास्त्र अनुरूप धेरै हदसम्म दोस्रो बुझाइसित मेल खान्छ। अनि यसले येशू ख्रीष्ट पृथ्वीमा हुनुभएको अवस्था अनि त्यसपछिको धेरै लामो समय अवधिलाई संकेत गर्छ। कसरी?
प्रकाशको पुस्तकले स्वर्गमा परमेश्वरको राज्य स्थापना भइसकेपछि घटेका दुई विशेष घटनाबारे बताउँछ। पहिलो घटनाले स्वर्गमा असर गऱ्यो, दोस्रोले भने पृथ्वीमा। प्रकाश १२:७-९, १२ यसो भन्छ, “अनि स्वर्गमा लड़ाइँ भयो। माइकल र तिनका दूतहरू त्यस अजीङ्गरजस्तै पशुसँग लड़ाइँ गर्न गए, र अजीङ्गरजस्तै पशु र त्यसका दूतहरूले युद्ध गरे। औ तिनीहरूले जित्नसकेनन्, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्यो। अनि त्यो अजीङ्गरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए। यसकारण हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ। पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।”
शैतान तथा प्रेतहरूलाई १९१४ मा स्वर्गबाट निष्कासन गरेपश्चात् स्वर्गमा विद्रोही आत्मिक प्राणीहरू रहेनन्, फलतः यहोवाका वफादार स्वर्गदूतीय पुत्रहरू धेरै रमाए र यहोवाको आत्मिक सृष्टिलाई प्रतिनिधित्व गर्ने अधिकांश यी वफादार स्वर्गदूतहरू नै हुन्। (अय्यूब १:६-१२; २:१-७; प्रकाश १२:१०) यसरी स्वर्गबारे येशूको आदर्श प्रार्थनामा गरिएको बिन्ती पूरा भयो। स्वर्गमा बाँकी रहेकाहरू जति सबै जना यहोवाप्रति वफादार रहनुका साथै तिनीहरू पूर्णतया उहाँको सार्वभौमिकताको अधीनमा थिए।
शैतानलाई स्वर्गबाट खसाल्नुअघि ती दुष्ट स्वर्गदूतहरू स्वर्गमा जान सक्ने अवस्थामा समेत तिनीहरूलाई यहोवाको परिवारबाट बहिष्कृत गरिनुका साथै तिनीहरूमाथि सुस्पष्ट प्रतिबन्धहरू लगाइएका थिए भन्ने कुरालाई जोड दिइनुपर्छ। उदाहरणको लागि यहूदा ६ ले प्रथम शताब्दीमै तिनीहरूलाई “आखिरी दिनको इन्साफको लागि [आध्यात्मिक] अन्धकारमनि अनन्त बन्धनमा” राखियो भनी बताउँछ। त्यस्तै गरी २ पत्रुस २:४ यसो भन्छ: “परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई त बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरक [घोर पतित अवस्थामा] हाल्नुभयो, र न्यायको दिनसम्म जोगाएर [आध्यात्मिक] अन्धकारका खाल्डाहरूमा राख्नुभयो।”b
बहिष्कृत अवस्थामा स्वर्गमै भएको बेलामा समेत तिनीहरूले पृथ्वीमा निकै अधिकार जमाइसकेका थिए। वास्तवमा, परमेश्वरको वचनले शैतानलाई “संसारको मालिक” अनि प्रेतहरूलाई “अन्धकारका सांसारिक शासकहरू” भन्छ। (यूहन्ना १२:३१; एफिसी ६:११, १२; १ यूहन्ना ५:१९) पृथ्वीमा आफ्नो अधिकार भएको कारणले गर्दा नै दियाबलले केवल एक चोटि दण्डवत् गरेको भरमा येशूलाई “जगत्का सबै राज्य र तिनको गौरव” दिने प्रस्ताव राख्न सक्यो। (मत्ती ४:८, ९) त्यसोभए, स्पष्ट छ, पृथ्वीमा परमेश्वरको राज्य ‘आउँदा’ यसले आमूल परिवर्तन ल्याउनेछ।
पृथ्वीमा परमेश्वरको राज्य ‘आउँदा’ त्यसले पूर्णतया नयाँ रीतिरिवाज ल्याउनेछ। त्यो राज्यले सबै मानव-निर्मित शासनहरूलाई चकनाचूर पार्नेछ अनि सारा पृथ्वीमाथि एकछत्र सरकार हुनेछ। साथै, यस राज्यका ईश्वरभीरु मानवहरूले “नयाँ पृथ्वी[को]” अधिकार गर्नेछन्। (२ पत्रुस ३:१३; दानियल २:४४) त्यस राज्यले आज्ञाकारी मानवजातिबाट पापसमेत हटाउनेछ र अन्ततः सारा पृथ्वीलाई प्रमोदवनमा परिणत गरेपछि शैतानी शासन नामोनिसान नरहने गरी मेटिनेछ।—रोमी ८:२०, २१; प्रकाश १९:१७-२१.
हजार वर्षीय राज्यको अन्तमा मसीही राज्यले परमेश्वरको इच्छा पूरा गरेपछि “सबै कुरा उहाँको अधीनमा ल्याउनुहुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ।” (१ कोरिन्थी १५:२८) त्यसपछि अन्तिम जाँच हुनेछ, त्यसपश्चात् शैतान अर्थात् उसका प्रेतहरू अनि बहकिएका विद्रोही मानवहरूलाई सधैंको लागि “दोस्रो मृत्यु[मा]” विनाश गरिनेछ। (प्रकाश २०:७-१५) त्यसपछि स्वर्ग र पृथ्वीमा भएका सारा बौद्धिक सृष्टिहरू सदा सवर्दाको लागि आनन्दित भई यहोवाको मायालु सार्वभौमिकताको अधीनमा बस्नेछन्। यसरी सबै पक्षमा येशूको यो आदर्श प्रार्थना शत प्रतिशत पूरा हुनेछ।—१ यूहन्ना ४:८.
[फुटनोटहरू]
a द बाइबल—एन अमेरिकन ट्रान्सलेसन-ले येशूको आदर्श प्रार्थनाको यस भागलाई यसरी अनुवाद गर्छ, “तपाईंको राज्य आओस्! तपाईंको इच्छा स्वर्ग र पृथ्वी दुवै ठाउँमा पूरा होस्!”—मत्ती ६:१०.
b प्रेरित पावलले यस आध्यात्मिक तवरमा निष्कासित अवस्थालाई “झ्यालखाना[मा]” हुनुसित तुलना गरे। तथापि, उहाँले प्रेतहरूलाई हजार वर्षको लागि फ्याँकिने त्यो भावी “अगाध खाँद[बारे]” बताउनुभएको थिएन।—१ पत्रुस ३:१९, २०; लूका ८:३०, ३१; प्रकाश २०:१-३.