दुःखकष्टमा परेकाहरूको लागि सान्त्वना
विगतमा विश्वासी पुरुष तथा स्त्रीहरूले दुःखकष्ट भोग्दा, तिनीहरूले डोऱ्याइको लागि परमेश्वरलाई निष्कपटतासाथ प्रार्थना गरे। यद्यपि, दुःखकष्ट कम गर्न तिनीहरूले ठोस कदम पनि चाले; जस्तै, अत्याचारीहरूबाट बच्न तिनीहरूले चलाखी अपनाए। उदाहरणका लागि, यहोवामाथि भर पर्नुका साथै व्यक्तिगत तवरमा प्रयास गर्दा दाऊद कठिनाइ सहन सक्षम भए। आज हाम्रो विषयमा के भन्न सकिन्छ नि?
दुःखको सामना गर्नुपर्दा सम्भवतः तपाईं आफ्नो समस्या समाधान गर्न कदम चाल्नुहुन्छ होला। उदाहरणका लागि, यदि तपाईं बेरोजगार हुनुभयो भने, के तपाईं आफू र आफ्नो परिवारको जीवन धान्न उपयुक्त जागिर खोज्ने प्रयास गर्नुहुन्न र? (१ तिमोथी ५:८) अथवा यदि तपाईं अस्वस्थ हुनुभयो भने, के तपाईं आवश्यक स्वास्थ्योपचार गर्नुहुन्न र? परमेश्वरबाट सबै प्रकारको बिरामी निको पार्न सक्ने शक्ति प्राप्त गर्नुभएका येशूले पनि ‘रोगीहरूलाई वैद्यको आवश्यकता हुन्छ’ भनी स्वीकार्नुभएको कुरा निकै चाखलाग्दो छ। (मत्ती ९:१२) तथापि, तपाईंका दुःखकष्टहरू सधैं नहट्न सक्छन्; केही हदसम्म तपाईंले सहनुपर्ने हुन सक्छ।
यहोवालाई प्रार्थनामा आफ्नो दुःख पोखे कसो होला? उदाहरणका लागि, जागिर खोज्दा परमेश्वरलाई प्रार्थना गर्दै उहाँमाथि भर पऱ्यौं भने, बाइबल सिद्धान्तसित टक्कर खाने किसिमको जागिर खाने प्रलोभनको प्रतिरोध गर्न मदत पाउनेछौं। रुपियाँ-पैसाको प्रेमले गर्दा “विश्वासबाट कुमार्गमा” फस्नबाट पनि हामी जोगिनेछौं। (१ तिमोथी ६:१०) साँच्चै, जागिर वा परिवार अथवा स्वास्थ्यसित सम्बन्धित कुराहरूबारे जस्तोसुकै गम्भीर निर्णयहरू गर्दा हामी दाऊदको सल्लाह पछ्याउन सक्छौं: “तेरो भारी परमप्रभुमा राख्, र उहाँले तँलाई सह्माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।”—भजन ५५:२२.
हार्दिक प्रार्थनाले हाम्रो मनस्थितिलाई पनि सन्तुलनमा राख्न मदत गर्नेछ र यसले गर्दा दुःख आइपरे पनि हामी अति नै विचलित हुँदैनौं। एक जना साँचो मसीही, प्रेरित पावलले यस्तो लेखे: “तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्।” कुन तरिकामा निष्कपट प्रार्थनाले हामीलाई सान्त्वना दिन सक्छ? “परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) परमेश्वरको शान्तिले “सारा समझलाई माथ गर्छ।” अतः त्यसले निराशाजनक भावनाहरूका कारण पीडित हुँदा पनि हाम्रो मनस्थितिलाई ठीक अवस्थामा राख्न सक्छ। यसले हाम्रो ‘हृदय र विचारलाई रक्षा’ गर्नेछ। यस प्रकार दुःखमाथि दुःख नथप्न हतपती मूर्ख कार्य गर्नबाट बच्नेछौं।
प्रार्थनाले कुनै परिस्थितिको नतिजा कस्तो हुन्छ त्यसमा पनि फरक पार्न सक्छ। प्रेरित पावल रोममा कैदी हुँदा तिनले सँगी विश्वासीहरूलाई आफ्नो लागि प्रार्थना गर्न विनम्र आग्रह गरे। पावलले किन यस्तो आग्रह गरे? पावलले तिनीहरूलाई यस्तो लेखे: “यो गर्नालाई ज्यादै निवेदन गर्दछु, कि मैले तिमीहरूलाई चाँड़ै भेट गर्न पाऊँ।” (हिब्रू १३:१९) अर्को शब्दमा भन्ने हो भने, सँगी विश्वासीहरूले गरेको निरन्तर प्रार्थना यहोवाले सुनेमा तिनी कहिले छुट्ने हो, त्यसमा फरक पर्न सक्छ भनी पावललाई थाह थियो।—फिलेमोन २२.
के प्रार्थनाले तपाईंको दुःखलाई कम गर्नेछ? सायद। यद्यपि, यहोवाले सधैं हामीले चाहेको ढङ्गमा प्रार्थनाको जवाफ दिनुहुन्न भन्ने कुरा हामीले बुझ्नुपर्छ। पावलले आफ्नो “शरीरमा एक किसिमको छेस्को” अर्थात् शारीरिक समस्याबारे बारम्बार प्रार्थना गरे। त्यो दुःख हटाउनुको साटो परमेश्वरले पावललाई यसो भन्नुभयो: “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ।”—२ कोरिन्थी १२:७-९.
त्यसैले, हाम्रा दुःखहरू तुरुन्ता-तुरुन्तै नहट्न सक्छन्। तथापि, हाम्रो स्वर्गमा हुनुहुने पितामाथि आफ्नो भरोसा प्रमाणित गर्ने मौका पाउनेछौं। (याकूब १:२-४) यहोवाले हाम्रो दुःख नहटाउनुभए तापनि हामीले “सहनसकोस् भनेर परीक्षाको साथसाथै [हामीलाई] उम्कने बाटो पनि दिनुहुन्छ” भनी विश्वस्त हुनुहोस्। (१ कोरिन्थी १०:१३) यहोवालाई ‘कुनै पनि संकष्टमा हुनेहरूलाई सान्त्वना दिनुहुने सान्त्वनाका परमेश्वर’ भन्नु उल्लेखनीय छ। (२ कोरिन्थी १:३, ४) सहनको लागि परमेश्वरले हामीलाई प्रशस्त उपाय दिन सक्नुहुन्छ र हामीसित अनन्त जीवनको आशा छ।
यहोवाले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन” भनी परमेश्वरको वचन बाइबलले प्रतिज्ञा गर्छ। (प्रकाश २१:३ ४) के तपाईंलाई दुःखविनाको संसार काल्पनिक जस्तो लाग्छ? दुःखको जीवन बिताउन तपाईंलाई बानी परिसकेको छ भने यस्तो लाग्न सक्छ। तर परमेश्वरले मानिसजातिलाई डर, चिन्ता र फिक्रीविहीन जीवनको उद्देश्यसहित सृष्टि गर्नुभएको थियो। उहाँको त्यो उद्देश्य अवश्य पूरा हुनेछ।—यशैया ५५:१०, ११.
[पृष्ठ ९-मा भएका चित्रहरू]
निराशादेखि राहतसम्म